निर्णय नं. ३२९८ – हक सफा
निर्णय नं. ३२९८ ने.का.प. २०४४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् ०४२ सालको...
निर्णय नं. ३२९८ ने.का.प. २०४४ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् ०४२ सालको दे.पु.नं. ५३८
मुद्दा : हक सफा ।
पुनरावेदक/वादी: जिल्ला महोत्तरी पिगौना गा.पं.वडा नं.१ कोहाल वडा नं. ९ बस्ने नन्द साहु सुडी।
विरुद्ध
विपक्षी/प्रतिवादी: जिल्ला महोत्तरी पिगौना गा.पं. वडा नं. ८ बस्ने रामरेखन भूमिहार ।
ऐ.ऐ बस्ने टंक साहु सुडी ।
फैसला भएको मिति: २०४४।८।१६।४ मा
रजिष्ट्रेशन पास गर्न लागेकोले रोक्का गरिपाउँ भनी निवेदन दिएकोबाट जुन मितिमा बिक्री भयो सोही मितिलाई थाहा पाएको मिति कायम गरी गरेको मिति ०३६।१।२१ को खारेजी फैसला कानुनसंगत नदेखिँदा बदर गरी दिएको छ भनी जनकपुर अञ्चल अदालतले मिति ०३८।३।१०।४ मा गरेको फैसलाले हदम्यादको प्रश्नलाई टुंग्याएको पाइन्छ, लेनदेन व्यवहारको ११ नं. अनुसार मुख्यले थाहा पाएको भन्ने व्यवस्था भएको तर बिक्री व्यवहार गर्ने व्यक्ति नै एकाघर सगोलका मुख्य व्यक्ति नै भएकोमा यो व्यवस्था लागू हुन्छ भन्न मिलेन, एकासगोलको व्यक्तिले सुक्री बिक्री गरेकोमा ६ महिनाभित्र नालेश दिएको म्याद भित्रकै मान्नु पर्ने ।
(प्रकरण नं. १७)
पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री महादेव प्रसाद यादव
उल्लेखित मुद्दाःX
फैसला
न्या.गजेन्द्र केशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त नबुझी पुनरावेदक वादी नन्द साहू सुडीको यस अदालतमा पर्न आएको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत हक सफा मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।
२. विपक्षी मध्येका ढका साहु सुडी मेरो दाजुले आफ्नो अंश भागको महोत्तरी एकरहीया गा.पं.वडा नं. ७(क) को कि.नं. ३६७ को ०६–१८ जग्गा रामनिरेशन रायलाई रु. ५०००।–मा मिति २०२८।६।२७ मा थाहा नदिई बिक्री गरेकोमा तत्कालिन भूमिप्रशासन कार्यालय महोत्तरीमा निवेदन परेकोमा निखन्न नपाउने गरी निर्णय भएकोमा मेरो चित्त नबुझी प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुनरावेदन गरेकोमा मैले जिती पाएको सो उपर विपक्षीको उजूर म.क्षे.अ.मा परेको सो अदालतबाट प्र.जि.अ.को निर्णय मनासिब ठहर्याई फैसला भएको सो उपर सर्वोच्च अदालतमा निवेदन पर्दा क्षेत्रीय अदालतको समेत निर्णय बदर गरी रजिष्ट्रेशनका ३५ नं. बमोजिम नालेश गर्न सुनाउनु पर्ने नसुनाएकोले सो बमोजिम गर्नु भनी फैसला भएको र माल कार्यालयबाट ०३५।६।१५ मा सुनाइएको हुँदा नालेश गर्न आएको छु । कि.नं. ३६७ को जग्गा निखनाई पाउँ भन्ने समेत व्यहोराको नन्द साह सुडीको फिरादपत्र ।
३. म्याद नाघी उजूर गरेको वादीले आफू छुट्टीएको भनी देखाएको प्रमाणबाट छुट्टिएको ठहर हुन नसक्ने अशंबण्डा नभएको कुरा ०२८।६।२६ को निवेदनबाट समेत देखिन आएको र मालपोत कार्यालयलाई सुनाउने अधिकार सर्वोच्च अदालतको फैसलाले दिएको छैन भन्ने व्यवहार रामनिरखन रायको प्रतिउत्तर ।
४. सगोलमा मुख्यले थाहा पाएकोमा अरुले थाहा पाएको ठहर्छ भनी लेनदेन व्यवहारको ११ नं.मा उल्लेख भएबाट बिक्री गर्दा मैले थाहा नपाएकोले जग्गा जोत्न जाँदा मात्र थाहा पाएको भन्ने भनाई कानुन अनुकूल नहुँदा अ.बं. ८० नं.ले फिराद खारेज हुने ठहर्छ भन्ने महोत्तरी जिल्ला अदालतको फैसला ।
५. उक्त खारेजी फैसला कानुनसंगत नहुँदा बदर गरी दिएको छ, जो बुझ्नु पर्ने बुझी ठहर निर्णय गर्नु भन्ने समेत व्यहोराको जनकपुर अं.अ.को ०३८।३।१० को फैसला ।
६. सगोलमा भएको वादीले जग्गा बिक्री भएको कुरा सोहि दिन थाहा पाएको मान्नु पर्ने र थाहा पाएपछि ३५ दिनभित्र ०३८।२।१ सम्म निवेदन दिई निखनाई पाउनेमा सो ३५ दिन नघाई निवेदन पर्न आएको समेतबाट वादी दावी पुग्न सक्दैन भन्ने शुरु महोत्तरी जि.अ.को ०३८।८।५।६ को फैसला ।
७. सो फैसलामा चित्त बुझेन वादी दावी बमोजिम गरिपाउँ भन्ने वादीको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
८. पुनरावेदक र विपक्षीहरू सगोलको देखिएपछि लेनदेन व्यवहारको ११ नं. बमोजिम फिरादीले थाहा पाएको भनेको मिति रजिष्ट्रेशन पारीत भएको मितिलाई नै मान्नु पर्ने हुँदा शुरु इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको जनकपुर अञ्चल अदालतको ०३९।१।२७ को फैसला ।
९. सो ज.अं.अ.को फैसला उपर चित्त नबुझी मध्यमाञ्चल क्षेत्रीय अदालतमा वादीको पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको निवेदन ।
१०. सगोलमा भएका यी वादीले बिक्री भएकै दिन थाहा पाएको भन्ने अघिकै आधार लिई शुरुबाट ०३८।८।५ मा फैसला भएको सो फैसला ०३९।१।२७ मा जनकपुर अञ्चल अदालतबाट सदर भएको देखिँदा अन्तिम रुपमा रहेको उक्त फैसला कानुनसंगत मान्न नमिल्ने र कानुनको व्याख्या सम्बन्धी प्रश्न समेत समावेश हुन आएकोले न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३(३) को आधारमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ. सिंगल बेञ्जको ०४१।२।४।५ को आदेश ।
११. लेनदेन व्यवहारको ११ नं. बमोजिम निखनाई पाउँ भनी उजूर गर्न जुन मितिमा राजीनामा रजिष्ट्रेशन पारीत भयो सोही मिति थाहा पाएको मिति कायम गरी ऐनको म्याद शुरु हुन्छ भनी व्याख्या भइरहेको देखिएकोले सोही अनुसार प्रस्तुत मुद्दामा वादीलाई लिखत भएको मिति ०२८।६।२७ मा नै थाहा भएको भन्नु पर्ने भएकोमा ०२८।९।१७ मा नक्कल लिएकोबाट थाहा पाएको भनी सो मितिबाट फिराद गरेको हदम्याद भित्रको स्पष्ट देखिएकोले महोत्तरी जिल्ला अदालतबाट दावी पुग्न नसक्ने भनी ठहर गरेको फैसला मनासिब ठहर्याएको सम्म जनकपुर अञ्चल अदालतको फैसला मिलेको देखिएन फिराद दावी खारेज हुने ठहर्छ । जनकपुर अञ्चल अदालतको फैसला सो हदसम्म गल्ती ठहर्छ भन्ने मिति ०४२।५।२७।५ को म.क्षे.अ.को फैसला ।
१२. म.क्षे.अ.को फैसला उपर चित्त नबुझी यस अदालतमा वादीको पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदन ।
१३. ०३८।३।१० को ज.अं.अ.को फैसलाले अन्तिम रुपमा टुङ्गो लगाई सकेको कुराको विपरीत फिराद दावी खारेज हुने ठहर्छ भनी म.क्षे.अ.ले गरेको फैसला ०२२ सालको ने.का.प. पृष्ठ १४७ मा प्रकाशित अम्बाकुमारी वि.श्यामकृष्ण प्रधानको हकसफा मुद्दामा प्रतिपादित नजीरको विपरीत हुनुको साथै लेनदेन व्यवहारको ११ नं. समेतको त्रुटी गरी भए गरेको देखिँदा न्या.प्र.सु. ऐन, ०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदको अनुमति प्रदान गरिएको छ भन्ने मिति ०४२।७।२१।४ को यस अदालतको डिभिजन बेञ्चको आदेश ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत हक सफा मुद्दामा पु.वे. वादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालको बहस जिकिर र विपक्षी प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवको बहस जिकिर समेत सुनियो ।
१५. प्रस्तुत हक सफा मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।
१६. यसमा महोत्तरी एकरहीया गा.पं.वार्ड नं. ७(क) को कि.नं. ३६७ को ०–६–१८ जग्गा दाजु ठका साहू सुडीले मिति ०२८।६।२७ मा थाहै नदिई बिक्री गरेकोले निखनाई पाउँ भन्ने समेतको व्यहोरा फिरादमा उल्लेख गरेको देखिन्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला लेनदेन व्यवहारको ११ नं. समेतको त्रुटी देखिँदा भन्ने डिभिजन बेञ्चको मिति ०४२।७।२१।४ को आदेशमा उल्लेख भएको पाइन्छ ।
१७. मिति ०२८।१०।११ मा यी वादी नन्दसाहू सुडीले भू.सु.का. महोत्तरीमा धरौटी राखी निखनाई पाउँ भनी निवेदन दिएको देखिन्छ । तत्कालिन मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं.लाई हेर्दा कसैले आफ्नो हक पुग्ने चल अचल गै¥ह बिक्री गरेकोमा निजको कुनै हकवालाले सो सम्पत्ति निखनी लिन चाहेमा सो बेचे किनेको लिखत रजिष्ट्रेशन भएको मितिले र रजिष्ट्रेशन गर्नु नपर्नेमा दाखिल खारेज भएका मितिले ६ महिनासम्ममा थाहा पाएको पैतिस दिनभित्र सो हकवालाले निखनी लिन पाउँछ सो म्याद नाघेपछि किने बेचेको पक्का हुन्छ । एकाघर सगोलमा भएका सबै हकवालाले थाहा पाएको ठहर्छ भन्ने व्यवस्था भएको देखिन्छ । प्रस्तुत मुद्दामा वादी नन्द साहु र ठकुवा साहू बीच चलेको जग्गा मुद्दामा जिल्ला अदालत महोत्तरीबाट मिति ०२५।१२।२७ को फैसला हुँदा यी पक्ष विपक्षी सगोलमा नै रहेको भन्ने कुरामा विवाद रहेन । सगोलमा मुख्यले थाहा पाएकोमा अरुले थाहा पाएको ठहर्छ भन्ने लेनदेन व्यवहारको ११ नं. मा उल्लेख भएकोबाट बिक्री गर्दा थाहा नपाएको जग्गा जोत्न जाँदा मात्र वादीले थाहा पाएको भन्ने भनाई रहेको पाइन्छ । वादीले मिति ०२८।६।२६ मा भू.सु.का. महोत्तरीमा रजिष्ट्रेशन पास गर्न लागेकोले रोक्का गरिपाउँ भनी निवेदन दिएबाट जुन मितिमा बिक्री भयो सोही मितिलाई थाहा पाएको मिति कायम गरी गरेको मिति ०३६।१।२१ को खारेजी फैसला कानुनसंगत नदेखिँदा बदर गरी दिएको छ भनी जनकपुर अञ्चल अदालतले मिति ०३८।३।१०।४ मा गरेको फैसलाले हदम्यादको प्रश्नलाई टुंग्याएको पाइन्छ । लेनदेन व्यहारको ११ नं. अनुसार मुख्यले थाहा पाएको भन्ने व्यवस्था भएको तर बिक्री व्यवहार गर्ने व्यक्ति नै एकाघर सगोलका मुख्य व्यक्ति नै भएकोमा यो व्यवस्था लागू हुन्छ भन्न मिलेन । एकासगोलको व्यक्तिले सुक्री बिक्री गरेकोमा ६ महिनाभित्र नालेश दिएको म्यादभित्रकै मान्नु पर्ने हुँदा यस्तो स्थितिमा मध्यमाञ्चल क्षेत्रीय अदालतले पुनः हदम्यादको प्रश्न उठाई वादीले दिएको फिराद हदम्याद भित्र नपरेको भनी फिराद दावी खारेज गर्ने गरेको मिलेको नदेखिँदा मिति २०४२।५।२७।५ को म.क्षे.अ.को फैसला बदर गरी दिएको छ । जनकपुर अञ्चल अदालतको मिति ०३८।३।१०।४ को फैसला बमोजिम अब जे जो बुझ्नु पर्ने बुझी कानुन बमोजिम इन्साफ गर्नु भनी दुवै पक्षलाई तारेख तोकी मध्यमाञ्चल क्षेत्रीय अदालतमा मिसिल पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्र बहादुर सिंह
इतिसम्वत् २०४४ साल मंसीर १६ गते रोज ४ शुभम् ।