निर्णय नं. ३७१९ – उत्प्रेषण
निर्णय नं. ३७१९ ने.का.प. २०४६ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज...
निर्णय नं. ३७१९ ने.का.प. २०४६ अङ्क २
पूर्ण इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४५ सालको रि.फु.नं. ४६
आदेश भएको मिति : २०४६।२।५।५ मा
निवेदक/रिटनिवेदक : जि.पर्सा मुडली गा.पं. वार्ड नं. ३ बस्ने शेषनाथ प्रसाद कुर्मी
विरुद्ध
विपक्षी/प्रत्यर्थी : ऐ.ऐ. बस्ने मकवुल अहमदसमेत
पूर्ण इजलासको मिति २०४३।११।५ को फैसला ने.का.प. भाग २९, (२०४४) अंक २ नि.नं. २९८६, पृष्ठ १४० मा प्रकाशित
विषय : उत्प्रेषण
(१) भूमिसम्बन्धी ऐन, २०२१ एउटा विशेष ऐन हो र यसमा प्रयुक्त शब्दहरुलाई ऐनको मर्म विपरीत हुने गरी अन्य प्रचलित नेपाल कानुनमा प्रयुक्त अर्थ अनुसार व्याख्या गर्नु पर्दछ भन्न नमिल्ने ।
(प्रकरण नं. १३)
(२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६३ मा यो ऐन र यस अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सोही बमोजिम र अरुमा प्रचलित नेपाल कानुन बमोजिम हुने भन्ने उल्लेख भएबाट भूमिसम्बन्धी ऐन, २०२१ मा प्रयुक्त शब्दहरुको व्याख्या गर्दा उक्त ऐनमा भएको व्यवस्था अनुकूल व्याख्या गरिनु पर्ने ।
(प्रकरण नं. १३)
(३) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा प्रयोग भएको छोराहरु शब्द भित्र कानुन व्याख्या सम्बन्धी ऐनको दफा २(म) मा गरिएको परिभाषा अनिवार्य रुपमा अवलम्बन गरिनु पर्दछ भन्न नमिल्ने ।
(प्रकरण नं. १३)
(४) एकै साथ द्वैध अस्तित्व राख्न सक्ने स्थितिको धर्मपुत्रलाई धर्म पिता तर्फको मोही हक सर्न सक्ने भन्ने प्रष्ट कानुनी व्यवस्थाको अभावमा मोही हक पाउँछ नै भनी व्याख्या गर्न नमिल्ने ।
(प्रकरण नं. १४)
(५) मोहियानी हकलाई अन्य प्रचलित कानुनमा व्यवस्था गरिएको अंश र अपुतालीको हक जस्तो एउटा पूर्ण अधिकारको रुपमा लिन नमिल्ने ।
(प्रकरण नं. १४)
(६) मोही हक अंश बण्डा बेचविखन वा अन्य कुनै पनि तरिकाबाट हक टुटाई लिन नपाइने ।
(प्रकरण नं. १४)
(७) अंश र अपुतालीको सन्दर्भमा समान स्थितिका हकदारहरुको समान अधिकार र दायित्व रहन्छ भने मोहियानी हकको सम्बन्धमा यस्तोमा समान हक अधिकार र दायित्व नरहने ।
(प्रकरण नं. १४)
(८) मोही मरेमा निजको मोहियानी हक निजका पति पत्नी वा छोराहरु सबैको समान हक नरहने यो अविभाजित हुने ।
(प्रकरण नं. १४)
(९) मोहियानी हक अंश अपुताली झै स्वतः प्राप्त हुने निर्विवाद हक हो भनी भन्न नमिल्ने ।
(प्रकरण नं. १४)
(१०) आफ्नै विर्यबाट जन्मेका सबै छोराहरुले समान रुपमा हक प्राप्त गर्न नसक्ने स्थितिको मोहियानी हक केबल धर्मपुत्र भएका नाताले अंश अपुतालीमा झै धर्म पिता तर्फको मोही हक प्राप्त हुन नसक्ने अवस्थालाई समानताको हक विपरीत भनी तर्क गर्न नमिल्ने ।
(प्रकरण नं. १४)
(११) कानुन व्याख्या सम्बन्धी ऐन, २०१० व्याख्याको जटिलतालाई हटाउन मद्दत गर्न एउटा साधारण ऐन हो विशेष ऐनमा भएको विशेष व्यवस्थालाई नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले काट्न नसक्ने ।
(प्रकरण नं. १४)
(१२) मोहियानी हक भनेको कानुनले तोके बमोजिम जग्गावालाको हित विपरीत नहुने गरी आफ्नो र आफ्नो परिवारबाट कमाउने सम्मको हक हो ।
(प्रकरण नं. १४)
(१३) जग्गा कमाउने मोही मरे पनि निजको सो कमाउने हक आफ्नो परिवारकै सदस्यहस्रु बीच रहोस् भन्ने मनसायले विधायिकाले मोहीको मृत्युपछि निजको मोहियानी हक निजका पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने भनी व्यवस्था गरिराखेको पाइने ।
(प्रकरण नं. १४)
(१४) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा पति पत्नी वा छोराहरु भनी परिवार भित्रको अति नजिकको नातालाई संकेत गरेको देखिने ।
(प्रकरण नं. १४)
(१५) आफ्नै विर्य वा रगतको नाता भएको आफ्नै बंश परम्परालाई अटुट रुपमा चलाउँदै लैजाने आफ्नै छोरा तर्फको आफ्नो नाती वा आफ्नै छोरा तर्फको सम्पूर्ण हक अधिकारको उत्तराधिकारको हैसियत राख्ने बुहारी वा नातीलाई समेत मोही हकबाट बाहिर गरेको स्थितिमा अर्काको रगत विर्यबाट पैदा भएको ग्रहण गरिएको धर्मपुत्रलाई मोही हकाधिकार दिने भन्ने विधायिकाको मनसाय रहेको नदेखिने ।
(प्रकरण नं. १४)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी
अवलम्बित नजीर : जोगकुमारी विरुद्ध भू.सु.का. काठमाडौं समेत भएको २०४१ सालको रि.नं. २२२९ को उत्प्रेषणको मुद्दामा २०४२।५।९ मा निर्णय भएको । ने.का.प. २०४३, अंक ४, पृष्ठ ३१४
आदेश
न्या.प्रचण्डराज अनिल
१. सर्वोच्च अदालत पूर्ण इजलासको मिति २०४३।११।५।३ को निर्णय दोहोर्याई पाउँ भनी रिट निवेदक शेषनाथ प्रसाद कुर्मीले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तिपत्रमा नेपालको संविधानको धार ७२(ख) बमोजिम गर्नु भन्ने मौसूफ सरकारबाट हुकुम बक्स भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. प्रतिरक्षीका नाममा दर्ता रहेको जिल्ला पर्सा मुडली गा.पं. वडा नं. ३ कि.नं. १९१ को ज.वि. ०–१६–१० हरिनन्दन कुर्मी मोही हुनुभएकोमा निज मिति २०४२।१।१५ मा स्वर्गीय हुनुभयो । प्रतिरक्षीले मोही हरिनन्दन स्वर्गीय भएको र निजको पत्नी छोराहरु नभएबाट मोही लगत कट्टा गरिपाउँ भनी मिति २०४२।२।२३ मा भूमिसुधार कार्यालय पर्सामा निवेदन दिएको हरिनन्दनले मलाई मिति २०४०।९।१० मा धर्मपुत्र राख्नु भै मिति २०४२।१।१५ मा स्वर्गीय भएकोले मेरा नाममा मोही नामसारी गरिपाउँ भनी मैले निवेदन दिएको थिएँ । मैले निवेदन गर्दा विपक्षीले निवेदन गरेको थाहा पाई म धर्मपुत्र छँदाछँदै मोही लगत कट्टा हुन नसक्ने भनी निवेदन गर्नुको साथै २०४१ को कूतबाली भूमिसुधार कार्यालय पर्सामा धरौट राखेको छु भनी २०४२ साउनमा भूमिसुधार कार्यालय, पर्सामा निवेदन गरेको थिएँ । मेरो निवेदनमा प्रतिरक्षीले धर्मपुत्रलाई ऐनको दफा २६(१) बमोजिमको हक प्राप्त नहुने भनी प्रतिवाद गर्नु भयो । नेपाल कानुन व्याख्या सम्बन्धी ऐनमा बाबु र छोराको स्पष्ट व्याख्या गरे बमोजिम मेरा नाममा नामसारी हुन पर्ने मैले प्रतिवाद गरेको थिएँ । विपक्षी अधिकारीले ऐनको २६(१) दफामा धर्मपुत्रको नाममा मोही नामसारी गर्ने व्यवस्था नदेखिंदा शेषनाथ प्रसादको माग बमोजिम गर्न नमिल्ने भनी मोही लगत कट्टा गरी दिने ठहर्याई मिति २०४२।५।७ मा निर्णय गर्नुभयो ।
३. “छोरा” शब्दले धर्मपुत्रलाई पनि जनाउने र “बाबु” शब्दले धर्मपुत्र राख्ने पितालाई पनि जनाउने हुँदा भूमि सम्बन्धी ऐनको दफा २६(१) बमोजिम छोरामा सर्ने अधिकार स्वतः सर्ने हुन्छ । धर्मपुत्रको नाममा नामसारी गर्ने व्यवस्था नदेखिंदा भनी निर्णय गरेको न्यायिक मनको अभाव छ । हरिनन्दनकै जीवन कालमा उक्त जग्गा जोतकोड गरी २०४१ सालको कूतबाली प्रतिरक्षीलाई बुझाउन जाँदा नबुझी दिएकोले कुतबाली भूमिसुधार कार्यालय, पर्सामा मिति २०४१।११।३० मा धरौटीसमेत राखेको प्रमाण नबुझी धर्मपुत्रलाई छोराको मान्यता नदिई भएको उक्त निर्णय सम्मानीत अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत छ । अतः विपक्षी अधिकारीको मिति २०४२।५।७ को त्रुटिपूर्ण निर्णय उत्प्रेषण लगायतको आदेश जारी गरी बदर गरी मेरो हक संरक्षण गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।
४. यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाउने भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश ।
५. धर्मपुत्रलाई मोही नामसारी गरी दिनुपर्छ भन्ने कानुनमा कुनै व्यवस्था नभएकोले यो रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय, पर्साको लिखितजवाफ ।
६. धर्मपुत्रलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को छोराको हक प्राप्त हुन सक्ने होइन अतः भूमिसुधार अधिकारीको निर्णयमा कुनै त्रुटि नहुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको मकबुल अहमदको लिखितजवाफ ।
७. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६३ मा यो ऐनमा यस ऐन अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सोही बमोजिम र अरुमा प्रचलित कानुन बमोजिम हुनेछ भन्ने उल्लेख गरेको पाइन्छ । कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले छोरा भन्नाले धर्मपुत्र समेतलाई जनाउँदछ भनेको छ । भूमिसम्बन्धी ऐनमा उल्लेख भएको कुराको हकमा समेत कानुन व्याख्या सम्बन्धी ऐनले काट्न सक्ने कुरा आएन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने व्यवस्था गरेको पाइन्छ । उक्त दफाको छोराहरु भन्ने शब्दले धर्मपुत्रलाई नभई जन्माएको छोरालाई इंगित गरेको हो । कानुन व्याख्या सम्बन्धी ऐन, २०१० पनि एउटा ऐन हो सबै ठाउँमा यो लागू हुन्छ भन्न मिल्दैन । दफा २६(१) को प्रयोजनको लागि धर्मपुत्रलाई छोरा सरह मान्न नमिल्ने र उक्त दफामा धर्मपुत्रले मोही हक पाउने व्यवस्था उल्लेख नगरेबाट निवेदकको नाममा मोही नामसारी नगर्ने मरुवा मोहीको लगत कट्टा गर्ने गरेको भूमिसुधार कार्यालय पर्साको निर्णयमा कानुनी त्रुटि नदेखिंदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।
८. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहिपछि निजको मोही हक पति पत्नी वा छोराहरुमा जग्गावालाले पत्याएको व्यक्तिमा सर्ने व्यवस्था गरेको छ । छोरा भन्नाले कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ को उपदफा (म) मा धर्मपुत्र समेतलाई जनाउँदछ भन्ने कुरा उल्लेख छ । नेपाली बृहद शब्दकोषले पनि पुत्र भन्नाले धर्मपुत्र समेतलाई जनाउँदछ । विधिशास्त्रको छोरा सम्बन्धी धारण हेर्दा पनि धर्मपुत्रले छोरा सरह अधिकार दायित्व उपभोग गर्न सक्दछ । वंश परम्परा थाम्ने पैतृक ऋणबाट मुक्त गराउने र छोराबाट प्राप्त गर्ने मृत्यु पछिका संस्कारगत कृया पिण्ड–पानी श्राद्ध आदि चलाउने उद्देश्यले धर्मपुत्र राखिने कुरा हिन्दू विधिले देखाएको छ । धर्मपुत्र बस्नेको धर्मपुत्र बनेपछि अघिल्लो बाबु पट्टिको उसको हक समाप्त हुन्छ । यदि धर्मपुत्रलाई दुवैपट्टिको अधिकार नरहने हो भने उसले आफ्नो समानताको अधिकार गुमाउँदछ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा प्रयुक्त छोरा भन्ने शब्दले धर्मपुत्रलाई जनाउँदछ किनभने त्यो ऐनमा धर्मपुत्रलाई जनाउँदैन भन्ने विशेष व्यवस्था गरेको पाइँदैन । छोरा भन्ने शब्दको यदि सो ऐनमा धर्मपुत्रलाई बाहिर पार्ने मनसाय भएमा विधायिकाले उक्त ऐनमा नै छोरा शब्दको छुट्टै परिभाषा गरिएको हुनुपर्दथ्यो छुट्टै परिभाषा नगरिएबाट पनि नेपाल कानुन व्याख्या सम्बन्धी ऐनको परिभाषा लागू नहुने भनी मान्न मिलेन । अतः उपरोक्त कारणबाट निवेदकका नाममा मोही नामसारी गर्नु पर्नेमा धर्मपुत्रको नाममा मोहियानी नामसारी नहुने भनी मोही लगत कट्टा गर्ने गरेको भूमिसुधार कार्यालय पर्साको मिति २०४२।५।७ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । पुनः कानुन बमोजिम निर्णय गर्नु भनी परमादेशको आदेश जारी हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधानको राय भई मिति २०४३।४।१३ मा निर्णय भएको रहेछ ।
९. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा “यस परिच्छेदको अधीनमा रही मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ” भन्ने व्यवस्था भएको पाइन्छ । यसमा उल्लेखित छोराहरु शब्दले आफ्नै विर्यबाट जन्मिएको छोरामात्र जनाउँदछ उक्त शब्दले धर्मपुत्रलाई समेत जनाउँछ भन्ने कानुनको मनसाय रहेको देखिएन । यहाँसम्मकी एउटै बाबुको छोरा केवल आमामात्र फरक भएको कारणबाट सौतेनी छोराले सौतेनी आमाको नाउँको मोहियानी हक निजको मृत्यु पछि प्राप्त गर्न नसक्ने भनी संवत् २०४१ सालको रिट नम्बर २२२९ रिट निवेदक जोगकुमारी बज्राचार्य विपक्षी भू.सु.का. काठमाडौं समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा स.अ. डिभिजनबेञ्चबाट २०४२।५।९ मा निर्णय भएको देखिन्छ । त्यसै भू.सु.ऐन, २०२१ को दफा २६(१) को छोराहरु भन्ने शब्दले चेला छोरालाई नजनाउने हुँदा चेला छोराले मोही हक प्राप्त गर्न नसक्ने भनी रिट निवेदक मुखा हजरा दुसाध समेत विरुद्ध सिताराम दास वैरागी समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा २०४३।४।१७।६ मा यस अदालत डिभिजनबेञ्चबाट निर्णय भएको (ने.का.प. २०४३ अंक ४ पृष्ठ ३१५) पाइन्छ । गृहास्थाश्रम तर्फ धर्मपुत्र भएझै सन्यास तर्फ चेला छोरा हो । यी दुवै एकै समान श्रेणीका हुन । चेलाले मोही हक प्राप्त गर्ने भएपछि धर्मपुत्रले मात्र धर्मपिताको मोहियानी हक प्राप्त गर्न सक्दछ भन्नु न्याय एवं तर्कसंगत देखिएन । अतः रिट निवेदकलाई मोही हक प्राप्त हुन सक्ने नदेखिंदा रिटनिवेदन खारेज हुने ठहर्याएको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ भन्ने समेत मिति २०४३।११।५ को सर्वोच्च अदालत पूर्ण इजलासको निर्णय ।
१०. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने व्यवस्था रहेको देखिन्छ । भूमिसम्बन्धी ऐनमा छोरा शब्दको परिभाषा गरिएको पाइँदैन । नेपाल कानुन व्याख्या सम्बन्धी ऐनको दफा २(म) मा पुत्र (छोरा) शब्दले ऐनमा धर्मपुत्र राख्न पाउनेले राखेको धर्मपुत्रलाई समेत जनाउँछ भन्ने उल्लेख भएको पाइन्छ । विषय प्रसंगले अर्को अर्थ नलागेसम्म नेपाल कानुनमा प्रयुक्त शब्दको सम्बन्धमा कानुन व्याख्या सम्बन्धी, ऐन, २०१० ले गरेको परिभाषा आधिकारिक हुने हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा प्रयुक्त छोरा शब्द भित्र धर्मपुत्र समेत पर्ने देखिएकोले निवेदकका नाउँमा मोही नामसारी गर्नु पर्नेमा नामसारी गरिपाउँ भन्ने निवेदन खारेज हुने ठहर्याएको भू.सु.का. पर्साको २०४२।५।७ को निर्णय त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम पुनः निर्णय गर्नु भनी विपक्षी भूमिसुधार कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्याएको मा.न्या.श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ तर बहुमतको राय कायम हुने हुँदा केही गरी रहन परेन भन्ने समेत सम्माननीय न्यायाधीशको छुट्टै राय रहेछ ।
११. सर्वोच्च अदालत पूर्ण इजलासको २०४३।११।५ को निर्णय दोहोर्याई पाउँ भनी रिटनिवेदकले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारको जुनाफमा चढाएको बिन्तिपत्रमा नेपालको संविधान धारा ७२(ख) बमोजिम गर्नु भन्ने मौसूफ सरकारबाट हु.प्र. बक्स भई आएको रहेछ ।
१२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दासले भूमिसम्बन्धी ऐन, २०२१ मा छोरा शब्दको परिभाषा गरिएको छैन । कानुनमा प्रयुक्त भएका शब्दहरुको कुनै विशेष कानुनले विशेष रुपमा परिभाषित नगरेको अवस्थामा यस्ता शब्दहरुको व्याख्याको लागि बनेको कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले गरेको परिभाषालाई नै अवलम्बन गर्नु पर्दछ । कानुन व्याख्या सम्बन्धी ऐनको दफा २(म) मा पुत्र (छोरा) शब्द भित्र धर्मपुत्र समेत पर्दछ भनी स्पष्ट व्याख्या भै रहेको अवस्थामा यसमा असर पर्ने गरी व्याख्या गर्न मिल्दैन । अतः निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने भन्ने र प्रत्यर्थी भूमिसुधार कार्यालयको तर्फबाट बहसको लागि खटिई उपस्थित हुनुभएका सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटीले भूमिसम्बन्धी ऐन, २०२१ एउटा विशेष ऐन हो, यस ऐनमा प्रयुक्त शब्दहरुको सोही ऐनको तात्पर्य अनुसार व्याख्या गरिनु पर्ने हुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा उल्लेखित छोराहरु भन्ने शब्दभित्र कानुन व्याख्या ऐनको परिभाषा वा मुलुकी ऐन बमोजिम अंश अपुतालीका अरु छोराहरु सरह समानरुपमा धर्मपुत्रले पनि अधिकार राख्दछन भन्दै सोही अनुकूल मोही हकमा समेत दावी गर्न पाउने भनी व्याख्या गर्न मिल्दैन भन्ने र प्रत्यर्थी मकबुल अहमदको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिंहले सौतेनी छोरा तथा चेला छोराले मोही हकमा दावी गर्न नसक्ने भनी यस अदालत डिभिजनबेञ्चबाट विभिन्न निर्णयहरु भई अन्तिम रुपमा रही रहेका छन् । एउटै रगतको सौतेनी छोराले दावी गर्न नसक्नेलाई त्यो भन्दा टाढाको बनाइएको धर्मपुत्रले मोही हक पाउँछ भन्नु मिल्ने स्थिति नहुँदा २०४३।११।५।३ को पूर्ण इजलासको बहुमतको निर्णय नै सदर हुनु पर्ने भनी बहस गर्नु भयो ।
१३. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत रिटनिवेदनमा निर्णयतर्फ हेर्दा यसमा विवादीत कि.नं. १९१ को जग्गाको मोही मेरो धर्मपिता हरिनन्दन कुर्मीको मृत्यु भएकोले निजको नाउँको मोही हक मेरो नाउँमा मोही नामसारी गरिपाउँ भनी यी रिटनिवेदकले भू.सु.का.पर्सामा दिएको निवेदनमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम धर्मपुत्रले मोही नामसारी गर्न नपाउने ठहर्याई भू.सु.का. पर्साबाट २०४३।५।७।६ मा निर्णय भएको र उक्त निर्णय उपर प्रस्तुत रिटनिवेदन पर्न आएको देखिन्छ । मोहीको मृत्युपछि मोहियानी हक कसकसमा सर्न सक्ने भन्ने तर्फ हेरिएमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने उल्लेख भएको पाइन्छ । उक्त कानुनी व्यवस्थाबाट मोहीको मृत्यु पश्चात निजका पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिमा सर्न सक्ने देखिन्छ । अब जहाँसम्म उक्त दफा २६(१) मा प्रयुक्त “छोराहरु” भन्ने शब्दभित्र धर्मपुत्र पर्दछ वा पर्दैन हेर्नुपर्ने हुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ एउटा विशेष ऐन हो र यसमा प्रयुक्त शब्दहरुलाई ऐनको मर्म विपरीत हुने गरी अन्य प्रचलित नेपाल कानुनमा प्रयुक्त अर्थ अनुसार व्याख्या गर्नु पर्दछ भन्न मिल्दैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६३ मा यो ऐन र यस अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सोही बमोजिम र अरुमा प्रचलित नेपाल कानुन बमोजिम हुन्छ भन्ने उल्लेख भएबाट भूमिसम्बन्धी ऐन, २०२१ मा प्रयुक्त शब्दहरुको व्याख्या गर्दा उक्त ऐनमा भएको व्यवस्था अनुकूल व्याख्या गरिनु पर्दछ । भूमिसम्बन्धी ऐनको दफा २६(१) मा छोरा शब्दको प्रयोग भएको भए तापनि छोराहरु शब्दभित्र धर्मपुत्र पर्दछ वा पर्दैन भन्ने प्रश्न आएपछि भूमिसम्बन्धी ऐनमा त्यस शब्दको परिभाषा दिएको छैन कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ (म) मा छोरा (पुत्र) शब्दले ऐनमा धर्मपुत्र राख्न पाउनेले राखेको धर्मपुत्रलाई समेत जनाउँछ भन्ने उल्लेख भएको हुँदा छोरा भित्र धर्मपुत्र समेत पर्दछ भन्ने रिटनिवेदक तर्फका विद्वान अधिवक्ताहरुले उठाएको जिकिर तर्फ हेर्दा कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ मा विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐन वा अरु नेपाल ऐनहरुमा भन्ने उल्लेख गरी त्यसपछि मात्र शब्दहरुको परिभाषा गरिएको छ । कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ मा उल्लेख भएको उक्त वाक्यांशबाट विषय वा प्रंसगको फरकले शब्दको अर्थमा फरक पर्न सक्ने स्थितिलाई ध्यानमा राख्दै सोही अनुकूल व्याख्या गर्न कुनै बाधा नपुगोस भन्ने विधायिकाको मनसाय रहेको प्रष्ट छ । यसबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) मा प्रयोग भएको छोराहरु शब्दभित्र कानुन व्याख्या सम्बन्धी ऐनको दफा २(म) मा गरिएको परिभाषा अनिवार्य रुपमा अवलम्बन गरिनु पर्दछ भन्न मिल्ने देखिएन ।
१४. भूमिसम्बन्धी ऐन, २०२१ को उक्त दफा २६(१) मा “छोराहरु” भन्ने शब्द प्रयोग भएको छ । आफ्नै विर्यबाट जन्मेका छोरा र धर्मपुत्रको स्थिति र हैसियतमा ठुलो भिन्नता छ । आफूले जन्माएको छोरालाई जस्तै अवस्थामा पनि बदर गराउन सकिन्न जबकी धर्मपुत्र कानुन बमोजिम अर्काको पुत्र ग्रहण गरिने र कानुनमा तोकिएको अवस्थामा जुनसुकै बेला पनि बदर गराउन सकिने र यसरी बदर भएपछि उस्को धर्मपिता तर्फको सम्पूर्ण हक तथा दायित्व समाप्त भै आफूलाई जन्म दिने बाबु आमातर्फको हक अधिकार र दायित्व ग्रहण गर्न पुग्दछ । यसरी एकैसाथ द्वैध अस्तित्व राख्न सक्ने स्थितिको धर्मपुत्रलाई धर्मपिता तर्फको मोही हक सर्न सक्ने भन्ने प्रष्ट कानुनी व्यवस्थाको अभावमा मोही हक पाउँछ नै भनी व्याख्या गर्न मिल्ने देखिँदैन । अर्को तर्फ कानुन व्याख्या सम्बन्धी, २०१० मा परिभाषा गरी छोरा भित्र धर्मपुत्र समेत समावेश भएको तथा धर्मपिताको तर्फको अंश अपुताली लगायतका अन्य अधिकारहरु समेत पुत्र (छोेरा) सरह उपभोग गर्न सक्दछ । साथै धर्मपुत्र बस्नेको अघिल्लो बाबुपट्टिको सबै अधिकार समाप्त हुने र पछिल्लो बाबु (धर्मपिता) तर्फको मोही हकमा पनि दावी गर्ने हक नहुने हो भने उस्को दुबैतिरको हक समाप्त भै आफ्नो समानताको हक गुमाउन सक्ने स्थिति हुन्छ भनी रिटनिवेदक तर्फका विद्वान अधिवक्ताले उठाउनु भएको तर्क तर्फ विचार गर्दा मोहियानी हकको प्रकृतितर्फ पनि ध्यान दिनु पर्ने हुन्छ । मोहियानी हकलाई अन्य प्रचलित कानुनमा व्यवस्था गरिएको अंश र अपुतालीको हक जस्तो एउटा पूर्ण अधिकारको रुपमा लिन मिल्दैन । मोही हक अंशबण्डा बेचबिखन वा अन्य कुनै पनि तरिकाबाट हक छुटाई लिन समेत पाइदैन । अंश र अपुतालीमा समान स्थितिका हकादारहरु सबैको बराबरी हक हुन्छ । अंश र अपुतालीको सन्दर्भमा समान स्थितिका हकदारहरुको समान अधिकार र दायित्व रहन्छ भने मोहियानी हकको सम्बन्धमा यस्तोमा समान हक अधिकार र दायित्व रहेको हुँदैन । अंश माग गर्दा अंशियारले आफ्नो सम्पत्ति बाँड्दछ तर मोहियानी हक दिलाउँदा जग्गाधनीको दायित्व थपिने निजको सम्पत्ति सम्बन्धी हकमा असर पर्न जाने हुन्छ । मोही मरेमा निजको मोहियानी हक निजका पति पत्नी वा छोराहरु सबैको समान हक रहँदैन अर्थात् यो अविभाजित हुन्छ । पति पत्नी वा छोराहरु समेत समान स्थितिको धेरै जना हकदारहरु भए तापनि तिनीहरु सबैले मोही हक बराबरी पाउने नभई तिनीहरु मध्ये जग्गावालाले पत्याएको कुनै एक जनालाई मात्र मोही हक प्राप्त हुने प्रष्ट कानुनी व्यवस्था छ । यो एउटा विशेष अधिकार वा सुविधाको रुपमा रहेको छ । मोहियानी हक अंश अपुताली झैं स्वतः प्राप्त हुने निर्विवाद हक हो भनी भन्न मिल्दैन । त्यसरी आफ्नै विर्यबाट जन्मेका सबै छोराहरुले पनि समान रुपमा हक प्राप्त गर्न नसक्ने स्थितिको मोहियानी हक केवल धर्मपुत्र भएका नाताले अंश अपुतालीमा झैं धर्मपिता तर्फको मोही हक प्राप्त हुन नसक्ने अवस्थालाई समानताको हक विपरीत भनी तर्क गर्न मिल्ने देखिँदैन । यसै परिप्रेक्षमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा उल्लेख गरिएको “छोराहरु” शब्दको व्याख्या गर्दा उक्त ऐन अनुसार नै व्याख्या गरिनु आवश्यक छ । हुन पनि कानुन व्याख्या सम्बन्धी ऐन, २०१० व्याख्याको जटिलतालाई हटाउन मद्दत गर्न एउटा साधारण ऐन हो । विशेष ऐनमा भएको विशेष व्यवस्थालाई नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले काट्न सक्दैन । भूमिसम्बन्धी ऐनको बनोटले पनि मोहियानी हक भनेको कानुनले तोके बमोजिम जग्गावालाको हित विपरीत नहुने गरी आफ्नो र आफ्नो परिवारबाट कमाउने सम्मको हक हो । जग्गा कमाउने मोही मरे पनि निजको सो कमाउने हक आफ्नो परिवारकै सदस्यहरु बीच रहोस् भन्ने मनसायले विधायिकाले मोहीको मृत्युपछि निजको मोहियानी हक निजका पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने भनी व्यवस्था गरिराखेको पाइन्छ । दफा २६(१) मा पति पत्नी वा छोराहरु भनी परिवार भित्रको अति नजिकको नातालाई संकेत गरेको देखिन्छ । उक्त व्यवस्थाबाट मोही हकको हकदारबाट छोरा नभएमा छोराको श्रीमती बुहारी वा छोराको छोरा नातिलाई समेत बाहेक गरेको देखिन्छ । आफ्नै विर्य वा रगतको नाता भएको आफ्नै वंश परम्परालाई अटुट रुपमा चलाउँदै लैजाने आफ्नै छोरातर्फको आफ्नो नाती वा आफ्नै छोरा तर्फको सम्पूर्ण हक अधिकारको उत्तराधिकारको हैसियत राख्ने बुहारी वा नातिलाई समेत मोही हकबाट बाहिर गरेको स्थितिमा अर्काको रगत विर्यबाट पैदा भएको ग्रहण गरिएको धर्मपुत्रलाई मोही हकाधिकार दिने भन्ने विधायिकाको मनसाय रहेको देखिँदैन । एउटै बाबुको छोरा भए पनि सौतेनी आमाको मोही हक निजको मृत्युपछि सौतेनी छोरालाई प्राप्त नहुने भनी यस अदालत डिभिजनबेञ्चबाट रिट निवेदक जोगकुमारी विरुद्ध भू.सु.का. काठमाडौं समेत भएको २०४१ सालको रि.नं. २२२९ को उत्प्रेषणको मुद्दामा २०४२।५।९ मा निर्णय भएको छ । त्यस्तै गुरुको मृत्युपछि निजको मोही हक निजको चेलालाई प्राप्त नहुने भनी २०४३।४।१७ मा (ने.का.प. २०४३ अंक ४ पृष्ठ ३१४) यस अदालत डिभिजनबेञ्चबाट निर्णय भएको पाइन्छ । यसरी सौतेनी छोरा वा आफ्नै छोरा तर्फको नाति समेतले नपाउने भनेको मोही हक त्यो भन्दा टाढाको ग्रहण गरिएको धर्मपुत्रले प्राप्त गर्न सक्ने भनी व्याख्या गर्न न्यायको दृष्टिबाट मिल्ने देखिएन । यस स्थितिमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा उल्लेखित छोराहरु भन्ने शब्दभित्र उक्त दफाको प्रयोजनको लागि धर्मपुत्र पर्न सक्ने भनी तर्र्क गर्न मिलेन ।
१५. अतः विवादित जग्गामा स्व. हरिनन्दन कुर्मीको मोही हक निजको मृत्यु पछि निजको धर्मपुत्र यी रिट निवेदकलाई प्राप्त हुन सक्ने नदेखिँदा हरीनन्दन कुर्मीको नाउँमा रहेको मोहीको लगत कट्टा हुने ठहर्याएको भू.सु.का. पर्साको २०४२।५।७ को निर्णयमा कुनै त्रुटि देखिएन । तसर्थ प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्याएको सर्वोच्च अदालत पूर्ण इजलासको बहुमतबाट भएको मिति २०४३।११।५।३ को निर्णय मनासिब ठहर्छ ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.बब्बरप्रसाद सिंह,
न्या. महेशरामभक्त माथेमा,
न्या.रुद्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय :–
१६. यसमा निवेदक शेषनाथप्रसाद कुर्मीको निवेदन दावी तथा विपक्षहरु तर्फबाट पेश भएका लिखितजवाफहरु र निजहरुका तर्फबाट उपस्थित हुनुभएका विद्वान कानुन व्यवसायीहरुको बहस जिकिरहरुबाट भूमिसम्बन्धी ऐन, २०२१ को व्यवस्थानुसार मोही हक प्राप्त मोहीको मृत्यु भएमा निजको सो मोही हक निजका आफ्नै छोरा पति पत्नी समेतका व्यक्ति नभएमा सो ऐनको दफा २६ मा भएको व्यवस्थाबाट निज मोही हक कानुन बमोजिमको धर्मपुत्रले पाउनु पर्ने नपर्ने के हो भन्ने प्रश्न अदालत समक्ष रहेको छ ।
१७. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा यस परिच्छेदको अन्य दफाहरुको अधिनमा रही मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति, पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने व्यवस्था भएकोबाट मर्ने मोहीको आफ्नै पति, पत्नी वा छोरा भएको अवस्थामा ऐनको यो व्यवस्थामा उल्लेख भएका मध्येका बाहेक अरु कसैले मर्ने मोहीको मोहियानी हक पाउने प्रश्न उठ्ने देखिँदैन । तर मर्ने मोहीको कानुनको यो व्यवस्थामा उल्लेख भएका व्यक्ति कोही नभई खाली निजले धर्मपुत्रको ऐनको रीत पुर्याई धर्मपुत्र राखेको भए सो धर्मपुत्रले निजको मोही हक निज मरेपछि यो कानुनी व्यवस्था अन्तर्गत पाउनु पर्ने हो होइन भन्ने नै यो प्रश्न देखियो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा भएको उक्त व्यवस्थामा कानुन बमोजिम हक प्राप्त मोहीको मृत्यु भएमा निजका पति पत्नी नभई छोराहरु मात्र भएमा सो छोराहरु मध्ये जग्गाधनीले पत्याएको छोराले निजको मोहियानी हक अनिवार्य रुपले पाउने गरेको सम्म देखिन्छ । तर सो व्यवस्थाले निजको मृत्यु पछि अनिवार्य रुपले मोहियानी हक पाउने सो छोरा निजले सो जग्गा कमाएदेखि नै निजको साथमा रही सो जग्गा कमाएको हुनु अनिवार्य गरेको देखिँदैन । निजको मोहियानी हक पाउने छोरा उ मर्नु केही वर्ष वा महीना अघि मात्र जन्मेका भए पनि निजलाई सो मोहियानी हकबाट बञ्चित गर्न सक्ने अवस्था भूमिसम्बन्धी ऐन, २०२१ को कुनै व्यवस्थाबाट देखिँदैन तसर्थ मर्ने मोहीको मोहियानी पाउन त्यो मोही हक पाउने व्यक्ति मर्ने मोहीले जग्गा कमाउँदाको अवस्था निजको परिवारको भूमिसम्बन्धी ऐन बमोजिमको हुनु अनिवार्य छ भन्ने विपक्षीतर्फको जिकिर मनासिब मान्न मिलेन । कानुनको यो व्यवस्थाले मर्नेको छोरा हुनु सम्म अनिवार्य गरेको छ र छोरा भए मोही मृत्यु पछि निजको मोही हक छोराले प्राप्त गर्ने कुरामा कुनै दुविधा छैन ।
१८. अब ऐनको यो व्यवस्थामा उल्लेख भएको शब्द “छोरा” मा धर्मपुत्रलाई लिन पर्ने नपर्ने के हो भन्ने तर्फ विचार गरेमा ऐन निर्माताले ऐन बनाउँदा आफ्नो मनसाय र उद्देश्य पूर्तिको लागि ऐनमा भाषाका सामान्य शब्दहरुको प्रयोग गरेको हुन्छ । तर शब्दलाई ऐनको उद्देश्य तथा मनसाय पूर्तिको लागि सोही सामान्य शब्दलाई विशेष परिभाषा दिएको हुन्छ । ऐनको यो व्यवस्थामा प्रयोग भएको यो शब्द “छोरा” को भूमिसम्बन्धी ऐनमा कुनै खास परिभाषा दिएको पाइँदैन । तर प्रचलित कानुनमा प्रयोग भएका यस्ता भाषाका खास खास साधारण शब्दहरुलाई के कस्तो अर्थ दिई कानुनको व्याख्या गर्नु पर्दछ भन्ने कुरा कानुन व्याख्या सम्बन्धी ऐन, २०१० मा व्यवस्था गरेको कुरा सो कानुनको प्रारम्भिक कथनमा केही कानुनी शब्दहरु तथा शब्द समूहहरुको प्रामाणिक परिभाषा हुनु उचित देखिएकोले श्री ५ महाराजाधिराजबाट देहायको ऐन बनाई जारी गरी बक्सेको छ भन्ने भएकोबाट स्पष्ट छ । सोही कानुन व्याख्या ऐन, २०१० को दफा २(म) मा परिभाषा भन्ने शीर्षक यी विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐन वा अरु नेपाल ऐनहरुमा पुत्र (छोरा) यो शब्दले ऐनमा धर्मपुत्र राख्न पाउनेले राखेको धर्मपुत्रलाई समेत जनाउँछ भन्ने व्यवस्था भएकोबाट यो कानुन व्याख्या ऐन वा भूमि सम्बन्धी ऐन जस्ता अरु नेपाल ऐनमा प्रयोग भएका कानुनी शब्द पुत्र (छोरा) भन्नाले यो ऐन वा अरु नेपाल ऐनका विषय वा प्रसंगले त्यस्तो कानुनी शब्द पुत्र (छोरा) को अर्को अर्थ लाग्ने नदेखिँदा पुत्र (छोरा) भन्नाले ऐनमा धर्मपुत्र राख्न पाउनेले कानुनको रीत पुर्याई राखेको धर्मपुत्र समेतलाई लिनु पर्ने व्यवस्था गरेको छ । यस ऐनको यही व्यवस्थालाई ध्यानमा राखी ऐन निर्माताले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६३ मा यो ऐनमा र यस अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सोही बमोजिम र अरुमा प्रचलित कानुन बमोजिम हुनेछ भन्ने व्यवस्था समेत गरेको पनि छ । भूमिसम्बन्धी ऐनको यो दफामा यो ऐनमा र यस ऐन अन्तर्गत बनेको नियमहरुमा लेखिएको कुरामा यही बमोजिम हुनेछ सो नभएमा मात्र प्रचलित कानुन बमोजिम हुनेछ भन्ने भएकोबाट मोही हक प्राप्त मोहीको मृत्यु भएमा निजको मोही हक सम्बन्धमा भूमिसम्बन्धी ऐन र यो ऐन अन्तर्गत बनेको भूमिसम्बन्धी नियमावली, २०२१ मा केही व्यवस्था गरेको छ कि भनी हेरिएमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा भएको व्यवस्था बाहेक अरु कुनै व्यवस्था भएको कतै देखिन आउँदैन । अतः भूमिसम्बन्धी ऐनको यो दफामा भएको व्यवस्थाको व्याख्या गर्दा प्रचलित कानुन, कानुन व्याख्या ऐन, २०१० को दफा २(म) मा भएको उक्त व्यवस्था बमोजिमको व्याख्या दिन अनिवार्य हुन्छ । तर कानुन व्याख्या ऐनको सो दफा २ मा विषय वा प्रसंगले अर्को अर्थ नलागेमा मात्र कानुन व्याख्या ऐनको यो दफामा भएको यो व्यवस्था भएको अर्थ दिनुपर्ने हुँदा भूमिसम्बन्धी ऐन र सो अन्तर्गत बनेको नियम भूमिसम्बन्धी नियमावली, २०२१ को विषय वा प्रसंगले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा भएको व्यवस्थामा प्रयोग भएको कानुनी शब्द छोराको अर्को अर्थ लाग्ने हो की भन्ने तर्फ भएको कानुनी व्यवस्था हेरिएमा भूमिसम्बन्धी ऐन तथा नियम, २०२१ मा विषय वा प्रसंगले अर्को अर्थ दिनुपर्ने कुनै व्यवस्था भएको देखिन आउँदैन । विपक्षीतर्फबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा भएको व्यवस्थामा मोहीले कमाई आएको जग्गाको मोही सम्बन्धी हक निजको पछि निजको पति, पत्नी वा छोराहरु मध्ये जग्गाधनीले पत्याएको व्यक्तिले मात्र पाउने व्यवस्था भएकोबाट मर्ने मोहीको मोही हक आफ्नै परिवारका व्यक्तिले मात्र पाउने विशेष व्यवस्था गरेको हुँदा यस स्थितिमा कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(म) मा पुत्र (छोरा) शब्दले धर्मपुत्रलाई समेत जनाउँछ भन्ने भएको व्यवस्थाको आधारमा मर्ने मोहीको आफ्नो खास परिवार बाहिरको धर्मपुत्रलाई सो मोही हक प्राप्त हुने भन्न नमिल्ने र भूमिसम्बन्धी ऐनमा भएको यही विशेष व्यवस्थालाई ध्यानमा राखी भूमिसम्बन्धी ऐनको यो व्यवस्था अन्तर्गत चेला छोरा तथा सौतेनी छोरा समेतले मर्ने मोहीको मोही हक पाउन नसक्ने भन्ने सिद्धान्त प्रतिपादन भई यस अदालतबाट विभिन्न मुद्दामा फैसला समेत भइसकेको छ भन्ने जिकिर लिएको पनि देखियो । यदि भूमिसम्बन्धी ऐनमा भएको यो व्यवस्थाको यही मनसाय हो भने कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(म) मा पुत्र (छोरा) भन्ने शब्दले धर्मपुत्र राख्न पाउनेले राखेको धर्मपुत्र समेतलाई जनाउँछ भन्ने व्यवस्था भएपछि यस्तो धर्मपुत्रले पनि भूमिसम्बन्धी ऐनको दफा २६(१) मा भएको व्यवस्था बमोजिम मर्ने मोहीको मोही हक निजको मृत्यु पछि सो व्यवस्थामा उल्लेख भएका व्यक्तिहरु नभएमा पनि निजको कानुन बमोजिमको धर्मपुत्रले पनि नपाउने स्पष्ट व्यवस्था हुनुपर्ने सर्वमान्य कानुनी सिद्धान्त हो तर भूमिसम्बन्धी ऐन नियममा यस्तो कुनै व्यवस्था नभएको कुरा माथि दर्शाई सकेकै छ । यस अवस्थामा भूमिसम्बन्धी ऐनको दफा २६(१) मा प्रयोग भएको छोरा भन्ने कानुनी शब्दले जनाउने भनी कानुनले नदेखाएका चेला छोरा वा सौतेनी छोरालाई भूमिसम्बन्धी ऐनको तात्पर्यको लागि भूमिसम्बन्धी ऐनको उक्त व्यवस्थामा उल्लेख भएको छोरा मान्न नमिल्ने भनी यस अदालतबाट विभिन्न मुद्दामा सिद्धान्त प्रतिपादन भएको भन्ने आधारमा प्रचलित कानुनले स्पष्ट व्यवस्था गरेको छँदै भूमिसम्बन्धी ऐनको यो व्यवस्थामा भएको कानुनी शब्द छोराले धर्मपुत्रलाई नजनाउने भन्न कानुन व्याख्याको सर्वमान्य सिद्धान्त समेतले मिल्ने देखिन आएन ।
१९. अब छोरा र धर्मपुत्रमा कानुनी केही भिन्नता छ कि भन्ने तर्फ विचार गरेमा पनि धर्मपुत्रको ऐनको दफा दफामा के कस्तो अवस्थामा के कस्तालाई कसरी धर्मपुत्र राख्ने भन्ने व्यवस्था गरी मुलुकी ऐन धर्मपुत्रको महलको ३ नं. मा धर्मपुत्र राख्न पाउनेले सन्तान छोरा नहुँदा ऐन बमोजिम राख्न हुनेलाई रीतपूर्वक लिखत गरी धर्मपुत्र राखी सकेपछि सन्तान छोरा जन्म्यो भने पनि अघि धर्मपुत्र राखेको बदर हुँदैन भाइ सरहको अंश पाउँछ ऐ. को ८ नं. मा धर्मपुत्र वा दोलाजी हुने छोरीले धर्मपुत्र वा दोलाजी राख्ने बाबुको हक ऐन बमोजिम पाउँछन र ११ नम्बरमा ऐन बमोजिमको रीत पुगी धर्मपुत्र राखे बसे पछि चुक नभई बदर गर्न हुँदैन र यस्तो बदर हुने धर्मपुत्रले आफूलाई जन्माउने बाबु पट्टिको अंश पाउँछ लेखिएको चुक नभई धर्मपुत्र राख्नेले खान लाउन दिएन निकाला गर्यो भने त्यो धर्मपुत्र राख्नेबाट छोरा सरह अंश गरी लिन पाउँछ भन्ने समेतको व्यवस्था भएकोबाट ऐनले धर्मपुत्र राख्न पाउनेले एकवाजी कानुनको रीत पुर्याई धर्मपुत्र राखेपछि धर्मपुत्र राख्नेको आफ्नै छोरा जन्मे पनि कानुन बमोजिमको अवस्था नपरी सो धर्मपुत्र राखेको बदर हुन नसक्ने र भाइ छोरा सरह अंश पाउने धर्मपुत्र राख्नेले चुक नभई खान लाउन नदिई निकाला गरेमा धर्मपुत्र राख्ने बाबुबाट अंश छुट्याई लिन पाउने व्यवस्था भएकोबाट धर्मपुत्र र खास छोरामा कानुनी दृष्टिमा कुनै फरक नराखी धर्मपुत्र राख्नेको ऐन बमोजिमको हक समेत पाउने व्यवस्था गरेको स्पष्ट छ । यसरी धर्मपुत्र रहेका व्यक्तिले सो धर्मपुत्र राखेको बदर नभई आफ्नो खास बाबुतर्फ निजले अंश समेत पाउन नसक्ने कानुनी व्यवस्था भएकोबाट धर्मपुत्र राखिएको व्यक्ति धर्मपुत्र राख्नेकै परिवारमा सम्मिलित हुन जाने कानुनी व्यवस्था भएको स्पष्ट छ । अरु धार्मिक दृष्टिबाट छोरा र धर्मपुत्रमा केही फरक छ कि भन्ने तर्फ विचार गरिएमा ऐनमा भएको व्यवस्थाबाट आफ्नो छोरा नहुनेले मात्र धर्मपुत्र राख्न पाउने व्यवस्था गरेकोबाट कानुनको यो व्यवस्था सनातन हिन्दू धर्ममा आधारित छ भन्ने स्पष्ट छ । सनातन हिन्दू धर्मले छोरा नहुने बाबुको मृत्युपछि निजको धर्म परम्परा अनुसार हुनु गर्नु पर्ने काजक्रिया पिण्ड पानी समेत नचलेमा निजको मोक्ष नहुने भन्ने धार्मिक धारणा रहेको छ र छोरा नहुने बाबुले आफ्नो मृत्यु पश्चात आफ्नो र आफ्ना पितृहरुको मोक्षको लागि नै छोराबाट हुनु गर्नु पर्ने धार्मिक कार्यहरु गराउनको लागि धर्मपुत्र राख्ने प्रचलन रहेको सर्वमान्य कुरा हुँदा धार्मिक दृष्टिबाट पनि छोरा र धर्मपुत्रमा कुनै भेदभाव रहेको देखिन आउँदैन ।
२०. अतः कानुनी व्याख्याको सर्वमान्य सिद्धान्तबाट समेत छोराकै रुपमा मान्न पर्ने कानुनी तथा धार्मिक दृष्टिबाट पनि छोराकै स्थानमा राखिएको धर्मपुत्रलाई सम्बन्धित भूमिसम्बन्धी ऐनले स्पष्ट व्यवस्था गरी छोरा मान्न नमिल्ने स्पष्ट व्यवस्था बेगर छोरा मान्ने कानुनी व्यवस्था नगरिएका चेला छोरा वा सौतेनी छोरालाई भूमिसम्बन्धी ऐनको तात्पर्यको लागि छोरा मान्न नमिल्ने भन्ने नजीरको आधारमा धर्मपुत्र राख्ने बाबुको मोहियानी हक निजको मृत्यु पछि कानुन बमोजिम धर्मपुत्रलाई प्राप्त नहुने भन्न कानुनी दृष्टिबाट नमिल्ने हुँदा सो नपाउने भनी गरेको भू.सु.का. पर्साको निर्णय निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश जारी गरी बदर गरी पाउने ठहर्याएको मिति २०४२।११।५ को पूर्ण इजलासको सं.प्र.न्या.श्री धनेन्द्रबहादुर सिंह ज्यूको राय मनासिब ठहर्छ । बहुमतको रायसंग मतैक्य हुन नसक्दा आफ्नो छुट्टै राय दिएको छु । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
इति सम्वत् २०४६ साल ज्येष्ठ ५ गते रोज ५ शुभम् ।