June 18, 1987
Created by nepalarchives

निर्णय नं. ३०८८ – अंश

निर्णय नं. ३०८८   ने.का.प. २०४४ अङ्क ५   संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको दे.पु.नं. ५१४...

निर्णय नं. ३०८८   ने.का.प. २०४४ अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४२ सालको दे.पु.नं. ५१४

मुद्दा : अंश ।

 

पुनरावेदक/प्रतिवादी:जिल्ला बांके नेपालगञ्ज न.पं.वा.नं. ४ बस्ने जसोदा कसोधन बानियाँको मुद्दा सकार गर्ने ऐ. ऐ. बस्ने बाबुदेई बनैनी ।

विरुद्ध

वादी: ऐ. ऐ. बस्ने रामप्रसाद कसौधन बनिया ।

    ऐ.ऐ बस्ने राम दुलारे कसौधन बनिया ।

फैसला भएको मिति: २०४४।३।४।५ मा

    मुलुकी ऐन अदालती बन्दोवस्तको ६२(३) मा हेर्दा ऐनले बिगो भर्नु भराउनु दिनु दिलाउनु वा सम्पत्ति चलन चलाउनु लिनु पर्ने मुद्दाका म्याद तारिखमा हाजिर हुनु पर्ने व्यक्ति मरी वा बौलाहा वा बेपत्ता भई म्याद तारेख गुज्रेमा मरी वा बौलाहा वा बेपत्ता भएको मितिले बाटाका म्याद बाहेक पैंतिस दिनभित्र निजको दैयादारले म्याद तारिख थामी मुद्दा सकार गर्न अड्डामा हाजिर भई निवेदनपत्र दिएमा म्याद तारिख थामी दिई मुद्दा सकार गराई दिनु पर्ने ।

(प्रकरण नं. १३)

    पुनरावेदिका दैयादार देखिन नआएको मर्ने विवाहिता नन्द नाताकी देखिन आएकीले यसोदराले दिएको पुनरावेदनमा निज मरी यी बाबु देइलाई सकार गराई कारवाही तथा इन्साफ गर्न नमिल्ने ।

(प्रकरण नं. १३)

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री लवदेव भट्ट

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंहः यसमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको सिंगल बेञ्जबाट भएको फैसला कानूनी त्रुटि भएको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा पर्न आएको निवेदनपत्रमा पुनरावेदनको अनुमति प्राप्त भएको हुँदा प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ ।

२.  मूल पुर्खा जानकीको ३ छोरा जेठा स्व. लालजी, माहिला स्व. कामता, कान्छा स्व. बुधई, बुधईको स्व. जेठी पत्नीतर्फबाट स्व. छत्रपाल र निज छत्रपालको छोरा म वादी राम दुलारे हुँ र निज बुधईको कान्छी पत्नीतर्फबाट एक मात्र छोरा म वादी  रामप्रसाद हुँ कामताका सन्तान छैनन् । लालजीको छोरा स्व.महादेव भन्ने मिल्हार निज महादेवको छोरा स्व.किसुनलाल भई किसुनलालको पत्नी प्र.जसोदा हुन् । महादेव भन्ने मिल्हा जीवित छँदासम्म हामी सगोलमा बसी आएकोमा २०३५ साल माघ २७ गते निज महादेव भन्ने मल्हा परलोक भएपछि निजको छोरा बुहारी प्र.जसोदासंग हाम्रो निर्वाह हुन नसकी हाम्रो अंश छुट्टयाई दिनुस् भनी भन्दा अंश दिन इन्कार भएकोले प्र.घरको मुख्य हुँदा अचल सम्पत्तिको फाँटवारी लिई आधा भाग प्रतिवादीको छाडी आधा मध्ये आधा आधा अंश भाग छुट्याई पाउँ भन्ने समेत फिरादपत्र ।

३.  मेरो ससुरा महादेव भन्ने मिल्हा भारत अभौलाबाट यी वादीको बाबुकै पालामा छुट्टी भिन्न भई नेपालगंजमा आउनु भएको हो, यी वादीहरू धेरै वर्षपछि मात्र नेपालगंजमा आएका थिए । ससुरा महादेवको मामा बाजेतर्फ कुनै छोरा नहुँदा निजबाट मेरो छोराले प्राप्त गरेको घरमा बसेकी छु । यी वादीहरू मेरो सगोलमा बस्नु भएको छैन । छुट्टै घरमा आफ्नो खती उपती व्यहोरी बस्नु भएको छ । एकासगोलमा भए पुरुष जाती यी वादीहरूले नै अगुवा भई व्यवहार चलाउनु पर्ने म आईमाई उपर अंशको दावी गर्नु पर्ने अवस्था नै पर्दैन थियो । सो घर लिन सकिन्छ भन्ने कुनियतले दावी गरेको हुँदा वादीहरूको झुठ्ठा फरेव दावीबाट फुर्सत गरिपाउँ भन्ने प्रतिउत्तर जिकिर रहेछ ।

४.  प्रतिवादी बाजेको घर मामा बाजेतर्फबाट प्राप्त गरेको भनेकोमा त्यसतर्फ कुनै सबुद पेश हुन नआएको र सन् १९४५ मा भारतमा अंशबण्डा भएको भनेको कागज पेश भएकोमा भारतको बण्डापत्रले नेपालको सम्पत्तिको अंशबण्डाको हकमा कुनै असर नपर्ने हुँदा बण्डा गरी लिनु दिनु गरिसकेको ठोस सबुद बेगर अंशबण्डा भइसकेको भन्न मिलेन । वादी प्रतिवादीबाट दाखिल हुन आएको बिगो रु. ७९,८२५।को तायदाती फाँटवारी मध्ये आधा बिगो रु. ३९,९१२।५० को सम्बन्धमा आधी आधी वादीहरूले अंश पाउने ठहर्छ भन्ने बाँके जिल्ला अदालतको फैसला ।

५.  बाँके जिल्ला अदालतबाट भएको फैसलामा चित्त बुझेन शुरुको फैसला बदर गरी झुठ्ठा वादी दावीबाट फुर्सद गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदनपत्र ।

६.  भारतमा भएको बण्डापत्रलाई विपक्षी वादीले बण्डा भएको होइन भन्न सकेको छैन। सो १९४५ भन्नाले हाम्रो विक्रम सम्वत् २००२ साल पर्ने र सो २००२ साल कार्तिक ३० गते घरसारको बण्डापत्र महादेव मोहनलाल छत्रपाल, रामप्रसाद, नरैना समेतको बीचमा भएको देखिन आएकोले घरसारको बण्डापत्रले भारतको बडापत्र देखिन आएकोले घरसारको बण्डापत्रले भारतको बण्डापत्रलाई समर्थन गरेको र बण्डालाई २०२०।८।४ मा रामप्रसाद र निजको आमा पार्वतीले गरिदिएको विकाताबाट समेत वादीहरू मर्ने जसोदाबाट अलग भई अंशबण्डा भइसकेको समर्थित भइरहेको देखिनाले अंश पाउँ भन्ने झुठ्ठा फिराद गरेको ठहर्छ सो ठहर्नाले शुरु इन्साफ उल्टी हुने ठहर्छ भन्ने भेरी अञ्चल अदालतको फैसला ।

७.  मुद्दा सकार गराएतर्फ श्री सर्वोच्च अदालतमा मेरो रिट परी कारवाही चलिरहेको अवस्थामा मुद्दा मुलतवी गर्नु पर्नेमा मुलतवी नगरी पारीत नभएको २००२ सालको घरसारको बण्डापत्रको कुनै अस्तित्व नभएको लिखतको आधारमा अंश नपाउने ठहर्‍याई भेरी अञ्चल अदालतबाट भएको फैसला कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी रामप्रसाद कसौधन बनियाँ समेतको निवेदनपत्र ।

८.  जसोदा कसोधन वनिनी मरेकीमा निजको मुद्दा बाबु देई वनिनीले सकार गरिए उपर श्री सर्वोच्च अदालतमा रिट दिई विचाराधीन रहेको अवस्थामा सो रिट टुड्डो नलाग्दै भेरी अञ्चल अदालतमा किनारा गरेको मिलेको देखिएन । २००२ साल कार्तिक ३० गतेको घरसारी बण्डापत्र तत्काल प्रचलित रजिष्ट्रेशनको  को ३(क) नं. बमोजिम पारीत नभएको र उक्त घरायसी बण्डापत्रबाट अचल सम्पत्ति बण्डा भएको नदेखिनाले वादी दावी झुठ्ठा ठहर्‍याई भेरी अञ्चल अदालतले गरेको फैसला त्रुटियुक्त देखिँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३।३ अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने म.प.क्षे.अ.को सिंगल बेञ्जको आदेश ।

९.  छोरीको नाताले मुद्दा सकार गराई पाउँ भनी भेरी अञ्चल अदालतमा निवेदन दिँदा सो अदालतले मुद्दा सकार गर्न नदिए उपर यस क्षेत्रीय अदालतमा बाबु देईको निवेदन पर्दा मुद्दा सकार गराई दिने २०३९।१०।२० मा आदेश भएको त्यसउपर वादी पक्षले सर्वोच्च अदालतमा निवेदन दिँदा कानून बमोजिम गर्नु भन्ने २०४०।७।३० मा आदेश भई आएको देखिनाले बाबु देईलाई मर्ने जसोद्राको हक सकार गराएको बदर भएको नहुनाले सदरै मान्नु पर्ने भएको । पछि फेरी वादी पक्षले श्री सर्वोच्च अदालतमा रिट निवेदन दिँदा क्षेत्रीय अदालतमा परिरहेको अंश मुद्दामा असर पर्ने हुनाले यो निवेदन खारेज हुन्छ भनी उक्त रिट निवेदन मिति २०४१।१०।१४ मा सर्वोच्च अदालतबाट खारेज भएको देखिन्छ । यी वादीहरू र बाबु देईको बाबु महादेव अघि २००२ सालमा छुट्टी भिन्न भई सकेको रहेछ भन्ने देखिनाले अंश पाउँ भन्ने दावी पुग्न नसक्ने ठहर्‍याएको भेरी अञ्चल अदालतको फैसला मनासिबै ठहर्छ । यस अवस्थामा मर्ने जसोद्राको हक बाबु देईले सकार गर्न नपाउने समेत भनी भेरी अञ्चल अदालतको फैसला बदर गर्ने गरेको सहयोगी मा.न्या. श्री इन्द्रराज पाण्डे ज्यूसंग राय नमिलेकोले नियम बमोजिम तेश्रो बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.लीलाप्रसाद गिरीको राय ।

१०. कानूनद्वारा अधिकार नभएको व्यक्तिले मुद्दा सकार गरी सोही आधारबाट पुनरावेदन डिसमिस गर्नु पर्नेमा वादीले अंश नपाउने ठहर गरेको भेरी अञ्चल अदालतको फैसला कानूनसंगत नहुँदा बदर हुने ठहर्छ भन्ने मा.न्या. श्री इन्द्रराज पाण्डको राय भएको राय बाझी फैसला ।

११.  जसोद्राको अपुताली निजको नन्द बाबु देईले नपाउने अवस्थामा अ.बं. ६२(२) को प्रयोजन निमित्त जसोद्राको मुद्दा सकार गर्न सक्ने व्यक्ति बाबु देई बनेनी देखिन नआएकोले जसोद्राको पुनरावेदनमा इन्साफ गर्नु नपर्नेमा जसोद्राको मृत्युपछि बाबु देईलाई अ.बं. ६२(३) नं. अनुसार सकार गराई इन्साफ गरी वादीले अंश नपाउने गरी गरेको भेरी अञ्चल अदालतको फैसला बदर गर्ने ठहर्‍याई मा.न्या. श्री इन्द्रराज पाण्डे ज्यूले व्यक्त गर्नु भएको रायसंग मेरो सहमति छ भन्ने समेत व्यहोराको म.प.क्षे.अ.को का.मु. मुख्य न्यायाधीश श्री रुद्र बहादुर सिंहज्यू समेतबाट भएको फैसला ।

१२. उक्त म.प.क्षे.अ. बाट भएको इन्साफमा सार्वजनिक महत्वको विषयमा गम्भीर कानूनी त्रुटि भएको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा प्रतिवादीहरू तर्फबाट पर्न आएको निवेदनमा यसमा प्रतिवादीबाट वादी दावी बमोजिम आधा अंश भाग छुट्याई पाउँ भनी फिराद दायर भएकोमा प्रतिवादी जसोद्रा कसोधनको मृत्यु भई निजको नन्द यी निवेदक बाबु देईको मुद्दा सकार गराई पाउँ भनी मुद्दा चलेकै भेरी अञ्चल अदालतमा निवेदन पर्दा सो अदालतले मुद्दा सकार गर्न नदिए उपर म.प.क्षे.अ.मा निवेदन परी मुद्दा सकार गराई दिने व्यहोराको मिति २०३९।१०।२० मा आदेश भई त्यस उपर वादीको यस सर्वोच्च अदालतमा निवेदन परेकोमा कानून बमोजिम गर्नु भन्ने मिति २०४०।७।३० मा आदेश समेत भएबाट जसोद्राको हक यी निवेदकलाई सकार गराएकोमा सदर भएको मान्नु पर्नेमा भाउजू जसोद्राको मृत्यु पछि नन्द बाबु देई बनेनीले सकार गरी अपुताली पाउने अपुतालीको १।२।३ नं. ने व्यवस्था गरेको पाइँदैन भनी म.प.क्षे.अ. बाट निर्णय भएको पाइन्छ । यस अदालतमा परेको प्रस्तुत निवेदनको दफा १४(ङ) मा अपुताली सम्पत्ति कसले पाउने हो भन्ने विषयमा यिनै विपक्षीले बाँके जि.अ.मा २०४० साल पौष महीनामा अपुताली मुद्दा दायर गरेको भन्ने देखिन्छ । प्रस्तुत अंश मुद्दामा अंश पाउँ भन्ने वादी दावी अनुसार  अंश पाउने नपाउने के हो ? ठहर गर्नु पर्नेमा अपुतालीको महलको ऐन लगाई म.प.क्षे.अ. बाट गरेको निर्णयमा मु. ऐन, अ.बं. १८४(क) र अ.बं. १८५ को त्रुटि देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषय देखिएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्जको आदेश । पुनरावेदकतर्फबाट उपस्थित हुनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसादले र अधिवक्ता श्री श्यामप्रसाद खरेलले र विपक्षीतर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले र विद्वान अधिवक्ता श्री लवदेव भट्टले गर्नु भएको बहस समेत सुनियो । म.प.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिन पर्ने हुन आएको छ ।

१३. यसमा यसोदराले प्रस्तुत अंश मुद्दामा भेरी अञ्चल अदालतमा दिएको पुनरावेदनमा निज यसोदरा मरी बाबु देईलाई सकार गराएको कायम मानी इन्साफ गर्नु पर्नेमा सो नगर्ने गरी सो सकार गराएको बदर गर्ने गरी गरेको क्षेत्रीय अदालतको निर्णय बदर गरी इन्साफ गरिपाउँ भन्ने मुख्य पुनरावेदिका प्रतिवादी जसोदराको हक सकार गर्ने भनेकी बाबु देइको पुनरावेदन जिकिर लिएको पाइन्छ । तर यी वादी रामप्रसाद कसोधन बनियाँ र रामदुलारे कसोधन बनियाँले मर्ने यसोदरा उपर अंशियारका नाताले अंश पाउँ भनी दिएको वादीमा अंशियारा हकदारमा वादीहरूलाई मानी यसोदराले प्रतिवादी दिएको र शुरु अदालतबाट वादी दावी बमोजिम प्रतिवादी यसोदरा समेत दुवै पक्षबाट तायदाती समेत लिई अंश पाउने गरी फैसला भए उपर केवल भिन्न भएको भन्ने जिकिर लिई यसोदराले भेरी अञ्चल अदालतमा पुनरावेदन गरेको र मुद्दा चल्दैको अवस्थामा यसोदराको मृत्यु भएको र यसोदराको आफ्नो छोरा छोरी समेत नभएको कुरामा विवाद देखिन्न । मुलुकी ऐन अदालती बन्दोवस्तको ६२(३) मा हेर्दा ऐनले बिगो भर्नु भराउनु दिनु दिलाउनु वा सम्पत्ति चलन चलाउनु लिनु पर्ने मुद्दाका म्याद तारिखमा हाजिर हुनु पर्ने व्यक्ति मरी वा बौलाहा वा बेपत्ता भई म्याद तारेख गुज्रेमा मरी वा बौलाहा वा बेपत्ता भएको मितिले बाटाका म्याद बाहेक पैंतिस दिनभित्र निजको दैयादारले म्याद तारिख थामी मुद्दा सकार गर्न अड्डामा हाजिर भई निवेदनपत्र दिएमा म्याद तारिख थामी दिई मुद्दा सकार गराई दिनु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ । यी पुनरावेदकका बाबु देई बनेनी यसोदराको दैयादार देखिन नआएको मर्ने यसोदराको विवाहिता नन्द नाताकी देखिन आएकोले यसोदराले दिएको पुनरावेदनमा निज मरी यी बाबु देइलाई सकार गराई कारवाही तथा इन्साफ गर्न नमिल्ने भनी मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिब ठहर्छ । कोर्ट फी लागी पुनरावेदन दायर भएकोले केही गर्न परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल आषाढ ४ गते रोज ५ शुभम् ।

