September 16, 1966
Created by nepalarchives

निर्णय नं. ३३० – कुटपिट

निर्णय नं. ३३०                  ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशी ०२१ सालको पहिलो रिभिजन...

निर्णय नं. ३३०                  ने.का.प. २०२३

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री लोकराज जोशी

०२१ सालको पहिलो रिभिजन फौ.फु.नं.५८

प्रतिवादी : कृष्णबहादुर खत्री क्षेत्री

विरुद्ध

वादी : खड्गबहादुर जिमी

मुद्दा : कुटपिट

(१)   साक्षी सर्जमिनको लेखाई सुनेको भन्ने सम्मभई प्रत्यक्ष देखेको भन्न नभएमा तथ्ययुक्त प्रमाण मान्न नमिल्ने ।

            ती साक्षी सर्जमिन कसैले पनि मानबहादुरले काटेको आफैले प्रत्यक्ष देखेको भन्न नसकी अरुअरुबाट सुनेकोसम्म भनेको । त्यस्तो सुनेको भन्नेसम्म कुरालाई तथ्ययुक्त प्रमाण मान्न नमिल्ने ।

(प्रकरण नं. १२)

(२)   रगत नथामिएको घाउ चोट भएमा अघिल्लो दिन काटिएको घाउ चोट भन्न नमिल्ने । सोही दिनको केही समय अघिको भन्नु पर्ने ।

            पूर्व ६ नं.अदालतबाट ११ साल मार्ग २ गते वादी खड्गबहादुरको घाउ जाँच हुँदाको अवस्था रगत समेत थामी नसकेको भन्ने घाउ जाँच मुचुल्कामा लेखिएको अघिल्लै दिन मार्ग १ गते राती मानबहादुरले काटे कुटेको घाउ चोट भए भोलिपल्ट मार्ग २ गते घाउ जाँच हुँदासम्म त्यसरी रगत आई रहन सक्ने संभावना देखिन आएकोले घाउ जाँच हुन भन्दा केही समय मात्र अगाडि उस दिन परेको घा चोट रहेछ भन्ने सिद्ध हुन आउँछ ।

(प्रकरण नं. १२)

फैसला

            १.     अन्यायवालाले नभएको फटाई राजा काजी मुद्दा लगाई भाइहरू अड्डामा रोक्का परेको छ भन्ने सुनेकाले किन रहेछ भनी ०११ साल मार्ग २ गते अं.८।९ बजेको बखत अड्डातर्फ जाँदै गर्दा दुगाली गाउँ बरी भहारी गाउँ पारी दलबहादुर खुलामिका खेत छेउ खोलासीमा पुग्दा कोहि बाटा मुनि बाटामाथि ढुकी बसेका रहेछन् । मलाई थाहा थिएन । म पुग्नासाथ बाटा माथिबाट निस्की कृष्णबहादुरले खुकुरीले बायाँ आँखा छेउ चल्नि गालामा ६ इन्च हड्डी समेत काटी हातले छेक्न खोज्दा हात पाखुरामा ५ इन्चको घाउ समेत पारी काटी म लडेपछि रत्नबहादुरले पछाडी पातामा ५ इन्चीको घाउ र देब्रे हातको साहिली औंलाको फेदमा मछिन्द्रबहादुरले खुकुरीले काटे अरूले घेरा दिए । त्यस बखत आतसले मारे भन्ने शब्द निस्केछ र नरबहादुर निरबहादुर यसैतर्फ आउँदै गरेको हुँदा खबरदार भनी कराई दिँदा निजहरू भागी गएकाले घाउ जँचाई उजुर गर्न आएको छु । ज्यान मार्नाको उद्योगले खुकुरीले काटी हड्डी नसा समेत काटेको मुख्य अंग नचल्ने गरी काटेको हड्डी समेत भेटेकोले हातको अंगभंग समेत खत पारेमा सो खत पार्नेहरूलाई समेत अझै पनि सो खतबाट निको भई बाँचे छु भने खत अनुसार सजाय गरी पाउँ भन्ने समेत खड्गबहादुरको फिरादपत्र ।

            २.    राजकाजी विद्युत मुद्दा समेतको ईबीवाला झगडिया हुनाले म उपर झुट्टा उजुर गरेको हो । म समेत भई कुटेको होइन । मानबहादुर नेवारकी स्वास्नी २०।२२ बर्षकी हुँदा निजका घरमा राती जाँड रक्सी खाई गई ढोका उघार भनेछ र ढोका उघारी दिंदा तलाई धेरै पैसा दिएँ भनी बेईजत गर्न लाग्दा मानबहादुरले थाहा पाई भनाभन हुँदा खड्गेले मानबहादुरलाई कुटेमा मानबहादुरले निजलाई काटेको हो । सो मार्ग २ गते भन्दा अगावै कार्तिक ३० गते हिंडी मार्ग १ गते ससुराली पु.४ नं.बोषी पालुवामा पुगी ऐ २ गते साला पद्मबहादुरको वारेस भई पञ्चायतमा पास मुद्दा दर्ता गरेको छु । ईबी साँध्न झुट्टा उजुर गरेको हो भन्ने समेत रत्नबहादुरको प्रतिवादी।

            ३.    कार्तिक ३० गतेका दिन फालीकोटबाट सम्धी बबरबहादुरले तपाईकी बुहारी बिरामी छ । भोली बेलुकीसम्म आउनु भन्ने खबर पठाएकाले साइलो छोरा बिष्णुबहादुर चैनपुर मेजर पाटीमा पढ्न बसेकोले उनकै ज्वाई साथ लिई जानु पर्‍यो भनी निज छोरालाई बोलाउन पठाई हामी दुबै बाबु छोरा १ दिनकोबाटो पु.४ नं.फालोकोटमा मार्ग १ गते बेलुकी पुगी ऐ २ गते छोरा बिरामी भएकाले ५।६ दिनसम्म उहिं बसी पछि घर फर्की आएको हुँ । मानबहादुर नेवारले उसकी स्वास्नीलाई जत्रतत्र गर्योभनी वादीलाई काटेछ । सोहि खतलाई ईबीवाला झगडीया इबी साँध्न हाम्रा नाउँमा झुट्टा उजुर गरेको हो भन्ने बिष्णुबहादुर र कृष्णबहादुर । सो मंसीर २ गते ढुंगेखेतमा म बिटा लगाउँदै थिए म समेत भई काटे कुटेको होइन भन्ने मछिन्द्रबहादुर । मंसीर १ गते बेलुकी चैनपुर फुपाजु भक्तबहादुरको छोरा कर्नबहादुरको घरमा गई हाना खोजी ऐ ३ गते मात्र फर्की आएको हुँ भन्ने रामबहादुर समेतको एउटै प्रतिवादी ।

            ४.    मैले काटे कुटेको होइन । मंसीर २ गते बिहान म घरबाट हिंडी त्रिसुली नरबहादुरको घरमा ६।७ गतेको टायममा पुगी छिनभर वँही बसी बेलुकी फर्केको हुँ । रिस ईवीबाट झुट्टा उजुर गरेको हो भन्ने समेत मदिमानको प्रतिवादी ।

            ५.    ज्यानै मार्ने कुराको सर सल्लाहा बाँधी आएको भन्ने बनाउन र त्यसतर्फको साक्षी सबुद बकाउन पनि नसकेकाले ज्यान मार्नाको नियतले काटेको भन्न मनासिव नदेखिने । कुटपिट तर्फ मानबहादुरले काटेको भए आफूलाई खुकुरीले काटी त्यत्रो घाउ चोट पारि दिने शत्रुलाई त्यसै छाडी हुँदै नभएका प्रतिवादी उपर झुट्टा पोल गरे होला भन्न नहुने हुँदा मानबहादुरले काटेको भन्ने प्रतिवादीको भनाइ प्रतित नदेखिने । प्रतिवादी ककसले काटेकुटेको हो भन्ने हकमा रामबहादुर, मदीमान, विष्णुबहादुर समेत ३ जनाले घेरा दियो भन्ने सम्म लेखाई भएको निजहरू उपर कुटपिटको महलले सजाय पाउने दोष कसुर कुनै देखाउन नसकेकोले निजहरूका हकमा विचार गरी रहनु परेन । रत्नबहादुर ११ साल मार्ग २ गते पु.४ नं.पोखिपु पञ्चायतमा गई नालेस दर्ता गरेको समेत देखिएकोले निजले कुटेकाले होला भन्ने पत्यार नपर्ने र मछिन्द्रबहादुर मार्ग २ गते ढुंगे खेतमा बिटा लगाउने कागरी बसेको थिए भनी साक्षीले बकेकाले निजले काटेकुटे भन्ने कुरा पनि प्रतित नदेखिने र कृष्णबहादुरको हकमा बुहारी बिरामी हेर्न गएको भन्ने कुरा पत्यार नदेखिएको निजले हातमा खुकुरी लिई दौडी भाग्दै गएको भनी नरबहादुरले र कृष्णबहादुरले काटे भनी भन्थ्यो भनी निरबहादुरले समेत वादीका साक्षीले बकी दिएकोसमेत प्रमाणबाट वादीलाई कृष्णबहादुरले खुकुरीले काटी घाउ खत पारी दिएको ठहर्छ भन्ने धनकुट्टा अपीलको ०१६।१।२१।२ को फैसला ।

            ६.    वादी र वादीको साक्षीको बकाई नमिली बाझिएकोसमेत कुरामा वादीको उजुर साँचो ठहराई मलाई कुटपिटको ९ नं.बमोजिम सजाय दिने गरी गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी कृष्णबहादुरको अपीलपत्र ।

            ७.    वादी दावीबमोजिम वादीको आङ जिउमा लागेको घाउ खत ०११।८।२।४ को घाउ जाँच मुचुल्काबाट देखिएको र चस्मदिद ग्वाहा नरबहादुरले वारदातको ठाउँमा पुग्दा कृष्णबहादुर नांगो खुकुरी लिई भागेको भन्ने लेखी दिएको र निरबहादुरले पनि सोहि मिलान बकेको देखिएको । सरजमिन मध्येको जितबहादुर समेतले मानबहादुरले काटेको होईन भनी किटानी साथ बकी लेखी दिएको । वीरबहादुर खत्री क्षेत्री समेतका केहि सरजमिनले मानबहादुर नेवारले काटे होला भन्ने सम्म लेखे तापनि यो परिवन्दबाट काटेको भनी खुलाई लेख्न नसकेको । सरजमिन मध्येको गणेशबहादुर खत्री घनश्याम बस्नेतले राती काटेको होइन भनी लेखी दिएको । त्यही सरजमिन मध्येको घनबहादुर खत्रीले साल मिति थाहा छैन बिहान मेरो घरमा वादी खडगबहादुर आएको थियो । म पनि बजार जान्छु भन्दा बुढा मानिससँग सार मिल्दैन भनी बिहान ७ बजे गएको थियो दिउसो बजार जाँदा वादी काटिएको देखेकै हुँ । कसले काटेको हो ? सो कुरा म जान्दिन भन्ने समेत बकी लेखी दिएकोले दिनकै वारदात देखिन आएको र मानबहादुर नेवारले रातको टायममा काटे कुटेको भन्न कुनै हालतमा नमिल्ने हुँदा कृष्णबहादुरले काटेको ठहराएको ईन्साफ शुरु धनकुटा अपीलको मनासिव छ भन्ने डिभिजन बेञ्चको ०२०।११।८।१ को फैसला ।

            ८.    सो उपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने प्रतिवादी कृष्णबहादुरको निवेदन परेकोमा न्यायीक समितिबाट यसमा दोहर्‍याई पाउँ भन्ने निवेदकको माग भएकोमा इन्साफतर्फ मुनासिवै देखिएको सजायको सम्बन्धमा केहि फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिन्हा दिने ऐन ०२० को दफा ५ (१) ले अघिको अपराधमा पनि नयाँ मुलुकी ऐनबमोजिम सजाय हुने र दफा ४ (३) ले नयाँ मुलुकी ऐनले घटी सजाय हुने रहेछ भने बढी सजाय भए जति मिनाहा हुने देखिएको घटी देखि माथि देखिने ठाउँसम्मका अनुहारमा जुनसुकै व्यहोरासँग काटी छिनाली दिई खत डाम लगाई जिन्दगी भर जस्ताको तस्तो नहुने गरी कुरूप पारी दिनेलाई पुरानो मुलुकी ऐन कुट पिटको ९ नं.मा १।। वर्ष देखि ४ वर्षसम्म कैद हुने भन्ने र हालको नयाँ मुलुकी ऐन कुटपिटको ८ नं.मा ५०० रुपैयाँ सम्म जरिवाना र एक वर्षदेखि ३ वर्षसम्म कैद हुन्छ भन्ने देखिएकोले सजाय नमिलेको देखिँदा सजायसम्ममा दोहोर्‍याउन आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहोर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालयबाट लेखी आएको ०२१।६।१६।५ हुकुम प्रमांगी ।

            ९.    बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्नु निमित्त लगतमा दर्ता गरी दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपी जाहेर गर्न मौसुफका प्रमुख सचिवालय राजदरबारमा पठाई दिनु भन्ने माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०२१।७।६।५ को आदेश ।

            १०.    धनकुटा अपीलको ०१६।१।२१ को फैसलामा बायाँ आँखा छेउ चल्नी गालामा लागेको ६ इन्चको घाउ खाल्टो परी कुरूप भएको देखिएको भन्ने उल्लेख भएको र उक्त फैसलाउपर कृष्णबहादुरले सर्वोच्च अदालतमा दिएको अपीलपत्रमा खड्केको अनुहार जस्ताको तस्तै भई खतसम्म देखिने खाल्टो कुरूप भएको नदेखिने भन्ने जिकीर लिएको देखिएको हुँदा उक्त घाउ खत के कस्तो रहेछ हुनु पर्ने भएको कारण वादी खड्गबहादुरलाई नै हाजिर गराउनुभनी निजको बारे मलाई मनासिव माफिकको तारेख तोकी आएपछि नियमबमोजिम पेशगर्नु भन्नेसमेत फुल बेञ्चको ०२२।१२।१६।३ को आदेश ।

            ११.    यसमा तारेखमा रहेका निवेदक प्रतिवादी कृष्णबहादुरको वा.मचिन्द्रबहादुर वादी खड्गबहादुरको वा.श्री धोज र बेञ्चसमक्ष उपस्थित हुन आएको वादी खड्गबहादुर समेत रोहवरमा रही ०२३।५।२८।३ मा पेश भई निवेदक तर्फबाट विद्वान प्लीडर श्री ठाकुरप्रसाद खरेलले र वादीको वारेस श्री धोजले गरेको बहस जिकीरसमेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी रामबहादुर, विष्णुबहादुर, मचिन्द्रबहादुर, रत्नबहादुर मदीमान समेत ५ जनाको हकमा निजहरूको कसुर नठहराई शुरु फैसला गर्ने धनकुटा अपीलबाटै सफाई दिएकोमा वादीले अपील नगरी चित्त बुझाई बसेको देखिएकाले निजहरू ५ जनातर्फ विचार गरी रहनु परेन ।

            १२.   निवेदक प्रतिवादी कृष्णबहादुरका हकमा निजले कसुर गरे नगरेको के रहेछ ? भन्नेतर्फ विचार गरेमा ११ साल मार्ग १ गते राती आफ्नो स्वास्नीसँग ठट्टा मस्करी जत्रतत्र गर्‍यो भनी मानबहादुर नेवारले खुकुरीले काटे कुटेकोमा ईवीवाला झगडीया हुँदा म समेतका नाममा झुट्टा उजुर गरेको भन्ने निज कृष्णबहादुरको मुख्य जिकीर भएको र निज समेतको साक्षी अम्बरबहादुर अधिकारी समेत र सर्जमिनका केही व्यक्तिसमेतले मानबहादुरले काटे कुटेको भन्ने कुरा वकिलले लेखी दिएको देखिएकाले कसो हो भन्ने तर्क उठेको छ । तथापि ती साक्षी सर्जमिन कसैले पनि मानबहादुरले काटे कुटेको आफैले प्रत्यक्ष देखेको भन्न नसकी अरुहरूबाट सुनेकोसम्म भनेको त्यस्तो सुनेको भन्ने सम्म कुरालाई तथ्ययुक्त प्रमाण मान्न नमिल्ने र ती अरुअरु भनिएका जो कि मानबहादुरले वादीलाई काटे कुटेको भन्ने कुरा आफूलाई सुनाउने भनी साक्षी अम्बरबहादुर समेतको बकपत्रमा नाम खुलाएको व्यक्तिहरू समेत मानबहादुरले वादीलाई काटे कुटेको देखिन चस्मदिद साक्षी सबुद कुनै पनि प्रतिवादीले दिन गुजार्न सकेको देखिन आएन । उसमा पनि पूर्व ६ नं.अदालतबाट ११ साल मार्ग २ गते वादी खड्गबहादुरको घाउ जाँच हुँदाको अवस्था रगतसमेत थामी नसकेको भन्ने घाउ जाँच मुचुल्कामा लेखिएको अघिल्लै दिन मार्ग १ गते राती मानबहादुरले काटे कुटेको घाउ चोट भए भोलिपल्ट मार्ग २ गते घाउ जाँच हुँदासम्म त्यसरी रगत आइरहन सक्ने सम्भावना देखिन नआएकोले घाउ जाँच हुन भन्दा केही समय मात्र अगाडि उस दिन परेको घाउ चोट रहेछ भन्ने सिद्ध हुन आउँछ । सरजमिनमा बुझिएको वर्ष ७१ उमेरको रणबहादुरले बिहान मेरो घरमा वादी आएको थियो । म पनि बजार जान्छु भन्दा बुढा मानिससँग सार मिल्दैन भनी बिहान ७ बजे गएको थियो । दिउँसो म बजारमा जाँदा वादी काटिएको देखेको हुँ भन्ने बकेकोबाट पनि मार्ग १ गते राती मानबहादुरले काटी परेको घाउखत भन्ने प्रतिवादी कृष्णबहादुरको जिकीर समर्थित हुन आएको छैन । यदि मानबहादुरले काटे कुटेको घाउखत भए खुकुरी जस्तो हतियार प्रयोग गरी त्यत्रो घाउ खत पारी दिने मानिस मानबहादुरलाई बचाई निज उपर उजुर नगर्नु त्यस्तो स्वाभाविक नदेखिएको समेत हुँदा उक्त कारणहरूबाट मानबहादुरले काटे कुटेको घाउखत भन्ने प्रतिवादी कृष्णबहादुरको जिकीर साँचो मान्न मिलेन ।

            १३.   अरु प्रमाणतर्फ हेरेमा वादीका साक्षी मध्ये निरबहादुरले ११ साल मार्ग २ गते बिहान ९ बजे दलबहादुरका खेत छेउमा प्रतिवादी रोला खुकुरी लिई भाग्दै गएको र खडगबहादुर लडी रगतले मुछीराखेको देखेको भन्ने र नरबहादुरले सो मार्ग २ गते बिहान अं.९।१० बजे हातमा खुकुरी रोल लिई भाग्दै गरेको देखे कृष्णबहादुरलाई चिने भन्ने र मदनबहादुर, घनबहादुर, चन्द्रबहादुर पद्मसिं, रत्नबहादुर समेतले वादीलाई प्रतिवादीले नै काटे कुटेको भन्ने समेत किटानसँग बकी लेखी दिएको देखिएको समेत प्रमाणबाट मैले काटे कुटेको होइन भन्ने प्रतिवादी कृष्णबहादुरको जिकीर पुग्न सक्दैन । तसर्थ, वादीलाई प्रतिवादी कृष्णबहादुरले काटे कुटेको ठहराएको धनकुटा अपीलको सदर गरी २०।११।१८।११ को डिभिजन बेञ्चले छिनेको ईन्साफ मुनासिवै छ ।

            १४.   अब निज प्रतिवादी कृष्णबहादुरलाई के कति सजाय हुने हो ? भन्नेतर्फ हेरेमा हाल बेञ्च समक्ष उपस्थित रहेको वादी खड्गबहादुरको बायाँ आँखा छेउ चल्नी गालामा काटिएको भनेको घाउ हेर्दा, सो घाउ निको भएको भए पनि काटिएको ठाउँ बीचमा केही खाल्टो परी जस्ताको तस्तो नभई खत डाम लागी कुरूप भएको देखिएको र घाटी देखि माथि देखिने ठाउँसम्मका अनुहारमा यस्तो खत पारी दिनेलाई साविक मुलुकी ऐन कुटपिटको ९ नं.ले १।। वर्ष देखि ४ वर्षसम्म कैद हुने व्यवस्था भए अनुसार धनकुटा अपीलले कैद वर्ष ४। सजाय गर्ने गरेको रहेछ । तर प्रस्तुत मुद्दा अपील गरी आई डिभिजन बेञ्चबाट २०।११।१८।१ मा फैसला हुँदाका अवस्था लागू भैसकेको नयाँ मुलुकी ऐन कुटपिटको ८ नं.ले यस्तो खतमा पाँचसय रूपैयाँसम्म जरिवाना र १ वर्ष देखि ३ वर्षसम्म कैदको सजाय हुने व्यवस्था भएको र केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिन्हादिने ऐन, २०२० को दफा ५ (१) मा साविकको मुलुकी ऐन अन्तर्गत अपराध ठहरिने कुनै काम कुरा अनुसूचीमा उल्लेख भएको नेपाल ऐन अन्तर्गत पनि अपराध ठहरिने रहेछ भने २० साल भाद्र १ गते भन्दा अघि भए गरेको अपराधमा समेत अनुसूचीमा उल्लेख भएको नेपाल ऐनबमोजिम सजाय हुने छ भन्ने उल्लेख भएको अनुसूचीमा नयाँ मुलुकी ऐन पनि परेकाले नयाँ मुलुकी ऐन कुटपिटको ८ नं.बमोजिम सजाय हुने हुँदा सो अनुसार जरिवाना रु.३००।र कैद वर्ष २।हुन्छ । नयाँ मुलुकी ऐन लागू हुनु भन्दा अगावै धनकुटा अलिबाट ०१६।१।२१।२ मा फैसला हुँदा साविक कुटपिटको ९ नं.लगाई कैद वर्ष ४। गर्ने गरेको सदरै राखी २०।११।१८ को डिभिजन बेञ्चले छिनेको सजायतर्फसम्म मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी कृष्णबहादुर क्षेत्रीके उपरोक्त उल्लेख भएबमोजिम नयाँ मुलुकी ऐन कुटपिटको ८ नं.ले हुने ठहरेको जरिवाना रु.३००।कैद वर्ष २।र धनकुटा अपील उपर अपील गरे वापत उक्त कैद वर्ष २।को हालको अ.बं.२०३ नं.ले दशौंद कैद महिना ।२।१२ समेतजम्मा जरिवाना रु.३००।कैद वर्ष २।२।१२ लाग्छ उक्त कलमको लगत कसी निज कृष्णबहादुरलाई धनकुटा अपीलको १६।१।२१।२ को फैसलाले गर्ने गरेको कैद वर्ष ४। डिभिजन बेञ्चको ०२०।११।१८ को फैसला २२।५।६।१ को आदेशले गर्ने गरेको कैद महिना ४।२४ को लगत काटी दिनु निज कृष्णबहादुरले धनकुटा अपील उपर अपील गर्दा ०१६।२।२७ मा धरौट राखेको कैद वर्ष ४। को नगदी रु.८६४। मध्ये उक्त लाग्ने ठहरेको जरिवाना रु.३००। कट्टा गरी सो मध्ये सो शुरु जरिवानाको अंक रु.३००।को आधा रु.१५०।कुटपिटको २५ नं.बमोजिम घाउ खर्च वापत कानूनको रीत पुर्‍याई दस्तुर केही नलिई वादी खड्गबहादुरलाई दिनु बाँकी रु.१५०। स्याहा गरी बाँकी धरौट रु.५६४।डिभिजन बेञ्चको र २०।११।१८ को फैसलाले गर्ने गरेको कैद महिना ४।२४ को फुल बेञ्चको ०२२।८।१८ का आदेशबमोजिम नगदी धरौटी राखेको भए सो समेत प्रतिवादी कृष्णबहादुरलाई फिर्ता दिई लाग्ने ठहरेको कैदमा कानूनबमोजिम गर्नुसमेत भनी धनकुटा जिल्ला अदालतलाई लेखी पठाउन समेत वारेस हुँदा का.श्रे.अ.त मा लगत दिनु ……………………१

नियमबमोजिम मिसिल बुझाई दिनु …………..२

 

इति सम्वत् २०२३ साल भाद्र ३१ गते रोज ६ शुभम् ।