निर्णय नं. ३१४८ – उत्प्रेषण्को आदेश जारी गरिपाउँ
निर्णय नं. ३१४८ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको...
निर्णय नं. ३१४८ ने.का.प. २०४४ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४२ सालको रिट नं. १७०७
विषय : उत्प्रेषण्को आदेश जारी गरिपाउँ ।
निवेदक : इलाम जिल्ला इलाम नगर पञ्चायत वार्ड नं. ६ बस्ने पूर्ण बहादुर श्रेष्ठ ।
विरुद्ध
विपक्षी : ऐ. ऐ. वार्ड नं. २ बस्ने विष्णु कुमारी श्रेष्ठ ।
मालपोत कार्यालय इलाम मा.पो.अ.प्रेम प्रसाद वली ।
आदेश भएको मिति: २०४४।३।११।५ मा
सूचना प्रकाशित गरेको म्यादमा कोही नआएको एक भाग हकदार स्वास्नी समर्थित भइरहेको प्रमाणबाट देखिनाले मु. ऐन अपुतालीको २ नं. ज.प.का. २(क) तथा मालपोत ऐन, ०३४ को दफा ८ बमोजिम स्वर्गीय पद्म बहादुरको हकमा जग्गा निजकी स्वास्नीको नाउँमा नामसारी गरिएको भन्ने उल्लेख भएबाट निवेदकलाई मालपोत कार्यालय इलामले प्राकृतिक न्याय सिद्धान्त विपरीत अतिक्रमण गरी निर्णय गर्यो भन्न नमिल्ने ।
(प्रकरण नं. ९)
मालपोत कार्यालय इलामबाट नामसारी गर्ने कारवाहीको निमित्त हकदारको नाममा जारी भएको १५ दिने सूचना सम्बन्धमा निवेदक यस अदालतमा आएको नहुँदा रिट निवेदकको जिकिर नै नमिलेकोले रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाटःX
विपक्षीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री राजकिशोरप्रसाद सिंह
उल्लेखित मुद्दाःX
आदेश
न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न रहेछ ।
२. मेरो अंश मुद्दा परी पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३३।५।२१ को फैसला अनुरुप ०४१।३।५ मा बण्डा छुट्याई मैले पाउने भाग मेरो नाउँमा दा.खा. नामसारी समेत भइसकेको छ । ०४१।३।५ को मुचुल्काले लोग्ने पद्ममबहादुरको नाममा बाँकी रहेको सम्पत्ति निज लोग्ने ०३९।६।२५ मा परलोक भई अपुतालीको १ नं. ले मेरो हक हुन आउने हुँदा मेरा नाउँमा दा.खा. नामसारी गरिपाउँ भन्ने विपक्षी विष्णु कुमारी श्रेष्ठको ०४१।११।१८ तथा ०४२।३।१२ को निवेदन परेकोमा ०४१।३।५ मा छुट्याएको बण्डा मुचुल्का अनुसार भीमबहादुर श्रेष्ठको नाउँमा दर्ता भएको इलाम नगरपञ्चायत वडा नं. ६(घ) कि.नं. ३२, ३३, ३७, ३८, ३९ समेतको ५ कित्ता जग्गाको जम्मा रोपनी ५६।५।२।३ मध्ये तीन भागको एक भाग पदमबहादुरको भागमा पर्न आएको रोपनी १८।१२।२ मध्ये तीन भागको एक भाग रोपनी ६।४।०।३ को जग्गा ०४१।९।२५ को निर्णयानुसार विष्णु कुमारीको नाउँमा दा.खा. नामसारी भइसकेको र कि.नं. १२७, १२९, १३१, १३५ को जग्गा भीमबहादुर श्रेष्ठको नाममा बाँकी रहेकोमा पदमबहादुरको भागमा परी बाँकी रहेको १२।८।१।२ को जग्गा विष्णु कुमारीको नाउँमा नामसारी गरिदिने भन्ने विपक्षी मालपोत कार्यालय इलामको ०४२।६।७ को निर्णय पर्चा भएको छ ।
३. दर्तावाल अमबहादुर तथा निजको उत्तराधिकारी म निवेदकलाई बुझ्दै नबुझी कुनै जनाउ नै नदिई सिधै विपक्षीको नाममा दा.खा. नामसारी गर्ने गरेको र अपुताली हक कस्को भन्ने न्यायिक निराकरण हुनुपर्ने कुरामा रजिष्ट्रेशनको ३५ नं. बमोजिम हक बेहक छुट्याई ल्याउनु भनी सुनाइदिने बाहेक दा.खा. नामसारी गर्ने आदेश गर्ने अधिकार विपक्षी मालपोत अधिकृतलाई नहुँदा सो निर्णयपर्चा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर रहेछ ।
४. यस्मा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो लिखितजवाफ पठाउनु भन्ने समेत व्यहोराको यस अदालत सिंगल बेञ्जको मिति ०४२।६।२७ को आदेश ।
५. ०४१।३।५ को बण्डा मुचुल्काबाट पद्म बहादुरको भाग छुट्याइएको १८।१२।२।१ बाट विष्णु कुमारीको भाग बण्डा ६।४।०।१ छुट्याइएको विष्णु कुमारीको नाउँमा दा.खा. भई गए बाहेक बाँकी पद्म बहादुरको हकमा १२।८।१।२ कायम रहेकोमा निज पद्म बहादुर पनि ०३९।६।२५ मा परलोक भएको म भन्दा नजिकको अरु हकदार कोही नहुँदा स्वर्गीय लोग्ने पद्म बहादुरको हकको जग्गा मेरा नाउँमा नामसारी गरिपाउँ भनी स्थानीय पञ्चायतको सिफारिश, नागरिकताको प्रमाणपत्र र मृत्यु दर्ता प्रमाणपत्र साथै राखी विष्णु कुमारीको निवेदन पर्न आएकोले स्वर्गीय पद्म बहादुरको अन्य हकदार कोही भए १५ दिनभित्र आउनु भनी सूचना प्रकाशित गरेको म्यादमा कोही नआएको र फैसला आदि प्रमाणबाट विष्णु कुमारी एकमात्र हकदार स्वास्नी समर्थित भइराखेको देखिनाले मुलुकी ऐन अपुतालीको २ नं. ज.प.का २(क) नं. तथा मालपोत ऐन, ०३४ को दफा ८ को अधीनमा रही स्वर्गीय विष्णु कुमारीको नाउँमा नामसारी गरिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने मालपोत कार्यालय इलामको मालपोत अधिकृत प्रेमप्रसाद वलीको लिखितजवाफ ।
६. अदालतबाट भएको फैसला तथा मिति ०४१।३।५ मा छुट्याइएको बण्डा मुचुल्का अनुरुप नै मालपोत कार्यालयबाट निर्णय पर्चा भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको विष्णु कुमारी श्रेष्ठको लिखितजवाफ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा विपक्षीतर्फबाट उपस्थित हुनुभएका विद्वान सह-न्यायाधिवक्ता श्री राजकिशोरप्रसाद सिंहको बहस समेत सुनियो ।
८. प्रस्तुत रिट निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।
९. यस्मा जुन सम्पत्तिमा लोग्ने पद्म बहादुर मरी अपुतालीको १ नं. ले मेरो हक हुन आएको भन्ने विपक्षी विष्णु कुमारीको निवेदन छ सो सम्पत्ति पद्म बहादुरको नाउँमा दर्ता नै छैन भने सबुद प्रमाण बुझी अपुताली हक कस्को हो भन्ने न्यायिक निराकरण हुनुपर्ने कुरामा रजिष्ट्रेशनको ३५ नं. बमोजिम हक बेहक छुट्याई ल्याउनु भनी सुनाइदिन बाहेक निवेदिकाको नाउँमा दा.खा. नामसारी गरिदिनु भनी आदेश गर्ने हक अधिकार विपक्षी मालपोत अधिकृतलाई कुनै कानूनले प्रदान गरेको नहुँदा मालपोत कार्यालय इलामको मिति ०४२।६।७ को निर्णय पर्चा प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुँदा उक्त निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदकले जिकिर लिएकोमा मालपोत कार्यालय इलामको लिखितजवाफको प्रकरण ४ लाई हेर्दा मिति ०४१।३।५ मा बण्डा मुचुल्काबाट पद्म बहादुरको भाग छुट्याएको १८।१२।२।१ बाट विष्णु कुमारीको भाग बण्डा ६।४।०।१ छुट्याएको विष्णु कुमारीको नाउँमा दा.खा. भई गए बाहेक बाँकी पद्म बहादुरको हकमा १२।८।१।२ कायम रहेकोमा मिति ०३९।६।२५ मा पद्म बहादुर परलोक भई अरु नजिकको हकदार कोही नहुनाले लोग्ने पद्म बहादुरको हकको जग्गा मेरो नाउँमा नामसारी गरिपाउँ भनी नागरिकताको प्रमाणपत्र र मृत्यु दर्ता प्रमाणपत्र साथै राखी विष्णु कुमारीको निवेदन पर्न आएकोले स्वर्गीय पद्म बहादुरको अन्य हकदार कोही भए १५ दिनभित्र आउनु भनी सूचना प्रकाशित गरेको म्यादमा कोही नआएको एक भाग हकदार स्वास्नी समर्थित भइरहेको प्रमाणबाट देखिनाले मु.ऐन अपुतालीको २ नं. ज.प.का २(क) तथा मालपोत ऐन, ०३४ को दफा ८ बमोजिम स्वर्गीय पद्म बहादुरको हकको जग्गा निजको स्वास्नी विष्णु कुमारीको नाउँमा नामसारी गरिएको भन्ने उल्लेख भएबाट निवेदकलाई मालपोत कार्यालय इलामले प्राकृतिक न्याय सिद्धान्त विपरीत अतिक्रमण गरी निर्णय गर्यो भन्न मिल्दैन । यसरी मालपोत कार्यालय इलाममा विष्णु कुमारीको आफ्नो स्वर्गीय पतिको जग्गा नामसारी गरिपाउँ भन्ने निवेदन परी अन्य हकदार कोही भए १५ दिन भित्र आउनु भनी नामसारी सूचना मालपोत कार्यालय इलामबाट प्रकाशित भएकोमा निवेदक मालपोत कार्यालय इलाममा सो १५ दिने सूचना भित्र उपस्थित हुनसकेको छैन । सो सूचनाको ख्यालै नगरी निवेदकले ०४२।६।११ मा मालपोत कार्यालयबाट नक्कल सारी लिँदा मात्र निवेदकलाई जानकारी हुन आएको भनी रिट निवेदनमा उल्लेख गरेकोमा उक्त मालपोत कार्यालय इलामबाट नामसारी गर्ने कारवाहीको निमित्त हकदारको नाममा जारी भएको १५ दिने सूचना सम्बन्धमा निवेदक यस अदालतमा आएको नहुँदा रिट निवेदकको जिकिर नै नमिलेकोले रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियम बमोजिम गरी फायल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४४ साल आषाढ ११ गते रोज ५ शुभम् ।