April 3, 1988
Created by nepalarchives

निर्णय नं. ३३२४ – उत्प्रेषण

निर्णय नं. ३३२४        ने.का.प. २०४५     अङ्क १     संयुक्त इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत्...

निर्णय नं. ३३२४        ने.का.प. २०४५     अङ्क १

 

 

संयुक्त इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४३ सालको रिट नं. २०९५

आदेश भएको मिति : २०४४।१२।२१।१ मा

 

निवेदक :      रामेछाप चिसापानी गा.पं. वडा नं. २ बस्ने कुलदिपप्रसाद ढुड्डेल

विरुद्ध

विपक्षी  :      ऐ. ऐ. बस्ने हरिप्रसाद उपाध्यायसमेत

 

विषय : उत्प्रेषण

 

(१)                  रजिष्ट्रेशनको ३५ नं. बमोजिम सबूत प्रमाण बुझी निखन्न दिनु पर्ने नपर्ने के हो त्यसतर्फ निर्णय गर्न गराउन अदालतमा जानु भनी सुनाइदिनु पर्नेमा सो बमोजिम नगरी निखन्न पाउने गरी गरेको निर्णय रजिष्ट्रेशनको ३५ नं. को त्रुटिपूर्ण गरेको देखिँदा मालपोत कार्यालयले निखन्न पाउने गरी गरेको निर्णय र सोही सदर गरी जिल्ला कार्यालयले गरेको निर्णय समेतका दुवै फैसला निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं.  ९)

 

निवेदकतर्फबाट   :      विद्वान अधिवक्ता श्री नरहरि आचार्य

विपक्षीतर्फबाट    :      विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत विद्वान अधिवक्ता श्री दमन ढुंगाना

 

आदेश

न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ ।

२. मैले जिल्ला रामेछाप चिसापानी गा.पं. वडा नं. २च. कि.नं.२१ को ज.रो. ४११० दोयम जग्गा रु.१५,०००।आनन्दराज ढुड्डेलसंग मिति २०४२।८।२ मा रामेछाप मालपोत कार्यालय मार्फत खरीद गरेमा विपक्षी हरिप्रसादले उक्त जग्गा बिक्री गर्ने आनन्दराज मेरा काका हुन् उक्त जग्गा सन्धिसर्पन पर्ने हुँदा लेनदेन व्यवहारको ११ नं. र रजिष्ट्रेशनको ३५ नं. बमोजिम निखनाई पाउँ भनी झुठ्ठा व्यहोराको विपक्षी मालपोत कार्यालयमा नालिश गरी उक्त कार्यालयबाट हकसफा गरी लिन पाउने ठहरी फैसला गरियो सो फैसला उपर विपक्षी जिल्ला कार्यालयमा पुनरावेदन गरेकोमा त्यहाँबाट शुरुकै सदर गरी फैसला गरियो । उक्त दुबै फैसलाहरू त्रुटिपूर्ण छन् । विपक्षी मालपोत कार्यालयले वादीको जग्गाको कि. नं. २३ को जग्गाले पूर्व पट्टीबाट र कि.नं.२४ को जग्गाले पश्चिमपट्टीबाट साँध जोडिएको आधारमा सन्धिसर्पन पर्ने भनी जग्गावालसँग पुस्ता छुट्याउन अदालतमा पठाई पुस्ता जुटेपछि निर्णय दिनु पर्नेमा सो नगरी नागरिकता प्रमाणपत्रमा मात्र ढुड्डेल लेखिएको हुँदा हकदार होइन भन्न मिलेन भन्ने प्रमाणको भरमा हकसफा गर्न पाउने गरी गरेको निर्णय त्रुटिपूर्ण छ । साथै रजिष्ट्रेशनमा ३५ नं. बमोजिम पनि निखन्न दिनु पर्नेले निखन्न दिन नपर्ने कारण देखाएमा प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरा देखिन आए ३५ दिनभित्र नालिश गर्नु भनी सुनाई दिनु पर्ने व्यवस्था छ । म पुनरावेदकले प्रतिउत्तर पत्रमा वादी जग्गादाताको हकदार नै होइन र सन्धिसर्पन पनि होइन भन्ने प्रतिउत्तर जिकिर भए तापनि वादी हकदार हो होइन सन्धिसर्पन पर्छ पर्दैन भन्ने प्रमाण बुझी निर्णय दिनुपर्ने अवस्थामा विद्यमान भएपछि हामी दुवैपक्षलाई ३५ दिनभित्र अदालतमा नालिश गर्नुभनी सुनाउनु पर्नेमा सो नगरी मालपोत कार्यालयले आफूलाई अधिकारै नभएको अवस्थामा गरेको अनाधिकार फैसलालाई नै सदर गरी गरेको जि.का.रामेछापको फैसला समेत रजिष्ट्रेशनको ३५(२) ले गरेको निर्णय अ.बं. ३५ नं. तथा सम्मानीत सर्वोच्च अदालतका उपरोक्त उल्लिखित नजीरहरूको समेत प्रत्यक्ष बिपरीत भएको हुँदा उपरोक्त दुवै फैसलाहरू उत्प्रेषणको आदेशद्वारा बदर गरी अदालतमा पठाउन मा.पो.का. रामेछापका नाउँमा परमादेश समेत जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदनपत्र ।

३. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट २०४३।१०।५ मा भएको आदेश ।

४. पुनरावेदन फैसला आफ्नो पक्षमा भएन भन्दैमा शुरुले गरेको फैसला त्रुटिपूर्ण भन्न मिल्दैन लेनदेन व्यवहारको ११ नं. बमोजिम नजिकको हकवालाले किनेकोमा सन्धिसर्पन पर्ने भए पनि टाढाको हकवालाले निखन्न पाउँदैन भन्ने प्रष्ट उल्लेख भएको देखिन्छ । विपक्षीले जग्गादातासँग कति पुस्ता नजिकका हकदार हुन र उनी हकदार भई टाढाको हकदार हरिप्रसादको हक सफा गर्न नपाउने हो भन्ने कुराको प्रमाण पेश गरेको देखिन्न । यस कार्यालयले वादी दावीको जग्गाको दुवै तर्फबाट साँध जोडिएको सन्धिसर्पन पर्ने कुरा ट्रेस र फिल्डबूक उतार समेतबाट देखिएकोले हक सफा गर्न पाउने गरी फैसला गरेको कानून संगत भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मालपोत कार्यालय रामेछापको लिखितजवाफ ।

५. निखनाई पाउँ भन्ने विषय रिट क्षेत्रबाट उपचार पाउने विषय नै हैन । म दाताको ४ पुस्ता भित्रको भतिजो नाताको व्यक्ति भएको र विवादित जग्गाको दुई तिर मेरो र मेरो श्रीमती समेतका जग्गाको साँध जोडिएको, मेरो पानी लिन जाने र गाई गोरुलाई पानी खुवाउन लाने बाटो समेत पर्ने मेरो घर करेसो जोडिएको सन्धिसर्पन पर्ने अवस्था हुँदा निखन्न दिने निर्णय रजिष्ट्रेशनको ३५(२) नं. को त्रुटी सम्मिलित छैन । उक्त ३५(२) नं. ले इन्कार गरेरमात्र नपुग्ने, निखन्न दिन नपर्ने कारण दिन पर्ने दायित्व सुम्पेकोछ । अदालतमा पठाइरहन पर्ने गरी विपक्षीले प्रतिवाद गरेको नहुँदा कार्यालयले स्वयं प्रतिवादी सरह भई अदालतमा पठाई इन्साफ गराई रहन पर्ने होइन । विपक्षीले उल्लेख गरेका नजीरहरू यस मुद्दाको तथ्यसँग मिल्दैनन् । पुस्ता एवं सन्धिसर्पन दुवै स्थितिबाट वादीको निखन्न पाउने हक निर्विवाद देखि अभिव्यक्त आदेश सहित भएको निर्णयहरूमा कुनै त्रुटी नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको विपक्षी हरिप्रसाद उपाध्यायको लिखितजवाफ ।

६. विवादित कि.नं.२१ को जग्गा सँगै विपक्षी हरिप्रसादको कि.नं.२२ र २३ को जग्गा जोडिने भन्ने कुरा मिसिल सामेल रहेको फिल्डबूक उतार र नक्शा ट्रेसबाट स्पष्ट देखिएको र पुनरावेदक कुलदिपप्रसादले दातासँग हरिप्रसादको कुनै नाता नपर्ने भन्नेसम्म दावा गरेको तर यति प्रमाणले नाता नपर्ने भन्ने कुराको प्रमाण कुनै गुजार्न नसकेकोले यस स्थितिमा छुट्टै विवाद खडा गरी पठाउनु कानुनी व्यवस्था बिपरीत हुने देखिएकोले मालपोत कार्यालय रामेछापबाट गरेको निर्णय मनासिव छ भनी यस कार्यालयले गरेको पुनरावेदन फैसला कानुनी भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको जि.का.रामेछापको लिखितजवाफ ।

७. निवेदकतर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री नरहरी आर्चायले र विपक्षी कार्यालयतर्फबाट उपस्थित हुनु भएको विद्वान सरकारी सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले र विपक्षी लिखित जवाफवाला तर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री दमन ढुंगानाले गर्नु भएको बहस समेत सुनियो मुख्यतः निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

८. यसमा धनी कुलदिपप्रसाद ढुड्डेल र ऋणी आनन्दराज ढुड्डेल भई रु.१५,०००।मा निज असामीका हकभोग दर्ताको चिसापानी गा.पं. वडा नं. २(च) कि.नं.२१ को ४१०० जग्गा र.नं. २०७४ मालपोत का.रामेछापबाट मिति ०४२।२।८ मा राजीनामा पारित गरी लिनु दिनु गरेकोमा, मेरो कि.नं.२४ को जग्गाको उत्तरतर्फ साँध जोडिएको र मेरो घाँस दाउरा, गोरु लाने बाटो समेत भएको र म हकदार चकलादार सन्धिसर्पनवाला समेत भएकोले हक सफा गर्न पाउँ भन्ने मुख्य वादी हरिप्रसाद भएको र जग्गा दिने दातासंग वादीको नाता पर्दैन हकदार पनि होइन र सन्धिसर्पन पर्ने व्यक्ति पनि नभएकोले सो धरौटी बुझी लिन पर्ने होइन भन्ने र निवेदक कुलदिपप्रसादको प्रतिउत्तर भएकोमा हकसफा गरी लिन पाउने ठहर्छ भनी मालपोत कार्यालय रामेछापले सोही सदर गरी जिल्ला कार्यालय रामेछापले निर्णय गरेको देखिन्छ । प्रस्तुत विषयमा मुलुकी ऐन रजिष्ट्रेशनको ३५ नं. हेर्दा निखन्न दिनु पर्नेले निखन्न दिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरा देखिन आए पैंतिस दिन भित्र नालिश गर्न जानु भनी सुनाई दिनुपर्छ भन्ने किटानी बाध्यात्मक कानुनी व्यवस्था भएको पाइन्छ ।

९. सन्धिसर्पन पर्ने संधियार पनि होइन र हकदार पनि होइन भनी किटानी साथ प्रतिवाद गरेको विषयमा बुझ्नु पर्ने प्रमाण नबुझी न्यायको निरोपण गरेको देखिन्छ । यस्तो स्थितिमा उक्त उल्लिखित रजिष्ट्रेशनको ३५ नं. बमोजिम सबूद प्रमाण बुझी निखन्न दिनु पर्ने,  नपर्ने के हो त्यसतर्फ निर्णय गर्न गराउन अदालतमा जानु भनी सुनाई दिनु पर्नेमा सो बमोजिम नगरी निखन्न पाउने गरी गरेको निर्णय रजिष्ट्रेशनको ३५ नं. को त्रुटिपूर्ण गरेको देखिँदा मालपोत कार्यालय रामेछापले ०४३।२।४ गते निखन्न पाउने गरी गरेको निर्णय र सोही सदर गरी जिल्ला कार्यालय रामेछापले ०४३।८।१८ मा गरेको निर्णय समेतका दुवै फैसला निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । फायल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४४ साल चैत्र २१ गते रोज १ शुभम् ।