निर्णय नं. ३२४ – उत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय नं. ३२४ ने.का.प. २०२३ डिभिजन बेञ्च का.मु प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वाशुदेव शर्मा २०२२ साल रीट नम्बर ११६ निवेदक :...
निर्णय नं. ३२४ ने.का.प. २०२३
डिभिजन बेञ्च
का.मु प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री वाशुदेव शर्मा
२०२२ साल रीट नम्बर ११६
निवेदक : पिताम्बर पाध्याय
विरुद्ध
विपक्षी : भूमिसुधार विशेष अदालत नुवाकोट रसुवा समेत
बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) अधिकार बेगर मुद्दा छिनेमा बदर हुने प्रस्तुत मुद्दा ०२२।११।१७ को सूचनाबमोजिम फाल्गुण १७ गते पछि परेको र सो मिति भन्दा अगावै परी छिन्न बाँकी रहेको नदेखिई ०२२।१।१७ मा फिराद परी ०२२।७।२६।५ गते छिनिएको देखियो । उसमा पनि प्राप्त जवाफमा यो ऐन अन्र्तगत अधिकार प्राप्त भई बाली मुद्दा किनारा गरेको हो भनी उल्लेख गर्न नसकी विपक्षी पिताम्बरको मुद्दा दायर हुनु भन्दा अगावै ०२२।२।४ मा नरबहादुरले पिताम्बर उपर मोहियानी हटक खिचोला गर्यो भनी यस विशेष अदालतमा परेको उजुरीबाट निज ढालबहादुर, शेरबहादुरलाई बुझी बयान गर्दा यो मुद्दा झिकी बुझी हेरि पाउँ भनी माग गरेको र सो मुद्दा यो मुद्दा साथै किनारा गर्नुपर्ने मिसिलको अवस्था देखि उक्त बाली मुद्दा झिकाई यो मुद्दासाथ राखी किनारा गरिएको हो भन्ने जवाफ लेखेको पाइयो । प्राप्त जवाफ र कानूनको विचारबाट अधिकार बेगर यो मुद्दा छिनिएको देखिएकाले यो आदेशद्वारा उक्त फैसला बदर गरिएको छ ।
(प्रकरण नं. ६)
निवेदक तर्फबाट : प्लीडर ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : गभर्नमेन्ट एडभोकेट रतनलाल कनौडिया
आदेश
१. विपक्ष ढालबहादुरसमेत उपर बाली बिगो रु.८८०।– भराई पाउँ भनी ०२२ साल जेष्ठमा मेरो फिराद परेकोमा प्रतिउत्तर परी कारवाही भएको मिसिल विपक्ष विशेष अदालतबाट जि.अ.नुवाकोटको मिसिल बुझी लिई वादी दावी पुग्न नसक्ने भनी ०२२।७।२६ गते भूमि सुधार ऐन, २०२१ को दफा ५५ ले अन्तिम निर्णय गरी दिनु भयो । ऐ.ऐन ५४ दफामा यो दफा प्रारम्भ हुँदाका मितिसम्म देहायका विषयमा सर्वोच्च अदालत बाहेक अरू अड्डा अदालतमा दायर भई छिन्न बाँकी रहेका जति मुद्दा यो दफा प्रारम्भ भएपछि तोकिएको अदालतमा सर्नेछ भनी (ग) मा कुतसम्बन्धी लेखिएकोले ऐन लागू भई अदालत तोकी सकेपछि परेको यो मुद्दा सर्न नसक्ने र भूमि सुधार मन्त्रालयको सूचना गजेट ०२२।२।३२ मा मोहियानी हकको प्राप्ति वा तेरो मेरो सम्बन्धी मुद्दाहरू हेरी किनारा लगाउने गरी सुम्पिएकाले पनि मेरो बाली मुद्दा हेर्न नपाउने प्रष्ट छ ।
२. आफ्नो अधिकार क्षेत्र नाघी विपक्ष विशेष अदालतबाट गरिएको अन्तिम निर्णयले नेपालको संविधानको धारा १० को उपधारा १ र ऐ धारा ११ को उपधारा २ को खण्ड (छ) ऐ धारा १५ बाट समेत बञ्चित गराइएकोले ऐन धारा ७१ बमोजिम उत्प्रेषणको आदेश वा जो चाहिने आज्ञा आदेश जारी गरी उपरोक्त फैसला बदर गरी जिल्ला अदालतबाटै ऐनबमोजिम किनारा गर्ने गरी संवैधानिक हकको प्रचलन कायम गराई पाउँ भन्ने ०२२।८।२९।३ को निवेदन ।
३. लिखित जवाफ मगाउनु भन्ने ०२२।१०।१४।५ को डिभिजन बेञ्चको आदेश ।
४. ढालबहादुर समेत उपर विपक्ष पिताम्बरले मुद्दा दायर हुनु भन्दा अगावै ०२२।२।४ मा नरबहादुरले पिताम्बर उपर मोहियानी हटक खिचोला गर्यो भनी यस विशेष अदालतमा उजुरी गर्दा दुबैजनाको बयानबाट समेत निज नरबहादुरका भाइ यी ढालबहादुर, शेरबहादुर समेतलाई बुझ्नु परी निजहरूले यस अदालतमा बयान गर्दा यो मुद्दा झिकी बुझी हेरी पाउँ भनी माग गरेको र सो मुद्दा यो मुद्दा साथै किनारा गर्नुपर्ने मिसिलको अवस्था देखिई उक्त बाली मुद्दा र त.नु.जि.अ.बाट झिकी यस अदालतमा दायर भएको नरबहादुरको मोहयानी हक खिचोलाको मुद्दा साथै राखी किनारा गरिएको हो भन्ने समेत भूमि सुधार विशेष अदालत नुवाकोट रसुवाको ०२२।११।२७।५ को लिखित जवाफ ।
५. निवेदकको जग्गा मोहियामा कमाई आएको मेरो दाजु समेतले खाएको ऋण रु.१४००।। भू.सु.मा लेखाएको रिस इवीबाट मेरा नाउँमा बालीमा मुद्दा उजुर गरेको हो । उक्त मुद्दा विशेष अदालतमा सरी वादी दावी झुट्टा ठहराई ०२२।७।२६।५ मा छिनेको हो भन्ने समेत ढालबहादुर, शेरबहादुरको ०२२।१२।१९।५ को लिखित जवाफ ।
६. यसमा तारेखमा रहेका पिताम्बर पाध्या समेतलाई रोहवरमा राखी नियमबमोजिम पेश हुन आएको प्रस्तुत केशमा निवेदक तर्फबाट रहनु भएको विद्वान वकिल प्लीडर ठाकुरप्रसाद र बिपक्ष तर्फबाट रहनु भएको गभर्नमेन्ट एडभोकेट श्री रतनलाल कनौडियाको बहस समेत सुनी निर्णयतर्फ हेरेमा रसुवा तथा नुवाकोट जो.अ.मा पिताम्बर पाण्डेले ढालबहादुर समेत उपर दिएको बाली मुद्दा ०२२।७।२६ मा यो निवेदकको उजुरी झुट्टा ठहरी भु.सु.बी.अ.बाट छिनेको देखियो । फागुण १७ गते ०२२ सालको कानून तथा न्याय मन्त्रालयको सूचनामा पर्ने वा परी किनारा नभएको मोही निश्काशन वा मोहीबाट कुत भराई माग्ने विषयको उजुरी हेर्न विषय उक्त मितिको सूचनाले तोकिएको अदालतलाई सुम्पिएको देखियो । प्रस्तुत मुद्दा ०२२।११।१७ को सूचनाबमोजिम फाल्गुण १७ गते पछी परेको र सो मिति भन्दा अगावै परी छिन्न बाँकी रहेको नदेखिई ०२२।२।१७ मा फिराद परी ०२२।७।२६।५ गते छिनिएको देखियो । उसमा पनि प्राप्त जवाफमा यो ऐन अन्र्तगत अधिकार प्राप्त भई बाली मुद्दा किनारा गरेको हो भनी उल्लेख गर्न नसकी विपक्ष पिताम्बरको मुद्दा दायर हुनु भन्दा अगावै ०२२।२।४ मा नरबहादुरले पिताम्बर उपर मोहियानी हक खिचोला गर्यो भनी यस विशेष अदालतमा परेको उजुरीबाट निज ढालबहादुर शेरबहादुरलाई बुझी बयान गर्दा यो मुद्दा झिकी बुझी हेरी पाउँ भनी माग गरेको र सो मुद्दा यो मुद्दा साथै किनारा गर्नुपर्ने मिसिलको अवस्था देखि उक्त बाली मुद्दा झिकाई यो मुद्दा साथ राखी किनारा गरिएको हो भन्ने जवाफ लेखेको पाइयो । प्राप्त जवाफ र कानूनको विचारबाट अधिकार बेगर यो मुद्दा छिनिएको देखिएकोले यो आदेशद्वारा उक्त फैसला बदर गरिएको छ । कानूनबमोजिम गर्नु भनी यो आदेशको १ प्रति नक्कल विपक्ष भू.सु.वी.अ.नुवाकोट रसुवामा पठाउन एटर्नी जनरल अफिसमा पठाई फाईल नियमबमोजिम बुझाई दिनु ।
इति सम्वत् २०२३ साल जेष्ठ १० गते रोज २ शुभम् ।