January 5, 1988
Created by nepalarchives

निर्णय नं. ३२९३ – उत्प्रेषणयुक्त परमादेश वा अन्य जो जे उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।

निर्णय नं. ३२९३     ने.का.प. २०४४      अङ्क १२   संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट...

निर्णय नं. ३२९३     ने.का.प. २०४४      अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको रिट नं. १९४४

विषय : उत्प्रेषणयुक्त परमादेश वा अन्य जो जे उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।

 

निवेदक      :दोलखा जिल्ला लामा बगर कार्यालयको वहिदार हाल ऐ.माढी गा.पं.वार्ड नं. ३ मामु माढी गाउँ बस्ने दुर्गा बहादुर बस्नेत ।

विरुद्ध

प्रत्यर्थी : का.जि.त्रिपुरेश्वर स्थित श्री ५ को सरकार भन्सार विभाग ।

दोलखा जिल्ला स्थित श्री ५ को सरकार लामा बगर भंसार कार्यालय ।

आदेश भएको मिति:२०४४।९।२१।३ मा

     निजामती सेवा ऐन, २०१३ को दफा ६(१) मा कुनै निजामती कर्मचारीलाई निज उपर गरिने कारवाहीको सम्बन्धमा सफाईको सबूद दिने मनासिब माफिकको मौका नदिई बर्खासी गर्न वा दर्जा तलब घटाउन हुँदैन भन्ने व्यवस्था गरेको पाइन्छ, रिट निवेदकलाई उक्त कानुनी व्यवस्था अनुसार सफाईको मौका नै नदिई नोकरीबाट हटाएको कानुन अनुरुप भएको भन्न नमिल्ने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला  

प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत

उल्लेखित मुद्दाःX

आदेश

न्या.बब्बर प्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ :

२.    श्री ५ को सरकार लामा बगर छोटी हुलाक अन्तर्गत स्थायी हुलाकी पदमा ०३२।७।१६ देखि नियुक्ति पाई अविछिन्न सेवा गर्दै आएकोमा २०४२ साल आश्विन महिनामा प्रत्यर्थी नं.२ ले बहिदार पदको नियुक्ति खुल्ला प्रतियोगिताद्वारा गर्ने भएकोले जाँच दिई उक्त कार्यालयको ०४२।६।२९ च.नं. ६३ को पत्रद्वारा  स्थायी नियुक्ति २०४२।७।१ देखि लागू हुने गरी पाएकोले साविकको हुलाकीको पदबाट मैले सोही २०४२।७।१ देखि लागू हुने गरी राजीनामा दिई लामा बगर भन्सार कार्यालयमा सेवा गर्दै आएको छु । एक वर्षे परीक्षण कालमा मेरो कुनै पनि खराब आचरण छैन र मेरा पदानुरुपको सेवा कार्यमा कार्य कुशलता पाइएको थियो ।

३.    २०४३।६।२१ च.नं. ७६ को प्रत्यर्थी नं.२ को रजिष्टर्ड पत्र मिति २०४३।७।१ मा स्थानीय हुलाक मार्फत मैले पाएँ । बहिदार पदको मेरो नियुक्ति भन्सार विभागको ०४३।४४ च.नं.२८६ मिति ०४३।६।१६ को पत्रद्वारा बदर भएको र मलाई सेवाबाट बर्खास्त गरेको थाहा पाएँ। प्रत्यर्थी नं. १ को निर्णयको प्रतिलिपि माग गरे सो निर्णयको प्रतिलिपि यहाँ हामी सित छैन भन्ने जवाफ वडा दशैंको विदा पछि कार्यालय खुलेको दिन ०४३।७ मा मौखिक रुपमा प्रत्यर्थी नं. २ बाट पाए चित्त नबुझी तुरुन्त काठमाडौं गई प्रत्यर्थी नं. १ बाट के कसो भएको रहेछ भनी बुझ्ने प्रयास गर्दा कुनै कुरा मलाई थाहा दिन मौखिक कुराकानी हुँदा मै अस्वीकार गरियो । श्री ५ को सरकार अर्थमन्त्रालय भन्सार विभागले मिति २०४३।६।१६ मा लामा बगर भन्सार कार्यालयमा लेखि पठाएको पत्रमा त्यस कार्यालयको मु.पदमा २०४३।१।३ देखि इन्द्रबहादुर थापा बढुवा नियुक्ति भएका तर बहिदार पदमा २०४२।६।२९ मा नै दुर्गाबहादुर बस्नेतलाई स्थाई नियुक्ति गरेको सम्बन्धित फायल प्राप्त भई पेश हुँदा लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए अनुसार रिक्त पद पूर्ति गर्ने कार्यविधि निर्देशिका अनुसार घटीमा ३० दिनको म्याद राखी विज्ञापन गर्नु पर्नेमा नगरेको दर्खास्त दिने अन्तिम मिति भन्दा ७ दिन पछि सम्म दोब्बर दस्तूर तिरी दर्खास्त बुझाउन पाउने म्याद नदिएको प्रश्नपत्र तयार गर्न पठाउनु पर्ने उक्त पुस्तिका जाँच्न पठाउने आदि नियम नपुर्‍याई अनियमित तरिकाबाट रिक्त नै नभएको पदमा विभागीय स्वीकृति विना स्थायी गरेको बदर गर्ने र कार्यालय प्रमुखसंग स्पष्टीकरण माग्ने ०४३।६।१५ मा निर्णय भएकोले कार्यालय प्रमुख ख.नुमुनाथ ओझाको स्पष्टीकरण पठाई दिन हुन र दुर्गाबहादुर बस्नेतलाई जानकारी दिन हुन अनुरोध छ भन्ने उल्लेख छ ।

४.    लामाबगर भन्सार कार्यालयले मलाई पहिला पटक परीक्षा लिई बहिदार पदमा नियुक्ति गरेको होइन । मलाई नियुक्ति गर्नु भन्दा केही वर्ष पहिले सोही कार्यालयले यसै गरी ढालबहादुर कटुवाललाई नियुक्ति गरेको थियो जुन कार्यलाई प्रत्यर्थी नं. १ ले बदर घोषित गरेन अर्थात् प्रचलित कानुनको अधीनमा रही लामा बगर भन्सार कार्यालयले २०४२।६।२९ मा नियुक्ति दिई भन्सार विभाग लगायत पठाएको थियो । २०४२।६।६ गते देखिन् लागू हुने गरी इन्द्रबहादुर थापाको मुखिया पदमा बढुवा भएको हो र त्यस नाताले उहाँको साविकको पद बहिदारमा २०४२।७।१ गतेदेखि लागू हुने गरी मैले नियुक्ति पाएकै छु । मलाई नोकरीबाट बर्खास्त गर्नु पर्ने कानुनी आधार भएको भए प्राकृतिक न्याय सिद्धान्त अनुसार म सँग सोधी बुझी प्रतिवाद गर्ने मौका प्रदान गरी मात्र नियुक्ति बदर गर्नु पर्ने थियो मैले नोकरी गर्न थालेको बा¥हौं महिनाको अन्तिम चरणमा पुगी मलाई सेवाबाट मुक्त गरी बदर गर्ने अधिकार प्रत्यर्थी नं. १ लाई नेपाल कानुनले दिएको छैन । यसरी कानुनले दिँदै नदिएको अधिकार क्षेत्र ग्रहण गरी प्रतिवादको मौका प्रदान नगरी गरे भएको २०४३।६।१५ को निर्णय सो आधारमा लेखिएको २०४३।६।१६ को पत्र लगायत लामाबगर भन्सार कार्यालयले ०४३।६।२१ मा मलाई पठाएको ०४३।७।१ मा मैले पाएको पत्र लगायत लामा बगर भन्सार कार्यालयले ०४३।६।२१ मा मलाई पठाएको ०४३।७।१ मा मैले पाएको पत्र समेत अ.बं. ३५ नं. अनुसार बदरभागी छ । अड्डा कार्यालयको कुनै भूल भएको छ भने सो को कारणले बा¥हौं महिनामा आएर मलाई प्रतिकूल असर पर्न सक्ने होइन । त्यसैले नेपालको संविधान १० (१) द्वारा प्रदत्त कानुनी समानताको हक धारा ११(२) र १५ को सम्पत्ति सम्बन्धी मौलिक हक लगायत नेपाल  निजामती सेवा ऐन, ०१३ को दफा ४ र ६ र नियमावली, २०२१ को नियम १०, १०.२, १०.६, १०.९, १०.१०, ११.११ समेतको कानुनी हकको हनन् भएको उत्प्रेषणको आदेशद्वारा ०४३।६।१५ को निर्णय र सो निर्णयमा आधारित सबै पत्रहरू तथा काम कारवाही समेत बदर गरी रिट निवेदनको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने रिट निवेदन ।

५.    यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरूबाट लिखित जवाफ आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

६.    खुल्ला प्रतियोगिताबाट रिक्त पदपूर्ति गर्नु पर्दा लोकसेवा आयोगबाट प्रकाशित रिक्त पदपूर्ति गर्ने कार्यविधिको निर्देशिका २०३८ बमोजिम आधारभूत रीत पुर्‍याउनु पर्नेमा लामा बगर भन्सार कार्यालयबाट सो बमोजिम रीत नपुर्‍याएको र बहिदार पद रिक्त भई नसक्दैमा श्री दुर्गाबहादुर बस्नेतलाई ०४२।७।१ देखि स्थायी नियुक्ति गरेकोले त्यस्तो अनियमित तरिकाबाट स्थायी नियुक्ति गरेको बदर गर्ने सम्बन्धमा यस विभागबाट २०४३।६।१५ मा भएको निर्णयमा कुनै त्रुटी नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको अर्थमन्त्रालय भन्सार विभागको लिखित जवाफ ।

७.    दुर्गाबहादुर बस्नेतलाई रिक्त नै भई नसकेको पदमा अनियमित तरिकाबाट नियुक्त गरेको देखिएकोले कार्यालयको कामकाज नलगाउनु भन्ने प.सं.क.पु.१।२० ०४३।४४ च.नं.१६२ मिति ०४३।५।१३ को पत्र र मु.पदमा ०४३।१।३ देखि इन्द्रबहादुर थापा बढुवा नियुक्ति भएको बहिदार पदमा भने मिति ०४२।६।२९ मा नै दुर्गाबहादुर बस्नेतलाई स्थायी नियुक्ति गरेको र लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए बमोजिम रिक्त पदपूर्ति गर्न कार्यविधि निर्देशित अनुरुप नभएकोले सो स्थायी नियुक्ति गरेको बदर गर्ने मिति २०४३।६।१५ मा निर्णय भएको भन्ने समेत व्यहोराको अर्थमन्त्रालय भन्सार विभागको प.सं.०४३।४४ च.नं. २८६ मिति मिति ०४३।६।१६ को पत्र प्राप्त हुन आएकोले तदनुसारको जानकारीसम्म यस कार्यालयबाट निज दुर्गाबहादुर बस्नेतलाई दिइएको हुँदा यस कार्यालयबाट निजको कुनै हक हनन् भए गरेको छैन तसर्थ रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको लामाबगर भन्सार कार्यालयको लिखित जवाफ ।

८.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिशंकर निरौलाले रिट निवेदकले परीक्षा दिई उत्तिर्ण भई स्थायी बहिदार पदमा नियुक्ति पाएको बा¥हौं महिना वितिसकेपछि भन्सार विभागले निवेदकलाई प्रतिवाद गर्ने मौका नै नदिई स्थायी पद बदर गर्ने गरेको निर्णय त्रुटिपूर्ण भएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने र प्रत्यर्थी कार्यालयको तर्फबाट बहसको लागि खटिई उपस्थित हुनुभएका विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले लोकसेवा आयोगको रिक्त पदपूर्ति गर्ने कार्यविधि नपुर्‍याई अनियमित तरिकाबाट स्थायी पदपूर्ति गरेकोले भन्सार विभागबाट बदर गर्ने गरेको निर्णयमा कुनै त्रुटी नभई कानुन अनुरुप नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने बहस गर्नु भयो ।

९.    यसमा निर्णयतर्फ विचार गर्दा निजामती सेवा नियमावली, २०२१ को परिच्छेद २ नियम २१ (क) ले प्रदान गरेको अधिकार बमोजिम अधिकार प्राप्त अधिकारीले रिट निवेदकलाई नियुक्त गरेको देखिन्छ । निजामती सेवा ऐन, २०१३ को दफा ६(१) मा कुनै निजामती कर्मचारीलाई निज उपर गरिने कारवाहीको सम्बन्धमा सफाईको सबूद दिने मनासिब माफिकको मौका नदिई बर्खासी गर्न वा दर्जा तलब घटाउन हुँदैन भन्ने व्यवस्था गरेको पाइन्छ । रिट निवेदकलाई उक्त कानुनी व्यवस्था अनुसार सफाईको मौका नै नदिई नोकरीबाट  हटाएको कानुन अनुरुप भएको भन्न मिलेन । अतः अधिकार प्राप्त अधिकारीबाट नियुक्ति गरेकोलाई बदर गर्ने गरेको अ.मं.भन्सार विभागको ०४३।६।१५ को निर्णय र सो निर्णयको आधारमा भएको ०४३।६।१६ को पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । सम्बन्धित कार्यालयको जानकारी निमित्त आदेशको प्रतिलिपि साथ राखी म.न्या.का.मा लेखि पठाई फायल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल पौष २१ गते रोज ३ शुभम् ।

