निर्णय नं. ३२५३ – कर्तव्य ज्यान ।
निर्णय नं. ३२५३ ने.का.प. २०४४ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश...
निर्णय नं. ३२५३ ने.का.प. २०४४ अङ्क ११
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४३ सालको फौ.पु.इ.नम्बर २४, २५
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/वादी: डिल्लीसेरा गुरुङसेनीको जाहेरी श्री ५ को सरकार ।
विरुद्ध
विपक्षी/प्रतिवादी: कास्की जिल्ला हंसपुर गाउँ पञ्चायत वडा नं. ७ डिट्ठा गाउँ बस्ने झलकबहादुर गुरुङ समेत ।
पुनरावेदक/प्रतिवादी: ऐ. ऐ. बस्ने झलकबहादुर गुरुङ ।
विरुद्ध
विपक्षी/वादी: डिल्लीसेरा गुरुङसेनीको जाहेरीले श्री ५ को सरकार ।
फैसला भएको मिति:२०४४।९।१६।५ मा
चस्मदिद सबूद प्रमाणको अभावमा केवल शंकाको भरमा अपराधी ठहर गर्न न्यायसंगत नदेखिने ।
(प्रकरण नं. ३९)
पुनरावेदक, वादीतर्फबाट: विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी.
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
उल्लेखित मुद्दाःX
फैसला
प्र.न्या.धनेन्द्र बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकार तर्फको र अनुमति प्राप्त गरी प्रतिवादी झलक बहादुर गुरुङको पुनरावेदन परी संयुक्त इजलास समक्ष पेश भएकोमा सो इजलासका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. मिति २०३९।८।१५ गते बिहान १० बजेतिर चन्द्र बहादुर गुरुङ ढक बहादुर गुरुङ झलक बहादुर गुरुङ, डोल बहादुर गुरुङ, गंगा बहादुर गुरुङ समेत माछा मार्न ताल बेसीमा आई दिनभरी माछा मारी खाजा खाई साझ तिर घर जान भनी गएका मेरा भतिजा चन्द्र बहादुर गुरुङ झलक बहादुर गुरुङ उक्त उकालो बाटोमा झगडा गरी कुटपिट गरेको कुटाइको चोटबाट टाउको फुटी सारा शरीर थिलथिलो भई बहोस भएको चन्द्र बहादुर गुरुङ र झलक बहादुर गुरुङको परस्पर झगडा भएको पराल बोकी आउने मानिसहरूले समेत देखेको भन्ने कुरा सुनेकोले झलक बहादुर गुरुङको कुटाइको चोट पीडाबाट मृत्यु भएको यकीन हुन आएकोले निजलाई पक्राउ गरी कानुनी कारवाही गरिपाउँ भन्ने डिल्लीसेरा गुरुङसेनीको जाहेरी दर्खास्त रहेछ ।
३. मिति २०३९।८।१६ गते उपचारार्थ ल्याएका चन्द्र बहादुर गुरुङ सारै सिकिस्त अवस्थामा ल्याएको देखिन्छ । निजको टाउकोको बीचमा चोट लागेको घाउ १ थियो । टाउकोको कुनै हड्डीमा दखल भएको देखिन्न । ल्याउँदाको अवस्था ब्लड प्रेशर ९०।६० पी.मि.अफ मरफरी र पलस नाडी प्रति मिनेट ज्यादै सुक्ष्म गतिको थियो भन्ने मिति २०३९।८।२४ को गण्डकी अञ्चल अस्पतालको पत्र ।
४. मिति २०३९।८।१५ गते बिहान १० बजेको समयमा दान सुब्बा गुरुङ समेत माछा मार्न भनी मृतक चन्द्र बहादुर गुरुङले कोदालो बोकी अरु हतियार नलिई ११ बजेतिर ४ बजेसम्म ४ ठाउँमा माछा मारी भट्टिमा ६ बजेको बेलुकासम्म रक्सी खाई बस्यौं मैले डोल बहादुर र चन्द्र बहादुरलाई त्यहीं छाडी म आफ्नो घरतर्फ लागें म घरमा ८ बजे पुगेको खाना खाई सुतेको समयमा बेसीबाट बजिर गुरुङ, आसबहादुर गुरुङ आई म सुतेको घरमा बजिरले एकबहादुर गुरुङलाई खबर दिई एकबहादुर आई चन्द्र बहादुर गुरुङ बेसीको उकालोमा आफैं लडी घाइते भएका छन् भन्ने खबर भन्न आएपछि तत्कालै उठी चन्द्र बहादुर लडेको ठाउँमा आई हेर्दा त्यहाँ प्रसाद गुरुङ समेत आमा बाबु समेत आइपुगेका रहेछन् चन्द्र बहादुर लडेको ठाउँदेखि ३००।४०० गज फरकमा आशबहादुर गुरुङको गोठमा लगी राखेको अवस्थामा देखें । उपचारको लागि गण्डकी अञ्चल अस्पतालमा १०।१५ मिनेटपछि चन्द्र बहादुर गुरुङको मृत्यु भएको हो । मैले चन्द्र बहादुर गुरुङलाई कर्तव्य गरी मारेको होइन भन्ने झलक बहादुर गुरुङको प्रहरीमा गरेको बयान ।
५. मिति २०३९।८।१६ गतेको बिहान अस्पतालमा ल्याएकोमा ७:३० बजेको समयमा चन्द्र बहादुर गुरुङको सोही अस्पतालमा नै मृत्यु भएको हो निजको मृत्यु भएपछि बाबु सुमन्जीत गुरुङले लाश बुझी लिई रामघाटमा लगी सेलाएको हो सो बेला कर्तव्य भन्ने कुरा कसैले गरेनन् र झलक बहादुर गुरुङले कर्तव्य गरी मारेकोमा मलाई शंका लाग्दैन भन्ने मिति २०३९।८।२७ को नेत्रबहादुर गुरुङको प्रहरीमा गरेको बयान कागज रहेछ ।
६. चन्द्र बहादुर गुरुङको मृत्युपछि बाबु सुमन्जीतले लाश बुझी रामघाटमा लगी सतगत गरिएको अवस्था चन्द्र बहादुर गुरुङ कर्तव्यबाट मरेको भनी कसैले भनेनन् र झलक बहादुर गुरुङ प्रति शंका लाग्दैन भनी मिति २०३९।८।२७ गते चन्द्र बहादुर गुरुङले गरेको बयान कागज ।
७. चन्द्र बहादुरको बाबु मनजीत र आमा समेतका मानिसहरू रहेछन् र मलाई पैसा पनि चाहियो भनेकाले मैले रु. ३००।– दिई ग.अ.अस्पतालमा उपचारार्थको लागि रातको ७ बजे ल्याइएकोमा बिहान ७ बजे अस्पतालमै चन्द्र बहादुर गुरुङको मृत्यु भयो । चन्द्र बहादुरको मृत्युपछि बाबु मनजीतले लाश जिम्मा लिई रामघाटमा लगी जलाइयो सो अवस्था झलक बहादुरले कर्तव्य गरी मारेको भनी कोही कसैले भनेनन् र झलक बहादुर प्रति शंका लाग्दैन भन्ने यनबहादुर गुरुङको प्रहरीमा गरेको कागज ।
८. २०३९ साल मंसीर १५ गतेका दिन बिहानको खाना आफ्नो घरमा खाई ताल बेसीमा माछा मारी बेलुका ५ बजे माछा मार्न छाडी चन्द्र बहादुर गुरुङ समेतका चारै जनाले २।२ गिलास रक्सी खाई सकेपछि त्यहाँबाट हिडी चन्द्र बहादुर, डोल बहादुर, झलक बहादुर घर तर्फ गए त्यसको आधी घण्टा जति डिट्ठा गाउँ जाने गौडी माथि चन्द्र बहादुर घुम्तीको कडुसको फेदबाट लडी बेहोस छ भनी डोल बहादुरले भन्न आएकोले बर्जि गुरुङ र म समेत गएँ, त्यसबखत झलक बहादुर थिएनन् । मैले पनि चन्द्र बहादुरको मुखमा पानी हाली दिँदा निलेनन् बोलाउँदा नबोलेकोले आशबहादुरको गोठमा ल्याई राखी बाबु आमा समेतलाई खबर गरी चन्द्र बहादुरको बाबुले हामीसँग पैसा छैन खोजि देउ भनी मलाई भनेकाले मैले यनबहादुरसँग रु. ३००।– लिई दिएपछि अस्पतालमा ३ बजेतिर ल्याएकोमा ऐ.१६ गते ७ बजे चन्द्र बहादुरको मृत्यु भयो चन्द्र बहादुर मरेकोले बाबु मनजीतले लाश बुझी लिई बेलुकी ७ बजे सतगत गरियो सो अवस्था चन्द्र बहादुरलाई, झलक बहादुरले कर्तव्य गरी मारेको भनी भनेनन् र चन्द्र बहादुरलाई झलक बहादुरले कर्तव्य गरी मारेमा शंका लाग्दैन भन्ने समेत मिति २०३९।८।२७ मा ढक बहादुरले प्रहरीमा गरेको बयान ।
९. १६ गते चन्द्र बहादुर मारे भन्ने खबर आएपछि म समेतका ५ जना बुढाहरू पोखरा आयौं आफ्नै जाती अनुसार कार्य गरी साँझ पख जलाएर फर्की गयौं । सो अवस्थामा जाहेरीवाली डिल्लीसेरा गुरुङसेनी आएकी थिइन सो अवस्था चन्द्र बहादुरलाई झलक बहादुरले कर्तव्य गरी मारेको भनी कसैले भनेनन् र झलक बहादुर प्रति शंका लाग्दैन भन्ने मिति २०३९।८।२७ गतेको वजिर गुरुङले प्रहरीमा गरेको बयान कागज रहेछ ।
१०. चन्द्र बहादुर गुरुङलाई ज्यादै रक्सी लागेको थियो तापनि घरमा जान लागेको अवस्थामा चन्द्र बहादुर गुरुङ लड्ने वित्तिकै मैले बोकेको डोको समेत फाली तल गई हेर्दा टाउको तलतिर गोडा माथि भई टाउकोमा काटेको देब्रे हर धसारिएको देखें त्यहाँबाट चन्द्र बहादुरलाई उचाली सम्म ठाउँमा सुताई राखे अघि हिंडने झलक बहादुरलाई डाके निजले सुनेन फेरि चन्द्र बहादुरलाई हेर्दा बेहोस भइसकेकोले कराउँदै बोलाउँदै थिएँ । सोही बेला काब्रेको नाम नजानेको बाहुनहरू २ जना त्यहाँ आएर सो पछि एकजना बाहुन आए निज बाहुनलाई कुर्न राखी बाबु आमा समेतका मानिसहरूलाई खबर दिई बिहान ३ बजेको समयमा चन्द्र बहादुरलाई अस्पताल ल्याएकोमा १०।१२ मिनेटपछि चन्द्र बहादुर अस्पताल गई मृत्यु भइहाले सो पछि बाबु मनजीतले लाश बुझी रामघाटमा लगी लाश जलाई आएको हो । निज चन्द्र बहादुरलाई झलक बहादुरले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको डोल बहादुरको बयान कागज रहेछ ।
११. लडेको भनेको ठाउँबाट तल दक्षिण पट्टि बाटोका भित्ता साइडमा भएको ढुङ्गामा सुकेको रगतको टाटो देखिएको सो देखि माथि ४ फीट घुम्ती बाटोकोसँग नापिएको प्वाइन्ट देखि साढे एक फिट पश्चिममा साढे ४ फिट तल पानी ढलो माटो घसारिएको ठाउँ देखि तल हेर्दै जाँदा मृतक चन्द्र बहादुर गुरुङलाई घाइते अवस्थामा लगी राखिएको भनिएको आशबहादुरको गोठमा सुकेको रगतका टाटाहरू देखिएको भन्ने मिति २०३९।९।५ को घटनास्थलको प्रकृति मुचुल्का रहेछ।
१२. डोल बहादुर समेत मिलीमतोबाट झलक बहादुरले चन्द्र बहादुर गुरुङलाई कुटपिट गरेको र कर्तव्यबाट मारेको भन्ने लाग्छ अरुलाई शंका लाग्दैन सतगत गर्नेहरूले कर्तव्यको कुरा थाहा नपाई सतगत गरेको हो सतगत पछि मात्र कर्तव्यबाट मृत्यु भएको भन्ने कुरा थाहा पाएको हुँ भनी चन्द्रमोहन सुबेदी समेतले सरजमीनमा लेखाई दिएको ।
१३. भट्टी बाली पानश्री गुरुङसेनीलाई बुझ्दा ढक बहादुर, डोल बहादुर र झलक बहादुर, चन्द्र बहादुर समेतले रक्सी खाई सकेपछि घरजान भनी गएको थियो । झलक बहादुरले चन्द्र बहादुरलाई लाठा ढुङ्गाले हानेर मारेको जस्तो लाग्छ भन्ने मिति २०३९।९।७ गते गरी दिएको कागज रहेछ ।
१४. रक्सी खाई झलक बहादुर डोल बहादुर समेत घर जान भनी गएको देखिन आएकोले रक्सीको नशाको सुरमा तत्काल रिस थाम्न नसकी झलक बहादुरले चन्द्र बहादुरलाई हिर्काइ चन्द्र बहादुर भुइँमा लडी सोही चोट बेदनाबाट चन्द्र बहादुरको मृत्यु हुन गएको देखिन आएकोले निज झलक बहादुर उपर मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं. बमोजिम यमबहादुर, चन्द्र बहादुर, उजीरबहादुर गुरुङ, हर्कबहादुर, हिरामणी, नेत्रबहादुर, द्यौबहादुर, गंगा बहादुर समेतलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको ४ नं. बमोजिम ढक बहादुर र डोल बहादुरलाई २५ नं. बमोजिम सजायँ हुन माग दावी लिई पेश गरेको प्रहरी प्रतिवेदन रहेछ ।
१५. कर्तव्यबाट मरेको भन्ने मौकामा नजानी लडी मरेको भन्ने विश्वासले लाश जलाउने गंगा बहादुर समेतका व्यक्तिलाई प्रहरी अधिकृतले ज्यानसम्बन्धीको ४ नं. लगाउनु भएको अभियोगमा म सहमत हुन सकिन निजहरू प्रति मुद्दा नचलाउने गरी प्रस्तुत गरिएको छ भन्ने समेत मिति २०३९।९।११ को स.स.अ.को छुट्टै राय रहेछ ।
१६. झलक बहादुर चन्द्र बहादुरको बीच २०० गज फरक र चन्द्र बहादुर मेरो बीच १० हात फरकमा गरिजाँदा अं.७ बजेको समयमा अध्यारो थियो ५ हात जति बाटोबाट खसेछ खसेको मैले देखेको हुँ मुन्टो तल खुट्टा माथी परी लडेको रहेछ । त्यसबेला कोहि छैन झलकलाई बोलाएँ बोलेनन् तलका ढक बहादुरहरूलाई बोलाएँ कोहि पनि बोलेनन् चन्द्र बहादुरलाई मैले कुटपिट गरेको छैन मैले कर्तव्य गरेको छैन मेरै आँखाले देखेको हुँदा अरु प्रतिवादीले समेत कर्तव्य गरेका होइनन् आफैं लडी त्यही बेदनाले मरेको हो जाहेरी र प्रहरी प्रतिवेदन दावी समेत झुठ्ठा हो यो आरोपबाट सफाई पाउँ भन्ने डोल बहादुरको अदालतमा गरेको बयान रहेछ ।
१७. चन्द्र बहादुरलाई कसैले कर्तव्य गरी मारेको होइन जस्तो लाग्छ आफैं लडी मरेको व्यक्तिको लाश सतगत गर्दा प्रहरीमा जाहेर गर्नु पर्ने हैन भनी सम्झी मर्नेका बाबु आमा समेत बसी सदगत गरेका हुँदा म त्यसमा निर्दोष छु सफाई पाउँ भन्ने समेत व्यहोराको नेत्रबहादुर गुरुङको अदालतमा गरेको बयान ।
१८. आफैं लडी त्यसका चोटका बेदनाले मरेको हो मर्नेको बाबु आमा समेतको सल्लाहा अनुसार लाश सतगत गरेको हुन् र मैले कसैको कर्तव्यबाट मरेका लाश जानाजान जाहेर नगरी मलामी बनेको छैन भन्ने समेत व्यहोराको ढक बहादुर गुरुङको अदालतमा गरेको बयान रहेछ ।
१९. मर्ने चन्द्र बहादुरसँग मेरो कुनै रिस ईवी थिएन कुट्नु पर्ने कर्तव्य गर्न पर्ने कारण छैन र मैले गरेको छैन, प्रहरी प्रतिवेदन आरोप झुठ्ठा हो सँगै घर जान भनी चन्द्र बहादुर डोल बहादुर म समेत जना ३ भई बाटो लागी २०० गज माथी पुगे पछि म घरमा श्रीमती विमारी भएबाट तिमीहरु बसे बस म जान्छु भनी माछा र डोको छाडी घरमा गएर सुतेको थिएँ । राती १२ बजेको समयमा हर्कबहादुर बोलाउन आए चन्द्र बहादुर लोटेको छ रे गुहार दिन जान पर्यो भनेकोले म जाँदा चन्द्र बहादुरको बाबु आमा ढक बहादुर बजिर र नाम नचिनेका मानिस दान सुब्बा समेत रहेछन् आशबहादुरको गोठमा सुताएको मर्ने चन्द्र बहादुर मर्ने अवस्थामा थिए भोलि पल्ट उपचारको लागि गण्डकी अञ्चल अस्पतालमा ल्यायौं सोही दिन मै मृत्यु भयो । मैले कुटपिट गरेको हैन र मेरा कुटपिटले चन्द्र बहादुर मरेको हैन भन्ने समेत व्यहोराको झलक बहादुर गुरुङको अदालतमा गरेको बयान रहेछ ।
२०. मर्ने चन्द्र बहादुरलाई कसैले कुटपिट गरी मारेको जस्तो मलाई लाग्दैन रक्सी खाई सो रक्सी लाग्न गई आफैं खसी मृत्यु भएको हो र आफैं मृत्यु भएको हुनाले हस्पीटलमा नै मृत्यु हुँदा म समेत भई सतगत गरेको हुन् प्रतिवादी झलक बहादुरको र मर्ने चन्द्र बहादुरको कुनै रिस ईवी थिएन भन्ने यनबहादुर गुरुङको अदालतमा गरेको बयान रहेछ ।
२१. चन्द्र बहादुरलाई झलक बहादुरले कुटपिट गरी कर्तव्य गरी मारेका होइन आफैं लोटी टाउकोमा घाउ लाग्न गई सोही बेदनाबाट मृत्यु भएको हो सोही कारणबाट मृत्यु भएको हुँदा म समेत भई निजको लाश सदगत गरेको हो भन्ने समेत व्यहोराको बजिर गुरुङको अदालतमा गरेको बयान रहेछ ।
२२. मर्ने चन्द्र बहादुरसँग कसैको रिसइवी थिएन । निज आफैं भीरबाट लोटी घाउ चोट लागी मृत्यु भएको हो र म समेत भई सतगत गरेको हो रक्सी खाएको थियो भनी भन्थे सोही कारणबाट लोट्न गएको हुनुपर्छ भन्ने समेत व्यहोराको चन्द्रप्रसाद गुरुङको अदालतमा गरेको बयान रहेछ ।
२३. मिति २०३९।८।१६ गते डोल बहादुर झलक बहादुर, चन्द्र बहादुर मरेकोले लाश सतगत गर्न जानु पर्यो भनी गाउँ तर्फ सूचना दिन आएको थिएँ तिनीहरू करिब १ बजेतिर सूचना दिन आएको भए तापनि म दिउँसोको ४ बजेतिर अस्पताल तर्फ गएँ भोलिपल्ट अर्थात् १७ गते बिहान ३ बजेतिर झलक बहादुर, ढक बहादुर समेतसँगै राम बजारमा भेट भयो निजहरू मृतक चन्द्र बहादुरको सतगत गरी आइरहेका रहेछन् तसर्थ लाशको सतगत गर्दा म उपस्थित थिइन अरु कुरा मलाई केही थाहा छैन भन्ने समेत बुझिएका प्रतिवादी हर्कबहादुर गुरुङले गरेको बयान रहेछ ।
२४. मिति २०३९।८।१६ गते बेलुका ४ बजे गाउँमा खबर पुगी म राती १२ बजे गण्डकी अस्पतालमा आई पुग्दा डोल बहादुर, झलक बहादुर, समेत भई लाश सतगत गरिसकेका रहेछन् अतः लाश सतगत भएको अवस्थामा म सम्मिलित थिइन अरु सोधिएको प्रश्नको हकमा यस अघि नै यस अदालतमा बकपत्र हुँदा सबै कुरा उल्लेख गरी भएको व्यहोरा लेखाई दिएको छु भन्ने समेत व्यहोराको हिरामणी गुरुङको अदालतमा गरेको बयान रहेछ ।
२५. मिति २०३९।८।१६ गते दिउँसो १२ बजेतिर अस्पतालमै मरेको भन्ने मैले सुनेको थिएँ सो खबर डोल बहादुरले गाउँमा दिन आएका थिए लाशको सतगत गर्न म गएको थिइन र लाश सतगत गर्ने व्यक्तिहरू को को थिए भन्ने सम्बन्धमा पनि मलाई थाहा छैन चन्द्र बहादुर समेत भई मारेको कुरा विष्णुमायाले भनेको हुँदा पछिमात्र मैले थाहा पाएको हुँ अरु कुरा मलाई केही थाहा छैन भन्ने समेत गंगा बहादुर गुरुङको अदालतमा गरेको बयान रहेछ ।
२६. प्रतिवादी झलक बहादुर गुरुङ उपर १४ नं. अनुसारको सजायँको माग दावी लिएकोमा सो दावी संशोधन गरी निज उपर सोही महलको १३(३) नं. अनुसारको कसूरको माग दावी कायम हुन डोल बहादुरले ज्यानसम्बन्धीको १३(४) नं. अनुसारको कसूर गरेको प्रष्ट देखिँदा निज उपर भूलबाट लिएको २५ र २४ नं. बमोजिम सजायँको माग दावी संशोधन गरी ज्यानसम्बन्धीको १३(४) नं. अनुसार सजायँको माग दावी कायम हुन र चन्द्र बहादुरको मृत्यु गराउने कार्यमा मुख्य षडयन्त्र गर्ने व्यक्ति निज ढक बहादुर गुरुङनै देखिएको हुँदा निज उपर भूलबाट लिएको ज्यानसम्बन्धीको महलको २५ र ४ नं. अनुसारको सजायँको माग दावीलाई संशोधन गरी निज प्रतिवादी ढक बहादुर उपर ज्यानसम्बन्धीको १६ नं. बमोजिम सजायँको माग दावी कायम हुन प्रतिवादीहरूलाई यसै प्रतिवेदन माग दावी बमोजिम सजायँ हुन सम्मानीत अदालत समक्ष सादर अनुरोध गर्दछु भन्ने समेत मिति २०४०।१०।१३ को स.स.अ.तथा स.स.अ.को प्रतिवेदन ।
२७. जाहेरवाला र सरजमीनका मानिसहरू तथा प्रतिवादीका साक्षीहरूको बकपत्र मिसिल सामेल रहेछ ।
२८. प्रहरी प्रतिवेदनमा १४ नं. को दावी लिएको हुँदा लवदेवद्वारा प्रकाशित निर्णय सारसंग्रहको पेज नं. २८ मा दावीमा ज्यानसम्बन्धीको १४ नं. को माग गरेकोमा अदालतले १३ नं. लगाई सजायँ गर्न नमिल्ने सिद्धान्त फुल बेञ्जबाट प्रतिपादित रहेको हुँदा प्रतिवादी झलक बहादुर, डोल बहादुरलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्षकैद हुन्छ । प्रतिवादी ढक बहादुरको हकमा निज घटना स्थलमा प्रतिवादी डोल बहादुर, झलक बहादुर, मृतक चन्द्र बहादुरको साथ भएको कुरा कतैबाट प्रमाणित हुन नसकेकोले निजको हकमा दावी पुग्दैन सफाई पाउने ठहर्छ भन्ने समेत कास्की जिल्ला अदालतको मिति २०४१।९।२५ गतेको फैसला ।
२९. ढक बहादुरको षडयन्त्रबाट डोल बहादुरको सहयोग लिई झलक बहादुरले मृतकलाई कोदालोले हानी मारेको हो भनी सरजमीनका नारायण बहादुर गुरुङ समेत जना ११२ जनाले किटानी साथ लेखाइएका र यी ढक बहादुरले मार्ने तर्जुमा मिलाई डोल बहादुरले समाउने झलक बहादुरले हान्ने गरेको हुन भनी सरजमीनका लोक बहादुर क्षेत्री, ओम बहादुर गुरुङ जयमाया विश्वकर्मा समेतले तथ्य र किटानी साथ अदालतमा बकपत्र समेत गरी दिएकोले ढक बहादुर घटनास्थलमा नभएको भनी निजलाई सफाई दिएको पनि चित्त बुझेन अतः पेश गरेको संशोधित दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदनपत्र ।
३०. सम्मानीत अदालतबाट सत्य तथ्य र सक्कल मिसिल अवलोकन गरी पूर्ण सफाई पाउने मलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार १० वर्षकैद गर्ने भनिएको कास्की जिल्ला अदालतको कानुन प्रतिकूल गरिएको फैसला बदर गरी सफाई दिलाई पाउँ भन्ने समेत झलक बहादुर गुरुङको मिति २०४१।११।१४ को पुनरावेदनपत्र ।
३१. सम्मानीत अदालतबाट सत्य तथ्य र सक्कल मिसिल अवलोकन गरी पूर्णतः सफाई पाउने मलाई हराई ज्यानसम्बन्धीको १४ नं. अनुसार १० वर्षकैद गर्ने भनिएको कास्की जिल्ला अदालतको फैसला बदर गरी मलाई सफाई दिलाई पाउँ भन्ने समेत डोल बहादुरको मिति २०४१।११।१४ गतेको पुनरावेदनपत्र ।
३२. ढक बहादुरलाई सफाई गरेको र झलक बहादुरलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्षकैदको सजायँ गर्ने गरेको शुरु कास्की जिल्ला अदालतको फैसला मनासिब छ । डोल बहादुरका हकमा ज्यानसम्बन्धीको २५ नं. को दावी हुँदा रु. २०।– जरिवाना हुन्छ भन्ने समेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
३३. संशोधित माग दावी बमोजिम प्रतिवादीहरूलाई सजायँ हुन पर्दछ भन्ने समेतको श्री ५ को सरकार तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन रहेछ ।
३४. १० वर्षकैदको सजायँ मलाई गर्ने गरी प.क्षे.अ.ले गरेको फैसलामा त्रुटी हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी झलक बहादुरको निवेदन परी डिभिजन बेञ्च समक्ष पेश हुँदा प्रतिवादी झलक बहादुर कसूरमा इन्कार रहेको तथा सोही व्यहोरा पुष्टि हुने गरी चन्द्रप्रसाद गुरुङ समेतले बकपत्र गरेको देखिंदा प.क्षे.अ.को फैसलामा ज्यानसम्बन्धीको १४ नं. साथै अ.बं. १८४(क), १८५ तथा प्रमाण ऐनको दफा ५४ को समेत त्रुटी भएको भनी पुनरावेदनको अनुमति प्रदान गरी पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।
३५. निर्णयार्थ संयुक्त इजलास समक्ष पेश हुँदा प्रस्तुत मुद्दामा प्रतिवादी झलक बहादुर उपर ज्यानसम्बन्धीको १४ नं. प्र.ढक बहादुर, डोल बहादुरलाई ज्यानसम्बन्धीको २५ नं. बमोजिम सजायँको माग दावी लिई मिति २०३९।९।११ मा प्रहरी प्रतिवेदन अदालत समक्ष भएको पाइन्छ । त्यसरी एकपटक प्रहरी प्रतिवेदन पेश भई सकेपछि पुनः मिति २०४०।१०।१३ मा प्रतिवादी झलक बहादुर गुरुङ उपर ज्यानसम्बन्धीको १४ नं. अनुसारको माग दावी लिइएकोमा सो दावी संशोधन गरी निज उपर सोही महलको १३(३) नं. अनुसारको कसूरको माग दावी कायम हुन डोल बहादुरले ज्यानसम्बन्धीको १ को १३(४) अनुसारको कसूर गरेको प्रष्ट देखिँदा निज उपर भूलबाट लिएको २५ नं. को माग दावी संशोधन गरी ज्यानसम्बन्धीको १३(४) बमोजिमको सजायँ कायम हुन र चन्द्र बहादुरको मृत्यु गराउन मुख्य षडयन्त्र गर्ने व्यक्ति ढक बहादुर देखिँदा निज उपर ज्यानसम्बन्धीको २५ नं. को माग दावी संशोधन गरी १६ नं. कायम हुन भनी स.स.अ. तथा स.स.अ. को प्रतिवेदन अदालत समक्ष परेको देखियो । त्यसरी एकपटक माग दावी लिइ सकेको कुरामा पुनः उनै अभियुक्त उपर दावी संशोधन पर्न मिल्ने हो वा होइन ? यो कुरा नै सर्वप्रथम विचारणीय देखिन आउँछ । अ.बं. ८८ नं. मा उल्लिखित प्रहरी प्रतिवेदनको हकमा यो लागू नहुने भन्ने वाक्यांशले दावी संशोधन गर्न छुट दिएको होइन । बरु उक्त नं. को व्यवस्थाले बढी अभियुक्त फेला परे उनीहरूको हकमा पुनः प्रतिवेदन पेश गर्न सकिने हो । उसमा पनि प्रस्तुत मुद्दामा दोश्रो पटक पेश गरिएको प्रतिवेदन स.स.अ. तथा स.स.अ. द्वारा मात्र पेश भएको त्यसरी एकलै स.स.अ. तथा स.स.अ. ले प्रतिवेदन पेश गर्न मिल्ने हो होइन : यो प्रश्न पनि विचारणीय देखिन आएको छ । श्री ५ को सरकारतर्फबाट पर्न आएको पुनरावेदनमा संशोधित दावी अनुसार सजायँ हुन पर्ने भन्ने जिकिर लिइएको छ जब कि संशोधित दावी नै कानुन अनुकूल देखिँदैन समयमा नै आरोप लगाउन नसकिएको कुरामा पछिबाट के कसरी दावी संशोधन गर्न परेको हो सो पनि खुल्दैन । भूलबाट दावी लिएको भनी स.स.अ. तथा स.स.अ. ले आफैंले अघि पेश गरेको प्रतिवेदनको माग दावी बदल्नु भएको छ जुन कुरामा कानुनन् मिल्ने देखिन्न एकातिर पुनरावेदनमा आएर शुरु दावी नै परित्याग गरेको शंकास्पद स्थिति विद्यमान छँदैछ भन्ने अर्कोतिर तथ्यभित्र प्रवेश गर्दा पनि मृतक चन्द्र बहादुर रक्सी खाई लडेको भनी गण्डकी अञ्चल अदालतमा उपचार गर्न लगिएको छ । हस्पीटलमा चन्द्र बहादुरको मृत्यु भएको छ । घा जाँच केश फाराम समेत केही बनाएको छैन । मृत्यु पश्चात मृतकको लाश बुझी सतगत गरेको देखिन्छ। त्यस बखतसम्म प्रतिवादीहरूले कुटपिट गरी चन्द्र बहादुरको मृत्यु भएको भन्ने कसैलाई शंकासम्म भएको देखिँदैन । प्रतिवादीहरूसँग अघिदेखिको मार्न पर्ने सम्मको रिसइवी भएको भन्ने पनि केही कतैबाट देखिन आएको छैन । एकै चोटी पछि आएर प्रतिवादी मध्येका झलक बहादुर समेतले चन्द्र बहादुरलाई कर्तव्य गरी मारेको भनी जाहेरी दर्खास्त परेको देखिन्छ । समयमा नपरेको जाहेरीको महत्व समयमा पर्ने जाहेरी दर्खास्तको भन्दा निश्चय नै कम हुन्छ । किनकी जाहेरी अपराधको पहिलो सूचना हुने हुँदा सकेसम्म छिटो हुन सकेमा यथेष्ट प्रमाणको खोजी छानबीन हुन सक्छ । जाहेर गरेपछि प्रतिवादीहरूको प्रहरीमा भएको बयान कागज तथा अदालतमा भएको बयान समेतमा आरोपित कसूर गरेमा इन्कारी रहेको देखिन्छ र सरजमीनको भनाइका हकमा चन्द्र बहादुरलाई झलक बहादुरले हिर्काएकै देखेको हुँ भन्ने चस्मदिद व्यक्ति कोहि देखिएको छैन । केवल कसैले शंका कसैले विश्वास व्यक्त गरेको पाइन्छ । सो वारदात भएको विश्वासले निवेदन पेश गरी अदालतमा बकपत्र गरेको देखिन्छ । तर त्यस्ता चस्मदिद व्यक्तिहरू सरजमीनमा उपस्थित हुन नसक्नाको विश्वासलायक कारण समेत निजहरूले दिन सकेको पाइँदैन। अधिकांश सरजमीनका व्यक्तिहरू अदालतमा आई बकपत्र गर्दा चन्द्र बहादुरलाई झलक बहादुरले हिर्काएको डोल बहादुरले समातेको भनी विष्णुमायाले भनेको हुँदा निजहरूले नै मारेको हुनुपर्छ भन्ने अरुमा आश्रित बकपत्र गरेको देखिन्छ । अरुले भनेर सुनेको कुरालाई सुनी जान्ने प्रमाण भनिन्छ र यस्तो सुनी जान्ने (Hearsay) प्रमाणलाई प्रमाणको रुपमा अंगिकार गर्न मिल्दैन । अतः मृतक चन्द्र बहादुरलाई झलक बहादुर समेतको कर्तव्यबाट मारेको भन्ने तथ्ययुक्त विश्वासलायक प्रमाण केही देखिन पेश हुन नआएबाट केबल शंकाको भरमा प्रतिवादी झलक बहादुर, डोल बहादुर र ढक बहादुरलाई कसूरदार ठहर्याउन मिलेन, शंकाको सुविधा अभियुक्तले पाउने सर्वमान्य फौज्दारी न्यायको सिद्धान्त हुँदा निजहरूले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय ।
३६. यसमा अभियुक्तहरू अदालतमा आई लगाए बमोजिमको कसूर गरेमा इन्कारीमा रहेको भए पनि बुझिएका सरजमीनका मानिसहरूले अदालतमा आई बकपत्र गर्दा समेत मौकामा भने देखिएका कुराहरू समेत दर्शाई सो को आधारमा मौकामा कर्तव्य गरेको कुरा थाहा नभएको पछि सो वारदात भएको खास देख्ने भनेका विष्णुमायाको बकपत्रबाट झलक बहादुरको कोदालोले हानेकै चोटबाट मरेको भनी देखाई बकपत्र गरेको र घटनास्थलको प्रकृति मुचुल्काबाट लोटी मर्न सक्ने अवस्थाको नदेखिएको समेत र प.क्षे.अ.को फैसलामा उल्लेख भएका कारणहरूबाट प.क्षे.अ.ले अभियुक्त झलक बहादुरलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष र डोल बहादुरलाई ज्यानसम्बन्धीको २५ नं. बमोजिम रु. २०।– जरिवाना गरी ढक बहादुरलाई सफाई दिने संशोधित सरकारी वकिलको प्रतिवेदन बमोजिम विचार गर्न नमिल्ने ठहर्याएको इन्साफ मनासिब ठहर्छ भन्ने माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय भई मिति २०४३।८।१८।४ मा फैसला भएको रहेछ ।
३७. पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी. ले मर्ने चन्द्र बहादुर गुरुङ प्रतिवादी झलक बहादुर समेतसँग माछा मार्न सँगै गएको भन्ने कुरामा विवाद छैन । घर फर्किदा रक्सी लागेकोले आफैं लडी मरेको भन्ने प्रतिवादीहरूको भनाई छ । तर रक्सी खाएको भन्ने देखिँदैन । बाटोमा झगडा गर्दै गएको मर्ने चन्द्र बहादुरलाई झलक बहादुरले कोदालोले हानेको डोल बहादुरले समाई दिएको मौकामा देख्ने विष्णुमायाको अदालतमा गरेको बकपत्रबाट समेत कर्तव्यबाट चन्द्र बहादुरको मृत्यु भएको प्रष्ट हुन आउँछ । अधिकांश सरजमीनहरुको अदालतमा गरेको बकपत्रबाट समेत कर्तव्यको पुष्टि भएको छ । प्रहरी प्रतिवेदन माग दावीमा संशोधन गरिपाउँ भनी गरेको माग दावी अनुसारको प्रतिवादीहरुलाई सजाय हुनु पर्दछ । संयुक्त इजलाशका माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानबाट प्रतिवादीहरूलाई सफाई दिने गरेको राय मिलेको छैन भन्ने समेत बहस गर्नु भयो । पुनरावेदक प्रतिवादी झलक बहादुर गुरुङ तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले मर्ने चन्द्र बहादुर गुरुङ आफैं लडी मरेको हो । प्रतिवादी पुनरावेदक झलक बहादुरले कर्तव्य गरी मारेको होइन । सरजमीनका व्यक्तिहरू कसैले पनि झलक बहादुरले चोट छाडेको देखेको भन्न सकेको छैन । चोट छाडेका देख्ने भनेका व्यक्तिहरु मौका सरजमीनमा बसेको छैन । त्यस्ता व्यक्तिको भनाइलाई प्रमाणमा लिन मिल्दैन । तसर्थ प्रतिवादी झलक बहादुरले सफाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।
३८. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा संयुक्त इजलासका माननीय न्यायाधीशहरूको राय हेरी निर्णय दिनु पर्ने हुन आएको छ ।
३९. यसमा निर्णयतर्फ हेर्दा २०३९ साल मार्ग १५ गते मेरा भतिजा चन्द्र बहादुर गुरुङ १, ढक बहादुर गुरुङ १, झलक बहादुर गुरुङ १ समेत र डोल बहादुर गुरुङ १ र गंगा बहादुर गुरुङले माछा मार्न गई सोही दिन साँझ मेरा भतिजा चन्द्र बहादुर र झलक बहादुर घर जान उकालोतर्फ लागेछन् केही बेरपछि डोल बहादुर पनि घर जान जाँदा गौरीको उकालोमा चन्द्र बहादुर सक्त घाइते भई लडेको देखिई भोलिपल्ट ऐ. १६ गते बिहान उपचार निमित्त पोखरा अस्पताल ल्याएछन् उपचार हुन नपाउँदै बिहान करिब ७.३० बजे मृत्यु भएछ । लाश गाउँले समेत मिली दाह संंस्कार गरेछन् घर फर्केपछि मेरा भतिजा चन्द्र बहादुर र झलक बहादुर उकालोमा झगडा गरी कुटपिट गरेको चोटबाट टाउको फुटी रगत बगी सारा शरीर थिलथिलो भई बेहोस भएको पराल बोकी गाउँ जाने मानिसहरूले देखेको भन्ने सुनेको समेत डिल्लीसेरा गुरुङसेनीको मिति २०३९।८।२३ मा जाहेरी दर्खास्त परी प्रस्तुत मुद्दाको कारवाही भएको देखिन्छ । पुनरावेदक प्रतिवादी झलक बहादुर गुरुङ अधिकार प्राप्त अधिकारी समक्ष समेत र अदालतमा आरोपित कसूरमा इन्कार रही बयान गरेको पाइन्छ । मृतक चन्द्र बहादुर गुरुङ रक्सी खाई लडेको भनी भोलीपल्ट गण्डकी अञ्चल अस्पतालमा उपचार गर्न लगिएको र त्यसै समयमा मृत्यु भएको भन्ने देखिन्छ । गण्डकी अञ्चल अस्पतालको मिति ०३९।८।२४ को पत्र हेर्दा यस अस्पतालको इमर्जेन्सीमा मिति २०३९।८।१६ गते बिहान ७.१५ बजे उपचारार्थ ल्याइएका चन्द्र बहादुर गुरुङलाई निजकै बाबु मन्जित गुरुङले सारै सिकिस्त अवस्थामा ल्याएको देखिन्छ । निजलाई टाउकोको बीचमा चोट लागेको घाउ १”” थियो । टाउकोको कुनै हड्डीमा दखल भएको देखिन्न । ल्याउँदाको अवस्थामा ब्लड प्रेशर ९०।६० पी.भी.अफ मरकरी र पल्स नारी ६० प्रति मिनेट र ज्यादै शुक्ष्म गतिको थियो । निजको मृत्युपश्चात निजको बाबु मनजीत गुरुङले मेरो छोरा चन्द्र बहादुर गुरुङ यस अस्पतालमा ल्याउने वित्तिकै मृत्यु भएकोले सो लाश बुझिलिएँ र यस अस्पतालका कुनै पनि कर्मचारीलाई दोष दिने छैन भन्ने निजको बाबु मनजित गुरुङले भर्पाई गरी मृतक लाश बुझिलिएका भन्ने देखिएको छ । यसबाट पनि कुटपिट भई उपचारार्थ लगेको भन्ने देखिँदैन । मृतक लाश मृतकको बाबुले बुझी लाश सतगत गरी सकेपछि वारदात भएको भनेको ९ दिनको दिन अर्थात् मार्ग २३ गते जाहेरी दर्खास्त परेको छ । जाहेरीमा यसैले मारेको देखेको भनी किटान गर्न सकेको छैन सुनेको भन्ने कुराबाट शंकासम्म गरेको पाइन्छ । मृतक चन्द्र बहादुरको लाश जाँच हुनसकेको पनि देखिन्न । मौका सरजमीनका मानिसहरुले मृतक चन्द्र बहादुरलाई चोट छाडेको देखेको भन्न सकेको छैन । डोल बहादुरको सहमतिमा झलक बहादुरले हानेको कोदालोको चोटले मरेको भनी शंका सम्म गरेको पाइन्छ । प्रहरी प्रतिवेदनमा देख्ने भनेका सरजमीनका चन्द्रमोहन सुवेदी, रमामोहन सुवेदी, रुद्र बहादुर गुरुङ र विष्णु प्रसाद सुवेदीले अदालतमा गरेको बकपत्रबाट मर्ने चन्द्र बहादुर गुरुङलाई प्रतिवादी झलक बहादुर गुरुङले कोदालोले हानेको देखेको हुँ भन्न सकेको छैन । मर्ने चन्द्र बहादुरलाई प्रतिवादी झलक बहादुर गुरुङले कोदालोले हानेको देख्ने चस्मदिद गवाह कोही देखिँदैन । क्षेत्रीय अदालतले चस्मदिद गवाह भनी विष्णुमाया सुवेदी, कुमारी गुरुङ, जसमाया विश्वकर्माको बकपत्रलाई आधार लिएको देखिन्छ । तर निजहरू मौका सरजमीनमा बकेको देखिँदैन । निजहरूले वारदात देखेका छन् भनी प्रहरी प्रतिवेदनमा उल्लेख भएको पनि पाइँदैन । अदालतमा मुद्दा दायर भई सकेपछि वारदात देखेको हुँ बकपत्र गर्न पाउँ भनी निवेदन गरी अदालतमा बकपत्र गरेको पाइन्छ । सो बकपत्र गर्दा चन्द्र बहादुरलाई डोल बहादुरले समातेको झलक बहादुरले कोदालोले हानेको देखेको भनी बकपत्र गरेको छ । तर मौका सरजमीन हुँदा निजहरूले सरजमीनमा बकेको पाइँदैन । प्रहरी प्रतिवेदनमा पनि चस्मदिद देख्ने व्यक्ति भनी ती व्यक्तिहरूको नाम उल्लेख भएको पनि देखिँदैन त्यसप्रकारको व्यक्तिलाई वारदात देख्ने चस्मदिद गवाह मानी निजहरूको बकाइलाई कानुन बमोजिमको आधार मान्न मिल्ने देखिँदैन । यस स्थितिमा चस्मदिद सबूद प्रमाणको अभावमा केवल शंकाको भरमा प्रतिवादीलाई अपराधी ठहर गर्न न्यायसंगत देखिँदैन । तसर्थ प्रतिवादीहरूलाई सफाई दिने गरेको हदसम्मको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी झलक बहादुर गुरुङको माथि इन्साफ खण्डमा लेखिए अनुसार सफाई पाएको हुँदा निजलाई शुरु कास्की जिल्ला अदालतका मिति २०४१।९।२५ को फैसलाले गर्ने गरेको कैदवर्ष १० दश पश्चिमाञ्चल क्षेत्रीय अदालतका २०४२।२।१५ को फैसलाले गर्ने गरेको कैदवर्ष १ एक समेत नलाग्ने हुँदा व्यहोरा जनाई लगत काटी दिनु भनी कास्की जिल्ला अदालतमा लेखि पठाउन का.जि.अ.मा लगत दिनु…१
पुनरावेदक प्रतिवादी झलक बहादुर गुरुङले निजले कैदवर्ष ११ बापत प्रति महनिाको रु. ४५ का दरले हुने जम्मा ५९४०।– पाँच हजार नौसय चालिस मिति २०४२।४।२१ मा काठमाडौं जिल्ला अदालतमा धरौट राखेको देखिँदा सो धरौटी फिर्ता पाउँ भनी प्रतिवादी झलक बहादुर गुरुङको ऐनको म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई धरौट फिर्ता दिनु भनी का.जि.अ.त.मा गलत दिनु….२
फैसलाको एक प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय पठाई दिनु….३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु……..४
उक्त रायम हामीहरूको सहमति छ ।
न्या.पृथ्वी बहादुर सिंह
न्या.रुद्र बहादुर सिंह
इतिसम्वत् २०४४ साल पौष १६ गते रोज ५ शुभम् ।