निर्णय नं. ३६९५ – कर्तव्य ज्यान
निर्णय नं. ३६९५ ने.का.प. २०४६ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर...
निर्णय नं. ३६९५ ने.का.प. २०४६ अङ्क १
पूर्ण इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४५ सालको फौ.पू.इ.नं. २४
फैसला भएको मिति : २०४६।१।२७।३ मा
निवेदक/प्रतिवादी : जि.का. कारागार शाखा काठमाडौंमा थुनामा रहेका रामप्रसाद पन्त
विरुद्ध
विपक्षी/वादी : रामप्रसाद सेढाइको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) वारदात स्थलमा उपस्थित रहेकै प्रमाणित भएको यस स्थितिमा प्रतिवादीले चोरीको ६ नं. अनुसार चोरी डाँका गरेको र ज्यान सम्बन्धीको १७(३) अन्तर्गतको अपराधसम्म गरेको ठहर्ने ।
(प्रकरण नं. २७)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
प्रत्यर्थी/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.पृथ्वीबहादुर सिंह
१. श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालतबाट मिति २०४३।९।७ मा भएको फैसला दोहराई पाउँ भनी न्यायिक समिति मार्फत चढाई पठाएको विन्तिपत्र न्यायिक समितिले चढाई पठाएको पर्चा समेतका व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त फैसला दोहराई हेरी कानुन बमोजिम गर्न हुकूम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४५।४।३० मा लेखिआए अनुसार पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :
२. का.प.जि. खरेलथोक गा.पं. वडा नं. १ निवासी बालकृष्ण खरेलको घरमा निजको घर जग्गा रेखदेख कामकाज गरी बस्ने अं. वर्ष ४५ को नाम थाहा नभएको जात खरेल बाहुनलाई मिति २०३९।५।२६ गते राती के कति बजे हो, ५–६ जना भई बाँधछाँद गरी मरणासन्न हालतमा कुटपीट गरी छाडी भागी गएको भनी निजकै स्वास्नी लाटीको इसाराबाट थाहा पाएको र भोलिपल्ट बिहान मानिसहरूले थाहा पाई डोरी खोली राखेपछि मलाई खबर गर्न आएकोमा ४ बजे सो घटनास्थलमा पुगी हेर्दा निजको हालत चिन्ताजनक भएकोले अस्पतालतर्फ लैजाने कुरा हुँदाहुँदै ६.३० बजे निज मरेको र सो घरमा लगाई राखेको चोटा कोठाको ताल्चा समेत तोडफोड गरेको रहेछ, धनमाल के कति लगे सो थाहा पाउन घर धनी काठमाडौमा भएको घर धनी नआई केही थाहा नहुने भएकोले मानिसहरू कुरुवा राखी जाहेर गर्न आएको छु । नियमानुसार कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको उप प्र.पं. रामप्रसाद सेढाइको मिति २०३९।५।२८ को जाहेरी दरखास्त ।
४. मुखको दायाँपट्टि मुख र नाकबाट रगत चुही सुकेको, बायाँ आखाँको माथि तालुमा कुनै धार नभएको चिजले हिर्काएको जस्तो ११२” लम्बा, १” चौडाको निल र रगत नफुटेको घाउ, घाँटीमा चारैतिर नागबेली सानो डोरीको डाम देखिएको, पेट सबै निलो, जिउभरी ठाउँ ठाउँमा निलडाम देखिएको, पिसाब नली मुनिको भागमा नागबेली डोरी डाम सन्धीको चारैतर्फ देखिएको भन्ने समेत व्यहोराको मिति २०३९।५।२९ को लाश प्रकृति मुचुल्का ।
५. बालकृष्ण खरेलको घरमा रेखदेख गर्न राखेका पदमहरीलाई नामालुम कहाँका डाँकाहरू आई मिति २०३९।५।२६ गते राती कुटपीट बाँधछाँद गरी, धनमाल चोरी गरी लग्यो भन्ने निजकै लाटी श्रीमतीले ऐ. २७ गते बिहान मेरो घरमा इशारा गर्दै बोलाउन आएकोले म र मेरो साला निर्मान श्रेष्ठ समेत घटनास्थलमा जाँदा, पदमहरी अचेत अवस्थामा भान्छा कोठामा लडी रहेका निजको मुख नाकबाट रगत बगी रहेको देखी डरले भित्र पस्न नसकी केशव खरेललाई डाक्न गई ल्याएपछि घटनास्थलभित्र पसी हेर्दा पाटको डोरी र बवियाको डोरीले घाँटीमा कसी राखेको हात खुट्टामा पनि बाँधी रहेको र अण्डकोषमा पनि डोरीले टन्न कसी २ फन्का बेरी रहेको रहेछ । सो बाँधेको डोरीहरू फुकाली दिए पश्चात हामीले सोधपुछ गर्दा प्रष्ट कुरा गर्न सकेनन् बासु सेढाई भन्ने कम्पाउण्डर ल्याई औषधि उपचार गर्दाकै अवस्था मिति २०३९।५।२७ गते ६.३० बजे निज पदमहरीको मृत्यु भयो । मृतकको श्रीमतीसंग इशारामा कुरा गर्दा ५ जना मानिस भई बाँध्ने कुट्ने गरेको र दराजमा राखेको ठूलो बिटा भएको नोट र अन्य भाँडाकुडा सम्पत्ति लिएर गएको भनी बताएका हुन् भन्नेसमेत व्यहोराको मिति २०३९।५।२९ को दानबहादुरको कागज ।
६. दानबहादुर श्रेष्ठले पदमहरीलाई चोरहरूले बाँधी छाडी गएका छन् भनी भनेबाट हेर्न जाँदा पदमहरीको घाँटी हात खुट्टा र अण्डकोषमा डोरीले बाँधेको देखी फुकाली दिई निजलाई सोद्धा मधुरो स्वरले ३ दिन अघि बास बस्न विर्ता देउरालीतर्फको कामी आएको कुरा बताएपछि निजले बोल्न छोडी निजको अवस्था गम्भीर देखी घरधनी बालकृष्ण खरेललाई भेट्न म काठमाडौं गएकोमा मिति २०३९।५।२७ गते बेलुकी ६.३० बजे पदमहरीको मृत्यु भएको सुनें, निजको मृत्यु बाँधछाँद र कुटपीटको कारणबाटै भएको हुनुपर्र्छ भन्ने समेत व्यहोराको केशव खरेलको मिति २०३९।५।२९ को कागज र करीब सोही मिलानको ऐ. मितिमै निर्मान श्रेष्ठको कागज ।
७. पदमहरीको ज्यान डाँका मुद्दामा रामप्रसाद सेढाइको जिल्ला प्रहरी कार्यालय धुलिखेलमा परेको दरखास्त अनुसार बुबा बालकृष्ण खरेलको हकमा हाल मैले थाहा पाएसम्मको धनमाल र नगद जम्मा रु. १०,२००।– डाँका गरी लगेको देखिएकोले सो धनमाल नगद समेत पत्ता लगाई पाउँ भन्ने समेत व्यहोराको मिति २०३९।५।२९ को उत्तमकृष्ण खरेलको निवेदन ।
८. मिति २०३९।५।१४ गते म कोशीपारी गोठपानी पाथीभरामा जग्गा बेच्न भनी गएकोमा ऐजन २२ गते तक बसी जग्गा नबिकेबाट हिंडी ऐ.२३ गते बिहान खरेलघाटनेर बेसीमा भिनाजु पर्ने नाम थाहा नभएको बाहुनको घरमा खाना खाई धुलिखेलतर्फ आउन लाग्दा खरेलथोक भन्ने ठाउँमा मृतक पदमहरी भेट भई मृतकले त्यहिं बस भनेकोले सो दिन मृतकका घरमा बास बसेकोमा बिंडी लिन भनी रामप्रसाद पन्तको पसलमा जाँदा निज अघिदेखि चिनेका आफन्त मानिस भएकाले निजले पसलभित्र बोलाई मर्ने पदमहरीले जग्गा किन्न भनी रु ५,०००।– जम्मा गरेको छ र धेरै गहकिला सामानहरू पनि छ सो हात लगाउनु पर्यो धुलिखेलबाट मानिस लिएर आउनु भनी रामप्रसादले भन्दा मैले मेरो मान्छे छैन भनी जवाफ दिँदा आफैले खोजी ल्याउँछु भनी मलाई २६, २७ गते आउनु भनेकोमा म सो रात फर्की मृतककै घरमा बसी भोलि २४ गते आफ्नो पसल धुलिखेलमा आई बसेकोमा सोही सल्लाह मुताविक ऐ. २६ गते श्रीमतीलाई पसलमा राखी राम्रप्रसाद पन्तको पसलमा पुग्दा रामप्रसाद पन्त १, निजले बोलाई ल्याएको कोशीपारी तर्फको नाम थाहा नभएको कामी १, पाण्डे भन्ने १ र म समेत ४ जना थियौं । रामप्रसाद पन्तले पदमहरीको घरको अवस्था विचार गर्नुपर्छ पदमहरीलाई मार्नु पर्छ भन्ने सल्लाह गरे अनुसार म अं. ५ बजे पदमहरीको घरमा गएँ । सो रात त्यहिं बस्छु भनी निज मृतकलाई भन्दा हुन्छ भनेकोले बसी खाना खाई गोठमै बिंडी खाई रहेको बेला कामी १, पाण्डे र रामप्रसाद पन्त अं. रातको ९–१० बजेको समयमा आई कामीले घाँटीमा समाती लडायो र डोरीले गर्धनमा बाँध्यो मैले पटुकाको कपडाले मुखमा बुजो लगाई कराउन दिइन । पाण्डे र रामप्रसादले गोडा थिची गोडा र हात बाँध्ने काम गरे । त्यसपछि कामीले भनेको लिङ्गको फल डोरीले बाँधी मार्नलाई निजको मूल घरमा ल्याई मजेरीमा लडायो लाटीलाई नकराउ भनी कामीले डण्डीले हान्न खोजेकोमा हामीले नहान भनी धनमाल खोज्न लाग्दा दराज समेत तोडफोड गरी दुधको बट्टामा घ्यू र अर्को बट्टामा १००–१० दरको बिटो पारी राखेको नोट रहेछ सो नगद रामप्रसादलाई दिएकोमा निजले मलाई २५०।– दिएका हुन् अरु साथीहरूले ७ वटा ठूलो र एउटा सानो गरी जम्मा ८ वटा चरेशको थाल, कचौरा ६, आंखरा एक ल्याई बोरामा हाली मलाई र कामीलाई बेची आउनु भनेकोले म र कामी सोही राती त्यहाँबाट हिंडी बिहान ७ बजे धुलिखेल आई पुग्दा मैले ल्याएको घ्यूको बट्टा घरमा श्रीमतीलाई दिनु भनी चिनेका गुरुङ जेठी भन्नेलाई दिई म काठमाडौं सामान बेच्न भनी म काठमाडौंतर्फ आउन सामान सहित बस चढेकोमा कामी त्यहिंबाट खरेलथोक फर्कन्छु भनी गएका हुन् । बनेपामा अर्को बस मा चढी काठमाडौं आई सो सामानहरू पाटनमा लगी जम्मा रु.१,०३०।२० मा बिक्री गरी सोही दिन अं. ५ बजे रामप्रसादको घरमा गई रुपैयाँ दिई निजले मलाई रु. ३७०।– दिएका हुन् । त्यहाँबाट आफ्नो पसल धुलिखेलमा आई बसें । मिति २०३९।५।२८ गते पदमहरी मर्यो भन्ने सुनेकोले म भागी सर्लाहीतर्फ गएँ, त्यहाँ प्रहरीले पक्राउ गरी यस कार्यालयमा दाखिल गरेको हो निज पदमहरीको मृत्यु रामप्रसाद पन्त, पाण्डे, कामी र म समेतले बाँधेको कारणबाट भएको हो । मार्नको कारण धन सम्पत्ति हात लाउन नै हो भन्ने समेत व्यहोराको सुब्वा भन्ने लिलाबहादुर पन्तको मिति २०३९।६।१३ को कागज ।
९. प्रतिवादी लिलाबहादुरले बिक्री गरेको भनी देखाएको सिद्धिमान ताम्राकारको घरमा खानतलासी गर्दा डाँका गरी ल्याएको चरेशको थाल ७, ढलोटको करुवा १, आंखरा १ र सिलवरको कचौरा ६ समेत थान १५ सिद्धिमानको छोरा बुद्धिमानले प्रहरी अधिकृत समक्ष दाखिल गरेको भन्ने समेत व्यहोराको मिति २०३९।६।१३ गतेको बरामदी मुचुल्का ।
१०. प्रतिवादी लिलाबहादुरले गरेको बयान अनुसार निजले भनेको डेरामा गई खानतलासी लिँदा घ्यू राखेको टिनको गोल्टिन बरामद भएको भन्ने समेत व्यहोराको मिति २०३९।६।१३ को बरामदी मुचुल्का ।
११. बिक्री गर्न ल्याएको सामान किन्दैन भन्दा आफ्नै घरको सामान हो भनी भनेकोले सयकडा ३, ४ नाफा हुने गरी जम्मा रु. १०२०।२२ मा खरीद गरेको हुँ भन्ने समेत व्यहोराको सिद्धिमान ताम्राकारको मिति २०३९।६।१५ को कागज ।
१२. का.प.जि.बिर्ता देउराली बस्ने च्याप्रो पाण्डेको छोरा तिर्थराज पाण्डेलाई खरेलथोक बस्ने केशव खरेलले जग्गा कमाउन बोलाएकोमा मिति २०३९।५।२५ मा निज तिर्थराज आई सोही भतिज दाई भन्नेको घरमा एकरात बस्यो र भोलिपल्ट २६ गते मसंग बनेपा आई बनेपाबाट मसंगै फर्की सो रात कहाँ बसे थाहा छैन, ऐजन २७ गते बिहान पदमहरीलाई चोरले बाँधी धनमाल समेत लगेछ भनी भनेकाले म र तिर्थराज समेत हेर्न जाँदा मृतकको ठाउँ ठाउँमा बाँधेको डोरी फुकाली सकेको थियो । त्यस दिन बेलुका ६ बजे तक त्यहीं बसी पसलमा आएको र मेरो बाबुको श्राद्ध गर्न भनी कोशीपारी पुरानो घरमा ऐजन २८ गते गई ऐजन २९ गते पसल खरेलथोक फर्कदा पदमहरी मरेको भन्ने थाहा पाएँ । मृतक पदमहरी मेरा सहोदर दाजुको छोरी ज्वाई हुन् । लिलाबहादुरको बयानअनुसार यस घटना सम्बन्धमा मेरो कुनै सम्बन्ध छैन । मेरो ज्यान मार्ने कुरामा सहमत छैन । मृतक पदमहरीलाई बाँधछाँद गर्न म गएको छैन भनी भन्ने समेत व्यहोराको मिति २०३९।६।२५ को रामप्रसाद पन्तको कागज ।
१३. लिलाबहादुरले लोग्नेलाई बाँधछाँद गरेको रामप्रसादले लोग्नेको मुख छोपी गर्दन समाई घोप्टो पारी थिचेको र लिलाबहादुरले बत्ती निभाएको रामप्रसादले टर्चलाइट बालेको घन ठोक्ने कामीले घोप्टे दराज फोरे, पाण्डे भन्ने माथि गए, सानो केटाले मेरो कपाल समाती लौराले हाने, निज रामप्रसादकै छोरा हो । दराजको रुपैयाँको मुठो लिलाबहादुरले लियो । बाहिर पिसाब फेर्न जाँदा लोग्नेलाई गोठबाट बाँधी ल्याएको देखें भन्ने समेत व्यहोराको मर्नेकी श्रीमती लाटी डल्लीले प्र.पं. योगप्रसादको रोहवरमा इशाराद्वारा र अन्य व्यक्तिहरुले यो वारदात गर्नेमा लिलाबहादुरको कागज अनुसार रामप्रसादसमेत उपर नै शंका देखाई बकी लेखाई दिएको मिति २०३९।७।२ को सरजमीन मुचुल्का ।
१४. लिलाबहादुर पन्तको साविती बयान, बरामद भएको दशी प्रमाण र लाटीको इशारा समेतको आधारमा लिलाबहादुर पन्त १, रामप्रसाद पन्त १, तिर्थराज पाण्डे १, र कामी समेत भई पदमहरीलाई मार्ने सल्लाह अनुसार कुटपीट बाँधछाँद गरी पदमहरीलाई मार्यो भनी धनमाल समेत लगेको कुरा प्रष्ट भएकोले लिलाबहादुर पन्त, रामप्रसाद पन्त र फरार रहेका तिर्थराज पाण्डे उपर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. र चोरीको ६ नं. समेत अनुसार कसूर गरेकोमा ऐ. ऐनको १४(४) नं. अनुसार सजायँ भई चोरीको १०(३) नं. अनुसार खुलाई दिएको बिगो समेत भराई पाउन र नाम ठेगाना समेत खुल्न नसकेको कामीको हकमा पछि नाम ठेगाना समेत खुल्न आएका बखत अ.बं. ८८ नं. बमोजिम गरिने व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१५. प्रतिवादीहरू मध्ये कामीलाई चिनेको छैन, अरुलाई चिनेको छु मर्ने पदमहरी मेरो छोरी ज्वाई हुन् । निजलाई कुटपीट गरी मार्ने प्रतिवादी मध्येको लिलाबहादुर नै हो, लिलाबहादुरको बयान बमोजिम मैले अपराध गरे गराएको नहुँदा प्रहरी प्रतिवेदन दावी मलाई लाग्नु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी रामप्रसाद पन्तको मिति २०३९।७।५ को बयान ।
१६. मिति २०३९।५।२६ गते म कोशी पारी घरबाट फर्केर आउँदा दिनको अं. १२।१ बजेतिर रामप्रसाद पन्त समेत संग गई उसकै पसलमा भेट भएकोमा पद्महरिको घरमा डाँका गरौं भनी सल्लाह गरी म बेलुका मर्नेको घरमा ५.३० बजे पुगी त्यहीं खाना खाई र अं. ९ बजेतिर बिडी खादै थिएँ र मर्ने र म साथै थियौं । त्यसै बखत प्रतिवादी रामप्रसाद पन्त, पाण्डे र शम्भु कामी आई मर्ने पदमहरिलाई कामीले भुईंमा लडाई घाँटीमा डोरीले बाध्यो र रामप्रसादले मुख छोप भनेकाले पाण्डेले मुख छोपी दिए । मलाई बत्ती निभा भनेकाले मैले बत्ती निभाई दिएँ । मृतकको घाँटी हात खुट्टा डोरीले बाँधी लडाई सबैजना भित्र पसी दराजबाट पैसाको डब्बा मैले झिकी रामप्रसादलाई दिई लाटी कराउला भनी म त्यहीं कुरुवा बसी अन्य व्यक्तिहरू माथि चोटामा गई चरेशको थाल समेत झिकी ल्याई मलाई रु. २००।– मात्र दिई अन्य भाँडा वर्तन बेची ल्याउनु भनी रामप्रसादले भनेकोले सो सामानहरू ल्याई पाटनमा लगी रु. १०३०।– मा सिद्धिमानलाई बेची सो पैसा रामप्रसादलाई दिएको हुँ । मृतकलाई कुटपीट गरेका होइनन् बाँधछाँद मात्र गरी गएको हो सो वारदात गर्नेमा मेरो सहमत थिएन, मैले रक्सी खाएको शुरमा गरेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी लिलाबहादुर पन्त क्षेत्रीको मिति २०३९।७।५ को बयान ।
१७. लिलाबहादुरले डोरीले बाँधेको कामीले हेरेर बसेको टिका लगाउने तिर्थराज पाण्डेले उचाल्ने पछार्ने गरी थिचेको र रामप्रसादले केही गरेको छैन मेरो लोग्नेको मृत्यु निजहरूले बाँधछाँद गरी कुटपीट गरेको कारणबाट भएको हो, माथि तलाको ताल्चा फुटाई भएको थाल समेत र कोठामा राखेको पैसा समेत लिई भागेका लिलाबहादुर पन्त भनी देखाएका व्यक्ति नै हुन् भन्ने समेत व्यहोराको इशाराद्वारा बताए अनुसार मृतककी श्रीमती लाटीले गरेको बकपत्र ।
१८. मिति २०३३ साल साउन २८ गते विराटनगर गई बसेको हुँ । २०३३ सालदेखि आजतक आएको छैन, लिलाबहादुरसंग कुटपीट सम्बन्धी रिसइवी हुँदा सोही रिसबाट पोल गरेका हुन, ०३४।०३५ सालमा बारम्बार म काठमाडौं आइरहन्थें । पदमहरी खरेललाई मैले मारेको होइन मरेको पनि मलाई थाहा छैन भन्ने समेत व्यहोराको मिति २०४१।२।३० को तिर्थराज पाण्डेको बयान ।
१९. प्रतिवादी लिलाबहादुरले दावी बमोजिम अपराध गरेकोमा साविति भई अन्य प्र.हरूलाई समेत पोल गरेको चस्मदिद रुपमा रहेकी मर्नेकी स्वास्नी लाटीले अदालतमा समेत आई प्रतिवादीहरूले नै अपराध गरेको भनी बकपत्र गरिदिएको साथै प्रतिवादीहरू रामप्रसाद पन्त र तिर्थराज पाण्डेले आफ्नो इन्कारी बयान अनुरुप प्रमाण गुजार्न नसकेको उसमा पनि प्रतिवादीकै साक्षीको बकपत्र निज प्रतिवादी तिर्थराज पाण्डेसंग मिलेको समेत नदेखिँदा प्रतिवादीहरूले दावी बमोजिमको कसूर गरेको देखिँदा प्रतिवादी लिलाबहादुर, प्र.रामप्रसाद पन्त र प्रतिवादी तिर्थराज पाण्डेलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुन्छ । ठुलो सजायँ हुने भएकोले चोरीतर्फ दण्ड सजायँको महलको ८ नं. ले सजायँ गर्नु परेन । चोरीको बिगोको हकमा नगद रु. १,५००।– थियो भन्ने बयान गरेकोले सोही बिगो अभियुक्तहरूबाट चोरीको १० नं. बमोजिम भराई दिने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४१।१२।१८ को काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला ।
२०. शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको इन्साफमा चित्त बुझेन फैसला बदर गरी सजायँबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रामप्रसाद पन्त, लिलाबहादुर पन्त, तिर्थराज पाण्डेको मध्यमाञ्चल क्षेत्रीय अदालतमा छुट्टाछुट्टै परेको पुनरावेदनपत्र ।
२१. प्र.लिलाबहादुर पन्त, तिर्थराज पाण्डे, रामप्रसाद पन्तसमेतले पदमहरीलाई कर्तव्य गरेको ठहर्याएको ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम जन्मकैद र चोरीको सजायँ गर्नेगरेको काभ्रेपलाञ्चोक जि.अ.को इन्साफ मनासिब देखिँदा निजहरूको पुनरावेदन जिकिर पुग्नसक्दैन भन्ने समेत म.क्षे.अ.को फैसला ।
२२. उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन भनी यस अदालत समक्ष प्रतिवादी लिलाबहादुर पन्त, तिर्थराज पाण्डे, रामप्रसाद पन्त समेतको छुट्टा छुट्टै पुनरावेदनपत्र परेको ।
२३. प्रतिवादीहरू तीनैजनालाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद र चोरीको सजायँ समेत गर्ने गरेको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको इन्साफ मनासिब ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको २०४३।९।७।२ को फैसला ।
२४. श्री ५ महाराजाधिराज सरकारबाट नेपालको संविधानको धारा ७२ (ख) बमोजिम दोहराई दिनु भन्ने हुकुम बक्सेको भनी मौसूफ सरकारका प्रमुख सचिवालयको मिति २०४५।४।३० को पत्र साथ प्राप्त मुद्दा दोहराउन जाहेर गरेको न्यायिक समितिको मिति २०४५।३।१० को सिफारिश पर्चामा घटनाको प्रत्यक्षदर्शी गवाह मृतककी श्रीमती लाटी भन्ने डल्लीको नै रामप्रसाद पन्तले केही गरेको छैन भन्ने बयान भएको स्थितिमा सहअभियुक्त लिलाबहादुर पन्तले घटनामा रामप्रसाद पनि संलग्न थियो भन्ने बयानको आधारमा मात्र निवेदक रामप्रसाद पन्तलाई समेत सर्वोच्च अदालत संयुक्त इजलासबाट ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ हुने गरी भएको फैसलामा सबूद प्रमाणको सही एवं समुचित मूल्यांकन गरिएको नहुनाले अ.बं. १८४ (क) नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि हुन गई मिलेको छैन भन्ने उल्लेख भएको छ ।
२५. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले निवेदक प्रतिवादी रामप्रसाद पन्त आरोपित कसूरमा इन्कार रहेको छ । मर्ने पदमहरीलाई प्र.रामप्रसादले मारेको र चोरी गरेको समेत कुरामा कुनै प्रमाण छैन । चस्मदिद मर्नेकी श्रीमती लाटीले अदालतमा बकपत्र गर्दा रामप्रसादले केही गरेको छैन भनेकोबाट समेत प्र.रामप्रसाद पन्तले सफाई पाउनु पर्दछ । निजलाई समेत अपराधी ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी वादी तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान सह–न्यायाधिवक्ता श्री वलराम के.सी. ले निवेदक रामप्रसाद समेत तीनजना प्रतिवादीहरू प्रस्तुत मुद्दामा अपराधी ठहर भएको छ । प्रतिवादी लिलाबहादुरले अपराध गर्नेमा सो निवेदकलाई समेत पोल गरेको छ । सरजमीन समेतले निवेदकलाई पोल गरी लेखाई दिएको समेतबाट निज रामप्रसाद पन्त निर्दोष भन्न मिल्दैन । सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।
२६. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निवेदक रामप्रसादको हकमा स.अदालत संयुक्त इजलासको इन्साफ मिलेको छ छैन । सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
२७. यसमा निर्णयतर्फ हेर्दा सर्वोच्च अदालत संयुक्त इजलासबाट प्रतिवादी तिर्थराज पाण्डे, लिलाबहादुर पन्त तथा रामप्रसाद पन्तलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद र चोरीको सजायँ समेत गर्ने गरेको शुरु इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफलाई सदर गरेको देखिन्छ । त्यस उपर प्रतिवादी तीर्थराज पाण्डे र लिलाबहादुर पन्तले मुद्दा दोहराई ल्याएको नदेखिँदा निजहरूको हकमा सर्वोच्च अदालत संयुक्त इजलासको फैसला अन्तिम रहेकोले त्यसतर्फ विचार गर्नु परेन । प्रतिवादी रामप्रसाद पन्तको हकमा निजको निवेदनबाट मुद्दा दोहराई हेरी कानुन बमोजिम गर्नु भन्ने हुकूम प्रमाङ्गी बक्स भई आएकोले त्यसतर्फ हेर्दा प्रतिवादी रामप्रसाद पन्त उपर ज्यानसम्बन्धीको १३(३) नं. अनुसार र चोरीका महलको नं. ६ समेत अनुसार कसूर गरेकोले चोरीको १४ नं. को देहाय ४ अनुसार समेत सजायँ गरिपाउँ भनी प्रहरी प्रतिवेदनमा दावी लिएको देखिन्छ । आरोपित कसूर गरेमा प्रतिवादी रामप्रसाद पन्त प्रहरी र अदालतमा समेत बयान गर्दा इन्कार रहेको पाइन्छ । बुझिएको सरजमीनका व्यक्तिहरूले मर्ने पदमहरिलाई रामप्रसाद समेतले मारेमा विश्वास लाग्छ भनी अदालतमा बकपत्र गरेको देखिन्छ । तर वारदातका अवस्था देखेको भन्न सकेको छैन । जाहेरवाला रामप्रसाद सेढाइले पनि रामप्रसाद समेतले मारेमा विश्वास लाग्छ भनी अदालतमा बकपत्र गरेको पाइन्छ । तर वारदात हुँदा आफूले देखेको भनेको पाइदैन । वारदातमा रहेका चस्मदिद मर्ने पदमहरिको श्रीमती लाटी भन्ने डल्ली खरेलनीले निजको भतिजी अम्बीकादेवी खरेलका रोहवरमा गरेको बकपत्र हेर्दा भाँडा, थाल, पैसा लाने र लोग्नेलाई बाँध्ने लिलाबहादुर, कामीले बाहिरबाट हेरेर बसेको, तीर्थराजले उचाल्ने पछार्ने गरी थिचेको, रामप्रसादले केही गरेको छैन भनी अदालतमा बयान गरेको देखिन्छ । यसबाट प्रतिवादी रामप्रसादले मर्ने पदमहरि खरेललाई मार्ने कार्यमा हात छाडेको भन्ने देखिँदैन । तर सो वारदातमा प्रतिवादी रामप्रसाद नरहेको भनी बयान गरेको देखिँदैन । प्रतिवादी मध्येका लिलाबहादुर पन्तले रामप्रसाद समेत भई मर्ने पदमहरीलाई बाँधछाँद गरी मारेको र धनमाल ल्याएको भनी अदालतमा समेत आफू सावित भई प्र.रामप्रसादलाई पोल गरेको पाइन्छ । तर प्रतिवादी रामप्रसादले मर्ने पदमहरिलाई बाँधछाँद गरी मारेको कुरा प्रतिवादी लिलाबहादुरको पोल चस्मदिद गवाह मर्ने पदमहरिकी श्रीमती लाटी भन्ने डल्ली खरेलनीको बकपत्रबाट समर्थित भएको पाइन्न । तसर्थ निज प्रतिवादी रामप्रसाद पन्तले प्रहरी प्रतिवेदन दावी अनुसार ज्यानसम्बन्धीको १३(३) अन्तर्गतको कसूर गरेको भनी ठहराउन मिल्ने अवस्था रहेन । निज प्रतिवादी रामप्रसाद वारदात स्थलमा रहेको भन्ने कुरा चस्मदिद गवाह लाटी भन्ने डल्ली खरेल्नीले रामप्रसादले केही गरेको छैन भनी अदालतमा गरेको बकपत्रबाट वारदातमा रही धनमाल समेत प्रहरी प्रतिवेदन दावी अनुसार डाँका गरी लगेको कुरा अदालतमा सावित हुने लिलाबहादुर पन्तको पोलबाट समर्थित भएको देखिन्छ । धनमाल डाँका गरेको र वारदात स्थलमा उपस्थित रहेकै प्रमाणित भएको छ । यस स्थितिमा प्रतिवादी रामप्रसाद पन्तले चोरीको ६ नं. अनुसार चोरी डाँका गरेको र ज्यानसम्बन्धीको १७(३) अन्तर्गतको अपराधसम्म गरेको ठहर्छ ।
२८. निज रामप्रसाद पन्तको हकमा ज्यानसम्बन्धीको १३(३) अन्तर्गत जन्मकैद गरेको म.क्षे.अ. को इन्साफ सदर गरेको हदसम्म स.अदालत संयुक्त इजलासको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक रामप्रसाद पन्तके माथि इन्साफ खण्डमा लेखिए अनुसार ठहरेकोले निजलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतको २०४१।१२।१८ का फैसलाले गर्ने गरेको जन्मकैद नलाग्ने हुँदा सो जन्मकैदको लगत कट्टा गरिदिनु भनी काभ्रेपलाञ्चोक जि.अ. मा लेखि पठाउन काठमाडौं जि.अ. मा लगत दिनु ………१
पुनरावेदक रामप्रसाद पन्तके चोरीको ६ नं. बमोजिम डाँका चोरी गरेको र ज्यानसम्बन्धीको १७(३) अन्तर्गत अपराध गरेको ठहरेकोले चोरीको १४ नं. को देहाय (४) ले कैद वर्ष ६ हुन्छ दण्ड सजायँको १० नं. ले ज्यानसम्बन्धीको १७(३) अनुसारको लाग्ने कैद वर्ष ३। नखापिने हुँदा डाँका तर्फको कैद वर्ष ६। र चोरीतर्फ शुरुले गरेको जरिवाना रु. १,५००।– लाग्नेमा निज ०३९।६।२४ देखि आजसम्म ६।७।३ छ वर्ष सात महीना तीन दिन मध्ये बीचमा ।४।२४ चार महिना चौबिस दिन धरौटीमा छुटेको दिन कट्टी गर्दा ६।२।१० छ वर्ष दुई महीना दश दिन थुनामा बसी सकेको मिसिलबाट देखिँदा डाँकातर्फ ६ वर्ष र जरिवानातर्फ दण्ड स. को नं. ५३ ले दिनको रु.. २५ ले रु.१,५००।– को लाग्ने कैद महीना ।२। समेत जम्मा कैद ६।२। भूक्तान भई थुनाबाट छाड्न छुट्टै आदेश भएको हुँदा उक्त लगत कसी कानुन बमोजिम गर्नु भनी काठमाडौं जि.अ. मा लगत दिनु ……..२ मिसिल नियमबमोजिम गरी बुझाई दिनु ……….. ३
उक्त रायमा हामीहरू सहमत छौं ।
न्या.प्रचण्डराज अनिल,
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४६ साल बैशाख २७ गते रोज ३ शुमभ् ।