February 15, 1988
Created by nepalarchives

निर्णय नं. ३३६१ – बन्दी–प्रत्यक्षीकरण

निर्णय नं. ३३६१                 ने.का.प. २०४५                  अङ्क २     संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४४...

निर्णय नं. ३३६१                 ने.का.प. २०४५                  अङ्क २

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४४ सालको रिट नं. १५७७

आदेश भएको मिति : २०४४।११।३।२ मा

 

निवेदक : का.जि.का.न.पं. वार्ड नं. ३० महाबौद्धको हाल केन्द्रीय कारागार त्रिपुरेश्वरमा थुनामा रहेको मिलनकुमार ठकुरी

विरुद्ध

विपक्षी : श्री बागमती विशेष अदालतसमेत

 

विषय : बन्दीप्रत्यक्षीकरण

 

(१)                  कुनै पनि व्यक्तिको नाम यो हो भनी दावी लिने पक्षले सो कुरा पुष्टी हुनसक्ने प्रमाण पनि पेश गर्न सक्नु पर्ने ।

(प्रकरण नं.  १०)

निवेदकतर्फबाट   : विद्वान वरिष्ठ अधिवक्ता श्री बाशुदेवप्रसाद ढुङ्गाना

विपक्षीतर्फबाट    :      विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

 

आदेश

न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ ।

२.निवेदक मिलनकुमारले नेपालको जन्मसिद्ध नागरिक भई नागरिकताको प्रमाणपत्र पाई विदेश भ्रमणको निमित्त राहदानी समेत प्राप्त गरेको छु । म निवेदकलाई जि.प्र.का.का कर्मचारीहरूले ०४४।५।३१ मा एक्कासी पक्राउ गरी प्रहरी कार्यालयमा लगी थुनामा राखी लाइसेन्स विनाको टेप रिकर्ड हराएको अभियोग लगाउने प्रयास गरेकोमा त्यस अभियोगसंग निवेदक सम्बन्धित नदेखिएपछि विपक्षी नं. १ ले ०४४।३।१५ मा गरेको भनी श्री ५ को सरकार विरुद्ध मोहन शर्मा समेत भएको लागू औषधी मुद्दाको फैसलामा उल्लेख गरिएका का.न.पं. वडा नं. १३ कालीमाटी बस्ने मिलेन तामाङ तँ होस मिलेन तामाङलाई १० वर्ष कैद र २०,०००।जरिवाना भएको छ भनी विपक्षी नं. २ समक्ष ०४३।६।२१ मा लगियो । सजायँ लागेको व्यक्ति म होइन भनी जिकिर लिँदा प्रहरीले पक्राउ गरी ल्याएपछि र फैसलाले लगत कसेको भएपछि अरु हामी जान्दैनौं भनेको र कैदी पुर्जी दिई विपक्षी नं. ३ कहाँ पठाई म मिलेन होइन भन्ने प्रमाण समेत पेश हुँदा हुँदै पनि थुनामा राखेको हुँदा संविधानको धारा १६।७१ आधारमा यो निवेदन गर्न बाध्य भएको छु ।

३.वादी श्री ५ को सरकार प्रतिवादी मोहन शर्मा समेत भएको लागू औषधी मुद्दामा का.न.पं. १३ कालीमाटी बस्ने मिलेन तामाङलाई कैद र जरिवाना गरेको भन्ने मलाई दिएको पुर्जीबाट देखिन्छ । म महाबौद्ध बस्ने सजायँ नपाएको मिलनकुमार ठकुरीलाई ०४४।५।३१ मा पक्राउ गरी सजायँ पाएको भन्दै थुनामा राखेको गैरकानुनी छ । म सो व्यक्ति होइन भन्ने मैले पाएको राहदानीबाट स्पष्टै छ । नाम, थर, जात, फरक पर्दा पर्दै पनि थुनामा राखेको कानून बिपरीत छ नाम थर वतन मिल्दैन भने थुनामा राख्नु गैरकानुनी हुन जान्छ भनी २०२५ को नि.नं. ५२७ मा सिद्धान्त कायम भएको छ सबूद प्रमाणको अभावमा बन्दी गराई राख्न नमिल्ने समेत सिद्धान्त कायम भएको छ । अतः गैरकानुनी थुनाबाट छाडी दिनु भनी विपक्षी नं. ३ का नाउँमा आदेश पाउँ भन्ने समेतको रिट निवेदन जिकिर ।

४.विपक्षीबाट लिखितजवाफ मगाउने भन्ने समेतको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।

५.अधिकार प्राप्त का.जि.अ. ले मिलेन तामाङ भनी कैदी ठेकी राख्नु भनी बुझाउन ल्याएको कारागार ऐन नियमले बुझी लिई राखिएकोसम्म हो । रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने समेतको जि.का.कारागार शाखा काठमाडौंको लिखितजवाफ । विपक्षी मिलनकुमार ठकुरी नभई मिलेन तामाङ भएकोले विपक्षी मिलनकुमार ठकुरीले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिको लागि झुठ्ठा रिट निवेदन दिएको हुँदा निवेदन खारेज गरिपाउँ भन्ने समेतको जि.प्र.का काठमाडौंको लिखितजवाफ ।

६.अभियोग लगाउने तथा पक्राउ गर्ने निकायले किटान गरी मिलेन तामाङ लेखी दिएकोले निजलाई लागेको कैद जरिवाना बापत कैदमा राखिएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको का.जि.अ. को लिखितजवाफ ।

७.यस अदालतबाट भएको फैसला अनुसार मिति २०४४।४।१२ मा का.जि.अ. तहसिल फाँटमा मिलेन तामाङ बेरुजु हुँदा सो अनुसार निजलाई लागेको कैद जरिवानाको लगत दिएको व्यहोरा पेश गरेको छौं भन्ने समेतको बागमती विशेष अदालतको लिखितजवाफ ।

८.नियमबमोजिम पेश भएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गानाले र विपक्षी कार्यालय तर्फबाट उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस समेत सुनियो ।

९.अब प्रस्तुत रिट निवेदन निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ ।

१०.निर्णयतर्फ विचार गर्दा यसमा बागमती विशेष अदालतको मिति ०४४।३।१५।२ को फैसलाले का.न.पं. वार्ड नं. १३ बस्ने मिलेन तामाङलाई लागू औषधी मुद्दामा १० बर्ष कैद र जरिवाना रु.२०,०००। गर्ने गरेको भन्ने कुरामा कुनै विवाद परेको छैन । रिट निवेदक मिलेन तामाङ हो भनी निजलाई उक्त मुद्दाको लगत अनुसार थुनामा राख्न पठाएको भन्ने कुरामा पनि विवाद   रहेन । निवेदक मिलनकुमार ठकुरी हुँ । मिलेन तामाङ म होइन, मलाई थुनामा राखेको गैरकानुनी छ भनी रिट निवेदन दिन आएको देखियो । अब प्रस्तुत  रिट निवेदनमा निवेदक मिलेन तामाङ, हो वा मिलनकुमार ठकुरी हो भन्ने कुरा नै मुख्य रुपमा विचार गर्नु पर्ने हुन आयो । यस अदालतको मिति २०४४।९।२० को आदेश अनुसार भई आएको सरजमीन हेर्दा निवेदकलाई सम्पूर्ण सरजमीनका व्यक्तिहरूले दानबहादुरको छोरा मिलनकुमार ठकुरी भनी लेखि दिएको देखिन आएको छ । निवेदकको राहदनी र नागरिकताको प्रमाणपत्र हेर्दा मिलनकुमार ठकुरी भन्ने देखिन आएको छ । विपक्षीतर्फबाट रिट निवेदक मिलेन तामाङ नै हो भनी ठोस सबूद प्रमाण पेश गर्न सकेको पाइँदैन । ठोस सबूद प्रमाणको अभावमा निवेदक मिलेन तामाङ हो भन्न हर हालतमा मिल्दैन । कुनै पनि व्यक्तिको नाम यो हो भनी दावी लिने पक्षले सो कुरा पुष्टी हुनसक्ने प्रमाण पनि पेश गर्न सक्नु पर्ने हुन्छ । विपक्षले मिलेन तामाङ हो भनी भनेको भरमा मात्र अन्य प्रमाणको अभावमा सो भनाई सत्य तथ्यमा आधारीत भएको मान्न मिलेन । अतः निवेदक मिलनकुमार ठकुरीलाई गैरकानुनी थुनामा राखेको देखिएकोले तुरुन्त थुनाबाट छाडिदिनु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिएको छ । जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन म.न्या.का.मार्फत पठाई फायल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४४ साल फाल्गुण ३ गते रोज २ शुभम् ।