April 18, 1989
Created by nepalarchives

निर्णय नं. ३७२० – लिखत दर्ता बदर

निर्णय नं. ३७२०    ने.का.प. २०४६      अङ्क २   पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री...

निर्णय नं. ३७२०    ने.का.प. २०४६      अङ्क २

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको दे.पूर्ण ई. नम्बर ८४

फैसला भएको मिति : २०४६।१।६।३ मा

डिभिजनबेञ्चबाट फैसला भएको मिति : २०४३।२।२३ मा

पुनरावेदक/प्रतिवादी : का.न.पं. वडा नं. ३३ धोविधारा बस्ने हरिहर भक्त शर्मासमेत

विरुद्ध

विपक्षी/वादी : वीरगञ्ज वडा नं. १३ थरिहरवा बस्ने नारायणभक्त शर्मा

मुद्दा : लिखत दर्ता बदर

(१)    कुनै कामको लागि अख्तियार दिएकोमा अख्तियारनामा दिने व्यक्तिको मृत्यु भएपछि सो अख्तियारनामा स्वतः निस्कृय हुने ।

(प्रकरण नं. १३)

(२)   अख्तियारनामा दिने व्यक्तिको जीवनकालसम्म मात्रै अख्तियारनामा प्रभावकारी हुने, मरी सकेपछि निजको अख्तियारनामाको आधारमा लिखत गरी दिन लिन नमिल्ने ।

(प्रकरण नं. १३)

(३)   वैध लिखतमा साक्षी बसेको भए विबन्धनको सिद्धान्त लाग्न सक्ने, तर लिखत नै निस्कृय भएको अवस्थामा सो लिखतको साक्षीको कुनै महत्व वा प्रयोजन नहुने हुँदा यस्तोमा विबन्धनको सिद्धान्त लागू हुन्छ भन्न नमिल्ने ।

(प्रकरण नं. १३)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति प्राप्त गरी पर्न आएको पुनरावेदन पेश हुँदा सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ ।

२.    आमा रुकमिणीदेवी ढुंगानाले अस्वस्थताको कारणले उहाँको नाममा दर्ता रहेको घर जग्गाहरुको रेखदेख गर्न समेत निमित्त पिताजी ईन्द्रलोचन शर्मा ढुंगानालाई लेखी दिनु भएको अधिकारपत्र मिति २०३२।१।१८ मा पास भएको उक्त लिखतको आधारमा विपक्षीहरुले मिलोमतो गरी मेरो र मेरो छोरा छोरीको अंशहरु मार्ने नियतले विपक्षीहरुले आफ्ना नामको कि.नं. ११९ रोपनी २३ सीम जग्गा र उक्त जग्गामा भएको १४ कोठे घर मिति २०३४।१२।२४ गते विपक्षी भाउजू ईरा शर्मालाई पिताजीले हालैदेखिको बकसपत्र लेखी पास गरी दिनु भएको माताजी मिति २०३४।३।१२ मा परलोक हुनुभएको कुरा गुम पारी त्यस्तो अप्रभावकारी लिखतबाट बकसपत्र लेखी लिएको समेत गैरकानुनी हुँदा सो लिखत र दर्ता बदर गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०३६।१२।१४ गतेको नरनारायण भक्तको फिराद ।

३.    सम्पूर्ण सम्पत्ति व्यवहार गर्न समेतको लागि अख्तियारनामा कानुन बमोजिम पास गरी मिति २०३२।१।१० मा मेरी श्रीमतीले दिएको अख्तियारपत्र बमोजिम रुकमिणीदेवीको सम्पत्ति मैले ईरा शर्मालाई बकसपत्र लेखी रजिष्ट्रेशन गरी दिएको छु । निज वादीले त्यस बकसपत्रमा मन्जूर गरी सहिछाप गरेको र आफ्नो हकको सम्पत्ति जति बेच बिखन दान दातव्य बाहेक अरु सम्पत्ति बाँकी भएमा खुस गरेको बदर नहुने नजीर स.अ.बाट प्रतिपादित भइसकेको हुँदा विपक्षीले उजूर गर्न पाउने व्यवस्था र अवस्था नभएकोले दावीबाट फुर्सद गरिपाउँ भन्ने मिति २०३७।३।१९ गतेको इन्द्रलोचन शर्मा समेतको संयुक्त प्रतिउत्तरपत्र ।

४.    लिखतको वैधतामा विवाद गरी प्रस्तुत फिराद दायर भएको छ । एकपटक वैध मानी साक्षी बसी सकेपछि सो लिखतको कुरामा खण्डन गर्न प्रमाण ऐन, २०३१ को दफा ३४(१) ले बन्देज लगाइएको हुनाले सो लिखतलाई फिरादीले खण्डन गर्न नपाउने हुँदा वादी दावी पुग्न सक्तैन भन्ने पर्सा जिल्ला अदालतको मिति २०३८।१२।१४ गतेको फैसला ।

५.    उक्त फैसला उपर चित्त नबुझाई नरनारायणभक्तको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

६.    कानुनी प्रश्नमा विबन्धनको सिद्धान्त लगाई लिखत र दर्ता बदर नहुने ठहर्‍याएको इन्साफ बदर हुन्छ भन्ने समेत नारायणी अञ्चल अदालतको मिति २०४०।७।२०।४ को फैसला ।

७.    उक्तफैसलामा चित्त नबुझाई प्र.हरुको पुनरावेदनको निवेदन परेकोमा ना.अं.अ.को फैसलामा कानुनी त्रुटि भएको भनी पुनरावेदनगर्ने अनुमति प्रदान गर्ने म.क्षे.अ.सिंगलबेञ्चको मिति २०४०।१०।९।२ को आदेश ।

८.    मिति २०३४।१२।२४ मा पारीत इन्द्रलोचनले प्रतिवादी ईरा शर्मालाई गरिदिएको बकसपत्रमा दिने लिनेको महलको व्यहोराबाट सो बकसपत्र लिखत रुकमणिदेवीले ईरा शर्मालाई लेखी दिएको भन्ने देखिएबाट मरी सकेको रुकमिणीदेवीकै नामबाट लिखत गरी दिन सक्ने अधिकारपत्रबाट नदेखिने, जुन अधिकारपत्रको आधारमा बकसपत्र गरी दिएको हो सो अधिकारपत्रको कानुनी मान्यता नै शुन्य भएको स्थितिमा सो लिखतमा साक्षी बसेको भएबाट र कानुनी प्रश्नमा विबन्धनको सिद्धान्त लाग्ने नदेखिएबाट सो लिखतमा वादी साक्षी बसेकैबाट मात्र दावी बमोजिमको बकसपत्र बदर हुँदैन भन्न नमिल्ने समेत हुँदा फिराद दावी बमोजिम बकसपत्र लिखत र दर्ता समेत बदर हुने ठहर्‍याएको नारायणी अञ्चल अदालतको फैसला मनासिब छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।८।६।४ को फैसला ।

९.    सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीहरुको निवेदनमा लिखत र दर्ता समेत सम्पूर्ण बदर हुने ठहराएको म.क्षे.अ.को फैसलामा अ.बं. ८२ नं. को त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।८।२५ गतेको आदेश ।

१०.    निर्णयार्थ सर्वोच्च अदालत डिभिजनबेञ्च समक्ष पेश हुँदा यस्मा मिति २०३२।१।१८ मा रुकमिणीदेवी ढुड्डानाले गरी दिएको अख्तियारनामाको आधारमा निज रुकमिणीका लोग्ने ईन्द्रलोचन शर्माले प्रतिवादी ईरा शर्मालाई विवादको बकसपत्रको लिखत २०३४।१२।२४ मा गरी दिएको देखिन्छ । अख्तियारी दिने निज रुकमिणीको उक्त बकसपत्रको लिखत हुनु पूर्व मिति २०३४।३।१२ मा नै मृत्यु भइसकेको भन्ने कुरा पनि विवादित देखिन्न । जसले जुन लिखत गरी दिएको हो उसको नै मृत्यु भइसकेपछि त्यस्तो लिखतको कानुनी मान्यता स्वतः शुन्य हुन जाने हुन्छ । तसर्थ अख्तियारनामाको लिखत गरी दिने रुकमिणीको मृत्यु भइसकेपछि गरी दिएको विवादको बकसपत्रको कानुनी मान्यता स्वतः शुन्य भइसकेको मान्न पर्ने हुन्छ । अतः त्यस्तो लिखतमा साक्षी बसेको भनी वादीलाई विवन्धनको सिद्धान्त लागू हुन्छ भन्नु मनासिब हुँदैन । साथै विवादको २०३४।१२।२४ को बकसपत्रको लिखत हेर्दा मर्ने रुकमिणीकै नामबाट उक्त लिखत भएको अर्थात् हक हस्तान्तरण भएको देखिन्छ । यसरी मरी सकेको व्यक्तिबाट हक हस्तान्तरण पनि हुन सक्ने होइन । तसर्थ उपरोक्तानुसार कानुनी मान्यता शुन्य भइसकेको लिखत अख्तियारनामाको आधारमा गरी दिएको बकसपत्रलाई वैध लिखत मान्न नसकिने हुँदा वादी दावी बमोजिम प्रतिवादी इन्द्रलोचनले प्रतिवादी इरा शर्मालाई २०३४।१२।२४ मा गरी दिएको बकसपत्र बदर हुने ठहर्‍याएको नारायणी अञ्चल अदालतको इन्साफ सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।

११.    वादी दावी अनुसार अख्तियारनामा गरी दिने व्यक्तिको मृत्यु भएपछि त्यस्तो लिखतको कानुनी मान्यता हुँदैन भन्नेसम्म जिकिरलाई बेमनासिब भन्न सकिँदैन । त्यस्तो लिखत गरी दिने व्यक्तिको मृत्युपछि लिखतको कानुनी स्थिति के हुने भन्ने बारेको लिखतमा नै रहन्छ भने लिखत गरी दिने व्यक्तिको मृत्युपछि त्यस्तो लिखतको कानुनी मान्यता समाप्त हुने नै हो र त्यस्तो कानुनी मान्यता विहीन लिखतको आधारमा अन्य कुनै काम कारोबार हुन सक्ने होइन र भए पनि त्यस्तो वैधतामा प्रश्न उठाउन सकिन्छ । तर प्रस्तुत मुद्दामा उक्त विवादको बकसपत्रको लिखतमा वादी स्वयं साक्षी बसी स्वहस्त सहिछाप गर्नुभएको कुरालाई वादीले स्वीकार गर्नुभएको छ । जबरजस्ती गरी वा झुक्यानमा पारी उक्त लिखतमा सही गराएको हो भन्ने दावी छैन र कुनै प्रमाण दिन सक्नु भएको छैन । विवादको बकसपत्र २०३२।१।१८ को अख्तियारनामा आधारमा भएको कुरा वादीलाई तत्काल जानकारी भएको तथ्य हुनुको अतिरिक्त उक्त लिखत हुँदा सो अख्तियारनामा गरी दिने व्यक्तिको मृत्यु भइसकेको निजलाई तत्काल थाहा भएपछि त्यस्तो लिखतको कानुनी मान्यता समाप्त भइसकेको लिखतको आधारमा बकसपत्र दिन मिल्दैन भनी उसै बखत निजले आपत्ति जनाउनु पर्ने थियो । जस्ले गर्दा यस प्रकारको विवाद नै खडा हुने थिएन । त्यसबेला यी सबै तथ्यगत कुराहरुको पूर्णतः जानकारी व्यक्ति वादीले उक्त विवादको बकसपत्रको लिखतमा साक्षी बसी सहिछाप गरी कानुन बमोजिम उक्त लिखत प्राप्त भएको देखिन्छ । तसर्थ एकपटक स्वीकार गरी सकेको कुरालाई पुनः स्वीकार छैन भनी भन्न विवन्धनको सिद्धान्त अर्थात् प्रमाण ऐन, २०३१ को दफा ३४ ले निज वादीलाई निषेध गर्दछ । अर्थात् आफूले साक्षी बसी स्वेच्छाले सहिछाप गरी कानुन बमोजिम पास भएको लिखतलाई तथ्यगत कुराको आधारमा बदर गरिपाउँ भन्ने हकबाट विवन्धनको सिद्धान्तले वादीलाई बञ्चित गराउँदछ । तसर्थ उक्त मिति २०३४।१२।२४ मा कानुन बमोजिम पारीत भएको बकसपत्रलाई सदर हुने ठहर्‍याएको शुरु पर्सा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४३।२।२३ मा आदेश भएको रहेछ ।

१२.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले रुकमिणीदेवीले दिएको मिति २०३२।१।१८ गतेको अख्तियारनामा बमोजिम ईरा शर्मालाई २०३४।१२।२४ मा बकसपत्र गरी दिएको हो । बकसपत्रको लिखतमा वादी स्वयं साक्षी बसेका छन् । यसरी लिखतमा साक्षी बसी सकेको व्यक्तिले हाल आएर सोही लिखत बदर गराई माग्न वादीलाई विवन्धनको सिद्धान्तले निषेध गर्दछ । तसर्थ लिखत र दर्ता बदर हुनु पर्ने होइन भन्ने र विपक्षी वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिहर दाहालले अख्तियारनामा गरी दिने व्यक्तिको मृत्यु भइसकेपछि सो अख्तियारनामा स्वतः प्रभावहिन हुन पुग्छ । यस्तो अख्तियारनामा बमोजिम गरिएको बकसपत्रले कानुनी मान्यता पाउन सक्दैन । कानुनी मान्यता शुन्य लिखतमा साक्षी बसेकै कारणबाट विवन्धनको सिद्धान्त आकर्षित हुन सक्दैन । कानुनी प्रश्नमा विवन्धन लाग्न सक्दैन तसर्थ लिखत दर्ता बदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।

१३.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यस्मा रुकमिणीदेवी ढुंगानाले आफ्नो नाम दर्ताको घर जग्गा रेखदेख गर्न समेत पति इन्द्रलोचन शर्मा ढुंगानालाई २०३२।१।१८ मा गरी दिएको अधिकारपत्रको आधारमा आमाको २०३४।३।१२ मा मृत्यु भएपछि हाम्रो समेत अंश हकको कि.नं. ११९ को २३ को जग्गा र त्यस्मा बनेको १४ कोठे घर इन्द्रलोचनले भाउजू ईरा शर्मालाई २०३४।१२।२४ मा हालैदेखिको बकसपत्र पास गरी दिनु भयो । अख्तियार दिने व्यक्तिको मृत्यु भएपछि सो अख्तियारनामा स्वतः बदर हुने हुँदा यस्तो अवैध अख्तियारनामाको आधारमा गरी दिएको मिति २०३४।१२।२४ गतेको लिखत बदर गरिपाउँ भन्ने फिराद दावी देखिन्छ । अख्तियारनामा समेतको आधारमा ईरा शर्मालाई बकसपत्रको लिखत पास गरी दिएको हो उक्त बकसपत्रको लिखतमा वादी स्वयं पनि साक्षी बसेका छन् । यस्तोमा सोही लिखत बदर गरी माग्न वादीलाई विवन्धनको सिद्धान्तले रोक्दछ भन्ने प्रतिवादी जिकिर भएको पाइन्छ । रुकमिणीले लोग्ने प्रतिवादी मध्येका इन्द्रलोचनलाई अख्तियारनामा गरी दिएको र सोही अख्तियारनामा अनुसार ईन्द्रलोचनले बुहारी ईरा शर्मालाई घर जग्गा बकसपत्र गरी दिएको उक्त घर जग्गाको बकसपत्र लिखत पास गरी दिनु भन्दा अघि नै २०३४।३।१२ मा अख्तियारनामा दिने व्यक्ति रुकमिणीको मृत्यु भइसकेको कुरामा विवाद देखिन्न । बकसपत्र लिखतमा वादी नरनारायणभक्त साक्षी बसेको आधारमा वादी नरनारायणले उक्त लिखतमा विवाद गर्न नमिल्ने भन्ने कथन रहेको देखियो । कुनै कामको लागि अख्तियार दिएकोमा अख्तियारनामा दिने व्यक्तिको मृत्यु भएपछि सो अख्तियारनामा स्वतः निस्कृय हुन्छ । अख्तियारनामा दिनेको मृत्यु पश्चात सो अख्तियारनामाको कानुनी मान्यता पनि स्वतः समाप्त हुन्छ भन्ने कुरामा डिभिजनबेञ्चको दुवै माननीय न्यायाधीशहरुको राय मतैक्य रहेको पाइन्छ । अख्तियारनामा दिने व्यक्तिको जीवन काल सम्म मात्रै अख्तियारनामा प्रभावकारी हुने हुँदा रुकमिणी मरी सकेपछि निजको अख्तियारनामाको आधारमा लिखत गरी दिन लिन समेत मिल्दैन । तर प्रस्तुत बकसपत्र सो अख्तियारनामाको आधारमा लिखतमा रुकमिणी आगे भई बकसपत्र गरी दिएको देखिन्छ । त्यस्तो कानुनी मान्यता सुन्य भएको अख्तियारनामाको आधारमा रुकमिणीदेवीको नामबाट इन्द्रलोचनले गरी दिएको मिति २०३४।१२।२४ को बकसपत्र लिखतलाई कानुन बमोजिम गरिएको लिखत भन्न मिल्ने देखिएन । अतः नरनारायण साक्षी बसेको हुँदा विवन्धनको सिद्धान्त अनुसार नरनारायणले विवाद गर्न नसक्ने भनी पुनरावेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताले बहसमा तर्क उठाउनु भएकोले त्यसतर्फ हेर्दा वैध लिखतमा साक्षी बसेको भए विवन्धनको सिद्धान्त लाग्न सक्ने हुन्छ । तर लिखत नै निस्कृय भएको अवस्थामा सो लिखतको साक्षीको कुनै महत्व वा प्रयोजन नहुने हुँदा यस्तोमा विवन्धनको सिद्धान्त लागू हुन्छ भन्न मिलेन । अतः अख्तियारनामा गरी दिने रुकमिणी मरी सकेपछि कानुनी मान्यता विहीन भएको अख्तियारनामाको आधारमा गरी दिएको बकसपत्रको लिखतले कानुनी मान्यता पाउन सक्ने स्थिति नहुँदा वादी दावी बमोजिम ईन्द्रलोचनले प्रतिवादी ईरा शर्मालाई गरी दिएको मिति २०३४।१२।२४ को बकसपत्र लिखत र सो लिखतको आधारमा गरेको दर्ता समेत बदर हुने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । कोर्टफी राखी दायर भएको हुँदा केही गरी रहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु।

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

न्या.प्रचण्डराज अनिल,

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४६ साल वैशाख ६ गते रोज ३ शुभम् ।