निर्णय नं. ३७२४ – जबरजस्ती करणी
निर्णय नं. ३७२४ ने.का.प. २०४६ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान...
निर्णय नं. ३७२४ ने.का.प. २०४६ अङ्क २
पूर्ण इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको फौ.पु.ई.नं. २२
फैसला भएको मिति : २०४५।१२।२९।३ मा
डि.बे. को फैसला ने.का.प. भाग २६, (२०४१) अड्ढ २, नि.नं. १९१२ पृष्ठ २७६ मा प्रकाशित, फैसला मिति २०४१।१।२८।५
निवेदक/वादी : राजकुमारी थारुको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.मोरङ राजघाट गा.पं. वडा नं. ४ बस्ने कुलबहादुर कार्कीसमेत
मुद्दा : जबरजस्ती करणी
(१) जाहेरवालीको मृत्यु भएकोले आफ्नो जाहेरी व्यहोरा अदालतमा समर्थन गर्न नसकेको कारणबाट मात्र किटानी जाहेरीको व्यहोरा असत्य भन्न नमिल्ने ।
(प्रकरण नं. २८)
(२) २–३ वर्ष अघिको मोहियानी सम्बन्धी सानो विवादलाई लिएर आफ्नो अगाडि आफ्नो श्रीमतीलाई ३ जना मिलेर पालै पालो जबरजस्ती करणी गरे भनी आरोप लगाएको तथा आफ्नो लोग्नेको सामनेमा प्रतिवादीहरुले जबरजस्ती सतित्व नष्ट गरेको भनी जाहेर गरेको कुरालाई निराधार आरोप लगाएको भन्न युक्तिसंगत नदेखिने ।
(प्रकरण नं. २८)
(३) बरामद भएको सामानहरु मेरा हुन् भनी प्रतिवादीले अदालत समक्ष स्वीकार गरिरहेकोमा प्रतिवादीका साक्षीले उक्त खुकुरी प्रतिवादीको होइन भनी बकपत्र गरेबाट साक्षीको बकपत्र विश्वासजन्य नदेखिने ।
(प्रकरण नं. २८)
(४) जाँच गर्ने विशेषज्ञलाई अदालतमा बकपत्र हुन नसकेकोबाट पत्रको आधारमा मात्र जबरजस्ती करणी नभएको भनी अकाट्य आधार मान्न नसकिने ।
(प्रकरण नं. २८)
वादी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा यस सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०४१।१।२८।५ मा भएको फैसला दोहर्याई हेरी दिनु भनी हुकुम प्रमाड्डी बक्स पाउँ भनी श्री ५ को सरकारको तर्फबाट निमित्त महान्यायाधिवक्ताले न्यायिक समिति मार्फत चढाउनु भएको बिन्तिपत्र र यस बारे न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्याई दिनु हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट मिति २०४२।६।७ मा लेखी आए बमोजिम यस सर्वोच्च अदालतको फुलबेञ्च लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. २०३२।११।११ गते कृषि मेला हेर्न पतिसंग आएको र बास बस्न जगरनाथको घरमा जाँदा निज फेला नपरेकोले फर्किरहेको बेला पतिको चिनजानका कुलबहाुदरसंग भेट भयो निजले हामीलाई लाली गुराँसको कोठा नं. ३ मा राखी पतिलाई अर्कै कोठामा लगे । कुलबहादुरले मलाई जबरजस्ती करणी गर्न खोज्दा चिच्याएकोले सो सुनी पति आउँदा कुलबहादुरले खुकुरी निकाली लोग्नेको घाँटीमा राखी करणी गर्न दिँदैनस भने काटी दिन्छु भन्दा डरले जे गर्छौ गर भने पछि लजमा काम गर्ने थिसो आङनामी र गुमानसिंहले खुकुरी लिई बोलीस भने काट्छौं भनी लोग्नेको नजिक खडा भए कुलबहादुरले ३ चोटी करणी गरे त्यसपछि ति दुईजनाले पनि पालैपालो १।१ चोटी करणी गरेको हुँदा जाहेर गर्न आएको छु । अपराधीलाई कारवाही गरिपाउँ भन्ने समेत ०३२।११।१२ को राजकुमारीको जाहेरी ।
३. २०३२।११।११ गते श्रीमतीसंग मेला हेर्न आएको बखत राती कुलबहादुरसंग भेट भई निजका साथमा रहेको अरु २ जना समेतले लाली गुराँश लजमा लगी श्रीमतीलाई अर्कै कोठामा लगी करणी गर्न खोज्दा श्रीमती कराएकीले त्यहाँ जाँदा खुकुरी मेरो घाँटीमा राखी करणी गर्न नदिए काटी दिन्छु भन्दा डरले म बोलिन र कुलबहादुर थिसो आङगामी र गुमान सिंहले पालैपालो श्रीमतीलाई करणी गरे भन्ने समेत जाहेरवालाको लोग्ने लालचन थारुको २०३२।११।१४ को कागज ।
४. २०३२।११।११ गते राती १।२ बजेतिर लालचन र निजको श्रीमतीलाई मेलामा भेटी लालीगुराँस लजमा लगी अलग कोठामा राखी साथीलाई बाहिर राखी करणी गर्न खोज्दा कराएकीले लोग्ने पनि कोठामा आई पुगे । लजवालाहरुले थाहा पाउलान भन्ने डरले खुकुरी निकाली करणी गर्न नदिए काटी दिन्छु भन्दा स्वास्नीले मलाई नै काट वा जे गर्छौ गर भनेकोले खुकुरी थिसो आङनामीलाई दिई मैले करणी गरेँ अनि थिसो आङनामीले फेरि मैले त्यसपछि गुमान सिंहले त्यसपछि फेरि मैले पालै पालो करणी ग¥यौं सिङको बिड भएको खुकुरी र चश्मा मेरै हो भन्ने समेत कुलबहादुर कार्कीको साविती कागज ।
५. कुलबहादुर थिसो आङगामी समेत भई राजकुमारी र निजको लोग्नेलाई लाली गुराँसमा ल्याई लोग्नेलाई खुकुरी देखाई कुलबहादुरले ३ पटक र थिसो आङगामी र मैले १।१ पटक करणी ग¥यौं भैंसीको सिं हाडको बिंड भएको खुकुरी मेरो हो लजमा मेरो नाम गन्जे राई देखाएको छु भन्ने समेत गुमान सिंह आले मगरको ०३२।११।१७ को कागज ।
६. जाहेरवाला र निजको लोग्नेलाई मेलामा भेट भई लाली गुराँस लजमा ल्याई कुलबहादुरले ३ पटक गुमानसिंह र मैले १।१ पटक करणी गरेको हो भन्ने समेत थिसो आंगामीको २०३२।११।१७ को कागज ।
७. सो दिन राती कुलबहादुर समेतले जबरजस्ती करणी गरे भन्ने हल्ला भोलि पल्ट बिहान सुनेका हौं भन्ने लज मालिक गौतम राई र मिङमा सेर्पाको अलग अलग र सुनी थाहा पाएका छौं भन्ने समेत अरु सरजमीनको भनाई भएको ०३२।११।२६ को सरजमीन मुचुल्का ।
८. दुवै दम्पत्तिलाई खुकुरी देखाई डरमा पारी कुलबहादुरले ३ पटक र गुमानसिंहले र थिसो आँगामीले १।१ पटक करणी गरेमा साविती भएको र सरजमीनले पनि सुने थाहा पाएको भनेको हुँदा निजहरु उपर जवरजस्ती करणीको १ नं. को अपराधमा ३ नं. बमोजिम सजायँ हुन प्रस्तुत गरिएको छ भन्ने समेत प्रहरी प्रतिवेदन ।
९. घटना घटेको दिन म धरान श्याम दाश लिम्बुको घर बसी भोलिपल्ट विराटनगर आउँदा पक्राउ परेको हुँ । प्रहरीमा स्वेच्छाले बयान भएको होइन । लालचन, कुलबहादुरको घरमा नोकरी गर्दा मोहियानी खोज्दा मैले हकारेकोले सोही रिसबाट पोल गरेको भन्ने समेत गुमानसिंह आलेको ०३२।१।३ मा अदालतमा भएको इन्कारी बयान ।
१०. घटना घटेको रात म लजमै छु सो रात निजहरु कोही पनि लजमा आएका छ्रैनन्, मैले जाहेरवालीलाई जबरजस्ती करणी गरेको छैन । प्रहरीमा भएको कागज जबरजस्ती कुटपिट गरी गराएको हो भन्ने समेत थिसो आँगामीको ०३२।१२।३ को अदालतमा इन्कारी बयान ।
११. घटना घटेको दिन गुमान सिंहसंग धरानमा श्याम दाश लिम्बुको घरमा बसेको छु । जबरजस्ती करणी गरेको छैन । लालचन मेरो घरमा नोकरीमा बस्दा मोहियानी हक खोज्दा मैले हकारेकोले सो इवीबाट पोल गरेको हो । प्रहरीमा भएको कागज इच्छा विपरीत गराएको हो भन्ने समेत कुलबहादुरको ०३२।१२।३ मा अदालतमा इन्कारी बयान ।
१२. जाहेरवालाको डाक्टरी जाँच भई को.अं.अस्पतालबाट प्राप्त भएपछि निज मरिसकेकोले चश्मदित लालचनलाई स.स.अ. को पत्र साथ अदालतमा उपस्थित गराएकोमा मेरो र श्रीमतीको बेमञ्जुरीले खुकुरी घाँटीमा तेर्साई जबरजस्ती करणी गरेको भनी बकपत्र गरिदिएको ।
१३. प्रतिवादीहरुले दावी अनुसार कसूर गरेको ठहर्छ भन्ने मोरङ जि.अ.को २०३५।५।२९ को फैसला ।
१४. सो फैसलामा चित्त बुझेन भन्ने समेत कुलबहादुरको पुनरावेदन परेको गुमान सिंह र थिसो आँगामीले ०३५।१२।५ मा तामेल भएको पुनरावेदन म्याद गुजारी बसेका ।
१५. प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष साविती बयान दिएको र अदालतमा आई इन्कार गरे पनि कुनै कारण देखाउन नसकेको साथै बरामद भएका खुकुरी चश्मा समेतको आधारमा प्रतिवादीहरुले अपराध गरेको देखिँदा शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको ०३७।१२।१२ को फैसला ।
१६. उक्त फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भई मलाई अन्याय परेको हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्रतिवादी कुलबहादुर कार्कीको निवेदन परेकोमा डाक्टरको रायमा डाक्टरलाई नबुझेको खानतलासी गर्ने भन्ने सरजमीन नबुझी प्रमाण ऐन, २०३१ को दफा १८ विपरीत र राजकुमारी मरेकीले सर्वश्व गर्न नपर्ने भनी ठहर गरेकोबाट हकवालाले पाउन सक्ने सर्वश्व गर्न नपर्नेमा र जसलाई अन्याय परेको हो उसको शरीरमा आघात परेकोमा निज मरेको भए पनि मुद्दा चल्न सक्ने हो भनी ठहर गरेको परस्पर विरोधी कार्य भएकोले स.अ.नियमावली, २०२१ को नियम ३४ को जटील कानुनी व्याख्या गर्न परेकोले पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।५।३१ को आदेश ।
१७. उक्त जटिल प्रश्नको निराकरण गर्न स.अ.नियमावली, २०२१ को नियम ३४ बमोजिम स्पेशलबेञ्चमा पेश गर्नु भन्ने समेत सम्माननीय प्रधान न्यायाधीशज्यूको ०३९।४।२९ को आदेश ।
१८. जबरजस्ती करणीको १० नं. मा जबरजस्ती करणी गर्नेको आधा अंश सर्वश्व गरी स्वास्नी मानिसलाई भराई दिने व्यवस्था भएको राजकुमारी मरिसकेकी र मुख्य गवाह राजकुमारीको मृत्यु भए पनि यस्तो मुद्दा चल्न नसक्ने भनी कानुनी व्यवस्था छैन पुनरावेदन किनारा गर्न स्पेशलबेञ्चको लगत कट्टा गरी डिभिजनबेञ्चमा पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत स्पेशलबेञ्चको २०३९।३।९ को आदेश ।
१९. २०३२।११।१२ को घटनास्थलको प्रकृति र खानतलासी मुचुल्कामा बस्ने सरजीमनका व्यक्ति बुझेको नदेखिँदा निजहरुको बकपत्र गराई पठाई दिनु भनी तारेख तोकी मिसिल मोरङ जि.अ.मा पठाई दिनु भन्ने समेत स.अ. डिभिजनबेञ्चको आदेश ।
२०. साल महीना थाहा छैन रिक्सा लिएर आएको बेला प्रहरीले रिक्सा रोकी यो कागजमा सही गर, नाम बता भनेकोले सही गरेको हुँ खानतलासी भयो भएन मलाई थाहा छैन मैले कुनै सामान देखेको पनि छैन भन्ने समेत खानतलासी मुचुल्काका हिरापाल मानको मोरङ जि.अ. मा २०४०।११।१० मा गरेको बकपत्र ।
२१. साल महीना भने थाहा भएन । सडकमा प्रहरीले नाम सोधी सही गराएका थिए । खानतलासी भयो भएन के कागजमा सही गराए मलाई थाहा भएन भन्ने समेत खानतलासी मुचुल्काका मंगलपाल मानले मोरङ जि.अ. मा ०४०।११।१० मा गरेको बकपत्र ।
२२. इन्साफ तर्फ विचार गर्दा यस्मा प्रतिवादी कुलबहादुर समेतले म र मेरो लोग्नेलाई लाली गुँरास होटेलमा लगी लोग्नेको घाँटी नीर खुकुरी राखी करणी गर्न दिँदैनस् भने दुबैलाई काट्छौं भनी थिसो आङनामी र गुमानसिंहले एक एक चोटी र कुलबहादुरले तीन चोटी जबरजस्ती करणी गरे भनी राजकुमारी थरुनीको जाहेरी दर्खास्त परेको देखिन्छ करणी गरेमा प्रतिवादीहरु प्रहरी समक्ष सावित रहेको खुकुरी, चश्मा आदि बरामद भएको तथा जबरजस्ती करणी गर्दा जाहेरवालीको लोग्नेले देखेको भन्ने निजको बकपत्रबाट देखिएको हुँदा प्रतिवादीहरुले जाहेरवालीलाई जबरजस्ती करणी गरेका हुन् की भन्ने देखिन्छ । तापनि अब अरु प्रमाणहरुको मूल्यांकन गरी हेर्दा प्र.कुलबहादुर आरोपित कसूरमा प्रहरीमा सावित भए तापनि अदालत समक्ष कसूर गरेमा पूर्णरुपले इन्कार रही बयान गरेको पाइन्छ । जबरजस्ती करणी जस्तो अपराध भएपछि अभियुक्त र जाहेरवालीले लगाएका लुगाहरु अनुसन्धान कर्ताले आफ्नो कब्जामा लिई जँचाउनु पर्नेमा सो बमोजिम अनुसन्धान भए गरेको पाइँदैन । खुकुरीको डर त्रास देखाई प्र.कुलबहादुरले ३ चोटी र अरु प्रतिवादीहरु २ जनाले एक एक चोटी गरी जम्मा ५ चोटी करणी गरेको भन्ने जाहेरवालीको जाहेरीबाट देखिन्छ तर निजको जाँच गर्दा निजको भजिनल स्वाब (Veginal Swab) को रिपोर्ट अनुसार विर्यको किडा (Sperm) नदेखिएकोले निजलाई करणी गरेको नै हो भनी भन्न सकिँदैन भन्ने मिति ०३२।११।१३ को कोशी अञ्चल अस्पताल प्रतिवेदनबाट देखिन आएको छ । निजलाई ५ चोटी जबरजस्ती करणी गरेको भए सो कुरा जाँचबाट खुल्न आउनु पर्ने, त्यस्तो कुनै चिन्ह देखिएन । जाहेरवालीको जाहेरी बाहेक निजको बकपत्र भएको देखिँदैन निजको लोग्नेको बकपत्र भएको देखिन्छ । मेरो लोग्नेलाई अर्को कोठामा राखी मलाई जबरजस्ती करणी गर्न लागेकोले म सारो गरी चिच्याई कराउँदा मेरो लोग्नेले अर्को कोठाबाट सुनेछन् र लोग्नेले पनि हल्ला गर्न लाग्दा लोग्नेलाई म बसेकै कोठामा ल्याई करणी गर्न दिन्नस् भने दुबै जनालाई काट्छौं भनी अरु २ जनाले लोग्नेको घाँटी नेर नाड्डो खुकुरी राखेर कुलबहादुरले मलाई करणी गर्न लागे म रोई कराई गर्दै रहें भनी जाहेरी दर्खास्तमा उल्लेख भएको पाइन्छ तर त्यसरी रातीको समयमा होटल भित्र हल्ला खल्ला भएको भए अरु व्यक्तिहरुले सो कुरा देखे थाहा पाएको हुनु पर्ने कसैले पनि देखे थाहा पाएको देखिँदैन सरजमीनका मानिसहरुले समेत जबरजस्ती करणी भो भन्ने सुनेका हौ भन्ने सम्म लेखाएको पाइन्छ । घटनास्थलको प्रकृति र खानतलासी मुचुल्का हुँदा खुकुरी र एकापट्टि शिसा नभएको चश्मा बरामद भएको भन्ने पाइन्छ तर मुचुल्कामा बस्ने साक्षीहरुलाई प्रमाणको लागि बुझिएको पाइँदैन । यस अदालत मार्फत बुझिएका दुईजना साक्षीहरुले बकपत्र गर्दा प्रहरीले बोलाई सहिछाप गर भनेकाले सहिछाप गरेका हौं खानतलासी भएको थाहा छैन भनी बकपत्र गरेको पाइन्छ । प्र.कुलबहादुरका साक्षीहरुले निजलाई सफाई दिई बकपत्र गरेको देखिएको र प्रहरी समक्ष प्र.कुलबहादुरले गरेको साविती बयान माथि उल्लेख गरिए बमोजिम अन्य सबूद प्रमाणबाट समर्थित हुन नआएकोले यस्तो शंकाजन्य स्थितिमा प्र.कुलबहादुरले जबरजस्ती करणी गरेको भनी सजायँ गर्नु न्यायोचित नहुँदा जबरजस्ती करणी भएको भन्ने विद्वान अतिरिक्त सरकारी अधिवक्ताका बहससंग सहमत हुन सकिएन तसर्थ शुरु जिल्ला अदालतले प्र.कुलबहादुरले जबरजस्ती करणी गरेको ठहराई सजायँ गर्ने गरेको फैसला मनासिब ठहराई गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर हुन्छ पुनरावेदक प्रतिवादी कुलबहादुर कार्कीले सफाई पाउने ठहर्छ । जिल्ला अदालतको इन्साफ उपर पुनरावेदन नगरी बस्ने अन्य प्र.थिसो आंगामी नागा र गुमान सिंह आले मगर समेतले सोही आधारबाट मुलुकी ऐन अ.बं. को २०५ नं. बमोजिम सफाई पाउने ठहर्छ भन्ने यस सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।१।२८।५ को फैसला ।
२३. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा डिभिजनबेञ्चको उक्त फैसलामा चित्त बुझेन फुलबेञ्चबाट दोहोराई हेरी पाउँ भनी श्री ५ को सरकारको तर्फबाट निमित्त महान्यायाधिवक्ताले न्यायिक समिति मार्फत बिन्तिपत्र चढाउनु भएकोमा न्यायिक समितिबाट तीनै जना अभियुक्तहरु अधिकार प्राप्त अधिकारी समक्ष साविती बयान गरेका छन्, त्यसलाई अदालतमा इन्कार गरे तापनि के कति कारणबाट प्रहरीमा भएको बयान स्वेच्छा विरुद्ध गराइएको हो भन्ने स्पष्ट पार्न सकेका छ्रैनन् । वारदात घटेको रातको समयमा प्राय धेरै जसो मानिसहरु सुत्ने निदाउने बेला परेको भए तापनि सरजमीनका केही मानिसहरुले मौकामा नै सुनेको भनी देखाएका छन् । जाहेरवालाले किटानी साथ अभियुक्तहरुलाई पोलेको, वारदातमा प्रयोग भएको खुकुरी मध्ये एउटा खुकुरी र चश्मा आफ्नो हो भनी प्रतिवादी कुलबहादुरले स्वीकारेको र वारदातमा उपस्थित भएको जाहेरवाला राजकुमारीको लोग्नेले सम्पूर्ण घटना आफ्ना आँखा समक्ष घटेको कुराको बकपत्र गरेको । वारदात घटेको ३ महीनापछि जाहेरवालाको मृत्यु भएको भन्ने निजको लोग्ने लालचनको बकपत्रबाट जाहेरवालाले अदालतमा मुख्य गवाहको रुपमा बकपत्र गर्ने अवस्था नरहेको । तसर्थ प्रस्तुत मुद्दामा वारदात नै नघटेको भनी शुरु जिल्ला अदालतको निर्णय उपर पुनरावेदन नगर्ने प्रतिवादीहरु समेतलाई सफाई दिएको सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ९(२), २२, दफा ३७ तथा मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. समेतको त्रुटि भएको देखिन्छ भन्ने समेतको न्यायिक समिति राजदरवारको पर्चा रहेछ ।
२४. यसमा प्रतिवादीहरु उपर किटानी जाहेरी परेको तथा चस्मदिद गवाह जाहेरवालीको लोग्नेले प्रतिवादीहरुले आरोपित कसूर गरेको भनी बकपत्र गरेको र प्र.कुलबहादुरले बरामद भएको खुकुरी र चश्मा मेरै हो भनी अदालतमा भएको बयानमा सकार गरेको समेतबाट वारदात नभएको जस्तो गरी प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिएको सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसला मिलेको नदेखिँदा छलफलको लागि अ.बं. २०२ नं. र सर्वोच्च अदालत नियमावली अनुसार प्रतिवादीहरुलाई झिकाई पेश गर्नु भन्ने समेतको सर्वोच्च अदालत पूर्ण इजलासको आदेश ।
२५. प्रतिवादीहरुका नाउँमा यस सर्वोच्च अदालत पूर्ण इजलासको आदेश बमोजिम छलफलको लागि उपस्थित हुन आउनु होला भनी रीतपूर्वक म्याद तामेल गरिएकोमा हाजिर हुन नआई म्याद गुजारी बसेका रहेछन् ।
२६. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ यस पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारको तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले प्रत्यक्षदर्शी लालचन थारुले अदालतमा उपस्थित भई प्रतिवादीहरुले वारदात गरेको भनी बकपत्र गरिदिएका छन् । प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष साविती बयान गरेका छन् । अदालतमा इन्कारी रहनु नै अभियोगबाट सफाई पाउने पर्याप्त कारण बन्न सक्दैन । प्रतिवादीहरुबाट वारदातको समयमा आफू अन्यत्रै रहेको भन्ने जिकिर लिए तापनि त्यसलाई साक्षी प्रमाणबाट पुष्टी गर्न सकेका छैनन् । यस अवस्थामा प्रतिवादीहरुलाई सफाई दिने ठहर्याएको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ उल्टी भई अपराध ठहर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्दछ भन्ने समेतको बहस गर्नुभयो ।
२७. प्रस्तुत मुद्दामा यस सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
२८. यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी कुलबहादुर कार्की, गुमान सिंह आले मगर र थिसो आंगामी नागा तीनैजना उपर म र मेरो लोग्नेलाई लाली गुराँस लजमा लगी लोग्नेको घाँटीमा नाड्डो खुकुरी तेस्र्याई तेरो स्वास्नीलाई करणी गर्न दिदैनस् भने तलाई र तेरो स्वास्नी दुवैजनालाई काटछौं भनी जबरजस्ती जोरजुलुम गरी कुलबहादुरले तीनचोटी र गुमानसिंह तथा थिसो अंगामी नागाले एक एक चोटि करणी गरे भनी पीडित राजकुमारी थारुको प्रतिवादीहरु उपर किटानी जाहेरी परेको देखिन्छ । प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष अपराध स्वीकारी सावित भई बयान गरेको देखिन्छ । तर अदालतमा बयान गर्दा इन्कारी बयान गरेको पाइन्छ । प्रहरी समक्ष भएको बयान कुटपिट डर त्रास देखाई स्वेच्छा विपरीत गरिएको हो भनी अदालत समक्ष बयान गरेका छ तर प्रहरीले कुटपिट गरेको कुरा पुष्टि हुन सकेको छैन । जाहेरवालीले अदालतमा आई आफ्नो जाहेरीलाई समर्थित गर्न नसकेको भन्ने तर्फ हेर्दा जाहेरवाली उक्त वारदात घटेको ३ महीना पछि परलोक भएको भनी निजको लोग्ने लालचन थारुले अदालत समक्ष बयान गरेको देखिन्छ । जाहेरवालीको मृत्यु भएकोले आफ्नो जाहेरी व्यहोरा अदालतमा समर्थन गर्न नसकेको कारणबाट मात्र किटानी जाहेरीको व्यहोरा असत्य भन्न मिल्ने देखिँदैन । वारदात घटेको अवस्थामा उपस्थित रहेका जाहेरवालीको लोग्ने चस्मदिद गवाह लालचन थारुले आफूले देखे जानेको घटनाको सम्पूर्ण व्यहोरा खुलाई जाहेरीलाई समर्थन गरी प्रहरीमा कागज गर्नुको अलावा अदालतमा समेत उपस्थित भई सोही व्यहोरालाई समर्थन गरी बकपत्र गरेको देखिन्छ । प्रतिवादी कुलबहादुरले आफूलाई जबरजस्ती करणी गर्यो भनी जाहेर गर्नुको कारण जाहेरवालीको लोग्नेसंग जग्गाको मोहियानी सम्बन्धी रिसइवी भएकोले हो भनी बयान गरेको भए पनि २–३ वर्ष अघिको मोहियानी सम्बन्धी सानो विवादलाई लिएर आफ्नो अगाडि आफ्नो श्रीमतीलाई ३ जना मिलेर पालै पालो जबरजस्ती करणी गरे भनी आरोप लगाएको तथा आफ्नो लोग्नेको साम्नेमा प्रतिवादीहरुले जबरजस्ती सतित्व नष्ट गरेको भनी जाहेर गरेको कुरालाई निराधार आरोप लगाएको भन्नु युक्तिसंगत देखिँदैन । रिसइवी साधनको लागि जाहेर गरेको भए कुलबहादुर उपर मात्र आरोप लगाएको भए पनि पुग्ने थियो अरु दुईजना प्रतिवादीहरुलाई अभियोग लगाउनु पर्ने अवस्था पनि देखिँदैन । प्रतिवादीहरु मध्ये कुलबहादुर कार्की र गुमान सिंह आले मगरले वारदात समयमा आफूहरु अन्यत्रै भएको भन्ने जिकिर लिएको पाइन्छ । तर जस्को घरमा रहे बसेकोे भन्ने दावी लिएको हो त्यसलाई साक्षीको रुपमा प्रस्तुत गरी सो इन्कारी बयानको समर्थन हुने प्रमाण पुर्याउन सकेको देखिँदैन । अर्कोतर्फ प्रतिवादीका साक्षीहरु मध्ये टेकबहादुर आचार्यले मिति २०३२।११।११ गतेको दिन बेलुकी ८।। बजे सम्म म र कुलबहादुरसंगै घुमफिर गरेको भनी बकपत्र गरेका छन् भने निजहरुकै अर्का साक्षी नरबहादुर राईले मिति २०३२।११।११ गते दिनको ४ बजे कुलबहादुर र गुमानसिंह भेट भई कुराकानी गरी सिनेमा हेर्न जाउँ भनी सिनेमा हेर्न गयौं र रातको ११ बजेसम्म संगै बसेको भनी बकपत्र गरेका छन् । यसबाट दुवै साक्षीहरुको भनाई परस्पर विरोधाभाषपूर्ण देखिन्छ । यसबाट समेत प्रतिवादीहरुको जिकिर पुष्टि हुन सकिरहेको छैन । प्रहरीद्वारा बरामद गरिएको खुकुरी र एउटा आँखा पट्टि सिसा नभएको चश्मा आफ्नो हो भनी प्रतिवादी कुलबहादुरले अदालत समक्ष बयान गरेको देखिन्छ । सो खुकुरी कुलबहादुरको हो भनी प्रतिवादी थिसो आंगामी नागाले समेत बयानमा उल्लेख गरिदिएको पाइन्छ । उक्त बरामदी सामान वारदात स्थलमा फेला परेको कुरा घटनास्थल प्रकृति मुचुल्काबाट देखिन्छ । बरामद भएको उक्त दुई सामानहरु मेरा हुन् भनी प्रतिवादी कुलबहादुर स्वयंले अदालत समक्ष स्वीकार गरिरहेकोमा प्रतिवादीका साक्षी नरबहादुर राईले उक्त खुकुरी प्रतिवादीको होइन भनी बकपत्र गरेबाट साक्षीको बकपत्र विश्वासजन्य देखिएन । जबरजस्ती करणी गरेको भए डाक्टरी प्रतिवेदनबाट देखिनु पर्ने थियो भन्ने तर्फ हेर्दा कोशी अञ्चल अस्पताल विराटनगरको पत्रमा निजको भेजाइनल स्वाव (Veginal Swab) को रिपोर्ट अनुसार विर्यको किडा (Sprem) नदेखिएकोले निजलाई करणी गरेको नै हो भन्न सकिँदैन भनी शाखा अधिकृतले सही गरी मिति २०३२।११।१३ को पत्र मिति २०३३।८।१०।५ मा मात्र मोरङ जिल्ला अदालत विराटनगरमा दाखिला भएको देखिन्छ । उक्तपत्रबाट डाक्टरी जाँचको सक्कल प्रतिवेदन प्राप्त हुन नसकेकोबाट पुनः सक्कल प्रतिवेदन पठाइदिन ताकेता गर्दा सोही व्यहोरा उल्लेख भई पत्र प्राप्त भएको देखिन्छ । सो पत्रबाट पीडित राजकुमारीलाई कहिले जाँच गरेको भन्ने व्यहोरा खुल्न सकेको देखिँदैन । साथै जाँच गर्ने विशेषज्ञलाई अदालतमा बकपत्र समेत हुन नसकेकोबाट सो पत्रको आधारमा मात्र जवरजस्ती करणी नभएको भनी अकाट्य आधार मान्न सकिने भएन । प्रतिवादीहरु तीनैजनालाई कसूरदार ठहर्याई शुरु मोरङ जिल्ला अदालतले फैसला गरेकोमा सो मध्ये गुमान सिंह आले र थिसो आंगामी नागाले शुरुकै फैसला उपर पुनरावेदन नगरी बसेबाट समेत प्रतिवादीहरुद्वारा आरोपित अपराध भएको भन्ने कुरालाई पुष्ट्याई गरेको छ । यस प्रकार माथि उल्लेखित तथ्य एवं प्रमाणबाट प्रतिवादीहरुले आरोपित कसूर गरेको होइन भन्न सकिने अवस्था नहुँदा जबरजस्ती करणी गरेको ठहर्याई सजायँ गर्ने गरेको शुरु मोरङ जिल्ला अदालतको फैसलालाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ । प्रतिवादीहरुलाई सफाई दिने ठहर्याएको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम क्षेत्रीय अदालतको इन्साफ सदर भएको हुँदा सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।१।२८ को फैसला र २०४४।२।१० को लगतले देहाय बमोजिमको लगत कट्टा गर्ने गरेको सो लगत कट्टा गर्न पर्दैन सो लगत कायम राखी कानुन बमोजिम गर्नु भनी मोरङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु … १, मोरङ जि.अ.को २०३५।५।२९ को फैसला र फौ.ल.नं. ६० बाट गरेको देहायको लगत १ प्र. कुलबहादुर कार्कीले कैद वर्ष ४ को कलम १, प्र. गुमान सिंह आले मगर के कैद वर्ष ३ को कलम १, प्र. थिसो आंगामी नागा के कैद वर्ष ३ को कलम १ पू.क्षे.अ.को २०३७।२।१२ को फैसला र २०३७।३।२८ को लगतले प्र. कुलबहादुर कार्कीलाई गरेको थप कैद वर्ष ।४।२४ चार महीना चौबिस दिनको कलम … २ सर्वोच्च अदालत डिभिजनबेञ्चका २०४१।१।२८ को फैसला र २०४४।२।१० का लगतले प्रतिवादी कुलबहादुर कार्कीले पू.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको धरौटी रु. २,१६०।– निजलाई फिर्ता दिने गरेकोमा निज कुलबहादुरलाई लागेको कैद सजायँ असूल भएपछि मात्र सो धरौटी रकम निजलाई फिर्ता दिनु भनी मोरङ जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु ..२ मिसिल नियम बमोजिम गरी बुझाई दिनु … ३
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या.प्रचण्डराज अनिल,
न्या.हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४५ साल चैत्र २९ गते रोज ३ शुभम् ।