June 29, 1965
Created by nepalarchives

निर्णय नं. ३०५ – लिखत पास

निर्णय नं.३०५       ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२१ सालको डिभिजन दे.फु.नं.२७३ निवेदक      :...

निर्णय नं.३०५       ने.का.प.२०२२

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

२०२१ सालको डिभिजन दे.फु.नं.२७३

निवेदक      : ल.पु.थेचो तननी टोल बस्ने रुद्रकुमार महर्जन

विरुद्ध

वादी : ल.पु.ई.थेचो कुटुझोल बस्ने काशीलाल महर्जन

मुद्दा : लिखत पास

(१)   कारवाइ समय भित्रै गराउनु पर्ने । तोकिएको म्याद पछि अनिश्चितकाल लामो अवधि पछि रिभ्युको माग भएमा फैसला बमोजिम काम कार्यान्वित नगरी रोकि राख्न कुनै मनासिव कारण हुनु पर्ने । अदालत समक्ष पेस भई इन्साफ भईसकेको लिखत हराइ अधिकारी समक्ष दर्खास्त दिएकोमा पछि सो नै लिखतलाई नामाकरण गर्न न्यायोचित नहुने ।

            रिभ्युको हरएक निवेदनपत्र दिंदा धरौटी अपीलबाट वा थुनावाबाट अपील गर्नेले सो फैसला भएको जनाउ पाएकाबाटाका म्याद बाहेक ३५ दिन भित्र र अरु रुजु रहनेले फैसला भएका ३५ दिन भित्र रु.२। का लिफा दस्तुर साथ दिनु पर्छ । तर यो नियम लागु हुनु भन्दा अघि सर्वोच्च अदालतबाट फैसला भएकोमा यो नियम लागू भएका ३५ दिन भित्र चाहिने दस्तुर साथ रिभ्यूको निवेदनपत्र दिन पाउँछ भन्ने उल्लेख भएको पाइयो । तर निवेदकले सो समय भित्रै रिभ्यू गरी पाउँ भनी निवेदन नदि, मिसिल सामेल रहेको तमसुक रोक्का गरी तुरुन्त जाँचि कैफियत पत्ता लगाइ पाउँभन्नेसम्म उल्लेख गरी १३ साल श्रावणमा निवेदन दिएको र त्यसपछि १४ साल फाल्गुणमा मात्र मुद्दा दोहर्‍याई पाउँ भनी निवेदन दिएको देखिन्छ । यि निवेदकले मौकैमा कानून र नियमले तोकिए बमोजिम रिभ्यु गरी पाउँ भनी निवेदनसम्म पनि दिन नसकेको त्यस्तो भएका फैसला अनुसारको काम कार्यान्वित नगरी सो लिखत रोकि राख्न र कुनै कारवाइ गर्न मनासिव नपर्ने । उसमा पनि सर्वोच्च अदालतबाट ०१३।४।१४ गते फैसला भईसकेपछि १४।२।२७ मा अर्थात अन्तिम फैसला भएको मितिले १० दस महिना पछि सो रु.२६०१। को लिखत काशिलालले फिर्ता लगेको देखिएबाट यि निवेदकले रिभ्यु गरी पाउँ भनी निवेदन दिई कारवाइ गर्ने समय भित्रै र फैसला भएपछि तत्काल लिखत फिर्ता लगेको पनि देखिन आएन ।

 (प्रकरण नं.१८)

(२)   सर्वोच्च अदालतबाट अन्तिम फैसला भए पछि भिमलालले निखनी लिइ त्यसले पनि बासुदेवलाई ०१४।८।३ मा राजिनामा गरी दिइ सकेको देखिएको । ०८।५।२९।३ को रु.२६०१। लिखत ०१७।१२।२५ मा हराएकोले ल.पु. डि.यस.पि.अफिसमा दरखास्त दिएको छु भनी बासुदेवले ०१८ साल माघमा दरखास्त दिएको हुँदा सो लिखत यस बेञ्च समक्ष प्रस्तुत हुन नआएको र उक्त लिखत हेरी पास हुने ठहराई शुरु ल.पु.ई.अ.अपील दोश्रा सर्वोच्च अदालत सिंगलबेञ्चबाट लिखत पास हुने ठहराई फैसला भईसकेकोमा यो निवेदकको भनाईले मात्र सहछिाप काटि अर्को कागजमा टाँसेकै हो भनी भन्न ठहराउन नमिल्ने ।

 (प्रकरण न.१९)

निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट      : प्लिडर इच्छाहर्ष

फैसला

      १.     अन्यायीको दाजु रामदास महर्जनले ०८ साल भाद्र २९ गतेका म्याद भित्र पास गरी दिउँला भनी मसंग मोरु २६०१।कर्जा लिई नखु खोलाले छाडेको पट बाझो मोहि रामदासज्यापू तननी भनी ल.पु. माल अड्डामा दर्ता भएको खला नं.६३५ मौजे थेचो ८९ सालका नम्बरीमा दर्ता भएको माटो मुरी १४।१७।४ को साल १ को धान मुरी २।२।७ गहुँ ७।३।५ घ्यू रु.४४।२ समेत तिरो लागेको जग्गा राजिनामा दिएबाट भोग चलन गरी आएमा तमसुक पास गराउन नपाउँदै असामी रामदास मरेको । अपुताली रुद्रकुमारको हक हुन आएको पास गरी देउ भन्न जाँदा पास गरी नदिएकोले पास गराई पाउँ भन्ने समेत वादी ।

      २.    दाजुले जग्गा राजीनामा गरी दिए लिएको मलाई थाहा छैन । निज दाजूले मोरु २६०१। कर्जा लिनु पर्ने कारण केहि छैन । साहु तिर्न पर्ने पनि छैन । वादीवालाले मोरु २६०१। कर्जा दिन सक्ने औकातको मानिस होइन । राजिनामा गराई लिएँ भन्ने कुरा खास जालसाजी हो । राजिनामा भनेको कागज देखाए सुनाएका बखत भएको व्यहोरा बयान गर्ने छु भन्नेसमेत प्रतिवादी ।

      ३.    राजीनामा लिखत सद्दे होइन किर्ते नकरा हो भन्ने समेत रुद्रकुमारको बयान ।

      ४.    किर्ते होइन सद्दे हो भन्ने समेत वादी तर्फको बयान ।

      ५.    राजीनामा सद्दे हो । किर्ते होइन भन्ने समेत बुद्धिलालको बयान ।

      ६.    ल्याप्चेहरू जाँच गराउँदा मिल्छ भन्ने ख.शिवबहादुर, सीर्को मिल्छ पुछारको मिल्दैन भन्ने माष्टर दुर्गाप्रसादले लेखिदिएकोले बुझेसम्मको प्रमाणबाट प्रतिवादीमा दाजुको सहछिाप किर्ते भन्न नसकेको । वादीको सहीछापले मात्र हक बेहक हुने । रामदासको सहीछाप साविकको पाला सुनाएको खारेज गरी दिने । दुवै माष्टरले ल्याप्चे मिल्छ भनी लेखिदिएकोले पास गरी दिनु पर्ने पास गरी नदिएको ठहर्छ भन्ने समेत ल.पु.ई.अ. को फैसला ।

      ७.    चित्त बुझेन भन्ने समेत प्रतिवादीको अपील ।

      ८.    लिखत हेरेमा अक्षर उडाएको नदेखिएको शुरुका बुंदा प्रमाणबाट इन्साफ शुरुको मनासिव भन्ने अपील दोश्राको फैसला ।

      ९.    मिसिल झिकी इन्साफ जाँच गरी दिनु भन्ने आदेश पाउँ भन्ने समेत रुद्रकुमारको निवेदन । यसमा हालै लागेको दण्ड धरौट राखी अपील गर्न नसक्ने अवस्थाको मानिस देखिंदा व्यहोरा साँचो हो र उल्लेख गरिए बाहेक अघि कुनै आदेश भएको रहेनछ भने यो मुद्दाको मिसिल झिकी इन्साफ जाँच्न पेश गर्नु होला भन्ने २०१२।३।२८ को माननीय प्रधान न्यायाधीशको आदेश । लिफामा गराई लिएको भन्ने रुद्रकुमारको लेखाई भएको देखिएको । प्रतिवादीमा जालसाजी बयानमा किर्ते, अपील जिकिरमा मोरु ५०। को तमसुकमा अक्षर उडाइ २६०१। को लिखत बनाएको भनी लेखेकोले प्र.रुद्रकुमार लेखाई बमोजिम नकरा ठहराउन लागेको कानूनी संतोष जनकको कुनै प्रमाण नदेखिनाले समेत शुरु ललितपुरको बहाल राखी छिनेको अपील दोश्राको इन्साफ मुनासिव छ भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०१३।४।१५।२ को फैसला ।

      १०.    रु.२६०१। को राजिनामामा अर्को कागजको सहीछाप काटि टाँसी किर्ते गरेको रहेछ । मुद्दा छिनी सकेपछि मात्र थाहा पाएकोले मुद्दा दोहर्‍याई पाउँ भन्ने निवेदनपत्रमा व्यहोरा साँचो भए प्रधान न्यायाधीशले हेरी बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी भएकोले मिसिल झिकाई हेर्दा उक्त लेखिएको राजिनामा झगडियाले फिर्ता लगिसकेको देखिएकोले सो सक्कल राजिनामा लिइ हाजिर हुन आउनु भनी काशिलालालाई ७ दिने म्याद पठाई झिकाई आएपछि पेश गर्नु भन्ने समेत ०१८।४।१८।४ को सिंगलबेञ्चको आदेश ।

      ११.    यसमा ०१३।४।१५ मा सर्वोच्च अदालत सिंगलबेञ्चबाट मुद्दा छिनिए पछि सक्कल तमसुक फिर्ता नहोस भनी ०१३।४।२१ मा निवेदन परेको मिसिलमा रहेको देखिएको । फैसला भएको ७ दिन भित्र निवेदन पर्दा पर्दै उक्त सक्कल लिखत कहिले के व्यहोराबाट फिर्ता दिएको रहेछ ? त्यस बखत मुद्दाको फाँटवाला बि.इच्छाहर्ष देखिएकोले निजसंग ७ दिन भित्र यस बारेको सबै खुलाई प्रष्टिकरण दिनु भनी त्यस बखतका बिचारी हाल वकिल इच्छाहर्षसंग जवाफ लिइ पेश गर्नु भन्ने ०१८।११।१८।५ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

      १२.   ०८ साल भाद्र २९ गते रोज ६ पर्नेमा तमसुकमा २००८ साल भाद्र २९ गते रोज ३ लेखिएको र उक्त तमसुकमा लेखिएको माटो मुरी अंक र तिरोको अंक पनि नमिलेको । लिखतको सहीछाप जाँच गर्ने माष्टरले सिरमा लगाएको र पुछारमा लगाएको सहि मिल्दैन भनी रिपोर्ट गरेको छ भनी वकिल कृष्णप्रसादले र निवेदकले समेत निवेदन गरेकोले व्यहोरा सांचो भए यो मुद्दामा दोहर्‍याउने निस्सा गरी दिएको छ । मुद्दाको लगत नम्बरमा दर्ता गरी दुवै थर झगडिया झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने माननीय प्रधान न्यायाधीशज्यूको ०१८।१२।१९।१ को आदेश ।

      १३.   एकाघरका दाजु रामदासको नाउँमा दर्ता भएको जग्गा मोरु २६०१।मा राजिनामा गरी दिएको पास हुनु नपाउँदै मरेकाले पास गराई पाउँ भनी काशिलाल ज्यापूले मेरा नाउँमा नालिस दिएको । सो राजिनामाको किर्ते तमसुकमा बार र तिरो समेत फरक परेको भन्ने मेरो प्र.वादी परेकोमा पास हुने गरी शुरु ल.पु.ई.अ.देखि स.अ.बाट समेत ०१३।४।१५ मा फैसला गरेकोले अरु कागजको सहिछाप टांसोको हो भन्ने समेत निवेदन दिएकोमा पनि हुुकम बेगर दोहरिन सक्दैन भन्ने भएकोले १ पटक पनि नदोहरिएको मुद्दा हुँदा दोहर्‍याइ पाउँ भन्ने रुद्रकुमार महर्जनको तो.नं.१७७ को निवेदनमा यसमा व्यहोरा सांचो भए प्रधान न्यायाधीशज्यूले हेरिबुझि ऐन सबाल बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्से बमोजिम लेख्ने काम भएको छ भन्ने ०१४।११।२८।३ मा लेखि आएको रहेछ । उपरोक्त बक्स भई आएका हुकुम प्रमांगीमा दोहर्‍याई दिनु भन्ने किटानी नभएकोले श्री माननीय प्रधान न्यायाधीशज्यूका निस्सा आदेश बमोजिम दोहर्‍याई हेर्न नमिल्ने देखिनाले मुद्दाको लगत काटि प्रमांगी बमोजिम गर्न पुनः श्री माननीय प्रधान न्यायाधीज्यूमा पेश गर्नु भन्ने डिजिभन बेञ्चको ०२०।६।२७।१ को आदेश ।

      १४.   डिभिजन बेञ्चको आदेश बमोजिम दुवै पक्षलाई तारेखमा राखी पेश गर्न ल्याएको पेश भयो । यसमा अघि उक्त हुकुम प्रमांगी बमोजिम दोहर्‍याउने निस्सा भईसकेकोमा डिभिजन बेञ्चबाट दोहर्‍याउने किटानी हुकुम प्रमांगी नभएको भनी मुद्दाको लगत समेत काटि सकेकोले अब यसबाट केहि कारवाई गर्न नमिल्ने हुँदा तारेखमा रहेका झगडियालाई तारेख छुटाई मिसिल नियम बमोजिम बुझाई दिनु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूको ०२०।८।१०।३ को आदेश ।

      १५.   डिभिजन बेञ्चबाट भएको खारेजी फैसला एक पटक फुल बेञ्चबाट दोहर्‍याई हेरि दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भन्ने समेत रुद्रकुमार ज्यापूले चढाएको निवेदनपत्रमा न्यायिक समिति, राजदरबारको संख्या ०२१।०२२ मिति ०२१।७।१२।४ को पत्रमा उल्लेख भएको निवेदक, प्रतिवादी रुद्रकुमार ज्यापू र वादी काशिलाल ज्यापूसँगको लिखत पास मुद्दामा सर्वोच्च अदालतबाट भएको निर्णय दोहर्‍याई पाउँ भन्ने निवेदक, प्रतिवादीको निवेदन पर्न आएको । न्यायिक समितिबाट यसमा प्रस्तुत केशमा बक्स भएको हुकुम प्रमांगीमा व्यहोरा साँचो भए प्रधान न्यायाधीशले हेरी बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने भएकोमा दोहर्‍याउने निस्सा गरिएको छ । डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१८।१२।१८ मा प्रधान न्यायाधीशज्यूलाई आदेश दिइ तदनुसार डिभिजन बेञ्चमा पेश हुँदा दोहर्‍याउने किटानी हुकुम प्रमांगी नभएकोले प्रमांगी बमोजिम गर्न पुनः श्री माननीय प्रधान न्यायाधीश ज्यूमा पेश गर्नु भनी ०२०।६।२७ मा आदेश भई सो अनुसार पुनः प्रधान न्यायाधीशज्यूमा पेश भएकोमा दोहर्‍याउने किटानी हुकुम प्रमांगी नभएको भनी डिभिजन बेञ्चबाट मुद्दाको लगत समेत काटि सकेकाले अब यसबाट केहि कारवाई गर्न नमिल्ने हुँदा तारेखमा रहेका झगडियालाई तारेख टुटाई मिसिल नियम, बमोजिम बुझाई दिनु भनी ०२०।८।१० मा आदेश दिएको देखियो । बक्स भएको हुकुम प्रमांगीमा प्रधान न्यायाधीशले हेरी बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने लेखिएको, सो हुकुम प्रमांगी बमोजिम व्यहोरा साँचा,े झुठ्ठा बुझी ऐन सवाल बमोजिम गर्नु पर्ने सो भएको नदेखिएकोले सो हुकुम प्रमांगी बमोजिम हुन दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा ।

      श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहराई दिनु भन्ने प्रमुख सचिवालय राजदरबारबाट ०२१।८।२२।२ मा लेखि आएको व्यहोरा समेत श्री माननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न निमित्त लगतमा दर्ता गरी दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुइ प्रतिलिपी जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरावारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने ०२१।८।२४।४ को आदेश ।

      १६.    यसमा निवेदकको वारेस कृष्णबहादुरलाई र वादीकाशीलालको वा.नारयण ज्यापूलाई समेत रोहबरमा राखी निवेदक तर्फबाट रहनु भएको विद्वान वकिल एडभोकेट कृष्णप्रसाद घिमिरेले र वादी तर्फबाट रहनु भएको विद्वान वकिल प्लिडर इच्छा हर्षले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा ०८।५।२९।३ को रु.२६०१। को राजिनामा लिखत पास गर्नु पर्ने ठहर्छ, ठहर्दैन भन्ने कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

      १७.   काठमाण्डौ जिल्ला अदालतबाट भएका इन्साफ उपर मुद्दा दोहर्‍याइ पाउँ भनी यै निवेदकले दिएको निवेदनमा रु.५०। को तमसुक हात पारी अक्षर मेटी सहीछाप मात्र बाँकी राखी लिफामा मोरु २६०१। को राजिनामा खडा गरेको भन्ने र त्यसपछि दिएको नम्बर ४५६ को निवेदनमा पुरानो फठ्ठाको तमसुकको सहिछापको टुक्रा मात्र कैंचीले काटी कन अर्को कागजमा टालो हालेको भन्ने समेत कुरा मेरो मानिसले सुनेको भन्ने उल्लेख भएको देखिएको ।

      १८.   तत्काल प्रचलित सर्वोच्च अदालत नियमावली, २०१३ को परिच्छेद ६ को दफा ६२ मा फैसलाको रिभ्यूको हर एक निवेदनपत्र दिंदा धरौटी अपीलबाट वा थुनुवाबाट अपील गर्नेले सो फैसला भएको जनाउ पाएकाबाटाका म्याद बाहेक ३५ दिन भित्र र अरु रुजु रहनेले फैसला भएका ३५ दिन भित्र रु.२। को लिफा दस्तुर साथ दिनु पर्छ तर यो नियम लागू हुनु भन्दा अघि सर्वोच्च अदालतबाट फैसला भएकोमा यो नियम लागू भएका ३५ दिन भित्र चाहिने दस्तुर साथ रिम्यूको निवेदनपत्र दिन पाउँछ भन्ने उल्लेख भएको पाइयो । तर निवेदकले सो समय भित्रै रिभ्यू गरी पाउँ भनी निवेदन नदिई मिसिल सामेल रहेको तमसुक रोक्का गरी तुरुन्त जाँची कैफियत पत्ता लगाई पाउँ भन्नेसम्म उल्लेख गरी १३ साल श्रावणमा निवेदन दिएको र त्यसपछि १४ साल फाल्गुणमा मात्र मुद्दा दोहर्‍याई पाउँ भनी निवेदन दिएको देखिन्छ । यि निवेदकले मौकैमा कानून र नियमले तोकिए बमोजिम रिभ्यू गरी पाउँ भनी निवेदनसम्म पनि दिन नसकेको । त्यस्तोमा भएका फैसला अनुसारको काम कार्यान्वित नगरी सो लिखत रोकि राख्न र कुनै कारवाई गर्न मनासिव नपर्ने । उसमा पनि सर्वोच्च अदालतबाट ०१३।४।१५ गते फैसला भईसकेपछि ०१४।२।२७ मा अर्थात अन्तिम फैसला भएको मितिले १० दश महिना पछि सो रु.२६०१। को लिखत काशिलालले फिर्ता लागेको देखिएबाट यि निवेदकले रिभ्यू गरी पाउँ भनी निवेदन दिइ कारवाई गर्ने समय भित्रै र फैसला भएपछि तत्कालै लिखत फिर्ता लगेको पनि देखिन आएन ।

      १९.    सर्वोच्च अदालतबाट अन्तिम फैसला भए पछि भिमलालले निखनी लिइ त्यसले पनि बासुदेवलाई ०१४।८।३ मा राजिनामा गरी दिइसकेको देखिएको । ०८।५।२९।३ को रु.२६०१। लिखत १७।१२।२५ मा हराएकोले ल.पु. डि.यस.पी.अफिसमा दरखास्त दिएको छु भनी बासुदेवले १८ साल माघमा दरखास्त दिएको हुँदा सो लिखत यस बेञ्च समक्ष प्रस्तुत हुन नआएको र उक्त लिखत हेरी पास हुने ठहराई शुरु ल.पु.ई.अ.अपील दोश्रा र सर्वोच्च अदालत सिंगलबेञ्चबाट लिखत पास हुने ठहराई फैसला भईसकेकोमा यो निवेदकको भनाइले मात्र सहीछाप काटि अर्को कागजमा टांसेकै हो भनी भन्न ठहराउन नमिल्ने हुँदा निवेदकको जिकिर पुग्न ठहर्न आउँदैन । ०१३।४।१५ को सिंगलबेञ्चको सदर ठहर्छ । देहायका कलममा देहाय बमोजिम गर्नु ।

 

तपसील

निवेदक प्र.रुद्रकुमारके इन्साफ दोहर्‍याएमा स.अ.सिंगलबेञ्चको फैसलाले लागेको रु.६५।२।२ को सयकडा १०ले रु.६।५१ जरिवाना हुन्छ । वारेस हुँदा कानून बमोजिम असुल उपर गर्नु भनी पुर्जी गर्न का.श्रे.अ.त. मा लगत दिने कलम ………………………१

वादीकाशिलाल के स.अ.नियमावली दफा २४ बमोजिम वकिल फ्रिस रु.१५। प्र.रुद्रकुमारबाट भरी पाउँछ कानून बमोजिम दरखास्त दिएका बखत कानून बमोजिम गरी भरी भराउ गरी दिने ऐ.ऐ …………………….२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु ……………….३

 

इति सम्वत् २०२२ साल आषाढ १५ गते रोज ३ शुभम् ।