निर्णय नं. ३०५९ – लकडी चोरी निकासी
निर्णय नं. ३०५९ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको फौ.पु.नं. ५९४...
निर्णय नं. ३०५९ ने.का.प. २०४४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४१ सालको फौ.पु.नं. ५९४
मुद्दा : लकडी चोरी निकासी।
पुनरावेदक/वादी: श्री ५ को सरकार हरैचा रेन्जर कार्यालय।
विरुद्ध
विपक्षी/प्रतिवादी: जि.काठमाडौं का.न.पं. वार्ड नं. २४ वटुटोल बस्ने चन्द्रलाल श्रेष्ठ।
जि.झापा दमक न.पं वार्ड नं.१० बस्ने गोपाल प्रसाद ढकाल।
ऐ.ऐ वार्ड नं.१३ बस्ने जमुना प्रसाद जैसवाल ।
ऐ.ऐ वार्ड नं.१० बस्ने मान बहादुर रिजाल।
ऐ.ऐ बस्ने ड्राइभर जय राई।
जि.धनुषागा.पं लगमा वार्ड नं.२ बस्ने गौरीशंकर निधी।
जि.काठमाडौं थानकोट गा.पं वार्ड नं.८ बस्ने पूर्णनन्द ग्वाला।
ऐ.ऐ का.न.पं वार्ड नं.२४ वटुटोल बस्ने सुसिल लाल श्रेष्ठ।
ऐ.ऐ थानकोट गा.पं वार्ड नं. ५ बस्ने श्याम प्रसाद उपाध्याय।
फैसला भएको मिति: २०४३।११।२५।२ मा
नियम संशोधन नगरी केवल निर्णयले मात्र मूल्यमा अन्तर हुन सक्दैन । त्यसमा पनि रोयल्टीको मूल्य वृद्धि भएकोलाई काठको मूल्य वृद्धि भएको मान्न नमिल्ने ।
(प्रकरण नं. १६)
पुनरावेदक, वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दाश सरस,विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल,विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भट्टराई,विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित,विद्वान अधिवक्ता श्री गणेशराज शर्मा।
उल्लेखित मुद्दाःX
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला: पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ :–
२. २०३९।२।१२ गते सलकपुर चेकपोष्टमा ना.अं. ८७३, ५२६, १९४३ र ११८२ नं. का ट्रकहरूमा चिरान लकडी लोड गरिएका, लकडीमा डि.एस.एम. टाँचा लागेका ढकाल समिल दमकको विल भएको लकडी निकासी गर्ने इजाजत हेर्दा छोड पुर्जीको व्यालेन्स भन्दा बढी लकडी ल्याएको देखिएकोले यस्मा के भएको हो जाँचबुझ गर्न लोड भएका ट्रक थान ४ यसैसाथ पेश गरेको छु भन्ने वनपाले गिरी रामको प्रतिवेदन परेको र म्यानेजर गौरी शंकरले काठ लिन व्यापारी आएपछि मुन्सीहरूले काठ नाप गरी ट्रकमा लोड गराई अन्तःशुल्कको माल निकासी माग फाराम समेत तैयार भएपछि म बेलुका आई हतारका बखतमा व्यालेन्स चेक नगरी सही गरेको भनी ठाडो कागज गरेको, ना.अं. ८७३ को ट्रक गोपाल ढकालको हो काठमाडौं लकडी लैजान भाडाको तय भएकोले मिलको टाँचा लागेको अन्तःशुल्क माल निकासी फाराम मिलको मेनेजमेन्टसिट बिल भएको लकडी यति नै सम्झी लकडी बोकेको हुँ भन्ने ड्रा. जय राईको ठाडो बयान ना.अं.११८२ का ड्रा.मानबहादुर ना.अं.५२६ का ड्रा. पूर्णानन्द, ना.अं. १९४३ का ड्रा. श्यामप्रसादले ढकाल समिल दमकबाट प्रति क्यू.फि. रु. १६।– का दरले भाडामा काठमाडौं लान अन्तःशुल्क माल निकासी फाराम मेनेजमेन्ट सिट ग्राहक रामबहादुर विष्ट मार्फत पठाएको लकडीमा मिलको टाँचा लागेको भन्ने समेत ठाडो बयान । पक्राउ भएको लकडीमा फाटफुट माटो लागेको देखिन्छ, लकडी प्राय मिलकै चिरानी देखिन्छ । लकडी यसै आ.व.का केही र गत आ.व.का केही छन्, तीनमा मिलको टाँचा लागेको देखिन्छ सो बाहेक अन्य टाँचा लागेको देखिँदैन भन्ने समेत सरजमीन मुचुल्का भएको ।
३. ४ वटा ट्रकमा नाप जाँच पछि ठहर हुन आएको जम्मा १२७५–०–० क्यू.फि. लोड गरी ल्याएमा ड्राइभरहरूले साविती बयान गरेको, जाँच बुझको सिलसिलामा पेश गरेको वन पैदावार अन्तर्गतको डिपोबाट खरीद गरी लिएको बिलमा उल्लेख भएको लम्बाई भन्दा बढी लम्बाई भएका काठहरू फेला परेको र पक्राउ परेका काठहरू मध्ये ३९ थान हाते आराले चिरान गरेको १६ थानमा माटोले पोतेको समेत काठ फेला परेको उक्त लकडीहरूको टेक्टर प्राय जसो नयाँ भएको र सरकारी टाँचा कुनैमा पनि नदेखिएको हुँदा ढकाल समिलका मैनेजरले अनियमित काठ बिना इजाजत ल्याएको सिद्ध हुन्छ र वन सम्बन्धी विशेष व्यवस्था ऐन, २०२४ को संशोधित दफा ३ को उल्लंघन गरेको देखिनाले मेनेजरलाई सोही ऐनको दफा ९ बमोजिम हुने रु. २३,२१४।५१, दण्ड जरिवाना र कैदको सजायँ समेत गरिपाउँ र ड्राइभरले लोड गरी ल्याएको बिगो बमोजिम निजहरूलाई दण्ड जरिवाना र कैद समेत गरिपाउँ भन्ने हरैचा का. का रेन्जर पुण्यबहादुर के.सी.को फिराद दावी ।
४. काठ खरीद गर्ने व्यापारी रामबहादुर आई लकडीको मोल तय भई भाडाको गाडीमा लकडी नाप भई ना.अं. ११८२, ८७३, ५२६ र १९४३ को ट्रकमा लोड गरी राखेको रहेछ म आएपछि मुन्सीले तयार पारिराखेको बिलमा मैले जाँच नगरी सहिछाप गरी दिएपछि लोड गाडी बेलुका ६१⁄२ बजेतिर प्रस्थान गरेकोमा सलकपुर ढाटले रोकिराखेको छ भन्ने खबर थाहा पाएपछि सो ठाउँमा गई बुझ्दा ६० फुट मात्र बाँकी रहेछ अरुको छोडपुर्जी नभएको थाहा पाई छोड पुर्जीको लागि झा.व.डि.का. मा गई गोलिया १६५४।११।५ को चिरानी १२४०–० क्यू. फुटको छोड पुर्जी गराई ल्याई रेन्जर कार्यालयमा पेश गरेको छु भन्ने समेत गौरी शंकर निधिको बयान ।
५. काठमाडौं लैजान चिरान काठ लोड गर्न लगाएकोले अन्तःशुल्कको कर्मचारी आई बिल बनाई ४ वटै गाडी प्रस्थान गरी आइरहेको अवस्थामा सलकपुर ढाटले रोकी पक्राउ गरी ल्याएको हो । हाते आराले चिरेको काठ कहाँबाट कसरी ल्याएको हो मलाई थाहा छैन भन्ने समेत श्यामप्रसाद उपाध्यायले मिति ०३९।३।८ मा गरेको बयान ।
६. ना.अ. ८७३ को ट्रक मेरो हो । जय राईलाई हाक्न लगाएको हुँ दमक ढकाल समिलबाट काठमाडौं काठ लैजाने भाडा निजैले तय गरी लगेको सलकपुर ढाटले पक्राउ गरी रोकी राखेको थाहा पाएको हुँ भनी गोपालप्रसाद ढकालले ०३९।५।२९ मा गरेको बयान ।
७. ना.अं. १९४३ को ट्रक मेरो हो । ड्राइभरमा श्यामप्रसाद उपाध्यायलाई राखेको छु । इटहरी दुगड मिलबाट सामान बोक्न गएकोमा ढकाल समिल दमकबाट चिरानी काठ बिक्री बिल, अन्तःशुल्क तिरेको रसीदहरू समेत भएकोले भाडामा लोड गरी लगेकोमा सलकपुर ढाटमा पक्राउ भएछ । अरु कुरा मलाई थाहा छैन भन्ने समेत सुनिललाल श्रेष्ठले सोही मिलानसंग भाडा रु. १६।– को दरले लोड गरी ल्याएको अवस्थामा सलकपुरमा पक्राउ परेको भन्ने समेत व्यहोराको चन्द्रलाल श्रेष्ठले र ना.अ. ११८२ को ट्रक ०३८।२।५ गते जमुनाप्रसाद जयसवाललाई बिक्री गरिसकेको र केही लेनदेन बाँकी हुँदा नामसारी हुन बाँकी रहेको हो ट्रक सञ्चालन सोही मिति देखि निजले नै गरेका हुँदा निजैलाई थाहा होला भन्ने समेत ०३९।५।३० मा केदारप्रसाद रिजालसमेतको बयान ।
८. ढकाल समिल मेरो हो मैनेजरमा गौरी शंकलाई राखेको हुँ । बिक्री भाउ गर्दा मैनेजरको सहायताले मैले तय गर्ने गरेको छु । रामबहादुरलाई बिक्री गरेको काठ निजले भाडामा खोजी ल्याएको ४ वटा ट्रकमा लोड गरी अन्तःशुल्कको फाराम बिक्री बिल बनाई मिलको प्रोपर्टी टाँचा लगाई व्यापारीले जिम्मा लिई गएको ०३३ साल देखि टि.सि.एन. वन पैदावार समेतबाट पटक पटक खरीद गरी ल्याएका काठ चिरान गरी बिक्री गर्ने गरेको र रामबहादुरलाई बिक्री गरेको काठ ०३६।०३७।०३८।०३९ सालमा टि.सि.एन. पैदावार समेतबाट ल्याएको मध्येको हो चोरी गरी ल्याई बिक्री गरेको छैन । हाते आराले चिरेको र माटोले पोतेको समेत होइन । अतः झुठ्ठा दावी उजूरीबाट फुर्सद गरिपाउँ भन्ने गणेश ढकालले ०३९।६।४ मा गरेको बयान ।
९. वन सम्बन्धी विशेष व्यवस्था ऐन, ०२४ को दफा ३(क) बमोजिमको कसूर गरेको देखिँदा निज प्रतिवादीहरू मैनेजर गौरीशंकर निधी र ड्राइभरहरू जय राई, पूर्णानन्द, श्यामप्रसाद, मानबहादुर समेत पाँचै जवानलाई ऐ ऐनको ९(१) को (क) ले दण्ड जरिवाना र कैद समेत हुने ठहर्छ भन्ने समेत मो.सु.जि.व.क्षे. सुदृढीकरण सम्बन्धी विशेष अदालत विराटनगरको ०३९।६।२६।३ को फैसला ।
१०. मो.सु.जि.व.से. सुदृढीकरण सम्बन्धी विशेष अदालतको फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन उक्त फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको छुट्टाछुट्टै पुनरावेदन पत्र ।
११. विवादित लकडी वन सीमाना भित्रबाट हटाइएको नभई समिलबाट काठमाडौं सम्म ढुवानी गर्न लगिएको अवस्थामा पक्राउ गरिएको देखिन्छ । समिलको टाँचा लागेको मिल मालिकले समेत समिलकै भनी बयान गरेको, अन्तःशुल्क तिरेको रसीद र छोडपुर्जी समेत प्रतिवादीहरूबाट पेश गरेकोबाट प्रतिवादीहरूले आरोपित कसूर गरेको देखिन आउँदैन । अतः शुरुको इन्साफ उल्टी भई प्रतिवादीहरूले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।२।९।२ को फैसला ।
१२. पू.क्षे.अ.ले प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको इन्साफमा वन संरक्षण विशेष व्यवस्था ऐन, २०२४ को दफा २(क), (ख)(छ) दफा ३(क) दफा ५(ग) समेतको प्रतिकुल हुँदा पुनरावेदनको लागि अनुमति पाउँ भनी वादी श्री ५ को सरकारले यस अदालतमा दिएको निवेदन।
१३. पक्राउ भएका विवादका लकडी नयाँ कटान भन्ने प्राविधिक जाँचबाट देखिन्छ । नयाँ कटान लकडी सम्बन्धित समिलबाट खरीद प्रमाण आउन सकेको देखिँदैन । बरामद भएको लकडी बिल बमोजिमको नभई बढी लम्बाई भएको समेत देखिँदा बिल बमोजिमको भन्ने स्थिति पनि रहेन ।
१४. यस्तो अवस्थामा समिलबाट खरीद गरेको लकडी हो भन्ने आधारमा प्रतिवादीहरूलाई सफाई दिएको पू.क्षे.अ.को निर्णयमा अ.बं. १८४(क) र वन सम्बन्धी विशेष व्यवस्था ऐन, ०२४ को २(क) तथा ३(क) को समेत त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति ०४०।१०।२६।५ को आदेश ।
१५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुुर कार्कीले लकडी खरीद कर्ता भनेका रामबहादुरलाई यी प्रतिवादी मध्यका ड्राइभर तथा मिल मैनेजर कसैले पनि चिन्दैन । डि.एस.एम. भन्ने टाँचा सरकारी टाँचा नभई समिलको टाँचा हो तसर्थ समिलले लगाएको समिलको टाँचाले चोरी निकासीलाई वैधानिकता प्रदान गर्न सक्दैन । प्रतिवादीतर्फबाट पेश गरिएको बिल बमोजिम पक्राउ परेका काठको साइज मिल्दैन साथै मिसिल सामेल रहेको इजाजतपत्र पनि काठ पक्राउ भएपछि मात्र बनाएको हो अतः यी पक्राउ परेका लकडी चोरी निकासीका भएको हुँदा वादी दावी बमोजिम जरिवाना कैद तथा दण्ड समेत गर्नु पर्नेमा सफाई दिने गरी गरेको पू.क्षे.अ.को निर्णय मिलेको छैन भन्ने समेत र विपक्षी प्रतिवादी गौरी शंकर निधिको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसले चोरी निकासी भन्नाले जंगलबाट निकासी गर्दा गर्दैको अवस्था पक्राउ भएकोलाई जनाउँछ यहाँ मेरो पक्षले समिलबाट बिक्री ट्रकमा लोड गरी ल्याएको अवस्थामा चोरी निकासी हुनै सक्दैन साथै यही लकडीको अन्तःशुल्क समेत असूल उपर गरिएको र मंगलबारे ढाटले जाँची बढी छाडिदिएको समेतबाट चोरी निकासी होइन भन्ने प्रष्ट हुन्छ भन्ने समेत र विपक्षी गोपालप्रसादका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भट्टराइले र विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले वारदात झापामा भएकोमा मोरङ सुन्सरी वन विशेष अदालतबाट कारवाही चलाएको अधिकार क्षेत्रको त्रुटि भयो साथै बिगो रु. ५,०००।– भन्दा बढी मूल्य पर्ने चोरी निकासी गरेको भएमा मात्र ट्रक जफत हुन्छ ट्रकमा ५,०००।– को मोल बिगोको सामान नै नभएको अवस्थामा ट्रक जफत हुने होइन र चोरी निकासी गरेको जानी जानी ट्रकमा ल्याएको खण्डमा मात्र ट्रक ड्राइभर उपर कारवाही गर्ने र ट्रक समेत जफत गर्न मिल्दछ अन्यथा यसरी कारवाही र जफत गर्न मिल्दैन यहाँ मेरो पक्षले समिलबाट काठ ल्याएको र काठको अन्तःशुल्क तिरेको बिल भर्पाई र छोडपुर्जी समेत भएको हुँदा निकासीको हो भन्ने जानी जानी ल्याएको नहुँदा मेरो पक्ष निर्दोष छ भन्ने र विपक्षी श्यामप्रसाद उपाध्याय, चन्द्रलाल श्रेष्ठको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मोतीकाजी स्थापित, विद्वान अधिवक्ता श्री गणेशराज शर्माले मेरो पक्षलाई चोरी निकासीका काठ हुन् भन्ने थाहा नभएको र ट्रकमा ५,०००।– भन्दा कम मोल बिगो हुँदा ट्रकहरू जफत हुने होइन । अतः प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको पू.क्षे.अ.को इन्साफमा कुनै कानूनी त्रुटि भए गरेको नहुँदा सदर हुनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनियो । यसमा पू.क्षे.अ.ले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
१६. यसमा सर्वप्रथम विवादित लकडी चोरी निकासीका हुन् होइनन् सो सम्बन्धमा विचार गर्दा विवादित काठ ढकाल समिल दमकबाट ट्रकमा लोड गरी काठमाडौं तर्फ ल्याउँदाको अवस्थामा सलकपुरमा चेक पोष्टमा मिति ०३९।२।१२ मा पक्राउ गरेको देखिन्छ तर यसरी पक्राउ परेको अवस्थामा यी प्रतिवादीहरूले बिल र छोडपुर्जी समेत पेश गर्न सकेको देखिँदैन यसरी ०३९।२।१२ मा पक्राउ परेको थाहा भएपछि झापा वन डिभिजन कार्यालयमा गई ०३९।२।१३ मा चिरानी १२४० क्यू.फि. काठमाडौं लैजाने इजाजतपत्र ल्याई पेश गरेको देखिन्छ । विवादित लकडीहरू ढकाल समिलले रामबहदुर विष्टलाई बिक्री गरेको भनी बिल पेश गरेको भए तापनि रामबहादुर भनेको फलानो हो निजलाई चिनेको छ भनी ट्रक ड्राइभर, मिल मालिक र मैनेजर लगायत कसैले पनि भन्न सकेको देखिँदैन बिक्री भइसकेको ढकाल समिलका लकडी नापजाँच भई ट्रकमा लोड गरी लैजादा निज रामबहादुर वा निजको प्रतिनिधि समेत ट्रकसाथमा आएको देखिँदैन सबै ड्राइभरहरूको बयानबाट निज रामबहादुर विष्ट भन्ने व्यक्तिलाई निजहरूले नचिनेको, नदेखेको र निजको घर ठेगाना समेत थाहा नभएको र ट्रक लोड भई आउँदा समिलकै २ जना मानिसहरू ना.अं. ११८२ को गाडीमा बसी आएको, सलकपुर चेक पोष्टमा गाडी रोक्का भएपछि निजहरू त्यहाँबाट हिंडेको भन्ने जय राई समेतको बयानबाट देखिन्छ साथै दमकबाट काठमाडौं लकडी लैजाने गरी ट्रकको बन्दोवस्त र भाडाको तय पनि निज रामबहादुरले नगरी मिलमालिक मैनेजरको तर्फबाट नै भएको भनी बयान गरेको देखिन्छ । यसबाट रामबहादुर नाम गरेको उनाउ व्यक्तिको नाममा नक्कली बिल बनाई बिना इजाजतका अवैध लकडी मैनेजर गौरी शंकरकै तर्फबाट निकासी गर्न लाएको देखिन्छ । यसको साथै यसरी मिति ०३९।२।१२ मा पक्राउ भएपछि ०३९।२।१३ मा मात्र इजाजत बनाई ल्याएकोमा पनि इजाजतपत्रमा उल्लेख भएको भन्दा पनि बेसी लकडी ट्रकमा लोड भएको र उक्त लकडीहरू बिल भर्पाईमा उल्लेख भएका साइजहरू भन्दा बढी लम्बाईको भएको र लोड भएका काठ वन पैदावार निकास समिति तथा टि.सि.एन. बाट खरीद गरी लिएको भनी मिल मालिक र मैनेजरले बयान गरेको भए तापनि लकडीमा टि.सि.एन. तथा वन पैदावार निकास समितिको टाँचा लागेको नभई डि.एस.एम. को मात्र टाँचा लागेको देखिन्छ । यसरी समिति तथा टि.सि.एन. बाट खरीद गरेको भए टाँचा लागेको हुनु पर्नेमा चिरानी गर्दा वाकलमा नै उक्त टाँचा छापा हराएको भन्ने बयान भएको सम्बन्धमा पनि गोलीया काठको टप्परमा लागेको छाप टाँचा चिरानी गर्दा वाकलमा जान्छ भन्ने तर्क मिल्न आएन, किनकी चिरान गर्दा पनि टप्परमा लागेको टाँचा छाप सम्पूर्ण चिरान लकडीमा नदेखिए तापनि केही न केही मात्रामा कुनै न कुनै टाँचाको निशाना देखिनु पर्ने हो सो केही पनि देखिँदैन । केही केही काठहरू नयाँ चिरानका देखिएको र त्यो काठहरूमा माटोले पोतेको समेतबाट नयाँ कटानीलाई पुरानो देखाउने प्रयत्न गरेको देखिन्छ । अतः माथि उल्लेख गरिए बमोजिम अवैध लकडी निकासाको लागि ट्रकको बर बन्दोवस्त गरी भाडा तय गरी मैनेजर आफैंले पठाएको देखिन आएको हुँदा निज मैनेजरले आरोपित कसूर गरेको देखिन आयो । यस्तो अवैध विना इजाजतका लकडी लोड गरी ल्याएको देखिँदा मैनेजर गौरीशंकर निधीसंग मिलेमतो गरी चोरी निकासी गर्न ड्राइभरहरू समेत सरिक भएको देखियो । जब यी प्रतिवादीहरूलाई लकडी चोरी निकासी गरेमा के कति दण्ड सजायँ तथा जरिवाना हुने सो सम्बन्धमा विचार गर्दा वन पैदावार बिक्री वितरण नियमावली, ०२७ को अनुसूची ५ ले साल तथा खयरको काठ प्रति क्यू.फि. मोल रु. ४।५० तोकेको देखिन्छ । सो नियमको अनुसूची संशोधन नभई मूल्यमा हेरफेर हुने अवस्था देखिँदैन । मिति ०३७।३।३२ मा रोयल्टी वृद्धि गर्न निर्णय भएको भन्ने कुरा निर्णय प्रतिलिपि तथा वन मन्त्रालयको मिति ०३७।३।३२ को पत्रको प्रतिलिपिबाट देखिन्छ । यसरी नियम संशोधन नगरी केवल निर्णयले मात्र मूल्यमा अन्तर हुन सक्दैन । त्यसमा पनि रोयल्टीको मूल्य वृद्धि भएकोलाई काठको मूल्य वृद्धि भएको मान्न मिल्दैन । वन संरक्षण विशेष व्यवस्था ऐन, ०२४ को दफा ९(१)(क) मा “दफा ३(क) अन्तर्गत कसूर गर्ने व्यक्तिलाई रु. ५,०००।– भन्दा बढी बिगो भएमा बिगो र बिगो बमोजिम दण्ड रु. २,०००।– जरिवाना र १ वर्ष कैद हुने छ । रु.१,०००।– देखि ५,०००।– सम्मको बिगो भएमा बिगो र बिगो बमोजिम दण्ड र रु. ५००।– सम्म जरिवाना वा एक वर्ष कैद वा दुवै हुने छ” भन्ने उल्लेख भएको देखिन्छ । ना.अं. ५२६ को गाडीमा २९६–२–३ क्यू.फि., ना.अं. १९४३ को गाडीमा ३०४–५–० क्यू.फि., ना.अ. ८७३ को गाडीमा २८७–६–७ क्यू.फि. र ना.अं. १८८२ को गाडीमा ३१३–८–४ क्यू.फि. काठ लोड गरिएको देखिन्छ । माथि उल्लेखित वन पैदावार बिक्री वितरण नियमावली, २०२७ को अनुसूची ५ बमोजिम तोकिदिएको प्रति क्यू.फि. मूल्य रु. ४।५० को दरले हिसाब गर्दा लोड भएको ४ वटा ट्रक मध्ये कुनै ट्रकमा पनि रु. ५,०००।– भन्दा बढी मूल्यको काठ लोड भएको देखिँदैन । उक्त प्रत्येक गाडीमा लोड भएका काठ मूल्य रु. १,०००।– भन्दा माथि र ५,०००।– भन्दा कम भएको देखिँदा वन संरक्षण विशेष व्यवस्था ऐन, ०२४ को दफा ९(१) को (क) बमोजिम बिगो र बिगो बमोजिम दण्ड रु. ५००।– सम्म प्रतिवादी मैनेजर गौरी शंकर, ड्रा.जय राई, ड्रा. पूर्णानन्द, ड्रा. मानबहादुर र ड्रा.श्यामप्रसादलाई जनही जरिवाना हुने ठहर्छ । सोही ऐनको दफा ९(क) मा “यो ऐन बमोजिम सजायँ हुने कसूर गरेको ठहरिएमा कसूरमा बरामद सबै वन पैदावार बोझ बाहेक औजार चौपाया र अन्य साधनहरू जफत हुने छ तर पाँच हजार रु. भन्दा कम्ति मोल पर्ने बिगोको वन पैदावार लादी ल्याएको ट्रक र मोटर टेक्टरको हकमा त्यस्तो ट्रक लरी, मोटर, टेक्टर जफत नभई दफा ९ अन्तर्गत हुने सजायँमा पाँच सय रुपैयाँ देखि पाँच हजार रुपैयाँ सम्म थप जरिवाना हुनेछ” भन्ने व्यवस्था भएबाट ट्रक जफत हुने नभई ट्रक बाहेक ड्रा. जयराई, ड्रा.मानबहादुर, ड्रा.पूर्णानन्द र ड्रा.श्यामप्रसादलाई थप ५००।– रुपैयाँ जरिवाना हुने भई सबै लकडी जफत हुने ठहर्छ । अतः प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाई दिने गरी गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा उल्टी हुन्छ । विवादित लकडी प्रति क्यू.फि. ४।५० को दरले बिगोको मूल्य कायम गर्नु पर्नेमा सो बमोजिम नगरी प्रति क्यू.फि. को रु. १३।– का दरले बढी मोल बिगो कायम गरी सोही आधारमा दण्ड सजायँ र कैद गरी ट्रक समेत लिलाम गर्ने गरेको हदसम्म मोरङ सुन्सरी जिल्ला वन क्षेत्र सुदृढीकरण सम्बन्धी विशेष अदालत विराटनगरको इन्साफ उल्टी हुन्छ । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
प्रतिवादी मेनेजर गौरी शंकर निधिके माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ.को इन्साफ उल्टी भई निज प्रतिवादी गौरी शंकर निधीलाई जरिवाना रु. ५००।– हुन्छ निजले मो.सु.जि.व.स. विशेष अदालत विराटनगरमा दण्ड जरिवाना र कैद वापत राखेको जम्मा धरौटी रु. ७,१८२।९० मध्येबाट लागेको ज.रु. ५००।– कटाई बढी भई बाँकी हुने रु. ६,६८२।९० धरौटी रकम कानूनका म्याद भित्र माग्न आएमा कानूनको रीत पुर्याई फिर्ता खर्च लेखिदिनु भनी र पू.क्षे.अ.ले मिति ०४०।२।९।२ मा जम्मा धरौटी रु. ७,१८२।९० समुच्चै निज प्रतिवादी गौरी शंकर निधीलाई फिर्ता दिनु भनी सम्बन्धित विशेष अदालतमा लेखी पठाउने भनी कायम गरेको लगत कायम राख्नु परेन सो लगत कट्टा गरिदिनु भनी सम्बन्धित विशेष अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु….१ माथि इन्साफ खण्डमा लेखिए बमोजिम बरामद भएको लकडी जफत हुने ठहरेकोले लकडी फुकुवा गरी लकडी धनीलाई फिर्ता बुझाई दिनु भनी सम्बन्धित विशेष अदालत विराटनगरमा पू.क्षे.अ.ले लेखी पठाउने गरेको लगत कायम राख्नुपरेन सो लगत कट्टा गरी जफत भएको लकडी कानून बमोजिम लिलाम गरी आम्दानी बाध्नु भनी मो.सु.जि.व.सु. विशेष अदालत विराटनगरलाई लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु…२ माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ.को इन्साफ उल्टी भई प्रतिवादी ड्रा. जयराई, ड्रा.पूर्णानन्द ग्वाला, ड्रा.मानबहादुर रिजाल र ड्रा.श्यामप्रसाद उपाध्यायको प्रत्येक ड्राइभरलाई दण्ड रु. ५००।– र ट्रक जफत नभई थप जरिवाना रु. ५००।– लाग्ने ठहरेकोले निज प्रतिवादीहरू (मिति ०३९।३।९।४ मा मो.सु.जि.व.क्षे.स. विशेष अदालत विराटनगरमा) ड्रा. जयराइले दण्ड जरिवाना कैद वापत समेत जम्मा रु. ८,१३१।७२ ड्रा. पूर्णानन्द ग्वालाले दण्ड जरिवाना र कैद वापत समेत जम्मा धरौटी रु. ८,०२६।– ड्रा. मानबहादुर रिजालले दण्ड जरिवाना र कैद समेत जम्मा धरौटी रु. ८,५३९।८१ ड्रा.श्यामप्रसाद उपाध्यायले दण्ड जरिवाना कैद वापत समेत जम्मा धरौटी रु. ८,६८६।९१ राखेको देखिएकोले सो मध्येबाट प्रत्येक ड्रा. हरूबाट दण्ड र जरिवाना वापत रु. १,०००।– का दरले कट्टी गरी बढी हु आएको ड्रा.जयराइके रु. ७,१३१।७२ ड्रा.पूर्णानन्द ग्वालाके रु. ७,०२६।– ड्रा.मानबहादुरके रु. ७,५३९।८१, ड्रा. श्यामप्रसाद उपाध्यायके रु. ७,६८६।९१ निज प्रतिवादीहरूले फिर्ता पाउने हुँदा मिति ०४०।२।९।२ मा पू.क्षे.अ.ले सम्पूर्ण धरौटी फिर्ता दिने गरी कायम गरेको लगत कायम राख्नु नपर्ने हुँदा सो लगत कट्टी गरी दिने र कानूनका म्याद भित्र निज प्रतिवादीहरूलाई लागेको दण्ड कट्टी गरी हुन आउने बाँकी धरौटी रकम फिर्ता माग्न आए कानूनको रीत पुर्याई फिर्ता दिनु भनी सम्बन्धित विशेष अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु…३ माथि इन्साफ खण्डमा लेखिए बमोजिम ट्रकहरू जफत नहुने ठहरकोले मिति ०३९।६।२६।३ मा मो.सु.जि.व.क्षे.सु. सम्बन्धी विशेष अदालतले ट्रकहरू जफत गरी लिलाम हुने ठहर्याई माल धनीलाई जनाउ दिने गरेको लगत कायम राख्नु परेन सो लगत कट्टा गर्नु भनी सम्बन्धित विशेष अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु….४
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ.को इन्साफ उल्टी भएको हुँदा मा.न्या. श्री मोहनप्रसाद शर्मा र मा.न्या.श्री उदयराज उपाध्यायको उल्टीमा रेकर्ड राख्न स.अ. प्रशासन शाखामा जनाउ दिनु…५
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४३ साल फाल्गुण २५ गते रोज २ शुभम् ।