निर्णय नं. ३३५ – बाली दिलाई चलन चलाई पाउँ भन्ने
निर्णय नं. ३३५ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्वराज न्यायाधीश श्री कालीप्रसाद उपाध्याय सम्वत् ०२२ सालको देवानी फुल...
निर्णय नं. ३३५ ने.का.प. २०२३
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री हेरम्वराज
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
सम्वत् ०२२ सालको देवानी फुल नम्बर १५३
निवेदक : रम्भा रञ्जीतकार
विरुद्ध
विपक्षी : निरकुमारी मानन्धरनी
मुद्दा : बाली दिलाई चलन चलाई पाउँ भन्ने
(१) कुनै पक्षलाई दायित्व गराउन कुनै सबुद अर्को पक्षबाट पेश भएमा त्यो काममा सरिक भएका अरू मानिसलाई पेट बोलीका मानिस भन्न पर्ने र अ.ब.१३९ नं.बमोजिम हुनु बुझ्न पर्ने ।
प्रतिवादीलाई दायित्व गराउने कुनै सबुद वादी तर्फबाट पेश भएकोमा लेखबाट त्यो काममा सरिक भएका अरू मानिसलाई पेट बोलीको मानिस भनी बुझ्नलाई अ.बं.१३९ नं.को प्रयोग हुन्छ ।
(प्रकरण नं. ११)
(२) कस्तो ब्यहोरा पुग्न नसक्ने ?
मोही लागेको छ भनी थाहा हुँदाहुँदै पनि मोही खोजी पत्ता लगाउने दावी गरी जग्गा कमाउने मोहीहरूसँग बाली भराई पाउँ भन्ने दावी नगरी प्रतिवादीले वादीलाई लिखत गरी दिई सकेपछिका सालको बालीमा मुद्दा परी पाउने ठहर भएको छ भन्ने जस्तो भान पारी प्रतिवादी निरकुमारी उपर वादीले दावी गरेको ब्यहोरा पुग्न आएको देखिंदैन ।
(प्रकरण नं. ११)
(३) भोगबन्धकीको लिखतमा साहुले भोग नगरी छाडेमा बालीको हक नरहने । कपाली गराउनै खोजेको भएमा पनि लिखतवालाले मोही लगी कबुलियत गराउन नमिल्ने । बाली बुझाउँला भन्ने कबुलियत नभएमा र बाली खाएको सबुदसमेत नभएमा बाली खाएको भन्न नमिल्ने ।
लिखत दुरुस्त भए पनि भोगबन्धकीमा साहुले भोग नगरी छोडेमा मोहीको दरकार रहँदैन । बाली पाउने हक पनि रहँदैन । यदी वादीले कपाली सरह गराउन खोजेको रहेछ भने लिखतवाला दिव्यमान सिंले मोही लगी कबुलियत गराउन पनि सक्दैन । बन्धकीमा धनीले चलन गर्न चाहेमा मात्र मोहीलाई खोज्छ । नखोजेसम्म चलन गरेकै हुँदैन । बाली बुझाउँला भन्ने कबुलियत पनि नभएको निजले बाली खाएको छ भन्ने सबुद पनि नभएको कारणले समेत निरकुमारी उपर बालीमा दावी लाग्न सक्दैन ।
(प्रकरण नं. १३)
फैसला
१. अन्यायवालाको मात्र हक लाग्ने निजका नाउँमा लुभुनु ३१९ नं.का पोतामा दर्ता भएको देहाएबमोजिमका ४ किल्ला भित्रको बिर्ता खेत रोपनी ३४।।३ मबाट रु.३६०५ कर्जा लिई भोग बन्धीको तमसुक गरी ०१०।२।१९।२ मा दिएको र निजका लोग्ने दिव्यमानले मोहीको कबुलियत गराई दिउँला भनी ०१०।२।१९।२ मा मञ्जुरी कागजसमेत गरी दिएको । सो भाग बन्धकी तमसुक पास गरी नदिँदा उजुर परि सर्वोच्च अदालत लगायतबाट फैसला भई १४।९।१०।३ मा रजिष्ट्रेशन पास भएकोले सो जग्गा चलन चलाई दिनु पर्ने नछाडी मोहीसँग मुद्दा गरी रा.का.दे.पै.का.१४।१२।५।३ का फैसलाबाट बाली उठाई खाएको ठहरेको हुनाले नालेस दिन आएको छु । लिखत भएको मिति १०।२।१९ देखिकै पाउँने, पाउँदैन भने ऐनबमोजिम १२ साल देखि १४ सालसम्म वर्ष ३ को वर्ष १ को धान मुरी ३४।८।४ ले ३ वर्षको धान मुरी खेत १३९५।४ मुरी १ को रु.३० ले जम्मा बिगो मोहरू४१७८।२५ भराई थैली नबुझाएसम्म निजबाट चलन छुटयाई निजले गराई राखेको मोहीयानी कबुलियत मलाई दिलाई पाउँ भन्ने समेत ०१५।६।६।१ को रम्भा रञ्जीतकारको फिरादपत्र ।
२. वादीले म आफैले जग्गा चलन गरेको भन्न नसके पछि काहाँ बस्ने कसले कती कुतमा जग्गा कमाएकोछ ? लिखतमै त्यसको फाँट खुलाई लेखी मोहीको कबुलियत समेतको पुबा लिनु वा मेरो मात्र हक लाग्ने जग्गा भने पछि मोहिको कबुलियत गराई दिउँला भन्ने मेरो कबुलियत गराउन पर्ने अथवा सालको यति आयस्था दिउँला भन्ने मेरो कबुलियत गराउन पर्ने सो कुनै कुरा गरेको वादीबाटै नदेखीने र मैले चल रोक्यो भन्न समेत नसकेपछि बिना कबुलियतको बाली भराई जग्गा चलन पाउँ भन्ने मेरा उपर उजुरै लाग्न नसक्ने र भोगबन्धकी जग्गा १ वर्ष भित्र चलन गर्नु वा उजुर गर्नुपर्छ नगरे उजुर लाग्दैन भन्ने र मुद्दाबाट रोकिएको कुरा फैसला मितिले १ वर्ष भित्रै उजुर गर्न पर्छ भन्ने ऐ मा प्रष्टै किटी लेखिएको । लिखत पास भएको मितिले हदम्याद कायम गर्नु कुनै ऐन सवाल नभएको फैसला मितिले वर्ष दिनको हदम्याद नाघी सकेको समेतबाट यो उजुर गैरकानूनी हुँदा खारेज गरिनु पर्छ भन्ने समेत १५।११।१५।५ को निरकुमारी मानन्धरनीको वा.हरिप्रसादको प्रतिवादी ।
३. ०१४ सालमा लिखत रजिष्ट्रेशन पास गर्दा लेखिएका जग्गा ३४।। मध्ये रोपनी ९।ऽ को कित्ता र रोपनी ४।।।ऽ मध्ये रोपनी ।— समेतको जग्गा बाहेक गरी जम्मा रोपनी २५ कायम राखी वादीले पास गराएको देखिनाले जम्मा रोपनी ३४। को सालको धान ४६।८।४ को हिसाबले दामासाही गर्दा रोपनी २५ को सालको धान मुरी ३३।१८।७।६ हुने भई वर्ष ३ को जम्मा धानले १०१।१६।६।८ को दर मुरी १ रु.३०। ले हुने नगदी रु.३०५५।३० प्र.निरकुमारीबाट वादीले भरी पाउने र भोगबन्धकी जग्गा चलन चलाई पाउँ भन्नेतर्फलाई थैली नतिरेसम्म बिर्ता जग्गाको आयस्ता मोहिबाट लिन पाउने हुनाले जग्गा चलन चलाई पाउने समेत ठहर्छ भन्ने समेतका दे.इ.अ.को ०१७।९।११।१ को फैसला ।
४. मुद्दाबाट रोकिएको बाली फैसला मितिले १ वर्ष भित्र नालेस नगरे नालेसै नलाग्ने प्रतिवादीको जिकिरै गंगुरी फैसला भएकोमा चित्त बुझेन भन्ने समेत निरकुमारीको वा.हरिप्रसादको १७।११।६ को अपीलपत्र ।
५. ईन्साफ शुरु का.दे.ई.अ.को.मनासिव छ भन्ने समेत १८।२।६ को काठमाडौं जिल्ला अदालतको फैसला ।
६. मैले कमाएको र मैले चलन रोक्यो भन्न नसकी मोहीले जग्गा कमाएमा वादी साबितै हुँदा उक्त ईन्साफमा चित्त बुझेन भन्ने समेत प्र.निरकुमारीको १८।४।३२।४ को अपीलपत्र।
७. लिखतबमोजिम जग्गा चलन छाडी दिनु पर्नेमा नछाडी निज अन्यायवालाले सो जग्गा कमाउने मोहीहरूसँग मुद्दागरी रा.का.दे.पै.को १४।१२।५।३ का फैसलाले बाली उठाई लिए खाएको भन्ने समेत वादी दाबी भएको वादीलाई ०१० साल देखि मात्र जग्गा भोगबन्धकी दिएको । सो साल अघिको बालीमा बाको दाबा नपुग्ने भएको र प्रमाण निमित्त आएको यहि प्र.निरकुमारीको र बुद्धिमान रानाभाट समेतको बाली मुद्दामा ९ सालसम्मको मात्र बाली निरकुमारीले पाउने भई १४।१२।५।३ मा रा.का.दे.पै.बाट फैसला भएको देखिएकोले वादीलाई बाली बुझाउने प्रतिवादीको कबुलियत भएको नदेखिएकोले समेत बालीतर्फ छलफल निमित्त वादी रम्भा रञ्जीतकारनीलाई झिकाई आएपछि पेश गर्नु भन्ने २०।७।२५।२ को सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।
८. वादी दाबीको जग्गा मध्ये रोपनी २५ प्रतिवादीबाट चलन चलाई पाउने ठहराएको ईन्साफ शुरुको सदर गरी का.जि.अ.ले छिनेको मनासिव छ । निरकुमारीले गरी दिएको ०१०।२।१९ का भोगबन्धकी तमसुक पास हुने ठहरी फैसला भई ०१४।९।१०।३ मा मात्र रजिष्ट्रेशन पास भएको देखिएको र ०१२।१३।१४ सालको बालीका हकमा प्र. निरकुमारीले नै खाएको पक्का सबुद प्रमाण वादीले पेश गर्न नसकेकाले त्यसतर्फ वादीले झुट्टा उजुर गरेको ठहर्छ । भन्ने समेत २०।९।१८।५ को डिभिजन बेञ्चको फैसला ।
९. जग्गा विपक्षकै कब्जामा रहेकोबाट मैले चलन पाउने गरी डिभिजन बेञ्चकै फैसलामा उल्लेख भएपछि सोही जग्गाको बाली नपाउने हुँदा उक्त फैसलामा चित्त बुझेन दोहर्याई पाउँ भन्ने वादी रम्भा रन्जीतकारको हकमा देबनारायण मानन्धरले श्री ५ महाराजधिराजका हजुरमा चढाएको बिन्तपत्रमा यसमा ०१०।२।१९ को भोगबन्धकी तमसुक पास गर्ने कुरामा सर्वोच्च अदालतसम्म पुगी ०१४।९।१०।३ मा तमसुक पास भएको देखिएको प्रस्तुत मुद्दाको सर्वोच्च अदालतमा दिएको प्र.निरकुमारीको अपीलमा लिखत पास नभई बालीमा हक नपुग्ने भनी आयस्ता बाली दाबीलाई खान नदिने उद्देश्य गरी रहेको देखिएको र वादीसँग मुद्दा चल्दैरहेको । मोहीसँगको बाँकी बालीमा ३ वर्ष भित्र उजुर नगरेपछि उजुरै नलाग्ने हुँदा बाली मोहि उपर नालेस गरी फैसला गराउनु मेरो कसुर नठहरिने भन्ने समेत लेखेको र मुद्दा परेको बखतको बाली मैले खाएको छैन मोहिको पेट बाँकी छ भन्ने लेख्न नसकेको । यसै मुद्दामा जग्गा चलन चलाई पाउँ भन्ने दाबीतर्फ प्रतिवादीबाट जग्गा झिक्न पाउने गरी ठहर फैसला पनि भएको देखिएको । तत्कालिन प्रचलित साहु आसामीको २ (क) नं.को १ बर्ष र बालीका झगडाको २० नं.को ३ वर्ष भित्रको नालेस हुँदा बालीमा अधिकार पुगेको साहुले बाली भरी पाउँदैन भन्न नहुनेसमेत प्रमाण परिबन्दबाट वादीको उजुर झुट्टा ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिन आएन । दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सी आई पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न निमित्त दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि दुई प्रतिलिपि हुकुम प्रमांगीबमोजिम जाहेर गर्न श्री ५ महाराजधिराजका प्रमुख सचिवालय राजदरबारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भनी फाँटमा बुझाई दिनु भन्ने समेत ०२२।९।१९।२ को माननीय प्रधान न्ययाधीशज्यूबाट आदेश भएको ।
१०. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही २३।६।११ मा पेश भई आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निरकुमारीसँग रम्भा रंजीतकार्नीले भोगबन्धकी लेखाई लिएको ०१०।२।१९।२ को घरायसीको कागज मुद्दा परी फैसलाबमोजिम १४।९।१०।३ मा रजिष्ट्रेशन पास भएको देखियो । भोगबन्धकी लिखतको साथ–साथै निरकुमारीको लोग्ने दिब्यमान सिंले कागज गरेको भनी जग्गा चलन पाउँ भन्नेमा र बाली बाँकी दिलाई पाउँ भन्नेमा र बाली बाँकी दिलाई पाउँ भनी १५।९।६।१ मा निरकुमारी उपर फिराद दर्ता भएको रहेछ । जग्गा कमाउन पाउने भनी का.दे.ई.अ. का.जि.अ.र डिभिजन बेञ्च समेतको एकैमत भएछ । बाली वादीले नपाउने भनी डिभिजन बेञ्चको ठहर भएपछि यो मुद्दा दोहरिन आएकोले बाली वादीले पाउने नपाउने के हो भनी निर्णय दिनु पर्यो ।
११. फिरादपत्र र प्रतिउत्तरपत्रबाट यो बन्धकी खला कमाउने मोही यो यो छ भनी देखिंदैन मोही नै लगेको रहेनछ कि भन्न पनि वादीले नै पेश गरेको लिखतबाट मोहीको कबुलियत गराउँला भनी दिब्यमान सिंले कबुल गरेको देखाउँछ । मोहीले कमाएको जग्गामा मोहीसँगै नै बाली भराई पाउँ भनी वादीले फिराद गरेको छैन । न त जग्गा कमाउने मानिसलाई पत्ता लगाई मोहीबाट भराई पाउँ भनी वादीले खुलाएको छ । यसबाट यही देखिन आउँछ कि जग्गा कमाउने मोहीसँग बाली भराई माग्नलाई दाबी गरेको छैन । मोहीहरूसँग मुद्दा गरी बाली प्रतिवादीले उठाई खाएको छ भनी फिरादपत्रमा जिकीर लिएको फैसलाको नक्कलसाथ गरेको बहसबाट १२।१३।१४ सालको बाली प्रतिवादीले पाउने गरी मोहीसँग डिक्री भएको नभई वादीले बन्धकी लिनु अगाडि ०९ सालसम्मको बालीमा नालेस परी पाउने भई फैसला भएको रहेछ । प्रतिवादीलाई दायित्व गराउने कुनै सबुद वादी तर्फबाट पेश भएकोमा लेखकबाट त्यो काममा सरीक भएका अरू मानिसलाई पेट बोलीको मानिस भनी बुझ्नलाई अ.बं.१३९ नं.को प्रयोग हुन्छ । यसमा मोही लागेको छ भनी थाहा हुँदा हुँदै पनि मोही खोजी पत्ता लगाउने वादी गरी जग्गा कमाउने मोहीहरूसँग बाली भराई पाउँ भन्ने दावी नगरी प्रतिवादीले वादीलाई लिखत गरी दिईसकेपछिको सालको बालीमा मुद्दा परी पाउने ठहर भएको छ भन्ने जस्तो भान पारी प्रतिवादी निरकुमारी उपर वादीले दाबी गरेको बेहोरा पुग्न आएको देखिंदैन ।
१२. लिखतबमोजिम बाली तिर्नमा प्रतिवादी बाध्य भएको होकी भन्नालाई त्यो लिखतबाट बाली बुझाउने कुराको कबुल गरेको छैन । केवल कबुलियत गर्न मोही ल्याई दिने कबुलसम्म गरेको रहेछ ।
१३. त्यो पनि निरकुमारीको लिखत नभई निजको लोग्ने दिब्यमान सिंको लिखत रहेछ । वादीकै फिरादपत्रमा भोगबन्धकी लिएको जग्गा निरकुमारीको मात्र हकलाग्ने भन्ने उल्लेख गरेको र निरकुमारीले पनि मेरो मात्र निजी हक लाग्ने हो । लोग्नेको हक छैन भनी लेखेकी समेत देखी यो लिखत दुरुस्त भए पनि भोगबन्धकीमा साहुले भोग नगरी छोडेमा मोहीको दरकार रहदैन । बाली पाउँने हक पनि रहदैन । यदी वादीले कपाली सरह गराउन खोजेको रहेछ भने लिखतवाला दिव्यमान सिंले मोही लगी कबुलियत गराउन पनि सक्दैन । बन्धकीमा धनीले चलन गर्न चाहेमा मात्र मोहीलाई खोज्छ । नखोजेसम्म चलन गरेकै हुँदैन । बाली बुझाउँला भने कबुलियत पनि नभएको निजले बाली खाएको छ भन्ने सबुद पनि नभएको कारण समेतले निरकुमारी उपर बालीमा दाबी लाग्न सक्दैन ।
१४. तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम कारणहरू समेतबाट १२।१३।१४ सालको बालीका हकमा वादी दाबी नपुग्ने ठहराएको समेत ईन्साफ २०।९।१८।५ को डिभिजन बेञ्चको मुनासिवै छ । निवेदक वादी रम्भा रञ्जीतकारार्नी के मुद्दा दोहर्याएमा लोग्ने कोर्टफी २२।११।२८।६ मा असुल भईसकेको देखिनाले अरु केही गर्नु पर्दैन । नियमबमोजिम मिसिल बुझाई दिनु ।
इति सम्वत् ०२३ साल आश्विन २५ गते रोज ३ शुभम् ।