August 11, 1964
Created by nepalarchives

निर्णय नं. ३३३ – ज्यान

निर्णय नं. ३३३                 ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय फौ.फु.नं ६३ निवेदक      :...

निर्णय नं. ३३३                 ने.का.प. २०२३

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय

फौ.फु.नं ६३

निवेदक      : खडागदास खड्गी

विरुद्ध

विपक्षीको : सदर जेलमा थुनिएको सानुभाइ खड्गी समेत

मुद्दा : ज्यान

(१)   झुन्डिएको ठाउँ झुन्डिने स्थितिको नभएमा लास झुन्डिएकै नभई जमिनमा रहे भएको भएघाँटीमा कोरिएको छाला खुईलिएको देखि र कपडाको पासोमा त्यस्तो हुनु नपर्ने हुँदा मिल्दो प्रकृति भन्न नमिल्ने ।

            झुन्डिई मर्न पर्ने अवस्था नभएको र चोट घाउ यसकारणबाट परेको भनी प्रतिवादीले खम्वीर देखाउन नसकेमा कुटपिट्को चोटबाटै ठहर्ने ।

            महादेव मन्दिर भित्र मानिस झुण्डि मर्न सक्ने स्थिति नभएको साँगुरो ठाउँ भन्ने देखिन आएको र निज कृष्णमायाको झुण्डि राखेकै लास देखाई जाँच गराएको नभई जमिनमा रहेको लास जँचाएको आफै झुन्डि मरेकी भए त्यस्तो हुनु नपर्ने । पासो लगाएको पटुका दलिनमा २ फन्का बेरी दुबैतर्फ लत्रिएको लास कुप्रो परी एकै डल्लो भईरहेको भन्ने र घाँटीमा कोरिएको, छाला खुईलिएको, घाउ भएको भन्ने लेखिएको । पासो लगाई झुन्डि मरेकी भए त्यस किसिमको प्रकृति र कपडाको पासोबाट घाँटिमा घाउ हुनसमेत नसक्ने हुनाले पासो लगाएकोमा मिल्दो प्रकृति पनि नभएको । सानासाना ३ केटा केटी भएको निज कृष्णकुमारी आफ्ना बालक बच्चाहरू छाडी झुन्डि मर्नु पर्नेसम्मको अवस्था कारण पनि प्रतिवादीहरूले कुनै देखाउन नसकेका । लासजाँचने डाक्टर लक्ष्मण पौडेलले आफ्नो रिर्पोटमा आफै झुन्डि मरेको जस्तो बुझिन्छ भनी लेखी दिएको भए पनि भ्रष्टाचार गरी त्यस्तो लेखे भन्ने डाक्टरका उपर उजुर परी विशेष पुलिस बिभागबाट कारवाही चली रहेकोले निज डाक्टरको उक्त रिपोर्टसम्मलाई भर पर्दा प्रमाण मान्न नहुने । मर्नु अगाडि बेसरी कुटिएकी थिई जस्तो बुझिन्छ भन्ने पनि डाक्टरको रिपोर्टमा लेखिएको र पुलिसमा भएको घाउ जाँचबाट मर्ने कृष्णप्यारीको गुप्तअंग चिरिए फाटेको घाउ र योनी गुद्वारबाट रगत निस्कीएको भन्ने लेखेकोमा सो घाउ पटकपटक सुत्केरी हुँदा चिरिएको भन्ने सानुभाइको बयान गराई भएको र सो घाउ कुटपिटको वारदातमा तत्काल परेको हो होइन भन्ने यकिन गर्न पुलिसले वारदात भएको घर समेतको जाँच गरी वारदात भएको ठाउँ वरपर जमिनमा रगतहरू लागेको जमेको थियो थिएन ? खुलाउनु पर्ने जाँचे खुलाएको नदेखिएको । मर्ने कृष्णप्यारीले लगाएको सारी पेटीकोट समेतमा प्रशस्त रगत लागेको भन्ने लासजाँचबाट खुल्न नआएकोले संदेहात्मक भए पनि सो घाउ तत्काल परेको नभई पुरानो भए लासजाँच मुचुल्कामा पुरानो घाउ भन्ने जनाउनु पर्ने नजनाई चिरिए फाटेको घाउ र योनि गुद्वारबाट रगत निस्केको भन्ने लेखिएको । सुत्केरी हुँदा चिरिए फाटेको पुरानो घाउ भन्ने पक्का सबुद केही गुज्रन नआएकोले समेत सुत्केरी हुँदा चिरिए फाटेको घाउ भन्ने प्रतिवादी सानुभाइको बयान गराई साँचो खम्वीर देखिन नआएको । अरु निल घाउ चोट पनि धेरै भए परेको लासजाँचमा लेखिएकोले समेत निज कृष्णप्यारी आफै झुण्डि मरेकी नभई प्रतिवादी सानुभाइले कुटपिट गरेको चोटबाटै कर्तव्य परी मरेको ठहराएको शुरु का.फौ.अ.तथा काठमाडौं जिल्ला अदालतको सदर गरी डिभिजन बेञ्चबाट ०१९।१२।९।६ मा छिनेको इन्साफसम्म मनासिव छ ।

(प्रकरण नं. ९)

फैसला

            १.     २०१५ साल मार्ग १३ गते रात १०।। बजे बाहिर स्वास्नी राख्यो भन्ने कुरामा झगडा भई स्वास्नी बाहिर निस्केकी । बच्चा रोएकोले दिउँ भनी खोज्दा घरमा नभएकीले घरदेखि पश्चिम पट्टी पर्खाल भित्र गई हेर्दा, महादेवको मन्दिर भित्र दैलामा पटुकाको पासो लगाई झुन्डी रहेकी रहिछ । बाँचेकी छकि भनी पासो फुकाई हेर्दा, मरिसकेकिले जाहेर गर्न आएको छु भनी सानुभाइ आएकोले गई हेर्दा, लास देखिएकाले पालो राखी सानुभाइलाई पठाएको छु भनी डिल्लीबजार ठानाले डि.एस.पी.लाई लेखेमा काठमाडौं डि.एस.पी.बाट सरजमिन हुँदा लोग्ने स्वास्नीको बराबर झगडा भई मेरो बैनी कृष्णप्यारीलाई कुट्ने गर्थ्यो । बैनीलाई कतव्र्य गरी मारी देवलमा ल्याई राखेको हो कि भन्ने लाग्छ भनी भनेको । दाजु खड्गदासले पुलिसमा कागज र कर्तव्य गरी मारी झुन्डि मरेको भन्ने भान पारेको हो भन्ने समेत फौजदारी अदालतमा बयान गरेको ।

            २.    भन्सार पछाडी रातो पुलनेर लक्ष्मी कसाईनी कहाँ म बराबर गएको स्वास्नीले थाहापाई बराबर झगडा भईरहन्थ्यो नाममुढा भगवानमा ढोग्न लाग्दा रण्डिकहाँ जान्न भनी किरिया खाउ भनी स्वास्नीले भन्दा म रिसाएँ । ०१५।८।१३ गते बेलुका ९।। बजे घर आउँदा आज पनि रण्डीकहाँ गई आयौ भनी कठालो समाती र रिस उठी दाहिने हातको पातामा मुक्काले ३।४ बाजी हान्दा पनि हात नछोडेबाट लातले घच्याट्दा लागेको चोट भगमाथि पर्न गएको होला । तँ मलाई चाहिदैन । निस्कीजा भनी मैले भन्दा मिटर निर गई रुन लागी । म बच्चाहरू लिई सुतें । एकछिनपछि बच्चा रुन लागेबाट बच्चा दिन हेर्दा, घरमा नभएकोले धनबहादुर अकलेत हेर्न गई बाँचेको छ कि भनी झिकी पानी खुवाउँदा मपर भनेबाट पुलिसमा जोहर गरेको हुँ । ३।४ मुक्का हिर्काएको र निस्की भनेको पिरले वा किन आत्म हत्या गरेकी हो ? जान्दिन । मैले कुटी मारेको होइन भन्ने समेत सानुभाइले डि.एस.पी.अफिसमा कागज र मर्नुभन्दा २०।२२ दिन अघि लपेटाले २।३ बाजी कुटेको हो । नांमुडा भगवानबाट फर्केको भोलीपल्ट बाहिरबाट अं. ८।८।।। बजे घर आउँदा फेरी रण्डिकहाँ गई आयौ भनी । यस्तो कचकच गर्ने भए घरबाट निस्की भने । राँगा हानाथापको कुरामा आमासँग झगडा हुँदा सम्झाउँदा मसँग खड्गदास रिसाएको थियो भन्ने समेत सानुभाइको बयान ।

            ३.    कृष्णप्यारीलाई कर्तव्य गरी मारेको होइन । झुन्डि मरेको हो भन्ने सानुभाइको आमा, विष्णु बावा, किपुचा भाउजु, संतुमाया, चन्द्रलक्ष्मी, ईन्द्रमाया, दाजु नातीराम, रत्नबहादुर ग्वारा र अक्कले धनबहादुरको बयान ।

            ४.    यस मुद्दामा बुझिएसम्मका प्रमाण परिबन्दबाट कृष्णप्यारी आफै झुण्डि अपहत्या गरी मरेकी प्रमाणित हुन आएको । पूर्ण चोटपटकयुक्त कृष्णप्यारीको मृत्यु कर्तव्यबाटै भएको र कर्तव्य सानुभाइबाटै भएको ठहर्छ । अरुले कर्तव्य गरेको ठहर्दैन । सानुभाइ के कैद २० र कर्तव्यको लासलाई आफै झुण्डि मरेको भान पार्ने राय व्यक्त गरेकाले डाक्टर लक्ष्मणलाई रु.२०० जरिवाना गर्ने समेत ठहर्छ भनी ईलाका अदालत फौजदारीबाट जाहेरी फैसला गरेमा त्यस उपर सानुभाइ विष्णु, सन्तमाया, चन्द्रलक्ष्मी, इन्द्रमाया किपुचा, नातीराम, रत्नबहादुर र ग्वारा अकले धनबहादुर डा.लक्ष्मण पौडेलको अपील पर्दा ।

            ५.    लासजाँचबाट देखिएको चोट पटक यस परिबन्दबाट परेको हो भनी सानुभाइले खुलाउन प्रमाण दिन नसकेको । रण्डिकाहाँ गई आयो भनी समाउँदा कुटेबाटै परेको चोट भन्ने प्रमाणित हुन आउने हुँदा ज्यानसम्बन्धीका ३ नं.बमोजिम झुण्डि मरेकाको प्रकृति मिल्न आएन । त्यसो हुँदा कृष्णप्यारी आफै झुण्डि मरेको प्रमाणित हुन आएन । सानुभाइको कर्तव्यबाट मरेको र दबाउनका निमित्त झुण्डिएको भन्ने भान पार्न सहायता गरेको । किपुचा समेत ५ जनाका हकमा कोही त्यहाँ गएको नदेखिने हुँदा कसुर रहेछ भन्न नमिल्ने । अरु अक्कले समेतका हकमा त्यँहा गएमा सावितै हुँदा प्रमाण परिबन्दबाट सानुभाइले कुटपिट गरेकोबाट कृष्णप्यारी मरेको ठहर्छ । रक्षा गर्ने भएकोले ज्यानसम्बन्धीका २६ नं.ले १। वर्ष देखि ५। वर्षसम्म कैद गर्ने डाक्टर लक्ष्मणलाई गरेको जरिवाना नलाग्ने भनी काठमाडौं जिल्ला अदालत पहिलाबाट गरेको जाहेरी फैसला उपर सानुभाइ समेतका प्रतिवादी ८ जनाको र वादी खडगदासको अपील परेको ।

            ६.    मर्ने कृष्णप्यारीको लास झुण्डि रहेकै प्रत्यक्ष देखाई जाँच गराएको नभई प्राण गैसकेको छैन कि भनी हामीहरूले फुकाई जमिनमा राखेको हौं भनी प्रतिवादीहरूले बयान गरेको । झुण्डी अपहत्ते गरी मरेको ठाउँ भनी देखाएको महादेब मन्दिर भित्र धेरै उचाई फराकिलो नभई वरिपरी टेक्ने समाउने समेत अनुकुल मिलेको साँगुरो ठाउँ परेको । पासो लगाई मरेको भनी देखाएको पटुका दलिनमा २ फन्का बेरी दुबै फुर्का लत्रिएको । लास कुप्रने परी एकै डल्लो भईरहेको । कपडाको पासो लगाएको भए घाँटीमा घाउ चोट लाग्न नपर्नेमा कोरिएकको, छाला खुईलिएको घाउ पनि देखिएकोले झुण्डी मर्ने सम्भव अवस्था पत्यारलायक नदेखिएको र राती ९।३० बजे पुलिसमा खबर पुगेको । त्यति टायम भित्रमा झगडा कुटपिट सकी कृष्णप्यारी बत्ति लिई बाहिर गई महादेब मन्दिरमा झुण्डी निजलाई खोज्न मानिससँगै पत्ता लगाई घरमा आई खबर दिई घरका जाहानहरू पुगी फुकाई पानी खुवाउँदा मरिसकेको जानि पुलिसमा जाहेर गर्न पुग्न सक्नेसम्मको त्यतिको काम हुने समय पनि नपुग्ने । सानासाना ३ बालक केटा केटीहरूकी आमा कृष्णप्यारीले त्यस्ता आफ्ना बालकहरूलाई छाडी अपहत्या गरी मर्नु पर्नेसम्मको कारण पनि प्रतिवादीहरूको भनाइबाट देखिन नआएको । लात्ती मुक्काले कुटपीट गरेमा सानुभाइ साबितै भएको । मर्नु भन्दा अगाडि बेसरी कुटीए जस्तो बुझिन्छ भनी लासजाँच रिपोर्ट फाराममा डाक्टरले लेखी दिएको । घाउ चोट पनि धेरै खिएको समेतबाट झुण्डी अपहत्ते गरी मरेको भन्ने प्रतिवादीहरूको जिकीर नपुग्ने देखिन आई त्यस्तो कुटपिटका चोटले मरेकीलाई आफै झुण्डी अपहत्ते गरी मरेको हो भन्ने गराउन सकिएला कि भनी प्रतिवादीहरूले बनावटी गरी जाहेरी बयान दिएको र सो बनावटी हो भन्ने छुट्ट्याउन नसकी गर्नु भन्दा अघि बेसरी कुटिएकी थिई जस्तो बुझिन्छ, मर्न चाहिं आफै झुण्डी मरेकी जस्तो बुझिन्छ भनी दुबै लासजाँच रिपोर्टमा डाक्टरले आफ्नु राय लेखी दिएको । पुलिस कारवाही, मौका जाँच मुचुल्कामा कृष्णप्यारीको गुप्त अंग चिरिए फाटेका घाउ र योनी गुद्वारबाट रगत निस्केकोले खिएको । पटकपटक सुत्केरी हुँदा चिरीए काटेको घाउ हो भनी सानुभाइले बयान गरेको । त्यति ठूलो तत्कालै चिरीएको घाउ भए जाँच हुँदाको बखतसम्म त्यसै घाउबाट रगत आई कपडाहरू र जमिनमा समेत प्रशस्त रगत लागे बिग्रीरहेको हुनुपर्ने । हतियारले काटिएको वा कुन परिबन्दको घाउ खत थियो ? सो मुचुल्कामा नखुलाएको । त्यसै घाउबाट बाहिर रहेको रगत पेटिकोट तथा अन्य अंगहरूमा भएपरेको पुलिसको जाँच मुचुल्काबाट पनि देखिन नआई अरु घाउ चोटका सामुन्ने रगत मात्र भएको देखिएको । मर्नु भन्दा अघि बेसरी कुटीएको भन्ने पनि खुलाई माथि लेखिएबमोजिम लासजाँची रिपोर्ट दिँदा आफै झुण्डी मरेकी जस्तो बुझिन्छ भनी लेखेमा अखत्यारवालाको स्वीकृति ऐन लिई डक्टर उपर कानूनी कारवाही चलाउने दावी फिराद नभएको । यस मिसिलबाट अदालतले डाक्टरलाई सजाय दिनु नभै विशेष पुलिस विभागमा मुल्तबी रहेको मिसिल पेश हुँदा जो हुन पर्ने उचित कारवाही उसै तर्फबाट हुने हुनाले डाक्टरलाई जरीवाना नलाग्ने भनी सानुभाइले कुटपीट गरेको चोट पीरले कृष्णप्यारी मरेको ठहराई काठमाडौं जिल्ला अदालतबाट जाहेर गरेको ईन्साफ मनासिव छ । सजायतर्फ ज्यानसम्बन्धीको २६ नं.ले सानुभाइलाई कैद वर्ष २० लाग्ने भनी फौजदारी र रक्षा गर्ने लोग्नेले कुटपीट गर्दा मरेको हुँदा सोही २६ नं.ले १ वर्ष देखि ५ बर्षसम्म तजबिजले कैद हुने भनी जिल्ला अदालतले ठहराएकोमा ज्यानै मार्नु पर्नेसम्मको रिसइवी र मार्छु भन्ने उद्देश्यले कुटपिट गरेको वा हतियार विष प्रयोग गरेको मिसिल प्रमाणबाट देखिन नआई बाहिर स्वास्नी राख्यो भनी कचकच झगडा गरेकोबाट भविष्यमा यस्तो कचिंगल गरी नरहोस भन्ने अभिप्रायले साथमा ३ जना नावालख छोराछोरी भएकी आफ्नी स्वास्नीलाई तर्साउनको लागि लात्ता मुक्काले कुटपीट गर्दा तुरुन्तै मर्न गएकी । यस्तो अवस्थामा ज्यानसम्बन्धीको २६ नं.लगाई सजाय दिन नमिल्ने । मार्नाका मतलब नगरी रिसले तर्साउनको लागि कुटपिट गर्दा मर्न गएको ठहरेकोले ज्यानसम्बन्धीको ३२ नं.बमोजिम प्र.सानुभाइलाई जम्मा कैद वर्ष ५ मात्र लाग्छ । अरुका हकमा सजाय समेत जिल्ला अदालतले ठहराएको सदर छ भन्ने डिभिजन बेञ्चको ०१९।१२।९।६ को फैसला ।

            ७.    झुन्डी मरेकीलाई कर्तव्यबाट मरेकी ठहराएमा चित्त बुझेन । ईन्साफ जाँची पाउँ भन्ने सानुभाइ खड्गीको र सजाय घटी भएकोले चित्त बुझेन भन्ने खडगदास खड्गीको निवेदनपत्रमा व्येहोरा साँचो भए डिभिजन बेञ्चबाट छिनिएको जति नियमबमोजिम फुल बेञ्चबाट एकपटक दोहोर्‍याई हेरी ईन्साफ जाँची ऐन सवालबमोजिम निर्णय गरी दिनु भन्ने श्री ५ महाराजधिराजबाट हुकुम बक्सेको ब्यहोरा ०२०।७।२६।३ मा लेखी आएको श्री माननीय न्यायाधीश हरिप्रसाद प्रधानमा पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्ना निमित्त दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने ०२०।८।१३।६ मा आदेश भएको ।

            ८.    यसमा तारेखमा रहेका पक्षहरू र जेलबाट झिकाई आएको थुनुवा सानुभाइ खडगी समेतलाई रोहवरमा राखी ०२१।४।१३।३ को तारेखमा पेश भई आजको निर्णय सुनाउने तारेख मुकरर भएकोले निर्णयतर्फ विचार गर्दा,

            ९.    प्रथम निज कृष्णप्यारी अपहत्या वा कर्तव्य के भई मरेकी हो ? भन्नेतर्फ निज झुण्डी मरेकी भनी देखाएको महादेव मन्दिरभित्र मानिस झुन्डी मर्न सक्ने स्थिति नभएको । साँगुरो ठाउँ भन्ने देखिन आएको र निज कृष्णप्यारी मरेको झुण्डी राखेकै लास देखाई जाँच गराएको नभई जमिनमा रहेको लास जँचाएको । आफै झुण्डी मरेकी भए त्यस्तो हुनु नपर्ने । पासो लगाएको पटुका दलिनमा रहेको २ फन्का बेरी दुवैतर्फ लत्रिएको । लास कुप्रो परी एकै डल्लो भईरहेको भन्ने र घाँटीमा कोरिएको, छाला खुईलिएको घाउ भएको भन्ने लेखिएको । पासो लगाई झुण्डी मरेकी भए त्यस किसिमको प्रकृति र कपडाको पासोबाट घाटीमा घाउ हुन समेत नसक्ने हुनाले पासो लगाएकोमा मिल्दो प्रकृति पनि नभएको । साना साना ३ केटा केटी भएकी निज कृष्णकुमारी आफ्ना बालक बच्चाहरू छाडी झुण्डी मर्नु पर्नेसम्मको अवस्था कारण पनि प्रतिवादीहरूले कुनै देखाउन नसकेका । लासजाँच्ने डाक्टर लक्ष्मण पौडेलले आफ्नो रिपोर्टमा आफै झुण्डी मरेको जस्तो बुझिन्छ भनी लेखी दिएको भए पनि भ्रष्टाचार गरी त्यस्तो लेखे भन्ने निज डाक्टरका उपर उजुर परी विशेष पुलिस विभागबाट कारवाही चली रहेकोले निज डाक्टरको उक्त रिपोर्टसम्मलाई भर पर्दा प्रमाण मान्न नहुने । मर्न अगाडि बेसरी कुटीएकी थिई जस्तो बुझिन्छ भन्ने पनि डाक्टरको रिपोर्टमा लेखिएको र पुलिसमा भएको बयानबाट मर्ने कृष्णप्यारीको गुप्त अंग चिरिए फाटेको घाउ र योनी गुद्वारबाट रगत निस्किएको भन्ने लेखेकोमा सो घाउ पटकपटक सुत्केरी हुँदा चिरिएको भन्ने सानुभाइको बयान गराई भएको र सो घाउ कुटपिटको वारदातमा तत्काल परेको हो होइन ? भन्ने यकिन गर्न पुलिसले वारदात भएको घर समेतको जाँच गरी वारदात भएको ठाउँ वरपर जमिनमा रगतहरू लागे जमेको थियो थिएन ? खुलाउनु पर्ने । जाँचे खुलाएको नदेखिएको । मर्ने कृष्णप्यारीले लगाएको सारी पेटीकोट समेतमा प्रशस्त रगत लागेको भन्ने लासजाँचबाट खुल्न नआएकाले संदेहात्मक भए पनि सो घाउ तत्काल परेको नभई पुरानो भए लासजाँच मुचुल्कामा पुरानो घाउ भन्ने जनाउनु पर्ने नजनाई चिरिए फाटेको घाउ र योनी गुद्वारबाट रगत निस्केको भन्ने लेखिएको । सुत्केरी हुँदा चिरीए फाटेको पुरानो घाउ भन्ने पक्का सबुद केही गुज्रन नआएकोले समेत सुत्केरी हुँदा चिरिए फाटेको घाउ भन्ने प्रतिवादी सानुभाइको बयान गराई साँचो खम्वीर देखिन नआएको । अरु निल घाउचोट पनि धेरै भए परेको लासजाँचमा लेखिएकाले समेत निज कृष्णप्यारी आफै झुण्डी मरेकी नभई प्रतिवादी सानुभाइले कुटपिट गरेको चोटबाटै कर्तव्य परी मरेकी ठहराएको शुरु का.फौ.अ.तथा काठमाडौं जिल्ला अदालतको सदर गरी डिभिजन बेञ्चबाट ०१९।१२।९।६ मा छिनेको ईन्साफसम्म मनासिव छ ।

            १०.    अब निज सानुभाइलाई के कति सजाय लाग्ने हो ? भन्नेतर्फ विचार गरेमा ज्यान मार्नेसम्मको ईवी लागे भएको र मार्नाको मनसायले कुटपिट गरी मारेको भन्ने र लुटी चोरी भनेको बिष ख्वाएको जोखिमी र हतियार चोट पटक परेको भन्ने समेत देखिन नआएको र लोग्ने रण्डीकहाँ गएको भन्ने कुराबाट एकाएक लोग्ने स्वास्नीको झगडा भई रिस थाम्न नसकी लोग्नेले स्वास्नीलाई कुटेको चोटबाट मरेको देखिन आएकोले यस्तो अवस्थामा तत्काल प्रचलित ज्यानसम्बन्धीको २६ नं.लाग्ने हुनाले रक्षा शिक्षा गर्ने भनी जि.अ.काठमाडौंले लगाएको र धेरै निल घाउखत परेको देखिनाले रिसले तर्साउनसम्मको लागि कुटपीट गरेकोबाट मर्न गएको भनी ज्यानसम्बन्धीको ३२ नं.लगाउन समेत नमिल्ने देखिँदा सजायतर्फ काठमाडौं जिल्ला अदालत र सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१९।१२।९।६ को फैसला समेत मिलेको देखिएन । नयाँ मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं.बमोजिम निज सानुभाइलाई कैद वर्ष १० लाग्ने ठहर्छ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

अपीलाट का.ई.ज्ञानेस्वर बस्ने हाल सदर जेलमा थुनिएको सानुभाइ खंड्गीके हालको ज्यानसम्बन्धीका १४ नं.बमोजिम कैद वर्ष १० हुन्छ । डिभिजन बेञ्चका ०१९।१२।९ का फैसलाबमोजिम ०२०।१।११।४ मा लगत दिएको कैद वर्ष ५ को लगत काटी थुनिएका मिति देखि कैद कट्टी गरी दिने गरी सो कैद वर्ष १० को लगत कस्नु भनी तहसिलमा लगत दिनु ……………..१

मर्ने कृष्णमायाको गुप्तअंग चिरिए फाटिएको भन्ने लासजाँचबाट देखिएको तत्काल कुटपिटको वारदातमा त्यस्तो घाउ भए परेकोमा प्रशस्त रगत निस्की वारदातको ठाउँ वरपर जमीन समेतमा रगतहरू जमे भिजेको हुनु पर्ने हुनाले सो थियो थिएन भन्ने यकिन गर्न मौकैमा वारदात भएको ठाउँ समेतको जाँच गरी प्रकृति खुलाउनु पर्नेमा पुलिसको मौका तहकिकातबाट लास रहेको महादेव मन्दिरसम्मको जाँच गरी प्रकृति खुलाई मुख्य वारदात भएको ठाउँको जाँच भए गरेको देखिन नआएकोले आएन्दा यस्तो हुन नपाउने गर्न जानकारीको लागि पुलिस आई.जि.पी.अफिसमा सुचना दिनु ……………….२

सानुभाइलाई मुद्दा छिनिएको जनाउ दिई नियमबमोजिम मिसील बुझाई दिनु ……………..३

 

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंहको राय

            यसमा ईन्साफतर्फ सहयोगी न्यायाधीशज्यूहरूले पनि ०१९।१२।९।६ को डिभिजन बेञ्चको सदर गर्नु भएको र सजायका हकमा सहयोगी न्यायाधीशज्यूहरूले नयाँ मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं.लगाई कैद वर्ष १० गर्ने गर्नु भएतर्फ मार्नाको मतलब नगरी लोग्ने रण्डीकहाँ गएको भन्ने कुरामा झगडा उठी रिसले तरसाउनाको लागि लोग्नेले स्वानीलाई कुटपीट गर्दा मर्न गएकी देखिएकोले ०१९।१२।९।६ को म समेतको डिभिजन बेञ्चबाट ज्यानसम्बन्धीको ३२ नं.लगाई कैद वर्ष ५ गर्ने गरेको सो खण्डन गर्ने संतोषजनक आधार केही नपाएकोले सो कैद वर्ष ५ गर्ने गरेको ०१९।१२।९।६ को डिभिजन बेञ्चको मनासिव छ । बहुमतले सहयोगी न्यायाधीशज्यूहरूको फैसला कायम हुने हुँदा सो अनुसार लगत दिनु ।

 

इति सम्वत् २०२१ साल श्रावण २७ गते रोज ३ शुभम् ।