निर्णय नं. ३६९२ – उत्प्रेषण
निर्णय नं. ३६९२ ने.का.प. २०४६ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज...
निर्णय नं. ३६९२ ने.का.प. २०४६ अङ्क १
पूर्ण इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको रि.पु.ई.नं. ४३
आदेश भएको मिति : २०४५।१२।१।३ मा
विपक्षी/प्रत्यर्थी : जि. पर्सा बीरगंज न.पं. वार्ड नं. १९ बस्ने सिउरतिया कानू
विरुद्ध
विपक्षी/रिटनिवेदक : जि. पर्सा बीरगंज न.पं. वार्ड नं. ६ बस्ने शिवशंकरप्रसाद श्रीवास्तव
मुद्दा : उत्प्रेषण
(१) कुनै त्रुटि भए मौकामै संशोधनको लागि कारवाही चलाई संशोधन गराउनु पर्ने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
प्रत्यर्थी/भू.सु.का. तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी
विपक्षी/रिटनिवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह
१. यस अदालत संयुक्त इजलासको मिति २०४१।३।२३ को निर्णय दोहर्याई पाउँ भनी सिउरतिया कानूले श्री ५ महाराजाधिराज सरकारमा बिन्तिपत्र दिएकोमा फुलबेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्स भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. म निवेदक शिवशंकरले रमेशमान अमात्यसँग निजको नाउँ दर्ताको जि.बारा प्र.टोकनी गा.पं. नगवाको वा.नं. ८ कि.नं. ९५ को जग्गा विगाहा ०–११–० मध्ये दक्षिणतर्फबाट ०–४–० जग्गा ०३४ साल भाद्र ४ गते राजीनामा गराई लिएकोमा म्यादभित्र पारित नगरी दिएबाट अदालतमा मुद्दा दिई पास हुने ठहर भई उक्त कि.नंं ९५ बाट कित्ताकाट भई कि.नं. २७४ को जग्गा मेरो नाममा नामसारी भई ज.ध.प्र.पू. दिइएकोमा मोहियानी पनि मेरै कायम गरिएको छ । विपक्षी मध्येको सिउरतियाले उक्त साविक कि.नं. ९५ को जग्गामा मोहियानी कायम गरी पाउन निवेदन दिएछन् । मेरो दाता रमेशमानले राजीनामा गरी दिँदा साक्षीमा विपक्षी सिउरतिया, निजको लोग्ने कुन्जविहारीको छोरा ब्रम्हनारायण समेत साक्षी बसेका छन्, मेरो दाताले मलाई लिखत गरिदिनु अगाडि उक्त जग्गामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ बमोजिमको प्रकृयाबाट मात्र मोही हुन सक्ने थियो । सो भए गरेको पक्का प्रमाण पेश नभएबाट मैले खरीद गरी लिएको कि.नं. ९५ को कि.का.भै कि.नं. २७४ को जग्गामा कुनै मोही नभएको कुरा प्रतिवाद गरेको थिएँ । विपक्षी भू.सु.का. ले गणेशकुमारीले रमेशमान अमात्यलाई बिक्री गरिदिए जति कुन्जविहारीको नाउँमा मोही कायम गरी दिने भनी फैसला हुँदा कि.नं. ९५ छूट हुन गएको मिति ०२७ चैत्रको फैसला नक्कलबाट वादीको पतिलाई मोही कायम गरी दिने मनसाय साविक निर्णयबाट देखिन आउने भन्ने तर्क गर्दै उक्त जग्गामा मोही कायम हुने भन्ने मिति ०३९।१०।१७ मा भू.सु.का. पर्साबाट निर्णय भयो ।
३. भू.सु.का. ले भ्रमात्मक रुपमा फैसलाको मनसायलाई आधार मान्नु भएको छ । कदाचित ठहरमा छूट भएको स्थितिमा पक्षले संशोधन नगराएमा छूट भएको जग्गालाई अड्डा अदालतले कार्यान्वयन गराउन नसक्ने उक्त साविक कि.नं. ९५ को जग्गामा कोही पनि मोही नदेखिएको पक्का प्रमाणको अभावमा सिउरतियाले हक साफी गर्न नपाउने ०३९।५।१६ मा मालपोत कार्यालय बाराले फैसला पनि गरिसकेको सिउरतियाको पति कुन्जविहारी कै मेरो दाता रमेशमानको पालामा मोहियानी कायम भएको प्रमाण नै नभएपछि लोग्नेको हकको आधारमा आएकी सिउरतियाको मोहियानी हक कायम रहने स्थिति नभएको, ०३६।०३७ सालको बाली बुझी भर्पाई गरिदिएको भनी आधार देखाइएकोमा रमेशमानले ०३४ सालमै मलाई लिखत गरी दिई सकेपछि निजले दिएको भर्पाईले मेरो हकमा असर नपर्ने प्रष्ट छ, विपक्षीले भू.सु.का. बारामा यसै विषयमा नालेश दिएकोमा ०३९।२।२५ मा तामेलीमा राखिएपछि पुनः सोही विषयमा बारा जिल्लामा गरेको यो नालेश अ.वंं. ८५ नं. ले बदरभागी छ । हुँदै नभएको प्रमाणलाई आधार लिई गरिएको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत शिवशंकरप्रसाद श्रीवास्तवको ०३९।११।२५ को रिटनिवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको २०३९।११।२५ को आदेश ।
५. २०२७ सालको फैसलामा उक्त जग्गामा मोही कायम गर्ने मनसाय लिइएको रमेशमानलाई बाली बुझाई भर्पाई प्राप्त गरेको सिउरतियादेवी कानूनीले जग्गा जोतको कुरामा स्थानीय पञ्चायतले सिफारिश गराई दिएको र उखु विकास उपकेन्द्र इटयाहीबाट दिएको प्रमाणपत्र समेत पेश हुन आएबाट जग्गा जोत्ने किसानलाई मोही कायम गरी दिने भूमिसुधार कार्यक्रमको उद्देश्य हुँदा यस कार्यालयबाट ०३९।१०।१७ मा मोही कायम गरी दिने गरी भएको फैसला कानुन अनुरुप नै हुँदा रिट खारेज गरिपाउँ भन्ने समेत भू.सु.का. पर्साको २०४०।२।९।२ को लिखितजवाफ ।
६. रमेशमानले २०२६।६।७ मा पारित गरी लिएको राजीनामामा कि.नंं. ९५ पनि उल्लेख भएको र रमेशमानले मेरा पतिलाई कमाउन दिएकोमा फैसलामा तपसील खण्डमा छूट भए पनि ठहर खण्डबाट मेरा पति मोही भइरहेको स्पष्ट भएबाट सोही फैसलालाई आधार लगाई भएको निर्णयमा कुनै त्रुटि नभएको साविक देखिनै मेरा पति र तत्पश्चात मैले जग्गा कमाई आएको बारे पञ्चायतको सिफारिश ०२७, ०२८, ०२६, ०२७ को बाली बुझेको भर्पाई समेत मसंग मौजूद छ लिखतमा म मोहीलाई दबाउँदैमा र मेरो छोरा साक्षी बसेकोबाट हक गूम्ने पनि छैन । रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत सिवरतिया कानूको ०४०।३।१० को लिखितजवाफ ।
७. निवेदकले दावी लिएको कि.नं. ९५ को जग्गा २०२७ सालको भू.प्र.का. को निर्णयबाट शिवरतियाका लोग्ने कुन्जविहारीलाई मोही कायम गरेको नदेखिएका यही विवादास्पद जग्गाको साविकका जग्गाधनी कुन्जविहारी नै भएकोमा आफ्नो स्वामित्वको जग्गामा आफैं मोही हुन सक्ने भन्ने भू.सु. ऐन, २०२१ मा कुनै व्यवस्था भएको पाइँदैन । यस्तो अवस्थामा रिटनिवेदकको जग्गा विगाहा ०–४–० सम्म भू.सु.अ.ले शिवरतियालाई मोही कायम गर्ने गरेको हदसम्म त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको २०४१।३।२३ को आदेश ।
८. यस अदालत संयुक्त इजलासको निर्णय फुलबेञ्चबाट दोहोर्याई दिनु भन्ने हु.प्र. बक्स पाउँ भन्ने शिउरतियाले चढाएको बिन्तिपत्रमा फुलबेञ्बाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र. बक्स भई आएको रहेछ ।
९. निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक शिउरतियाको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले २०२६।६।७ मा रमेशमानले पास गरी लिनु भएको राजीनामाका सम्पूर्ण जग्गाहरू सिउरतियाका पति कुन्जविहारीले कमाएको ठहरी निर्णय भएकोमा तपसील खण्डमा कि.नं.९५ छूट भएको सम्म हुँदा सोही अनुसार भूल भएको कुरालाई ध्यानमा राखी भू.सु.का.बाट मोही कायम हुनेगरी निर्णय भएको हुुुुुुुुुुुुुँदा प्रस्तुत रिट निवेदन खारेज हुनुपर्ने भन्ने र प्रत्यर्थी भू.सु.का.बाराको तर्फबाट बहसको लागि खटिई उपस्थित हुनुभएका स.न्या.श्री सामन्तसिंह बोगटीले निवेदिका शिउरतिया र निजका पतिले समयसमयमा साविकका ज.धनी रमेशमानलाई कूत बुझाई भर्पाईसमेत लिएको र हालसम्म पनि शिउरतियाले जोती राखेको भनी पञ्चायतबाट शिफारिशसमेत भईआएको हुँदा उक्त सबूदप्रमाण समेतका आधारमा मोही कायम गर्ने गरेको भू.सु.का. पर्साको २०३९।१०।१७ को निर्णयमा कुनै त्रुटि नहुँदा रिटनिवेदन खारेज हुनुपर्ने भन्ने र विपक्षी रिटनिवेदक शिवशंकर प्रसादको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्माले २०२७ सालको फैसलामा दावीको कि.नं. ९५ को जग्गामा मोही कायम नै नगरेको प्रष्ट छँदाछंदै छूट हुन गएको तर कुन्जविहारीलाई मोही कायम गर्ने मनसाय देखिएको भनी २०२७ सालको निर्णय प्रतिकूल २०३९।१०।१७ मा निर्णय भएको त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्ने गरेको यस अदालत संयुक्त इजलासको निर्णय सदर हुनुपर्ने भनी बहस गर्नु भयो ।
१०. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत रिटनिवेदनमा निर्णयतर्फ हेर्दा यसमा गणेशकुमारीले रमेशमानलाई बिक्री गरिदिएजति जग्गा कुन्जविहारीका नाउँमा मोही कायम गरिदिने भनी फैसला भएको तर फैसलामा कि.नं. ९५ छुट हुनाले उक्त छुट जग्गा समेतमा वादीका पति कुन्जविहारीलाई मोही कायम गरिदिने मनसाय साविक निर्णयबाट देखिँदा उक्त कि.नं. ९५ समेतका जग्गाहरूमा वादीको मोही कायम हुने भनी भू.सु.का. पर्साबाट २०३९।१०।१७ मा निर्णय भएको देखिन्छ । उक्त कि.नं. ९५ मध्येबाट कित्ताकाट गरी कायमी कि.नं. २७४ को ०–४–० को जग्गा २०३४।५।४ मा मैले राजीनामा पास गरी लिएको हुँदा सो हदसम्म भू.सु.का. पर्साको निर्णय बदर गरिपाउँ भन्ने रिटनिवेदन जिकिर भएको पाइन्छ । २०३९।१०।१७ मा निर्णय हुँदा २०२७ साल चैत्रमा भूमी प्रशासन कार्यालय बाराबाट भएको निर्णयलाई मूल आधार बनाइएको देखिन्छ । तर २०२७ सालको भूमि प्रशासन कार्यालय बाराको उक्त निर्णयमा भोगबन्धकीमा लिएको अवस्थामा कायम भएका मोहीहरू भोगबन्धकी फछ्र्यौट भएपछि पनि जोताहा कायम रहने छ भन्ने स्पष्ट कानुनी व्यवस्था नभए पनि निवेदकले भूस्वामित्व बिक्री गरी सकेकोले निजको नाउँमा मोही कायम गर्न कुनै बाँधा नपर्ने हुँदा निम्नलिखित जग्गाहरू निम्नलिखित मोहीहरूका नाउँमा मोही कायम गराई दिने ठहर्याई निर्णय गरेको पाइन्छ । तर उक्त निर्णयमा उल्लेख भएका कित्ता जग्गाहरूमा निवेदकले दावी लिएको कि.नं. ९५ को जग्गा परेको देखिन्न । उक्त निर्णयबाट सो कि.नं. ९५ को मोही हक सम्बन्धमा निर्णय भएको पाइँदैन । उक्त निर्णयमा कुनै त्रुटि भए मौकामै संशोधनको लागि कारवाही चलाई संशोधन गराउनु पर्ने थियो । तर मौकैमा सो बमोजिम संशोधनको सम्बन्धमा कारवाही तथा निर्णय भएको भन्ने देखिँदैन । यसरी निर्णयमा उल्लेख नै नभएका जग्गा समेतमा कुन्जविहारीलाई मोही कायम गर्ने मनसाय रहेको भनी २०२७ सालको भूमी प्रशासन कार्यालय बाराको निर्णयको गलत ब्याख्या गरी कि.नं. ९५ मध्येबाट कित्ताकाट भई यी रिटनिवेदकले राजीनामा पास गरिलिएको कि.नं. २७४ को ०–४–० जग्गामा कुन्जविहारीको श्रीमती शिउरतियालाई मोही कायम गर्ने गरेको हदसम्मको प्रत्यर्थी भूमिसुधार कार्यालय पर्साले गरेको मिति २०३९।१०।१७ को निर्णय त्रुटिपूर्ण देखिन आयो । यस स्थितिमा भू.सु.का. को निर्णय अनुसार मोही कायम रहनु पर्ने भन्ने निवेदन जिकिर पुग्न सक्दैन । तसर्थ कि.नं. ९५ मध्येबाट कित्ताकाट भई रिटनिवेदकले राजीनामा गरी लिएको कि.नं. २७४ को ज.वि. ०–४–० चार कठ्ठा जग्गामा शिउरतियालाई मोही कायम गरेको हदसम्मको प्रत्यर्थी भू.सु. कार्यालय पर्साको २०३९।१०।१७ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्याएको सर्वोच्च अदालत डिभिजनबेञ्चको ०४१।३।२३ को आदेश मनासिब छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.गजेन्द्रकेशरी बास्तोला,
न्या.प्रचण्डराज अनिल
इति सम्वत् ०४५ साल चैत्र १ गते रोज ३ शुभम् ।