March 31, 1988
Created by nepalarchives

निर्णय नं. ३३५१ – अंश

निर्णय नं. ३३५१        ने.का.प. २०४५                  अङ्क २     पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान...

निर्णय नं. ३३५१        ने.का.प. २०४५                  अङ्क २

 

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४२ सालको दे.पु.ई.नं. १०८

फैसला भएको मिति :    २०४४।१२।१८।५ मा

 

निवेदक/प्रतिवादी : सुनसरी भई ऐ. हासपोसा गा.पं.वा.नं.९ बस्ने रतनलाल चौधरीसमेत

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. बस्ने अकलीदास थरुनी

 

मुद्दा : अंश

 

(१)                  बण्डापत्र गर्दा नाम उल्लेख नभएको आधारबाट मात्र छोरा होइन भन्न नमिल्ने ।

(प्रकरण नं.  २४)

(२)                अंश दिएको भन्ने कुनै प्रमाण आउँन सकेको छैन, तसर्थ वादी अंशियार नाताको होइन अंश दिनु पर्ने होइन भन्ने प्रतिवादीको निवेदन जिकिर पुग्न नसक्ने ।

(प्रकरण नं.  २४)

 

निवेदक प्रतिवादीतर्फबाट  :      विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षी वादीतर्फबाट      :      विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह :     श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहर्‍याई पाउँ भनी प्रतिवादीहरूले चढाएको बिन्तिपत्रमा फुलबेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभाग राजदरवारबाट मिति ०४१।८।१९ मा लेखी आए अनुसार लगतमा दर्ता भई पेश हुनआएकोमा मुद्दाको तथ्य यसप्रकार छ :

२.ससुरा वहरीदासका ४ छोरामा जेठा विपक्षी बेचन, बौकाइको बाबु दशन, माहिलो मेरो पति पोषण, साहिंलो रतन र कान्छो पाचु चौधरी हुन् ससुरा र पति समेत परलोक भइसकेपछि जग्गा मौखिक शर्तले खाइरहेको थियो बण्डा भएको थिएन यस्तैमा म बृद्ध अवस्थाको भएँ दान धर्मकर्म गर्न समेतका लागि विपक्षीहरूसंग गई अंश माग्दा तँ बुढीलाई अंश दिँदैनौं जे गर्नुपर्छ गर भनी जवाफ दिएकोले अन्यायमा परी फिराद गर्न आएको छु । तायदाती लिई ४ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत अकली दासीन थरुनीको फिरादपत्र ।

३.बहुरीका ४ छोरा होइन, तीनछोरा जेठा दशन, माहिला रतन, कान्छा पाचु हुन् वादी बहुरीदासको छोरा पोसनको श्रीमती होइन । वादी हामीहरूको अंशी होइन भन्ने कुरा २०१६।१२।३० र २०२१।९।३० मा मोरङ मालबाट पास भएको जीउनी र बण्डाबाट वादी समेत अंश हुन् भन्ने उल्लेख नभएको हुँदा अर्कै परिवारको मानिसले हामी उपर झुठ्ठा उजूर दिएको हो भन्ने समेत प्रतिवादी ।

४.जेठा दशन माहिला वादिको पति पोषण साहिंला रतन कान्छा पाचु समेत ४ भाइ बहुरीदास चौधरीको छोरा हुन् प्र.बेचन चौधरी र वौकाह उक्त दशका छोरा हुन् । वादी र प्रतिवादीहरू ४ अंशियार हुन् माथि लेखिए बमोजिम नाता कायम गरिपाउँ भन्ने समेत वादी अकली दासीन थरुनीको वारिश सुकन चौधरीले गरेको बयान ।

५.वादीलाई हामीले अंश दिनु पर्ने अंशियार होइन । २०१६ सालको जिउनी र २०२१ सालको अंश वण्डामा वादीले दावी लिन सक्नु पर्ने फिरादमा सो कुरा उल्लेख गर्न पनि नसकेकोले वादी वारिशको बयान अनुसार नाता कायम हुनसक्ने होइन । वहुरीदासको ४ भाइ छोरा नभई ३ भाइ छोरा हुन् झुठ्ठा दावीबाट फुर्सद पाउँ  भन्ने समेत वा. समेतका प्रतिवादी वेचन चौधरीको बयान ।

६.२०१६।१२।३० को जिउनी २०२१।९।३० को बण्डापत्र तथा साक्षीहरूको बकपत्र समेतबाट यी वादी प्रतिवादीहरूको अंशियार रहिछन् भन्न नमिल्ने हुँदा वादीले प्रतिवादीहरूबाट अंश दिलाई पाउँ भनी झुठ्ठा दावी लिएको ठहर्छ भन्नेसमेत सुनसरी जि.अदालतको ०३६।११।२८ को फैसला ।

७.सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी अकली दासी थरुनीको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

८.वादी अंशियार हुन् भन्ने कुराको यकीन सबूद केही छैन । अतः वादीले अंश नपाउने समेत ठहराएको शुरु सुनसरी जिल्ला अदालतको इन्साफ मनासिव छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको २०३८।१२।१० को फैसला ।

९.श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सवारी शिविर धनकुटामा इन्साफ जाँची पाउँ भनी वादीले चढाएको बिन्तिपत्रमा इन्साफ जाँची कानून बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०३९।९।२५ मा तोक लागी आएको रहेछ ।

१०.वादीका साक्षी भजन दास चौधरी र फागु चौधरीले वहुरीदासका छोरा दशन, पोषण, र पाँचु हुन् । वादी पोषणको श्रीमती प्रतिवादीहरूका अंशी हुन् भन्ने किटानी बकपत्र गरेको र २०२६।११।२० को पास राजीनामाबाट समेत वादी निवेदिका पोषणको श्रीमती भन्ने देखिन ठहर्न आउँछ । निजले अंश पाएको प्रमाण प्रतिवादीबाट पेश नभएकोले वादीले ४ भागको १ भाग अंश पाउने ठहर्छ कानून बमोजिम तायदाती लिई अंश दिलाई दिन मिसिल सुनसरी जिल्ला अदालतमा पठाई दिनु । वादीले अंश नपाउने गरेको जिल्ला अदालतको फैसला सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला गल्ती ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेन्चको ०४१।३।२६ को फैसला ।

११.श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहर्‍याई पाउँ भनी प्रतिवादीहरूले चढाएको बिन्तिपत्रमा फुलबेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति ०४१।८।१९ मा लेखी आएको रहेछ ।

१२.दुखनी थरुनीले शिवप्रसाद उपाध्याय भट्टराइसंग लिएको मिति ०२६।११।२० राजीनामा वादीबाट दाखिल गर्न लगाई सुनाउन पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत फुलबेञ्चको ०४३।४।२४ को आदेश ।

१३.२०२६।११।२० को कागजात वादीले समयमा पेश गर्न नसकेको सो काजगमा पोषणकी श्रीमती बनी विपक्षीले काम कारवाही समेत नगरेको र सो कागज लिने दिने व्यक्तिहरू सत्य साँचो भए पनि हामीहरूको हक नाता नै नलाग्ने व्यक्तिको कागज पेश गरी अंश भाग गरेको व्यहोरा जालसाजी हो उक्त कागजलाई आधार मानी जालसाजीबाट हकदार बनी कागज पेश गरेकी हुन् भन्ने समेत प्रतिवादी वा. समेतको वेचन चौधरीको बयान ।

१४.लिखत जालसाजी होइन सद्दे हो भन्ने समेतको वेचन चौधरीको बयान ।

१५.२०१६।१२।३० को जिउनीकागज, २०२१।९।३० को बण्डापत्र मिति ०२२।१।२३ र ०२२।१।२५ को दर्खास्तको प्रतिलिपि दाखिल गराई सुनाउने भन्नेसमेत स.अ.पूर्णइजलासको मिति २०४४।३।१६ को आदेश ।

१६.२०१६।१२।३० को जीवनवृत्ति कागज र २०२१।९।३० अंशवण्डाको कागज मलाई थाहा पत्ता नदिई जालसाजी गरी खडा गरेको हो भन्नेसमेत वादी अकली दासीनको वारिश परशुराम चौधरीको बयान ।

१७.सो दुवै लिखत सद्दे साँचो हो वादीको वारिशले गरेको बयान झुठ्ठा हो भन्ने समेत प्रतिवादी वा. समेत वेचनलाल चौधरीको बयान ।

१८.प्र. रतन पाचु र मेरा बाबु दर्शन समेतले  जिमिदार कचहरी मैथलीमा कुनै कागज पत्रहरू गरेको  छैन । पेश गरेको दर्खास्तको नक्कल जालसाजी कीर्ते हो भन्ने समेत प्रतिवादी वा. समेतको वेचनलाल चौधरीले गरेको बयान ।

१९.सो दर्खास्त नक्कल सद्दे साँचो हो जालसाजी कीर्ते होइन भन्ने समेत वादीको वारिश परशुराम चौधरीको बयान ।

२०.पटवारीको दामकाम गर्ने महेशलाल दास भन्ने हरिनन्दनलाल दास कायस्थाका नाउँको म्याद मिति ०४४।८।२३ मा टांसी तामेल भएकोमा रुजु हाजिर नभई गुजारी बसेको ।

२१.नियमबमोजिम पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीहरूतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले विपक्षी वादीका लोग्ने पोषण, वहुरीदासको छोरा प्रतिवादीहरूको अंशियार होइन । सो कुरा वहुरीदासले गरिदिएको २०१६ सालको जीउनी र प्रतिवादीहरू बीच भएको २०२१ सालको बण्डापत्रबाट पुष्टि हुन्छ । यदि वादीको लोग्ने पोषण वहुरीदासको छोरा भए सो जीउनी अंशवण्डाको लिखतमा नाम उल्लेख हुनु पर्ने हो वादीको साक्षीहरूको वकाई सत्य होइन तसर्थ अंशियार नभएको व्यक्ति वादीलाई अंशियार कायम गरी अंश दिलाएको सर्वाेच्च अदालत डिभिजनबेन्चको इन्साफ मिलेको छैन । सो फैसला बदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । वादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले वादीका लोग्ने पोषण प्रतिवादीहरूको अंशियार वहुरीदासको छोरा हुन् । निज दुखनी भन्ने छोरी छन् । वादीका साक्षीहरूले वादीको लोग्ने पोषण वहुरीदासको छोरा हुन् । प्रतिवादीहरूको अंशियार हुन् भनी किटान गरी बकपत्र गरेको छ दुखनी जग्गा खरीद गरेको २०२६।११।२० को लिखतमा बहुरीदासको नाती पोषणकी छोरी भन्ने लेखेकोबाट समेत वादी, प्रतिवादीहरूको अंशियार रहेछ भन्ने प्रष्ट देखिन्छ । तसर्थ अंश पाउने ठहराएको सर्वाेच्च अदालत डिभिजनबेन्चको इन्साफ सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।

२२.आज निर्णय सुनाउँन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेन्चबाट भएको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

२३.यसमा निर्णयतर्फ हेर्दा बहुरीदासको ४ छोरा जेठा वेचन, बोकाइको पिता दर्शन माहिलो मेरो पति स्व. पोषण, साहिंलो रतन र कान्छा पांचु हुन् अंश माग्दा नदिएकोले ४ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत फिराद दावी देखिन्छ । प्रतिवादीहरूले वादी अंशियार होइन । अंश दिनु पर्ने होइन भनी जिकिर लिएको     पाइन्छ ।

२४.वादीका साक्षी भजनदास चौधरी र फागु चौधरीले वादी अकली दासीनलाई वहुरीदासको छोरा पोषणकी श्रीमती हुन् भनी किटानी साथ पुस्तावारी समेत खुलाई बकपत्र गरेको देखिन्छ । साथै दुखनीले २०२६।११।२० मा जग्गा खरीद गरी लिंदा वहुरीदासको नातिनी पोषणकी छोरी भन्ने लेखिएको पाइन्छ । यसबाट वादी असली दासीन थरुनी, बहुरीदासको छोरा पोषणकी श्रीमती रहेछ भन्ने प्रष्ट हुन्छ । प्रतिवादीहरूका साक्षी पलट मिँया मानपुर चौधरीहरुले वादी कसकी छोरी बुहारी हुन् म जान्दीन भनेको छ । २०१६।१२।३० मा बहुरीदासले जग्गा जिउनी दिंदा र प्रतिवादीहरूका बीच ०२१।९।३० मा बण्डापत्र गर्दा पोषणको नाम उल्लेख नभएको आधारबाट मात्र वादीको लोग्ने पोषणलाई बहुरीदासको छोरा होइन भन्न मिल्दैन । सो लिखतहरू प्रतिवादीहरूको बीच भएको देखिँदा त्यसलाई जालसाजी हो होइन भन्ने ठहर गर्न पनि परेन । वादीको भनाई निजको साक्षीहरूको बकाईबाट समेत वादी अकली दासिन बहुरीदासको छोरा पोषणकी श्रीमती भन्ने पुष्टी हुनुको साथै दुखनीले ०२६।११।२० मा रजिष्ट्रेशन पास गरी लिएको लिखतमा बहुरीदासकी नातिनी  पोषणकी छोरी भनी उल्लेख भएको आधारबाट समेत वादी अकली दासीन प्रतिवादीहरूको अंशियार बहुरीदासको छोरा पोषणकी श्रीमती नाताको भनी देखिन आयो निजलाई अंश दिएको भन्ने कुनै प्रमाण आउन सकेको पनि छैन । तसर्थ वादी अंशियार नाताको होइन अंश दिनु पर्ने होइन भन्ने प्रतिवादीको निवेदन जिकिर पुग्न सक्दैन वादीलाई पोषणको श्रीमती कायम गरी प्रतिवादीहरूबाट वादीले ४ भागको १ भाग अंश पाउने ठहराई सर्वोच्च अदालत डिभिजनबेन्चले मिति ०४१।३।२६ मा गरेको इन्साफ मनासिव ठहर्छ । अरु तपसीलबमोजिम गर्नु ।

तपसील

वादी अकली दासीन थरुनीले फिराद गर्दा राखेको कोर्टफी रु.२५ शुरु उपर पुनरावेदन गर्दा पूर्वाञ्चल क्षेत्रीय अदालतमा राखेको कोर्टफी रु.२५।समेत जम्मा रु.५० देहायका प्रतिवादीहरूबाट भराई पाउँ भनी ऐनका म्यादभित्र वादीको दर्खास्त परे दस्तुर केही नलिई देहायका प्रतिवादीहरूबाट बराबरका दरले भराई दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु .१, सर्वोच्च अदालत डिभिजनबेन्चको ०४१।३।२६ को फैसला बमोजिम तायदाती लिई अंश छुट्याउँदा आएको तायदातीबाट लाग्ने कोर्टफी समेत लिई कानून बमोजिम गर्नु भनी मिसिल नियमबमोजिम सुनसरी जिल्ला अदालतमा पठाई दिनु…………………………………२

 

उक्त रायमा हामीहरूको सहमत छ ।

न्या.हरगोबिन्द सिंह प्रधान,

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४४ साल चैत्र १८ गते रोज ५ शुभम् ।