निर्णय नं. ३०५३ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. ३०५३ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट...
निर्णय नं. ३०५३ ने.का.प. २०४४ अङ्क ४
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४२ सालको रिट नम्बर २१११
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : ल.पु.जि.ल.पु.न.पं. वडा नं. २२ इखाछें बस्ने आशामाया महर्जन।
विरुद्ध
प्रत्यर्थी : ललितपुर नगरपञ्चायत बैठक।
ललितपुर नगर पंचायत कार्यालयको मुद्दा समितिका अध्यक्ष श्री सानुकृष्ण चित्रकार।
ल.पु.न.पं. वडा नं.२२ ईखाछें बस्ने सानकाजी बज्राचार्य।
फैसला भएको मिति : २०४३।११।१९।३ मा
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७ को उपदफा (१) हेर्दा जग्गावालाले बसोवास गर्न घरवारीको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएकोमा मोहीलाई तोकिएको दरले हुन आउने जग्गाको मोलको सयकडा २५ क्षतिपूर्तिको रुपमा जग्गावालाबाट दिलाई जग्गा झिक्न पाउने गरी स्थानीय पञ्चायतले आदेश जारी गर्न हुन्छ भन्ने उल्लेख भएको पाइने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाङ्ग
प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री पुष्पप्रसाद अर्याल विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह: नेपालको संविधानको धारा १६,७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. ल.पु.न.पं. वडा नं. १५(ग) कि.नं. ९२ क्षेत्रफल ०–३–२ र कि.नं. ९३ को क्षेत्रफल ०–२–२ समेत जम्मा रोपनी ०–६–० जग्गा विर्ता उन्मूलन ऐन, २०१६ भन्दा धेरै अघिदेखि पोता विर्ता गुठी जग्गामा पक्की घर बनाई घर घडेरी कायम गरी सो विर्ता गुठी जग्गाको बाली विश्वबज्र बज्राचार्यको बाबु बाजेको पालादेखि बुझाई आएको छु । उक्त जग्गा दुवै कित्ता एकै चकला भई जोडिआएको भूमिसम्बन्धी ऐन अन्तर्गत नापी हुँदा मात्र २ कित्ता गरी जोताहाको अस्थायी निस्सा र मोहियानी हकको प्रमाणपत्र समेत प्रदान गरेको हो उक्त ल.पु.जि. आनन्द बहालको श्री भगवानको गुठी जग्गा सर्भे नापी हुँदा घर भएको २ आना २ पैसा भई बाँकी ३ आना २ पैसा भगवानको निमित्त फलफुल तथा फुलबारी बगैंचा गर्नलाई मोहियानीको क्षतिपूर्ति दिई छोडाई पाउँ भनी निज विश्वबज्र बज्राचार्यले ललितपुर नगरपञ्चायतमा निवेदन दिई भूमिसम्बन्धी ऐनको दफा २७ अनुसार मोहियानीबाट निष्काशन गर्ने भनी ललितपुर नगरपञ्चायतबाट मिति २०२५।६।५।४ मा निर्णय गरेको र सो निर्णय ०२७ सालको रिट नम्बर ८३५ द्वारा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०२८।४।३०।१ मा बदर भएको र उक्त जग्गाको म उपरको लुटपिट मुद्दामा पनि वादीको दावी नपुग्ने ठहर्छ भनी ललितपुर जिल्ला अदालतबाट मिति २००३।५।२६।४ मा फैसला भई अन्तिम भइरहेको छ । उक्त जग्गाको बाली नुबझेकोमा ललितपुर नगरपञ्चायत कार्यालयमा धरौट राखेकोमा विपक्षी विश्वबज्र बज्राचार्यलाई झिकाउँदा उक्त कि.नं. ९२ जग्गा मैले नै भोगचलन गरी आएको र कि.नं. ९३ को मात्र बाली बुझाउनु पर्ने हो भन्ने निज विश्वबज्र बज्राचार्यको लिखितजवाफ पेश गरेकोबाट मुद्दा पर्दा पर्दैको अवस्थामा उक्त कि.नं. ९२ को मोही आशामाया महर्जन भएको जग्गामा मैले घरवास बनाई बसोवास गर्नाका लागि अंश वापत लिई अंश छोडपत्र गरेकोले मोहियानी वापत भूमिसम्बन्धी ऐनको दफा २७ बमोजिम क्षेतिपूर्ति लिई मोहियानी छोडपत्र गरी देउ भनी आशामायालाई भनेकोमा इन्कार गरेकोले सो कि.नं. ९२ को जग्गाको मोहियानी हक लिई मैले घरवास बनाई बस्न पाउने गरिपाउँ भन्ने निज विश्वबज्र बज्राचार्यको छोरा विपक्षी सानुकाजी बज्राचार्यले मिति २०३९।११।१ मा ललितपुर नगरपञ्चायत कार्यालयमा निवेदन चढाएकोमा भूमिसम्बन्धी ऐनको दफा २६(८) बमोजिम १५ दिनभित्र मलाई सूचना दिएको छैन, विश्वबज्र बज्राचार्यका का.जि.का.न.पं. साविक वडा नं. ६ हाल वडा नं. १३ कि.नं. १२३ मा र ल.पु.जि.ल.पु.न.पं. वडा नं. २२ ब्लक नं. ख. २२/१३२, २२/१३३, २२/१३५, नापी हुँदा कि.नं. २८०, २९९ को जग्गामा ४ वटा पक्की घर भएको व्यक्ति समेत हुँदा बण्डा लिखत कथित जालसाजी हो मेरो पक्की घर घडेरी भएको जग्गा निष्काशन नहोस भन्ने लिखितजवाफ पेश गरेको थिएँ । सो जालसाजी भनेको बण्डापत्रको कागज अ.बं. ७८ नं. बमोजिम नसुनाई सर्वोच्च अदालतबाट मिति २०२८।४।३० मा जारी भएको रिटलाई समेत ध्यानमा नराखी न्यायिक मनको अभावमा मोहियानीबाट निष्काशन गरिदिने गरी ललितपुर नगरपञ्चायत कार्यालयका मुद्दा समितिका अध्यक्ष श्री सानुकृष्ण चित्रकारले मिति २०४०।११।२२ मा पर्चा निर्णय गरेको र ल.पु.न.पं. बैठकबाट पनि उक्त पर्चा मनासिब देखिएकोले क्षतिपूर्ति वापत धरौट रहेको रु. २,७३४।३७ बुझ्न आउनु भनी ७ दिने म्याद पठाइदिने भनी मिति २०४२।८।२० मा फैसला गर्यो ।
३. विपक्षी सानुकाजीले म मोहीलाई क्षतिपूर्ति वापत रु. ३,०००।– दिएर जग्गा झिकी पाउँ भनेकोमा रु. २,७३४।३७ मात्र दिने गरेको निर्णय त्रुटिपूर्ण छ । उक्त जग्गा पोता विर्ता गुठीको भएको र सो जग्गालाई विर्ता उन्मूलन ऐन, २०१६ ले रैकरमा परिणत गराउनु पर्ने सो गराएको कतैबाट देखिएको छैन । गुठी संस्थान ऐन संशोधन, २०४१ को दफा १९(क) बमोजिम यो जग्गाको गुठीको लगत गुठी संस्थानमा दिनु पर्ने सो पनि दिएको छैन र सो शुद्ध रैकर जग्गा नभई गुठी संस्थान अन्तर्गतको जग्गा कमाउने मोहीबाट जग्गा झिकी घर बनाउन पाउने व्यवस्था गुठी संस्थान ऐनमा नभएकोले गुठी जग्गाको मोहीलाई भूमिसम्बन्धी ऐनको दफा २७ प्रयोग गरी झिक्न पाउने गरेको कानूनी त्रुटिपूर्ण छ । उपरोक्त बमोजिम भूमिसम्बन्धी ऐनका दफा २६(क) दफा २(ङ) दफा २७ र गुठी संस्थान ऐनको त्रुटिपूर्ण निर्णयबाट मौलिक हक र कानूनी हक हनन् भएको हुनाले सो निर्णय उत्प्रेषण वा उपयुक्त रिट र जो चाहिने आज्ञा, आदेश पुर्जी जारी भई बदर गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत मिति २०४२।११।३।६ को सिंगलबेञ्चको आदेश ।
५. विपक्षीले विवादित जग्गा विर्ता गुठी जग्गा भन्ने दावी लिनु भएको छ, तर त्यसको कुनै लिखित प्रमाण पेश गर्न सक्नु भएको छैन आनन्द बहालको श्री भगवानलाई प्रीति गरिराखेको भनेको के हो कुनै कुरा रिटनिवेदनमा स्पष्ट उल्लेख छैन । सर्वोच्च अदालतको निर्णयमा यो त्रुटि हो र गुठीमा दर्ता थियो इत्यादि कुनै कुरा भनिएको छैन । कुन गुठी हो आदि कुरामा निजले खास प्रमाण नदेखाइएको आधारमा उक्त गुठी ऐनका दफा प्रयोग गरी झिक्न नमिल्ने होइन त्यस्मा पनि गुठी जग्गा घरबारीको निमित्त झिक्न नमिल्ने खास कानूनी आधार पनि उल्लेख गर्नु भएको छैन । विपक्षीले रिटनिवेदनमा गुठी जग्गा भनी लिएको आधार नगरपञ्चायतमा उजूर गर्दा लिनु भएको छैन । कि.नं. ९२ मा विपक्षीले घर बनाउनु भएको थिएन नापी नक्शा हेर्दा पनि कि.नं. ९२ मा घर भएको देखिँदैन । घर नै नभएको कित्ता झिक्न नमिल्ने भन्ने भूमिसम्बन्धी ऐनको दफा २७ मा उल्लेख पनि छैन । अ.बं. १८४(क) १८५ र प्रमाण ऐनको दफा ३ र ५४ बमोजिम प्रमाणको विश्लेषण समेत गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) र २७ बमोजिम नगरपञ्चायतको मुद्दा समितिबाट गरेको उक्त निर्णय कानून बमोजिम नै हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी ल.पु.न.पं. बैठक र ल.पु.न.पं. कार्यालय मुद्दा समितिका अध्यक्ष सानुकृष्ण चित्रकारको लिखितजवाफ ।
६. म प्रत्यर्थीले पिताजीबाट मिति २०३९।९।२।६ मा पाएको उक्त कि.नं. ९२ को जग्गाको भई आएको मूल्यांकन बमोजिम प्रति रोपनी रु. ४९,०००।– देखि रु. ५०,०००।– सम्मको मूल्यांकन भई आएको बढी मूल्य रु. ५०,०००।– कायम गरी रु. २,७३४।३७ म बाट विपक्षीलाई दिने निर्णय गरेकोमा त्रुटि छैन । सो जग्गा गुठी अधिनस्थ होइन । जग्गाको वास्तविक स्थिति लुकाई निवेदन दिएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ विपक्षीको नाममा जो जतिसुकै घरहरू भए तापनि मेरो अंश भागमा घर जग्गा भई दर्ता रहेको कुरा समेत पुष्ट्याई गर्न विपक्षीले सक्नु भएको छैन । मेरो सम्पत्तिको स्रोत अंश छोडपत्रलाई जालसाजी भन्न विपक्षीलाई कुनै हक अधिकार छैन । भूमिसम्बन्धी ऐनको दफा २७ अनुसार प्रत्यर्थी नगरपञ्चायतबाट कानून बमोजिम मेरो दर्ता भोगको जग्गाको मूल्यांकन बमोजिम विपक्षीलाई ऐन बमोजिम क्षतिपूर्ति दिलाई घरबारीको निमित्त झिक्न पाउने गरी मिति २०४०।११।२२ मा भएको निर्णय र पुनरावेदन तहबाट समेत कानूनको परिधिभित्र रही भएको उक्त निर्णय फैसला कानूनसंगत हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी सानुकाजी बज्राचार्यको लिखितजवाफ ।
७. निवेदकतर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाड्डले विवादित जग्गा मेरो घर घडेरी जग्गा र सो जग्गा गुठी हो । भूमिसम्बन्धी ऐनको दफा २७ अनुसार मोहीबाट जग्गा झिक्न पाउने होइन । प्रत्यर्थीको घरहरू भएकोले पनि मोहियानी जग्गा झिक्न मिल्दैन मोहीबाट जग्गा झिक्ने गरेको ल.पु. नगरपञ्चायत बैठकको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ, भन्ने बहस गर्नु भयो । प्रत्यर्थी नगरपञ्चायतका तर्फबाट विद्वान अधिवक्ता श्री पूण्यप्रसाद अर्याल र प्रत्यर्थीबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरीले विवादित जग्गा गुठी अधिनस्थ जग्गा होइन । सो कुराको प्रमाण निवेदकले दिन सकेको छैन । जग्गा रैकर हो भूमिसम्बन्धी ऐनले घर बनाउन जग्गाधनीले मोहीबाट जग्गा झिक्न पाउने हुँदा जग्गा झिक्न पाउने गरेका ल.पु. नगरपञ्चायतको निर्णयमा कुनै त्रुटि छैन भन्ने समेत बहस गर्नु भयो।
८. प्रस्तुत रिटनिवेदनमा निवेदिकाको माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा प्रत्यर्थी सानुकाजी बज्राचार्यले ल.पु.न.पं. वडा नं. १५(ग) कि.नं. ९२ को ०–३–२ जग्गाको मोही आसामाया भएको घरवास बनाई बस्नको लागि मोहियानी क्षतिपूर्ति दिई मोही हक झिकी पाउँ भन्ने भूमिसम्बन्धी ऐनको दफा २७ अन्तर्गत निवेदन दिएमा रिट निवेदिकाले भूमिसम्बन्धी ऐनको दफा २६(क) अनुसार सुरक्षित मोही हुँदा क्षतिपूर्ति लिई जग्गा छाड्न मञ्जूर छैन भन्ने समेत प्रतिवाद गरेकोमा प्रति रोपनी बढी मूल्य रु. ५०,०००।– का दरले ०–३–२ को रु. १०,९३७।५० को ४ खण्डको १ खण्ड जोताहाले पाउने रु. २,७३४।३७ जग्गाधनी सानुकाजीबाट जोताहा आशामायालाई दिलाई दिने घरबारीको लागि मोहीको जोताहा हक भूमिसम्बन्धी ऐन, ०२१ को दफा २७ अनुसार झिकिदिने ठहर्छ भनी ल.पु. नगरपञ्चायत मुद्दा समितिबाट मिति ०४०।११।२२ मा र सोही निर्णय पर्चा सदर गरी ल.पु. नगरपञ्चायत बैठकबाट मिति २०४२।८।२० मा निर्णय गरेको देखिन्छ ।
१०. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७ को उपदफा १ हेर्दा जग्गावालाले बसोवास गर्न घरबारीको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएकोमा मोहीलाई तोकिएको दरले हुन आउने जग्गाको मोलको सयकडा २५ क्षतिपूर्तिको रुपमा जग्गावालाबाट दिलाई जग्गा झिक्न पाउने गरी स्थानीय पञ्चायतले आदेश जारी गर्न हुन्छ भन्ने उल्लेख भएको पाइन्छ ।
११. सो कि.नं. ९२ को जग्गा रिट निवेदिका मोही भन्ने कुरामा विवाद देखिन्न । जग्गावालाले बसोवास गर्न घरबारीको लागि मोहीबाट जग्गा झिक्न पाउने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७ मा व्यवस्था भए अनुसार प्रत्यर्थी ललितपुर नगरपञ्चायत बैठकबाट निर्णय भएको देखिन्छ । अधिकार प्राप्त अधिकारीले अधिकार क्षेत्रभित्र रही भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७ अनुसार मोहीबाट जग्गा झिकिदिने गरी गरेको निर्णय त्रुटिपूर्ण भन्न सकिने अवस्था नहुँदा निवेदिकाको माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४३ साल फाल्गुण १९ गते रोज ३ शुभम् ।