April 29, 1966
Created by nepalarchives

निर्णय नं. ३२१ – जालसाजी

निर्णय नं. ३२१            ने.का.प. २०२३ फुल बेञ्च न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत क्षेत्री न्यायाधीश श्री कालीप्रसाद उपाध्याय ०२२ सालको फौ.फु.नं.३३ निवेदक, वादी ...

निर्णय नं. ३२१            ने.का.प. २०२३

फुल बेञ्च

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत क्षेत्री

न्यायाधीश श्री कालीप्रसाद उपाध्याय

०२२ सालको फौ.फु.नं.३३

निवेदक, वादी  : नरेन्द्रकुमारी रायमाझी

विरुद्ध

विपक्षी, प्रतिवादी : गोबिन्द नरसिं रायमाझी

मुद्दा : जालसाजी

(१)   तत्कालिन प्रचलनमा रहेको कीर्ते कागजको ३ नं. कस्तो काम कुरालाई जालसाजी मानिने र कस्तो कागजात सा ेको परिधी भित्र नपर्ने ?

            तत्काल प्रचलित कीर्ते कागजको ३ नं.मा अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलतबले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक फरक पारी सहिछाप गरी दिने लिने दुबै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने कारवाही गर्ने जो हो जालसाजी गर्ने ठहरी बात लाग्छभन्ने उल्लेख भएको देखिन्छ । प्रस्तुत केशमा बाबु बाल नरसिंको र कान्छो भाइ गोबिन्द नरसिंको नाउँमा दर्ता भएको बिर्ता रैकर जग्गा सबै तिनै भाइले बराबर बण्डा गर्नुपर्ने हो तापनि अन्ततक बुबा मुमाको साथ बसी बुबा मुमाको सेवा सम्हार भाइ गोविन्द नरसिंले गरेको र उहाँहरू जिबीत छदै उहाँहरूले दिनु भएको राय मुताबिक सो अचल जेथाको ४ भाग गरी २ भाग गोबिन्द नरसिंले र बाँकी २ भागमा ओम नरसिं टेक नरसिंले बराबर गरी लिने दिने भन्ने समेत व्यहोरा पारी खुदै बण्डा गरी दिने लिने पाउने हक भएका व्यक्ति वादीका लोग्ने समेतले मञ्जुर गरी ०९१।२।७।५ मा बण्डा पास गरी दिए लिएको देखिएको । नगरे नभएको झुठ्ठा कुरा गरे भएको भनी उक्त बण्डापत्र पास गरी दिए लिएको नदेखिएकोले यस्तो कुरा उक्त कीर्र्ते कागजको ३ नं.अन्र्तगत जालसाजीको परिभाषा भित्र पर्न नआउने ।

 (प्रकरण नं. १०)

निवेदक तर्फबाट : एडभोकेट मधुप्रसाद

विपक्षी तर्फबाट      : प्लीडर ठाकुरप्रसाद खरेल

फैसला

      १.     ससुरा क.बाल नरसिंहको २ स्वास्नी जेठीतर्फका मेरा खसम प्र.ओम नरसिं कान्छी तर्फका प्रतिवादी देव नरसिं, टेक नरसिं, गोविन्द नरसिं, समेत ४ भाइ छोरा भएकोमा प्र.ओम नरसिंले म माथि सौता हाली मदेश गई बस्नु भएकोले देवर गोविन्द नरसिंले पनि दुःख दिन लागेकाले ०११।२।१ मा मानो छुट्टी बसेको । प्रतिवादीहरू सबै मिली मेरो अंश मार्नका लागि देव नरसिंले अंश छाडेको भनी अरु भाइले ८७ सालमा चल सम्पति लिई सकेकोले बाँकी अचल ४ भाग लगाई २ भाग गोबिन्द नरसिं र १।१ भाग मेरा खसम र टेक नरसिंको भाग गरी ०१०।१०।१५ मा बण्डा गरेको भनी अघिको मिति हाली ०११।२।७ मा खजहनि मालमा जालसाजी बण्डापत्र पास गर्नु भएको रहेछ । ०१०।१०।१५ मा बण्डापत्र गरेको भए ०१०।१२।२७ मा ओम नरसिं, टेक नरसिंले, गोबिन्द नरसिंलाई बण्डाको काम हल गर्न जाउ भनी चिठ्ठी कसरी लेख्नुभयो ? मेरो अंश मार्नका लागि पुर्खाका धनमा मेरो मञ्जुरी बेगर बण्डा गर्न नपाउनेमा गरेको सो जालसाजी बण्डापत्र बदर गरी पाउँ भन्ने समेत नरेन्द्रकुमारीको फिरादपत्र ।

      २.    वादी दाबी बिलकुल झुठ्ठा हो । जालसाजी बण्डापत्र गरेको छैन । देब नरसिंले आफ्नो हक अंश पहिले नै छाडी सकेकाले बाँकीमा भाइ भाइको चित्त बुझी भाइ गोविन्द नरसिंले पिताको अन्त्य अवस्थामा स्याहार सम्भार गरेकोले आफ्ना खुशीले भाइ गोविन्द नरसिंलाई आधा र बाँकी आधामा म ओम नरसिं र टेक नरसिंले आधा गरी लिएको हुँ । त्यसमा वादीको हकै नपुग्ने हुँदा वादी दाबी खारेज हुनु पर्ने भन्ने समेत ओम नरसिं, टेक नरसिंको छुट्टा छुट्टै प्रतिवादी ।

      ३.    ०११।२।७ मा गरेको बण्डापत्र साँचो व्यवहारको हो । अंशमा घटी बढी भयो भन्ने कुरामा वादीको लोग्ने छँदाछदै वादीको उजुरै लाग्न नसक्ने । जालसाजी बण्डापत्र गर्नुपर्ने कारण केही छैन । ०१०।१२।२७ को चिठ्ठी पेश भएपछि नाम राख्ने छु । वादी दाबी झुठ्ठा हो भन्ने समेत गोबिन्द नरसिंको प्रतिवादी ।

      ४.    बुझिएसम्मका प्रमाणबाट देव नरसिंहको भाग बण्डा गरे भन्ने हकमा निजको भागमा वादीको हक पुग्ने भन्न निज वादीले नसकी गोबिन्द नरसिंलाई २ भाग लगाए पनि अंशियार ४ जनाभई वादीको लोग्नेलाई ४ भागको १ भाग अंश लगाएकै देखिए पछि देव नरसिंका हकमा निजको छोडपत्र बिना अंशरहित गराएको भए त्यसतर्फ हक पुग्नेको उजुर परेमा उसै बखत ठहरेबमोजिम हुने हुँदा हाल शङ्का लिनु परेन । बण्डापत्र जालसाजी गरे भन्ने हकलाई यस ठाउँमा यस मितिमा योयो बसी यस कारणले जालसाजी गरे भनी वादीमा लेख्न नसकेको हुँदा जालसाजी बण्डापत्र गरे भन्ने वादी दाबी पुग्न सक्तैन भन्ने समेत रा.का.दे.दो.को ०१४।१२।२८ को फैसला ।

      ५.    जालसाजी गर्नेले देखाई नगर्ने हुँदा यो मितिमा यस ठाउँमा बसी जालसाज गरे भन्न नसकिने । बण्डा गर्दा जम्मा धनको आधी गोबिन्द नरसिंलाई आधीको २ भाग लगाई बाँडेको देखिएपछि ४ भाग कसरी भयो ? त्यस्तो बण्डापत्र रीतपूर्वक कसरी ठहर्ने ? भन्ने समेत वादीको अपील ।

      ६.    जालसाजीतर्फ पक्का सबुद गुजार्न नसकेको र अंश बण्डा घटि बढीतर्फ उजुर गर्ने लोग्नेको, साहु आसामीको ६ नं., अंश बण्डाको ५१ नं.को रीत पुगेको नदेखिएकाले समेत इन्साफ शुरुको मनासिव छ भन्ने अपील तेस्रोको ०१६।१२।३० को फैसला उपर चित्त बुझेन भन्ने समेत वादीको अपील ।

      ७.    वादीको लोग्ने ओम नरसिंले बण्डा लिएकै देखिएको । त्यसमा निजको चित्त नबुझेको भए घटी बढीतर्फ बण्डा पाउने । यो अपीलाटको लोग्ने ओम नरसिंले उजुर गर्न सक्नुपर्ने । निज ओम नरसिंले उजुर नगरी मञ्जुर गरी बसेको । जालसाजीतर्फ अपीलाटले कुनै पक्का सबुद गुजार्न नसकेकोबाट समेत शुरुको सदर गरी अपील तेस्राले गरेको इन्साफ मनासिव छ भन्ने समेत डिभिजन बेञ्चको ०२१।८।१९।६ को फैसला ।

      ८.    का.ई.पकनाजोल बस्ने गोबिन्द नरसिंह रायमाझी समेतसँगको जालसाजी मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०२१।८।१९।६ मा भएको निर्णय दोहोर्‍याई पाउँ भन्ने का.ई.पकनाजोल बस्ने नरेन्द्रकुमारी रायमाझीको निवेदन पर्न आएको न्यायीक समितिबाट यसमा देव नरसिंको हकमा निजको छोडपत्र बिना अंशरहित गराएको भए त्यसतर्फ हक पुग्नेको ऐनबमोजिम उजुर परेमा उसै बखत ठहरेबमोजिम हुने । अंश बण्डा घटीबढीमा लोग्ने ओम नरसिंले उजुर गर्नुपर्ने । साहु आसामिको ६ नं.अंश बण्डाको ५१ नं.को रीत नपुगेको । लोग्ने ओम नरसिंले उजुर नगरी मञ्जुर गरी बसेको जालसाजीको सबुद नभएको भन्ने समेत शुरु र अपील तथा सर्वोच्च अदालत लगायतका फैसलामा बुँदा लगाई वादीलाई हराएको देखिँदा फैसलामा मुख्य आधार अंश बाँड्दा घटी बढीमा अंश लिने ओम नरसिंको उजुर चाहिने । लोग्नेको अंशमा स्वास्नीको उजुर नपुग्ने भन्ने आधार लिएको देखिन्छ । जुन उक्त देव नरसिंको अंशरहित गराएको भए हक पुग्नेको उजुर परेमा उसै बखत ठहरेबमोजिम हुने भन्ने ठहराएको हकमा फिरादपत्रमा देव नरसिंहले अंश छोडपत्र गरेको भनी ४ भाग लगाई गोबिन्द नरसिंलाई २ भाग र ओम नरसिं र टेक नरसिंलाई १।१ भाग लगाई लिनु दिनु गरी लोग्ने समेत मिली मेरो अंश मार्नलाई जालसाजी गरे भन्ने दाबी लिएकोमा देव नरसिंलाई समेत प्रतिवादी गराएकोमा देब नरसिंहले म्याद गुजारी बसेको देखिएको । त्यस्तो सबै कुरा थाहा पाई गुजारी चित्त बुझाई बसेको कुरामा फेरी उजुर गर्न पाउने किसिमसँग उक्त उल्लेखित उजुर परेमा ठहरेबमोजिम हुने भन्ने लगाएको बुँदा मनासिव नदेखिने । अंश घटी बढीमा लोग्नेले उजुर गर्नुपर्ने भन्ने बुँदा लगाएका हकमा अन्याय परेको कुरामा हक पुग्नेले उजुर गर्ने कुरा हो । वादीले आफूलाई अन्याय परेको आफ्नो हक जाने कुरामा उजुर गरेकोमा लोग्नेले अंश घटी बढीमा उजुर गर्न पर्ने नगरेको भन्ने र साहु असामीको ६ नं.र अंश बण्डाको ७१ नं.बमोजिम रीत नपुगेको भन्ने बुँदा लगाएको पनि मिल्दो देखिएन । साहु असामीको ६ नं.र अंश बण्डाको ५१ नं.यस किसिमको वादी उजुरी दाबीका कुरामा प्रयोग हुन नसक्ने । अंश र बंशको कुरामा छोराको जन्म सिद्ध र स्वास्नीको सम्बन्ध स्थापित हुनासाथ स्वमेव हक हुन आउने र त्यस्तो हक पुग्नेले आफ्नो हकमा कसैले आघात पुग्ने केहि काम गर्छ भने अदालती बन्दोबस्त १०६ नं.र कीर्र्ते कागजका ३ नं.ले त्यस्तो ब्यबहार बदर गराउनालाई उजुर गर्ने पुरा अधिकार भएकोले वादीलाई लोग्नेको हक पुग्ने सम्पत्तिमा आफ्नो हकमा आउने भाग सम्पत्ति सुरक्षीत राख्न उजुर गर्ने पूर्ण हक भएको । त्यस्तो अवस्थामा ओम नरसिंले आफ्नो स्वास्नी वादीको हकमा आउने सम्पत्ति समेत हक छाडी दिनालाई अंश बण्डाको ३८ नं.ले हक पुग्ने स्वास्नीको मञ्जुर बेगर हक छाडी दिन नहुने र देव नरसिंको भाग छोडपत्र गरेको समेत मिसाई भाग बण्डा गरेको देखिएको र सो कुरा वादीमा उल्लेख भएको । सो वादीको प्रतिलिपी सहितको म्याद गुजारी बसेकोबाट निज देव नरसिंले गोबिन्द नरसिंह ओम सिंह टेक नरसिं समेत ३ जनालाई सगोलमा अंश हक छोडी दिएको भन्ने देखिन आएकोले जम्मै सम्पत्तिमा ३ जनालाई बराबर भाग लाग्नेमा ओम नरसिंको भागमा आउनेबाट वादीले पाउने भाग काटिन जाने गरी ४ भाग लगाई २ भाग गोबिन्द नरसिंको र १।१ भाग ओम नरसिं टेक नरसिंको गरेको जो हो, वादीको हक सम्बन्धमा अंश बण्डाको ३८,५१ नम्बरको बिपरत दिनु नहुने दिएको घटी बढी पारेको प्रष्ट देखिन आएकोले ३ भागको १ भाग ओम नरसिंको भागमा आउने । सो भाग मध्येमा पनि ओम नरसिंको भागमा लाग्ने जति मात्र छाडी बण्डा गरेको सदर गरी वादीतर्फ आउने हक भाग जति बदर गरी दिनु पर्नेमा वादीको समुच्चै उजुर झुठ्ठा ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिएकोले दोहराउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी ०२२।५।९।४ मा बक्स भई आएको हुकुम प्रमांगीको ब्यहोरा समेत श्री माननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि नं.७ न्याय स. ०२१।४।१३।३ का हुकुम प्रमांगीबमोजिम जाहेर गर्न श्री ५ महाराज धिराजका प्रमुख सचिवालय राजदरवारमा रजिष्ट्रार अफिसमार्फत पठाई दिनु भन्ने ०२२।५।१०।५ को आदेश ।

      ९.    यसमा तारेखमा रहेका दुवै पक्षका वारेस रोहवरमा रही २३।१।७।३ मा पेश भई निवेदक वादी तर्फबाट विद्वान एडभोकेट मधुप्रसादले र विपक्षी, प्रतिवादीहरू तर्फबाट विद्वान प्लीडर ठाकुरप्रसाद खरेलले गर्नु भएको बहससमेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा हामीलाई अंश मार्नाको लागि देव नरसिंले अंश छाडेको भनी अरु भाइले ८७ सालमा चल सम्पत्ति अंश लिई सकेकाले बाँकी अचलमा ४ भाग लगाई २ भाग गोबिन्द नरसिं र १।१ भाग मेरो अंश ओम नरसिं टेक नरसिंका भाग गरी १० साल माघ १५ गते घरसारमा बण्डा भएको भनी अगाडिको मिति हाली ११ साल जेष्ठ ७ गते खजहनी मालमा गई जालसाजी बण्डापत्र पास गर्नु भएछ । पुर्खाको धनमा मेरो मञ्जुरी बेगर मलाई अंश मार्नाको लागि गरेको जालसाजी बण्डापत्र हुनाले सो बण्डापत्र बदर गरी पाउँ भन्ने समेत जालसाजीतर्फ नै वादी को मुख्य दावी भएको देखियो ।

      १०.    के कस्तो काम कुरा गरेकोलाई जालसाजी मानीने हो ? भन्नेतर्फ हेरेमा तत्काल प्रचलित कीर्ते कागजको ३ नं.मा अर्काको हक मेट्ने हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलबले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक फरक पारी सहिछाप गरी दिने लिने दुबै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने कारवाही गर्ने जो हो जालसाजी गर्ने ठहरी बात लाग्छभन्ने उल्लेख भएको देखिन्छ । प्रस्तुत केशमा बाबु बालनरसिंको र कान्छो भाइ गोविन्दनरसिंको नाउँमा दर्ता भएको बिर्ता रैकर जग्गा सबै तीनै भाइले बराबर बण्डा गर्नुपर्ने हो ता पनि अन्ततक बुबा मुमाको साथ बसी बुबा मुमाको सेवा सम्भार भाइ गोविन्द नरसिंले गरेको र उहाँहरू जिबीत छँदै उहाँहरूले दिनु भएको राय मुताविक सो अचल जेथाको ४ भाग गरी २ भाग गोबिन्द नरसिंले र बाँकी २ भागमा ओम नरसिं टेक नरसिंले बराबर गरी लिने दिने भन्ने समेत ब्यहोरा पारी खुदै बण्डा गरी दिने लिने पाउने हक भएका व्यक्ति वादीका लोग्ने समेत मञ्जुर गरी ०११।२।७।५ मा बण्डापत्र पास गरी दिए लिएको देखिएको । नगरे नभएको झुठ्ठा कुरा गरे भएको भनी उक्त बण्डापत्र पास गरी दिए लिएको नदेखिएकोले यस्तो कुरा उक्त कीर्ते कागजको ३ नं.अन्तर्गत जालसाजीको परिभाषा भित्र पर्न नआउने र घरायसमा अगाडिको मिति हालेको भन्ने हकमा म्याद भित्रै पास गराएको समेत भई त्यस कुराको सबुद पुर्‍याउन सकेको देखिन समेत आएन ।

      ११.    वादी विष्णु केशरी महर्जननी प्रतिवादी राजमाया श्रेष्ठनी समेतको जालसाजी मुद्दामा मेरो लोग्ने श्यामभक्त समेत साक्षी बसी सामु रत्नमायाले बुहारी राजमायालाई पेवा भनी म समेतको अंश लाग्ने सम्पत्तिको जालसाजी बकसपत्र गरी दिएको बदर गरी पाउँ भन्ने निज बिष्णुकेशरीको दावी भएको । उक्त उजुर कीर्ते कागजको ३ नं.अन्र्तगत जालसाजी कायम भई वादी बिष्णुकेशरीले आफ्नो लोग्नेबाट पाउने अंश हक जतिका हकमा बकसपत्र लिए दिएको बदर हुने समेत ठहरी ०२१।१०।९।६ मा फुल बेञ्चबाट फैसला भईरहेकाले यो मुद्दामा पनि वादीको अंश हक जतिको हकमा वादीको लोग्नेले हक छोडी बण्डापत्र गरेको जालसाजी व्यवहार बदर हुनु पर्छ भन्ने निवेदक वादीतर्फका विद्वान वकिलको बहस जिकीर भएकोमा उक्त जालसाज मुद्दामा सबै अंशियारको हक लाग्ने सम्पत्तिलाई मेरो मात्र हक लाग्ने भनी नभएको झुठ्ठा कुरा लेखी बकसपत्र लिए दिएको भन्ने भएको यो मुद्दामा खुद आफ्नो बण्डामा आउने अंश हकमा घटी बढी पारी बण्डा गरेको देखिएको । झुठ्ठा कुरा लेखेको नदेखिएकोले उक्त फैसलाको रुलिङ्ग मिल्न नआउने ।

      १२.   देवनरंसिंले अंश हक छाडी दिएको जम्मै सम्पत्तिमा ३ जनालाई बराबर भाग लाग्नेमा ओम नरसिंको भागमा आउनेबाट वादीले पाउने भाग काटी नजाने गरी ४ भाग लगाई २ भाग गोविन्द नरसिंले १।१ भाग ओम नरसिं टेक नरसिंले लिने गरी अंशमा घटी बढी पारी तत्कालीन अंशबण्डाको ३८।५१ नं.को बिपरीत बण्डा गरेको भन्नेतर्फ तर्क उठेको हकमा पतिहरूले भाग घटी बढी पारी भाइ अंश गर्दा पत्नीहरूको मञ्जुरी नलिएको भनी बण्डापत्र बदर गर्न प्रथमउक्त ऐन अन्र्तगतको वादी दावी नै नभएको दोश्रोअंश घटीबढी पारेतर्फ अंशमा चित्त नबुझ्नेले बण्डापत्र कागज खडा गरेकोमा सो मितिले ३ महिना भित्र उजुर गर्ने अंश बण्डाको ५१ नं.मा व्यवस्था भएको प्रस्तुत केशमा ०२२।२।७ गते बण्डापत्र पास गरी दिए लिएको कुरामा ०११।१०।१० मा मात्र यस्तो फिराद दर्ता गरेको भई उक्त ऐनको म्याद ३ महिना भित्र उजुर परेको नदेखिएकोले समेत त्यसतर्फ विचार गरी रहनु परेन ।

      १३.   अब देव नरसिंलाई समेत प्रतिवादी गराएकोमा निजले सबै कुरा थाहा पाइ म्याद गुजारी बसेको कुरामा फेरी उजुर गर्न पाउने किसिमसँग निज देव नरसिंहको हकमा निजको छोडपत्र बिना अंशरहित गराएको भए त्यसतर्फ ऐनबमोजिम हक पुग्नेको उजुर परेमा उसै बखत ठहरेबमोजिम हुने भन्ने बुँदा लगाएको मनासिव नदेखिएको भन्ने तर्कतर्फ विचार गरेमा निज देव नरसिंहले नै हक छाडेको कुरा नहुनाले त्यसतर्फ यदि ऐनबमोजिम हक पुग्नेले उजुर गर्न पाउने कानूनी हक सुरक्षित छ भन्ने प्रस्तुत जालसाजी मुद्दामा प्रतिवादी नदिई म्याद गुजारी बस्दैमा त्यस्तो वादीले उजुर गर्न पाउने कानूनी हक मेटिन नसक्ने हुनाले उक्त बुँदा लगाएको बेमनासिव भन्न मिलेन ।

      १४.   जन्मबाट छोराको र विवाहबाट स्वास्नीको हक अंशमा पुग्ने भन्ने कुरा के सिद्धान्त अंश बण्डाका ऐनमा परेको देखिन्छ । अंश हकको श्रोत जन्म विवाह भन्ने कुरा प्रारम्भिक सिद्धान्तको विषय हो । अंशपाउन सक्ने वादीले मिलाई अंश दिनु पर्ने । प्रतिवादी ओम नरसिंलाई यतिसम्म नियन्त्रणमा राख्न पाउने भनी ऐनले गरेको व्यवस्थालाई अदालतले पालन गरेकै हुन्छ।

      १५.   तसर्थ, उपरोक्त प्रमाणहरूबाट जालसाज भन्ने वादीको उजुर दावी पुग्न नसक्ने ठहराएको समेत शुरु रा.का.दे.दो.र अपील तेस्राको सदर गरी डिभिजन बेञ्चबाट ०२१।८।१९।६ मा छिनेको इन्साफ मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

     

तपसील

निवेदक का.ई पकंनाजोल बस्ने नरेन्द्रकुमारी राय माझी के इन्साफ दोहोर्‍याएमा डिभिजन बेञ्चको फैसलाबाट भएको दण्ड रू.।१३ को अर्ब २०४ नं.ले दशौंद रु.।२ जरिवाना हुन्छ वारेस हुँदा का.श्रे.अ.त मा लगत दिनु…….१

 

इति सम्वत् २०२३ साल वैशाख १७ गते रोज ६ शुभम् ।