March 1, 1988
Created by nepalarchives

निर्णय नं. ३२५७ – जग्गामा टंटा चलन समेत

निर्णय नं. ३२५७    ने.का.प. २०४४      अङ्क ११   पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश...

निर्णय नं. ३२५७    ने.का.प. २०४४      अङ्क ११

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४२ सालको दे.पु.इ.नम्बर ८६

मुद्दा : जग्गामा टंटा चलन समेत ।

 

निवेदक/वादी: जिल्ला बारा वैधनाथपुर गा.पं. वडा नं.६ बस्ने रेखा महतो कोइरी ।

विरुद्ध

विपक्षी/प्रतिवादी:वैकुण्ठनाथ श्रेष्ठको मु.स. गर्ने ऐ.कलैया नगर पञ्चायत वडा नं. ६ बस्ने दिव्यनाथ श्रेष्ठ ।

फैसला भएको मिति: २०४४।११।१८।३ मा

     भोला नाथबाट राजीनामा रजिष्ट्रेशन पारीत गरी लिएपछि विवादित जग्गामा निजको हक टुटिसकेको मान्नु पर्ने हुन्छ । भोलानाथबाट बैकुण्ठनाथले हक टुटाई लिएको आधारमा विवादित जग्गा नामसारी दर्ता गराई लिएको नभई अपुतालीको नाताबाट दर्ता गराई लिएको देखिँदा छोराको ठाउँमा बाबु दर्तावालाको रुपमा सम्म कायम हुन आएको मान्नु पर्ने हुन्छ, यस्तो स्थितिमा भोलानाथले रेखा महतोलाई मिति २०२४।८।२८ मा गरी दिएको लिखतको दायित्वबाट निज मुक्त हुनसक्ने अवस्था देखिन आउँदैन, भोलानाथ के हक टुटिसकेको जग्गाको बैकुण्ठनाथले गराई लिएको नामसारी दर्तालाई वैध नामसारी दर्ता मान्न नमिल्ने ।

(प्रकरण नं. १४)

     वादी जग्गा नामसारी गरिपाउँ भूमिप्रशासन कार्यालयमा गएको र भूमिप्रशासनले तेरो मेरोमा नालेश गर्न जानु भनी सुनाएपछि वादी नालेश गर्न आएको देखिएकैछ, यस स्थितिमा वादीको नामसारी  बदर गरिपाउँ भन्ने फिरादलाई म्याद नाघी परेको मान्न नमिल्ने ।

(प्रकरण नं. १५)

निवेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

उल्लेखित मुद्दाःX

फैसला

प्र.न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालतको मिति २०४१।१।२२ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजको जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए यसमा लेखिएको त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको मुद्दाको मिसिल झिकी फुल बेञ्जबाट दोहर्‍याई हेरी कानुन बमोजिम गरी निर्णय गर्नु निवेदकलाई जनाउ दिनु भन्ने समेत मौसूफ सरकारका विशेष जाहेरी विभाग मार्फत बक्स भइआएको हुकुम प्रमाड्डी बमोजिम यस अदालतको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ :

२.    विपक्षीको छोरा भोलानाथ श्रेष्ठले मसँग रु. १,९४४।लिई आफ्नो नामको भतौडा गाउँ पञ्चायत वडा नं. ७ को ज.वि.०१८० मिति २०२४।८।२८।५ मा बारा मालबाट राजीनामा गरी दिनु भएको थियो । उक्त लिखत बमोजिम दा.खा.गराउन सकेको थिएन । पछि धरौटी राखी जग्गा भोग गर्दै आएको थिएँ । पुरानो नियम अनुसार दा.खा.गराउन दातासँग मन्जूरनामा माग्दा गरी दिने छु भन्दै हुनुहुन्थ्यो । दैवगत मर्न गएकोले मैले भूमिप्रशासन कार्यालय, बारामा दा.खा. गरिपाउँ भनी दर्खास्त दिएकोमा भूमिप्रशासन कार्यालयबाट म्याद जारी गर्दा विपक्षीले जालझेल गरी जग्गा नदिने नियत गर्नु भएछ । सो कारणले गर्दा भूमिप्रशासन कार्यालय, बाराबाट जग्गा तेरो मेरो देखिएकोले निर्णय भइआएका बखत ठहरे बमोजिम हुने भनी मिति २०३४।१२।३ मा निर्णय गरी दिएकोले मेरो लिखत थैली र हाल उक्त जग्गा भतौडा गाउँ पञ्चायत वडा नं. ७ कि.नं. २३५ मा ०१० कित्ता नं. २३८ मा ज.वि. ०० कायम भएको जग्गामा मिति २०३४।११।१ मा मलाई जोत्न नदिएकोले ज.पं. को २(क) र ज.मि.को १८ नं. को म्यादभित्र फिराद गर्न आएको छु । विपक्षीबाट हाल कायम हुन आएको कित्ता नं. ६१ को ज.वि. ०१५० जग्गामा टंटा खिचोला मेटाई चलन चलाई समेत गरिपाउँ भन्ने फिरादपत्र ।

३.    वादी दावी ऐन विपरीत हुँदा वादी दावी बमोजिम दर्ता हुन पर्ने समेत छैन, होइन भतौडा गाउँ पञ्चायत वडा नं. ७ कित्ता नं. २३५, २३८ का ज.वि. ०१५० मेरो आर्जन भोगको हो । छोरा भोलानाथ श्रेष्ठ मिति २०२६।१।३० मा स्वर्गवास भएको हुँदा २०२६ सालमा नामसारी दर्ता गराई भोगचलन गरी आएको छु । वादीले २०२४।८।२८।५ मा लिखत पारीत भएको यस जिल्लामा भूमिप्रशासन ऐन, २०२४ मिति २०२४।७।६ गतेदेखि लागू भएको हुँदा नापी श्रेस्ताको कित्ता नलेखी लिखत गर्नु गराउनु पर्ने सो भएको देखिँदैन । भोलानाथको नामबाट २०२६ सालमा नै मेरो नाममा दर्ता भएको तत्कालीन ज.मि.को १८ नं. ज.प. को १७ नं. को म्याद २ वर्ष भित्र दर्ता बदरतर्फ कुनै कसैको उजूर नपरेकोले दर्तावालाको हक स्थापित हुने कानुनी व्यवस्था हुँदा खारेज गरिपाउँ भन्ने समेत प्रतिवादी ।

४.    थाहा पाएको २ वर्ष भित्र मात्र नालेश गरेको देखिन आउँदा ज.प.को दफा १७ को म्यादभित्र परेको नदेखिँदा दाखिल खारेज सम्बन्धमा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको बारा जिल्ला अदालतको फैसला ।

५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

६.    वादी दावीको जग्गा वादीको दावीको कि.नं. २३५, २३८ र ६१ समेत कुनै पनि लिखतमा उल्लेख भएको नदेखिएकोले वादी दावी पुग्न सक्दैन भनी शुरु जिल्ला अदालतबाट भएको फैसला कानुनसंगत देखिएकोले सदर हुने ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत २०३६।४।२८ गतेको नारायणी अञ्चल अदालतको फैसला ।

७.    उक्त निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा निवेदन पर्दा पुनरावेदनको अनुमति प्रदान गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।

८.    बैकुण्ठनाथले भोलानाथबाट हक टुटाई लिएको आधारमा नामसारी दर्ता गराई लिएको देखिन आउँदैन । बैकुण्ठनाथले भोलानाथका नामबाट भोलानाथको हक टुटिसकेको जग्गाको नामसारी गराएको कानुनको दृष्टिमा बैध नहुँदा तेरो मेरोमा भूमिप्रशासन कार्यालयले सुनाएको आधार र खिचोला गरेको मिति देखाई आएको नालेश हदम्याद नाघेको भन्न मिल्ने समेत नहुँदा खारेज गरेको शुरुको फैसलामा सदर गरेको नारायणी अञ्चल अदालतको फैसला गल्ती भई बदर हुन्छ । वादी दावी बमोजिम बैकुण्ठनाथले गराई लिएको भोलानाथको नामको जग्गाको दर्ता बदर भई वादीको नाममा कायम हुने र प्रतिवादीहरूले दावीको जग्गामा खिचोला गरेको र वादीले चलन चलाई पाउने समेत ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

९.    उक्त निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन पर्दा ज.मि.को १८ नं. को त्रुटी नदेखिएको भनी पुनरावेदनको अनुमति प्रदान गरिएको सर्वोच्च अदालतको आदेश ।

१०.    विवादको जग्गा २०२६ सालमा प्रतिवादी बैकुण्ठनाथ श्रेष्ठले नामसारी दर्ता गरी तिरो भरी गरी आएको देखिन्छ । सो दर्ता नामसारी बदर भएको छैन । प्रतिवादीले त्यसरी नामसारी दर्ता गराई लिएको कुरा वादीलाई २०३२ सालमा नै थाहा भएको कुरा निजले भूमिप्रशासन कार्यालयमा दिएको निवेदनबाट देखिन्छ । यस्तो अवस्थामा वादीको दावी ज.मि.को १८ नं. को हदम्याद भित्र नभएको हुँदा वादीको फिराद खारेज हुने ठहराएको शुरु बारा जिल्ला अदालतको इन्साफ सदर गरेको नारायणी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।१।२२ गतेको फैसला ।

११.    निवेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले भोलानाथबाट मेरो पक्षले विवादित जग्गा खरीद गरी लिएकोमा विवाद छैन । नामसारी दाखिल खारेज गराउनको लागि कुनै हदम्यादको व्यवस्था छैन । बैकुण्ठनाथले हक टुटाई लिएको आधारमा नामसारी दा.खा.गरेको नभई भोलानाथ मरेपछि दा.खा.गरी लिएको हुँदा त्यसलाई बैद्य दर्ता भन्न नमिल्ने हुँदा मुद्दा खारेज गरेको निर्णय मिलेको नहुँदा उल्टी हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले भोलानाथ मरेपछि २०२६ सालमा नै नामसारी दाखिल खारेज भएको, भूमिप्रशासन कार्यालयमा २०३२ सालमा निवेदन दिँदा नै वादीलाई सो कुराको जानकारी छ । सो मितिबाट पनि फिराद ज.मि.को तत्कालिन १८ नं. को म्यादभित्र परेको नहुँदा वादी दावी खारेज हुने ठहर्‍याएको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

१२.   मिति २०४४।११।१३।५ मा यस इजलास समक्ष पेश भई आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा वादी दावी खारेज हुने ठहर्‍याएको संयुक्त इजलासको निर्णय मिलेको छ वा छैन सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।

१३.   यसमा निर्णयतर्फ हेर्दा वादी रेखा महतो कोइरीले प्रतिवादी वैकुण्ठनाथको छोरा भोलानाथसँग  २०२४।८।२८ मा ज.वि.०१८० रु. १९४४।मा राजीनामा पारीत गराई लिएकोमा विवाद छैन । उक्त जग्गा नापीमा भतौडा गाउँ पञ्चायत वडा नं. ७ कि.नं. २३५ र २३८ गरी ज.वि. ०१५१ भएको भन्ने वादी दावी छ । उक्त जग्गा वादी रेखा महतो कोइरीको नाममा नामसारी दाखिल खारेज हुन नपाउँदै २०२६ सालमा भोलानाथको मृत्यु भएको र सो पछि निजको नामको जग्गा प्रतिवादी बैकुण्ठनाथले आफ्नो नाममा नामसारी दाखिल खारेज गराएको देखिन्छ ।

१४.   जग्गा पजनीको २(क) नं.मा आफ्नो हक हुन आई दाखिल खारेज हुनुपर्ने भएकोमा जतिसुकै अवधि व्यतित भए पनि दश रुपैयाँ दस्तूर लिई नामसारी दाखिल गराउन सकिने व्यवस्था रहेको पाइन्छ । सोही किसिमको व्यवस्था रजिष्ट्रेशनको ३२(क) नं.मा पनि रहेको छ । भोलानाथबाट राजीनामा रजिष्ट्रेशन पारीत गरी लिएपछि विवादित जग्गामा निजको हक टुटी सकेको मान्नु पर्ने हुन्छ । भोलानाथबाट बैकुण्ठनाथले हक टुटाई लिएको आधारमा विवादित जग्गा नामसारी दर्ता गराई लिएको नभई अपुतालीको नाताबाट दर्ता गराई लिएको देखिँदा छोराको ठाउँमा बाबु दर्तावालाको रुपमा सम्म कायम हुन आएको मान्नु पर्ने हुन्छ । यस्तो स्थितिमा भोलानाथले रेखा महतोलाई मिति २०२४।८।२८ मा गरिदिएको लिखतको दायित्वबाट निज मुक्त हुनसक्ने अवस्था देखिन आउँदैन । भोलानाथ कै हक टुटी सकेको जग्गाको बैकुण्ठनाथले गराई लिएको नामसारी दर्तालाई बैद्य नामसारी दर्ता मान्न मिलेन ।

१५.   वादी रेखा महतो कोइरी जग्गा नामसारी गरिपाउँ भूमिप्रशासन कार्यालयमा गएको र भूमिप्रशासनले तेरो मेरोमा नालेश गर्न जानु भनी सुनाएपछि वादी नालेश गर्न आएको देखिएकै छ । यस स्थितिमा वादी रेखा महतो कोइरीको नामसारी बदर गरिपाउँ भन्ने फिरादलाई म्याद नाघी परेको मान्न मिलेन ।

१६.    अतः उपर्युक्त कारणबाट वादी दावी खारेज हुने ठहराएको सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।१।२२ को निर्णय मिलेको देखिएन । वादी दावी बमोजिम बैकुण्ठनाथले गराई लिएको भोलानाथ श्रेष्ठको नामको कि.नं. २३५ र २३८ को ज.वि. ०१५१० दर्ता बदर भई वादीको नाममा कायम हुने र प्रतिवादीले दावीको जग्गामा खिचोला गरेको र वादीले चलन पाउने समेत ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३८।७।२ को निर्णय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।१।२२ को इन्साफ उल्टी हुने ठहरेकोले उक्त फैसला अनुसारको मिति २०४३।२।२० को लगत कायम राख्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गरी दिनु र देहाय बमोजिम गर्नु भनी शुरु बारा जिल्ला अदालतमा लेखि पठाउन का.जि.अ.त.मा लगत दिनु……१

बैकुण्ठनाथले गराई लिएको भोलानाथ श्रेष्ठको नामको जिल्ला बारा भतौडा गा.पं. वडा नं.७ कि.नं. २३५ को ज.वि.०१० र २३८ को ज.वि.०० गरी जम्मा ज.वि. ०१५१० को दर्ता बदर गरी चलन समेत पाउँ भन्ने वादी रेखा महतो कोइरीको ऐनका म्यादभित्र दर्खास्त पर्न आए उक्त जग्गाको प्रतिवादीका नाममा रहेको दर्ता बदर गरी वादीका नाममा कायम गरिदिनु भनी मा.पो. कार्यालय, बारामा लेखि पठाउन र कानुनको रीत पुर्‍याई उक्त जग्गाको चलन चलाई दिनु भनी बारा जिल्ला अदालतमा लेखि पठाई दिने कलम एक…१

वादी रेखा महतो कोइरीले शुरु बारा जिल्ला अदालतका फैसला उपर पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. १७।५८ र मुद्दा दोहर्‍याउँदा सर्वोच्च अदालतमा राखेको कोर्ट फी रु. ११।७२ समेत जम्मा कोर्ट फी रु. २९।३० प्रतिवादी बैकुण्ठनाथको समेत मु.स.गर्ने दिव्यनाथ श्रेष्ठबाट भराई पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त पर्न आए कानुनको  रीत पुर्‍याई वादी रेखा महतो कोइरीलाई भराई दिनु भनी बारा जिल्ला अदालतमा लेखि पठाउने कलम……१

मध्यमाञ्चल क्षेत्रीय अदालतमा मिति २०३८।७।२४ को फैसला अनुसार वादी रेखा महतो कोइरीले प्रतिवादी बैकुण्ठनाथ श्रेष्ठबाट भरी पाउने ठहराएको कोर्ट फी रु. ११७।२० प्र.बैकुण्ठनाथ श्रेष्ठले सर्वोच्च अदालतमा पुनरावेदन गर्दा मिति २०४०।१।२९ मा स.अ.ल.न. मार्फत का.जि.अ.त.मा धरौट राखेको देखिँदा ऐनका म्यादभित्र दर्खास्त पर्न आए सोही धरौटीबाट वादीलाई भराई दिनु भनी का.जि.अ.त.मा लेखि पठाई दिनु……२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु…….३

 

उक्त रायमा हामीहरूको सहमती छ ।

 

न्या.सुरेन्द्र प्रसाद सिंह

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल फाल्गुण १८ गते रोज ३ शुभम् ।

