April 4, 1989
Created by nepalarchives

निर्णय नं. ३७२५ – ज्यान सम्बन्धी

निर्णय नं. ३७२५    ने.का.प. २०४६      अङ्क २   पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान...

निर्णय नं. ३७२५    ने.का.प. २०४६      अङ्क २

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको फौ.पूर्ण ई.नं. १७

फैसला भएको मिति : २०४५।१२।२२।३ मा

सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४२।१।१६।१ को फैसला

निवेदक/प्रतिवादी : हाल जुम्ला कारागारमा थुनामा रहेको बन्दी सानुमुनी चन्द्र प्याकुरेलको     हकमा निजको एकाघरसंगको आमा श्रीकला जैसेनी

विरुद्ध

विपक्षी/वादी : पुरीलालको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान सम्बन्धी

(१)    एकजनाले गरेको करणीबाट मात्र मृत्यु हुन नसक्ने भनी जिकिर लिएतर्फ विचार गर्दा योनी वरिपरी रौ नआएको, स्तन भर्खर आउनु शुरु मात्र भएको अवस्थाकी केटीलाई लाश प्रकृति मुचुल्कामा देखिएको अवस्था समेतलाई विचार गर्दा जबरजस्तीसंग करणी गर्दा मृत्यु हुन नसक्ने भन्न नमिल्ने ।

(प्रकरण नं. २४)

निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल

विपक्षी/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।१६।१ को फैसला दोहोर्‍याई हेरी निर्णय गर्नु भन्ने सर्वोच्च अदालत पूर्ण इजलासको नाउँमा हुकुम प्रमांगी बक्स पाउँ भनी प्रतिवादी सानुमुनीचन्द्र प्याकुरेलको हकमा निजको एकाघरको आमा श्रीकला जैसेनीले दिएको बिन्तिपत्रमा डिभिजनबेञ्चबाट छिनिएको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी हुकुम प्रमांगी बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    दीपलालको छोरा भएको उपलक्ष्यमा ०३६।९।२४ गते रात छैठी मनाउन मानिस जम्मा भई दिपलालको घरमा खेल भएको र त्यहाँ वर्ष १५ की हरिकला पनि आएकी थिई रातमा देवमुनिको वर्ष २२ को छोरा मुनिचन्द्रले हरिकलालाई बोलाई अन्दाजी १६।१७ सय गज टाढा पुर्‍याएपछि मरिछन् । उक्त लास गराबाट उठाई निज मुनिचन्द्रको घरमा ल्याई राखेका छन् । के कारणबाट मृत्यु भएको हो थाहा छैन । निज मुनिचन्द्रलाई पक्री साँचो सत्य पत्ता लगाई कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त ।

३.    नाक मुखबाट रगत बगेको, आँखा दुवै चिमलिएको, ओठ केही खुलेको, कालो चोलो लगाएकी, कठालो र दुवै बाहुलामा रगत लागेको, जिउँडोमा घोटिए जस्तो डाम देखिएको दुवै हातमा चुरा र चाँदीका बाला लगाएकी, दुवै घुँडा ठाडो पारी दुवै खुट्टा खुम्चिएको, कपालको चुल्ठा रगतले भिजेको, दुवै हातको हत्केला र नङमा माटो लागेको, बायाँ कानमा रु. १।को चाँदीको चक्की लगाएकी, गाला फुलेको, गुद्वारबाट केही दिशा निस्की जतातता भएको, योनीबाट रगत निस्की गुद्वारमा जमेको, मुखबाट रगत निस्की छातीबाट बगेको, बायाँ गोडामा २ इन्च लामो १ इन्च चौडा छाला खुइलिएको, घाउ, एक साप्रामा जलौरो उठेको बायाँ तिघ्राको भित्री भागमा २ इन्च लामो ११२ इन्च चौडा पिरामीड आकारको छाला खुइलिएको, योनीबाट रगत आएको, रौं नआएको, स्तन आउन मात्र शुरु भएको, लगाएको घाँघर र ओड्ने च्यादरमा समेत सेतो दाग परेको, दिशा जताततै लागेको भन्ने लाश प्रकृति मुचुल्का ।

४.    छोरा भएको उपलक्ष्यमा २०३६।९।२४ मा दिपलालको घरमा भएको भोजमा खेल खेलेको ठाउँमा भू.पू.प्र.पं. ले डाकी २ केटी मैले ल्याएको छु, हरिकलालाई बोलाएर ले पल्तीर गई खेलौँला भनेकाले हरिकलालाई इशारा गरी लगी अलिपर पुगेपछि प्र.पं. मुनिचन्द्रले हरिकलालाई राखे मलाई परजा भनेकाले १५ गज पर गई बसें । तुल्याउँदो गरा मुनि प्र.पं. मुनिचन्द्रले हरिकलालाई जबरजस्ती करणी गरेपछि मलाई बोलाई जाँदा हरिकलालाई अँठ्याई राखेका थिए । हरिकला करणी गर्‍यो दुख्यो भनी रुँदै थिइन । मलाई करणी गर भनी मुनिचन्द्रले भनेपछि मैले पनि करणी गरेँ । त्यसपछि हरिकलाले पेट दुख्यो भनेर उठिन । वान्ता पनि गरिन कान्लाको आड लिई रुँदै थिइन् । नचली बसेको देखेपछि मुनिचन्द्रले समाती हेर्दा मरी सकिछन् । हरिकलालाई बोलाएर गोठमा बस्न जाँदा बाटोमा पेट दुःखी मरेको भन्नु मेरो नाम नलिनु पछि रु. २०००।खर्च गरी तँलाई जोगाउँला म खेत भएको ठाउँमा जान्छु तँ एक मुल्फा तमाखु खाने समय बिताएर आइज भनी सल्लाह दिए अनुसार बाबा भए ठाउँमा गई कुरा गरेर मेरो बाबु समेत ८।९ जना मानिस घटनास्थल गएर लास घर लगी राखी जाहेर गर्नुपर्छ भनी मुनिचन्द्रले भनेकाले २६ गते जाहेर गर्न आउँदा प्रहरीले कुटपिट गर्दा पनि हरिकला पेट दुःखी मरेको भन्नु अरु कुरा नभन्नु भनी भू.पू.प्र.पं. ले सिकाउँदै आएको, २०३६।९।२८ गते मानम पुगेपछि मलाई रु. ३०००।मा पक्राउ गर्छन् म जान्छु भनी भू.पू.प्र.पं. फर्केका हुन् भन्ने देवमुनिको छोरा मुनिचन्द्रले प्रहरीमा गरेको बयान ।

५.    भू.पू.प्र.पं.मुनिचन्द्र र मुनिचन्द्रले हरिकलालाई झुक्याई बोलाई एकान्तमा लगी २ जनाले जबरजस्ती करणी गर्दा हरिकलाको तत्काल मृत्यु भएको प्रष्ट बुझिएको तर यसको करणीबाट हरिकलाको मृत्यु भएको भन्ने कतैबाट खुल्न नआएकोले निजहरुलाई ज्यान सम्बन्धीको १३(३) अनुसार जन्मकैदको सजायँ हुनुपर्ने भन्ने प्रहरी प्रतिवदेन ।

६.    २०३६ सालको बडादशैंदेखि मेरो र हरिकलाको मन्जूरी साथ करणी लिनु दिनु भएको र २०३६।९।२४ गते दिपलालको घरमा छोराको छैठीमा खेल्न हरिकला पनि आएकी हुँदा भेट भई करणी गर्न जाउँ भन्दा मन्जूर भई म र हरिकला तुल्याउँदा भन्ने ठाउँ पुगेपछि दिशा गर्न गएकी एक चिलिम तमाखु खाँदा पनि नआएकीले खोजी गर्दा रोइरहेकी भेटी सोद्धा पेट दुख्यो दिशा भएन, पेट माडी देउभन्दा मैले पेट माड्दामाड्दै निज हरिकलाको त्यँही मृत्यु भयो भन्ने समेत मुनिचन्द्रले अदालतमा गरेको बयान ।

७.    विकासको लागि लिएको रु. ३०००।नदिएसम्म प्रहरी वा जिल्ला पञ्चायतले पक्राउ गर्छ भनेकाले लुकी बसेको हुँ निज हरिकलालाई मैले कर्तव्य गरी मारेको छैन, मुनिचन्द्रले के गर्‍यो मलाई थाहा छैन, प्र.पं. रणबहादुरसंगको राजनीति दाउ पेचबाट मलाई फसाएको छ । प्रहरीले झुक्याई सरजमीनको सही गराएका हुन् सरजमीनले त्यस्तो भनेको छैन भन्ने समेत भू.पू.प्र.पं. मुनिचन्द्र जैसीको बयान ।

८.    भू.पू.प्र.पं. मुनिचन्द्र र सानो मुनिचन्द्रले मारेका हुन् अरुले होइन भन्ने देवमुनिको छोरा सानो मुनिचन्द्रको साक्षी दउराम जैसीको बकपत्र ।

९.    छैठी खेल्न नगएकोले के भयो थाहा छैन, मर्ने हरिकला मेरो जेठो बाबुकी छोरी भएकी र कोही यहाँ नभएकोले जाहेरी दिएको हुँ । भू.पू.प्र.पं. को स्वभाव स्वास्नी मानिसमा लोभिने थियो । हरिकलालाई करणी गरेको नदेखेकोले भन्न सक्तिन । भू.पू.प्र.पं. को पछि सानुमुनिचन्द्रको कागज अनुसार कर्तव्यमा शंका लाग्छ भन्ने समेत जाहेरवालाको बकपत्र ।

१०.    नदेखेकोले भू.पू.प्र.पं. करणी गर्नेमा थियो थिएन भन्न सक्तिन भन्ने समेत सरजमीनको प्रभाकर जैसीको बकपत्र ।

११.    हरिकला देवमुनिको छोरा मुनिचन्द्र र भू.पू.प्र.पं. समेतको कर्तव्यबाट मरेको भनी मैले सरजमीनमा भनेको छैन भन्ने समेत दिपलालको बकपत्र ।

१२.   छैठी खेल्न गएको हुँ । भू.पू.प्र.पं. छैठी खेल्दै थिए । हरिकला के भई मरिन् सानो मुनिचन्द्रलाई थाहा होला, मलाई थाहा छैन भन्ने समेत देवकृष्णको बयान । हरिकलालाई करणी गर्ने उद्देश्यले खेलबाट बाहिर डाकी लिई तुल्याउँदो भन्ने ठाउँमा पुगेपछि हरिकलाले पेट दुख्यो भनेपछि पेट माडी दिएको र माड्दा माड्दै हरिकलाको मृत्यु भएको हुँदा बाबु देवमुनिसंग प्राईभेट कुरा गरेको कुरा पनि बयानमा उल्लेख गरेको र हरिकलाको मृत्यु सानो मुनिचन्द्रको कारणले हो भनी बुझिएका सरजमीनका व्यक्तिले समर्थन गरी बकी लेखी दिएबाट समेत हरिकला प्र.देवमुनिको छोरा मुनिचन्द्रकै कर्तव्यबाट मरेको ठहर्छ । ठोस प्रमाणको अभावमा कर्तव्यवाला ठहर्‍याउन नमिल्ने हुँदा भू.पू.प्र.पं. मुनिचन्द्रले सफाई पाउने ठहर्छ भन्ने समेत कालिकोट जि.अ.को फैसला ।

१३.   सो भू.पू.प्र.पं. लाई सफाई दिएको मिलेन, दावी बमोजिम सजायँ होस् भन्ने श्री ५ को सरकारको पुनरावेदन ।

१४.   मुनिचन्द्रलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम सजायँ गरेको र भू.पू.प्र.पं. मुनिचन्द्रलाई सफाई दिएको कालिकोट जि.अ.को इन्साफ मनासिब छ भन्ने म.प.क्षे.अ.को फैसला ।

१५.   शुरु जि.अ.को इन्साफ सदर गरेको म.प.क्षे.अ.को इन्साफ मिलेन भन्ने स.अ.मा श्री ५ को सरकारको पुनरावेदन ।

१६.    मुलुकी ऐन ज्यान सम्बन्धी १३(३) बमोजिम सजायँ गरेको का.जि.अ.को इन्साफमा चित्त बुझेन भन्ने मुनिचन्द्र प्याकुरेलको म.प.क्षे.अ.मा परेको पुनरावेदन ।

१७.   यसै मुद्दामा श्री ५ को सरकारको पुनरावेदन पर्दा साधक तहबाट यी नै पुनरावेदकको सम्बन्धमा यस अदालतबाट २०३९।३।२५ मा निर्णय भइसकेको रेकर्डबाट देखिन आएकोले दोहोर्‍याई हेर्न मिलेन, पुनरावेदन तामेलीमा राखी दिनु भन्ने म.प.क्षे.अ.को २०३९।१०।४।३ को आदेश ।

१८.   म्यादभित्र परेको मेरो पुनरावेदनमा इन्साफ गर्नु पर्नेमा तामेलीमा राखेको आदेशमा चित्त बुझेन भन्ने मुनिचन्द्रको पुनरावेदन ।

१९.    शुरु जि.अ. उपर परेको प्र.सानो मुनिचन्द्र प्याकुरेलको पुनरावेदनमा कानुन बमोजिम ३ महीनाभित्र निर्णय गर्नु भनी मिसिल म.प.क्षे.अ.मा पठाई निर्णय भएपछि पुनरावेदन साथ नपरे श्री ५ को सरकारको फौ.पु.नं. ३५१ को पुनरावेदन निर्णय निमित्त पेश गर्नु भन्ने स.अ. को २०४१।१।५ को फैसला ।

२०.   सानो मुनिचन्द्र प्याकुरेलको हकमा ज्यान सम्बन्धीको १३(३) अनुसार सजायँ गर्ने गरेको का.जि.अ.को इन्साफ मनासिब ठहर्छ निजको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत म.प.क्षे.अ.को २०४१।५।८।६ को फैसला ।

२१.   प्र.सानु मुनिचन्द्रले दिपलालको छोराको छैठीमा खेल्न लागेको ठाउँबाट हरिकलालाई बोलाई लगी आफूले समेत जबरजस्ती करणी गरेको र केही बेरपछि हरिकलाको मृत्यु भएको भनी मौकामा सावित भएको र अदालतमा बयान गर्दा हरिकलालाई दिपलालको घरमा छैठी खेली रहेको ठाउँबाट बोलाई लगेकोमा सावित भई पेट दुखी निजको मृत्यु भएको हो भनी बयान गरेको पाइन्छ । मृतक हरिकलाको लाश प्रकृति मुचुल्का हेर्दा योनी फुटी रगत बगी गुद्वारमा गई जमेको, लुगामा यत्रतत्र रगत र केही सेता दाग देखिएको भन्ने समेतबाट जबरजस्ती करणी भएको र सोही कारणबाट हरिकलाको मृत्यु भएको देखिन्छ । भू.पू.प्र.पं. मुनिचन्द्रले कसूरमा इन्कार रही बयान गरेको वारदातमा रहे भएको भनी सानु मुनीचन्द्रले प्रहरीमा बयान गर्दा पोल उजूर गरे पनि अदालतमा निजले खण्डन गरी बयान गरेको देखिन्छ । निज भू.पू.प्र.पं. मुनिचन्द्रको करणीबाट हरिकलाको मृत्यु भएको हो भन्ने अन्य ठोस सबूत प्रमाण नहुँदा निजलाई सफाई दिने र सानुमुनीचन्द्र प्याकुरेललाई ज्या.सं. को १३(३) नं. अनुसार जन्मकैदको सजायँ गर्ने गरेको शुरुको सदर गरेको म.प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको २०४२।१।१६।१ को फैसला ।

२२.   सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४२।१।१६ को फैसला फुलबेञ्चबाट दोहोर्‍याई हेरिदिनु भन्ने सर्वोच्च अदालतका नाउँमा हु.प्र.बक्स पाउँ भनी सानु मुनिचन्द्रको हकमा एकाघरकी आमा श्रीकला जैसेनीले विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा डिभिजनबेञ्चबाट छिनिएको प्रस्तुत मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम गर्नु भनी श्री ५ महाराजाधिराजबाट हु.प्र. बक्स भई पेश हुन आएको रहेछ ।

२३.   प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी सानुमुनिचन्द्र प्याकुरेलको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले मृतकको पोष्टमार्टम हुनसकेको छैन । निवेदक सानु मुनिचन्द्रले अदालतमा बयान गर्दा कसूरमा इन्कार रहेका छन् । निजले हरिकलालाई बोलाएर लगेको कुरालाई स्वीकार्दैमा कसूरलाई नै स्वीकार गरेको भन्न मिल्दैन करणी गरी हरिकलाको मृत्यु भएको भनिएको छ । एकजना सानु मुनिचन्द्रको करणीले १८ वर्ष पुगिसकेकी वयस्क महिलाको मृत्यु हुन्छ भन्नु पत्यार लायक छैन । पोष्टमार्टम हुन नसकेको र करणीको वारदात भएको देख्ने चस्मदिद साक्षीहरु समेत नभएको अवस्थामा शंकाको भरमा सानु मुनिचन्द्रले करणी गरेकोबाट हरिकलाको मृत्यु भएको ठहर्‍याई ज्या.सं. को १३ नं. अनुसार सजायँ गरेको मिलेको नहुँदा प्र.सानु मुनिचन्द्रले आरोपित कसूरबाट सफाई पाउनु पर्ने भन्ने र विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट बहसको लागि खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले पोष्टमार्टम हुन नसके पनि दिपलालको घरबाट हरिकलालाई बोलाई लगेको र करणी गरिसकेपछि निजको मृत्यु भएको भनी अधिकार प्राप्त अधिकारी समक्ष सानो मुनीचन्द्र सावित रहेका छन् । मृतक हरिकलाको लुगामा यत्रतत्र वीर्य र रगत समेत लागेको देखिँदा निजको प्रहरीमा भएको साविती पुष्ट्याई हुन्छ । सरजमीनका अधिकांश मानिसले पनि निज उपर शंका गरेकाछन् यस्तो अवस्थामा आरोपित कसूरमा सजायँ गर्ने गरेको इन्साफ मिलेकै छ भनी बहस गर्नुभयो ।

२४.   प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यसमा भू.पू.प्र.पं. मुनिचन्द्र प्याकुरेललाई आरोपित कसूरबाट सफाई दिने ठहर्‍याएको शुरु जि.अ. तथा म.प.क्षे.अ.को फैसला सर्वोच्च अदालत डिभिजनबेञ्चबाट सदर गरेकोमा सो सम्बन्धमा निवेदन परेको नहुँदा त्यसतर्फ विचार गर्न परेन । अब सानो मुनिचन्द्र प्याकुरेलको सम्बन्धमा हेर्दा घरबाट दिपलालको पल्तिर छोट्टि लिई राखेको छौ हिंड खेल्न जाउँ भनी मृतक हरिकलालाई फकाई लगी आफू समेतले करणी गरेबाट निजको मृत्यु भएको भनी अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादी सानो मुनिचन्द्र सावित छन् । अदालत समक्ष बयान गर्दा आफू कसूरमा इन्कार रहे पनि दिपलालको घरबाट फकाई लगेको र केही पर पुगेपछि पेट दुख्यो भनेकी र एकै छिनमा निजको मृत्यु भएको भने तापनि यसरी रातिको समयमा एकलास ठाउँमा बोलाई त्यसरी लगिनुको तात्पर्य के हो निजले पुष्ट्याई गर्न सकेको पाइँदैन । अर्कोतर्फ नाकमुखबाट  रगत बगेको यत्रतत्र शरीर र कपडामा समेत रगत लागेको, योनीबाट रगत निस्की गुद्वारमा जमेको गोडामा २ इन्च लामो २ इन्च चौडा छाला खुइलिएको घाउ, बायाँ तिघ्राको भित्रभागमा पिरामीड आकारको छाला खुइलिएको लगाएको घाँघर ओड्ने च्यादर समेतका लुगाहरुमा वीर्यका जस्तो सेता दाग लागेको योनीमा रौं नआएका स्तन आउन मात्र शुरु भएको भन्ने लाश प्रकृति मुचुल्कामा उल्लेख भएबाट मृतक हरिकलालाई जबरजस्ती करणी भएको देखिन्छ । निज प्रतिवादीको अदालत समक्ष भएको बयान बमोजिम पेट मात्र दुखेको कारणले मृत्यु भएको भए लाश प्रकृति मुचुल्कामा उल्लेख भए बमोजिम शरीरमा यत्रतत्र घाउ नाक मुखबाट रगत निस्कनु योनी फुटी रगत बगेको तथा लुगामा सेता दागजस्ता विशेषताहरु लाशमा हुने स्थिति थिएन एकजनाले गरेको करणीबाट मात्र मृत्यु हुन नसक्ने भनी विद्वान अधिवक्ताले बहसमा जिकिर लिएतर्फ विचार गर्दा योनी वरिपरि रौं नआएको स्तन भर्खर भर्खर आउन शुरु मात्र भएको अवस्थाकी केटीलाई लाश प्रकृति मुचुल्कामा देखिएको अवस्था समेतलाई विचार गर्दा जबरजस्तीसंग करणी गर्दा मृत्यु हुन नसक्ने भन्न मिल्ने देखिन आएन, उक्त लाश प्रकृति मुचुल्का समेतबाट आफू समेतले जबरजस्ती करणी गरेकोबाट मृतक हरिकलाको मृत्यु भएको हो भन्ने प्र.सानो मुनिचन्द्रको अधिकार प्राप्त अधिकारी समक्ष भएको साविती बयानको पुष्टि हुन आयो । अतः माथि उल्लेख गरिएबमोजिम सानो मुनिचन्द्र प्याकुरेलको जबरजस्ती करणीबाट हरिकलाको मृत्यु भएको देखिन्छ । निज प्रतिवादी सानो मुनिचन्द्रलाई ज्या.सं. को १३(३) अनुसार जन्मकैद गर्ने गरेको शुरु कालिकोट तथा म.प.क्षे.अ.को इन्साफ सदरगरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.सुरेन्द्रप्रसाद सिंह,

न्या.हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४५ साल चैत्र २२ गते रोज ३ शुभम् ।