निर्णय नं. ३७८९ – नामसारी
निर्णय नं. ३७८९ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४३ सालको दे.वि.नं....
निर्णय नं. ३७८९ ने.का.प. २०४६ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४३ सालको दे.वि.नं. ६४
फैसला भएको मिति : २०४५।१२।२४।५ मा
बिन्तिपत्रवाला/वादीहरू : जि. रुपन्देही अमा गा.पं. वा.नं ४ बस्ने अयोध्या मरी मु.स. गर्ने रुद्धल लोधसमेत
विरुद्ध
विपक्षी/प्रतिवादी : जि. रुपन्देही बभनी गा.पं. वा.नं ५ बस्ने अघोर लोधसमेत
मुद्दा : नामसारी
(१) स्वास्नी जस्तोको मृत्युमा कृया गर्ने मुख्य कारणी अधिकारी लोग्ने खडा छँदाछँदै माइतीले कृया गरेको भन्ने कुराबाट पनि प्रतिवादीहरूको जिकिर व्यवहार एवं कानुन धर्म सम्मतिको नदेखिने ।
(प्रकरण नं. १५)
निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल
विपक्षी/प्रत्यवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. निवेदकहरूले प.क्षे.अ. को इन्साफ जाँच गरिपाउँ भनी श्री ५ महाराजाधिराज सरकारको हजूरमा चढाएको बिन्तीपत्रमा यस्मा लेखिएको पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको नामसारी मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने समेत व्यहोराको हुकुम प्रामांगी भई पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ ।
२. गोली लोधसँग सरजुदेईको विवाह भए पनि सरजुदेईको जग्गामा गोली लोधको दावी नभएको र मृतक सरजुदेईको र अघारे एकै बाबुका छोरा छोरी हुन् भन्ने पक्ष विपक्षबाट देखिन आएको अयोध्याय लोधले मेरा स्वास्नी सरजुदेही हुन् भन्ने दावी भएको निज सरजुदेई अयोध्यायको स्वास्नी भए अरुको हक नलाग्ने सरजुदेईको लोग्ने अयोध्याय भन्ने देखिन नआएको मुखको भनाई लिएर लोग्ने कायम गर्न नमिल्ने भएको हुँदा ३५ दिनभित्र अदालतमा नालेश गरी निर्णय गराई ल्याई सोही बमोजिम हुने भन्ने समेत व्यहोराको २०३६।८।१३ गतेको मालपोत कार्यालय रुपन्देहीको निर्णय गरी सुनाएको नगेश्वरको छोरा विपक्षी अघोरीले नगेश्वरकै छोरी सरजुको अपुताली पाउने पुग्नु भएको सरजुदेईको विवाहिते लोग्ने म हुँ भनी विपक्षी गोली लोधले भने पनि निज गोली लोधलाई लोग्नेको सम्बन्ध नै छाडी रामनाथ लोधसंग पोइल गई रामनाथ लोधको मृत्युपछी म संग लोग्ने स्वास्नीको सम्बन्ध भई बसेको अवस्था मेरी स्वास्नी सरजुदेई २०२७ साल मार्ग महिनामा पर्लोक भएकोले निजको नाउँको साविक श्रेस्ता बमोजिमको जग्गा विगाहा १–११–९ पटवारी श्रेस्तामा मेरो नाउँमा नामसारी दाखिल खारेज भई २०२८ साल देखिको मालपोत बुझाई आएका र निज सरजुदेई प्रलोक हुँदा निजको दाहसंस्कार काजकृया मैले नै गरेको हुँदा निजको नाउँमा दर्ता भएको जग्गा मेरो नाउँमा नामसारी गरिपाउँ भन्ने अयोध्याय लोधको फिराद दावी ।
३. वादीले म गोली लोध समेतलाई अनाहक प्रतिवादी बनाई दिएको झूठ्ठा दावी हो किनभने स्वयं वादीले पनि आफ्नो फिराद दावीमा मृतक सरजुदेई मेरो विवाहिते श्रीमती थिइन् भनी स्वीकार गरिसक्नु भएको छ मालपोत कार्यालय रुपन्देहीमा २०३५ साल चैत्र १० गते आफ्नो बयान कागज गर्दा लक्ष्मीहवा गाउँमा गोली लोधसँग विवाह भएको थियो । निज मरेपछि सरजुदेईको नाउँमा दर्ता हुन आएको भनी म जीवित मानिसलाई मारी बयान कागज गर्नुभएको छ भने अर्कोतिर म गोलीलाई प्रतिवादी बनाई म माथि दावी समेत दिनु भएको हुँदा पनि वादीको दावी झुठ्ठा हो भन्ने कुरा स्पष्ट हुन आएको छ भन्ने गोली लोधको प्रतिउत्तरपत्र ।
४. यो वादी सरजुदेईको लोग्ने हरूवाको रुपमा काम गरिआएका हुन् सरजुदेइको मृत्यु २०२९ साल वैशाखमा भएकोले सानै उमेरमा सहप्रतिवादी गोली लोधसँग निजको विवाह भएपछि ३ बच्चा जन्मेका थिए । पारिवारिक समस्याले गर्दा सरजुदेई हामीहरूको घर अर्थात माइतमा आई बसीन र निजको पारिवारिक व्यवस्थाको निमित्त केही जग्गा कमाउन दिएको र सो जग्गा निज सरजुदेईको नाउँमा दर्ता भएको थियो र सरजुदेईको मृत्युपछि सो जग्गा म प्रतिवादीको जिम्मामा रहेर भोग गरी मालपोत समेत बुझाउदै आएको छु सो जग्गालाई हात पार्न निमित्त यिनी वादीले यस्ता षडयन्त्र गरी झुठ्ठा वादी दावीबाट फुर्सत पाउँ भन्ने अघोरे लोधको प्रतिउत्तरपत्र ।
५. प्रतिवादी जिकिर अनुसार सरजुदेई लोधीनको गोली लोधसँग विवाह भएको र निज स्वास्नी हुन् भन्ने कुरा मलाई थाहा छैन । मैले जानेको के हो भने सरजुदेईको विवाह रामनाथ लोधसंग भएको रामनाथ प्रलोक भएपछि सरजुदेईले अयोध्याय लोधलाई लोग्ने बनाई राखेको हुन् भन्ने वादी अयोध्याय लोधको वारेस प्रयाग लोधले अदालतमा गरेको बयान ।
६. दिदी सरजुदेई लोधिनको विवाह नमतिहवा बस्ने गोली लोधसंग विवाह भएको निजतर्फबाट दिदीको छोरा २ छोरी १ जन्म भई ३ नै प्रलोक भएको त्यसपछि सन्तान भएन, घरमा दिदीलाई हेला गरेबाट मेरै माइती घरमा आएकोले जीवन निर्वाहको लागि मेरो बाबु नागेश्वरले केही जग्गा दिएका हुन् भन्ने समेत प्र.अघोर लोधले अदालतमा गरेको बयान ।
७. सरजुदेई लोधिनको विवाह वारेश दिने गोली लोधसंग विवाह भएको गोली लोधतर्फबाट सरजुदेईको ३ वटा छोरा छोरी भई निजहरू मरिसकेपछि कुनै सन्तान नभएकोले गोलीकै सत्यतामा माइत आएकी थिइन् । जीवन निर्वाहका लागि आफ्नो बाबुले केही जग्गा दर्ता गराई दिएका हुन् भन्ने समेत प्र.गोली लोधको वारेश हरिहरलाल श्रीवास्तले अदालतमा गरेको बयान ।
८. बुझी आएका साक्षीहरूबाट वादी मर्ने सरजुदेईको घरमा बसी आएको भन्ने देखिन आएको र सरजुदेई मर्दा निजको काजकृया प्रतिवादी मध्ये अघोर लोधले गरेको भन्ने हकमा सरजुदेई प्रतिवादी मध्ये गोली लोधकै सत्यमा रहेको भए पनि निजको कृया आदि गोली लोधले गर्नु पर्ने मर्नेका भाइले कृया गरेको भन्ने मनासिब देखिन आएन । अतः नामसारीतर्फको वादी दावी खारेज भई मर्ने सरजुदेईसँग वादीको लोग्ने स्वास्नी नाता कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको मिति २०३८।११।२८ को फैसला ।
९. वास्तवमा सरजुदेईको लोग्ने सहप्रतिवादी गोली लोध स्वयं लिखित हुँदा सरजुदेई राँडी भएको थिई र विपक्षीको स्वास्नी भएकै होइनन् अतः उक्त फैसला उल्टाई पाउँ भन्ने समेत व्यहोराको प्र.अघोर लोधको प.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
१०. म गोली लोध जिउँदै छुँ भने वादीको भनाई कसरी प्रतितप्रद भयो । वास्तवमा सरजुदेई राँडी भएकै थिइनन् र विपक्षीको स्वास्नी भएकै होइनन् भन्ने स्पष्ट छँदाछँदै विपक्षीलाई मृतक सरजुदेईको लोग्ने कायम गरी मलाई जरिवाना गर्ने गरी भएको फैसलामा चित्त बुझेन उल्टाई पाउँ भन्ने गोली लोधको प.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
११. शुरु रुपन्देही जिल्ला अदालतले पनि सरजुदेर्इं प्र.अयोध्याय लोधको स्वास्नी कायम गर्दा भएको सरजमीन तथा पञ्चायतको सिफारिशलाई वास्ता नै नगरी बिना आधार निर्णय गरेको नमिल्नुको साथै नामसारीतर्फ पनि इन्साफ गर्नु पर्नेमा खारेज गरेको शुरु जिल्ला अदालतको इन्साफ उल्टी हुने देखिएकोले विपक्षीहरूलाई झिकाई आएपछि वा सो अवधि नाघेपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
१२. प्र.सरजुदेई र अयोध्याय लोधलाई स्वास्नी लोग्नेको नाता कायम गरेकोमा प्रतिवादीहरूको पुनरावेदन परेको देखिन्छ । नामसारी दावी खारेज गरेकोमा वादीको पुनरावेदन परेको देखिएन । यस कारण नाता कायममा विचार गर्दा वादीलाई लोग्ने कायम गर्न सकिने कुनै पनि सबूद पेश भएको देखिएन । सरजुदेईले गरेको ७ नं. फाराममा लोग्ने भनी जनाएको देखिएन । सबूदको अभावमा वादीलाई मृतक सरजुदेईको लोग्ने कायम गर्ने गरेको रुपन्देही जिल्ला अदालतको इन्साफ गल्ती ठहर्छ भन्ने समेत व्यहोराको प.क्षे.अ. को २०४१।११।८।३ को फैसला ।
१३. सो फैसलामा चित्त बुझेन सर्वोच्च अदालतबाट मुद्दा झिकाई इन्साफ जाँच गरिपाउँ भनी वादीले श्री ५ महाराजाधिराज सरकारका हजूरमा विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा प.क्षे.अ. बाट छिनिएको नामसारी मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हु.प्र. बक्स भई देवानी विविधिको लगतमा दर्ता गरी यस इजलास समक्ष पेश हुन आएको रहेछ ।
१४. निवेदक वादी पक्षबाट उपस्थित हुुनुभएको विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्लले र विपक्षी प्रतिवादी तर्फबाट उपस्थित हुन आएको विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले गर्नुभएको बहस समेत सुनियो मुख्यतः पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१५. यस्मा सरजुदेई लोधिन ०२७ मार्ग महिनामा परलोक भएकोमा र निजका नामको जग्गा विगाहा १–११–९ पटवारी श्रेस्तामा वादीका नाउँमा वादीकै श्रीमती मृतक सरजु लोधिन भएको भन्ने आधारबाट नामसारी भई भोग तिरो वादीले गरेकोमा पनि उजूर बाजूर परी बदर भएको तथा कुनै विवादसम्म गरेको समेत देखिँदैन । मृतक सरजुको प्रत्यवादी गोली लोधसँग परम्परागत विवाह भई लोग्ने स्वास्नीका रुपमा बसेको र व्यवहार गरेको समेतका कुनै भरपर्दो सबूद प्रमाण प्रतिवादीबाट पेश हुनसकेको पनि पाइँदैन । केवल प्र.अधारे लोध बाहेकका अन्य साक्षीहरूले पनि मृतक सरजुको लोग्ने वादी नै हो र वादी तर्फबाट ३ छोराछोरीको जन्म भई मृत्यु भएको कारणबाट घरमा नबसी माइत बसेकी थिइन् भनी बकपत्र गरेको र सरजुको मृत्यु हुँदा कृया आदि सरजुको भाइ अघोर लोधले गरेको भन्ने लेखिएको, यस्तो सचमुच मृतक सरजुको लोग्ने प्र.गोली लोध भएको भए निज जीवित भएको र स्वास्नी जस्तोको मृत्युमा कृया गर्ने मुख्य कारणी अधिकारी लोग्ने खडा छँदाछँदै माइतिले कृया गरेको भन्ने कुराबाट पनि प्रत्यवादीहरूको जिकिर व्यवहार एवं कानुन धर्म सम्मतिको नदेखिनुका साथै सो कुरालाई पुष्टि गर्न पत्यारलायकको सबूदको समेत अभाव भएकोबाट समेत मर्ने सरजुदेई वादी अयोध्या लोधकी श्रीमती नाता ठहराई गरेको शुरु रुपन्देही जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । वादीलाई मृतक सरजुको लोग्ने ठहराएको रुपन्देही जिल्ला अदालतको इन्साफ उल्टी गर्ने गरी गरेको प.क्षे.अ. को फैसला उल्टी हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरुको सदर भई प.क्ष.अ. को इन्साफ उल्टी हुने ठहरेकोले प्रत्यवादीहरूलाई शुरुले गर्ने गरेको जनही जरीवाना रु. १२।५० र प.क्षे.अ. मा पुनरावेदन गर्न राखेको धरौटी रु. १।२५ का दरले जना २ को जम्मा रु. २।५० समेत फिर्ता दिई सोको लगत कसी दिनु भनी र प.क्षे.अ. का ०४१।११।८ का फैसलाका तपसील खण्डमा लेखिएकोमा अब सो बमोजिम गर्नु पर्दैन सोको संयुक्त लगत काटी दिई शुरु रुपन्देही जि.अ.का फैसला बमोजिम गर्नु फिर्ता भएको भए सो जरीवानाको लगत कसी असूल गर्नु भनी शुरु रुपन्देही जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. मा लगत दिनु …१ मिसिल नियमानुसार गरी बुझाई दिनु …….२
उक्त रायम म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४५ साल चैत्र २४ गते रोज ५ शुभम् ।