निर्णय नं. ३२६२ – उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय नं. ३२६२ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको...
निर्णय नं. ३२६२ ने.का.प. २०४४ अङ्क ११
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको रिट नम्बर १८३१
विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।
निवेदक : जिल्ला बारा दहियार गा.पं. वडा नं. ४ बस्ने सजुग साहतेली ।
विरुद्ध
विपक्षी : भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय बारा ।
जिल्ला वारा दहियार गाँउ पंचायत वडा नं.४ बस्ने वतकी तेलिन ।
ऐ.ऐ बस्ने दिप नारायण साह तेली ।
ऐ.ऐ बस्ने साहेब साह तेली ।
आदेश भएको मिति: २०४४।८।१४।२ मा
एकजना भन्दा बढी व्यक्तिहरूका नाममा मोहियानी हक संयुक्त नामसारी हुनसक्ने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको नदेखिने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाटःX
विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा, विद्वान अधिवक्ता श्री गणेशराज शर्मा
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ :
२. जिल्ला बारा दहियार गा.पं. वडा नं. ६ कि.नं. ३४३ को ज.वि. ०–५–१० जग्गाको मोही मेरो पति रामचरण साहतेली २०३६।७।१५ गते परलोक हुनुभएको छोरा दिपनारायण, साहेव साह बाहेक अरु कोही नहुँदा संयुक्त निवेदन गर्न आएको छौं भन्ने विपक्षीहरूको निवेदन परेकोमा उल्लिखित जग्गाको मोही स्वयं गणेश साह तेली भई निजले १ नं. लगत आदि भरेको यस कार्यालयमा छ । मोही रामचरण साह तेली नहुँदा निजलाई स्थायी वा अस्थायी कुनै पनि मोहियानी प्रमाणपत्र प्राप्त छैन । भिखु साहको जेठो छोरा मेरा पिताजी रामफल साह माहिला विपक्षीको पति रामचरण साह र कान्छो शिववरण साह हुन् । उल्लिखित जग्गा २०३८।४।९ को पारीत बण्डापत्र बमोजिम म सर्जुग साहको नाममा दर्ता भई म आफैंले जोती आएको छु मेरो प्रतिवाद भएकोमा वादीका पति तथा पिताका नाममा मोही दर्ता देखिएको दावी जग्गा जग्गाधनीले कुनै एक उपर पत्यार गरेको नदेखिँदा संयुक्त मोही नामसारी हुने ठहर्छ । मोही लगतमा जनाई वादीहरूका नाममा संयुक्त ३ नं. प्रमाणपत्र बनाई दिनु भन्ने विपक्षी भूमि सुधार अधिकारीबाट २०४३।५।२५ गते निर्णय भएको छ ।
३. विपक्षीहरूका पति पिता रामचरण साह तेली मेरो उल्लिखित जग्गाको मोही होइनन् निजसँग मोहियानीका प्रमाणपत्र पनि छैन । नापीमा रामचरणले केवल फिल्डबुकमा भतिजा गणेश साह तेलीको नम्बरी मैले भोगी आएको भन्ने लेखाएका छन् यतिकै आधारमा नापी का समयमा सगोलमा रहेका परिवारको जग्गामा मोहियानी हक प्राप्त हुनसक्ने होइन । त्यसमा पनि यदि विपक्षीका पति पिता रामचरण मोही देखिएको स्थितिमा पनि जग्गावालाले पत्याएको कुनै लाई प्राप्त हुनसक्ने हो संयुक्त नामसारी हुने भनिएको फैसला भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को त्रुटिपूर्ण भएको र त्यस्तो त्रुटीपूर्ण फैसलाबाट निवेदकको नेपालको संविधान, २०१९ को धारा १०(१),११(२)(ङ) र धारा १५ समेत द्वारा प्रदत्त मौलिक हक हनन भएकोले यो निवेदन गर्न आएको छु । अतः विपक्षी भूमि सुधार अधिकारीको उक्त २०४३।५।२५ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत सर्जुग साह तेलीको रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने एक न्यायाधीशको इजलासको मिति २०४३।७।११ गतेको आदेश ।
५. हाम्रा पति पिता रामचरण साह तेली विवादित कि.नं. ३४३ को रीत पूर्वकको मोही हुनुहुन्थ्यो । उहाँको नाममा उक्त जग्गाको भूमिसम्बन्धी नियमावलीको अनुसूची १ र २ नं. बमोजिम रितपूर्वक लगत प्रकाशन भएको छ । विपक्षीहरूको बाबुसँग हाम्रा पिता पति धेरै अघि छुट्टी भिन्न हुनुभएको हो । विपक्षीले उल्लेख गर्नु भएको भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को व्याख्या पनि गल्ती छ । मोहीको मृत्युपछि मोहियानी हक पति पत्नी वा छोराहरू मध्ये जग्गाधनीले पत्याएको व्यक्तिमा सर्ने बाध्यात्मक व्यवस्थालाई जग्गाधनीले नपत्याएको आधारमा मोहियानी लगत खारेज हुने होइन । हामी सबैले संयुक्त निवेदन दिई हामी जो सुकैको नाममा मोहियानी हक सरेमा मन्जूरी दिएकाले ऐनको बाध्यात्मक व्यवस्था बमोजिम हामी सबैको नाममा सो हक सरेको कानुन अनुरुप नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी वतकि तेलिन, दिपनारायण साह तेली, साहेव तेली समेतको संयुक्त लिखित जवाफ ।
६. निवेदक मोहीले मोहिमा जोति आएको प्रमाण मोहीले यस कार्यालयमा कूतबाली धरौट राखेको र गा.पं. ले समेत मोही नामसारी गरिदिन भनी सिफारिश गरेको देखिँदा जग्गाधनीले कुनै एकलाई पत्यार गर्नु पर्नेमा नगरेको देखिँदा दर्तावाला मोहीका छोरा र पत्नीका नाममा संयुक्त मोही नामसारी गरिएको हो । रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी भूमि सुधार कार्यालय बाराको लिखित जवाफ ।
७. पेश हुन आएको प्रस्तुत रिट निवेदनमा प्रत्यर्थी कार्यालयतर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा तथा प्रत्यर्थी दीपनारायण साह तेली समेत तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री गणेशराज शर्माले रिट निवेदकका नामको दर्ता जग्गाको मोही रामचरण साहतेली भएको र निजका नामबाट १ नं. र २ नं. लगत समेत तयार भएको छ । रामचरण साहतेली विवादित जग्गाको मोही भएको र निजको स्वर्गे भएकाले मृतक मोहीको पत्नी छोराहरूका नाममा मोहियानी हक नामसारी गरिदिएको कानुन अनुरुप नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
८. प्रस्तुत रिट निवेदनबाट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने वा नपर्ने के हो सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा मेरा नाममा दर्ताको जिल्ला बारा दहियार गा.पं. वडा नं. ६ कि.नं. ३४३ को ज.वि. ०–५–२० जग्गामा मोही नै नभएको विपक्षीहरूको पति पिता स्व.रामचरण साह तेलीलाई मोही ठहराई निजका नामबाट विपक्षी दिपनारायण साह तेली समेतका नाममा संयुक्त मोही नामसारी गरिदिने ठहर्याएको विपक्षी भूमि सुधार कार्यालय बाराका भूमि सुधार अधिकारीको मिति २०४३।५।२५ को निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) समेतको विपरीत भई त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ ।
१०. प्रत्यर्थी कार्यालयतर्फबाट उपस्थित हुनुभएका विद्वान मुख्य न्यायाधिवक्ताले इजलास समक्ष देखाएको सम्बन्धित फायल हेर्दा सर्जुग साह तेलीका नाममा दर्ताको दहियार गा.पं. वडा नं. ६ कि.नं. ३४३ को ज.वि. ०–५–१० जग्गाको मोही हामी निवेदकका पति पिता रामचरण साह तेली हुनुभएकोमा निज परलोक भएकाले हामी मध्ये जग्गाधनीले पत्याएको व्यक्तिलाई मोही नामसारी गरिपाउँ भनी मरुवा मोही रामचरण साह तेलीको पत्नी बतकी तेलीन र छोरा दिपनारायण साह तेली र साहेव साह तेलीको संयुक्त निवेदन प्रत्यर्थी भूमि सुधार कार्यालय, बारामा दिएकोमा वादीको पति तथा पिता रामचरण साह तेली दावी पत्यार गरेको नदेखिँदा संयुक्त मोहियानी नामसारी हुने ठहर्छ मोही लगतमा जनाई वादीहरूका नाममा संयुक्त ३ नं. प्रमाणपत्र बनाई दिने भनी प्रत्यर्थी भूमि सुधार अधिकारीले मिति २०४३।५।२५ मा निर्णय गरेको पाइन्छ ।
११. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने उल्लेख भएको पाइन्छ । यस व्यवस्थाबाट मोही सम्बन्धी हक निजको मोही पछि जग्गावालाले पत्याएको मोहीको पति, पत्नी वा छोराहरु मध्ये कुनै एकलाई मात्र प्राप्त हुनसक्ने देखिन्छ । एक जना भन्दा बढी व्यक्तिहरूका नाममा मोहियानी हक संयुक्त नामसारी हुनसक्ने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको देखिँदैन । यसबाट प्रत्यर्थी भूमि सुधार कार्यालय बाराका भूमि सुधार अधिकारीले प्रत्यर्थी दिपनारायण साह तेली समेत ३ जनाका नाममा विवादित जग्गाको मोहियानी हक संयुक्त नामसारी हुने ठहराएको २०४३।५।२५ को निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को त्रुटी गरी निर्णय गरेको देखिन आयो ।
१२. तसर्थ प्रत्यर्थी दिपनारायण साह तेली समेतका नाममा विवादित जग्गाको मोहियानी हक संयुक्त नामसारी हुने ठहर्याएको प्रत्यर्थी भूमि सुधार अधिकारीको मिति २०४३।५।२५ गतेको त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम पुनः निर्णय गर्नु भनी प्रत्यर्थी भूमि सुधार कार्यालयका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । यो निर्णयको एक प्रति प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाउन फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायम म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४४ साल मंसीर १४ गते रोज २ शुभम् ।