August 23, 1987
Created by nepalarchives

निर्णय नं. ३२२० – डाँका ।

निर्णय नं. ३२२०     ने.का.प. २०४४            अङ्क ९   संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं....

निर्णय नं. ३२२०     ने.का.प. २०४४            अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको फौ.पु.नं. ४४९

मुद्दा : डाँका ।

 

पुनरावेदक/वादी: पेम्बा छेतरको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी: जि.भोजपुर भैसी पंखा गा.पं. वा.नं.२ डेलीखर्क बस्ने ध्यान बहादुर राई ।

ऐ.ऐ बस्ने जस प्रसाद राई ।

ऐ.कुलुंग अग्राखे गा.पं. वडा नं.२ घर भै हाल सा.नि.शाखा भोजपुरका ओ.सी मीन बहादुर थापा क्षेत्री ।

फैसला भएको मिति: २०४४।५।७।१ मा

आफ्नो सावितीमा देखाए बमोजिम निजको घर खानतलासी गर्दा केही दसी नभेटिएको र निजका बाबु अभियुक्त मध्येको जसबहादुरले पनि आफूलाई छोराले सुन र रुपैयाँ दिएमा इन्कार रहेपनि घटनास्थलमा भेटिएको चप्पल र छाता मध्ये चप्पल आफ्नो हो भनी निज अभियुक्त ध्यान बहादुरले सनाखत गरेको भनी अधिकांश सरजमीनले लेखाई दिएकै कुरालाई अदालतमा आई बकपत्र गर्दा समेत स्वीकार गरी लेखाई दिएको देखिएबाट निज अभियुक्त ध्यान बहादुर सो वारदातमा नभएको भनी भन्न सकिने अवस्था नरहेको हुँदा खाली रीतपूर्वक सनाखत नगराएकै आधार लिई सफाई पाउने भन्न नमिल्ने ।

(प्रकरण नं. २१)

     पोल बाहेक अरु कुनै सबूदबाट चोरीको माल राखेकोमा र सो डाँकामा सरिक रहेको भन्ने नदेखिएबाट सफाई पाउने

(प्रकरण नं. २१)

पुनरावेदक, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री जीत बहादुर कार्की

विपक्षी,प्रतिवादी तर्फबाटःX

उल्लिखित मुद्दाःX

फैसला

न्या.हिरण्येश्वरमान प्रधानः पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष गम्भीर कानुनी त्रुटिपूर्ण भएको हुँदा पुनरावेदनको  अनुमति पाउँ भन्ने वादी श्री ५ को सरकारको निवेदनमा अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    २०३८।४।५ गते बेलुका नचिनेका ४ जना मानिस मेरो घरमा आई बास बस्न र खाना समेत बनाई दिनुहोस् भनी भनेकाले भात पकाई खाई सकेपछि राती ८.३० बजेतिर म र मेरी श्रीमती समेतलाई बाँधी लडाई निजले लगाइराखेको माडवारी नौगेडी समेत बिगो रु.४३,०५०।को धनमाल डाँका गरी लगेकोले कानुन बमोजिम निजहरू माथि कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०३८।४।७ को पेम्बाछतर शेर्पाको जाहेरी ।

३.    जाहेरी अनुरुपको धनमाल डाँका गरी लगेका हुन् भनी जाहेरवालाकी श्रीमतीले गरिदिएको कागज ।

४.    डाँकाको सुराक पत्ता लगाउँदै हिडिरहेको बखत डाँकाहरूमध्ये ध्यान बहादुर राई पनि एक हो भनी दालकी शेर्पेनीले देखाएको हुँदा पक्राउ गरी दाखिल गरेका छु भन्ने प्रहरी प्रतिवेदन ।

५.    २०३८।४।५ गतेको दिन म समेत ६ जना भई जाहेरीमा लेखिए अनुसारको धनमाल डाँका गरी बण्डा गर्दा मेरो भागमा रु. १,५००।र ३ तोला सुन पर्नुको साथै घटनास्थलमा भेटिएको चप्पल मैले छाडी आएको हुँ, छाता विश्वनाथ लम्सालको हो भन्ने समेत व्यहोराको ध्यान बहादुर राईको प्रहरीमा बयान ।

६.    २०३८।४।१ गते हामी लोग्ने स्वास्नी माइती घर उर्बु गाउँमा गएको ऐ.४ गते फर्की आउँदा घरको ढोका बन्द गरी छोरा कता कता गएछन् ऐ.१५ गते मात्र घरमा आएको तर आफूसग कुनै किसिमको नगदी जिन्सी समेत नल्याएको भन्ने समेत व्यहोराको अभियुक्तकी आमा मैया राईले गरेको कागज ।

७.    जाहेरवालाको जाहेरी अनुसार डाँका भएको हो पक्राउ परेका ध्यान बहादुर राई, विश्वनाथ लम्साल, मान बहादुर, गंगा बहादुर, मीनबहादुर थापा, डम्बर बहादुर थापा समेत भई डाँका गरेको हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

८.    छोरा ध्यान बहादुरले मलाई कुनै प्रकारको सामान राख्न दिएको छैन भन्ने समेत व्यहोराको जयप्रकाश राइको कागज ।

९.    राइघाटको धिरलीको सरजमीन गर्न जाँदा ध्यान बहादुर राईसँग भेट भएको हो मैले डाँका गरेको छैन भन्ने समेत व्यहोराको मीनबहादुर थापाको कागज ।

१०.    संकलित सबूद प्रमाणको आधारमा ध्यान बहादुर राई, मीनबहादुर थापा, विश्वनाथ लम्साल, मनबहादुर मगर, गंगा बहादुर तामाङ डम्बर बहादुर तमाङ समेतलाई चोरीको १२।१४ नं. बमोजिम र जयप्रसाद राईलाई २० नं. बमोजिम सजायँ गरी बिगो समेत भराई पाउँ भन्ने प्रहरी प्रतिवेदन ।

११.    प्र.ध्यान बहादुर, प्र.विश्वनाथ, प्र.गंगा बहादुर, प्र.मन बहादुरलाई चोरीको ४ नं. विपरीत कसूर गरेमा ऐ. १२, १४(२) बमोजिम र प्र.मीन बहादुर, डम्बर बहादुरलाई चोरीको २० नं. र आमा प्रहरी प्रतिवेदनमा सहमत भन्ने स.स.अ. तथा स.स.अ. को छुट्टै राय ।

१२.   म भर्तिको लागि गएको २०३८।४।४ गते राती सुनवालुवामा छु नागरिकताको प्रमाणपत्र र मन्जूरनामा लिन बिर्सेकोले लिन घर फर्केको बखत ऐ.२१ गते मलाई प्रहरीले पक्री डरत्रास देखाई इच्छा विरुद्ध बयान गराएको हुन भन्ने समेत व्यहोराको प्र.ध्यान बहादुर राईले अदालतमा गरेको बयान ।

१३.   २०३८।४।४ गते घिरलिङको सरजमीन गर्न राइघाटमा गएको थिएँ । त्यही अकस्मात ऐ. ५ गते ध्यान बहादुरसँग भेट भई परिचय भयो । उक्त वारदातमा म सरिक छैन भन्ने मिनबहादुरको बयान ।

१४.   ध्यान बहादुरले मलाई सुन र पैसा राख्न दिएको छैन मतिर जाने भनेकोले निजको आमाले २१ गते मात्र जाउ भन्दा मानी बसेकोमा सोही दिन प्रहरीले पक्राउ गरेको हो । प्रहरी समक्ष गरेको बयानमा मैले  छोरा माथि कुनै अभियोग लगाएको छैन म समेत उक्त वारदातमा छैन भन्ने समेत व्यहोराको जयप्रसाद राईले अदालतमा गरेको बयान ।

१५.   प्र.विश्वनाथ, गंगा बहादुर, डम्बर बहादुर, मान बहादुरका नाउँको म्याद बेपत्ते तामेल भएको ।

१६.    मुद्दा डाँका वारदात कायम गरी कारवाही गर्नु भन्ने पु.क्षे.अ.सदरमुकाम भोजपुर सिंगल बेञ्जको आदेश ।

१७.   सबूद प्रमाणको अभावमा अभियुक्तहरूलाई माग दावी बमोजिम कसूरदार ठहर गर्न नमिल्ने हुँदा सफाई पाउने ठहर्छ भन्ने शुरु जि.अ. को फैसला ।

१८.   भोजपुर जि.अ.को फैसलामा चित्त बुझेन श्री ५ को सरकारको पू.क्षे.अ.मा परेको पुनरावेदन ।

१९.    प्रहरीमा प्र.ध्यान बहादुरले पटकपटक गरेको तम्तिबा कागज समेत निजको इन्छा विरुद्ध भएको भनी अदालतमा बयान गरेको सो कागजमा लेखिएको सुन र नगदी बरामद हुन नसकेको प्रहरीमा भएको कागजको समर्थन अरु स्वतन्त्र प्रमाणबाट हुनसकेको देखिन आएन जाहेरवालाको श्रीमती दालकी शेर्पेनी समेतले प्र.ध्यान बहादुर राईलाई निजको घरमा डाँका गर्ने मध्येको एकजना यही हो भनी सनाखत गरेको भन्ने सम्बन्धमा अ.बं.१७३ बमोजिम सनाखत गराएको देखिन आएन पहिले अरु अपराध गरेमा सजायँ पाएको भनी चरित्र सम्बन्धी कारणबाट शंका लिई सोही आधारमा निजलाई र निजले पोलेको आधारमा प्र.जयप्रसाद राई प्र.मीनबहादुरले थापा समेतलाई कसूर ठहर्‍याउन नमिल्ने हुँदा निजलाई सफाई दिएको शुरु भोजपुर जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने पू.क्षे.अ.को फैसला ।

२०.   पू.क्षे.अ.को इन्साफमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी श्री ५ को सरकारको निवेदनमा जाहेरी दर्खास्त साथ दाखिल भएको सामानहरू मध्ये छाता विश्वनाथको चप्पल मेरो हो भनी प्र.ध्यान बहादुर राइले सरजमीनका व्यक्तिहरू समक्ष समेत सनाखत गरेको निज डाँका गरेमा प्रहरी समक्ष सावित भएको तथ्यलाई सरजमीनबाट समेत समर्थन मिलेको अवस्थामा अभियुक्तहरूले सफाई पाउने ठहर्‍याएको पू.क्षे.अ.को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ र अ.बं. १८४(क) समेतको त्रुटी भएको र त्यस्तो त्रुटी सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष गम्भीर कानुनी त्रुटी हुँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १२(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने स.अ.डिभिजन बेञ्चको आदेश ।

२१.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा तारेखमा रहेको मीनबहादुरलाई रोहवरमा राखी वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री जीत बहादुर कार्कीले गर्नु भएको बहस सुनी पू.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ भनी विचार गर्दा अभियुक्त मध्येका ध्यान बहादुर राई अदालतमा आई बयान गर्दा वारदातको रात राइघाटमा रहेको भनी देखाई इन्कार रहेपनि प्रहरीमा कागज सो डाँका गरेमा सावित भएको देखिन्छ । निजले आफ्नो सावितीमा देखाए बमोजिम निजको घर खानतलासी गर्दा केही दसी नभेटिएको र निजका बाबु अभियुक्त मध्येको जसबहादुरले पनि आफूलाई छोराले सुन र रुपैयाँ दिएमा इन्कार रहेपनि घटनास्थलमा भेटिएको चप्पल र छाता मध्ये चप्पल आफ्नो हो भनी निज अभियुक्त ध्यान बहादुरले सनाखत गरेको भनी अधिकांश सरजमीनले लेखाई दिएकै कुरालाई अदालतमा आई बकपत्र गर्दा समेत स्वीकार गरी लेखाई दिएको देखिएबाट निज अभियुक्त ध्यान बहादुर सो वारदातमा नगएको भनी भन्न सकिने अवस्था नरहेको हुँदा खाली रीतपूर्वक सनाखत नगराएकै आधार लिई सफाई पाउने भन्न नमिलेकोले निजले समेत सो डाँका गरेको ठहर्छ । अरु जयप्रसाद राई र मीनबहादुरको हकमा अभियुक्त ध्यान बहादुरको पोल बाहेक अरु कुनै सबूदबाट निजहरूले चोरीको माल राखेकोमा र सो  डाँकामा सरीक रहेको भन्ने नदेखिएबाट निजहरूले सफाई पाउने ठहर्‍याएको इन्साफ सम्म मनासिब ठहर्छ अरु तपसील बमोजिम गर्नु ।

तपसील

प्र.ध्यान बहादुर राइके माथि इन्साफ खण्डमा लेखिए बमोजिम डाँका गरेको ठहरेकोले मुलुकी ऐन चोरीको १२।१४।४ बमोजिम दोश्रो पटक हुँदा कैदवर्ष ९ (नौ) र बिगो रु. ४३,०५०। को डेडी ६४,५७५। जरिवाना हुन्छ पुर्पक्षको निमित्त थुनामा बसेको मिति २०३८।५।३ बाट कैद कट्टा हुनेगरी लगत कसी असूल गर्नु भन्ने शुरु जि.अ.मा पठाउन का.जि.अ.त लगत दिनु …..१    जाहेरवाला पेम्बा छेतरके डाँका गरेको बिगो रु. ४३,०५०। को ५ भागको १ भाग रु. ८६१० प्रतिवादी ध्यान बहादुरको जाय जेथा देखाई कानुनको म्यादभित्र दर्खास्त परेमा लाग्ने दस्तुर लिई बिगो भराई दिने भनी लगत राख्नु भनी शुरु जि.अ.मा लेखि पठाउन का.जि.अ.त.मा लगत दिनु…२

पू.क्षे.अ.को इन्साफ केही उल्टी भएकोले मा.न्या.श्री झुलेन्द्रप्रसाद छुत्कली र मा.न्या.श्री केदारनाथ उपाध्यायको उल्टी रेकर्ड राख्नु…..३

नियम बमोजिम गरी मिसिल बुझाई दिनु ४

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बर प्रसाद सिंह

 

इतिसम्वत् २०४४ साल भाद्र ७ गते रोज १ शुभम् ।

