September 20, 1987
Created by nepalarchives

निर्णय नं. ३१३९ – जालसाजी

निर्णय नं. ३१३९   ने.का.प. २०४४    अङ्क ७   संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको फौ.पु.नं. ४८३...

निर्णय नं. ३१३९   ने.का.प. २०४४    अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४२ सालको फौ.पु.नं. ४८३

मुद्दा : जालसाजी ।

 

पुनरावेदक/प्रतिवादी: दाङ जिल्ला ढीकपुर गा.पं.वा.नं. ३ बस्ने विष्णु कुमारी उपाध्याय ।

    ऐ.ऐ बस्ने झुपलाल खड्का ।

विरुद्ध

प्रत्यर्थी/वादी : दाङ जिल्ला बिगौरा गा.पं.वा.नं. ३ बस्ने रामप्रसाद उपाध्याय ।

फैसला भएको मिति:   २०४४।६।४।१ मा

    प्रचलित कानून तथा व्यवहार हिन्दु सदाचार समेतमा दुरुस्त मिल्ने गरी गरेको शर्तलाई उल्लघंन हुने गरी वादीका मन्जूरी बेगर लिनु दिनु समेत गरेको विवादित राजीनामा लिखतलाई जालसाजी ठहर्‍याई गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।

(प्रकरण )

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लवदेव भट्ट

विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंहः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी पक्षबाट यस अदालतमा पर्न आएको अनुमति निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।

२.  मोहनलालका छोरा ५ भाइ मध्ये जेठा ठाकुरप्रसाद र बाबु मोहनलाल समेत अघि नै स्वर्गीय हुनुभएको आमा मीनकुमारी, सन्तान नभएकी भाउजू विष्णु कुमारी समेत ६ अंशियार सगोलमा बस्न इच्छा नभई साहू ऋण जति म रामप्रसाद समेत ४ जनाले व्यहोर्ने पूर्खाको पालाको अंश बिर्ता जमीन र रैतान रैकर जिमिदारी समेत बिक्री गरिदिने छैनौ खैरा विर्ता भूमि दान गर्नेछौं हाम्रा शेष पछि बचेको श्रीसम्पत्ति जमीन ४ भाइले ४ बण्डा गरी खानु भन्ने शर्त गरी खडा भएको २०१०।९।८।३ को बण्डा पत्र २०११।१।३०।४ मा पारीत भएको थियो । सो शर्त उल्लंघन गरी फिरादपत्रको तपसील उल्लिखित कित्ता नं. का जग्गा बिगहा ०१३११ राजीनामा लिनु दिनु गरी थैली रु. ४,०००।राखी २०३७।४।६।२  को राजीनामामा २०३७।४।७।३ मा पारीत गराएछन् । जालसाज गरेमा सजायँ गरी मेरो बण्डामा पर्ने ०½ जग्गा बदर गरिपाउँ भन्ने वादी रामप्रसाद उपाध्यायको फिरादपत्र ।

३.  बण्डापत्रबाट अंशबण्डा भएको जग्गा आफू खुश बेचबिखन गर्न पाउने कानूनी हक भएको म विष्णु कुमारीले दिने झुपलाल खड्का लिने तथा भाजुराम चौधरी साक्षी बस्ने गरी लिए दिएको राजीनामाको जग्गामा वादीको कुनै हक अधिकार नहुँदा जालसाज गरेका होइनौ भन्ने प्र.विष्णकुमारी उपाध्यायनी समेतको प्रतिउत्तरपत्र ।

४.  बण्डापत्रको शर्त विपरीत विष्णु कुमारीले वादीको हक मेट्ने गरी राजीनामा गरिदिएको कीर्ते कागजको ३ नं. को परिभाषा भित्र पर्ने हुँदा वादी दावी बमोजिम ४ खण्डको १ खण्ड मिति २०३७।४।७ मा पास भएको राजीनामा जालसाजी ठहर्छ भन्ने शुरु दाङ दे.जि.अ.को २०४०।८।२५ को फैसला ।

५.  उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको विष्णकुमारी उपाध्यायनी समेतको राप्ती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

६.  आफ्नो अंश हक दर्ताको जग्गा प्र.विष्णु कुमारीले प्र.झुपलाल खड्कालाई राजीनामा गर्दा वादीको कुनै हक नमेटिने भई कीर्ते कागजको महलको ३ नं. मा व्यवस्था भए बमोजिम जालसाजी कागज लिए दिएको भन्न नमिल्ने हुँदा प्रतिवादीहरूलाई कीर्ते कागजको १० नं. बमोजिम सजायँ गरिपाउँ भन्ने वादी दावी पुग्न सक्ने होइन । तसर्थ मिति २०३७।४।७।३ मा रजिष्ट्रेशन पारीत भएको राजीनामा जालसाजी ठहर गरी शुरु अदालतले गरेको फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको राप्ती अञ्चल अदालतको फैसला ।

७.  विवादास्पद जालसाजीको उपजबाट सृजित लिखतलाई जालसाजीको कागज भन्न नमिल्ने भनी गरेको रा.अं.अ. को फैसला कीर्ते कागजको ३ नं. को विवाद रहित कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत व्यहोराको रामप्रसाद उपाध्यायको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको अनुमति निवेदन ।

८.  मिति २०११।१।३।४ मा पारीत बण्डापत्रमा पूर्खाको पालाको विर्ता रैकर जिमिदारी समेत बिक्री नगर्ने शर्तमा मन्जूर गरी प्रतिवादी विष्णु कुमारीले सहिछाप गरिदिएको भए पछि यस्तोमा पूर्खाको जग्गा बेचबिखन गर्दा वादीको मन्जूरी लिनुपर्ने उक्त मितिको बण्डापत्रको शर्तले नै सिद्ध गरेको कुरालाई प्रतिवादीले अन्यथा गर्न नहुने पूर्खाको आयस्ताबाट खान लाउन नपुगेको भन्ने पनि प्रतिवादी लेखबाट देखिन नआएको यस स्थितिमा स्वयंले गरेको शर्त बन्देजको उल्लघंन गरेको विष्णु कुमारीको प्रकृया जालसाजी देखिनेमा जालसाज ठहर्दैन भन्ने राप्ती अञ्चल अदालतको फैसलामा कानूनी त्रुटि विद्यमान हुँदा निज निवेदकलाई न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) अन्तर्गत पुनरावेदन गर्न पाउने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.प.क्षे.अ.को अनुमति आदेश ।

९.  बण्डापत्रको शर्तलाई उल्लंघन गरी २०३७।४।७।३ मा झुपलाल खड्कालाई विष्णु कुमारीले बिक्री गरी दिए लिएको ०१३११ जग्गा वादीको हक मेट्ने गरी राजीनामा गरिदिएको देखिन आएकोले कीर्ते कागजको ३ नं. को परिभाषा भित्र पर्ने हुँदा वादी दावी बमोजिम ४ खण्डको १ खण्ड मिति २०३७।४।७।३ मा पास भएको राजीनामा जालसाजी ठहर्छ । आफ्नो हक अंश दर्ताको जग्गा प्र.विष्णु कुमारीले प्र.झुपलाल खड्कालाई बिक्री गर्दा वादीको कुनै हक नमेटिने हुँदा कीर्ते कागजको ३ नं. को परिभाषाभित्र नपर्ने देखिन आएको भनी वादी दावी नपुग्ने ठहर्‍याएको राप्ती अञ्चल अदालतको फैसला गल्ती हुन्छ । जालसाजी ठहर्‍याएको शुरु फैसला मनासिबै देखिन्छ भन्ने समेत व्यहोराको म.प.क्षे.अ.को मिति २०४२।३।१३।५ को फैसला।

१०. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको  अनुमति पाउँ भनी प्रतिवादी तर्फबाट पर्न आएको अनुमति निवेदन बेञ्च समक्ष पेश हुँदा यसमा निवेदक प्रतिवादी हकबहादुर थारु समेत विपक्ष वादी रामप्रसाद उपाध्याय समेत भएको नि.नं. ४४६ मा आजै यस बेञ्चबाट पुनरावेदनको अनुमति प्रदान गरेकोले यसमा पनि न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५ का खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालतको तत्कालिन डिभिजन बेञ्जबाट भएको अनुमति आदेश ।

११.  पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री लवदेव भट्टले र विपक्षी वादीतर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवालले गर्नुभएको बहस समेत सुनियो मुख्यतः क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१२. यसमा पुनरावेदिका प्रतिवादी विष्णु कुमारी वादीको जेठा दाजु ठाकुरप्रसादकी श्रीमती भएको र ठाकुरप्रसाद परलोक भएकोमा समेत कुनै विवाद देखिँदैन । अब वादी प्रतिवादीहरू अंशियार भई निजहरूका बीचमा २०११ साल बैशाख ३० गते बण्डापत्र पारीत भएकोमा र सो बण्डापत्रलाई दुवै पक्षले आजसम्म स्वीकार गरी बसेकोमा पनि दुईमत भएको पाइँदैन । सो पारीत बण्डापत्रमा यी वादी प्रतिवादी मध्येका बण्डापत्रमा उल्लिखित यी पुनरावेदिका वादीकी भाउजू नाताकी विष्णु कुमारी र वादीकी आमा यी प्रतिवादी विष्णु कुमारीकी सासु मीनकुमारी भन्ने उल्लेख भएको र यिनीहरू विष्णु कुमारी भाउजूलाई र यी आमा मीनकुमारीलाई कुनै ऋण नपार्ने हामी ४ रै भाइ अंशियारले व्यहोर्ने भन्ने र आफ्नो बण्डा भागको जग्गाको आयस्ताबाट साल भर खान लगाउन पुग्ने भएकोले पुर्खाको पालाको अंश विर्ता जमीन रैतान रैकर जिमिदारी समेत बिक्री गरिदिने छैनौं, खैरा विर्ता भूमि दान गर्ने छौं हाम्रो शेष पछि काज कृया दान दक्षिणा चार भाइले नै गरिदिई बचेको श्रीसम्पत्ति जमीन समेत ४ रै बण्डा गरी खानु भनी मनोमान खुसीराजीसंग बण्डापत्र गरी पारीत गरेको देखिन्छ । खान लाउन पुगेन पुग्दैन र सो शर्तमा मन्जूर छैन भनी कतै विवाद गरेको पनि पाइँदैन । यस्तो स्थितिमा प्रचलित कानून तथा व्यवहार हिन्दु सदाचार समेतमा दुरुस्त मिल्ने गरी गरेको शर्तलाई उल्लंघन हुने गरी वादीका मन्जूरी बेगर लिनु दिनु समेत गरेको विवादित राजीनामा लिखतलाई जालसाजी ठहर्‍याई गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक देहायका प्रतिवादीहरू के माथि इन्साफ खण्डमा लेखिए बमोजिम इन्साफ सदर भएकोले निजहरूलाई गर्ने गरेको जरिवाना रु. ८३।३४ को अ.बं. २०३ नं. बमोजिम सयकडा १७%, ले हुने रु. ८।३४ का दरले जरिवाना हुन्छ । असूल गर्नु भनी शुरु दाङ देउखुरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु…१

(१) पुनरावेदिका (प्र.) विष्णु कुमारी उपाध्यायनी के रु. ८।३४

(२) पुनरावेदिका (प्र.) झुपलाल खड्का के रु. ८।३४

मिसिल नियमानुसार गरी बुझाई दिनु…..२

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४४ साल आश्विन ४ गते रोज १ शुभम् ।