निर्णय नं. ३०८६ – ज्यान ।
निर्णय नं. ३०८६ ने.का.प. २०४४ अङ्क ५ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी वास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज...
निर्णय नं. ३०८६ ने.का.प. २०४४ अङ्क ५
पूर्ण इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी वास्तोला
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको फौ.पु.नं. २०
मुद्दा : ज्यान ।
निवेदक/प्रतिवादी: जिल्ला महोत्तरी सहरवा गाउँ पञ्चायत वडा नं. ७ हरिदिया बस्ने बद्री नारायण यादव ।
विरुद्ध
विपक्षी/वादी: श्री ५ को सरकार ।
फैसला भएको मिति : २०४४।५।२३।३ मा
प्रहरीमा भएको बयानमा निजको लेखात्मक सहिछाप परेको देखिन्छ, बेहोशी अवस्थामा रेखात्मक सहिछाप गराउन समर्थ भए पनि स्वेच्छा वेगर लेखात्मक सहिछाप गराउन सकिने हुँदैन, यस स्थितिमा प्रमाण ऐन, २०३१ को दफा ९ ले प्रहरीमा गरेको बयान प्रमाण लिन सकिने ।
(प्रकरण नं. २९)
कुटपिट मुद्दामा सकारेको सरजमीनको बकपत्रलाई पछि होइन प्रहरीले आफूखुशी लेखी सहिछाप गर भनेकोले सहिछाप गरेको भनी प्रहरीलाई दोष दिएको कुरा वास्तविक र कानूनी तथ्य हो भनी मान्न र लिन नमिल्ने ।
(प्रकरण नं. ३०)
पुरानो रिसइवी केही नभई वारदात स्थलमा दुई पक्ष बीच भनाभन हुँदा तत्काल उठेको रीसबाट भिडको अगाडि रहेको भरोसीलाई हानेको लाठीको चोटबाट निज भरोसीको तत्कालै मृत्यु भएको देखिँदा प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गर्ने ठहर्याएको इन्साफ मनासिब ठहर्ने ।
(प्रकरण नं. ३१)
निवेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री शम्भु थापा
विपक्षी, वादीतर्फबाट : विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री वलराम के.सी.
उल्लेखित मुद्दाःX
फैसला
न्या.गजेन्द्र केशरी बास्तोलाः सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।१२।१८ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्जबाट छिनिएको ज्यान मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी छिनिदिनु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ।
२. २०३७ साल आषाढ ९ गतेको राती गरीब र धनी पक्षको बीच वादविवाद हुँदा वातावरण चर्कन गई बद्रीनारायण यादव समेतका व्यक्ति हात हातमा भाला लाठी लिई आई बद्रीनारायण यादवले गरेको लाठीको चोटबाट भरोसी मण्डललाई टाउकोमा लाग्न गई सोही तत्काल मृत्यु भएको हुँदा कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको लक्ष्मण वलीले दिएको जाहेरी ।
३. मिति २०३७।३।९ को साँझमा ७।८ बजेतिर गरीब पक्षका ३०।३२ जना महावीर र पुरणको घरनिर जम्मा भएकोमा थाहा पाई धनी पक्षको २५।३० जना त्यस ठाउँमा पुगी दोहोरो भनाभन हुँदा पुरणले बद्रीलाई बोलाई ल्याउनु भनी खबर पठाई बोलाई ल्याएपछि बद्रीनारायण यादवले हातमा लिएको बाँसको लाठी एक्कासी प्रहार गर्दा गरीब पक्षको भरोसी मण्डललाई लाग्न गई घटनास्थलमै मृत्यु भएको हो भन्ने समेत विनोद झा, बुन्धा झा, मोहन झा, दशरथ यादवले गरेको बयान ।
४. मिति २०३७।३।९।१ को साँझ गरीब पक्षका मानिसहरू पुरणको घरनिर आई झगडा हुन थालेको छ । तपाई पनि जान पर्यो भनी मलाई घरमा आई सत्येन्द्र समेतले भनेपछि म हातमा लाठी लिई उनीहरूको साथमा जाँदा धनी र गरीब पक्षका बीच भनाभन भएको रहेछ । त्यस अवस्थामा महावीर र पूर्णको घरबाट लाठा ढुड्डा चलाउन लागेकोले गरीबहरू रीसाई हामीलाई मार्न पाउँदैनौ भनी अगाडि बढ्न लागेकोले पूरण, महावीर बद्री साहु, जीवछले मलाई हौसला बढाएकोले हातमा रहेको लाठी प्रहार गर्दा भरोसी मण्डललाई टाउकोमा लाग्न गई मृत्यु भएछ । त्यसपछि मलाई टाउकोमा महावीरको घरबाट चलाएको ढुड्डा लागी व्यहोश भए के के भयो मलाई थाहा भएन भन्ने समेत व्यहोराको बद्रीनारायणको बयान कागज ।
५. सोही माथि उल्लेख भएकै विषयलाई समर्थन गर्दै महावीर र बद्री साहूले बचन दिए जीवछ र पूरणले घेर छेक गरी संयोग पारी दिए बद्रीले लाठी चलाए भरोसीलाई टाउकोमा लाठी लाग्न गई घटनास्थलमा मृत्यु भयो भन्ने समेत आ–आफ्नो व्यहोरामा लेखाई दिएको गुदरी मण्डल समेतका व्यक्तिको सरजमीन मुचुल्का ।
६. बद्रीनारायण यादवलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. को परिभाषित कसूर गरेको अपराधमा सोही ऐनको १३(३) बमोजिम, मार्न बचन दिने र संयोग पारी दिने जीवछ, बद्री साहू, महावीर र पूरणलाई सोही ऐनको १३(४) र अन्य अभियुक्तलाई सोही ऐनको १७(३) बमोजिम सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
७. मिति २०३७।३।९ को राती १०।११ बजेको समयमा पूरण साहूको घरमा डाँका हुँदैछ भन्ने हल्ला सुनी हेर्न जाँदा बाटामा ३०।५० जनाले मलाई कुटपिट गरे म बेहोश भई भुइँमा लडे। प्रहरीले मलाई बेहोश पारी सहिछाप गराएको हो मैले भरोसीलाई मारेको होइन । सरजमीनका मानिसले मलाई कुटेमा अस्पताल जाँच गराउन दर्खास्त दिई जाँच गराएकोमा सो अपराधबाट बच्न झुठ्ठा सरजमीन बकी लेखी दिएका हुन् भन्ने प्रतिवादी बद्रीनारायण यादवको अदालतमा भएको बयान ।
८. मिति २०३७।२।९ गते हामी गोरु किन्न जिल्ला धनुषा नगराइन गाउँ पञ्चायतको जटही गाउँमा गएका थियौं फर्की आउँदा प्रहरीले कुटपिट गरी बयान गराएका हुन् सरजमीनको मानिस ज्यालामा विवाद हुँदा सोही रीसले झुठ्ठा सरजमीन बकी दिएका हुन् । भरोसीको मृत्यु धनी र गरीब बीचको झगडामा भएको हो हामीले अपराध गरेको छैनौं भन्ने समेत व्यहोराको विनोद झा र मोहन झा ले अदालतमा गरेको बयान ।
९. म वृद्ध भएकोले वारदात भएको दिन म आफ्नै घरमा थिएँ । वारदात भई भरोसी मरेको प्रहरीले पक्राउ गरेपछि थाहा पाएको हुँ । म निर्दोष छु भन्ने समेत व्यहोराको दशरथ यादवले अदालतमा गरेको बयान ।
१०. मिति २०३७।३।९ गते म भमरपुर गाउँपञ्चायत रोतेली गाउँको किशोरी ठाकुरको घरमा गई फर्कंदा प्रहरीले पक्राउ गरी म आँखा नदेख्ने भनेकोले डर देखाई सहिछाप गराएका हुन् म निर्दोष छु भन्ने समेत व्यहोराको बुँचा झाले अदालतमा गरेको बयान ।
११. मिति २०३७।३।८ गते नै म गोरु किन्न गएको ११ गते मात्र फर्केको हुँ । भरोसी मर्यो भन्ने मैले गाउँमा आएपछि मात्र सुनेको हुँ । के भई मर्यो थाहा छैन भन्ने समेत लिलाकान्त झाले अदालतमा गरेको बयान ।
१२. नाति बिरामी परेछ भनी मेरी बुहारीको माइत जिल्ला धनुषा दुहवी वडा नं. ४ खडानन्दको घरमा मिति २०३७।३।८ मा त्यता गएर मिति २०३७।३।१२ मा फर्केको हुँदा गाउँमा भरोसी मरेछ प्रहरीले पक्राउ गर्दछ भनी सुनी घरमा नगई अन्यत्र गएको हुँ म निर्दोष छु भन्ने समेत व्यहोराको बैजनाथ झाले अदालतमा गरेको बयान ।
१३. श्रवणकुमारको आमा विरामी छन् भनी मिति २०३७।३।८ मा म जिल्ला महोत्तरी नैनही गाउँपञ्चायत वडा नं. ८ थारुवाही गाउँमा गएको थिएँ । मैले कुनै कसूर गरेको छैन, भरोसी कसरी मरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको शिषकान्त झाले अदालतले गरेको बयान ।
१४. मिति २०३७।३।७ मा धनुषाको देवडीयामा गई बसेको अवस्थामा गाउँमा खून भयो भन्ने सुनेको हुँ भरोसी के भएर मरेको हो थाहा छैन म निर्दोष छु भन्ने समेत राम झा मैथिलको अदालतमा गरेको बयान ।
१५. गुदरी मण्डल समेतका मानिसले मलाई मार्छु भन्ने हल्ला गाउँमा सुनाई रहेको हुँदा शान्ति सुरक्षा गरिपाउँ भनी मिति २०३७।३।९ मा जिल्ला कार्यालयमा निवेदन दिएर फर्किंदा राती गाउँमा डाँका गर्ने हल्ला छ भन्ने सुनी ज्यान बचाउन मेरो ससुराली जिल्ला धनुषा मुखियापट्टी भुसुहनिया बस्ने हजामका घरमा गएँ । डाँका परेको १० गते मरिहसिमा सुनेर इटाडियामा मिति २०३७।७।१६ मा फर्केको हुँ । भरोसी के कस्को पिटाइबाट मर्यो थाहा छैन म निर्दोष छु भन्ने समेत व्यहोराको पूरण साहू तेलीको अदालतमा भएको बयान ।
१६. मिति २०३७।३।७ गते निम्ता मान्न जलेश्वर बरवदी गाउँमा गएको थिएँ । त्यहाँबाट ९ गते मावली धनुषा घोडयासमा जाँदा भोलिपल्ट हुलदंगा हुँदा मानिस मरेको सुनेको हुँ। ३।४ दिन पछि गाउँमा आएकोले म निर्दोष छु भन्ने समेत चन्द्रेश्वर साहू तेलीले अदालतमा गरेको बयान ।
१७. मिति २०३७।३।७ गते नातिको मुण्डन भएकोले जिल्ला महोत्तरी भंगाहा गाउँमा गएर १२ गते फर्कंदा मात्र भरौसी मण्डलको मृत्यु भएको भन्ने सुनेको हुँ भन्ने दुखी साहू तेलीले अदालतमा गरेको बयान ।
१८. धनुषा शान्तिपुरमा खेती भएकोले मिति २०३७।३।१ गते त्यसतर्फ गई २५ गते गाउँमा फर्कंदा भरौसी मरेको सुनेको हुँ । म गाउँमा नभएकोले निर्दोष छु भन्ने समेत व्यहोराको शिव साहूले अदालतमा गरेको बयान ।
१९. बुहारी लिन मिति २०३७।३।७ गते जिल्ला धनुषा ढल्केवर गएँ १३ गते भरौसी मरी जाहेरीमा मेरो समेत नाम छ भनी छोरा आएर भनेकोले गाउँमा गएँ । म गाउँमा नभएको समयमा वारदात भएकोले म निर्दोष छु भन्ने समेत महावीर साहू तेलीले अदालतमा गरेको बयान।
२०. मिति २०३७।३।७ गते जिल्ला म वलवा छोरीको घरमा गई १३ गते आफ्नो घरमा आउँदा भरोसी मण्डल मर्यो भन्ने सुनें । म वारदातको समयमा गाउँमा नहुँदा म निर्दोष छु भन्ने समेत व्यहोराको बद्री साहू तेलीले अदालतमा गरेको बयान ।
२१. मिति २०३७।३।८ गते फुपूको घर धनुषा गई १३ गते आफ्नो घरमा आएको हुँ । म निर्दोष हुँदा मलाई सजायँ हुनु पर्ने होइन भन्ने समेत जीवछ यादवले अदालतमा गरेको बयान।
२२. बद्रीनारायण यादवलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम, पूरण साहू तेलीलाई सोही ऐनको १७(३) बमोजिम हुन्छ । नवल किशोर, भोला झाले ७० दिने म्याद पुर्जीको म्याद गुजारी फरार भई बसेकोले निजहरूको हकमा मुलतवी राखिदिने र जीवछ, बद्री साहू, महावीर, विनोद, मोहन दशरथ यादव, दुःखी साहू, चन्द्रेश्वर, शिव शाह, वैजनाथ झा, सत्येन्द्र झा, लिलाकान्त झा, रामचन्द्र शाह, शिवचन्द्र, बुच्चा झाको सम्बन्धमा निजहरूले प्रहरी प्रतिवेदन दावीबाट फुर्सद पाउने ठहर्छ भन्ने समेत मिति २०३९।४।२२ गतेको शुरु महोत्तरी जिल्ला अदालतले गरेको फैसला।
२३. शुरु जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी बद्रीनारायाण यादव र प्रतिवादी पूरण साहू तेलीले र सफाई दिएको मिलेन भनी श्री ५ को सरकारको समेत मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
२४. मार्ने सम्मको इवी लाग नहुँदा भनाभनको सिलसिलामा तत्कालै उठेको रीसबाट बद्री नारायणले छोडेको चोटबाट भरोसी मण्डलको मृत्यु भएको देखिँदा ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गर्ने गरेको मनासिब नै हुँदा सदर हुने ठहर्छ र पूरण साहूको हकमा निजले अपराधमा वचन दिएको अथवा मार्नमा संयोग पार्न दिएको अथवा अपराधमा सहमत भएको भन्ने सबुद प्रमाणको अभावमा शुरुले ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम सजायँ गर्ने गरेको मिलेको नहुँदा सफाई पाउने ठहर्छ सो बाहेक अन्य प्रतिवादीहरूको हकमा शुरुले सफाई दिएको मनासिब नै हुँदा सदर हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
२५. मध्यमाञ्चल क्षेत्रीय अदालतको उक्त निर्णय उपर प्रतिवादी बद्रीनारायण यादव र श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
२६. निर्णयार्थ डिभिजन बेञ्ज समक्ष पेश हुँदा प्रतिवादी बद्रीनारायणको प्रहरीमा आफैंले लाठी हिर्काएकोमा साविती भएको कुराको पुष्टी लाश जाँच फारामबाट प्रष्ट भएको पाइन्छ । साथै निजले हानेको लाठीको प्रहारबाट भरोसी मण्डलको मृत्यु भएको भन्ने कुरा सरजमीनका व्यक्तिहरूले पनि बकी लेखिदिएको पाइन्छ । यद्यपी अदालतमा बयान गर्दा प्रतिवादी बद्रीनारायण पूर्णरुपमा इन्कार रही प्रहरीले मलाई बेहोश पारी सहिछाप गराएको हो मैले राजीखुशीले गरेको होइन भनी भनेका छन् तापनि आफूले प्रहरीको कागजमा सही गरेको कुरालाई इन्कार गर्न सकेको देखिँदैन । यस प्रकार निज मृतकसंग मार्नसम्मको रिसइवी भएको नदेखिएको अवस्थामा दुई पक्षको बीचमा भएको भनाभनको स्थिति चर्कन गई तत्काल उठेको रीस आवेगमा प्रतिवादी बद्रीनारायणले आफूसंग रहेको लाठीले प्रहार गर्दा भरोसीको मृत्यु भएको देखिन आएकोले निजलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गर्ने गरेको शुरुको इन्साफ मनासिब ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब ठहर्छ । श्री ५ को सरकारको र प्रतिवादी समेतको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।१२।१८ को फैसला ।
२७. निवेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री शम्भु थापाले बद्रीनारायण प्रहरीमा सावित भए पनि अदालतमा इन्कार छ । स्वयं जाहेरवालीले अदालतमा बकपत्र गर्दा निजको लोग्ने भरोसी मण्डललाई बद्रीनारायणले मारेको नभई भारतीय मजदूरहरूले मारेको हो भनी बकपत्र गरेको छ । प्रहरीको साविती बाहेक बद्रीनारायणको विरुद्धमा अन्य कुनै प्रमाण नहुँदा निजलाई सजायँ गरेको इन्साफ मिलेको नभएबाट निजले वादी दावीबाट सफाई पाउनु पर्छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी.ले प्रतिवादी बद्रीनारायण प्रहरीमा सावित छ । भरोसीलाई लाठी प्रहार गरी मारेमा अदालतमा इन्कार रहे पनि वारदात स्थलमा उपस्थित भएकोमा सावित छ । मिति २०३७।४।११ को पहिलो सरजमीन जसलाई जिल्ला अदालतले बदर गरे पनि मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३९।१।१७ गतेको आदेशबाट कायमै गरिएको छ, का गुदरी मण्डल समेतका चस्मदिद व्यक्तिहरूले बद्रीनारायणले प्रहार गरेको लाठीबाट नै भरोसी मण्डलको मृत्यु भएको भनी किटानी पूर्वक लेखिदिएका छन् । बद्रीनारायणले यो गुदरी मण्डल समेतका व्यक्तिहरू उपर दिएको कुटपिट मुद्दामा प्रतिउत्तरपत्र फिराउँदा बद्रीनारायण समेत भई भरोसी मण्डललाई ज्यान मारेको भनी किटानीपूर्वक लेखिदिएकोबाट सरजमीनको व्यहोरा समर्थन भइरहेको छ । पोष्ट मार्टमबाट समेत वारदातको पुष्टी भइरहेको हुँदा बद्रीनारायणलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गरेको इन्साफ सदर हुनु पर्छ भन्ने समेत बहस गर्नु भयो ।
२८. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा मिति २०३७।३।९ गतेका दिन गरीब र धनी पक्षका व्यक्तिहरू बीच भनाभन भई बद्रीनारायण यादव समेतले लाठीले टाउको फुटाई मेरो पति भरोसी मण्डल धानुकको घटनास्थल मै मृत्यु भएकोले कानून बमोजिम कारवाही गरिपाउँ भन्ने भरोसी मण्डलकी श्रीमती लक्ष्मण वतिको जाहेरी, निधार माथि चार इञ्च लामो डेढ इञ्च गहिरो काटिएको घाउ बायाँ कुइनामा छाला खुइलेको नाकबाट रगत निस्किएको भन्ने लाश जाँच मुचुल्का टाउकोमा लागेको चोटको कारणले मृत्यु भएको भन्ने लाश जाँच प्रतिवेदन समेतबाट भरोसी मण्डल धानुकको मृत्यु कर्तव्यबाट भएकोमा शंका देखिएन।
२९. वारदात स्थलमा धनी र गरीब पक्षका व्यक्तिहरू बीच भनाभन भएकोमा साथमा भएका पूरण साहू समेतका व्यक्तिले हौसला दिएकोले जोश बढी लाठी चलाउँदा गरीब पक्षको भीड मध्येको अगाडी रहेको भरोसी मण्डलको टाउकोमा मेरो लाठी लाग्न गई ढुनमुनिदै भुइँमा लडेको मैले चलाएको एक चोटबाट निजको तत्कालै मृत्यु भएको भन्ने समेत बद्रीनारायण यादवले प्रहरीमा बयान गरेको देखिन्छ । भरोसी मण्डललाई मारेमा बद्रीनारायण यादवले अदालतमा इन्कारी बयान गरी प्रहरीमा कुटपिट गरी व्यहोश पारी व्यहोशी अवस्थामा सहिछाप गराएको भन्ने जिकिर लिएको पाइन्छ तापनि अदालतमा बयान गर्दा पनि वारदात समयमा पूरण साहूको घरमा डाँका हुँदैछ भन्ने हल्ला सुनी दगुर्दै जाँदा उसको घर नपुग्दै बाटोमा करीव ३०।४० जना मानिसहरूले मलाई घेरा हाली कुटपिट गर्न लाग्यो र म व्यहोस भई भूइँमा लडे त्यसपछि के भयो मलाई थाहा छैन भन्ने समेत उल्लेख गरी वारदात स्थलमा आफ्नो उपस्थित रहेको कुरालाई स्वीकार गरेको पाइन्छ । जहाँसम्म प्रहरीमा कुटपिट गरी व्यहोस बनाई व्यहोसी अवस्थामा बयान गराइयो भन्ने जिकिर छ प्रहरीमा भएको बयानमा निजको लेखात्मक सहिछाप परेको देखिन्छ । व्यहोसी अवस्थामा रेखात्मक सहिछाप गराउन समर्थ भएपनि स्वेच्छा बेगर लेखात्मक सहिछाप गराउन सकिने हुँदैन । यस स्थितिमा प्रमाण ऐन, २०३१ को दफा ९ ले बद्रीनारायणले प्रहरीमा गरेको बयान प्रमाणमा लिन सकिने नै भयो ।
३०. आफूले चलाएको लाठीको एकचोट भरोसी मण्डलको टाउकोमा लाग्न गई निजको तत्कालै मृत्यु भएको भन्ने प्रतिवादी बद्रीनारायणले प्रहरीमा गरेको बयानमा उल्लेख भएको पाइन्छ । घटनास्थल प्रकृति मुचुल्कामा निधार माथि ठाडो चार इन्च लामो डेढ इञ्च गहिरो काटिएको घाउ भन्ने तथा लाश जाँच प्रतिवेदनमा पनि टाउकोको फ्रन्टलवोन Çयाक्चर भएको भन्ने उल्लेख भई मृत्युको कारणमा टाउकोमा लागेको चोटको कारणले मृत्यु भएको भन्ने समेत उल्लेख भएकोबाट पनि बद्रीनारायणको बयानको पुष्टि भएको पाइन्छ । मिति २०३७।४।११ को सरजमीनका गुदरी मण्डल, तेजुदास तत्मा समेतले प्रतिवादी बद्रीनारायण यादवले गरेको लाठी प्रहारबाट नै भरोसी मण्डलको मृत्यु भएको हो भनी लेखाई दिएको देखिन्छ । शुरु जिल्ला अदालतको मिति २०३७।४।१६ गतेको आदेशबाट सो सरजमीन मुचुल्का बदर भई पुनः सरजमीन भए पनि मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३९।१।१७ को आदेशले सो मिति २०३७।४।११ को सरजमीन कायमै रहेको देखिन्छ । यस मुद्दाका प्रतिवादी बद्रीनारायण यादवले वादी भई यिनै गुदरी मण्डल तथा किशोरी दाश तत्मा समेत उपर चलाएको कुटपिट मुद्दामा यी गुदरी मण्डल तथा किशोरी दाश तत्माले मिति २०३७।१२।११ मा प्रतिउत्तर फिराउँदा उक्त प्रतिउत्तरको प्रकरण नं. पाँचमा गाउँकै भरोसी मण्डललाई वादी समेत भई ज्यान मारी दिएकोबाट सरजमीन हुँदा देखे जानेसम्मको कुरा हामीहरूले सरजमीन गरेकोबाट रीस लिई मुद्दा दिने र दिलाउने गरेको भन्ने समेत उल्लेख गरी सरजमीनको आफ्नो व्यहोरालाई पूर्ण समर्थन गरेको देखिन्छ । निजहरूले सो पछि यस मुद्दामा २०३९ सालमा अदालतमा आई बकपत्र गर्दा सोही सरजमीनको वकाइलाई कुरा फेरी भनेको कुरालाई विश्वासनीय प्रमाण हो भनी मान्न मिल्ने देखिँदैन । कुटपिट मुद्दामा सकारेको सरजमीनको बकपत्रलाई पछि होइन प्रहरीले आफूखुशी लेखी सहिछाप गर भनेकोले सहिछाप गरेको भनी प्रहरीलाई दोष दिएको कुरा वास्तविक र कानूनी तथ्य हो भनी मान्न र लिन मिल्दैन । यसरी प्रमाणित भइसकेको कुरालाई जाहेरवालीले अदालतमा आई पछि फेरेको बकपत्रको हकमा पनि यही सिद्धान्त लागू हुन्छ ।
३१. उपर्युक्त सबुद प्रमाणबाट प्रतिवादी बद्रीनारायण यादवलाई निर्दोष मान्न सकिने नदेखिएको र निजैको भरोसी मण्डलसंग पुरानो रिसइवी केही नभई वारदातस्थलमा दुई पक्ष बीच भनाभन हुँदा तत्काल उठेको रीसबाट भिडको अगाडि रहेको भरोसीलाई हानेको लाठीको चोटबाट निज भरोसीको तत्कालै मृत्यु भएको देखिँदा प्रतिवादी बद्रीनारायण यादवलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गर्ने ठहर्याएको शुरु महोत्तरी जिल्ला अदालत तथा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।१२।१८ गतेको इन्साफ मनासिब ठहर्छ अरु तपसील बमोजिम गर्नु ।
तपसील
निवेदक बद्रीनारायण यादव के मुद्दा दोहर्याए वापत अ.बं. २०४ नं. बमोजिम शुरु कैदवर्ष दशको सयकडा दशको दरले थप कैदवर्ष १ एक कैद हुन्छ बेरुजु हुँदा थप कैदवर्ष १ को लगत कसी कानून बमोजिम गर्नु भनी महोत्तरी जिल्ला अदालतमा लेखिपठाउन का.जि.अ.त.मा लगत दिनु…१ बद्रीनारायण यादवले सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४१।१२।१८ को फैसलाले निजलाई लाग्ने ठहर्याएको थप कैद ।६ महीना वापत मुद्दा दोहर्याई ल्याएपछि नगद धरौट रु. २७०।– मिति २०४२।७।१ मा स.अ.ल.न. शाखा मार्फत का.जि.अ.मा धरौट राखेको देखिँदा निजलाई लागेको उक्त कैद ६ महीना भुक्तान भएपछि धरौटी राखेको उक्त रकम कानूनको रीत पुर्याई निजलाई फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनु…२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु…३
उक्त रायमा हामीहरूको सहमत छ ।
न्या.बब्बरप्रसाद सिंह
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४४ साल भाद्र २३ गते रोज ३ शुभम् ।