August 4, 1987
Created by nepalarchives

निर्णय नं. ३०५१ – अंश

निर्णय नं. ३०५१     ने.का.प. २०४४ अङ्क ४   पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज...

निर्णय नं. ३०५१     ने.का.प. २०४४ अङ्क ४

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् ०४३ सालको दे.फु.नं. ८५

मुद्दा : अंश।

 

निवेदक/प्रतिवादी: का.जि.भद्रकाली गा.पं. साविक वडा नं. ९ हाल वडा नं. ७ बस्ने भैरवबहादुर खत्री क्षेत्री।

विरुद्ध

विपक्षी/वादी: ऐ.ऐ. बस्ने तीलकबहादुर खत्री क्षेत्री।

फैसला भएको मिति : २०४४।४।१९।३ मा

     रीतपूर्वक अंशबण्डाको लिखत नभएसम्म अथवा घरसारमा नरम करम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज गराई बण्डा बमोजिम आआफ्नो भागको भोग बिक्री व्यवहार गरेको कुरा व्यवहार प्रमाणबाट प्रमाणित नभएसम्म अंशबण्डा भई भिन्न भएको मान्न नमिल्ने ।

(प्रकरण नं. १३)

निवेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी

उल्लेखित मुद्दाःX

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।१२।४ को निर्णय उपर मुद्दा फुल बेञ्चबाट दोहोर्‍याई पाउँ भनी निवेदक प्रतिवादी भैरवबहादुर खत्रीको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा परेको विन्तिपत्रमा प्रस्तुत अंश मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने बक्स भई आएकोले हुकुमको प्रमाड्डी बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    बाबा तपबहादुर र आमा सन्तकुमारीको २ छोराहरूमा जेठा म तिलकबहादुर कान्छो विपक्षी भैरवबहादुर र एक छोरी भएकोमा बाबु छँदै हाम्रो विवाह भएको र पिताजी २०२३ सालमा परलोक हुनु भएको र आमा पनि परलोक भइसक्नु भएकोछ । कानून बमोजिम पछि बण्डा गरिदिउँला भनी जीविकाको लागि पिताजीले दिनु भएको केही जग्गा लिई २००७ साल ज्येष्ठ २० गते पिताजीसंग म तलकबहादुर मानो छुट्टिई अलग बसिआएको छु । सबै जग्गाहरू पिताजीकै नाममा छ । बण्डा गरौं भन्दा नमानी सबै सम्पत्ति घर जग्गा कब्जा गरेकोले फिराद गर्न आएको छु । विपक्षीले मलाई अंश मार्न नभएको सौतेनी आमा भनाई जिउनीमा नालेश पारेकोले त्यसमा सौतेनी आमा नभएको भनी प्रतिवाद दिएको छु । हामी २ जना बाहेक अरु अंशियार कोही छैनन्। बण्डा गर्नु पर्ने सबै सम्पत्ति विपक्षीले कब्जा गरी जिम्मा रहेकोले विपक्षीबाट बण्डा गर्नु पर्ने सबै सम्पत्ति तायदाती लिई २ भाग लगाई १ भाग अड्डैबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको २०३५।११।१४ को तिलकबहादुर खत्रीको फिराद दावी ।

३.    विपक्षीले जो लिनु पर्ने अंश भाग २००७ साल ज्येष्ठ २० गते पिताजीसंग लिई भिन्न भई छुट्टिई बस्नु भएको र म र पिताजी सगोलमा बसेकोमा सोही २००७ साल आषाढमा आमा हेलथुकु भन्नेलाई ल्याउनु भएको  हो । २०२१ सालमा सर्भे नापी हुँदा आफ्नो अंशभागको जति सबै जग्गा जोतपोत समेत का.जि. खड्गा गा.पं. वा.नं. ७(क) मा नापी गराई लिनु भएको छ । भद्रकाली गा.पं. वा.नं. ९(क) मा समेत आफ्नो नाममा दर्ता गराउनु भएको खड्गा गा.पं.वा.नं. ८(क) को जग्गा मोहीयामा कमाई जोताहामा लेखाउनु भएको समेत प्रमाणहरूबाट विपक्षी मानो छुट्टिई बसेको मात्र नभई आफ्नो अंश समेत लिई छुट्टिई बसेको प्रष्टै छ । पिताजी २०२३ साल कार्तिकमा र सौतेनी आमा हेलथकु २०३५ साल फाल्गुण ३ गते परलोक हुनु भएकोले अपुतालीको ६ नं. ले पिताजी र निज सौतेनी आमा समेतको भागको हक मसंग बसेका छोराले पाउने भई हकभोग गरी आएकोले केही लिन खान सकुँला भनी झुठ्ठा मुद्दा लगाएको हो, विपक्षीलाई फेरी मैले अंश दिनु पर्ने नहुँदा झुठ्ठो दावीबाट फुर्सद पाउँ भन्ने समेत भैरवबहादुरको प्रतिउत्तरपत्र ।

४.    वादी दावी नपुग्ने भन्ने समेत का.जि.अ.को ०३८।७।२५ को फैसला ।

५.    सो फैसला उपर वादीको पुनरावेदन परी ०३९।२।३१ को सिंगलबेञ्चको आदेशले विपक्षी समेत झिकाइएको रहेछ ।

६.    झिकाई आएका दर्ता उतारहरूबाट वादी प्रतिवादीका नाउँमा छुट्टा छुट्टै जग्गाहरू दर्ता भएको देखिएकोले व्यहोरा प्रमाणबाट अंश भइसकेको प्रमाणित हुन आएकोले वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरुको इन्साफ मनासिब छ भन्ने समेत म.क्षे.अ.को ०३९।७।१७।४ को फैसला।

७.    उक्त फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भनी वादीको निवेदन परेकोमा नियम बमोजिमको अंशबण्डाको कागज नभई केवल जीवन निर्वाहा गर्न केही सम्पत्ति लिई मानो छुट्टिएकोलाई अंशबण्डा भइसकेको र निवेदकले अंश पाउने ठहर्दैन भन्ने म.क्षे.अ.को फैसलामा अंशबण्डाको ३० र ३५नं. र प्रमाण ऐन, २०३१ को दफा ६ समेतको त्रुटि देखिएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने ०४०।१०।८।१ को यस अदालतको डिभिजन बेञ्चको आदेशानुसार पेश भएको रहेछ ।

      ८.    अंशबण्डा भइसकेको रीतपूर्वकको कागज प्रमाण वा वादीले अंश पाएको भन्ने कुरा प्रतिवादीले प्रमाणित गर्न सकेको पाइँदैन । २००७ साल ज्येष्ठ २० गते मानो छुट्टिई भिन्न भएको कुरा प्रतिवादीले स्वीकार गरेको पाइन्छ । बण्डा भएको कागज प्रमाण र मुलुकी ऐन, अंशबण्डाको ३० नं. बमोजिम बण्डा भइसकेको भन्न सकिने अवस्थाको समेत पूर्णतः अभावमा वादीले अंश पाइसकेको भन्न मिलेन । वादीले अंश पाइसकेकोले वादी दावी पुग्न नसक्ने भन्ने का.जि.अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेको नदेखिँदा उल्टी हुन्छ । वादी प्रतिवादी दुवै पक्षबाट २००७।२।२० गते मानो छुट्टिएको हुँदा सो मिति सम्मको तायदाती लिई ऐन बमोजिम बण्डा गरिदिनु भनी दुवै पक्षलाई तारिख तोकी मिसिल का.जि.अ.मा पठाइदिनु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।१२।४ को फैसला ।

९.    सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ नमिलेको र मलाई ज्यादै मर्का परेकोले मुद्दा फुल बेञ्चबाट किनारा गरिदिनु भन्ने सर्वोच्च अदालतका नाउँमा हुकुमको प्रमाड्डी पाउँ भन्ने समेत प्रतिवादी भैरवबहादुर खत्रीको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विशेष जाहेरी विभाग मार्फत परेको विन्तिपत्र जाहेर हुँदा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको विन्तिपत्रमा लेखिएको अंश मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु प्रमांगीको जनाउ विन्तिपत्रवालालाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई आएको रहेछ ।

१०.    निवेदक प्रतिवादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादी तिलकबहादुर खत्री बाबु जीवित छँदै २००७ सालमा छुट्टी भिन्न हुनु भएको हो । अंशबण्डा वादीले लिई सकेको हुँदा बण्डा हुनु पर्ने होइन । अतः वादी दावी बमोजिम अंश दिन नपर्ने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनु पर्छ अंश पाउने ठहर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ नमिलेको हुँदा उक्त इन्साफ बदर हुनु पर्छ भन्ने र विपक्षी वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरीले वादी २००७।२।२० मा मानोसम्म छुट्टिनु भएको हो । वादी र प्रतिवादीका बीच सगोलको पैत्रिक सम्पत्तिको अंशबण्डा हुन बाँकी नै छ । व्यवहार प्रमाणबाट पनि अंशबण्डा नभएको देखिएकै छ । यस स्थितिमा वादी दावी बमोजिम अंश पाउने ठहर्‍याएको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेकै हुँदा उक्त इन्साफ सदर हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

११.    प्रस्तुत मुद्दामा यस अदालत संयुक्त इजलासको इन्साफ मिले नमिलेको के छ ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१२.   यसमा निर्णयतर्फ हेर्दा बुबा तपबहादुर खत्री जीवित छँदै २००७।२।२० गते मानो छुट्टि जीविकाको लागि पिताजीसंग केही जग्गा लिई अलग बसी आएको प्रतिवादी र म वादी बीच अंश बण्डा हुन बाँकी छ बण्डा गरौं भन्दा प्रतिवादीले नमानेको र बण्डा गर्नु पर्ने सबै सम्पत्ति विपक्षीको कब्जामा हुँदा म र प्रतिवादी २ जनामात्र अंशियार भएकोले २ भाग मध्ये एक भाग अंश प्रतिवादीबाट दिलाई पाउँ भन्ने तिलकबहादुर खत्रीको फिराद दावी भएकोमा वादी २००७।२।२० गते नै पिताजीसंग अंश लिई भिन्न हुनु भएको हो । २०२१ सालको सर्भे नापी हुँदा आफ्नो अंश भागको जति जग्गा आफ्नो नाउँमा नापी गराउनु भएको छ । अंश दिनु पर्ने नहुँदा झुठ्ठा फिराद दावीबाट फुर्सद गरिपाउँ भन्ने प्रतिवादी भैरवबहादुर खत्रीको प्रतिउत्तर जिकिर पाइन्छ ।

१३.   वादी र प्रतिवादी बीच अंशबण्डा भइसकेको रीतपूर्वकको लिखत प्रमाण प्रतिवादीले दिन देखाउन सकेको पाइँदैन । व्यवहार प्रमाणबाट बण्डा भएको भन्नलाई पनि वादीले आफ्नोअंश भागको सम्पत्ति बिक्री व्यवहार गरेको कुराको प्रमाण पनि प्रतिवादीबाट पेश हुन सकेको छैन । जहाँसम्म आफ्नो अंशभागको जग्गा २०२१ सालको सर्भे नापीमा वादीले आफ्ना नाउँमा नापी गराउनु भएको भन्ने प्रतिउत्तर जिकिर छ त्यसतर्फ हेर्दा खाई जीविकाको लागि केही जग्गा पिताजीले दिनु भएको भन्ने वादीको भनाई भएको र मिसिल सामेल रहेको फिल्डबुक क्षेत्रीय उतार किताबको प्रतिलिपिबाट तथा यस अदालतबाट झिकाई आएको दर्ता उतारबाट पनि वादी र प्रतिवादीका बीच रीतपूर्वक बण्डा छुट्टिएको भन्ने देखिँदैन । सर्भे नापीमा वादीको अनुपस्थितिमा वादीका बाबुले हस्ते गरी केही जग्गा वादीले अंश वापत भोगेको भनी लेखाई दिएको सम्म छ । यस स्थितिमा सगोलका अंशियारहरूमा जग्गा दर्ता रहेको आधारमा मात्र अंशबण्डा भएको मान्न मिल्दैन । रीतपूर्वक अंश बण्डाको लिखत नभएसम्म अथवा घरसारमा नरमकरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नोआफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज गराई बण्डा बमोजिम आआफ्नो भागको भोग बिक्री गरेको कुरा व्यवहारबाट प्रमाणित नभएसम्म अंशबण्डा भई भिन्न भएको मान्न मिल्दैन ।

१४.   अतः २००७।२।२० गते वादी र प्रतिवादी बीच मानो छुट्टि अलगअलग बसेको कुरामा प्रतिवादीले स्वीकार गरेको देखिँदा २००७।२।२० गते मानो छुट्टिएको मिति कायम गरी सो मिति सम्मको बण्डा गर्नु पर्ने सम्पत्तिको वादी प्रतिवादी दुवै पक्षबाट तायदाती लिई ऐन बमोजिम बण्डा गरिदिनु भनी दुवै पक्षलाई तारिख तोकी मिसिल काठमाडौं जिल्ला  अदालतमा पठाई दिने ठहर्‍याएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति ०४१।१२।४ को निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।


न्या.महेशरामभक्त माथेमा

 न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल श्रावण १९ गते रोज ३ शुभम् ।