निर्णय नं. ३१४३ – उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय नं. ३१४३ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको रिट...
निर्णय नं. ३१४३ ने.का.प. २०४४ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४३ सालको रिट नम्बर १५७१
विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ ।
निवेदक :जि.पर्सा वि.न.पं. वडा नं. १० बस्ने लक्ष्मणप्रसाद रौनियार ।
विरुद्ध
विपक्षी : भू.सु. अधिकारी श्री भू.सु.कार्यालय पर्सा ।
पर्सा जिल्ला वि.न.पं. वडा नं.१० बस्ने हेमन साह रौनियार ।
आदेश भएको मिति: २०४४।४।१९।३ मा
एकासगोलको परिवारको नाममा रहेको जग्गामा सोही परिवारको सदस्यको नाममा मोही लेखिएकोमा मोहियानी कायम रहन नसक्ने ।
(प्रकरण नं. ७)
निवेदक तर्फबाट:X
विपक्षीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री राजकिशोर सिंह,विद्वान अधिवक्ता श्री सुनिल अधिकारी
उल्लेखित मुद्दाःX
आदेश
न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ ।
२. हेमन साह रौनियारले मिति २०४२।९।२५।५ मा गा.पं. नगवा वडा नं. ५ को कि.नं. ४१ को ज.वि. ०–१२–१० को क्षेत्रफल भएको जग्गामा अंशियार मोहीको नाउँको मोही लगत कट्टा गरिपाउँ भनी भू.सु.का. पर्सामा निवेदन दिनु भएका रहेछ मिति ०४२।९।२७ मा भू.सु.का. पर्साबाट १० दिने समाव्हान म निवेदकको नाममा जारी भएको रहेछ । सो म्यादमा निज मानिस फेला नपरेकोले र निजको उमेर पुगेको एकाघरको व्यक्ति कोही पनि फेला नपरेकोले र निजको घरको ढोका तर्फ १ प्रति समन टाँसेको ठीक छ भनी २ जना, स्थानीय भलाद्मीहरू १ जना वडाध्यक्षको रोहवरमा स्थानीय पञ्चायतलाई म्याद बुझाई म्याद टाँस गर्नु पर्नेमा स्थानीय पञ्चायत सदस्यको अभावमा म्याद टाँस गरेको रहेछ सो म्याद अ.बं. ११० नं. को विपरीत छ । सगोलमा छँदाका बखत मोहीमा नाम लेखिँदैमा निजलाई मोही भन्न नमिलेर अंशबण्डा भएपछि कुनै मोही सम्बन्धी कबूलियत भर्पाई भएको छ कि भन्न प्रतिवादी उपस्थित नै नभएकोले त्यसतर्फ विचार गरिरहन परेन । वादीको माग बमोजिम अंशियार भाइ लक्ष्मणप्रसादको नाम मोहीबाट कट्टा गरिदिने ठहर्छ भनी विपक्षी भू.सु.का. पर्साले मिति २०४२।१०।२७ गते गरेको टिप्पणी निर्णय मैले सम्बन्धित कागज सारी लिई हेर्दा थाहा भयो । यसरी अनियमित ढंगले म्याद तामेल गरी म निवेदकलाई प्राकृतिक न्याय सिद्धान्त विपरीत म निवेदकलाई भन्न समेत मौका नदिइने गरी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदनपत्र ।
३. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरूबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जको आदेश ।
४. रिट निवेदक लक्ष्मणप्रसाद रौनियार र यिनैको बाबु गयाप्रसाद बीच २०२२ सालमा अंशबण्डा भएको र रिट निवेदकको बाबु गयाप्रसाद र हेमन साह रौनियार बीच २०२९ सालमा अंशबण्डा भएको संलग्न प्रमाणबाट देखिन्छ यसरी २०२१, २०२२ साल तिर एका सगोलमा छँदाकै अवस्थामा मोहीमा नामसम्म लेखिन गएको भरमा रिट निवेदकलाई उक्त जग्गाको मोही भन्न नमिली भूलबाट लेखिन गएको लगतसम्म कट्टा गरिएको हो यस्तोमा रिट निवेदकले मोहीमा नाम लेखिँदैमा मेरो मोही हक छ भन्नु कानून विपरीत कुरा हुन । कानूनको परिधिभित्र रही यस कार्यालयबाट भएको मिति २०४२।१०।२७ मा गरिएको निर्णय उत्प्रेषणको आदेशले बदर गरी रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय पर्साको लिखितजवाफ ।
५. स्थानीय पञ्चायत सदस्यको अभावमा म्याद टाँस गर्न अ.बं. ११० नं. बमोजिम मिल्ने नै हुँदा म्याद बेरीतसंग तामेल भएको छैन । कानून बमोजिम मोहियानी हक नै स्थापित हुन नसक्ने व्यक्तिको नाममा रहेको मोही हक कट्टा गरिदिने गरी भू.सु.का. पर्साले मिति २०४२।१०।२७ मा गरेको निर्णय अधिकार प्राप्त अधिकारीले कानून बमोजिम गरेको हुँदा रिट निवेदनपत्र खारेज गरिपाउँ भन्ने समेत व्यहोराको हेमन साह रौनियारको लिखितजवाफ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदन अध्ययन गरी निवेदकलाई इजलासबाट पटकपटक पुकार्न लगाउँदा उपस्थित नभएको र प्रत्यर्थी कार्यालयको तर्फबाट उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री राज किशोर सिंह प्रत्यर्थी हेमत साह रौनियारको तर्फबाट विद्वान अधिवक्ता श्री सुनील अधिकारीले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
७. यसमा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन भनी निर्णयतर्फ विचार गर्दा निवेदक एकासगोलमा भएको अवस्थाको मोहियानीमा नाम लेखिएको निजको नामको मोही लगत कट्टा हुने भनी भू.सु.का. पर्साबाट भएको निर्णय बदर गरिपाउँ भन्ने समेत निवेदकले दावी लिएको पाइन्छ । भू.सं. ऐन, २०२१ को दफा २(ख) मा मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ भन्ने परिभाषा गरेको र सोही ऐनको दफा २५ कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई सो जग्गाको मोहीको हक प्राप्त हुनेछ भन्ने उल्लेख भएकोले मोहीको हक प्राप्त गरी अर्काको जग्गा मोही भई कमाएको हुनुपर्ने कानूनी व्यवस्था भएको पाइन्छ । प्रस्तुत केशमा निवेदक एकासगोलमा भएको अवस्था विवादको जग्गाको मोहियानीमा नाम लेखिएको भन्ने देखिन्छ । एकासगोलको परिवारको नाममा रहेको जग्गामा सोही परिवारको सदस्यको नाममा मोही लेखिएकोमा मोहियानी कायम रहन नसक्ने भन्ने सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भइरहेको समेत हुँदा अधिकार प्राप्त अधिकारीले कानून बमोजिम गरेको निर्णयमा कुनै त्रुटि देखिन नआएकोले रिट निवेदन खारेज हुने ठहर्छ । नियम बमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वम्त् २०४४ साल श्रावण १९ गते रोज ३ शुभम् ।