निर्णय नं. ३३४ – लेनदेन
निर्णय नं. ३३४ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधी श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री मीनबहादुर थापा...
निर्णय नं. ३३४ ने.का.प. २०२३
फुल बेञ्च
प्रधान न्यायाधी श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री
न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
२०२३ सालको पहिलो रिभिजन दे.फु.नं.५१
निवेदक : गुणराज उपाध्याय
विरुद्ध
विपक्षीको : श्याम शम्सेर ज.ब.राणा
मुद्दा : लेनदेन
(१) शिर पुछारमा कारणीको ल्याप्चे सहिछाप नभए पनि तत्काल प्रचलित कागज जाँचको २० नं.(ग) नं.ले जरिवाना गरी लिखतबाट नालेस उजुर सुनी इन्साफ गर्नुपर्ने ।
सो लिखत आफ्नो हस्ताले लेखी गरी दिएको भन्ने कुरा प्रतिवादी गुणराजले आफू साक्षी बसेको भन्ने कुरा प्रतिवादी गुणराजका छोरा माधवराज समेतले स्वीकारै गरेको देखियो । तत्काल प्रचलित कागजजाँचको २० (ग) नं.बमोजिम शिर पुछारमा कारणीको दायाँ वायाँ ल्याप्चे सहिछाप नभएको भए पनि त्यतिकै कुराले लिखतै अमान्य हुने कानून व्यवस्था नभई सोही कागज जाँचको २० (ग) नं.बमोजिम रु.१ देखि २० सम्म जरिवाना गरी सो लिखतबाट नालेस उजुर सुनी इन्साफ गरी दिनै पर्ने ।
(प्रकरण नं. १३)
(२) तमसुकमा नलेखिएको कुराको अडान लिएमा सो कुरा यति कारणले नलेखिएको हो भन्ने जिकिरको सबूद प्रमाण प्रतिवादीले देखाउनु पर्ने ।
तर तमसुक लिखतमा त्यस किसिमको कुनै कुरा उल्लेख नभई रोजगार व्यापार गर्नाके कर्जा लिएको भन्ने कुरा प्रष्टै उल्लेख भएको छ । यो कारणले वास्तविक कुरा लोप राखी तमसुकमा त्यस्तो वापत लेखीन गएको भन्न खुलाउन र आफ्नो उपरोक्त प्रतिवादी जिकिरलाई प्रमाणित गर्ने अरू कुनै लिखत सबुद छ भन्ने पेश गर्न प्रतिवादीले सकेको देखिएन ।
(प्रकरण नं. १४)
(३) प्रमाणको कुरा प्रमाणिक रूपमा अदालत समक्ष आउनु पर्ने, अन्यथा प्रमाणमा लिन नमिल्ने ।
डिभिजन बेञ्चका आदेशबमोजिम विशेष जाहेरी विभाग राजदरबारमा लेखी गएकोमा सरकारबाट प्राइभेट बुझी बक्सेको फायल बाहिर पठाउन नमिल्ने भन्ने जवाफ आएको भई प्रमाणिक रूपमा अदालत समक्ष आउन नसकेकोले निवेदकको भनाइ मात्रलाई प्रमाणमा लिन मिलेन ।
(प्रकरण नं. १५)
(४) जिकिर प्रमाणबाट समर्थित हुन नआएमा त्यस्तो जिकिरलाई मान्यता दिन नमिल्ने ।
प्रतिवादी आफू शतर्क भई जो गर्नुपर्ने गरी सो लिखित धुल्याउन सक्नु पर्नेमा दशौ वर्षसम्मको कुरा भए गरेको देखिन नआई वादीले रूपैयामा दावी लिई नालेस गरी सकेपछि मात्र त्यस्तो जिकीर लिएको देखिएको र प्रमाणबाट त्यो कुरा समर्थित हुन पनि नआएकोले प्रतिवादीको त्यस जिकिरलाई मान्यता दिन नमिल्ने ।
(प्रकरण नं. १६)
(५) बढी व्याजको लिखत भएमा ऐनबमोजिमको नै ब्याज पाउने, बढी पाउन नसक्ने ।
व्याजको दर सयकडा १५ लेखिएकोले कति पाउने हो भन्ने हकमा तत्काल प्रचलित साहु असामीको १५ नं.ले बढीमा सयकडा १० सम्म मात्र भरी पाउने । सो कुरा हालको लेनदेन व्यवहारको ४ नं.ले पनि प्रष्ट गरी राखेकैसमेत हुँदा डिभिजन बेञ्चबाट प्रति वर्ष सयकडा १० ले १० वर्षको हिसाबबाट ठहर्ने । साँवा अंक जति व्याजको समेत भरी पाउने ठहर गरी राखेको बेमनासिव भन्न मिलेन ।
(प्रकरण नं. १७)
निवेदक, प्रतिवादी तर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद घिमिरे
विपक्षी, वादी तर्फबाट : एडभोकेट लक्ष्मणप्रसाद अर्याल, प्लीडर कोषराज उपाध्याय
फैसला
१. गुणराजले रोजगार व्यापार गर्नको निमित्त सयकडा १५ का दरले व्याज मुनाफा र साँवा गरी समेत ६ महिना भित्र बुझाउने गरी रु.३०००० रूपैया ०९।१।२० गते कर्जा लिई आफ्नै हस्ताक्षरको लिखत गरी दिएकोमा भाकामा बुझाउनु नल्याई आलटाल गरेको र १० वर्ष हुँदा पनि साँवा व्याज नबुझाएकोले नालेस गर्न आएको छु । सयकडा १५ व्याज लेखेको छ तापनि साहु असामीका ५ नं.अनुसार सावाँको दोबरमा मात्र दावी गर्नु परेको हुँदा लिखतबमोजिम साँवा ने.रु.३००००। को व्याज मुनाफा रु.३००००। समेत ६००००। विपक्षीसँगको जेथाबाट ऐनबमोजिम भराई पाउँ भन्ने समेत ०१९।१।१४।५ को फिराद ।
२. मैले कुनै पनि व्यापार गर्न कर्जा लिएको र लिखत गरी दिएको जस्तो मलाई लाग्दैन । न त विपक्षसँग मेरो कुनै अघि पछिको कारवाही नै छ । यसकारण हालै यकिन गरी कुनै भन्न नसक्ने अवस्था पर्न आएकाले कागज दाखेल भई प्रचलित कानून अनुसार मलाई देखाएका बखत सम्पूर्ण कुराको विवरण खोली बयान गर्नेछु भन्ने समेत प्रतिवादी ।
३. लिखत लेनदेन भई भएको होइन । उपत्यका भित्र सिनेमा हल खोल्ने र त्यसमा विपक्षको चार आना हाम्रो बाह्र आना हिस्साबाट काम गर्ने शर्त भएको । मेरो छोरा माधवराजका नामबाट हल चलाउन लाईसेन्स लिई हिस्सेदारी कागज गरौं भन्दा उद्योग विभागमा दर्ता गराउन बिभिन्न अड्चनहरू छन्, त्यो कुरा पछी मिलाउँला, ठाडो एउटा तमसुकसम्म गरौं भनी सल्लाह भई त्यो लिखत खडा भएको हो । सिनेमा हल बनाउँदै लगेकोमा ज.अग्नी शम्शेरसँग मुद्दा परेबाट सिनेमा चल्न सकेन । विपक्षीले धर्म छोडी अन्याय गर्न अघि सरेको हो । लेनदेन भएको होइन भन्ने समेत प्रतिवादीको ततिम्वा सहितको बयान ।
४. ०९।१।२०।६ को सक्कल लिखत देखें । सो लिखतमा म साक्षी बसेको हुँ तापनि पिता गुणराजको बयानमा लेखिएको व्यहोराबाट भएको हो । नालेस परेपछि मेरा बाबुले श्री ५ महाराजधिराजका हजुरमा बिन्तिपत्र चढाउँदा विशेष जाहेरी विभागको मा.न्या.पशुपतिज्यू र अन्चालाधीश विष्णु मणिज्यू समेत बसी दुवै थरलाई राखी मुद्दा मिलाउँदा सिनेमाको लाईसेन्स मैले गराई दिएको हुँ र गुणराजले ने.रु.७ हजार दिई तमसुक फिर्ता मागी मिल्न आएकोमा मैले मानिन भन्ने ईत्यादि व्यहोरामा श्याम शम्सेर सावित भईसक्नु भएको भन्ने समेत माधवराजको बयान ।
५. ०९।२० को कागज देखे सुनेको कागजमा म साक्षी बसेको हुँ । रूपैयाँ लेनदेन गरेर भएको हो । सिनेमा हल खोल्ने बारेमा रूपैयाँ नदिई गराएको होइन । गुणराजले नै रूपैयाँ लिएको हो भन्ने समेत क.प.प्रेमबहादुरको बयान ।
६. वादीले दावी गर्नु भएबमोजिम लिखतबमोजिमको साँवा रु.३००००। मा प्रतिवादीको इन्कारी मनासिव भन्न मिल्दैन र वादीले भरी पाउने ठहर्छ । व्याजको हकमा सयकडा १५ बुझाउने भन्ने लिखतमा लेखिएको र पुरानो मुलुकी ऐन साहु आसामी बहाल रहेको अवस्थाको भएकोले सो ऐन ५ नं.मा सयकडा १० भन्दा बढी ब्याज मुनाफा लेखाउन र लिन दिन पाइँदैन भन्ने लेखिएकोमा ऐन कानूनको विरुद्ध हुँदा सयकडा १५ लेखाएको लवज कानूनले मान्यता दिन नमिल्नेमा सोही ऐनले सयकडा १० व्याज पाउने व्यवस्था भएकोले त्यसतर्फ शंक लिन पनि तमसुकमा लेखिएको सयकडा १५ लाई कानूनले मान्यता दिन नमिल्ने र सयकडा १० सम्म भनेको १ देखि १० सम्मको अंकमै सो कानूनले लेखाउन पाउने । व्याजको अंकनै तमसुकमा लेखेको नहुनाले व्याज भराई पाएँ भन्ने वादीको दावी पुग्न सक्दैन भन्ने समेत ०२१।७।७।६ को काठमाडौं विशेष अदालतको फैसला ।
७. साहु असामीका साविक ५ नं.मा दशौंद भन्दा बढी व्याज तमसुकमा लेखको भए कानूनले पाउने दशौंद व्याज पनि पाउदैन भन्ने उल्लेख भएको छैन । सो कानूनले पाउने व्याज नपाउनु गैरकानूनी हो भन्ने समेत वादीको अपील ।
८. वादीले दाबी गर्नु भएको रु.३० हजार मैले नगदी गनी गनाउँ गरी लिएको होइन । सत्य कुराको सबै कागज फायल विशेष जाहेरी विभागमा छ बुझी पाउँ र गैरकानूनी फैसला बदर गरी पाउँ भन्ने समेत प्रतिवादीको अपील ।
९. यस विषयमा के के कारवाही भएको हो ? सो सम्बन्धको कागज फायलहरू पठाउन मिल्ने भए प्रमाण निमित्त पठाई दिनु भनी विशेष जाहेरी विभाग राजदरबारमा लेखी पठाई आएपछि पेश गर्नु भन्ने समेत ०२२।५।२७।४ को डिभिजन बेञ्चको आदेश बमोजिम बुझ्दा सरकारबाट प्राइभेट बुझी बक्सेको फायल बाहिर पठाउन नहुने कुरा सूचित गरेको छु भन्ने समेत ०२२।८।३।४ को विशेष जाहेरी विभागको जवाफ ।
१०. प्रतिवादीले गरेको भनी वादीले पेश गरेको र मैले लेखे सहिछाप गरेको हो भनी प्रतिवादीले मञ्जुर गरेको तमसुकको प्रमाण कतिसम्म लाग्न सक्छ ? भनी यो मुद्दामा तौल गर्नु परेको छ र लिखतमा सयकडा १५ को दरले ब्याज बुझाउने कुरा लेखिएकोमा ब्याज भराउन हुन्छ हुँदैन ? कति दरले भराउन हुन्छ ? भन्ने पनि विचार गरी निर्णय दिनु परेकोछ । विशेष जाहेरी विभागमा बुझीएको फायल छ भनी प्रतिवादी तर्फबाट बहस भएको र विशेष जाहेरी विभागबाट फायल आउन नसक्ने भनी जवाफ प्राप्त हुन आएको मिसिल देखिन्छ । अदालती बन्दोवस्तको ७७ नं.का ऐनबमोजिमको प्रमाण बुझ्नेबारे जसको प्रमाण हो, उसैले खुलाई लेखी दिनु पर्छ । यो मितिको यो कुरा लेखिएको यो कागज थियो भनी यसले देखाउँछ भनी प्रतिवादीले कतै देखाएको देखिंदैन । प्रतिवादीको जिकीरबमोजिम अदालतले बुझे पनि उपलब्ध हुन सकेन । मिसिल सामेल हुन आएन । यदि कुनै लिखत अदालतमा पठाउन नहुने गरी खडा गरिन्छ भने अदालतले लगाउने प्रमाणमा लिन सक्दैन । यो कुरा प्रष्टै छ, अदालतको अधिकार क्षेत्र भित्र नआएको कुनै लिखतले वादीले पेश गरेको लिखतलाई कमजोर तुल्याउँछ भन्ने प्रतिवादीको जिकीर प्रमाणित भएन । उपरोक्त लिखितलाई प्रतिवादीले गरकै भए पनि रूपैयाँ लिनु खानु गरेको छैन भन्ने पनि जिकीर छ । उपरोक्त ०९।१।२० को लिखतमा मोहरु.३००००। कर्जा लिएको बोली छ । यदि मोहरु नै लिनु दिनु भएको भए साहुको घर लिखत भएको वतनबाट कसरी अन्यत्र लगीयो ? ती लैजानेहरूलाई तमसुकमा साक्षी राख्ने अवस्था थियो थिएन ? यो कुरा देखिंदैन । यदि सिक्का वा नोटको अन्तरमा गणना नगरेर लिखतमा मोहरु लेखिएको भन्ने पनि सम्झन सकिन्छ । यो लिखतमा कागजजाँचको २० (ग) नं.ले ल्याप्चे सहीछाप गर्नुपर्ने, नगरेकोले कच्चा हुन्छ भनी सम्झनलाई पनि जरिवाना गरी उजुर सुनी इन्साफ गरी दिनु भन्ने सोही ऐनमा लेखिएकोले अरु शंका गर्नु परेन । मुद्दाको वास्तविकतासँग मेल नहुने गरी कुनै लिखत गरेको भए त्यस्तो लिखत प्रमाण लाग्न सक्दैन । यो कुरा प्रष्ट हो । लिखत गरेको तथा सहीछाप गरेकोमा प्रतिवादी कायमै रहेको हुँदा तमसुक भएकै देखिएको छ । करकाप वा अरु कारणवश यो लिखत गर्नु परेको हो भनी बदर गराउने चेष्टा अघि गरेको देखाउदैन । वास्तविकतासँग फरक पारेर यो लिखत खडा गर्नुपर्ने कारण केही देखिंदैन । रूपैया कर्जा लिएको हो बुझाउँला भनी लेखेको लिखतले प्रतिवादीको बाध्यताको सृजना गर्दछ । ऐनसँग अमिल्दो यो लिखत हो भन्ने समेत देखिंदैन । आसामी वा छोरा माधवराज समेत साक्षी बसी असामीकै सो हस्ताले लेखेको तथा सहीछाप गरेको लिखत अमान्य हुदैन । कर्जा लिएको कारणले पछि बुझाउने कबुल यो लिखतले गराउँछ । तत्काल प्रचलित अ.ब.३४ नं.का ऐनले पुष्टि गर्छ । सो तमसुकलाई कच्चा तुल्याउन भनिएको लिखत र वास्तविकताको फरक बाहेक उपरोक्त फायल हो । प्रतिवादीले ७००० दिई मिलापत्र गर्न आएको मैले मानिन भनी वादीले भनेको हो भन्ने कुरा माधवराजको बयानमा लेखिएको छ । सो कुरा साँचो भए पनि वादीले रूपैया लिन नपर्ने हो भनेको त देखिएन । उसमाथि पनि अदालत भित्र नपठाईने लिखतलाई प्रमाण लिन अदालत असमर्थ छ । व्याजको दरको हकमा सयकडा १५ को दरले र साँवा ६ महिना भित्र ब्याज बुझाउने लिखतमा लेखिएको रहेछ । साहु असामीको ५ नं.(क) ऐनले सयकडा १० भन्दा बढी ब्याजको दरले ख्वाउनु हुँदैन । यसमा लेखिएकोले सो १५ को ठाउँमा खालीको कल्पना हुन्छ भन्ने कर्तव्यलाई उक्त ऐन हेर्दा, कर्जा लेनदेन गर्दा व्याज लेखिएकोमा व्याज र २००२ साल बैशाख १ गते देखि उप्रान्त मुनाफा लेखिएकोमा मुनाफा लिँदा बढीमा सयकडा १० त्यस देखि घटी व्याज मुनाफा लेखिएकोमा लिखत बमोजिमको सम्म मात्र भरी पाउँछ भन्ने समेत छ । यसबाट यो अर्थ पैदा हुन्छ कि जब व्याज भराउनु पर्छ सयकडा १० भन्दा बढी भराउन हुँदैन । घटी छ भने लिखतैबमोजिम हुन्छ । ब्याजको दर ऐनमा यस प्रकार तोकेको रहेछ, जुन कुराको आसय लेनदेन व्यवहारको ४ नं.मा पनि प्रष्ट छ । व्याज बुझाउँला भनी कबुल गरेको तमसुकमा व्याजको दर निर्धारण गर्दा बढीमा सयकडा १० मा सिमित हुन्छ । विशेष अदालतको फैसलामा सयकडा १५ दरले व्याज भराउने कुरा तमसुकमा लेखिएको ऐनले लेखाउन नहुने हुनाले व्याज पाउँदैन भन्ने निर्णय रहेछ । व्याजको बढी दरले लेखेकोमा खाईसकेको भए फिर्ता नहुने र लिन खान बाँकी भए व्याजको दर निर्धारण हुने साहु आसामीको ५ नम्बरको ऐनमा लेखिएको हो । मुद्दा परेको अड्डाबाट व्याजको निर्धारण गर्नुपर्ने कुरा विशेष अदालतले याद गर्नुपर्ने थियो । तमसुकमा व्याज बुझाउँला भन्ने कबुल लेखिएकोले व्याजको दर अदालतले निर्धारण गर्नु परी प्रति वर्ष सयकडा १० ले साँवा जति व्याज पाउँछ । गुणराजको अपील जिकीर झुठ्ठा र विशेष अदालतको फैसला केही उल्टो हुन्छ भन्ने डिभिजन बेञ्चको ०२२।१२।२४।४ को फैसला ।
११. सो उपर चित्त बुझेन दोहोर्याई पाउँ भन्ने प्रतिवादीको निवेदन परेको समेत व्यहोरा श्री ५ महाराजधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए न्यायीक समितिले निरर्थक भनी सिफारीस नगर्ने गरेको भए पनि अघि छिन्ने डिभिजनका न्यायाधीश बाहेक श्री प्रधान न्यायाधीश सहित ५ जनाको फुल बेञ्चबाट न्याय परे नपरेको एकपटक जाँची ३ महिना भित्र ऐनबमोजिम निर्णय गरी नतिजा जाहेर गर्नु निवेदकहरूलाई जनाउ दिनु भनी त्यहाँ पठाउन हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभागबाट ०२३।४।३२।३ मा लेखी ०२३।५।३।६ मा दर्ता हुन आएको निवेदन पत्र र हुकुम प्रमांगी समेतको व्यहोरा पेश भयो । यसमा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न फाँटमा बुझाई दिनु हुकुम प्रमांगी देवेन्द्र विक्रम शाहको तो.नं.६२ को निवेदनमा हुँदा यो तो.नं.६३ को निवेदन पत्र यसै साथ छ भन्ने माननीय न्यायाधीशज्यूबाट भएको ०२३।५।५।१ को आदेश ।
१२. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२३।६।१८।३ मा पेश भई निवेदक प्रतिवादी तर्फबाट विद्वान एडभोकेट श्री कृष्णप्रसाद घिमिरेले र विपक्षी वादी तर्फबाट विद्वान एडभोकेट श्री लक्ष्मणप्रसाद अर्याल, विद्वान प्लीडर श्री कोषराज उपाध्यायले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी दाबीबमोजिम साँवा व्याज रूपैयाँ वादीले प्रतिवादीबाट भरी पाउने नपाउने के हो ? भन्ने कुराको मूल्य निर्णय दिनु परेको छ ।
१३. वादी दावीको ०९।१।२०।६ को तमसुक लिखत के कस्तो रहेछ भन्नेतर्फ हेरेमा प्रतिवादी गुणराजले वादी श्याम शम्शेरबाट मो.रु.३० हजार रूपैया रोजगार व्यापार गर्ना के कर्जा लिएको व्यहोरा लेखिएको । सो लिखत आफ्नै हस्ताले लेखी गरी दिएको भन्ने कुरा प्रतिवादी गुणराजले आफू साक्षी बसेको भन्ने कुरा प्रतिवादी गुणराजका छोरा माधवराज समेतले स्वीकारै गरेको देखियो । तत्काल प्रचलित कागज जाँचको २० (ग) नं.बमोजिम शिर पुछारमा कारणीको दायाँ–बायाँ ल्याप्चे सहीछाप नभएको भए पनि त्यतिकै कुराले लिखतै अमान्य हुने कानून व्यवस्था नभई सोही कागज जाँचको २० (ग) नं.बमोजिम रु.१ देखि २० सम्म जरिवाना गरी सो लिखतबाट नालेस उजुर सुनी इन्साफ गरी दिनै पर्ने हुनाले लिखततर्फ अरु शंका गरी रहनु परेन।
१४. सो लिखत रूपैया लिनु दिनु भई भएको होइन । सिनेमा हल खोल्ने र विपक्षको चार आना हाम्रो बाह्र आना हिस्साबाट काम गर्ने शर्त भएको । मेरो छोरा माधवराजको नामबाट हल चलाउन लाइसेन्स लिई हिस्सेदारीमा काम गरौं भन्दा उद्योग विभागमा दर्ता गराउन बिभिन्न अडचनहरू छन, त्यो कुरापछि मिलाउँला । ठाडो एउटा तमसुकसम्म गरौं भनी सल्लाहा भई त्यो लिखत भएको हो । सिनेमा हल बनाउँदै लगेकोमा ज.अग्नि शम्शेरसँग मुद्दा परेबाट सिनेमा हल चल्न सकेन । विपक्षले धर्मछोडी अन्याय गर्न अघि सरेको मात्र हुन भन्ने प्रतिवादीको मुख्य जिकीर रहेछ । तर तमसुक लिखतमा त्यस किसिमको कुनै कुरा उल्लेख नभई रोजगार व्यापार गर्नाको कर्जा लिएको भन्ने कुरा प्रष्टै उल्लेख भएको छ । यो कारणले वास्तविक कुरा लोप राखी तमसुकमा त्यस्तो वापत लेखीन गएको भन्न खुलाउन र आफ्नो उपरोक्त प्रतिवादी जिकिरलाई प्रमाणित गर्नेहरू कुनै लिखत सबुद छ भन्न पेश गर्न प्रतिवादीले सकेको देखिएन ।
१५. श्री ५ महाराजधिराजका हजुरमा चढाएको बिन्तिपत्रमा बक्स भएको हु.प्र.बमोजिम विशेष जाहेरी विभाग मार्फत दुवै पक्ष राखी बुझिंदा नगद कर्जा लिएको होइन र अर्को परिबन्दबाट मात्र रु.३० हजारको तमसुक खडा भएको हो भन्ने जाहेर हुन गएको प्रमाण लगाई पाउँ भन्ने निवेदन जिकीर भए पनि त्यो कुरा निवेदक प्रतिवादीले पहिले अपीलपत्रमा पनि जिकीर लिए अनुसार सो सम्बन्धको कागज फायलहरू पठाउन मिल्ने भए प्रमाण निमित्त पठाई दिन अनुरोध गरी डिभिजन बेञ्चका आदेशबमोजिम विशेष जाहेरी विभाग राजदरबारमा लेखी गएकोमा सरकारबाट प्राईभेट बुझी बक्सेको फायल बाहिर पठाउन नमिल्ने भन्ने जवाफ आएको भई प्रमाणीक रूपमा अदालत समक्ष आउन नसकेकोले निवेदकको भनाइ मात्रलाई प्रमाणमा लिन मिलेन ।
१६. निवेदक प्रतिवादीको जिकीर अनुसार रूपैया लिनु दिनु नगरी सिनेमाहल खोली हिस्सेदारीमा काम गर्ने सम्बन्धमासम्म सो लिखत भए गरेको भए सिनेमा हल चलाउने काम हुन नसकेपछि सो लिखत धुल्याउनेतर्फ कानूनी उपचार समेतको लागि यथा समयमा प्रतिवादी आफू शतर्क भई जो गर्नुपर्ने गरी सो लिखत धुल्याउन सक्नु पर्नेमा दशौ वर्षसम्मको कुरा भए गरेको देखिन नआई वादीले रूपैयामा दाबी लिई नालेस गरी सकेपछि मात्र त्यस्तो जिकीर लिएको देखिएको र प्रमाणबाट त्यो कुरा समर्थित हुन पनि नआएकोले प्रतिवादीको त्यस जिकिरलाई मान्यता दिन नमिल्ने र यो कुरो हो भनी जानी बुझी सहीछाप हालेको लिखत तत्काल प्रचलित अ.बं.३४ नं.ले सदरै हुने समेत हुँदा आफूले गरी दिएका लिखतबमोजिमको दायित्व बहन गर्न उक्त तमसुक लिखतले नै प्रतिवादीलाई बाध्य गराएको छ ।
१७. अब व्याजतर्फ विचार गरेमा तमसुकमा व्याज समेत बुझाउने शर्त भईराखेकै भएपछि ब्याज नपाउने भन्ने त प्रश्नै उठ्न सक्दैन । व्याजको दर सयकडा १५ लेखिएकोले कति पाउने हो भन्ने हकमा तत्काल प्रचलित साहु असामीको २५ नं.ले बढीमा सयकडा १० सम्म मात्र भरी पाउने सो कुरा हालको लेनदेन व्यवहारको ४ नं.ले पनि प्रष्ट गरी राखेकै समेत हुँदा डिभिजन बेञ्चबाट प्रति वर्ष सयकडा १० ले १० वर्ष को हिसाबबाट ठहर्ने साँवा अंक जति व्याजसमेत भरी पाउने ठहर गरी राखेको बेमुनासिब भन्न मिलेन ।
१८. तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम कारणहरूबाट वादी दाबीबमोजिम रूपैया तिर्नु बुझाउनु नपर्ने भन्ने निवेदक प्रतिवादीको जिकीर पुग्न आएन । साँवा रु.३० हजार साँवाबमोजिम १० वर्षको ब्याज रु.३० हजार समेत रु.६० हजार वादीले प्रतिवादीबाट भरी पाउने ठहराई ०२२।१२।२४।४ को डिभिजन बेञ्चले छिनेको मुनासिवै छ । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
निवेदक प्रतिवादी गुणराज उपाध्याय के मुद्दा रिभिजन गराएमा लाग्ने कोर्टफी ०२३।५।२९।४ का आदेशबमोजिम असुल भईसकेको देखिनाले केहि गर्नु परेन ……………….१
वादी श्याम शम्शेर ज.ब.रा.कै निज तर्फबाट रहेको विद्वान एडभोकेटको रु.२० विद्वान प्लीडरको रु.१५। समेत सर्वोच्च अदालत नियम २४ बमोजिम पाउने वकिलफि.रु.३५ प्रतिवादी गुणराजबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५ (११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिएमा दस्तुर केहि नलिई भराई दिनु भनी ऐ …………..२
नियमबमोजिम मिसिल बुझाई दिनु …………………….. ३
इति सम्वत् २०२३ साल आश्विन २८ गते रोज ६ शुभम् ।