November 30, 1986
Created by nepalarchives

निर्णय नं. ३०२३ – उत्प्रेषण मिश्रित प्रतिषेधको आदेश जारी गरिपाउँ।

निर्णय नं. ३०२३     ने.का.प. २०४४ अङ्क ३   संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रि.नं....

निर्णय नं. ३०२३     ने.का.प. २०४४ अङ्क ३

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४२ सालको रि.नं. १९९६

विषय : उत्प्रेषण मिश्रित प्रतिषेधको आदेश जारी गरिपाउँ।

 

निवेदक      : जि. झापा दमक नगरपञ्चायतका बहालवाला प्रधानपञ्च बलभद्र अधिकारी।

विरुद्ध

विपक्षी :जि.का.झापाका प्रमुख जिल्ला अधिकारी चक्रवन्धु अर्याल।

      श्री ५ को सरकार पंचायत तथा स्थानीय विकास मन्त्रालय।

      नगर पंचायत कार्यालयमा हाल कार्यरत प्रधान अधिकृत बल देव शर्मा।

      ऐ.नगर पंचायतका बहालवाला उप-प्रधानपंच हरि प्रसाद न्यौपाने।

आदेश भएको मिति: २०४३।८।१५।१ मा

 

     अनियमित भएको भनी अर्को नगर सभाको नियमित बैठक बोलाउन दमक नगरपञ्चायतलाई श्री ५ को सरकार पञ्चायत तथा स्थानीय विकास मन्त्रालयबाट पत्र पठाई निर्देशन दिई सो बमोजिम बैठक बोलाउँदा प्र.पं. अनुपस्थित रहेको कारणबाट उपप्र.पं. को अध्यक्षतामा तेश्रो नगर सभाको बैठक बसेको देखिन आएबाट त्यस्तो नगर सभाको बैठकलाई कानून विपरीत तथा अनियमित भएको भन्न मिल्ने नदेखिने ।

(प्रकरण नं. १९)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री हरिप्रसाद न्यौपाने

प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

उल्लेखित मुद्दाःX

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह: नेपालको संविधान २०१९ को धारा १६।७२ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    म निवेदक दमक न.पं. को चुनावमा विजयी भई प्रधानपञ्चका पद सम्हाली काम गरिआएको छु । मिति २०४१।०४२ का लागि सम्पन्न भएको तेश्रो नगर सभाले पारीत गरेको बजेट बाँडफाँड नगरपञ्चायत बैठकबाट समर्थित गराई गत ०४१।०४२ का वार्षिक आय व्यय खर्च दमक न.पं. ले गरिआएको थियो । सो आय व्यय खर्चमा विपक्षी हरिप्रसाद न्यौपानेको समेत संलग्नता रहेका थियो । तेश्रो सभालाई अनियमित भएको भनी श्री ५ को सरकारले कचिंगल उठाई रहेको र मतभेद भइरहेको थियो । अन्ततः पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको मिति २०४२।८।१४ को पत्र पश्चात बसेको मिति ०४२।८।२३ को न.पं. बैठकमा बहुमतबाट चौथो नगर सभा सम्पन्न गराउने निर्णय भएको थियो ।

३.    सो २०४२ मार्ग २३ को निर्णयानुसार चौथो नगर सभा २०४२।९।४ मा बस्नको लागि नगरपञ्चायत कार्य व्यवस्था नियमावली, २०२० को दफा ३(४) अनुरुप सूचना प्रदान गरिएको छ र साथै ऐ नियमावलीको दफा ३(३) ले स्पष्टः नगर सभा प्र.पं. को उपस्थितिमा गर्नु पर्ने व्यवस्था अनुरुप म निवेदकको सभापतित्वमा मिति २०४२।९।४ गतेदेखिको चौथो नगर सभा सम्पन्न गरेका थियौं र यसको जानकारी सम्बन्धित निकायलाई गराई सकेको छु ।

४.    म स्वयं प्रधानपञ्च हुँदाहुँदै उपप्रधानपञ्चको सभापतित्वमा कुनै बैठक पनि बस्न सक्दैन सो बस्नु र बसाउनु गैरकानूनी हुन्छ । विपक्षी उपप्रधानपञ्चले मेरो उपस्थिति छँदाछँदै ऐन बर्खिलाप चौथो नगर सभाको अतिरिक्त तेश्रो नगर सभाको निमित्त बैठकको सूचना नै नगरी नामाकरण गरी पूर्ववत् आफ्नो समर्थन भएको कुरालाई मिति ०४२।९।६ गते तेश्रो नगर सभाको  आयोजना गर्ने गैरकानूनी काम गरेको जानकारी प्रधान अधिकृतद्वारा प्रेषित गरेको खबर रा.स.स. मा मिति २०४२।९।७ मा प्रकाशित भएपछि थाहा पाई सम्मानीत अदालत समक्ष आएको छु ।

      ५.    नगरपञ्चयात ऐन, २०१९ र नगरपञ्चायत (कार्य व्यवस्था) नियमावली, २०२० ले प्रधानपञ्च हुँदाहुँदै नगर सभाको सभापतित्व गरी सभा सञ्चालन गर्ने अधिकार उपप्रधानपञ्चलाई प्रदान गरेको छैन । ऐन नियम विपरीत राजनैतिक प्रतिशोध र केही स्वार्थी व्यक्तिहरूको बहकाउ र मिलोमतमा विपक्षी उप प्रधानपञ्चबाट गरिएको गैरकानूनी कार्यलाई विपक्षी श्री ५ को सरकार पञ्चायत तथा स्थानीय विकास मन्त्रालयबाट समेत संरक्षण र बल पुर्‍याउने काम भएको छ । अवैधानिक तेश्रो नगर सभा सम्पन्न गर्न विपक्षी श्री ५ को सरकार पञ्चायत तथा स्थानीय विकास मन्त्रालयबाट प्रहरी जत्था र दवावको प्रत्यक्षतः प्रयोग गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ ले व्यवस्था गरेको परिधिभित्रमा रही विपक्षी नं. २ सीमित हुनु पर्ने थियो, तर ऐन नियमको विवाद राजनैतिक प्रतिशोधमा सकृय भई तेश्रो नगर सभा नै गर्नु पर्ने भनी पत्र दमक न.पं.को नाममा मिति ०४२।८।२३ मा गैरकानूनी तवरले विपक्षी पञ्चायत तथा स्थानीय विकास मन्त्रालयबाट प्रेषित गरिएको अन्यायिक भएकोमा विवाद छैन ।

६.    मेरो उपस्थित छँदाछँदै विपक्षी प्रमुख जिल्ला अधिकारीबाट गरिएको अनाधिकार नगर सभाबाट मेरो कानूनी हक कुण्ठित भएको छ । म छँदाछँदै मेरो अनुपस्थिति भन्ने जनाई गरेको अवैधानिक तेश्रो सभा भन्ने सम्पूर्ण काम कारवाही तथा निर्णयहरू अवैधानिक हुँदा बदर गरी सो उत्प्रेषणको आदेश जारी गरी म निवेदक प्रधानपञ्चको अध्यक्षतामा बसेको नगर सभाले गरेको निर्णय अनुसार नगरपञ्चायतको कार्य स्वतन्त्र रुपले गर्न लागेको कार्यहरू अवैधानिक तवरबाट हस्तक्षेप नगर्नु भन्ने समेत उत्प्रेषण मिश्रित्त प्रतिषेधको आदेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ साथै आगामी दिनहरूमा गैरकानूनी तवरले न.पं.का.मा काम गर्न नपाउने गरी उत्प्रेषण मिश्रित प्रतिषेधको आदेश जारी गरिपाउँ र यो निवेदनको टुंगो नलागेसम्म चौथो नगर सभाको पारीत गरे अनुसार कार्य गर्नमा बाधा उत्पन्न नगर्नु भनी अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत बलभद्र अधिकारीको रिटनिवेदन जिकिर ।

७.    विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४२।९।२५ को आदेश ।

८.    विपक्षी रिट निवेदकले निवेदन प्रकरण ३ मा उल्लेख गर्नु भएको तेस्रो नगर सभा कानून प्रतिकूल भएको कारणले श्री ५ को सरकारले बदर गरी पुनः नगर सभा गर्नु भन्ने आदेश भए अनुसार तेस्रो नगर सभा पुनः बसेको हो । चौथो नगर सभा ०४१।९।६ मा सम्पन्न भएको भन्ने कुरा असत्य मात्र नभई कपोलकल्पित समेत हो । विपक्षीले चौथो नगर सभा बसेको भनी प्रचलनमा आएको माइन्यूट बुक पेश गर्न कदापि सक्नु हुन्न । विपक्षी उपस्थित नभएकोले नै नगरपञ्चायत (कार्य व्यवस्था) नियमावली, २०२० को नियम ३ को उपनियम बमोजिम उप प्रधानपञ्चको सभापतित्वमा नगर सभाको बैठक बसेको हो । कानून बमोजिम तेस्रो नगर सभा बसेकोबाट विपक्षीको कुनै पनि संवैधानिक हक वा कानूनी हकमा आघात परेको छैन । तेस्रो नगर सभाबाट पारीत भएको बजेट अनुसार वडा वडामा काम कारवाही भइरहेको छ । विपक्षीको माग बमोजिम रिट जारी गर्नु पर्ने अवस्था नहुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी दमक नगरपञ्चायतका उप प्रधानपञ्च हरिप्रसाद न्यौपानेको लिखितजवाफ ।

९.    विपक्षीले उल्लेख गर्नु भए अनुसारको तेश्रो नगर सभा कानून प्रतिकूल भएको कारणले श्री ५ को सरकारद्वारा बदर गरी पुनः नगर सभा गर्नु भन्ने आदेश  अनुसार विपक्षी प्रधानपञ्च अनुपस्थित रहेबाट उप प्रधानपञ्चको अध्यक्षतामा तेश्रो नगर सभा बसेको हो । चौथो नगर सभा ०४२।९।६ मा सम्पन्न भएको भन्ने विपक्षीको भनाई असत्य मात्र नभई कपोलकल्पित हो ।

१०.    तेश्रो नगरसभाद्वारा पारीत भएको निर्णयानुसार कामकारवाही भइरहेको छ । पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको मिति २०४२।२।१३ को पत्रद्वारा तेश्रो नगरसभा बोलाई नियमित गराई राख्नु भन्ने पत्र लेखिएको र नगरपञ्चायतको बैठकको मिति ०४२।८।५ मा सर्वसम्मतिबाट तेश्रो नगरसभा मिति २०४२।९।४ मा बस्ने निर्णय भएको जिल्ला कार्यालय झापाको पत्र बमोजिम नगरसभाका सदस्यहरूलाई सूचना पठाई सोही मितिमा तेश्रो नगरसभाको बैठक बसेको हो । कानून बमोजिम बसेको बैठकलाई अनियमित कानून प्रतिकूल भन्न मिल्दैन । विपक्षी रिट निवेदकको माग बमोजिम आदेश जारी गर्नु पर्ने अवस्था नहुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी दमक नगरपञ्चायतको प्रधान अधिकृत वलदेव शर्माको लिखितजवाफ ।

११.    दमक नगरपञ्चायतको मिति ०४२।८।१७ मा बसेको नगर सभा पहिलो दिन गणपुरक संख्या नपुगेको ऐ १८ गते बैठक नै नराखेको र तेश्रो दिन ०४१।८।१९ गते मात्र दोश्रो बैठक बसाली नगरसभा गरेको ऐन नियम विरुद्ध भई अनियमित भएको छ । तेश्रो नगरसभा अनियमित भएको भनी स्थानीय विकास मन्त्रालयको मिति २०४१।११।२८ को पत्रबाट दमक नगरपञ्चायत कार्यालयलाई लेखेको उक्त पत्रको सन्दर्भमा दमक नगरपञ्चायतको कार्यालयले निर्देशनका लागि अनुरोध गरेको हुँदा यस कार्यालयबाट स्थानीय विकास मन्त्रालयको उक्त आदेश अनुकूल हुने गरी तेश्रो नगरसभा गर्न यस कार्यालयबाट प्रशासनिक दृष्टिकोणबाट दमक नगरपञ्चायत नगरसभा गर्नको लागि बोलाई तेश्रो वा चौथो गर्ने भन्ने आपसमा विवाद बढेको र दमक नगरपञ्चायत कार्यालयलाई निर्देशन गरिएको मात्र हो । विपक्षी निवेदक प्रधानपञ्च बलभद्र अधिकारीलाई ऐन कानून नीति नियमले निर्दिष्ट गरेको पदीय दायित्व निर्वाह गर्नमा कानूनी हक कुण्ठित गर्न कुनै पनि कार्य यस कार्यालयबाट भए गरेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी जिल्ला कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी चक्रवन्धु अर्यालको लिखितजवाफ ।

१२.   दमक नगरपञ्चायतको तेश्रो नगरसभा अनियमित भएको हुँदा अर्को नगरसभा बोलाउनु भनी यस मन्त्रालयबाट मिति २०४१।१०।११ को निर्णयले मिति २०४१।११।२८ मा पत्र लेखी गएको र पछि पनि पटक पटक उक्त नगरपञ्चायतलाई निर्देशन दिंदा विपक्षी प्रधानपञ्चले त्यस विषयमा ध्यान नदिई ०४१।८।१७ को नगरसभालाई नै नियमित नगरसभा हो भनी निर्देशन उल्लंघन गरिरहेको कानून मुताविक कार्य गराउने अभिप्रायले दमक नगरपञ्चायतको तेश्रो नगरसभा बोलाइएकोमा नगरसभाको बैठकमा विपक्षी प्रधानपञ्च बलभद्र अधिकारी उपस्थित नभएको हुँदा कानून बमोजिम उपप्रधानपञ्चको अध्यक्षतामा मिति २०४२।९।६ मा तेश्रो नगरसभाको बैठक बसेको हो । विपक्षी निवेदकको कुनै संवैधानिक हक हनन् नभएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी श्री ५ को सरकार पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको लिखितजवाफ ।

१३.   रिट निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिप्रसाद न्यौपानेले दमक नगरपञ्चायतको सम्पन्न भई सकेको तेश्रो नगरसभालाई अनियमित भएको भन्दै रिट निवेदक प्रधानपञ्च उपस्थित हुँदा हुँदै विपक्षी पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको निर्देशन समेतको आधारमा विपक्षी उपप्रधानपञ्चको अध्यक्षतामा बसेको मिति २०४२।९।६ को नगरसभाको बैठक सो बैठकको निर्णय तथा कारवाही गैरकानूनी भई  त्रुटिपूर्ण हुँदा बदर गरी निवेदक प्र.पं. को अध्यक्षतामा बसेको नगरसभाले गरेको निर्णय तथा गर्न लागेको काम कारवाहीमा अवैधानिक तवरबाट हस्तक्षेप नगर्नु भनी उत्प्रेषण मिश्रित प्रतिषेधको आदेश जारी गरिपाउँ भन्ने र प्रत्यर्थी पञ्चायत तथा स्थानीय विकास मन्त्रालय समेत तर्फबाट उपस्थित हुनुभएका विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्सालले र प्रत्यर्थी हरिप्रसाद न्यौपाने तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले रिट निवेदकको अध्यक्षतामा भएको दमक न.पं. को तेश्रो नगरसभा अनियमित भई श्री ५ को सरकार पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको मिति ०४१।१०।११ को निर्णय बदर भई अर्को तेश्रो नगरसभा गर्नु भन्ने पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको मिति ०४१।११।२८ को पत्र निर्देशानुसार दमक न.पं. को तेश्रो नगरसभाको बैठक मिति २०४२।९।६ मा बसेको हो । रिट निवेदक प्र.पं. अनुपस्थित रहेको हुँदा नगरपञ्चायत ऐन, २०१९ को दफा ३० तथा विकेन्द्रीकरण (कार्यव्यवस्था) नियमावली, २०४१ को नियम १९ को परिधिभित्र रही उपप्रधानपञ्चद्वारा नगरसभाको बैठकको सभापतित्व भएकोसम्म हो। कानून अनुरुप बैठक बसेको र रिट निवेदकको कुनै संवैधानिक तथा कानूनी हकहरू हनन् नभएको हुँदा रिट निवेदकको माग बमोजिम आदेश जारी हुनु पर्ने अवस्था छैन रिटनिवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१४.   प्रस्तुत रिटनिवेदनबाट रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने वा नपर्ने के हो ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१५.   यसमा निर्णयतर्फ हेर्दा दमक नगरपञ्चायतको विधिवत तेश्रो नगरसभा २०४१।८।१७ गते शुरु भई ऐ १९ गते सम्पन्न भइसकेको र आ.व. ०४१।४२ को बजेट बाँडफाँड भई कार्य सञ्चालन भएको र चौथो नगरसभा समेत ०४२।९।४ गते देखि शुरु भई २०४२।९।६ सम्पन्न भएकोमा पुनः विपक्षी पञ्चायत तथा स्थानीय विकास मन्त्रालयबाट अर्को तेश्रो नगरसभा गर्ने पत्र पठाई विपक्षी प्र.जि.अ.समेतको मिलोमतोबाट म निवेदक न.पं. को प्रधानपञ्च हुँदाहुँदै विपक्षी उपप्रधानपञ्चबाट नगरसभाको अध्यक्षता गराई बैठक गरेको र त्यो बैठकबाट गरेको निर्णय तथा काम कारवाहीहरू गैरकानूनी हुँदा बदर गरी पहिले सम्पन्न भएको तेश्रो चौथो नगरसभाको निर्णय मुताविक सञ्चालन भएको काम कार्यहरूलाई अवैधानिक तवरबाट हस्तक्षेप नगर्नु भन्ने विपक्षीहरूका नाउँमा उत्प्रेषण मिश्रित प्रतिषेधको आदेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भन्ने रिट निवेदकको मुख्य रिटनिवेदन जिकिर देखिन्छ ।

१६.    प्रत्यर्थी श्री ५ को सरकार पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको मिति २०४२।११।१ को लिखितजवाफ हेर्दा नगरसभाको बैठकको लागि दुई तिहाई सदस्यहरूको उपस्थित हुनु पर्ने कानूनी वाध्यता न.पं. ऐन, २०१९ को दफा ८(ख) मा छ गणपुरक संख्याको अभावमा पहिलो दिन बैठक बस्न नसकेमा भोलिपल्ट बैठक बोलाउनु पर्ने त्यस दिन पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित हुनुपर्ने दोश्रो पटक गणपुरक संख्या नपुगी बैठक बस्न नसकेमा तेश्रो पटक बैठक बोलाउनु पर्ने र एक तिहाई सदस्य उपस्थित भएमा बैठक गर्न सक्ने व्यवस्था नभएकोमा दमक नगरपञ्चायतको मिति ०४१।८।५ को निर्णय बमोजिम मिति २०४१।८।१७ मा बैठक बोलाएको थियो सो दिन गणपुरक संख्या नपुगेकोले बैठक नबसेकोमा भोलिपल्ट ०४१।८।१८ गते बैठक नबसेको र ०४१।८।१९ गते बैठक बसाली तेश्रो नगरसभा गरेको कानून विपरीत भई अनियमित भएकाले अर्को तेश्रो नियमित नगरसभा बोलाउने भई पञ्चायत तथा स्थानीय विकास मन्त्रालयबाट मिति ०४१।१०।११ मा निर्णय भई मिति २०४१।११।२८ मा पत्र लेखी दमक नगरपञ्चायतलाई निर्देशन दिएको र नगरसभाको बैठक बोलाउँदा रिट निवेदक प्रधानपञ्च अनुपस्थित रहेकाले नगरपञ्चायत ऐन, ०१९  को दफा ३० तथा विकेन्द्रीकरण (कार्यव्यवस्था) नियमावली, २०४१ को नियम १९ बमोजिम उपप्रधानपञ्चको अध्यक्षतामा मिति २०४२।९।६ मा तेश्रो नगरसभाको बैठक बसेको कानून अनुरुप छ भन्ने उल्लेख भएको पाइयो ।

१७.   नगरसभाको बैठक बस्न आवश्यक पर्ने गणपुरक संख्या सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा नगरपञ्चायत ऐन, २०१९ को दफा ८(ख) मा नगरसभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई सदस्यहरू उपस्थित नभई नगरसभाको बैठक बस्न सक्ने छैन, गणपुरक संख्याको अभावमा बैठक हुन नसकेमा त्यसको भोलिपल्ट सोही समयमा अर्को बैठक बस्नेछ र सो बैठकमा नगरसभाका ५० प्रतिशत भन्दा बढी सदस्यहरूको उपस्थिति आवश्यक हुनेछ । त्यसरी दोश्रो बैठक गर्दा पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित नभएमा तेश्रो पटकमा एक तिहाई सदस्य उपस्थित भएपनि बैठक गर्न सकिनेछ भन्ने उल्लेख भएको पाइन्छ ।

१८.   श्री ५ को सरकारले नगरपञ्चायत नगरसभालाई आवश्यक निर्देशन दिन सक्ने त्यस्तो निर्देशन पालना गर्नु पर्ने कानूनी व्यवस्था नगरपञ्चायत ऐन, ०१९ को दफा ४४(क) मा भई रहेकै देखिन्छ ।

१९.    यस्तो स्थितिमा प्रस्तुत मुद्दामा दमक नगरपञ्चायतको २०४१।८।१७ मा बोलाइएको तेश्रो नगरसभाको बैठकमा गणपुरक संख्या पुग्न नसकी बैठक बस्न नसकेको र भोलिपल्ट बैठक नै नबोलाई ०४१।८।१९ मा मात्र दोश्रो पटक बैठक राखी तेश्रो नगरसभाको बैठक सञ्चालन गरेको उक्त नगरपञ्चायत ऐन, ०१९ को दफा (८)(ख) को कानूनी व्यवस्थाको विपरीत भई अनियमित भएको भनी अर्को नगरसभाको नियमित बैठक बोलाउन दमक नगरपञ्चायतलाई २०४१।११।२८ मा श्री ५ को सरकार पञ्चायत तथा स्थानीय विकास मन्त्रालयबाट पत्र पठाई निर्देशन दिई सो बमोजिम बैठक बोलाउँदा प्र.पं. अनुपस्थित रहेको कारणबाट उप प्र.पं. को अध्यक्षतामा मिति २०४२।९।६ मा तेश्रो नगरसभाको बैठक बसेको देखिन आएबाट त्यस्तो नगरसभाको बैठकलाई रिट निवेदकको जिकिर बमोजिम कानून विपरीत तथा अनियमित भएको भन्न मिल्ने देखिन आएन ।

२०.   जहाँसम्म रिट निवेदकले जिकिर लिएको आर्थिक वर्ष बजेट विषयको कुरा छ सो बजेटको आर्थिक वर्ष समाप्त भई कार्य भइसकेकाले त्यसतर्फ पनि विचार गरी रहनु पर्ने अवस्था रहेन ।

२१.   अतः उपरोक्त उल्लेखित कारण र आधारमा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्था विद्यमान नदेखिँदा प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४३ साल मार्ग १५ गते रोज १ शुभम् ।

