निर्णय नं. ३२६ – खुन
निर्णय नं. ३२६ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशी २०२२ सालको फौ.फु.नं.३८ निवेदक ...
निर्णय नं. ३२६ ने.का.प. २०२३
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री लोकराज जोशी
२०२२ सालको फौ.फु.नं.३८
निवेदक : हे.कं.पद्मबहादुर खत्री क्षेत्री
विरुद्ध
विपक्षी : रामरत्न मुराउ
मुद्दा : खुन
(१) मिसिलबाट भनाइ समर्थित नभएमा र मौका सर्जमिनका मानिसले कसुरको पुष्ट्याँई गरी लेखी दिएमा कसुर रहनेछ भन्न नमिल्ने ।
मर्ने गुर्दि मुहाउ सुतिरहेको ठाउँमा आफूसमेत गएकोमा निवेदक हे.कं.पद्मबहादुर सावित भएको देखियो । गौरीशंकरले लछारपछार पारेको भन्ने निज हे.कं. पद्मबहादुरको भनाइका हकमा त्यो कुरा मिसिल प्रमाणबाट समर्थित हुनसकेको देखिएन । बुहारीलाई ढोका घचघच्याएको थिएँ । बुहारीले ढोका खोलिन भन्ने रीसले भगवानपुर पुलिस चौकीको हवल्दार भन्नेले मलाई कुटेका हुन भनी मर्ने गुर्दिको मुखबाट सुनेको र वारदातको भोलिपल्ट बिहान ७ बजेको टायम भगवानपुर पुलिस चौकीको नयाँ हवल्दार भन्ने आई गुर्दिको नजिकमा गई निजको घा चोटबाट निस्केको रगतलाई पानी मगाई आफैले धुँदै मैले आज राती यो बुढालाई सित्तैमा चुटेंछु । मेरो गल्ती हो भनेको सुनेको समेत भनी प्र.सरांअरि समेतले र भोलीपल्ट बिहान हवल्दार भन्ने मानिस आई माफि मागेको सुनेको समेत भनी हनुमानप्रसाद समेतले मौका तहकिकात सर्जमिनमा लेखी दिएको समेतबाट मर्ने गुर्दि मुराउलाई निवेदक हे.कं.पद्मबहादुरले नै लछार पछार पारे कुटेको प्रमाणित हुने हुँदा निजको कसुर रहेनछ भन्न मिलेन ।
(प्रकरण नं. १२)
(२) कस्तो वारदात भबितव्य भन्न नमिल्ने ? मर्नेको पोष्टमार्टममा प्रसस्त निल डाम छाला खुईलेको घाउ खत र स्पलीनको पर्दामा चोट समेत लागी रगत जमेको समेत देखिन आएमा भबितव्य भन्न नमिल्ने ।
हाल जाँच पोष्टमार्टमबाट ५ वटा निल २ वटा छाला खुइलेको घाउ खत र स्प्लीनको पर्दामा चोट लागी रगत जमेको सोही चोट पिरले मरेको भन्ने देखिएको र सिर्फ पालो पहरा किन नगरेको भन्ने स्वभावले यस्तो अवस्थामा यस किसिमसँग घाउ चोट पर्ने गरी कुटेको हुनु नपर्ने हुनाले यस्तो अवस्थाको कसूरलाई भवितव्य भन्ने ऐनले मिल्ने देखिन आएन ।
(प्रकरण नं. १३)
थुनुवाको तर्फबाट : एडभोकेट गजेन्द्रबहादुर प्रधान, एडभोकेट दिनेशमान प्रधान, बैतनिक वकिल सुधानाथ पन्त
फैसला
१. म आफ्नु घर बसन्तपुरमा थिएँ ।१५।२।७ राती आमिटोलामा मेरा बाबु गुर्दो घरको उत्तर ढोकानेर सुती निदाई रहेको अवस्था गस्तीमा आएका भगवानपुर चौकीका नचिनेका पुलिसहरू आई पहरा नगर्ने भनी निज बाबुलाई हात समाती लछार पछार पारी २ थप्पड कुटेछन् । त्यहाँबाट गस्ती गर्दै गए भन्ने कुरा भोलीपल्ट मेरा बाबुले मलाई भनेका र मेरा बाबु बराबर बिरामी भैरहने बृद्ध अवस्था भएको । पुलिसले थप्पड समेत लगाएको हुँदा त्यसपछि व्यथा निकै बढेकोले औषधी गर्दै रही १३ गतेदेखि बोली समेत बन्द भई मर्ने सम्भावना देखिएकोबाट घाउ जाँच गराई आफ्नो बचाउ गर्न निमित्त भैरहवा ल्याई रहेको । बजारमा आई पुगेपछि ०१५।२।१४ गते मरेको हुँदा काल कर्तव्य के बाट मरेका हुन ? पोष्टमार्टम जाँच भई छुट्ट्याई पाउँ भन्ने समेत रामरतन र मुराउको उजुरी दरखास्त ।
२. ०१५ साल जेष्ठ ७ गते भगवान चौकीमा बसी रहेको मौका गौरीशंकर आई डस्तादको सुराकी आएको छ, पक्राउ गर्न मद्दत दिनुहोस भनेकाले इन्चार्ज बेनीप्रसादले म समेतलाई साथमा लिई बगीया मौजा माग भोर गौरीशंकरले तिमीहरू पछाडी बस म अगाडि गएँ भनी आमिटी लामा गए । ८।१० मिनेट बाद म पनि गएँ । री.भक्तबहादुर केही पछाडी थियो । म पनि पुगेपछि ढोकाको बगलमा सुती रहेको मानिसलाई झाँगल झुँगल पार्दा निज भुईमा लडेकोले यो को हो भनी लाईट बाली हेर्दा, सो मानिस खटियाको आड लागि उठ्न खोज्दा अर्को पल्ट लड्यो । गौरीशंकरलाई हप्काई निजलाई खटीयामा सुताई दिई त्यसै रात २ बजे फर्की चौकीमा आयौं । झाँगल झुँगल गरेको अवस्था कं.यमबहादुर मेरै साथ थियो । भक्तबहादुर पछाडि थियो । म, यमबहादुर र भक्तबहादुरले कुटपीट लछारपछारको नै गरेको हैन भन्ने समेत ह.कं.पद्मबहादुरको बयान ।
३. ईन्चार्ज बेनीप्रसादले मलाई समेत खटाई दिएबाट गौरीशंकर समेत साथमा लिई गई गुर्दिको घर पुगेपछि गौरीशंकर सुतेको मानिस तिर गई निजलाई समाती झांगल झुंगल गरी लागी गर्यो । निज लडेबाट हवल्दार पद्मबहादुरले गौरीशंकरलाई हप्काई हामी तीनजनाले उठाई खटीयामा सुताई दियो । झांगल झुंगल पार्दा भक्तबहादुर थिएन भन्ने समेत कन्स्टेबुल यमबहादुरको बयान ।
४. बेनीप्रसादले मलाई समेत खटाई दिएकोबाट सबैजना वगियामा गयौं । गौरीशंकरले तिमीहरू पछि–पछि आउ भनी गयो । दक्षिण खेतमा पुगेपछि म दिसा बसी उठी सकेपछि पद्मबहादुर, यमबहादुर फर्कि आए । सुराकी पनि भाग्यो । उस्तादको पनि पत्ता लागेन भनेकाले त्यहींबाट आयौं भन्ने समेत री.भक्तबहादुरको बयान ।
५. उक्त दिन रातमा म आफ्नो घरैमा छु । गुर्दिलाई कुट पीट गरेको समेत हैन । मैले सुराकी काम गरेको समेत गौरीशंकरको बयान ।
६. हे.कं.पद्मबहादुर गस्तीमा गएमा सो सावित देखिएकाले गस्तीमा गएको दल मध्ये मुख समेत भएकोबाट हे.कं.पद्मबहादुरले गुर्दिलाई कुट पिट गरेको र सोही चोट पिरले कर्तव्य परी मरेकोले निजलाई ज्यानसम्बन्धीका २६ नं.ले २० वर्ष कैद र कं.यमबहादुर री.भक्तबहादुर गौरीशंकर समेतले कुट पीट गर्दा रोक्ने छुट्टयाउने समेत नगरी पद्मबहादुरले गरेको कसुर छिपाउने सम्मको मतलवी हुँदा ज्यानसम्बन्धी ३१ नं.का ३ दफाले ६। देखि ३। वर्षसम्म तजबीजले कैद हुने ठहर्छ भन्ने समेत ०१६।१।८ गतेको बेथरी विशेष अदालतको जाहेरी फैसला ।
७. मिसिल प्रमाणबाट मैले कसुर गरेकै नठहरिने कुरामा मेरो उपर लाग्नै नसक्ने ज्यानसम्बन्धीको २६ नं.लगाई सजाय दिएकोमा चित्त बुझेन । गरे बिराएकै ठहरे पनि ज्यानसम्बन्धी भवितव्यको ६।१०।११ नं.को ऐन लाग्नु पर्ने समेत हुँदा हक इन्साफ पाउँ भन्ने हे.कं पद्मबहादुरको अपील ।
८. मर्ने गुर्दी मुराउ सुतेको ठाउँमा ०१५।२।७ गते राती गएको हुँदै होइन भन्न अपीलाटले नसकी गएमा साबितै र हामीले कुटे लछार पारेको होईन । गौरीशंकरले लछारपछार गरेको हो भन्ने आपिल जिकीर भएमा बिनाकारण गौरीशंकरले लछार पछार गर्नुपर्ने अवस्था केही देखिंदैन । निजले मैले होइन भनी बयान गरेको थानाका सिपाहींलाई कुटे भनी छोरा र बुहारीहरू गाउँलेसँग मर्नेले भनेको भन्ने उजुरवालाको छोरा समेतको बयानबाट देखिन आएको । गौरीशंकरले कुट्यो सिपाहीले कुटेनन भन्ने मर्नेले र अरुले नभनेकाले समेत बेथरी विशेष अदालतले ठहराई जाहेर गरेको इन्साफ मनासिव छ । ज्यानसम्बन्धीको ३१ नं.बमोजिम कन्स्टेबुल प्रेमबहादुर र भक्तबहादुर गौरीशंकरलाई ३ वर्षका दरले कैद गर्नु भन्ने समेत डिभिजन बेञ्चबाट भएको ०१८।२।१।१ को फैसला ।
९. सो ईन्साफमा चित्त बुझेन । दोहर्याई पाउँ भन्ने हे.कं पद्मबहादुरको निवेदन पर्न आएको । न्यायीक समितिबाट साविक मुलुकी ऐन ज्यानसम्बन्धीका २६ नं.लगाई हे.कं पद्मबहादुरलाई कैद वर्ष २०।–र नं.३१ को दफा ३ लगाई यमबहादुर, भक्तबहादुर र गौरीशंकरलाई कैद वर्ष ३।–का दरले लाग्ने गरी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१८ साल जेष्ठ १ गतेमा फैसला भएको देखियो । जाहेरवाला रामरत्न निजको स्वास्नी टामुरा समेतका सामुन्ने नयाँ हवल्दारले झांगल झुंगल पारी २ थप्पड पिटे भनी मर्ने गुर्दि मुरादले भनेको भन्ने दर्खास्त बयानबाट र भोलीपल्ट बिहान आई हिजो बेलुका सित्तै पिटेंछु भनी गुर्दिसँग निज हवल्दारले माफि मागेको भन्ने कुरा प्रसराम समेतका सर्जमिन कागजबाट देखिएको र निज पद्मबहादुर समेत वारदातको रात र भोलीपल्ट बिहान गुर्दिको घरमा गएको भन्ने कुरामा स्वयं साबित भई कुटपीट झांगल झुंगल गरेकोमा ईन्कारी गरेको बयान छ तापनि निजले झांगल झुंगल कुटपीट नगरेको भए मर्ने गुर्दिले निजको छोरा बुहारी र सर्जमीनका व्यक्तिहरूसँग समेत नयाँ हवल्दारले झांगल झुंगल कुटपीट गरेको भनी झुठ्ठा कुरा भन्नु पर्ने निज गुर्दिसँगको र गुर्दिले नभनेको कुरा रामरत्नले र सर्जमिनले भन्नु पर्ने कुनै रिसईबी कारण समेत निज पद्मबहादुर समेतले देखाई बयान गर्न नसकी रिसईबी केही छैन भन्ने बयान गरेको समेतबाट निज पद्मबहादुरले झांगल झुंगल कुटपिट गरेकै चोट पिरले गर्दा मर्न गएको भन्ने सिद्ध हुन आउने र यमबहादुर समेत निज पद्मबहादुरको साथै देखिएका निजहरूले निज पद्मबहादुरले गरेको कसुरमा केही नगरी हेरी रहने मतलवी देखिन आएको समेत प्रमाण परिबन्दबाट ईन्साफ मिलेकै देखिएको । सजायको हकमा साविक मुलुकी ऐन खारेज भई ०२० साल भाद्र १ गतेदेखि नयाँ मुलुकी ऐन प्रारम्भ भएको र साविक मुलुकी ऐन ज्यानसम्बन्धी २६ नं.को कसुर र सजाय हाल नयाँ मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं.मा र साविक मुलुकी ऐन ज्यानसम्बन्धीको ३१ नं.को कसुर सजाय नयाँ मुलुकी ऐन ज्यानसम्बन्धीको १७ नं.मा रहन आएको देखिएको र पुरानो मुलुकी ऐन ज्यानसम्बन्धीको ३६ नं.२०।–वर्ष कैद हुने कसुरमा नयाँ मुलुकी ऐन ज्यानसम्बन्धीको उक्त १४ नं.मा १०।–वर्ष कैद गर्ने व्यवस्था रहेको र उक्त ३१।१७ सजायको हद मिलेकै देखिएकोले सो ऐनबमोजिम सजाय गरेको अरुका हकमा बाहेक पद्मबहादुरका हकमा केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन ०२० को दफा ४ को उपदफा (३) मा कुनै कामकुरामा साविकको मुलुकी ऐन अन्तर्गत कुनै अपराध अभियोग लागी अदालतबाट कसुरदार ठहराई यो ऐन प्रारम्भ हुँदाका बखत कुनै व्यक्तिले सजाय भोगी रहेको वा निजलाई सजाय हुने गरी फैसला वा आदेश भईरहेकोमा त्यस्तो काम कुरा अनुसुचीमा उल्लेख भएका नेपाल ऐन अन्तर्गत पनि अपराध ठहरिने रहेछ र यसमा साविकको मुलुकी ऐनबमोजिम भएको सजाय भन्दा अनुसूचिमा उल्लेख भएका नेपाल ऐनमा कम सजाय तोकिएको रहेछ भने सो बढी भए जति सजाय स्वतः मिनाहा भएको मानिनेछ भन्ने उल्लेख भएको र अनुसूचि १ मा ०२० साल भाद्र १ गते देखि लागू हुने गरी जारी भएको मुलुकी ऐन भन्ने लेखिएको देखिएकोबाट नयाँ मुलुकी ऐन र केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, ०२० प्रारम्भ भएपछि उक्त केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, ०२० को दफा ४ को उपदफा (३) मा व्यवस्था भएको वाक्यहरूबाट नयाँ मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं.बमोजिम कैद वर्ष १०।–दश मात्र गरी बढी सजायको लगत काटी दिनु पर्ने देखिएकोले सो फैसला संशोधनको निमित्त दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट शिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहोर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचिवालयबाट लेखी आएको ०२०।१०।२१।५ को हुकुम प्रमांगी ।
१०. बक्स भई आएका हुकुम प्रमांगीको व्यहोरा समेत श्री मा.प्र.न्या.ज्यू मा पेश हुँदा बक्स भई आएका हु.प्र.बमोजिम गर्ना निमित्त दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्न भन्ने समेत ०२२।१०।२१।५ मा आदेश भएको ।
११. यसमा पेशीको तारेख २३।३।१०।६ मा पेश हुन आएकोमा वादी रामरत्न मुराउ उपस्थित नभएकोले थुनुवा निवेदक हे.कं.पद्मबहादुरलाई रोहवरमा राखी निजको तर्फबाट रहेका विद्वान एडभोकेट श्री गजेन्द्रबहादुर प्रधान विद्वान एडभोकेट श्री दिनेशमान प्रधान र विद्वान वैतनिक वकिल प्लीडर श्री सुधनाथ पन्तले गरेको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा मर्ने गुर्दि मुराउ कुटपिट कै चोट पिरबाट मरेको भन्ने कुरा लासजाँच पोष्टमार्टम समेतबाट प्रष्ट भईरहेकैले त्यसतर्फ विचार गरी रहनु परेन ।
१२. निज गुर्दि मुराउलाई मैले लछारपछार पारे कुटेको समेत होईन । मेरो कसुर छैन भन्ने निवेदकको जिकीर भएतर्फ विचार गरेमा ०१२ साल जेष्ठ ७ गते राती मर्ने गुर्दि मुराउ सुति रहेको ठाउँमा आफू समेत गएकोमा निवेदन हे.कं पद्मबहादुर सावित भएको देखियो । गौरीशंकरले लछारपछार पारेको भन्ने निज हे.कं.पद्मबहादुरको भनाईका हकमा त्यो कुरा मिसिल प्रमाणबाट समर्थित हुन सकेको देखिएन । बुहारीलाई ढोका खोल भनी ढोका घचघच्चाएको थिएँ । बुहारी ढोका खोलीन भन्ने रीसले भगवानपुर पुलिस चौकिको हवल्दार भन्नेले मलाई कुटेका हुन भनी मर्ने गुर्दिको मुखबाट सुनेको र वारदातको भोलिपल्ट बिहान ७ बजेको समय भगवानपुर पुलिस चौकीको नया हवल्दार भन्ने आई गुर्दिको नजिकमा गई निजको घाचोटबाट निस्केको रगतलाई पानी मगाई आफैले धुँदै मैले आज राती यो बुढालाई सित्तैमा कुटेंछु । मेरो गल्ती हो भनेको सुनेको समेत भनी प्रसरा अहिर समेतले र भोलीपल्ट बिहान हवल्दार भन्ने मानिस आई माफि मागेको सुनेको समेत भनी हनुमानप्रसाद समेतले मौका तहकिकात सर्जमिनमा लेखीदिएको समेतबाट मर्ने गुर्दि मुराउलाई निवेदक हे.कं. पद्मबहादुरले नै लछारपछार पारी कुटेको प्रमाणित हुनेहुँदा निजको कसुर रहनेछ भन्न मिलेन ।
१३. कसुर गरेकै ठहरे पनि मारौं भन्ने नियतले कुनै कडा चोट छाडेको भन्ने नभई किन पहरा नगरेको भनी थप्पडले सम्म हानेकोमा बृद्ध रोगी हुँदा मर्न गएको यस्तो अवस्थाको कसुर भवितव्य कायम हुनु पर्ने भन्ने निवेदक पक्षको विद्वान वकिलहरूले बहसमा मुख्य जिकीर लिनु भएको हकमा लासजाँच पोष्टमार्टमबाट ५ वटा निल २ वटा छाला खुईलेको घाउ खत र स्प्लीनको पर्दामा चोट लागी रगत जमेको सोही चोट पीरले मरेको भन्ने देखिएको र सिर्फ पालो पहरा किन नगरेको भन्ने संभावनाले यस्तो अवस्थामा यस किसिमसँग घाउ चोट पर्ने गरी कुटेको हुनु नपर्ने हुनाले यस्तो अवस्थाको कसुरलाई भवितब्यै भन्न ऐनले मिल्ने देखिन आएन । तसर्थ, उपरोक्त कारणहरू समेतबाट ज्यानमाराकै कसुर ठहराएको समेत ईन्साफ ०१८।२।१।१ को डिभिजन बेञ्चको मनासिव छ ।
१४. अब सजायतर्फ विचार गरेमा ज्यान लिनु पर्ने सम्मको ईवी लागू भई मार्नाकै मतलव गरी कुनै हतियारको कडा चोट छाडेको समेत नभई लछारपछार पारी थप्पड ईत्यादिले हानेको चोट पिरबाट ऐनका म्याद भित्र मर्न गएको यस्तो कसुरमा उसबखत प्रचलित ज्यानसम्बन्धीको २६ नं.ले कैद वर्ष २० नै हुँदा ०१८।२।१।१ को डिभिजन बेञ्चले सो अनुसार गर्ने गरेको मुनासिवै देखिन्छ । तथापि बक्स भई आएका हुकुम प्रमांगीबमोजिम प्रस्तुत मुद्दा हाल दोहोर्याई हेरिएकोले हाल प्रचलित कानूनले के कति सजाय हुने हो ? भन्नेतर्फ हेरेमा नयाँ मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं.मा यस्ता अवस्थाको कसुरमा १० वर्षमात्र कैद हुने व्यवस्था भएको पाइन्छ । केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिन्हा दिने ऐन ०२० को दफा (३) (४) मा हुने काम कुरामा साविक मुलुकी ऐन अन्र्तगत कुने अपराधको अभियोग लागी अदालतबाट कसूरदार ठहराई यो ऐन प्रारम्भ हुँदाको बखत कुनै व्यक्तिले सजाय भोगी रहेको वा निजलाई सजाय हुने गरी फैसला वा आदेश भईरहेकोमा त्यस्तो काम कुरा अनुसूचीमा उल्लेख भएको नेपाल ऐन अन्र्तगत पनि अपराध ठहरिने रहेछ र त्यसमा साविकको मुलुकी ऐनबमोजिम भएको सजाय भन्दा अनुसूचीमा उल्लेख भएको नेपाल ऐनमा कम सजाय तोकिएको रहेछ भने सो बढी भए जति सजाय स्वतः मिन्हा भएको मानिने छ भन्ने उल्लेख भएको र अनुसुचीमा नयाँ मुलुकी ऐन पनि परेकाले सो अनुसार निवेदक हे.कं पद्मबहादुरलाई नयाँ मुलुकी ऐन पनि परेकोले सो अनुसार निवदेकलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम कैद वर्ष १० मात्र हुन्छ । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
नेपालगञ्ज मौजे अमेरैया घर मै हाल सदर जेलमा थुनामा रहेको हे.कं.पद्मबहादुर क्षेत्रीको नयां मुलुकी ऐन ज्यानसम्बन्धी को १४ नं.बमोजिम शुरु कैद वर्ष १०।–र अपील गरेवापत २०३ नं.ले हुने दशौंद कैद वर्ष १।–समेत जम्मा कैद वर्ष ११ मात्र हुने हुँदा बेथरी विशेष अदालतको ०१६।१।८।३ को फैसलाबाट गर्ने गरेको वर्ष कैद २०।–र डिभिजन बेञ्चको ०१८।२।१।१ को फैसलाबाट गर्ने गरेको कैद वर्ष २।–को लगत काटी उक्त लाग्ने ठहरेको कैद वर्ष ११।–मात्रको लगत कसी थुनिएको मिति ०१५।२।२४ देखि कट्टी हुने गरी सो कैद वर्ष ११।–मा कैद ठेक्नु समेत भनी का.श्रे.अ.त.मा लगत दिनु …………………१
निवेदक थुनुवा हे.कं.पद्मबहादुरलाई मुद्दा छिनिएको जनाउ दिई नियमबमोजिम मिसिल बुझाई दिनु………..२
इति सम्वत् ०२३ साल अषाढ २१ गते रोज ३ शुभम् ।