निर्णय नं. ३७२९ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. ३७२९ ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको...
निर्णय नं. ३७२९ ने.का.प. २०४६ अङ्क २
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको रिट नं. १८४१
आदेश भएको मिति : २०४६।१।१४।४ मा
निवेदक : जुम्ला, कार्तिक स्वामी गा.पं.वडा नं. ४ बस्ने रमाकान्त नेउपाने
विरुद्ध
विपक्षी : जिल्ला अदालत, जुम्लासमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) दुवै निवेदनपत्रहरु रिट निवेदकले नै लेखेको हो होइन भनी निवेदकलाई प्रतिवाद गर्ने मौका दिइनु पर्ने तर प्राकृतिक न्याय सिद्धान्त विपरीत यी रिट निवेदकको लेखापढीको प्रमाणपत्र खारेज गर्ने गरेको जिल्ला अदालतको निर्णय त्रुटि भई मिलेको नदेखिँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ७)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने
प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. म निवेदकले जुम्ला जिल्ला अदालतबाट लेखनदासको प्रमाण–पत्र नं. छपाई लेखापढी गर्दै आइरहेको अवस्थामा फौ.दा.नं. ३।६ मिति २०४२।११।२९ गतेमा दर्ता भएको मुद्दामा मिसिल सामेल रहेको २०४३ साल फाल्गुण १२ गतेको तारिख थामी पाउँ भन्ने द.नं. ३४५ को वादीको निवेदन र सोही मितिमा सोही विषयमा दर्ता नं. ३४६ को प्रतिवादीको निवेदनपत्र दुवै रमाकान्तले लेख्नु भएको देखियो । यसरी एउटै मुद्दाका वादी प्रतिवादी दुवै पक्षको लिखत लेखापढी गर्न प्रमाणपत्र पाएको व्यक्तिले लेख्नु व्यवसायिक आचरण विपरीत हुनुको साथै कानुन व्यवहार र प्राकृतिक न्याय सिद्धान्त समेतको विपरीत हुँदा कानुन व्यवसायी नियमावली, २०२५ को नियम २८ ले दिएको अधिकार प्रयोग गरी प्रमाण–पत्र संख्या ६ को रमाकान्त नेउपानेका नामको अड्डा अदालतमा लेखापढी गर्न भनी यस अदालतबाट दिएको प्रमाणपत्र खारेज गर्ने गरी जुम्ला जिल्ला अदालतका जिल्ला न्यायाधीशले मिति २०४४।८।१७ मा आदेश गर्नुभएको रहेछ । यसरी प्रमाणपत्र खारेज गर्ने गरी विपक्षीले निर्णय गर्नु अघि असर पर्ने व्यक्तिलाई सुनुवाइको मौका दिनु पर्ने सर्वमान्य प्राकृतिक न्याय सिद्धान्त रहेकोमा सो सिद्धान्त समेतको प्रतिकूल हुने गरी मलाई सुनुवाइको मौकाबाटै बञ्चित गरी एकतर्फी रुपमा निर्णय गरिएको छ साथै अ.बं. १३९ नं. बमोजिम प्रमाणको लागि बुझिाएको व्यक्तिको म्याद तारिख थाम्ने निवेदन लेख्न नमिल्ने भन्ने कुनै कानुनी व्यवस्था भएको पाइँदैन । उक्त मिति २०४४।८।१ गतेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी अन्य जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर रहेछ ।
३. विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४५।१।१० गतेको आदेश ।
४. रिटनिवेदक रमाकान्त नेउपानेले पेमातामाङ विरुद्ध तनजन तामाङ भएको छोरा जिम्मा लगाई पाउँ भन्ने मुद्दामा मिति २०४३।११।२२ का दिन तारिख थामी पाउँ भन्ने व्यहोराको वादी र अ.बं.१३९ नं. बमोजिम पेटबोलीबाट बुझिएका प्र.गुरु तामाङको निवेदन लेखेका रहेछन् । कानुन व्यवसायी नियमावली, २०२५ को नियम २७ अनुसार एउटै मुद्दाका वादी प्रतिवादी दुवैको कुनै लिखत लेख्नु कानुन व्यवसायीको आचरणको विपरीत हुँदा प्रमाणपत्र खारेज गर्ने गरी कारवाही गरिएको हो । दुवै पक्षको तर्फबाट लेखिएको तारिख थामी पाउँ भन्ने उक्त निवेदनपत्रहरु लिखित रुपमा मिसिल सामेल हुँदा हुँदै निजलाई सुनुवाइको मौका दिई रहनु पर्ने अवस्था विद्यमान नभई कानुन व्यवसायी नियमावली, २०२८ को नियम २८ अनुसार लेखापढीको लागि दिएको प्रमाणपत्र खारेज गर्ने गरी यस अदालतबाट २०४४।१०।१७ गतेमा गरेको निर्णय कानुनसंगत छ । यस सम्बन्धमा मिति २०४४।८।१७ मा यस अदालतबाट कुनै आदेश भएको छैन । तसर्थ रिटनिवेदनपत्र खारेज गरिपाउँ भन्ने समेत जु.जि.अ.को लिखितजवाफ रहेछ ।
५. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनपत्रमा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपानेले कानुन व्यवसायको प्रमाणपत्र खारेज गर्नु भन्दा अघि सफाईको सबूद दिने मनासिब माफिकको मौका दिनु पर्नेमा सो बमोजिम मौका नदिई गरेको जुम्ला जिल्ला अदालतको निर्णय आदेश प्राकृतिक न्याय सिद्धान्त विपरीत हुँदा माग बमोजिम आदेश जारी हुनु पर्ने भन्ने र प्रत्यर्थी जुम्ला जिल्ला अदालतको तर्फबाट बहसको लागि उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले एउटै मुद्दाका वादी प्रतिवादी दुवै पक्षको तर्फबाट लेखिएका निवेदनहरु मिसिल सामेल रही रहेको अवस्थामा थप प्रमाण बुझ्नु पर्ने अवस्था नै रहेन । उक्त दुवै निवेदनहरु मैले लेखेको होइन भनी रिट निवेदकले जिकिर लिन सकेको पनि पाइँदैन । यसरी कानुन व्यवसायी ऐनले तोके बमोजिमको कानुन व्यवसायीको आचरण पालन नगरेको अवस्थामा लेखा पढीको लागि दिएका प्रमाणपत्र जिल्ला न्यायाधीशले खारेज गर्न सक्ने नै हुँदा सोही बमोजिम गरेको जुम्ला जिल्ला अदालतको मिति २०४४।१०।१७ गतेको निर्णयमा कुनै त्रुटि नहुँदा प्रस्तुत रिटनिवेदनपत्र खारेज हुनु पर्ने भनी बहस गर्नुभयो ।
६. प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
७. यसमा वादी पेमा तामाङ विरुद्ध प्रतिवादी तनजन तामाङ समेत भएको छोरा जिम्मा लगाई पाउँ भन्ने मुद्दामा वादी पेमा तामाङ र पेटबोलीबाट बुझी प्रतिवादी कायम भएका गुरु तामाङको तारिख थामी पाउँ भनी मिति २०४३।११।१२ मा जुम्ला जिल्ला अदालतमा दिएको दुवै पक्षको निवेदन रमाकान्त नेउपानेले लेखेको भन्ने आरोप लगाई यो रिट निवेदक रमाकान्तको लेखा पढी गर्ने प्रमाणपत्र खारेज गर्ने गरी जुम्ला जिल्ला अदालतबाट निर्णय भएको कुरा निर्णयको प्रतिलिपिबाट देखिन्छ । उक्त बमोजिम प्रमाणपत्र खारेज गर्ने गरी निर्णय गर्नु अघि मलाई बुझ्दै नबुझी प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय गरिएको भन्ने रिटनिवेदनमा उल्लेख भएको छ । तारिख थामी पाउँ भन्ने व्यहोराका दुवै तर्फबाट लेखिएका निवेदनपत्रहरु लिखितरुपमा मिसिल सामेल हुँदाहुँदै निजलाई सुनुवाइको मौका दिइरहन आवश्यक नपरेको भन्ने प्रत्यर्थी जुम्ला जिल्ला अदालतको लिखितजवाफमा उल्लेख भएको पाइन्छ । यसरी सुनुवाइको मौका नदिएको कुरालाई प्रत्यर्थीले स्वीकार गरेको देखिन्छ । यी दुवै निवेदनपत्रहरु रिटनिवेदक रमाकान्त नेउपानेले नै लेखेको हो होइन भनी निवेदकलाई प्रतिवाद गर्ने मौका दिइनु पथ्र्यो । तर यसरी प्रतिवाद गर्ने मौका दिएको भन्ने कुरा प्रत्यर्थीको निर्णय तथा लिखितजवाफबाट समेत देखिँदैन । तसर्थ प्राकृतिक न्याय सिद्धान्त विपरीत यी रिट निवेदकको लेखापढीको प्रमाणपत्र खारेज गर्ने गरेको जुम्ला जिल्ला अदालतको निर्णय त्रुटि भई मिलेको नदेखिँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । पुनः कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी जुम्ला जिल्ला अदालतको नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल बैशाख १४ गते रोज ४ शुभम् ।