March 10, 1989
Created by nepalarchives

निर्णय नं. ३७१६ – कर्तव्य ज्यान

निर्णय नं. ३७१६     ने.का.प. २०४६      अङ्क १   संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.सा.नं.७६...

निर्णय नं. ३७१६     ने.का.प. २०४६      अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको फौ.सा.नं.७६

फैसला भएको मिति: २०४५।११।२७।६ मा

वादी : आङवाङको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : कारागार शाखा सोलुखुम्बुमा कैदमा बस्ने डोमा लमेनी

मुद्दा : कर्तव्य ज्यान

(१)    रक्सी खाई माती दुःख दिने, घरबाट निक्ली जा भन्ने समेतबाट लोग्नेलाई मारेको, अपराधको प्रकृती हेर्दा लोग्नेलाई मार्नु पर्ने सम्मको रिसइवी मनसाय अरु भएको मिसिलबाट नदेखिने, यस्तो स्थितिमा सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने देखिएकोले १० वर्ष मात्र कैद गर्ने गरी अ.बं. १८८ नं. बमोजिम व्यक्त गरिएको अञ्चल अदालतको रायलाई सदर गरेको क्षेत्रीय अदालतको राय मनासिब ठहर्ने ।

(प्रकरण नं. १६)

फैसला

न्या. हिरण्येश्वरमान प्रधान

१.     पु.क्षे.अ.बाट साधक सदरका लागि पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.    बाबु रिन्जी लामा अगाडि देखि नै घर वरपर सबै ठाउँमा डर त्रास देखाई रहने गर्ने र २०४३।५।३१ गते बेलुका खाना खाई आमा र बाबु सुतेका २०४३।६।१ गते अं. बिहान ६ बजे आमाले मलाई तिम्रो बाबु राती उठी कहाँ गएँ भन्दा म र किपा लामा समेत ३ जनाले खोज तलास गर्दै जाँदा जुनवेसी खोलाको ढुङ्गामा आड लागी राखेको लास देखेकोले बाबुले आफंै आत्महत्या गरी मरेको हुनुपर्छ । कानुन बमोजिम गरिपाउँ भन्ने समेत प्र.आङवाङ लामाको जाहेरी ।

३.    जुनवेसी खोलाको माझमा उत्तानो परी मरेको रिन्जी लामाको लासको देब्रेपट्टी आँखा माथि ३ ईन्च लम्बाई आधा ईन्च चौडाई भएको घाउ र घाँटीमा डोरीले कसे जस्तो डाम देखिने टाउकोमा अं. १ १/लम्बाई, /चौडाई गहिराई भएको चोट र दाहिने कानमाथि अं. ३ ईन्च लम्बाई आधा ईन्च चौडाई गहिराई भएको चोट देखिएको भन्ने लास प्रकृति मुचुल्का ।

४.    २०४३।६।१ गते बिहान अं. ७ बजेको समयमा मृतकको श्रीमती डोमा लमेनीले मेरो लोग्ने हरायो खोज्न गुहार दिनु पर्‍यो भनी भनेकोले म समेत ३ जनाले खोजतलास गर्दै जाँदा जुनबेसी खोलामा लास फेला परेको भन्ने किपा लामा समेत ३ जनाले अधिकारप्राप्त अधिकारी समक्ष गरेको कागज ।

५.    टाउकोमा लागेको चोटको कारण मृतकको मृत्यु भएको सम्भावना छ भन्ने समेत २०४३।६।३ को पोष्ट मार्टम रिपोर्ट ।

६.    २०४३।५।३१ गते लोग्नेले जाँड रक्सी खाई मातिई काट्छु मार्छू भन्दै हिड्ने गर्थे । लोग्ने सुत्ने बेलामा निजलाई मार्ने विचार गरी अं. रातको २ बजेको समयमा बाहिरबाट सानो डोरी ल्याई सो डोरीले घाँटीमा कसी १०।१५ मिनेट पछि हेर्दा लोग्ने मरेको जस्तो लागी छोरा आङवाङलाई बोलाई तिम्रो बाबुलाई घाँटीमा डोरीले कसी मारी आएको भनी छोरालाई सुनाउँदा किन त्यस्तो गरेको भनी मरेको लासलाई पिठ्युमा बोकी जुनबेसी खोलातर्फ म समेत गई खोलामा फाली आई सुतेको हो भन्ने समेत व्यहोराको प्र.डोमा लमेनीको अधिकारप्राप्त अधिकारी समक्ष भएको कागज।

७.    २०४३।५।३१ गते म तख्ती ओसार्ने काममा जंगल गएको थिएँ, लडी मरेको गोरुको मासु लिई घर आएँ, बाबु कुखुराको मासु र रक्सी समेत खाई मातेका थिए । रातको ९।१० बजेको समयमा भाइ बहिनी समेत माथि कोठामा म होटल कोठामा सुतेका, आमा र बाबु आफ्नै कोठामा सुत्न गएको र मुखामुख गर्दै थिए । रातमा बाबु र आमाको बीच के भयो, २ बजे राती आमाले बोलाई तिम्रो बाबु रक्सी खाई मातिई दुःख दिई रहने भएकोले निदाएको अवस्थामा मौका पारी घाँटीमा डोरीले कसी आएँ अब त मरी सक्यो होला खोलामा फाँलौ भनी आमाले भन्दा बाबुको घाँटीमा हेर्दा डोरीले कसेको देखी डोरी खोली सास छ कि भनी हेर्दा मृत्यु भइसकेको रहेछ । जुनबेसी खोलामा लगी फाली घर आई सुतेको हो भन्ने समेत व्यहोराको प्र.आङवाङ लामाको अधिकारप्राप्त अधिकारी समक्ष भएको कागज ।

८.    २०४३।६।१ गते प्र.डोमा लमेनीले मेरो लोग्ने खोजी गरी देउ भन्दा खोजी गर्दै जाँदा जुनबेसी खोलामा मरेको लास फेला परेकोले रुँगेका हौं, अहिले डोमा र आङवाङको बयान सुने अनुसार मृतक रिन्जी लामालाई डोमा लमेनीले घाँटीमा डोरी कसी मारी छोरा आङवाङको सहयोग लिई खोलामा फालेको विश्वास लाग्छ । मृतकको टाउकोमा लागेको चोट डोमाले कुनै चिजले प्रहार गरी लागेको हुनुपर्छ मृतकलाई मार्नमा निज बाहेक अरुप्रति शंका छैन भन्ने रिन्जी लामा समेतका सम्पूर्ण सरजमीनका मानिसको एकै मिलान सरजमीन मुचुल्का ।

९.    मृतक रिन्जी लामालाई प्र.डोमा लमेनीले ०४३।६।१ बिहान २ बजे अं. को समयमा घाँटीमा डोरीले कसी मारी लास फाल्न छोरा आङवाङको सहयोग लिई जुनबेसी खोलामा लगी फालेकोले प्र.डोमा उपर ज्या.सं. को १३(३) र छोरा आङवाङ उपर ऐ. १७(३) बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको जि.न्या.व. तथा प्रहरीको संयुक्त प्रतिवेदन ।

१०.    २०४३।५।३१ गते लोग्ने रिन्जी जाँड रक्सी खाई मातेर मलाई तँ घरमा नबस् बाहिर जा भनी गाली गरेको थियो । रातको २ बजेको समयमा सानो डोरी ल्याई निदाएको मौका पारी डोरी कसी १०।१५ मिनेट डोरी छेउ समाई मर्‍यो होला भनी छोरालाई बोलाई ल्याई छोरा र म भई मृतकको लास बोकी जुनबेसी खोलामा लगी फाली भोलिपल्ट गाउँकै किपा लामा समेतलाई मेरो लोग्ने हरायो खोजी गरी देउ भनी छोरा आङवाङलाई जाहेर गर्न पठाएको हो । मृतक रिन्जीलाई मार्न म बाहेक अरु कसैको सहमती थिएन भन्ने समेत व्यहोराको प्र.डोमा लमेनीको अदालत समक्ष भएको बयान ।

११.    २०४५।५।३१ गते काठ लिन जंगलमा जाँदा लडी मरेको गोरुको मासु लिई आएकोमा मृतक बाबुले गोरुको मासु रक्सी खाई सुतेकोमा रातको अं. २ बजे आमा म सुतेको ठाउँमा आई तिम्रो बाबुले धेरै दुःख दिएकोले घाँटी कसी मारे भन्दा, गई घाँटीको डोरी फुकाई दिँदा बाबुको मृत्यु भइसकेछ । आमाले खोलामा लगी फाली देउ भन्दा मैले पिठ्यूमा बोकी आमा समेत भई जुनबेसी खोलाको पुलबाट पानीमा पर्ने गरी फाली घरतर्फ आएकोमा आमाले लोग्ने हरायो भनी हल्ला गर्नु भएछ । म जाहेरी दिन सल्लेरी आएँ । मृतक बाबुलाई मैले मारेको होइन भन्ने समेत व्यहोराको प्र.आङवाङ लामाको अदालत समक्ष बयान ।

१२.   प्र.डोमा लमेनीले मृतक रिन्जी लामालाई डोरीले कसी कर्तव्य गरी मारेको ठहर्छ । निजलाई ज्या.सं. को १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र प्र.आङवाङका हकमा ज्यानसम्बन्धीको ४ नं. बमोजिम रु. १०।जरिवाना र ।६ महीना कैद हुने ठहर्छ भन्ने समेत शुरु सोलुखुम्बु जि.अ. को ०४३।१२।२६ को फैसला ।

१३.   शुरु फैसला बदर गरी सफाई दिलाइपाउँ भन्नेसमेत प्र.डोमा लमेनीको स.अं.अ. (ओखलढुङ्गा बेञ्च) मा पुनरावेदन परेकोमा प्र.डोमा लमेनीलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजायँ गर्ने गरेको शुरुको इन्साफ मनासिब ठहर्छ तर निजको सामान्य क्रियाबाट मृतकको मृत्यु हुन गएको देखिएकोले यसरी ज्या.सं. को १३(३) नं.बमोजिम सजायँ गर्दा चर्को पर्न जाने हुनाले अं. १८८ नं. बमोजिम १० वर्ष कैद हुन्छ भन्नेसमेत व्यहोराको स.अं.अ. ओखलढुङ्गा बेञ्चको २०४४।८।१४ को साधक फैसला ।

१४.   सगरमाथा अञ्चल अदालत ओखलढुङ्गा बेञ्चको उक्त फैसला उपर प्र.डोमा लमेनीको पुनरावेदन नपरी साधक सदरको लागि पु.क्षे.अ. मा गएकोमा प्र.डोमा लमेनीलाई ज्यानसम्बन्धीको १३(३) नं. अन्तर्गतको कसूरदार ठहराई सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरुको इन्साफ मनासिब ठहर्‍याएको स.अं.अ. (ओखलढुङ्गा बेञ्च) को इन्साफ मनासिब ठहर्छ तर अपराधको प्रकृति हेर्दा निजलाई १० वर्ष कैद गर्ने गरेकोे रायमा सहमत छौं । साधक सदरको लागि स.अ. मा पठाई दिनु भन्ने व्यहोराको पु.क्षे.अ. को २०४५।२।२५।३ को साधक फैसला ।

१५    नियमानुसार दैनिक पेशी सूचीमा चढी साधक सदरको लागि इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी हेर्दा मृतक रिन्जी लामालाई कर्तव्य गरी मारेको अभियोगमा प्र.डोमा लमेनी उपर ज्यानसम्बन्धीको १३(३) नं. अनुसार र आङवाङ लामा उपर ज्यानसम्बन्धीको १७(३) नं. अनुसार सजायँ हुन माग दावी लिई प्रहरी प्रतिवेदन दायर भएकोमा प्र.आङवाङ लामालाई ज्यानसम्बन्धी महलको ४ नं. अन्तर्गतको कसूरदार ठहराई शुरु जि.अ. बाट फैसला भए उपर निज प्र.आङवाङ लामा तथा श्री ५ को सरकार समेतको पुनरावेदन परेको नदेखिएकोले त्यसतर्फ केही विचरा गरिरहनु परेन । प्र.डोमा लमेनीलाई ज्यानसम्बन्धी महलको १३(३) अन्तर्गतको कसूरदार ठहर्‍याई सर्वश्वसहित जन्मकैद गर्ने फैसला भई साधक जाँचको लागि आएकोमा निजलाई उक्त कसुरदार ठहर्‍याएको इन्साफ मिले नमिलेको के रहेछ भनी त्यसतर्फ विचार गरिएमा लोग्ने रिन्जी लामा राती कोठामा निदाई रहेको बेला डोरी लिएर गई सो डोरीले घाँटीमा १०।१५ मिनेट जति कसी मारेकोमा प्र.डोमा लमेनी अधिकारप्राप्त अधिकारी तथा अदालत समेतमा बयान गर्दा साबित देखिन्छिन्, मृतक र प्र.डोमाको छोरा आङवाङ लामाको अदालत समेतमा भएको बयान हेर्दा बाबु रिन्जी लामालाई आमा डोमाले सुती निदाएको मौका पारी घाँटीमा कसी मारेको र मारी सकेपछि खोलामा लगी फाल्न भनेकीले पिठ्युमा बोकी आमा साथ गई लास फालेको भन्ने देखिँदा प्र.डोमा लमेनीको साविति बयान समर्थित भएको देखिन्छ । त्यस्तै मृतक रिन्जीको लास प्रकृति मुचुल्कामा मृतकको घाँटीमा डोरीको जस्तो डाम देखिएको भन्ने र लास जाँच प्रतिवेदनमा पनि घाँटीको वरिपरी करिब आधा ईन्च फराकिलो डाम देखिएको भन्ने समेत उल्लेख भएबाट मृतकलाई डोरीले घाँटीमा कसी मारेको भन्नेसमेत प्र.डोमा लमेनीको बयान समर्थित भएको र मृतकको मृत्यु प्र. डोमा लमेनीकै कर्तव्यबाट भएको देखिएकोले निजलाई ज्यानसम्बन्धीको महलको १३ को देहाय ३ नं. बमोजिम कसूरदार ठहराई सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याएको शुरु तथा अञ्चल अदालतको फैसला मनासिब ठहर्‍याएको पूर्वाञ्चल क्षे.अदालतको इन्साफ मनासिब देखिँदा साधक सदर हुन्छ ।

१६.    लोग्ने रिन्जी लामा रक्सी खाई माती मलाई घरबाट निक्ली जाओ, काट्छु, मार्छु भनेकोले सधंैभरी पीर खप्नु भन्दा मार्छु भन्ने मन लागेर राती सुतेको बेला डोरीले कसी मारेको भन्ने प्र.डोमा लमेनीको अधिकारप्राप्त अधिकारी समक्ष भएको साविती बयान तथा सोही मिलानको अदालतमा भएको बयान समेत देखिँदा, रक्सी खाई माती दुःख दिने, घरबाट निक्ली जा भन्ने समेतबाट डोमा लमेनीले लोग्नेलाई मारेको देखिन्छ । अपराधको प्रकृति हेर्दा लोग्नेलाई मार्नु पर्ने सम्मको रिसइवी मनसाय अरु भएको मिसिलबाट देखिँदैन । यस्तो स्थितिमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने देखिएकोले १० वर्ष मात्र कैद गर्ने गरी अ.बं. १८८ नं. बमोजिम व्यक्त गरिएको सगरमाथा अञ्चल अदालत (ओखलढुङ्गा बेञ्च) को रायलाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको राय मनासिब ठहर्छ । सो ठहर्नाले शुरु जि.अ. ले सर्वश्वसहित जन्मकैद हुने गरी राखेको लगत कट्टा गरी व्यहोरा जनाई कैद वर्ष १० (दश) को लगत राखी नियमानुसार असूल गर्नु भनी शुरु जि.अ. मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिई नियमानुसार गरी साधकको लगत काटी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४५ साल फाल्गुण २७ गते रोज ६ शुभम् ।