August 11, 1987
Created by nepalarchives

निर्णय नं. ३१४७ – कर्तव्य ज्यान

निर्णय नं. ३१४७ ने.का.प. २०४४  अङ्क ७   संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको फौ.पु.नं....

निर्णय नं. ३१४७ ने.का.प. २०४४  अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४२ सालको फौ.पु.नं. ३६४, ४१३

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी: हर्खु अहिर समेतको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

प्रत्यर्थी/पुनरावेदक: रुपन्देही जि.मानपकडी गा.पं. वा.नं. ५ बस्ने बेचन अहिर ।

फैसला भएको मिति: २०४४।४।२६।३ मा

    भेष बदलेर आएको थियो भन्न सकिएको छैन, एकै वडाको चिनेको मान्छे डाँका गर्न आउँदा चिन्हिने गरी आएको हुँदैन, सकेसम्म नचिन्हीने गरी आएको हुनुपर्ने ।

(प्रकरण नं. १८)

पुनरावेदक, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

विपक्षी, पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

उल्लेखित मुद्दाःX

फैसला

न्या.पृथ्वी बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।

२.   २०३५ साल चैत्र २१ गते साँझ सुति निदाएको अवस्था रातको २:०० बजे डाँकाहरू म हर्खुको घर आई मेरो छोरा २ लाई बाँधी म सोहरत अहिरको घर भित्र बन्दूक फायर गरेपछि म भागी गएँ श्रीमती सुरतमा र छोरी सम्पात्ति भाग्न नपाई घरमा थिएँ बन्दूकको फायर गर्दै गाउँको दक्षिणतर्फ जाँदा १८।२० जना जति थिए डाँकाहरू गएपछि घर आई सोद्धा घाइते श्रीमती सुरतीया र छोरी सम्पात्तियाले गाउँकै बेचन अहिरलाई चिन्हे अरुलाई चिन्ह सकिन भन्ने भोलिपल्ट घाइते श्रीमती र छोरीलाई बुटवल लिई जाँदा बाटैमा सुरतीयाको मृत्यु भएको छोरीको घा जाँच गराई अपराधी वैचन अहिरलाई पक्राउ गरी जम्मा बिगो रु. ५,२७६।दिलाई भराई कानून बमोजिम सजायँ गरिपाउँ भन्ने हर्खु अहिर समेत ७ जनाको जाहेरी दर्खास्त ।

३.   दाहिने कानदेखि माथि पछाडिसम्म ३ इन्च  घाउ दाहिने कान देखि केही पछाडि छर्रा लागेको जस्तो २ वटा घाउ रगत लागेको भन्ने सुरतियाको लाश प्रकृति मुचुल्का ।

४.   जाहेरवाला सोहरतले डाँका पर्‍यो भनी चिच्याउँदै आएकोले निद्राबाट विउँझी बेचनलाई उठाउन जाँदा निज आफू सुतेको खटियामा थिएन सुरतियालाई चोट लागि रगतपक्ष भएको अचेत अवस्थामा देखे ०३५।१२।१९ गते बेचनको दाजु पर्ने आएका थिए भोलिपल्ट पुनः अर्को व्यक्ति आई केही बेर बसी गलौलीतर्फ गएका त्यस्को भोलिपल्ट पुनः आएको देखी किन आएको भनी बेचनलाई सोद्धा तलाई के मतलब भन्नु भयो उक्त डाँका काण्डमा बेचन समेतको हात हुनुपर्छ भन्ने श्रीमती सुनमती कुर्मीनीको कागज ।

५.   अपरिचीत व्यक्तिको लाश रहे देखि दक्षिण १० हात फरकमा रहेको सेतो किनारे मर्दाना धोती मेरो हो चिनें भनी सही गर्ने उदय गडरिया, गोविन्द गडरिया, गोवरु कुमार समेतको सनाखत कागज ।

६.   सोहरतको स्वास्नी र छोरीलाई गोली लागेको देखें सोद्धा डाँका मध्ये बेचन अहिरलाई चिनेको भनी निजको छोरी सम्पतियाले मौकामा भनेकी डकैती गरी भाग्दा तिनीहरूको साथ बेचन पनि भाग्दा मैले देखेको हुँ भन्ने समेत आयोध्या थारुको लेखाई ।

७.   डाँकाहरूलाई मैले मौकामा चिनिन सम्पत्तियाले मौकामा चिनेकी र चाल चलन पनि राम्रो नभएका बेचन अहिर उपर वारदात गरेमा शंका लाग्छ भन्ने समेत बद्री तेलीको लेखाई ।

८.   सोहरतको स्वास्नी र छोरी सम्पत्तियालाई गोली लागेको देखें सम्पतियाले मलाई गाउँकै बेचन अहिरले मलाई दागेका हुन् भन्दै थिइन् बेचन समेतले खून डाँका गरेमा विश्वास लाग्छ भन्ने समेत जगदेव समेत जना १९ को सरजमीन लेखाई ।

९.   बाबु आमा र मलाई जगाई भागी गए हामीहरू भाग्न नपाउँदै डाँकाहरू पुगिहाले लाइट बाली भोंसडी भनेर सबैभन्दा अगाडि बेचन अहिरलाई पुग्दा पछाडिको डाँकाहरूले बालेको लाइटको उज्यालोबाट मैले र आमाले चिन्ह्यौं बेचन अहिरले बन्दूक लिएका थिए आमाले बेचन के गरेको भन्दासाथ उनले फायर गर्दा आमा र मलाई समेत गोली लागि लड्यौं घर भित्र पसी डाँका गरी भागी गए भन्ने सोहरतकी छोरी सम्पतियाको लेखाई ।

१०.  घाइते सम्पतिया अहिरनीले डाँका मध्ये बेचन अहिरलाई लाइटको उज्यालोबाट देखे चिनेको भनी मौकामा भनेकी थिइन् भनी लेखाएको समेतका सबुद प्रमाणको आधारमा बेचन सहितका अन्य नचिनेका व्यक्तिहरूले नै यो खून डाँका वारदात गरेको देखिँदा नाम वतन खुलेको बेचन अहिरले मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं. को कसूर गरेको देखिँदा सोही महलको १३(१) बमोजिम पहिला पटक सजायँ हुन र डकैतिको धनमाल समेत जाहेरवालालाई भराई पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

११.   ०३५।१२।२१ गते राती म आफ्नो घरमा थिएँ सोहरत समेतको घरमा डाँका परेको डाँकाहरूले फायर गरेको बन्दूकको गोलीले सोहरतको श्रीमती घाइते भई मरेको हुन् धनमाल कति लगे थाहा छैन । ०२२ सालमा भू.सु. लागू हुँदा त्यसबखत म वार्ड अध्यक्ष भएकोले उठेको बचतको धान ऋण लिई ०२६।१०।११ गते कबूलियत समेत गरी ऋण खाएको छैन भनी उल्टै बचत हिनामिना गर्‍यो भनी उजूर दिई भू.सु. कार्यालयमा दाखिल छ सोही इवीले म घरमा सुतेको व्यक्तिलाई डाँका गर्न आएको र मार भन्ने आवाज बेचनले भने पछि बन्दूक फायर भई मेरो श्रीमती र छोरी घाइते भएको भनी झुठ्ठा जाहेरी र सरजमीनबाट शंका गरी लेखाएका हुन् भन्ने समेत बेचन अहिरले अदालतमा गरेको बयान ।

१२.  प्रतिवादीका साक्षीहरू र सरजमीनका मानिसहरू समेत बकपत्र मिसिल सामेल रहेको रहेछ । रातको अँध्यारो भएको अवस्थामा कसरी व्यक्ति चिनिन्छ ।  निजले प्रतित पर्ने हिसाबले विश्वसनीय आधार देखाउन सकेको छैन । यस्तो शंकाको स्थिति आधारित देखिनाले र शंकाको सुविधा अभियुक्तले पाउने हुनाले शंकाको भरमा सजायँ गर्न मिल्दैन प्र. बेचन अहिरले आरोपित अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने रुपन्देही जिल्ला अदालतको मिति ०३९।६।२२ को फैसला ।

१३.  रुपन्देही जि.अ.को इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परी शुरुको इन्साफ फरक पर्ने देखी अ.बं. २०२ नं. बमोजिम प्रतिवादीलाई झिकाउने आदेश भएको ।

१४.  सुरतियाको ज्यान मारेको अभियोगमा प्र.बेचनलाई सफाई दिएको मिलेको देखियो। डाँका वारदात गर्न गएको आयोध्या थारुले देखेको भनी लेखाएको समेतबाट प्र.बेचनले पहिलोपटक पारी डाँका गरेको ठहर्छ भन्ने समेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१५.  उक्त फैसला उपर चित्त बुझेन भनी श्री ५ को सरकारतर्फबाट र प्र.बेचनतर्फबाट बेग्लाबेग्लै दुवै पक्षको पुनरावेदन परेको ।

१६.  नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी आज पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले र विपक्षी पुनरावेदक बेचन अहिरका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले गर्नुभएको बहस समेत सुनियो ।

१७.  अब प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिब वा बेमनासिब के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।

१८.  निर्णयतर्फ विचार गर्दा यसमा ज्यानतर्फ सफाई दिए उपर श्री ५ को सरकारको पुनरावेदन पर्न आएकोले त्यसतर्फ हेर्दा प्रतिवादी बेचन अहिर आरोपित कसूर गरेमा इन्कार रही बयान गरेको देखिन्छ जाहेरवाला सोहरतले सुनेका भरमा जाहेरी दर्खास्तमा बेचनको नाउँ उल्लेख गरेको पाइन्छ । आयोध्याले अदालत समक्ष गरेको बकपत्रमा आफू वारदात घटी सकेपछि घटनास्थलमा उपस्थित भएको बताएका छन् । निजको भनाइमा स्थिरता छैन । वारदात भए पछि उपस्थित हुनेले बेचनलाई भाग्दै गरेको देखेको भन्ने कुरा विश्वासलायक देखिँदैन । त्यस्तो बकपत्रलाई प्रमाणस्वरुप लिन मिलेन जाहेरवालाकी छोरी चस्मदिद् सम्पत्तियाले सरजमीनमा भनेका कुरा र अदालत समक्ष बकपत्र गरेको कुरामा एकरुपता छैन । सरजमीनमा बाबुले ब्यूँझाएको उल्लेख गरेकी छन् । बकपत्र गर्दा सोहरथले ब्यूँझाएको उल्लेख गरेकी छन् । बेचनको दाहिने हातमा टर्च लाइट थियो बत्ती निभाए पछि अँध्यारोमा फायर गरेको भनी उल्लेख गरेकी छन् । अँध्यारोमा कस्ले फायर गर्‍यो देखिने स्थिति हुँदैन एकातिर भने टर्चलाइच दाहिने हातमा लिएको र देब्रेले फायर गरेको भन्ने भनाई पनि युक्तिसंगत देखिँदैन । प्रतिवादी बेचन अहिरको घर सोही वडामा भएकोमा विवाद छैन । भेष बदलेर आएको थियो भन्न सकिएको छैन । एकै वडाको चिनेको मान्छे डाँका गर्न आउँदा चिन्हिने गरी आएको हुँदैन । सकेसम्म नचिन्हिने गरी आएको हुनुपर्ने हुन्थ्यो । यसबाट केवल सम्पतियाको भनाइलाई आधार मान्न मिलेन । यसबाट बेचन वारदातमा उपस्थित थियो भनी निश्चय गर्न मिलेन । सरजमीनले शंका देखाए पनि कसूरमा इन्कार रहेको र बेचनका साक्षीहरूले पनि वारदात नगरेको भनी सफाई दिई बकपत्र गरेको देखिएबाट केवल शंकाको भरमा ज्यान जस्तो मुद्दाको कसूरदार ठहर्‍याउन नमिल्ने हुँदा ज्यानसम्बन्धी कसूरबाट सफाई दिने ठहर्‍याइएको प.क्षे.अ.को इन्साफ त्यति हदसम्म मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

१९.  अब डाँका गरेको ठहर्‍याए तर्फ प्र.बेचनको पुनरावेदन परेकोमा त्यसतर्फबाट विचार गर्दा आरोपित कसूरमा प्र.बेचन इन्कार रही बयान गरेको देखिन्छ । साक्षीहरूले पनि डाँका गरेको छैन भनी सफाई दिई बकपत्र गरेका छन् । निज वारदात स्थलमा उपस्थित भएको  ठोस प्रमाण पेश दाखिल हुनसकेको छैन । केवल विवादास्पद सम्पत्तियाको बकपत्रको आधार लिएर निजलाई कसूदार ठहर्‍याउन न्यायोचित हुने नहुँदा निज बेचनले डाँका गरेको ठहर्दैन । डाँकाको कसूरबाट पनि सफाई पाउने ठहर्छ । पहिलोपटक डाँका गरेको ठहर्‍याई प.क्षे.अ.बाट भएको फैसला त्यति हदसम्म उल्टी हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदक प्र.बेचन अहिरले डाँका गरेको नठहरी सफाई पाउने ठहरेकोले मिति ०४२।१।९ को प.क्षे.अ.को फैसलाले निजका नाउँमा लगत कसेको कैदवर्ष ६ र जरिवाना एवं बिगो निजलाई नलाग्ने हुँदा सो को लगत कट्टा गरि दिनु भनी शुरु रुपन्देही जि.अ.मा लेखिपठाउन का.जि.अ.त.मा लगत दिनु…..१

मिसिल नियम बमोजिम गरी बुझाई दिनु……..१

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४४ साल श्रावण २६ गते रोज ३ शुभम् ।

