December 8, 1987
Created by nepalarchives

निर्णय नं. ३२८२ – उत्प्रेषण जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

निर्णय नं. ३२८२     ने.का.प. २०४४      अङ्क ११   संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको रिट...

निर्णय नं. ३२८२     ने.का.प. २०४४      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

सम्वत् २०४३ सालको रिट नम्बर १५०२

 विषय : उत्प्रेषण जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 

निवेदक      : जि.बाँके महादेवापुरी गा.पं. वडा नं. ७ बस्ने कुल बहादुर कुँवर ।

विरुद्ध

विपक्षी : प्र.जि.अ., जिल्ला कार्यालय बाँके ।

      मालपोत अधिकृत,मा.पो.का. बाँके।

      काम्दी चौकी बाँके ।

      जिल्ला प्रहरी कार्याल,बाँके ।

      प्रधानपञ्च,महादेवपुरी गा.पं. कार्यालय बाँके ।

      सचिव,महादेवपुरी गा.पं. कार्यालय,बाँके।

      प्र.ज.हर्क बहादुर थापा,काम्दी चौकी,बाँके ।

      जि.सल्यान रामपुर गा.पं. वडा नं४ बस्ने चन्द्र बहादुर वली ।

      ऐ.ऐ बस्ने नोखी बलिनी ।

आदेश भएको मिति: २०४४।८।२२।३ मा

     निवेदकको हकको जग्गा निखी बलिनीको नाममा मालपोत कार्यालय बाँकेबाट रजिष्ट्रेशन पारीत भएको भन्ने कुरा प्रत्यर्थीहरूले समेत स्वीकारेकै देखिन्छ, निवेदकको हकको प्रमाणहरू सामेल गरी नियमानुसार नै पारीत गरेको भन्ने मालपोत कार्यालयको लिखित जवाफबाट देखिँदा बेहोश अवस्थामा मालपोत कार्यालयमा लगी सहिछाप गराएको भन्ने निवेदकको कथन विश्वासनीय नदेखिने ।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने ।

प्रत्यर्थी तर्फबाट: विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट

उल्लेखित मुद्दाःX

आदेश

न्या.प्रचण्डराज अनिलः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    २०४३।२।१५ गते म निवेदकलाई विपक्षी कार्यालयले जवरजस्ती कागज गराएकोमा सो कागज र विपक्षीहरूका सम्पूर्ण काम कारवाही बदर गरिपाउँ भनी सम्मानीत अदालत समक्ष रिट निवेदन दर्ता गरेकोमा उक्त रिट नं. २५२९ मा कारण देखाउ आदेश जारी भएको छ ।

३.    म निवेदकले सम्मानीत अदालतमा रिट निवेदन दर्ता गरी घर गएपछि मलाई बोलाई २०४३।३।१४ देखि १९ गतेसम्म जि.प्र.का.मा थुनामा राखी चन्द्र बहादुरकी श्रीमतीलाई बुझाउन बाँकी रु. किन नबुझाएको मैले गरेको कारवाहीमा मुद्दा गरे २० वर्ष थुनी दिन्छु भन्ने धम्की दिई विपक्षी कार्यालयका प्रहरीसाथ लगाई मलाई अचेत अवस्थामा अर्को कार्यालयमा लगी केही प्याडमा र केही कागजमा सहिछाप गराइयो ।

४.    मुलुकी ऐन रजिष्ट्रेशनको महलको १ नं.ले रजिष्ट्रेशन पारीत गर्दा हकभोगको प्रमाण समेत राख्नु पर्ने कानुनको विपरीत म संग कुनै पनि प्रमाण नभएको र म बेहोस रहेको अवस्थामा जग्गा पारीत गर्न वा अन्य कुनै व्यहोराको कागज गराउनु रजिष्ट्रेशनको १० नं. को प्रतिकूल समेत भएको हुँदा विपक्षीहरूको करकाप र अनुचित प्रभावबाट मेरा ईच्छा विरुद्ध बाध्य पारी कागज गराउन सक्ने अधिकार कुनै पनि कानुनले दिएको नहुँदा विपक्षी कार्यालयको काम कारवाही अ.बं. ३५ नं.ले बदरभागी छ । तसर्थः सम्मानीत अदालतमा गैरकानुनी रुपले गराएको कागज र काम कारवाही बदर गरिपाउँ भनी निवेदन दर्ता गरी कारवाही भइरहेको अवस्थामा २०४३।३।१४ गते पक्राउ गरी कुटपिट र खान नदिई २०४३।३।१९ गते विपक्षी मालपोत कार्यालयले विपक्षी झगडियाका नाममा म बेहोस भएको अवस्थामा प्र.जि.अ.को आदेश भनी हकभोगको प्रमाणको नक्कल नभई गैरकानुनी रुपले मेरा नाममा दर्ता रहेको महादेवपुरी गा.पं. को ०१३७ १/२ जग्गा मध्ये के कति जग्गा विपक्षीको नाममा पारीत गराए वा अन्य के कुन व्यहोराको कागज गराए सो काम कारवाही बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर रहेछ ।

५.    यसमा विपक्षीहरूबाट लिखित जवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जको मिति २०४३।४।२३ को आदेश ।

६.    निवेदकलाई थुनामा राख्ने सम्बन्धमा यस  कार्यालयबाट कुनै आदेश निर्देशन भएको र थुनामा राखेको समेत नहुँदा निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको जि.प्र.का. बाँकेको लिखित जवाफ ।

७.    ठकेरी गा.पं. वार्ड नं. ९ ख.कि.नं. २२६ को ०१३७ मध्ये ०० जग्गा आफ्नो स्वेच्छाले हक छाडी निवेदकले मलाई राजीनामा गरिदिएको र अड्डाबाट सोधपुछ गरी पढी बाँची सुनाई मात्र रजिष्ट्रेशन भएको हुँदा झुठ्ठा निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको चन्द्र बहादुर बली समेतको लिखित जवाफ ।

८.    २०४३ सालको रिट नं. २५२९ को निवेदन ०४३।३।१५ मा बेञ्च समक्ष पेश हुँदा निवेदक त्यही उपस्थित भएको हुँदा ०४३।३।१४ गतेदेखि थुनामा राखेको भन्ने व्यहोरा झुठ्ठा भएकोले निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको महादेवपुरी गा.पं.का प्रधानपञ्च समेतको लिखित जवाफ ।

९.    जग्गा जमीन रजिष्ट्रेशन गर्ने प्रकृया अनुसार जग्गाधनीको ज.ध. पूर्जा र चालू आ.ब.को मालपोत तिरेको रसीद, धनीको ज.ध.प्र. पूर्जा भए सो पनि सामेल राखी रोक्का मोठ भिडाई व्यहोरा दुवै थरीलाई सम्झाई सनाखतमा बस्ने साक्षीहरूको रोहवरमा दुवै थर मन्जूर भएपछि मात्र क्रमशः पेश भएका कागजमा क्रम अनुसार बक्न लगाई सनाखत गराएपछि मात्र लिखत पारीत हुने परिपाटी अनुसार उक्त लिखत पनि यस कार्यालयबाट नियमानुसार पारीत भएको हुँदा झुठ्ठा निवेदन खारेज गरिपाउँ भन्ने समेत मालपोत कार्यालय बाँकेको लिखित जवाफ।

१०.    निवेदकले चन्द्र बहादुरकी श्रीमतीसँग मिलापत्र गरी सोही मिलापत्र अनुसार निवेदकले तिर्नु पर्ने रकम बापत ५ कठ्ठा जग्गा समेत बाँके मालबाट पास गरिदिइसकेको छन् । मिलापत्रको कागज निजले स्वीकार गरी विवाद नै समाप्त भइसकेको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने जिल्ला कार्यालय बाँकेको लिखित जवाफ ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने एवं प्रत्यर्थी कार्यालयहरूतर्फबाट उपस्थित हुनुभएका विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्टले गर्नु भएको बहस समेत सुनियो ।

१२.   प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।

१३.   यसमा मलाई बेहोस अवस्थामा पारी हकभोगको प्रमाण राख्नु पर्ने कानुनको विपरीत कुनै प्रमाण बेगर मालपोत कार्यालयबाट रजिष्ट्रेशन पारीत गरेको बदर गरिपाउँ भन्ने निवेदकको मुख्य जिकिर भएकोमा जिल्ला कार्यालय समक्ष भएको मिलापत्र बमोजिम जग्गा रजिष्ट्रेशन पारीत समेत गरिदिइसकेको हुँदा निवेदन खारेज होस् भन्ने प्रत्यर्थीहरूको लिखित जवाफ देखिन्छ ।

१४.   निवेदकको हकको जग्गा निखी बलिनीको नाममा मालपोत कार्यालय बाँकेबाट रजिष्ट्रेशन पारीत भएको भन्ने कुरा प्रत्यर्थीहरूले समेत स्वीकारेकै देखिन्छ । निवेदकको हकको प्रमाणहरू समेत सामेल गरी नियमानुसार नै पारीत गरेको भन्ने मालपोत कार्यालय बाँकेको लिखित जवाफबाट देखिँदा बेहोस अवस्थामा मालपोत कार्यालयमा लगी सहिछाप गराएको भन्ने निवेदकको कथन समेत विश्वासनीय देखिँदैन । तसर्थ मालपोत कार्यालय बाँकेले गरेको काम कारवाहीमा कुनै त्रुटी नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । रिट निवेदन खारेज हुन्छ । फायल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्र बहादुर सिंह

 

इतिसम्वत् २०४४ साल मार्ग २२ गते रोज ३ शुभम् ।

