June 2, 1988
Created by nepalarchives

निर्णय नं. ३३८३ – किर्ते जालसाजी

निर्णय नं. ३३८३ ने.का.प. २०४५     अङ्क ३     पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश...

निर्णय नं. ३३८३ ने.का.प. २०४५     अङ्क ३

 

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको फौ.पु.ई.नम्बर २४

फैसला भएको मिति : २०४५।२।२०।५

 

निवेदक/वादी : रौतहट पिपरीया पञ्चायत वार्ड नं. ५ बस्ने गिदरी अहिरनी समेत

विरुद्ध

विपक्षी/वादी : वारा प्र. पचरौता विसुनपुर गा.पं. वार्ड नं. ३ बस्ने रामनीरेखन राउत मरी मु.स. गर्ने ऐ.ऐ बस्ने सत्य नारायण राय यादवसमेत

 

मुद्दा    : किर्ते जालसाजी

 

(१)                  विवादको राजीनामा लिखतको ल्याप्चे सहीछाप रेखा विशेषज्ञबाट जाँच हुँदा लिखतको सिरमा लागेको ल्याप्चे सही नबुझिने भनी राय दिएकोले कागज जाँचको ५, ६ र ७ नं. ले रीत पुगेको भन्न नमिल्ने ।

(प्रकरण नं.  १५)

(२)                रीत नपुगेको लिखत रजिष्ट्रेशनको २५ नं. ले पारित हुन नसक्ने ।

(प्रकरण नं.  १५)

(३)                कानूनले मान्यता पाउन सकिने अवस्था नरहेको लिखतको आधारमा कुनै दावी लिन पाउने अवस्था नहुने ।

(प्रकरण नं.  १५)

(४)                जुन राजीनामा लिखतबाट वादीको हक जाने भन्ने आधारमा फिराद दावी लिई आएकोछ, सो राजीनामा लिखतले कानूनी मान्यता नपाउने भई वादीको हकमा कुनै असर पर्ने अवस्था नरहेकोले त्यस्तो लिखत कीर्ते गरे भन्ने वादी दावीमा विचार गर्न नपर्ने ।

(प्रकरण नं.  १५)

(५)                राजीनामा लिखतले कानूनी मान्यता नपाउने भएपछि वादीले झुठ्ठा दावी गरेको भनी दण्ड सजायँको १८ नं. बमोजिम सजायँ गरेको कानून मिल्दो नदेखिने ।

(प्रकरण नं.  १५)

 

निवेदक/वादीतर्फवाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव तथा विद्वान अधिवक्ता श्री सुन्दर लाल चौधरी

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुंज विहारीप्रसाद सिंह

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४०।१२।२४ को निर्णय दोहर्‍याई पाउँ भनी श्रीमती गिदरी अहिरनी समेतको हकमा प्रशुराम चौधरीले मिति ०४१।१।२२ मा न्यायिक समिति मार्फत चढाई पठाएको न्या.स. ६८।८७८ को विन्तीपत्र र यस बारे न्यायिक समितिद्वारा चढाई पठाएको मिति ०४२।२।१४ संख्या १४२२ को पत्र तथा पत्रसाथ संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसुफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्‍याई दिनु हुकूम बक्सेको छ भनी मौसुफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४२।२।२४ मा लेखी आए अनुसार लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकारछ :

२.     म गिदरी अहिरनीको नाउँ दर्ता भोगको विसनपुर गा.पं. वार्ड नं. ४ को कि.नं.१०९ को ज.वि. ०१७१५ विपक्षीहरूले झुठ्ठा लेखत बनाई मैले नगरेको दुवै बुढी औंलाको ल्याप्चे सहिछाप झुठ्ठा वनाई विपक्षी राम निरखन राउत कुर्मी भई आफ्ना नाउँमा कीर्ते लेखत खडा गरी सम्पत लाल कायस्त र महेन्द्रप्रसादले सनाखत गर्ने साक्षी बसी, विपक्षी मोहनप्रसादले साक्षी बसी, विपक्षी राजेन्द्रलाल लेखत साक्षी बसी मेरो लोग्ने पुगित राउत समेतको झुठ्ठा ल्याप्चेको सहिछाप बनाई साक्षीमा राखी उक्त लेखत कीर्ते खडा गरी रु.११०००। को थैली हाली मिति ०३१।१०।११।६ मा भु.प्र.का.बाराबाट रजिष्ट्रेशन पारित गराई दिएको हुँदा हामीहरूको हक धन जाने नोक्सान हुने गरी कीर्ते गरे गराएकोले विपक्षीहरूलाई कीर्ते कागजको ऐन अन्तर्गत सजायँ गरिपाउँ भन्ने गिदरी अहिरनी समेतको फिरादपत्र ।

३.     गिदरी अहिरनीले रु.११०००।मा आफ्नो जग्गा राम निरखन राउतलाई बिक्री गरी सकेको भनेकोले उक्त लेखतमा साक्षी वसी दिएको हुँ भन्ने मोहनप्रसाद यादवको प्रतिउत्तरपत्र ।

४.     राजीनामा लिखत पास हुने निश्चित भएपछि साक्षी वसी सही गरिदिएको हुँदा जाल रची म समेत भई कीर्ते सहिछाप गर्ने गराउने प्रश्न नै हुँदैन भन्ने समेतको समतलाल कायस्तको प्रतिउत्तर ।

५.     मबाट रु.११०००।लिई ०३१।१०।११।६ मा गिदरीले आफ्नो दुवै बुढी औंलाले लेखतको सिर पुछारमा सहिछाप गरी ऐ. मितिमा नै भू.प्र.का बारामा विपक्षी आफैं हाजिर भई आफ्नो लालपूर्जा र पोत तिरेको रसिद देखाई अड्डा प्रमुख नेर रुपैयाँ चुक्ता पाउँ जग्गा विगहा ०१७१५ जग्गा बिक्री गरेको हुँ भनेबाट सद्दे साँचो व्यहोराबाट उक्त लेखत पारित भएकोलाई मेरो थैली मार्न र मलाई दुःख दिनको लागि यो झुठ्ठा उजूर गरेको मात्र हो भन्ने समेत व्यहोराको प्र. राम निरेखन राउत अहिरको प्रतिउत्तरपत्र ।

६.     वादीहरूले कुनै सबूद प्रमाण दिन गुजार्न नसकेको लिखत गराई लिने प्रतिवादी राम निरखन बाहेक अन्य प्रतिवादीहरूले प्रतिवाद गर्दा वादी दावीलाई पूर्ण रुपले अस्वीकार गरी प्रतिउत्तर फिराएको र सोको समर्थन निज प्र. हरूको साक्षीहरूको बकपत्रबाट समेत हुनआएको देखियो । रेखा विशेषज्ञको राय अकाट्य नभएको र प्र.हरू भई कीर्ते लिखत खडा गरेको हो भन्ने वादीले कुनै ठोस सबूद प्रमाण दिन गुजार्न नसकेकोले प्र. हरू भई ०३१।१०।११ मा बिगो रु.११०००।को ज. बि.०१७१५ को कीर्ते सुक्री बिक्री राजीनामा लिखत खडा गर्दा भूमिप्रशासन कार्यालयबाट पारित गरायो भन्ने वादीको दावी झुठ्ठा ठहर्छ भन्ने वारा जिल्ला अदालतको फैसला ।

७.     शुरु वारा जिल्ला अदालतको फैसलामा चित्त बुझेन भनी वादी गिदरी अहिरनी र पुनित राउत अहिर समेत जना २ को म.क्षे.अ.मा पर्न आएको छुट्टा छुट्टै पुनरावेदनपत्र ।

८.     प्रतिवादी मध्येको राजेन्द्रलाल र महेन्द्रप्रसादको नाउँमा समाव्हानको तामेली हेर्दा निजहरूको घरद्वार पत्ता नलागे भनी तामेल भएको त्यस्तो अवस्था हुँदा निजहरूको नाम पनि कल्पित गरी राखिएको रहेछ भनी सम्झनु पर्ने हुनआएको र प्रतिवादी मध्येका मोहनप्रसादले प्रत्यूत्तर दिंदा प्र. मध्येकै साहु राम निरखन कै भर विश्वासमा सहि गरेको र वादीहरूलाई नचिनेको भनी लिएको निजको जिकिर अविश्वासनीय भन्न नसकिने हुँदा निजहरूले कीर्ते गरे गराएको ठहर्दैन । प्र. संपत सनाखती साक्षी हुँदा आफूले नचिने नजानेको व्यक्तिहरूलाई यो यस्तो नामको मानिस हो भनी सनाखत गर्न नसकिने हुँदा निज संपत र प्र.राम निरेखन राउत जवान २ भई वादीहरूको ल्याप्चे कीर्ते गरी लिखत रजिष्ट्रेशन पारित गरेको ठहर्छ भन्ने म.क्षे.अ.को फैसला रहेछ ।

९.     म.क्षे.अ.ले गरेको इन्साफमा चित्त बुझेन भनी यस अदालतमा पुनरावेदक  प्रतिवादी सम्मत लाल र राम निरेखन राउत समेतको छुट्टा छुट्टै पर्न आएको पुनरावेदन ।

१०.     २०३१।१०।११ मा राजीनामा लिखत पारित गर्न कार्यालयको सम्बन्धित कर्मचारीलाई विपक्षी बनाएको देखिँदैन जालसाजी मुद्दाको सम्बन्धित कागज हेर्दा लिखतमा लागेको ल्याप्चे स्पष्ट छैनन् र मिति पुछारको २ ल्याप्चेहरू दायाँ वा बायाँ भनी उल्लेख गरेको पनि पाइएन । यस स्थितिमा उक्त ०३१।१०।११ को लिखत वेरितको देखिन्छ । त्यस्तो वेरितको लिखतलाई प्रमाणमा लिन नमिली जालसाजी हो होइन भनी विचार गरी रहनु पर्ने नहुँदा जालसाजी ठहराई म.क्षे.अ.ले गरेको निर्णय उल्टी हुने ठहर्छ । जालसाजी नठहराई शुरु जिल्ला अदालतले गरेको निर्णयसम्म मनासिव छ भन्ने समेत सर्वोच्च अदाल डिभिजनबेञ्चको ०४०।१२।२४।६ को फैसला ।

११.     श्री ५ महाराजाधिराजका हजुरमा मुद्दा दोहोराई नाउँ भनी न्यायिक समिति मार्फत् चढाएको बिन्तिपत्र र न्यायिक समितिले चढाई पठाएको पर्चा समेत जाहेर हुँदा मौसुफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहोराई दिनु भन्ने मौसुफ सरकारका प्रमुख सचिवालयबाट ०४२।२।२४ मा लेखी आए अनुसार सो साथ प्राप्त न्यायिक समितिको मिति ०४२।२।४ को पर्चामा लिखतमा लागेका ल्याप्चेहरू स्पष्ट छैनन् वेरितका छन् भनी फैसलामा उल्लेख भए पनि पारित भइसकेका लिखत वेरित देखिएकोले बदर हुन्छ भनी नभनिएकोले त्यस्तो वेरितको लिखतमा जनिएको अचल सम्पत्तिमा वादीको हक मेटिन गएको छ । वेरितको लिखतलाई प्रमाण लिन नमिली जालसाजी हो होइन भनी विचार गरी रहन पर्ने नहुँदा जालसाजी ठहराई गरेको क्षेत्रीय अदालतको निर्णय नमिलेकोले उल्टी हुन्छ जालसाजी नठहरी शुरु जिल्ला अदालतले गरेको निर्णयसम्म मनासिव भनी फैसलामा उल्लेख भएको र जालसाजीतर्फ विचार गरी वादी दावी नपुग्ने ठहरिएकोले वादीहरूलाई कीर्ते कागजको ७ नं. र दण्ड सजायँको १८ नं. ले जनही रु.२८५०।का दरले जरिवाना गरिएकोले जालसाजीतर्फ विचार गरी रहन परेन भन्ने भनाई मुद्दामा जरिवाना गरिएकोबाट समेत मिलेको देखिन आउँदैन । यस स्थितिमा सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा २३ र मुलुकी ऐन कीर्ते कागजको महलको १,७ र १४ समेतको त्रुटीहरू देखिएको भन्ने उल्लेख भएको छ ।

१२.    निवेदक वादीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव तथा विद्वान अधिवक्ता श्री सुन्दर लाल चौधरीले लिखतका अन्तर लेखक र सनाखत साक्षीहरूले गिदरीलाई चिनी साक्षी बसेको भन्न सकेको छैन । पुनितको सहिछाप पनि मिलेको छैन । लिखत किर्ते स्पष्ट देखिएको छ । कारणीको ल्याप्चे नमिल्ने भनी रेखा विशेषज्ञको किटानी राय भएकोबाट किर्ते देखिएको छ । प्रस्तुत मुद्दामा विवादको लिखत कीर्ते हो होइन भन्ने प्रश्न छ । लिखत प्रमाण लाग्ने हो होइन भन्ने प्रश्न होइन । तसर्थ लिखतले मान्यता पाउन नसक्ने गरी ठहर हुनुपर्छ भन्ने समेत वहश गर्नुभयो । विपक्षी प्रतिवादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुंज विहारीप्रसाद सिंहले लिखत जाँच गर्ने विशेषज्ञले ल्याप्चे सहिछाप मिल्दैन भनेको छैन । अस्पष्ट भएकोबाट मिल्छ मिल्दैन भन्न नसकिने सम्म भनेको छ । तसर्थ लिखतले मान्यता प्राप्त नहुने भन्न मिल्दैन भन्ने समेत वहश गर्नुभयो ।

१३.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

१४.    यसमा निर्णयतर्फ हेर्दा म गिदरी अहिरनी नाउँको विसुनपुर गा.पं. वडा नं. ४ को कि.नं.१०९ को ज.वि.०१७१५ विपक्षहरूले झुठ्ठा राजीनामा बनाई दुवै बुढी औंलाको ल्याप्चे सहिछाप झुठ्ठा बनाई लिखत कीर्ते खडा गरी रु.११०००।थैली हाली ०३१।१०।११ मा भु.प्र.का वाराबाट रजिष्ट्रेशन पारित गराई लिएकोले विपक्षीहरूलाई कीर्ते कागजको ऐन अन्तर्गत सजायँ गरिपाउँ भन्ने समेत वादीको फिराद दावी देखिन्छ ।

१५.    विवादको राजीनामा लिखतको ल्याप्चे सहिछाप रेखा विशेषज्ञबाट जाँच हुँदा लिखतको सिरमा लागेको ल्याप्चे सही नबुझिने भनी राय दिएकोले कागज जाँचको ५,६ र ७ नं. ले रीत पुगेको भन्न मिलेन । यस्तो रीत नपुगेको लिखत रजिष्ट्रेशनको २५ नं. ले पारित हुन नसक्ने भएकोले सो लिखत पारित भएकै भए पनि कानूनले मान्यता पाउन सकिने अवस्था नरहेकोले सो लिखतको आधारमा विपक्षी प्रतिवादीले कुनै दावी लिन पाउने अवस्था नहुँदा सो लिखतबाट वादीको हकमा कुनै असर पर्न सक्ने देखिन आएन । जुन राजीनामा लिखतबाट वादीको हक जाने भन्ने आधारमा यो फिराद दावी लिई आएको छ । सो राजीनामा लिखतले कानूनी मान्यता नपाउने भई वादीको हकमा कुनै असर पर्ने अवस्था नरहेकोले त्यस्तो लिखतको कीर्ते गरे भन्ने वादी दावीमा विचार गर्न नपर्ने नै देखिएकोले वादी दावी खारेज हुने ठहर्छ । राजीनामा लिखतले कानूनी मान्यता नपाउने भएपछि वादीले झुठ्ठा दावी गरेको भनी वादीलाई शुरु जिल्ला अदालतले गरेको इन्साफ सदर भनी दण्ड सजायँको १८ नं.बमोजिम सजायँ गरेको कायमगरेको कानूनमिल्दो नदेखिएकोले सो हदसम्म सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको नदेखिँदा बदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

सर्वोच्च अदालत डिभिजनबेञ्चका मिति ०४०।१२।२४ का फैसला र ०४२।६।८ का लगतले वादी गिदरी अहिरनी र पुनित राउतलाई शुरुले जनही रु.२८५०।का दरले जरिवाना गरेको लगत कायम गरी असूल गर्ने गरेकोमा माथि इन्साफ खण्डमा लेखिए बमोजिम सो जरिवाना नलाग्ने हुँदा असूल भएको भए फिर्ता र असूल हुन बाँकी भए असूल गर्नु पर्दैन सो लगत कट्टा गरिदिनु भनी वारा जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु …उक्त जरिवाना बापत जेथा जमानी दिएको राम देव राय यादवका नाउँको जि.वारा पिपरपाती गा.पं. वार्ड नं. ९ कि नं. २४१ को ०१५६ जग्गा रोक्का फुकुवा गरिदिनु भनी मालपोत कार्यालय वारालाई लेखी पठाई दिनु …मिसिल नियमबमोजिम गरी बुझाई दिनु

 

उक्त रायमा हामी सहमत छौं ।

न्या. पृथ्वीबहादुर सिंह,

न्या. हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४५ साल ज्येष्ठ २० गते रोज ५ शुभम् ।