निर्णय नं. ३२०१ – भ्रष्टाचार
निर्णय नं. ३२०१ ने.का.प. २०४४ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४३ सालको...
निर्णय नं. ३२०१ ने.का.प. २०४४ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
सम्वत् २०४३ सालको फौ.पु.नं. ५२६
मुद्दा : भ्रष्टाचार ।
पुनरावेदक/प्रतिवादी: जिल्ला खोटाङ गा.पं. वार्ड नं. १ बस्ने छत्र बहादुर श्रेष्ठ ।
विरुद्ध
विपक्षी/वादी: श्री ५ को सरकार ।
फैसला भएको मिति: २०४४।६।२७।३ मा
पुनरावेदक प्रतिवादीले आइतबारे साझा संस्था इलामको रकम भ्रष्टाचार गरेको भएमा संस्थाले कानुन बमोजिम गरी असूल उपर गर्ने कानुनी व्यवस्था भएकोमा सो बमोजिम नगरी भ्र.नि.ऐन, २०१७ को दफा १३(१) बमोजिम प्रतिवादीलाई जम्मा रु. ३१,९२९।०५ प्र.ले हिनामिना गरी भ्रष्टाचार गरेको र आइतबारे साझा संस्थाले प्र.बाट रु. ७९,५४०।५२ भरिपाउने समेत ठहर्याई कैदको हकमा कसूर अनुपातमा कैद गर्ने गरेको मिलेन भन्दै रु. ३१,९२९।०५ सम्म जरिवाना गर्ने गरी मेची अञ्चल अदालतको इन्साफ केही उल्टी गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानुन अनुरुप नहुने ।
(प्रकरण नं. १९)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी, वादीतर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
उल्लिखित मुद्दा: पुनरावेदक बलदेव उपाध्याय समेत विपक्षी श्री ५ को सरकार भएको संस्थानलाई हानी आफूलाई फाइदा पुर्यायो भन्ने फौ.पु.नं. १४६ र १८१ को मुद्दामा यस अदालत डिभिजन बेञ्चबाट ०३७।२।२२ मा सिद्धान्त प्रतिपादित ।
पुनरावेदक श्याम बहादुर थापा क्षेत्री विपक्षी श्री ५ को सरकार (वि.प्र.वि.) भएको २०३६ सालको फौ.पु.नं.६२५ को आफ्नो जिम्माको सम्पत्ति मस्यौट गरे भन्ने मुद्दामा २०२८।९।२६ मा स.अ.डि.बे.बाट सिद्धान्त प्रतिपादित ।
पुनरावेदक गंगा प्रसाद भट्टराई विपक्षी श्री ५ को सरकार भएको साझा भण्डारको सम्पत्ति हिनामिना मुद्दामा २०३६।११।२८ मा स.अ.डि.बे.बाट सिद्धान्त प्रतिपादित ।
फैसला
न्या.बब्बर प्रसाद सिंहः पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।३।३।२ को फैसला उपर चित्त नबुझी प्रतिवादी छत्र बहादुरको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. यस संस्थाका तत्कालिन साझा व्यवस्थापक छत्र बहादुरले रु.१,१०,५९६।२९ एक लाख दशहजार पाँचसय छयानब्बे र उन्तीस पैसा भ्रष्टाचार गरेकोले रकमहरू तुरुन्त असूल उपर गरिदिन हुन अनुरोध छ भन्ने साझा संस्था लि. आइतबारेको अध्यक्षले जि.कार्यालय इलाममा गरेको जाहेरी ।
३. लेखिएको रु. १,१०,५९६।२९ रकम मध्ये रु. ४७,६११।४७ मैले हिनामिना गरेको हुँ अरु रकम मैले बुझेको छैन, कृ.वि.बैंक फिकलका कार्यालय सहायक नेत्रप्रसाद पोखरेललाई आ.सा.संस्थाको रकम कृ.वि.बैंकमा जम्मा गरिदिनु भनी रु. ४,५००।– रकम दिई पठाएको छु । निजले गरिदिएको भर्पाई साझा संस्था आइतबारेमा छ । मल बिक्रीको रु. ७,०९८।– चिया विकास निगम कन्यामबाट मैले बुझेको छैन र हिनामिना गरेको छैन । सवाल ६ मा लेखिएको रु. ४,५०३।९० मध्ये रु ३००।– साझा संस्था पाँचथर व्या.सिद्धी बहादुर गुरुङलाई चिनी खरीद गर्न भनी दिएको छु । बाँकी रु. १,५०३।९० मा रु. ८४८।४५ हाल साझा संस्था आइतबारेका व्य.रामनारायण शाहलाई मैले सा.स.मा बुझाउनु पर्ने कलममा कट्टा गरिदिनु भनी दिएको छु । रु. ६५९।४५ मैले मासेको छु । ऋणी धनबहादुरले सा.सं. आइतबारेमा अलैंची धरौटी राखी सा.स.बाट रु. २७,५३४। निजले ऋण लगी संस्थालाई कागज गरिदिएको छ । मेरो कार्यालयमा कृषि सामाग्री संस्थान इलामसँग कुनै कारोबार गरेको छैन । उक्त सा.संस्थानको बोरा थान १७८। को बोरा प्रति थान रु. ७।– ले हुने जम्मा रु. १,२४६। संस्थालाई बुझाउन पर्ने बाँकी छ अरु जिन्सी नगदी समेत हाल कार्यरत व्य. रामनारायण शाहलाई बुझाएको छु । त्यसपछि मैले साझामा काम गरेको छैन । जि.सा. खुलाउन सकिन ऐ.कार्यालयमा भएको कारोबारमा केही हिसाब मिलाइसकेको छु । संघलाई बुझाउन बाँकी मध्येबाट रु. ४,२००।– जि.सा. संघ लि. इलामका बसन्तकुमार श्रेष्ठलाई दिइएको छु । निज र संघसंग बुझिपाउँ जि.सा.संघको रकम हिनामिना गरेको छैन भन्ने प्रमुख जिल्ला अधिकारी तथा विशेष प्रहरी अधिकृत समक्ष छत्र बहादुर श्रेष्ठले २०३८।११।१७ मा गरेको बयान ।
४. निज छत्र बहादुरले उक्त संस्थाको बोरा थान १७८। को प्रतिगोटा ७।– मोल पर्ने जम्मा रु. १,२४६।– बुझाउन पर्ने भएको र कृषकहरूको ऋण र कार्यालय संघसंस्थाको रकम रु. १,०९,०६३।८० निज छत्र बहादुर श्रेष्ठले गैरकानुनी लाभ उठाई संस्थाको रकम खाई मासेको स्पष्ट हुन आउँछ निज छत्र बहादुरले उक्त रकम खाई मासेकोमा भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ को दफा १३ को उपदफा १ बमोजिम सजायँको माग दावी लिदै हिनामिना गरेको रु. १,०९,०६३।८० छत्र बहादुर श्रेष्ठबाट बिगो भराइदिनु भन्ने जि.का. इलामका प्र.जि.अ. तथा विशेष प्रहरी अधिकृतले २०३९।२।२० मा प्रस्तुत गरेको प्रतिवेदन ।
५. जिल्ला कार्यालय इलामको बयानमा मैले हिनामिना गरेको रु. ४७,६११।४७ मध्ये राजेन्द्र थलसरियासँग रु ११,६००।– मेरा नाउँको बेरुजू निकालिएको रु. ४,७२२।५९ सञ्चालक समिति र संस्थाको साधारण सभाले निर्णय गरी मिन्हा दिएको र मैले लिएको दशैं पेश्की रु. ४००।– सो सालको दशैं पेश्की मिन्हा भएकोले मैले लिएको पेश्की पनि मिन्हा हुनुपर्ने जि.अ. शाखा इलामका स.स.इ.मोहन सापकोटालाई पेश्कीको रुपमा दिएको रु. १,३००।– निजैबाट असूल हुनुपर्ने र माथी लेखिएको पेश्की रकम म बाट असूल गर्न पर्ने र मैले बुझाउनु पर्ने हो अरु बुझाउन पर्ने होइन वि.प्र.अ.ले पेश गरेको आरोपपत्रको मैले तिर्न बुझाउन पर्ने होइन रु ४७,६११।४७ मध्ये पेश्की गएको केही गरी बाँकी रहन आउने रकमसम्म मैले मासेकोले त्यति रकमसम्म मैले बुझाउन पर्ने बाँकी छ साझा संस्था लि. आइतबारेको पत्रमा लेखिएको नं.१ को हकमा ३।४ सवालको जवाफमा लेखिएको छ । नं.२ को हकमा रु. ४,५००।– कृ.बैंक फिक्कलका का.स.नेत्रप्रसाद पोखरेललाई बुझाई दिएको बैंकको भर्पाई सा.संघ आइतबारेमा पोष्टिंग गरिराखेको छ । नं.३ को रु. ७,०९८।– को हकमा चिया विकास निगम कन्यामसँग मैले रकम लिदै नलिएकोले सो रकम हिनामिना गरेको होइन नं. ४ को रु. ४,५०३।९० सा.संग लिई आइतबारेका संस्थापक रामनाथ शाहलाई बुझाई संस्थाको खातामा पोष्टिंग गरिसकेको छु । नं. ५ को हकमा विभिन्न मितिमा ६ किस्ता गरी अलैची प्लेजिंग ऋणमा रु. २९,२२२।७५ ऋण दिएकोमा रु. १,६८८।७५ बुझाई बाँकी रु. २७,५३४।– बाँकी रहेको रकमको कबूलियतनामा गराई निजको धनी पूर्जा रसीद र अलैचीं प्लेजिंगमा २६ बोरा अलैंची ऋण लिएबापत संस्थानमा धितो स्वरुप राखेको श्रेस्ताहरू सबै सा.संघ आइतबारेमै छ । नं. ६ को हकमा म भन्दा अगाडिकै पे.रामेश्वरप्रसादले कृ.सा.संगबाट पाउनु पर्ने भनी संस्थाको हिसाबमा देखाएको नं.७ को रु. ४,२२३।९९ को हकमा अध्यक्ष फुर्वातेजिंग र अडिटरको रोहवरमा मैले बरबुझारथ गरेको र सो स्टकमा सामानहरू शुरु देखिँनै मेरो जिम्मा नभई स्टोर किपरको जिम्मा रहेको नं. ८ को रु. १०,५८८।३४ को हक संघ र संस्थाका हिसाब मिलान गरी बाँकी रु. ४२००।– जि.सा. संघको बे.बसन्तकुमार श्रेष्ठलाई बुझाई निजले रकम बुझेको भर्पाई संस्थामा पोष्टिंग गरी राखेकोले मैले हिनामिना गरेको छैन मैले बरबुझारथ गरी अडिट गर्दै गरेको अवस्था रु. ४७,६११।४७ बाँकी देखिन आएको सो ९ बापत मैले प्रेमकुमार श्रेष्ठलाई जमानी राखी रकममात्र तिर्न पर्ने भनी क्षे.अडिटले देखाएकोले अरु बढी दावी गरेको रकम मैले तिर्न बुझाउन पर्ने होइन भन्ने समेत व्यहोराको छत्र बहादुर श्रेष्ठले मिति ०३९।२।२० मा अदालतमा गरेको बयान ।
६. छत्र बहादुरले २०३९।२।२० गतेको बयान सुनें प्रकरण ३ मा लेखाए अनुसार रु. १,३००।– पेश्की निजबाट लिएको कुनै कुरा होइन मैले कुनै रकम लिएको छैन भन्ने बुझिएको मोहन सापकोटाले २०३९।५।२० गते अदालतमा गरेको बयान ।
७. छत्र बहादुर श्रेष्ठले अदालतमा गरेको बयान सुनें प्रकरण ५ मा रकम रु. ४,५०३।९० कर सम्बन्धमा मलाई दिएको छैन । निजबाट असूल गर्न जि.का.स.शाखा इलामलाई लेखि पठाएको थिएँ उक्त कार्यालयबाट निजलाई बुझाउनको लागि पत्र लेखि पठाएको छ सो पत्रहरू कार्यालयमानै छ भन्ने बुझिएका रामनारायण शाहले अदालतमा गरेको बयान ।
८. छत्र बहादुरले गरेको बयान सुनें । प्रकरण ५ मा उल्लेख गरेको रकम रु. ४,२२३।– सम्बन्धमा छत्र बहादुर श्रेष्ठले मेरो रोहवरामा बरबुझारथ गरेको कुनै होइन । निजसँग सामान राख्ने प्रबन्ध हुँदा मलाई केही थाहा छैन मेरो काम स्टक चेक गर्ने होइन सामान कति थियो निजै जानून् बुझाएका फुर्वातेन्जिंग लामाले अदालतमा गरेको बयान ।
९. छत्र बहादुरले गरेको बयान सुनें प्रकरण ५ मा उल्लेख रकम रु. ४,५००।–निजबाट बुझेको हुँ । बुझेको पुर्जी पनि सोही दिन दिएको छु । उक्त रुपैयाँ कृ.वि.बैंकका नाउँमा रहेको फिक्कल स्थित रा.बा. बैंकमा जम्मा गरी आइतबारे साझा संस्थाको नाउँमा आम्दानी जनाई पोष्टिंग गरेको छु सो रकम बाहेक अरु कुनै रकम निजबाट बुझेका छैन भन्ने बुझिएका नेत्रप्रसाद पोखरेलले अदालतमा गरेको बयान ।
१०. बुझिएसम्मका कागज प्रकरणहरूबाट छत्र बहादुर श्रेष्ठले जम्मा बिगो रु. ७५,३४०।५२ को रकम मात्र हिनामिना गरी भ्रष्टाचार गरेको र उक्त बिगो निजले आइतबारे साझा संस्था इलामलाई तिर्न बुझाउन पर्ने विशेष प्रहरीले बढी बिगोमा दावी समेत गरेको ठहर्छ छत्र बहादुरलाई भ्र.नि.ऐन, २०१७ को दफा १३ को उपदफा १ अनुसार कैदवर्ष २ र ऐ.दफा २९ अनुसार जरिवाना रु. ७५,३४०।५२ समेत हुन्छ भन्ने शुरु मेची अञ्चल अदालत इलामको ०३९।१२।३० को फैसला ।
११. मेची अञ्चल अदालतबाट भएको फैसला बदर गरी हक र इन्साफ गरिपाउँ भन्ने श्री ५ को सरकारतर्फबाट पर्न आएको पुनरावेदनपत्र ।
१२. मेची अञ्चल अदालतबाट भएको फैसला बदर गरी म उपर गरिएको अभियोग वादीबाट सफाई पाउन सादर जिकिर गर्दछु भन्ने छत्र बहादुर श्रेष्ठको पू.क्षे.अ.मा परेको पुनरावेदन।
१३. बुझाएको कुनै निस्सा प्रमाण समेत दिन गुजार्न नसक्दा जम्मा रु. ३१,९२०।०५ प्र.ले हिनामिना गरी भ्रष्टाचार गरेको र आइतबारे साझा संस्थानले प्र. बाट रु. ७९,५४०।५२ भरी पाउने समेत ठहर्छ । कैदको हकमा कसूर अनुपातमा कैद गर्ने गरेको मिलेन रु. ३१,९२९।०५ सम्म जरिवाना हुन्छ शुरु मेची अं.अ. को इन्साफ केही उल्टी हुन्छ भन्ने समेत पू.क्षे.अ.को मिति ०४२।३।३।२ को फैसला ।
१४. भ्रष्टाचार गरेको ठहरी रु. ३१,९२९।०५ जरिवाना गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः विवाद रहित त्रुटी भएकोले न्या.प्र.सु.ऐन, ०३१ को दफा १३(५)ख बमोजिम पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्र.छत्र बहादुरको यस अदालतमा पर्न आएको निवेदनमा न्या.प्र.सु.ऐन, ०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालतको मिति ०४२।१२।२२ को आदेश रहेछ ।
१५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भइआएको प्रस्तुत मुद्दामा तारेखमा रहेका प्र.छत्र बहादुरलाई समेत रोहवरमा राखी पुनरावेदक प्रतिवादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री हरिहर दाहाल र विपक्षी वादी श्री ५को सरकारको तर्फबाट बहसको लागि उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१६. प्रस्तुत मुद्दामा पू.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१७. यसमा पुनरावेदक प्रतिवादी छत्र बहादुर उपर गैरकानुनी लाभ उठाई संस्थाको रकम खाई मासेको भन्ने भ्रष्टाचारको आरोप लगाई भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ को दफा १३(१) बमोजिम सजायँको माग दावी लिंदै प्रहरी प्रतिवेदन प्रस्तुत भएकोमा मेची अञ्चल अदालत इजलासले भ्र.नि.ऐन, २०१७ को दफा १३(१) अनुसार २ वर्ष कैद र जरिवाना रु. ७५,३४०।५२ ठहर गरे उपर वादी तथा प्रतिवादी दुवै तर्फबाट पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा रु. ३१,९२९।०५ प्र.ले हिनामिना गरी भ्रष्टाचार गरेको र आइतबारे साझा संस्थाले प्र.छत्र बहादुरबाट रु. ७९,४५०।५२ भरिपाउने समेत क्षे.अ.ले ठहर गरेको पाइन्छ ।
१८. निर्णयतर्फ विचार गर्दा संस्थाको हानी नोक्सानी गराएको भन्ने सम्बन्धमा भ्र.नि.ऐन अन्तर्गत कारवाही गरी सजायँ गर्न मिल्ने नमिल्ने के रहेछ त्यसतर्फ हेर्दा पुनरावेदक बलदेव उपाध्याय समेत विपक्षी श्री ५ को सरकार भएको संस्थालाई हानी आफूलाई फाइदा पुर्यायो भन्ने २०३६ सालको फौ.पु.नं.१४६ र १८१ को मुद्दामा यस अदालत डिभिजन बेञ्चबाट २०३७।२।२२ गते निर्णय हुँदा पुनरावेदक श्यामबहादुर थापा क्षेत्री विपक्षी श्री ५ को सरकार (वि.प्र.वि.) भएको २०२६ सालको फौ.पु.नं. ६२५ को आफ्नो जिम्माको सम्पत्ति मस्यौट गरे भन्ने मुद्दामा मिति २०२८।९।२६ मा र पुनरावेदक गंगा प्रसाद भट्टराई विपक्षी श्री ५ को सरकार भएको साझा भण्डारको सम्पत्ति हिनामिना मुद्दामा मिति २०३६।११।२८ मा स.अ. डिभिजन बेञ्चबाट निर्णय हुँदा संस्थानबाट जिम्मा लिएको रकम बापत दाखेल गर्न नसके संस्थानले कानुन बमोजिम नालेश गरी लिन सक्ने त्यसतर्फ भ्रष्टाचार गरेको भन्न नमिल्ने भनी प्रतिपादित सिद्धान्तलाई आधार लिएर बलदेव उपाध्यायले भ्र.नि.ऐन अन्तर्गतको कसूर गरेको नठहर्याएको सिद्धान्त प्रतिपादित भएको पाइन्छ ।
१९. उपरोक्त सिद्धान्त बमोजिम पुनरावेदक प्रतिवादी छत्र बहादुर श्रेष्ठले उक्त आइतबारे साझा संस्था इलामको रकम भ्रष्टाचार गरेको भएमा उक्त संस्थाले कानुन बमोजिम गरी असूल उपर गर्ने कानुनी व्यवस्था भएकोमा सो बमोजिम नगरी भ्र.नि.ऐन, २०१७ को दफा १३(१) बमोजिम प्रतिवादी छत्र बहादुर श्रेष्ठलाई जम्मा रु. ३१,९२९।०५ प्र.ले हिनामिना गरी भ्रष्टाचार गरेको र आइतबारे साझा संस्थाले प्र.छत्र बहादुरबाट रु. ७९,५४०।५२ भरिपाउने समेत ठहर्याई कैदको हकमा कसूर अनुपातमा कैद गर्ने गरेको मिलेन भन्दै रु. ३१,९२९।०५ सम्म जरिवाना गर्ने गरी मेची अञ्चल अदालतको इन्साफ केही उल्टी गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानुन अनुरुप नहुँदा उक्त पू.क्षे.अ.को इन्साफ लगायतको प्रतिवादी उपर भ्र.नि.ऐन, अन्तर्गत सजायँ गर्ने गरेको निर्णयहरू समेत बदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी छत्र बहादुर श्रेष्ठके माथि इन्साफ खण्डमा लेखिए बमोजिम निज उपर भ्र.नि.ऐन अन्तर्गत कारवाही गरी जरिवाना समेत गरेको इन्साफ बदर भई उल्टी हुने ठहरेकोले निजलाई कुनै जरिवाना नलग्ने हुँदा निज प्र. छत्र बहादुरबाट पू.क्षे.अ.को मिति ०४२।३।३ को फैसलाले असूल उपर गर्ने गरेको उक्त फैसलाको तपसील खण्डको लगत सम्पूर्ण कट्टा हुने भई प्र.छत्र बहादुरले इलाम जि.अ.मा राखेको धरौट रु. ३,७००।– प्र.ले ऐन बमोजिम फिर्ता पाउँ भनी दर्खास्त दिन आए फिर्ता दिनु भनी शुरु इन्साफ जि.अ.मा लेखि पठाउन का.जि.अ.त.मा लगत दिनु…. १
ऐ. ऐ. ठहरी फैसला भएकोले पू.क्षे.अ.ले पु.प्रतिवादी छत्र बहादुरबाट रु. ७९,५४०।५२ असूल उपर गर्ने गरेको निज प्र.ले फिर्ता पाउने हुँदा निज प्र.बाट असूल उपर भइसकेको भए ऐन बमोजिमको प्र.को दर्खास्त पर्न आए फिर्ता दिनु र असूल उपर भई नसकेको भए असूल उपर गर्नु नपर्ने भनी उक्त इलाम जि.अ.मा लेखि पठाउँदा का.जि.अ.त.मा लगत दिनु ….२
ऐ. ऐ. ठहरी फैसला भएकोले प्र.छत्र बहादुरले पू.क्षे.अ.मा पुनरावेदन गर्दा जरिवाना बापत भनी जेथा जमानीलाई नै मान्यता दिई कायम राखेको जेथा समेत फुकुवा गरी दिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखि पठाउनु भनी शुरु इलाम जि.अ.लाई लेखि पठाउँन का.जि.अ.त.मा लगत दिनु ….३
पू.क्षे.अ.का माननीय मु.न्या.श्री ओमभक्त श्रेष्ठ तथा मा.न्या.श्री नरेन्द्रबहादुर न्यौपानेको उल्टीमा रेकर्ड राख्ने ….४
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ….५
उक्त रायमा म सहमित छु ।
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् २०४४ साल आश्विन २७ गते रोज ३ शुभम् ।