November 29, 1987
Created by nepalarchives

निर्णय नं. ३२६० – उत्प्रेषणको लगायतको रिट आज्ञा, आदेश वा पुर्जीजारी गरिपाउँ

निर्णय नं. ३२६०     ने.का.प. २०४४      अङ्क ११   संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको...

निर्णय नं. ३२६०     ने.का.प. २०४४      अङ्क ११

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको रिट नम्बर १६४९

विषय : उत्प्रेषणको लगायतको रिट आज्ञा, आदेश वा पुर्जीजारी गरिपाउँ

 

रिट/निवेदक: सप्तरी जिल्ला रायपुर गा.पं.. (नकटी रायपुर) वडा नं. ७ मौज रायपुर बस्ने बसन्ती यादव ।

विरुद्ध

विपक्षी : श्री भू.सु. अधिकारी भू.सु. का सप्तरी जिल्ला अदालत राजविराज नगर पञ्चायत

वडा नं. ३ बस्ने भरतप्रसाद साहू सोनार ।

ऐ.ऐ बस्ने नेवीन कुमार साहू सोनार ।

आदेश भएको मिति: २०४४।८।१३।१ मा

     पछि जग्गा अरुको नाममा सर्दैमा मोहियानीको कुरामा त्यसले कुनै असर पार्न नसक्ने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह

प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री जितबहादुर कार्की

उल्लेखित मुद्दाःX

आदेश

प्र.न्या.धनेन्द्र बहादुर सिंहः श्री भूमि सुधार अधिकारीज्यूको मिति ०४३।४।१० को निर्णय बदर गरी  पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.    स्वर्गीय विहारी यादवको २ छोरा मध्ये जेठा म बसन्ती र कान्छा बासुदेव भएकोमा बासुदेवकै पालामा २०१३ साल वैशाख १ गतेदेखि दुवै दाजुभाई घरसारमा आआफ्नो अंश बाबुबाट लिई छुट्टिई भिन्न भएको, बासुदेवको आफ्नो अंश भागमा परेको जग्गा मध्ये अन्दाजी ०० जग्गा विपक्षीको बाबु जामुन साह सोनारलाई राजीनामा गरी दिएको र बासुदेवले बिक्री गरेको सालदेखि नै उक्त जग्गा मोहियानीमा जोत्दै आएको छु । जामुन साहको मृत्युपछि विपक्षीले म बाट ०३६।०३७ र २०३८ सालको बाली बुझी मलाई बाली बुझेको भर्पाई दिनु भएको छ । मैले भू.सु. टोलीमा १ नं. फाराम भरी २ नं. अनुसूची प्रकाशित भई ४ नं. जो.अ.नि. लिएको थिएँ । सर्भे हुँदाका बखत म गाउँ घरमा नभई भारतमा भएकोले फिल्डबुक को मोही महलमा मेरो नाम लेखिएन । उक्त जग्गा गा.पं. नकटी रायपुर वार्ड नं. ६ क को कि.नं. ११० मा ०६ कायम भई नापनक्शा भयो । स्थानीय रायपुर गा.पं. को सिफारिश समेत लिई ३ नं. को मोहियानी प्रमाणपत्र पाउ भनी भू.सु.का. सप्तरीमा ०३९।१२।२ मा मैले निवेदन दिएकोमा बासुदेवबाट जग्गा खरीद गरेकोले मोहियानी हक पाउने होइन भन्ने समेत व्यहोराको प्रतिवाद विपक्षीले गर्नु भयो । यसमा मालपोत कार्यालय सप्तरीको मिति ०४३।४।१० को पत्रबाट नकटी रामपुर वार्ड नं. ६ क.कि.नं. ११० को ०६ जग्गा विपक्षीका नाममा कायम नै नरहेको भन्ने लेखी आएकोले विपक्षीको नाउँको जि.स.गा.पं.नकटी रायपुर वार्ड नं. ६ क.कि.नं. ११० को ज.वि.०६ मा दावी पुग्दैन उजूरी खारेज हुने ठहर्छ भनी श्री अधिकारीज्यूबाट ०४३।४।१० मा आदेश गरियो जुन निर्णय त्रुटिपूर्ण छ ।

३.    भूमि सम्बन्धी ऐन, २०२१ लागू हुनु भन्दा अघिनै जामुन साह सोनारले बासुदेवबाट जग्गा खरीद गर्नु भएको र मलाई मोहिमा जोत्न दिनु भएको थियो जुन कुरा १ नं. र २ नं. अनुसूची तथा ४ नं. जो.अ.नि. बाट प्रमाणित हुनु हुन्छ । २ नं. अनुसूची प्रकाशित भएको प्रमाण भू.सु.का.मा मौजूद छ । सर्भे फिल्डबुकको मोही महलमा मेरो नाम नलैख्दैमा मेरो मोहियानी हक समाप्त हुने होइन । विपक्षीले मलाई २०३६, २०३७ र २०३८ सालमा बाली बुझी भर्पाई दिनु भएको छ र जग्गा मेरो जोतमा छ । मेरो मोहियानी भित्रको जग्गा विपक्षीले हाल आफ्नो छोरा विपषी मध्येका नविनकुमार साह सोनारको नाममा दर्ता गराउनु भएको छ । विपक्षीले २०३९ सालमा फौ.नं. ७८३ र २०४१ सालको फौ.नं. १७६ को यसै जग्गाको सम्बन्धमा लुटपिट मुद्दा मेरो नाममा सप्तरी जिल्ला अदालतमा दिनु भएकोमा विपक्षीले तारिख छोडी क्रमशः ०४१।१।१७ गते तथा ०४२।३।२३ गतेमा डिसमिस फैसला गराउनु भएको छ । रायपुर गा.पं.ले सरजमीन गरी ३ नं. मोहियानी प्रमाणपत्र दिनका लागि भू.सु.का.मा सरजमीन मुचुल्का सहित सिफारिश गर्नु भएको छ। श्री अधिकारीज्यूले सबूद प्रमाणको सही मूल्याङ्कन नगरी न्यायिक मनको अभावमा गरिएको त्रुटिपूर्ण निर्णयबाट मेरो संविधानको धारा १०(१)११(२)(ङ) तथा १५ अन्तर्गतको संवैधानिक हक तथा अन्य कानुनी हक समेत हनन भएकोले अन्य उपचारको अभाव हुँदा संविधानको धारा १६।७१ अन्तर्गत निवेदन गर्न आएको छु । उत्प्रेषण लगायतको आदेशद्वारा श्री अधिकारीज्यूको २०४३।४।१० गतेको फैसला बदर गरी हनन भएको हकहरू प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन ।

४.    विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत सिंगल बेञ्जको मिति ०४३।५।१९।५ को आदेश ।

५.    विपक्ष रिट निवेदकको दावीका कित्ता जग्गाको सम्बन्धमा श्री मालपोत कार्यालयलाई बुझ्दा विपक्ष जामनुप्रसाद सोनारको गाउँको जग्गा मोठ श्रेस्तामा कायम नरहेको भन्ने मिति ०४३।४।१० को पत्रबाट  लेखि आएकोले विपक्षीका नाउँको उक्त जग्गामा वादी निवेदकको दावी नपुग्ने हुँदा खारेज हुने ठहर्छ भनी मिति ०४३।४।१० मा भएको फैसला कानुनको परिधिभित्र रही भएको हुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी भूमि सुधार कार्यालय सप्तरीको लिखित जवाफ ।

६.    दाजुले बिक्री गरेको जग्गामा एकासगोलको भाइ मोही हुन सक्दैन । विपक्षीले पेश गरेको ४ नं. को चौहदी र विवादित जग्गाको चौहदीमा पूरै फरक छ । विपक्षीले जुन २ नं. अनुसूची देखाएको छ त्यो अर्कै जग्गाको हो । मोही कायम हुन सक्दैन । त्यस्तो २ नं. लाई प्रमाणमा लगाउन मिल्दैन । रिट निवेदकले विवादित हाम्रो जग्गा कहिले पनि मोहिमा कमाएको छैन । र जग्गा जोतेको कबूलियत र भर्पाई पेश गर्न कसेको छैन । अधिकारीज्यूले सबूद प्रमाणको मूल्याङ्कन गरी न्यायिक मन प्रयोग गरी कानुन बमोजिम निर्णय गरेको र यस निर्णयबाट रिट निवेदकको कुनै पनि संवैधानिक तथा कानुनी हकको हनन् नहुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षीहरू भरतप्रसाद सोनार र नवीनकुमार साहू सोनारको संयुक्त लिखित जवाफ ।

७.    निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहले विवादित जग्गाको रिट निवेदक विधिवत मोही हो भन्ने कुरा १ नं. लगत २ नं. अनुसूची र ४ नं. जो.अ.नि.बाट देखिन्छ । सो प्रमाणहरूको मूल्याङ्कन नगरी न्यायिक मनको अभावमा रिट निवेदकको दावी पुग्दैन भनी खारेज गरेको भू.सु.का.को निर्णय त्रुटीपूर्ण हुँदा बदरभागी छ भन्ने समेत र प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री जितबहादुर कार्कीले विपक्षीले अनुसूची पाएको मितिदेखि जग्गा कमाई आएको भनेको छ तर मोहिमा जग्गा जोतको प्रमाण समेत नहुँदा मोही कायम गर्न नमिल्ने भनी भू.सु.का.ले गरेको निर्णयबाट निवेदकको कुनै हक हनन् भएको छैन भन्ने समेत बहस गर्नु भयो ।

८.    प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

९.    यसमा निर्णयतर्फ हेर्दा प्रत्यर्थी भूमि सुधार अधिकारीले मालपोत कार्यालय सप्तरी बुझ्दा जमुन साहु सोनारका नामको जग्गा मोठ श्रेस्तामा कमाई नरहेको भन्ने लेखि आएको साथै वादी स्वयंले अनुसूची पाएको मितिदेखि जग्गा कमाई आएको कुरा स्वीकर गरी उजूरी दिएकोले वादी दावीको मोही हो भन्न नमिल्ने र मालपोत कार्यालयको ०४३।४।१० को पत्रबाट जग्गा विपक्षीका नाममा कायम नरहेकोले जग्गा दावी पुगेन, उजूरी खारेज हुने ठहर्छ भनी निर्णय गरेको देखिन्छ ।

१०.    विवादित जग्गामा रिट निवेदक मोही जनिई २ नं. अनुसूची प्रकाशित हुँदा जामुन साह सोनारलाई जग्गाधनी देखाएको पेश गरेको २ नं. अनुसूचीको नक्कलको फोटोकपीबाट देखिन्छ । सो २ नं. अनुसूची प्रकाशित हुँदाको अवस्था विवादित जग्गा जामुन साह सोनारका नाउँमा कायम रहेको कुरामा विवाद छैन । पछि सो जग्गा अरुको नाममा सर्दैमा मोहियानीको कुरामा त्यसले कुनै असर पार्न सक्ने हुँदैन । उक्त २ नं. अनुसूचीमा कुनै उजूर परी अन्यथा भएको पाइँदैन । यसप्रकार अन्तिम भइरहेको सो २ नं. अनुसूचीको सम्बन्धमा कुनै विवेचना नै नगरी त्यस्को वैधताको कुनै प्रश्न नै उत्पन्न नगरी प्रत्यर्थी भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय सप्तरीले दावी पुगेन भन्दै उजूरी खारेज गर्ने गरेको मिति ०४३।४।१० को निर्णय त्रुटिपूर्ण देखिन आयो ।

११.    अतः उपर्युक्त उल्लेख भए अनुसार प्रत्यर्थी भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय सप्तरीको मिति ०४३।४।१० को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायम म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल मार्ग १३ गते रोज १ शुभम् ।