August 19, 1987
Created by nepalarchives

निर्णय नं. ३१९१ – खुन डाँका

  निर्णय नं. ३१९१     ने.का.प. २०४४      अङ्क ८       संयुक्त इजलास   माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी   मानननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान...

 

निर्णय नं. ३१९१     ने.का.प. २०४४      अङ्क ८

 

 

 

संयुक्त इजलास

 

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

 

मानननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

 

सम्वत् २०४३ सालको फौ.पु.नं. ३८७, सा.नं. ९०

 

मुद्दा : खुन डाँका ।

 

 

 

पुनरावेदक/प्रतिवादी:जि.महोत्तरी सुन्दरपुर गा.प.वडा नं.१ घर भै हाल जि.का. कारागार शाखा जलेश्वरमा थुनामा रहेको केदार मिश्र मैथिली बाहुन ।

 

विरुद्ध

 

विपक्षी/वादी: परमेश्वरको जाहेरीले श्री ५ को सरकार ।

 

फैसला भएको मिति:२०४४।५।३।४ मा

 

     वारदातको विवरण लेखाउँदा सम्म विभिन्न मानिसको मुखबाट विभिन किसिमबाट वारदातको विवरण दिएको भन्ने  सम्म देखिन आएकोले यत्तिकै आधारमा अभियुक्तहरूले सफाई पाउने भनी ठहर गर्न मनासिब देखिन आएन ।

 

(प्रकरण नं. २९)

 

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की र विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे

 

विपक्षी तर्फबाटःX

 

उल्लेखित मुद्दाःX

 

फैसला

 

न्या.हिरण्येश्वरमान प्रधानः पुनरावेदन परी निर्णयार्थ बेञ्च समक्ष पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :

 

२.    २०३८।६।३० गते राती खानपीन गरी परिवारहरू घरभित्र र म पूर्व मुखको घरको वसरामा सुतेको अवस्थामा केदार मिश्र, अवधेश ठाकुर १, घुटरा साहु सोनार १, नवलग्वार १, समेत चिनेका चार र अरु नचिनेका ९।१० जना डाँकाहरू हातहतियार लिई बन्दूक फायर गरी मेरो हातको नाडीमा र जहान परिवार समेतलाई कुटपिट गरी मद्दतमा आएका गाउँका भवन साहू सोनारलाई छर्राले लागी मर्न गएकोले बिगो रु. २४,०२०।डाँका गरी लगेकामा कानून बमोजिम कारवाही गरिपाउँ भन्ने परमेश्वर यादवको जाहेरी दर्खास्त ।

 

३.    दुवै हात खुम्ची मुख सबै रगतले भिजी दुवै खुट्टा खुम्चेको दाहिने तिघ्रामा जोखिमी हतियारले घोची छेडी ६ अंगुल लामो ४ अंगुल चौडा भई रातो मासु देखिएको दाहिने खुट्टाको अगाडिपट्टी ६ अंगुल लामो २ अंगुल चौडा धारिलो हतियारको घाउ, छातीमा १½ इन्च लामो १ इन्च गहिरा बन्दूकको फायरको घाउ, पेटमा १ इन्च लामो १ इन्च चौडा काटेको घाउ समेत भएको भन्ने २०३८।७।१।७ को लाश प्रकृति मुचुल्का ।

 

४.    २०३८।६।३०।६ का राती म आफ्नै घरमा थिएँ । भोलिपल्ट डाँका भएको र भवन साहू मरेको सुनेको हुँ । जाहेरवालाको छोरा बिरामी हुँदा झारफुक पारेको खसी नदिएकोले भनाभन भई झगडा भएको थियो सोही रिसइवीले जाहेरीमा म समेतलाई उल्लेख गरेको होलान् भन्ने केदार मिश्रको प्रहरीमा भएको कागज ।

 

५.    वारदातमा म गएकै छैन । डाँका भएको र भवन साहू मरेको भोलिपल्ट मात्र थाहा पाएको हुँ जाहेरीमा मलाई किन देखाए निज जानुन भन्ने समेत अवधेश ठाकुरको प्रहरीमा भएको कागज ।

 

६.    छर्राको गोली लागी रगत बगी मरेको हो भन्ने डाक्टरको राय भएको पोष्टमार्टम फाराम ।

 

७.    वारदात भएपछि जाँदा केदार, अवधेश, घुटरा ब्रमदेव चिनेका र अरु नचिनेका समेत भई डाँका गरे भनी जाहेरवालाले भनेको थिए । वारदात भएकै हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

 

८.    केदार, अवधेश, ब्रमदेव समेतले त्रास देखाई धनमाल नदेखाएमा मार्ने धम्की दिएकाले मालसामान देखाई दिएँ श्रीमान् माथि गोली समेत चलाएका हुन् भन्ने समेत जाहेरवालाको श्रीमती जनियादेवीले सरजमीनमा गरिदिएको ठाडो कागज ।

 

९.    सुतिरहेको अवस्थामा आई रु. ३००।र टर्चलाइट समेत डाँका गरी मेरा पतिलाई, केदार नवलराम समेतले बाहिर लगी निजहरुले चलाएको बन्दूकबाट निज पतिको मृत्यु भएको हो भन्ने समेत मृतकको श्रीमती राधादेवीको सरजमीनमा भएको ठाडो कागज ।

 

१०.    सुन्दरपुरको डाँका खून सम्बन्धमा मलाई केही थाहा छैन मैले डाँका खून केही गरेको होइन भन्ने समेत ब्रमदेव रायको प्रहरीको कागज ।

 

११.    डाँका खून वारदातमा सरिक हुने नवलाग्वार १, केदार मिश्र १, अवधेश ठाकुर १, ब्रमदेव राय १, घुटरा सोनार १, समेतका ५ जना र नाम खुल्न नआएका अन्य डाँका समेत भई डाँका गरेकाले डाँका गरेको बिगो भराई चोरीका ६ नं. को अभियोगमा १४(४) बमोजिम केदार मिश्रका हकमा दोश्रा पटक र अरुका हकमा पहिला पटक डाँका गरेकोमा सजायँ गरी ज्या.सं.को १ नं को अपराधमा ज्या.सं.को १३(३) बमोजिम समेत सजायँ गरिपाउँ भन्ने समेत प्रहरी माग दावी रहेछ ।

 

१२.   जाहेरवालाले मेरो खेतमा भैंसी चराएकोमा भनाभन भएको रीसले जाहेरी दिएका हुन् डाँका गरेको छैन भन्ने समेत अवधेश ठाकुरको अदालतमा भएको बयान ।

 

१३.   २०३८।६।३० गते मगर थानाको विष्णुलालको घरमा किर्तन गरी बसेको थिएँ । डाँका गरेको छैन भन्ने समेत केदार मिश्रको अदालतमा भएको बयान ।

 

१४.   वारदातको रातमा घरमै छु । डाँका भई भवना साहू मरेको थाहा छैन भन्ने समेत ब्रमदेव रायको अदालतमा भएको बयान ।

 

१५.   ७० दिने म्यादी पुर्जी जारी भएको घुटरा साह सोनार मरिसकेका भन्ने जि.प्र.का. महोत्तरीको २०३८।९।३ को पत्र तथा प्र.नवलरायले २०३८।९।२२ मा तामेल भएको ७० दिने म्याद गुजारी बसेको ।

 

१६.    २०३८ आश्विन महीना हो गते बार याद भएन केदार भित्र, नवलग्वार समेतका व्यक्तिले डाँका गरेका हुन । केदार मिश्र नवलग्वारले समाती लगी नवलाको हातमा रहेको बन्दूक र केदारको हातमा रहेको बन्दूकले हिर्काई मेरा पतिलाई मारेका हुन् भन्ने समेत राधादेवीले अदालतमा गरेको बकपत्र ।

 

१७.   नवला घुटरा, अवधेश र केदार समेतलाई तत्कालै चिनेँ कुटपिट फायर गरी डाँका गरी लगे भन्ने समेत जाहेरवाला परमेश्वरले अदालतमा गरेको बकपत्र ।

 

१८.   नवलग्वाराका हकमा अ.बं. १९० नं. बमोजिम मुलतवीमा रहने, ब्रम्हादेव र अवधेशले सफाई पाउने र केदार मिश्रका हकमा ज्यानसम्बन्धीका दावीमा सफाई पाउने र डाँकाका वारदातका सम्बन्धमा पहिला पटक पारी डाँका गरेको ठहर्छ भन्ने समेत व्यहोराको महोत्तरी जि.अ.को फैसला ।

 

१९.    शुरुको उक्त इन्साफमा चित्त बुझेन शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ होस् भनी श्री ५ को सरकारको तर्फबाट म.क्षे.अ.मा परेको पुनरावेदन ।

 

२०.   वारदात नै नभएकोलाई डाँका गरेको ठहर्‍याएको इन्साफमा चित्त बुझेन अतः सो इन्साफ बदर गरी इन्साफ पाउँ भन्ने समेत प्र. केदार मिश्रको म.क्षे.अ.मा परेको पुनरावेदन ।

 

२१.   प्र.अवधेश र ब्रम्हामदेवलाई सफाई दिएको नमिलेकोले अ.बं. २०२ नं. बमोजिम झिकाई पेश गर्नु भन्ने आदेश ।

 

२२.   प्र.घुटरा मरे पनि बिगो तिर्नुपर्ने नपर्ने के हो सो को निर्णय गर्नु पर्नेमा नगरेकोले निर्णयको लागि शुरुमा पठाउने भनी आदेश भए अनुरुप मिसिल शुरु जि.अ.मा गई शुरु महोत्तरी जि.अ.बाट प्र. घुटराले सफाई पाउने ठहर्‍याई फैसला भएको रहेछ ।

 

२३.   प्र.घुटरालाई सफाई दिएको सो इन्साफमा चित्त बुझेन दावी बमोजिम सजायँ गरिपाउँ भनी श्री ५ को सरकारको तर्फबाट परेको पुनरावेदनपत्र ।

 

२४.   प्र.घुटरा साहू सोनार, केदार मिश्र, मैथिल बाहुन ब्रम्हामदेव राय यादव र अवधेश ठाकुर समेतले ज्यानसम्बन्धीको १३(३) बमोजिम चोरीको १४(४) बमोजिम कसूर गरेको ठहर्छ भनी म.क्षे.अ.बाट भएको फैसला ।

 

२५.   म.क्षे.अ.को सो फैसलामा चित्त बुझेन सो फैसला बदर गरी इन्साफ पाउँ भनी केदार मिश्र मैथिल बाहुनको यस अदालतमा परेको पुनरावेदनपत्र रहेछ ।

 

२६.   नियम बमोजिम पेशी सूचीमा बढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल अध्ययन गरी  पुनरावेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ताद्वय श्री बद्रीबहादुर कार्की र कोमलप्रकाश घिमिरेले गर्नुभएको बहस समेत सुनियो ।

 

२७.   विद्वान अधिवक्ताहरुले चस्मदिद व्यक्तिहरुले गरेको बयानबाट दुईवटा छुट्टाछुट्टै वारदात घटेको भन्ने कुरा देखिने, जाहेरवालाको भनाई एकआपसमा नमिली फरक फरक देखिन आएको, वारदात घटेको कुरामा पनि जाहेरवाला र निजकी पत्नी जनियादेवीको बयान एकआपसमा नमिली भिन्न भएको, गोली चलाउने व्यक्तिकै बारेमा जाहेरवालाले घुटराले चलाएको भनी भनेका र मृतककी श्रीमतीले गोली नवला रायले चलाएको भनी उल्लेख गरेको देखिएको यस्तो अवस्थामा सर्वप्रथमतः एउटै वारदात भन्न मिल्ने अवस्था छैन दोश्रो केदार मिश्रले गोली हानी मारेको भनी भन्न सकिने अवस्था नभएकोले हाम्रो पक्ष पुनरावेदकले सफाई पाउनु पर्छ भनी आफ्नो पक्षको तर्फबाट बहस जिकिर प्रस्तुत गर्नुभएको छ ।

 

२८.   विद्वान अधिवक्ताहरुको उल्लिखित बहस जिकिर समेतलाई ध्यानमा राखी इन्साफतर्फ विचार गर्दा म.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

 

२९.   यसमा क्षे.अ. ले दावी बमोजिम अभियुक्त मध्येका केदार मिश्र, ब्रम्हामदेव राय, अवधेश ठाकुर र घुटरा साह समेतले डाँका गरी ज्यान समेत मारेको ठहर्‍याएकोमा प्र. घुटरा मरिसकेको र अवधेश र ब्रम्हामदेवले पुनरावेदन नगरी केदार मिश्रको मात्र पुनरावेदन पर्न आएकोबाट पुनरावेदन नगर्नेका हकमा र मर्नेका हकमा साधक तर्फबाट र प्र.केदारको हकमा निजको पुनरावेदनबाट क्षे.अ.को इन्साफ मिले नमिलेको के हो भन्नेतर्फ निर्णय दिन सर्वप्रथम केदार मिश्रको तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे र बद्रीबहादुर कार्कीले मर्ने भवनाको स्वास्नीले प्रहरीमा कागज गर्दा र अदालतमा बकपत्र गर्दा समेत डाँकाहरु निजको घरमा बसी रु. ३००।र सानो टर्च १ समेत लिई लोग्ने भवनालाई समाती बाहिर लगेको भनाभन हुँदा केदार मिश्रले गडासा र नवलग्वारले बन्दूकले हानी मारी भागी गएको भनी देखाएको अर्कोतर्फ जाहेरवाला र निजको श्रीमतीले निजको घरमा डाँका गरी डाँकाहरु भागी गएपछि डाँका डाँका भनी कराउँदै जाँदा मद्दतमा आएका भवनालाई गोलीले हानी गएको भनी देखाएको र जाहेरवालाले आफ्नो जाहेरी तथा अदालतको बकपत्रमा डाँकाहरु आई आफूलाई कुटपिट गरी बन्दूक समेत हानी हलचल गर्न नदिई राखी अरु डाँका ढोका फोरी भित्र पसी स्वास्नीलाई समेत सोही बमोजिम कुटपिट गरी डर त्रास देखाई धनमाल कहाँ छ भनी धनमाल डाँका गरी भागी गएको भनी र जाहेरवालाको श्रीमती जनियादेवीले डाँकाहरु आई ओसारामा सुतेका लोग्नेलाई कुटपिट गरी बन्दूक समेत हानेको आवाजबाट व्यूँझी बाहिर आउँदा डाँकाहरुले आफूलाई पनि कुटपिट गरी डर त्रास देखाएको भनी देखाएबाट वारदात दुई ठाउँको एकै हो वा बेग्लाबेग्लै हो भन्ने कुरामा समेत शंका उत्पन्न गरेको हुँदा त्यस्तो शंकास्पद वारदातको सिलसिलामा अभियुक्तहरुलाई सजायँ गर्न नमिल्ने भनी जिरह लिएको हकमा उक्त जिरहबाट वारदात भएको भनी देखाएकै कुरामा शंका उत्पन्न गराउने प्रयास भएको देखिन आउँछ । तर जाहेरवालाको जाहेरी दर्खास्त, मर्ने भवनाको श्रीमतीको कागज बकपत्र, जाहेरवालाको श्रीमती जनियादेवीको कागज तथा बकपत्र बमोजिम सरजमीनका अदालतमा समेत आई बकपत्र गर्ने मानिसहरुले वारदातको रातमा खून डाँका समेत भएकै हो भनी देखाउनुको साथै मृतक भवनाको लाश जाँच प्रतिवेदन समेतबाट कर्तव्य परी मरेको देखिन आएको र जाहेरवाला तथा निजको श्रीमतीको घा जाँच समेतबाट सो खुद डाँकाको वारदात भए गरेको कुरामा कुनै शंका लिइरहनु पर्ने अवस्था रहन आएको देखिन आउँदैन । तसर्थ वारदातको विवरण सम्म विभिन्न मानिसको मुखबाट विभिन्न किसिमबाट वारदातको विवरण दिएको भन्ने सम्म देखिन आएकोले  यतिकै आधारमा अभियुक्तहरुले सफाई पाउने भनी ठहर गर्न मनासिब देखिन आएन ।

 

३०.   अब वारदात खून डाँकाको बेग्लाबेग्लै हो वा एकै हो भन्नेतर्फ विचार गरेमा जाहेरवाला निजको श्रीमती र मृतक भवनाको श्रीमती राधादेवीको कागज तथा बकपत्रबाट सरसरी तवरबाट हेर्दा दुई ठाउँको अलग अलग स्वतन्त्र वारदात हो कि भन्ने केही झल्का आउँछ तापनि निजहरुले नै अदालतमा गरेको बकपत्रबाट मर्ने भवनाको घर जाहेरवालाको घरदेखि नजिकैमा रहेको हुँदा जाहेरवालाको घरमा डाँका गरी गएपछि डाँका डाँका भनी हल्ला गर्दा निज मृतक भवना मद्दतमा आउन लागेको अवस्था निजको घर नजिक डाँकाहरुले पक्री निज माथि बन्दूक तथा भाला गढासा प्रयोग गरी निजलाई मारेको पनि हुनसक्ने र सो कुरा मर्ने भवनाको श्रीमतीको बकपत्रमा निजले पहिले जाहेरवालाको घरमा डाँका गरी पछि मात्र आफ्नो घर आएको र आफ्नो लोग्नेलाई समाती लगेको भनी देखाएकोबाट यसतर्फ अरु विचार गरिरहनु पर्ने स्थिति रहन आएन।

 

३१.   अब उक्त वारदातमा अभियुक्त केदार मिश्रले दावी बमोजिम खून डाँका गरेको हो होइन भन्नेतर्फ विचार गरेमा यस सम्बन्धमा पुनरावेदकतर्फबाट खास गरी पुनरावेदक प्रहरी र अदालतमा समेत इन्कार रही वारदातको समयमा आफू आफ्नै गाउँका विष्णुलालको घरमा भएको किर्तनमा रातको ११ बजेसम्म रहेको त्यस पछि मात्र आफ्नो घरमा आएको भनी देखाई इन्कार रहेको र सो समर्थनमा आफ्नो तर्फबाट साक्षीहरु पनि दिएको देखिन आउँछ । साक्षीहरुले बकपत्र गर्दा निजको इन्कारी बमोजिम पुनरावेदक वारदातको रात ८ बजे देखी ११ बजे सम्म किर्तनमा बसी १२ बजे मात्र घर फर्केको भनी देखाएको देखिन आउँछ । यदी वास्तवमा यो कुरा सत्य साँचो भए देखि प्रहरीमा कागज गर्दाकै अवस्थामा सो कुराको जिकिर लिन सक्नु पर्ने थियो तर निजले प्रहरीमा कागज गर्दा सो सम्बन्धमा कुनै कुरा उल्लेख नगरी वारदातको रात आफ्नै घरमा बसेको भनी देखाएकोबाट खाली अदालतमा बयान गर्दा आफू वारदातको समयमा अन्यत्रै रहेको भनी देखाई सोको समर्थनमा सबुद प्रमाण समेत गुजारी सफाई लिने प्रयास गरेको सम्म देखिन आउँछ । किनभने निज वारदातमा उपस्थित रहेको भनी जाहेरवालाले आफ्नो जाहेरीमा र अदालतमा आफू बकपत्र गर्दा समेत किटानी रुपमा देखाएको सोही बमोजिम जाहेरवालाको श्रीमती जनियादेवीले पनि आफ्नो लोग्ने जाहेरवालालाई निजै पुनरावेदकले प्रहार गरेको र मर्ने भवनाको श्रीमती राधादेवीले पनि आफ्नो प्रहरी कागजमा र अदालतमा बकपत्र गर्दा समेत आफ्नो लोग्नेलाई निजै पुनरावेदकले समाती लगी गडासाले हानेको भनी किटानी साथ लेखिदिए बमोजिम मर्ने भवनाको लाशमा गडासा जस्तो धारिलो हतियारले हानेको चोटहरु समेत लाश जाँच मुचुल्का तथा लाश जाँच प्रतिवेदनबाट समेत देखिन आएको छ । अब मर्ने भवनाको मृत्यु पोष्टमार्टम रिपोर्टबाट बन्दूकले हानेको चोटबाट रक्तश्राव भई मर्नु मरेको भन्ने भवनाको मृत्युको कारणमा देखाएको र मिसिलका कुनै कागजबाट पनि पुनरावेदक केदारको हातमा बन्दूक थियो भन्ने नदेखिएकोबाट डाँकामा सरिक भएकै भए पनि ज्यानतर्फ सजायँ हुनु नपर्ने भन्ने जिरहको हकमा पोष्टमार्टम रिपोर्टबाट मर्ने भवनाको जीउमा खाली बन्दूकको घाउ मात्र नदेखिई अरु काटिएका घाउ समेत देखिन आएको लाश जाँच मुचुल्काबाट पनि मर्नेको जिउमा धारिला हतियारबाट काटिएका घाउ समेत देखिन आएकोबाट सो घाउहरुबाट रक्तश्राव हुँदै नभएको भन्न सकिने अवस्था नरहेको हुँदा मृत्युको कारण उल्लेख गर्दा मुख्य देखिएको बन्दूकको घाउसम्म उल्लेख गरेको भन्नुपर्ने भएकोले यस अवस्थामा निजको हातमा बन्दूक भएको नदेखिएको भन्ने आधारमा निज ज्यान मार्नमा संलग्न नरहेको भन्न सकिने स्थिति नरहेको र मर्नेकी श्रीमतीले अदालतमा आई बकपत्र गर्दा समेत मर्ने आफ्नो लोग्नेलाई निज पुनरावेदकले गडासाले हानेको भनी किटानी रुपमा देखाएबाट पनि पुनरावेदक तर्फको यो जिरह मनासिब देखिन आएन ।

 

३२.   अब अरु दावी बमोजिम अपराध गर्ने ठहर्‍याएका अवधेश, ब्रम्हामदेव, घुटराको सम्बन्धमा के कसो हो भनी विचार गरिएमा क्षे.अ. बाट निजहरुले पनि दावी बमोजिम अपराध गरेकै ठहर्‍याएको हुँदा निजहरुको पुनरावेदन नै नपरेको जाहेरी दर्खास्तमा किटानी पोल गरे बमोजिम अदालतमा आई बकपत्र गर्दा समेत सो कुरालाई समर्थन गरी बकपत्र गरेको निजको सो पोल निजकै स्वास्नीको बकपत्र तथा सरजमीनका वारदातको तत्काल पछि डाँका भएको ठाउँमा उपस्थित हुने मानिसहरुले पनि डाँका भागिसकेकोले को कसबाट डाँका भएको हो भनी सोही मौका खोजखबर गर्दा जाहेरवालाले निजहरु समेत भई डाँका गरेका हुन् भनी भनेको भनी अदालतमा आई बकपत्र गर्दा समेत देखाएकोबाट त्यो डाँका वारदातमा सरिक हुने मानिसहरु सोही डाँकाको सिलसिलाबाट भएको खूनको वारदातमा सरिक नभएको होलान् भन्न सकिने अवस्था नरहेकोले समेत क्षे.अ.ले पुनरावेदक समेतका अरु अभियुक्तहरुले दावी बमोजिम खून डाँका गरेको ठहर्‍याई गरेको इन्साफ मनासिब ठहर्छ । ज्या.सं. १३(३) बमोजिम सजायँ हुने भएकाले पुनरावेदन गरे बापत पुनरावेदकलाई केही गरिरहनु परेन मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

 

 

उक्त रायमा म सहमत छु ।

 

 

 

न्या.हरिहरलाल राजभण्डारी

 

 

 

इतिसम्वत् २०४४ साल भाद्र ३ गते रोज ४ शुभम् ।

 

