January 10, 1967
Created by nepalarchives

निर्णय नं. ३६२ – जग्गा दर्ता बदर

निर्णय. नं. ३६२     ने.का.प. २०२४ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री हेरम्बराज २०२३ सालको दे.फु.नं.५४ निबेदक :...

निर्णय. नं. ३६२     ने.का.प. २०२४

फुल बेञ्च

का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री हेरम्बराज

२०२३ सालको दे.फु.नं.५४

निबेदक : पश्चिम ४ नं. भिरकोट ललै बस्ने प्रेमबहादुर मल्ल र आफ्नो हकमा समेत दासु मल्ल १

विरुद्ध

बिपक्षी : ऐ.भिरकोट मग्यास रामचे बस्ने दासु पाध्या १

मुद्दा : जग्गा दर्ता बदर

(१)   बिन्तिपत्रमा व्यहोरा झुट्ठा लेखि चढायको भए, बकस भई आएको हुकूम प्रमांगीको फाइदा उठाउँन दिन नमिल्नेमुद्दाको रुप अनुसार कानून लागू हुने ।

     निवेदनपत्रमा जुन कुरा लेखि मुद्दा दोहरिने प्रमांगी भएको थियो त्यो कुरा झुट्ठा भए पछि निवेदकलाई त्यस निवेदनपत्रमा बक्स भएको हुकूम प्रमांगीको फाइदा उठाउँन दिन मिल्दैन, मुद्दाको रुप अनुसारको कानून लागू हुने हुनाले निवेदनको व्यहोरा समेत झुट्टा देखिएको हुँदा यो मुद्दा दोहरिन नसक्ने व्यहोरा दुवै पक्षलाई सुनाइ तामेलीमा राख्न नियम बमोजिम मिसिल बुझाइ दिनु।

(प्रकरण नं.४)

आदेश

      १.     यस्मा तारेखमा रहेका पक्षहरु रोहवरमा रही २३।९।२२।६ मा पेश भई निवेदक तर्फबाट विद्वान ल्पिडर श्री ठाकुरप्रसाद खरेलले र विपक्षी तर्फबाट विद्वान एडभोकेट श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाऊने तारेख तोकिएको छ । मा.न्या.श्री बाशुदेव शर्मा मा.न्या.श्री लोकराज जोशीको डिभिजन बेन्चबाट ०२२।१।६।१ मा फैसला भए ऊपर दोहर्‍याई पाउँ भनि न्यायिक समितिमा निवेदन दिएकोमा नदोहरिने भई पछि हामीहरुका झगडीया दासुको ज्वाँईं सुब्बा केशवराज सर्वोच्च अदालत मै बाहल भएको । निजको ज्वाँई श्री माननीय न्यायाधीश वासुदेव शर्मा भएको। उक्त सुव्वा बराबर जाने आउने गरेकोले भनसुनबाट नाता पक्ष गरि हराएको भन्ने समेत उल्लेख गरि ऊक्त मुद्दा दोहर्‍याई हेरी दिनु भन्ने प्रमांगी पाऊँ भनि विशेष जाहेरी विभाग मार्फत चढाएको निवेदनपत्र छ । सो निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यो मुद्दा एकपटक फुल वेञ्चबाट दोहर्‍याई हेरी दिनु भन्ने ०२३।५।२८।३ को हुकूम प्रमांगी बक्स भई रहेछ ।

      २.    मैले नचिनेको १ व्यक्तीले निवेदन लेखि दिन्छु भनि लेखि दिनु भएको थियो । त्यस्मा श्री माननीय न्यायाधीश ज्यू लाई आक्षेप लाग्ने लवज लेखि दिनु भएको रहेछ । सो कुरा मलाई थाहा थिएन । मैले जानी बुझि गरेको होइन । अपशब्द लेखिएको तर्फ क्षमा माग्दछु भन्ने समेत निबेदक दासु मल्लले मुद्दा पेशीको टायममा बेन्च समक्ष दरखास्त दिनु भएकाले नभएको झुट्टा कुरा लेखि व्यहोरा ढाँटी बिन्ति चढाएको भन्ने देखिन आयो ।

      ३.    बादी ईन्द्रबहादुर थापा मगर प्रतिवादी वेदबहादुर कार्कि समेतको बढी रकम मुद्दामा दोहर्‍याई पाउँ भनि गणेशबहादुर कार्किले चढाएको निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा फुल बेन्चबाट मुद्दा दोहर्‍याई दिनु भन्ने १५।९।२८ मा हूकूम प्रमांगी बक्स भई आएको मा निज गणेशबहादुर मुद्दामा कुनै पक्ष पनि देखिन नआएकोले व्यहोरा ढाँटी विन्तिपत्र दिएकोबाट यो मुद्दा हेर्न नमिल्ने भनि तामेलीमा राखी दिने गरि ०२२।२।१२।३ को फुल बेञ्चबाट निर्णय भएको थियो । पुनः निवेदन दिँदा गणेशबहादुर भन्ने मुद्दाबाट अंशियारै भन्ने देखिन्छ, भने बारेस भन्ने नजनाएको भए पनि अघिका हु.प्र.बमोजिम दोहर्‍याई हेरी दिनु भन्ने हुकूम प्रमांगी भई आएपछि मात्र ऊक्त मुद्दा दोहर्‍याई हेरिएको देखिन्छ ।

      ४.    अतः निवेदनपत्रमा जुन कुरा लेखि मुद्दा दोहरिने प्रमांगी भएको थियो त्यो कुरा झुट्टा भएपछि निवेदकलाई त्यस निवेदनपत्रमा बक्स भएको हुकूम प्रमांगीको फाइदा उठाऊँन दिन मिल्दैन, मुद्दाको रुप अनुसारको कानून लागू हुने हुनाले निवेदनको व्यहोरासमेत झुट्टा देखिएको हुँदा यो मुद्दा दोहरिन नसक्ने व्यहोरा दुवै पक्षलाई सुनाई तामेलीमा राख्न नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

इति संवत २०२३ साल पौष २६ गते रोज ३ शुभम ।