February 2, 1988
Created by nepalarchives

निर्णय नं. ३३०० – उत्प्रेषण

निर्णय नं. ३३००     ने.का.प. २०४४      अङ्क १२   संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको...

निर्णय नं. ३३००     ने.का.प. २०४४      अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४३ सालको रिट नं. २६०१

विषय : उत्प्रेषण ।

 

निवेदक      : जि.सिराहा गा.पं.डुमरी वार्ड नं. १ बस्ने प्रगासी यादवनी ।

ऐ.ऐ बस्ने रामराजी यादवनी ।

विरुद्ध

विपक्षी : भू.सु.का. सिराहा ।

जि.सिराहा गा.पं. डुमरी वार्ड नं.१ बस्ने दशैं पासवान ।

आदेश भएको मिति:२०४४।१०।१९।३ मा

     बेग्लाबेग्लै कित्ता जग्गाका बेग्लाबेग्लै जग्गाधनी उपर मोही हकको प्रमाणपत्र पाउँ भनी छुट्टा छुट्टै नालेश उजूर गर्न पर्ने ।

(प्रकरण नं. ७)

     अ.बं. ७२ नं.को विपरीत हुने गरी बेग्लाबेग्लै कि.नं.जग्गाको बेग्लाबेग्लै जग्गाधनी भएको देख्दा देख्दै एउटै नालेश उजूर लिई विपक्षीलाई मोही ठहर्‍याई मोहियानी हकको प्रमाणपत्र समेत जनाई दिने ठहर्‍याएको निर्णय मिलेको नदेखिने ।

(प्रकरण नं. ७)

रिट, निवेदकको तर्फबाट: विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह

विपक्षीको तर्फबाट: विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

उल्लेखित मुद्दाःX

आदेश

न्या.गजेन्द्र केशरी बास्तोलाः     नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य जिकिर एवं निर्णय यसप्रकार छ ।

२.    ज.ध. रमेशभक्त मलाहाको नाउँको जि.सिराहा गा.पं. सितापुर वार्ड नं. ६ कि.नं. ९८ को ०७ ऐ. कि.नं. १५३ को ०१२६ ऐ. कि.नं. १४६ को ०१४ समेतका जग्गा भूमिसम्बन्धी ऐन सम्बन्धी ऐन लागू हुनु भन्दा पहिले देखिनै जोती आएको छु । २ नं. अनुसूची प्रकाशित भई ४ नं. समेत पाई २०३८ सालको भर्पाई समेत हुँदा उक्त जग्गाको मोही हकको स्थायी निस्सा पाउँ भनी विपक्षीले भु.सु.का मा निवेदन दिनु भएकोमा कि.नं. १४९ र ३२८ को जग्गामा विपक्षी मोही होइन साविक जग्गाधनी महेशभक्तको कारिन्दाबाट गराई लिएको कूतबालीको भर्पाईले मान्यता पाउने होइन भनी हाम्रो प्रतिवाद भएको थियो । ४ नं.जो.अ.नि. पाइसकेको तथा गा.पं. सितापुरको सिफारिशपत्र र बाली बुझाएको भर्पाई समेतको आधारमा वादी दावी बमोजिमका जग्गाको सम्बन्धमा मोहियानी हकको प्रमाणपत्र पाउने ठहर्छ भनी विपक्षी भु.सु.का.बाट मिति ०४२।११।१४ मा निर्णय गरियो ।

३.    छुट्टा छुट्टै कित्ताका जग्गाका हामी निवेदकहरू छुट्टा छुट्टै जग्गाधनी भएकोमा एउटै उजूरी दिई सोही उजूरीबाट भू.सु.अ.ले निर्णय गरेको अ.बं. ७२ नं.को विपरीत छ । ४ नं. जो.अ.नि का आधारमा मोही कायम गर्न मिल्दैन । मोही हक स्थापित हुनको लागि २ नं. अनुसूची अनिवार्य रुपमा प्रकाशित भएको हुनुपर्छ सो कुरा विपक्षीको निर्णयमा उल्लेख गर्न सकेको छैन । स्वामित्वनै नभएका व्यक्तिले गरिदिएको भर्पाईले कुनै कानुनी मान्यता पाउन सक्दैन । विपक्षी भू.स.अ.को उक्त ०४२।११।१४ को निर्णयले संविधानको धारा १०,११(२)(ङ) तथा धारा १५ ले निश्चित गरी दिएको हाम्रो मौलिक अधिकारमा आघात परेकोले भू.सु.का.को उक्त मिति २०४२।११।१४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।

४.    यस अदालतको मिति ०४३।३।३१।३ को आदेशले प्राप्त हुन आएको लिखित जवाफ यसप्रकार रहेछ ।

५.    साविक जग्गाधनी रमेशभक्त मल्लको नामको हाल प्रगासी यादवनी र रामराजी यादवनीको छुट्टा छुट्टै दर्ता कायम भएका विवादका कि.नं. १५३, १४९ समेतका जग्गाको मोही प्रमाणपत्र पाउँ भनी दशै पासमानको उजूरी परी यी निवेदकहरूलाई समेत बुझिएको छ । उक्त जग्गाको भूमि सुधार लागू हुँदा १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भई ४ नं. जो.अ.नि. समेत दसै पासमानले पाएको कुरा रेकर्डबाट देखिएको तथा पञ्चायतको सिफारिशपत्र तथा बाली बुझाएको भर्पाई समेतको आधारमा मोही हकको प्रमाणपत्र बनाई दिने गरी यस कार्यालयबाट मिति ०४२।११।१४ मा भएको निर्णयमा कुनै कानुनी त्रुटी नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का. सिराहाको लिखित जवाफ रहेछ ।

६.    साविक जग्गाधनी रमेशभक्त मल्लका पालादेखिनै उक्त जग्गाहरू मैले मोहिमा कमाउँदै आएकोमा भूमि सुधार लागू हुँदा १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भई ४ नं. जो.अ.नि. समेत प्राप्त गरिसकेको हुँदा भू.सं. ऐनको दफा २६ बमोजिमको मोही भएकोले  मोही हकको स्थायी प्रमाणपत्र पाउने हुँ । यसरी साविक जग्गाधनीकै समयदेखिको मेरो मोही हक, जग्गाको स्वामित्व अर्को व्यक्तिमा सर्दैमा समाप्त भएर जाने भन्न मिल्दैन अतः सबूद प्रमाणहरूको सही मूल्याङ्कन गरी भू.सु.का सिराहाले मोही हक प्रमाणपत्र बनाई दिने गरी मिति ०४२।११।१४ मा गरेको निर्णयमा कुनै त्रुटी नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी दशैं पासमान दुसाधको लिखित जवाफ रहेछ ।

७.    नियम बमोजिम दैनिक पेश सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहले र विपक्षी दशैं पासमानको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले र भू.सु.का. सिरहाको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो । यसमा रिट निवेदनमा उल्लेख गरिएका कि.नं. ९८,  १५३, १४९ समेतको जग्गा भूमि सुधार लागू हुनु अगावै देखि मोहिमा जोति कमाई आएको २ नं. अनुसूची प्रकाशित भई ४ नं.जो.अ.नि. समेत प्राप्त गरिसकेकोले मोही हकको प्रमाणपत्र पाउँ भनी बेग्लाबेग्लै कित्ता जग्गाको जग्गाधनी प्रगासी रामकाजी समेत उपर दशैं पासमानले नालेश उजूर दिएको र सोही उजूरीको आधारमा विवादित जग्गाका जग्गाधनी रमेशभक्त मल्लका नाममा नाप जाँच भएको कुरा क्षेत्रीय किताब उतारबाट देखिएको र सोही जग्गा मध्ये १५३, ३२८ र १४९ को जग्गा हाल जग्गाधनीहरूमा क्रमशः रामराजी र प्रगासीमा सर्दै आएको र सोही जग्गाको ४ नं. जो.अ.नि. प्राप्त गरिसकेको र बाली बुझाई सकेको भर्पाई समेत मिसिल संलग्न देखिँदा उक्त जग्गाको मोहियानी हकको प्रमाणपत्र वादीले पाउने ठहर्छ भनी भू.सु.का सिराहाबाट मिति ०४२।११।१४ मा निर्णय भएको रहेछ । मुलुकी ऐन अ.बं. ७२ नं. अनुसार बेग्लाबेग्लै झगडाको विषयवस्तुको सम्बन्धमा बेग्लाबेग्लै व्यक्ति उपर नालेश उजूर गर्नु पर्दा छुट्टा छुट्टै नालेश उजूर गर्नु पर्छ । यसरी बेग्लाबेग्लै नालेश उजूर गर्नु पर्नेमा नदिई एउटै फिराद वा नालेश दिएको भएमा सो फिरादबाट इन्साफ गर्नु पर्ने जति सोही फिरादको शीरमा लेखि इन्साफ गर्नु नपर्ने जति कुरा खुलाई दरपिठ गर्नु पर्दछ । बेग्लाबेग्लै कित्ता जग्गाका बेग्लाबेग्लै जग्गाधनी उपर मोहीहरूको प्रमाणपत्र पाउँ भनी छुट्टा छुट्टै नालेश उजूर गर्नु पर्ने हुन्छ । तर सो बमोजिम नगरी विपक्षी दशैं पासमानले कि.नं. १५३, ३२८, १४९ समेतका बेग्लाबेग्लै कित्ताका रामराजी यादवनी र प्रगासी यादवी बेग्लाबेग्लै जग्गाधनीलाई एउटै फिराद दावीबाट विपक्षी बनाई मोहियानी हकको प्रमाणपत्र पाउँ भनी भू.सु.का. सिराहामा नालेश उजूर गरेको देखिन्छ । उक्त नालेश उजूरीको सम्बन्धमा के कति कुरामा इन्साफ गर्नु पर्ने र के कति कुरामा इन्साफ गर्न नमिल्ने हो सो कुरा उक्त फिरादपत्रमा खुलाई इन्साफ गर्नु पर्ने कुरामा मात्र सीमित रही कारवाही किनारा गर्नु पर्ने अ.बं. ७२ नं. को व्यवस्था अनुसार भू.सु.का. सिराहाबाट कारवाही भए गरेको देखिँदैन । यसरी माथि उल्लेख गरे बमोजिम अ.बं. ७२ नं.को विपरीत हुने गरी बेग्लाबेग्लै कि.नं. जग्गाको बेग्लाबेग्लै जग्गाधनी भएको देख्दा देख्दै एउटै नालेश उजूर लिई विपक्षी दशैं पासमानलाई मोही ठहर्‍याई मोहियानी हकको प्रमाणपत्र समेत बनाई दिने ठहर्‍याएको भू.सु.का. सिरहाको मिति ०४२।११।१४ को निर्णय मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । अब पुनः कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी भू.सु.का. सिराहाको नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । विपक्षी कार्यालयको जानकारीको लागि यो निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई नियम बमोजिम गरी फायल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४४ साल माघ १९ गते रोज ३ शुभम् ।

