निर्णय नं. ३७९३ – जबरजस्ती चोरी
निर्णय नं. ३७९३ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४५ सालको फौ.पु.नं....
निर्णय नं. ३७९३ ने.का.प. २०४६ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान
सम्वत् २०४५ सालको फौ.पु.नं. ४६२
फैसला भएको मिति : २०४६।३।२०।३ मा
पुनरावेदक/प्रतिवादी : जि.झापा चन्द्रगढी गा.पं. वडा नं. ७ बस्ने लिला थपलिया
विरुद्ध
विपक्षी : चन्द्रनारायण सिटौलाको जाहेरीले श्री ५ को सरकार
मुद्दा : जबरजस्ती चोरी
(१) तत्कालीन प्रचलित न्याय प्रशासन सुधार ऐन अन्तर्गत क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन पर्नु बेगर सिधै पुनरावेदन लाग्न सक्ने नदेखिने, यस्तोमा पुनरावेदन दर्ता गर्न ल्याउँदाकै अवस्थामा सोही व्यहोरा जनाई दरपीठ गरिदिनु पर्नेमा गरेको नदेखिनाले अड्डाको गल्तीबाट पक्षको हक हितमा असर पार्न नसकिने ।
(प्रकरण नं. १९)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री नुतन थपलिया
फैसला
न्या.पृथ्वीबहादुर सिंह
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको रुपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. २०४० साल आषाढ दोस्रो हप्तामा लिला थपलिया मेरो घरमा आई तपाइसँग भएको नगदले सुन पत्थर खरीद गरी काठमाडौं लगी बिक्री गर्नुपर्छ धेरै नाफा हुन्छ भनी भनेकाले विश्वासमा परी कारोबार गर्ने भएँ ०४०।४।६ मा लिला थपलिया, सिंहराज चालिसे समेत आई सुन पत्थर बिक्री गर्ने मानिस धुलाबारीमा बसेको छ जाउँ भनी जाँदा नचिनेका मानिसहरूसँग कुरा गर्दा सुन पत्थर देखाएका थिए । सुनको र पत्थरको बैना दिनुपर्छ भन्दा मौखिक रुपैयाँ १०,०००।– रुपैयाँ लिला थपलियालाई दिएँ । सुन पत्थर दिने मानिस भोलि २१ गते आउँछ पैसा ठीक पार्नु भन्दा रु. ६०,०००।– लिई ०४०।५।२२ गते अं. ७ बजे बिर्तामोड पुगेपछि मिनु भन्ने केटासँग भेट भई अं. ३५ वर्षको दारी पालेका मानिस निजसंग थियो । सुन पत्थर बिक्री गर्ने मानिस उहाँहरूले लिएर आउनु हुन्छ भनी भनेबाट धुलाबारी सेरे पंजाव होटेल जाँदा कोठा खाली नभएकोले मिनु दारीवाला काकरभिट्टा पुग्यो र कार्की लजमा लक्ष्मी, म र निज दुइजना कोठामा साथै बस्यौं । यस्तो कुरा अरुलाई थाहा दिनु राम्रो छैन भनी ढोका बन्द गरी रुपैयाँ गनी ओछ््यान मुनि राखी बसें । १ घण्टापछि मिनुका साथी दारीवालाले अचानक सर्टभित्रबाट छुरी निकाली बोलीस भने मारी दिन्छु रुपैयाँ ले भनी रु. ६०,०००।– हात लिए बाहिरबाट ढक ढक आवाज गरेकोले मिनुले ढोका खोल्दा प्रहरी पसी बल्ल अपराधी फेला पारे भनी दारीवालालाई समाती तानी निकाले यो अपराधी रहेछ भन्ने मलाई लाग्यो त्यसलाई प्रहरीले लगेपछि मिनु त्यसको पछि लाग्यो ट्राफिक प्रहरी पोशाकमा आएको नगेन्द्र बुढाथोकीको मिलेमतोबाट अपराध गरेको प्रष्ट थाहा भयो । सबै अपराधीहरूलाई पक्राउ गरी जबरजस्ती चोरी गरेमा कारवाही गरिपाउँ भन्ने चन्द्रनारायण सिटौलाको जाहेरी दर्खास्त ।
३. ससुराको भनाई अनुसार दारीवाल कमल कोइराला भन्नेलाई पक्राउ गरी बस स्ट्याण्डमा लगी ससुरा लिला थपलियालाई जिम्मा दिए त्यहाँ सिंहराज चालिसे समेत थिए । दारीवालालाई होटेलतिर लिई गए । मलाई त्यही एकछिन बस्दै गर्नु भनी ससुराले भन्नु भएकोले त्यही बसे, केहीबेर पछि ससुरा लिलाले रु. १,०००।– मलाई दिनु भयो भन्ने समेत व्यहोराको नगेन्द्रबहादुर बुढाथोकीले प्रहरीमा गरेको बयान ।
४. ०४०।५।२२ गते काकरभिट्टामा गएको थिएँ । सिटौलाको रुपैयाँ हातलिने व्यवस्था लिला थपलिया र मेरो छोरा मिनु चालिसेले मिलाएका रहेछन् त्यस दिन सिटौलासँग कति रुपैयाँ थियो मैले देखिन भाग पाएको छैन । छोरा मिनु त्यस दिनदेखि के कहाँ गयो भेट भएको छैन । निजले के कति भाग पायो । सो कुरा सोध्न पाएको छैन भन्ने समेत व्यहोराको सिंहराज चालिसेको प्रहरीमा गरेको कागज ।
५. नचिनेका २ जना मानिस आई जाहेरवालालाई कार्की लजमा राखी ०४०।५।२२ गते ट्राफिक प्रहरीका पोशाक लगाएका प्रहरी आई ७०,०००।– लुटी लगे भन्ने कुरा सुनेको हुँ भन्ने समेत एकमिलानको सरजमीन मुचुल्का ।
६. ०४०।५।२२ गते विरुद्ध खण्डमा लेखिएका अभियुक्तहरूले चोरीका ४ नं. का रीतसंग बेइमानीका नियतले धनीको बेमन्जूरी साथ जाहेरवाला चन्द्रनारायण सिटौलाको रुपैयाँ जबरजस्ती चोरी गरिसकेको कुरा मिसिलबाट देखिन आएकोले वारदातमा सरिक रहेको प्रहरी जवान नगेन्द्रबहादुर बुढाथोकी उपर प्रहरी विशेष अदालतबाट विभागीय कारवाही भइसकेको हुँदा विरुद्ध खण्डमा लेखिएका यकिन नाम ठेगाना नखुलेका विमल कोइराला र डि.के. प्रधान भन्नेकोे नाम ठेगाना खुलेका बखत र अरु हाल पक्राउ परेका सिंहराज चालिसे फेरार रहेका लिला थपलिया, मिनु चालिसे र भरत अधिकारी समेत उपर मुलुकी ऐनको १४ नं. को देहाय दफा २ अनुसार सजायँ गरी बिगो रु. १०,०००।– जाहेरवालाले पहिले आफैंले दिएको भनेको हुँदा लेनदेन व्यवहार देखिएको जबरजस्ती चोरी गरी लगेको भनेको रु. ६०,०००।– अभियुक्तहरूबाट जाहेरवालालाई दिलाई भराई पाउन सादर अनुरोध छ भन्ने समेतको प्रहरी प्रतिवेदन ।
७. जाहेरी दर्खास्त प्रहरी प्रतिवेदन सरजमीन मुचुल्का समेत सम्पूर्ण कागजात पढी बाँची सुनाउँदा सुनें ०४०।५।२२ गते म धरानमा छु । ऐ.२० गते गई ऐ.२३ गते बेलुका आफ्नो घर फर्की आएको हुँ । जाहेरवालालाई चिन्दछु । घटना भएको हो तर को को भई कस्ता रीतसंग गरे गराएका हुन थाहा छैन । प्रहरीमा भएको मेरो कागज मेरो राजीखुशीबाट गरेको हो । तर व्यहोरामा रु. ६०,०००।– म समेत भएर जाहेरवालालाई डरत्रासमा पारी जबरजस्ती चोरी लिए खाएको होइन छैन के कस्ले चोरी गरी खाएका हुन् मलाई थाहा छैन भन्ने समेत सिंहराज चालिसेले ०४०।७।७ मा अदालतमा गरेको बयान ।
८. जाहेरी दरखास्त, प्रहरी प्रतिवेदन सरजमीन मुचुल्का समेतका सम्पूर्ण मिसिल कागजहरू पढी बाँची सुनाउँदा सुनें ०४०।५।२२ गते म आफ्नो घर पोखरामा पनि भएकोले पोखराको घरमा छु ऐ. १६ गते नै म पोखरा गएको हुँ र ऐ. ०४०।८।६ गतेसम्म म खेतीपातीको कामले पोखरामै छु । मेरो बाबु सिंहराज चालिसेले प्रहरीमा र अदालतमा गरेको बयान सुने म नभएको समयमा म समेत भई जबरजस्ती चोरी गरे भनी किन कसरी लेखाउनु भएको हो सो कुरा म खुलाउन सक्दिन । सरजमीनका मानिसले किन शंका गरे भन्न सक्दिन म पोखरा भएको समयमा जाहेरवालासँग भेटघाटै नभएकोले रुजु ६०,०००।– चोरी गरेको होइन । म उपर किन किटानी गरी लेखी दिएको खुलाउन सक्दिन भन्ने समेत मिनुराज चालिसेले ०४०।८।१६ मा अदालतमा गरेको बयान ।
९. प्रहरी प्रतिवेदन साथ पेश भएको सम्पूर्ण कागजात पढी बाँची सुनाउँदा सुनें । ससुरा रणबहादुर डाँगी विरामी भएको खबर ०४०।४।२२ गते आएकोले श्रीमती हर्ककुमारी थपलिया हेर्न गएकी र ०४०।५।१७ मा स्वर्गे भएको खबर आएकोले ससुराको कृया गराउन र श्रीमतीलाई लिई आउने विचारले जि.तेह्रथुम हवाकु गा.पं. मा गई ऐ.३१ गतेसम्म बसी श्रीमतीलाई लिई झापा आएको छु । वारदात स्थानमा नभएको मानिसलाई कसरी जाहेरी दिए खुलाउन सक्दिन । नगेन्द्रबहादुर बुढाथोकी मेरो ज्वाई नाताका मानिस हुन् । छोरी फकाई लगेको विषयलाई लिएर भएको भनाभनलाई रिसइबीमा लिई आफू समेत भई गरेको अपराधलाई मलाई फसाउन झुठ्ठा कुरा अजमाई लेखाएका हुन् सिंहराजले म संग रुपैयाँ माग्न आएकोले म संग रुपैयाँ छैन भनी जाहेरवालालाई देखाई दिएको र निजलाई लिई जाहेरवालाको घरमा समेत गएको होइन । त्यस्तो व्यहोरा किन लेखाए भन्न सक्दिन । मिनु चालिसेको बयान सुनें म यहाँ नभएकोले जबरजस्ती चोरी गरे नगरेको म भन्न सक्दिन सरजमीनका मानिसहरुले कसरी त्यस्तो कुरा सुनें निजैहरू जानुन् । सिंहराज चालिसे र मिनुराज चालिसेलाई चिन्दछु । अरु प्रतिवादीहरूलाई चिन्दीन । जाहेरवालाको रुपैयाँ चोरी भयो भएन । त्यति रुपैयाँ जाहेरवालासँग थियो थिएन खुलाउन सक्दिन । मेरो उपरको प्रहरी प्रतिवेदनको अभियोग झुठ्ठा हुँदा सो बाट फुर्सद पाउँ भन्ने समेतको लिलाकुमार थपलिया भनेको लिला थपलियाले अदालतमा गरेको बयान ।
१०. प्रहरी प्रतिवेदन सहितका सम्पूर्ण कागजात पढी बाँची सुनाउँदा सुनें ०४०।५।२२ मा बिर्तामोड ट्राफिक इन्चार्जको मौखिक आदेशानुसार झापा स्थित चारआलीमा बौलाहा हात्ती निस्कीएकोले शान्ति सुरक्षाको निमित्त सो दिन ११ बजेदेखि ५.३० बजेसम्म बसी बेलुका बिर्तामोडमा नै आई बसें सो दिन मेरो ससुरा लिला थपलियासंग भेट भएको थिएन । ०४०।६।१९ मा प्रहरी विशेष अदालत चन्द्रगढीमा भएको मेरो बयान मेरो स्वेच्छाबाट भएको नभई प्रहरी अफिसरको धाकधम्की देखाई जबरजस्ती जोहरवालाको मुख मिल्दो कागज गराएका हुन् । ससुरा लिला थपलिया बाहेक अरु प्रतिवादीहरूलाई चिन्दीन । जाहेरवालाको रुपैयाँ हराएको कुरा २२ गते नभएर २५ गते मात्र डि.एस.पी. ले बोलाउनु भएकोले थाहा भएको हो । ऐ. २२ गते कुनै पनि समयमा काकरभिट्टा गएको नहुँदा कुनै कुरा थाहा छैन । प्रहरी विशेष अदालतले गरेको फैसला उपर पुनरावेदन दिएको छु भन्ने समेतको ०४०।१०।१७ मा पेटबोलीबाट बुझिएका नगेन्द्रबहादुर बुढाथोकीले अदालतमा गरेको बयान ।
११. प्र.लिलाकुमार, मिनुराज, सिंहराजलाई चिन्दछु । प्र.मध्ये विमल कोइराला, डि.के. प्रधान, भरत अधिकारीलाई घटना हुँदा देखेको हुँ । कहाँ बस्ने को हुन् राम्ररी चिन्दीन अब देखे चिन्दछु । ०४०।५।२८ मा हुलाकद्वारा जाहेरी दिएको हुँ । सो जाहेरीको सहीछाप मेरै हो । सोही जाहेरी लेखिएको सम्पूर्ण कुराहरू साँचो हुन् । सोही जाहेरी बमोजिम प्र.हरू उपर सजायँ गरी मेरो बिगो समेत दिलाई भराई पाउँ भन्ने समेतको जाहेरवाला चन्द्रनारायणले ०४१।१।११ मा अदालतमा गरेको बकपत्र ।
१२. प्रतिवादी मिनु चालिसे भट्टराई समेतले कार्की लजमा बसेको अवस्था दारीवाला व्यक्तिले छुरी देखाई जाहेरवालासंग जबरजस्ती रुपैयाँ लगेको कुरा मिसिल प्रमाणबाट देखिँदा प्रतिवादीहरूको इन्कारी जिकिर पुग्न सक्दैन । प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीहरूले जबरजस्ती चोरीको कसूर गरेको ठहर्छ भन्ने समेत ०४२।३।१६ मा झापा जिल्ला अदालतबाट भएको फैसला ।
१३. झापा जिल्ला अदालतबाट मिति ०४२।३।१६ मा मलाई सजायँको भागी बनाई भएको त्रुटिपूर्ण फैसलामा चित्त बुझेन । सो फैसला उल्टाई झुठ्ठा अभियोगबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको लिला थपलियाको पू.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
१४. जाहेरी र मिसिलका तथ्यबाट पुनरावेदक लिला थपलियाले चोरी गर्न भनी अरुसँग साथ लागी चोरी गरेको देखिँदैन । खुलाइएको तथ्यबाट निज उक्त षडयन्त्रमा सामेल भई चोरी ल्याएको माल मात्र बाँडी खाएको भन्नेसम्म देखिँदा १४(२) अन्तर्गत सजायँ गरेको नमिलेबाट अ.बं. २०२ नं. बमोजिम छलफलको लागि क्षेत्रीय वकिलको कार्यालयलाई झिकाउन सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने ०४४।११।२४ का यस अदालतका आदेशानुसार विपक्षी झिकाई पेश भएको रहेछ ।
१५. लिला थपलियालाई चोरीको १४(२) नं. अनुसार सजायँ गर्ने गरेको झापा जि.अ. को इन्साफ मिलेको नदेखिएकोले सो बदर भई चोरीको २० नं. अनुसार जबरजस्ती चोरी गरे बापत १ महीना १५ दिन र बिगो बमोजिम ६०,०००।– जरिवाना हुने ठहर्छ भन्ने समेतको पू.क्षे.अ. को फैसला ।
१६. पू.क्षे.अ. को फैसलामा चित्त बुझेन भन्नेसमेतको लिला थपलियाको यसअदालतमा पुनरावेदन पर्न आएको रहेछ ।
१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले र विद्वान अधिवक्ता श्री नुतन थपलियाले गर्नुभएको बहस समेत सुनियो ।
१८. अब प्रस्तुत मुद्दामा पू.क्षे.अ. को इन्साफ मिले नमिलको के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।
१९. निर्णयतर्फ विचार गर्दा यस्मा न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३।७।२४ देखि नै लागू भएको देखिन्छ । सो संशोधन हुन पूर्वको साविक न्याय प्रशासन सुधार ऐन, २०३१ अन्तर्गत लिला थपलियाले झापा जि.अ. को फैसला उपर पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गरेकोमा पू.क्षे.अ. बाट निजलाई १ १/२ महीना कैद र ६०,०००।– रुपैयाँ जरिवाना गर्ने गरी मिति २०४५।३।१२ मा फैसला गरेको देखिन्छ । तत्कालिन प्रचलित न्याय प्रशासन सुधार ऐन अन्तर्गत क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन पर्नु बेगर सिधै पुनरावेदन लाग्न सक्ने नदेखिएकोले यो पुनरावेदन खारेज हुने ठहर्छ । तर पुनरावेदन दर्ता गर्न ल्याउँदाकै अवस्थामा सोही व्यहोरा जनाई दरपीठ गरिदिनु पर्नेमा सो बमोजिम नगरी पुनरावेदन दर्ता गरी पुनरावेदनको रुपबाट पेश गरेको देखिएकोले अड्डाको गल्तिबाट पक्षको हक हितमा असर पर्न सक्दैन । यो निर्णयको सूचना सम्बन्धित पक्षलाई दिई सो सूचना पाएको ७ दिनभित्र कानुन बमोजिमको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन दिएमा लिई कानुन बमोजिम गर्न मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्दसिंह प्रधान
इति सम्वत् २०४६ साल असार २० गते रोज ३ शुभम् ।