March 17, 1987
Created by nepalarchives

निर्णय नं. २९९१ – लिखत बदर

निर्णय नं. २९९१     ने.का.प. २०४४ अङ्क २   पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलस...

निर्णय नं. २९९१     ने.का.प. २०४४ अङ्क २

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलस

सम्वत् २०४२ सालको देवानी फुल बेञ्च नम्बर ७९

मुद्दा : लिखत बदर

 

निवेदक/प्रतिवादी : का.न.पं. वडा नं. १३ कालिमाटी बस्ने रतनलाल केडिया

विरुद्ध

विपक्षी/वादी : ऐ. ऐ. वडा नं. ११ बस्ने क्षेत्रबहादुर पुरी

फैसला भएको मिति: २०४३।१२।३।३ मा

 

     साविक जग्गाधनीले विवादित कि.नं. को जग्गा प्रतिवादीलाई फार्छे राजीनामा लिखत गरी दिँदा विवादित जग्गाको मोही भई पक्की घर बनाई बसी आएका वादीलाई मोहीमा जनाउनु पर्ने र घरको स्थानमा पक्की घर उल्लेख गरी राजीनामा लिखत गरी दिनु पर्नेमा सो नगरी मोहीमा  आफैं भनी र पक्की घरको सट्टा कच्ची घर उल्लेख गरेको कानून विपरीत देखिने ।

(प्रकरण नं. १७)

निवेदक,प्रतिवादी तर्फबाटःX

विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल

उल्लेखित मुद्दाःX

फैसला

न्या.बब्बरप्रसाद सिंहः     सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।२।९ को निर्णय दोहर्‍याई पाउँ भनी प्रतिवादी रतनलाल केडियाको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा न्यायिक समिति मार्फत विन्तिपत्र पर्दा नेपालको संविधान २०१९ को धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्‍याई हेरी दिनु भन्ने बक्स भई आएका प्रमांगी बमोजिम लगतमा दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    ज.प्रकाश शमशेर ज.ब.रा. का नाममा मौजे थापाथली हा.नं. १२ मा भूमिप्रशासन कार्यालयमा दर्ता भएको ज.रो ५० मध्ये पूर्व तथा दक्षिण हिकमत शमशेरको जग्गा पश्चिम पर्खाल उत्तर मूल सडक यति ४ किल्लाभित्रको १० मलाई मोहियानीमा २०२९।१।१४ मा कबूलियत बमोजिम कमाउन दिई तिरो प्रकाश शमशेर ज.ब.रा.लाई बुझाई आएको छु । निज जग्गावालासँग घर बनाउन अनुमति मागी पक्की घर बनाई धारा र बिजुली समेत जडान गरी कमाई घरमा बसी आएकोमा उक्त ५० मध्ये पूर्व परमेश्वरको जग्गा पश्चिम छाता भण्डारको पर्खाल उत्तर मूल सडक दक्षिण रतनलाल केडियाको जग्गा भनी ४ किल्ला हाली १० आनामा रुख बास झारी कच्ची घर समेत भएको भनी मोही महलमा आफैं भनी जग्गा २०३२।१०।१६ मा मलाई थाहै नदिई राजीनामा पारीत गराउनु भएछ । उक्त जग्गा सर्भे नापी का.न.पं. वडा नं. १ कि.नं. ३३ को १३ ठहर हुन आएको उक्त प्रकरण नं. १ मा लेखिएको ४ किल्लाभित्रको जग्गाको विपक्षीहरूले आपसमा धनी र ऋणीको बुहारी बनी राजीनामा गराएको जग्गा एउटै हो पक्की घरलाई कच्ची भनी मेरो हक लोप पार्न खोजेको म देखि बाहेक विपक्षीका बीच भएको लिखतले मेरो हक टुट्न सक्दैन घर बनाउनेको ४ नं. अनुसार मेरो घर उठाउन समेत सकेको छैन। ऋण म राजीनामा गरिदिने श्री ज.प्रकाश शमशेर ज.ब.रा. सो लिखत भएपछि स्वर्गवास हुनु भएकोले उहाँको श्रीमती धर्मराज्य लक्ष्मी बाबा महारानी राणाका नाममा समेत यो फिरादपत्र अ.बं. ८२ नं. लेनदेन व्यवहारको ४० नं. र घर बनाउनेका ४ जग्गा पजनीको ६ नं. समेतको आधारमा प्रस्तुत गर्दछु । जग्गावालाको हैसियतमा राजीनामा गर्न पाउने देखि बढी कुरा मोही आफैं भन्ने र पक्की घरलाई कच्ची घर भनी मैले कमाएको जग्गा रुख बाँस घारी समेत समावेश गरी सो लिखत राजीनामा बदर गरिपाउँ भन्ने समेत फिरादपत्र दावी ।

३.    मोहीको कबूलियत पञ्चायतमा दाखिल भएको छैन । विपक्षीले आफूले बनाएको घर भनी उल्लेख गरेको छ तर नक्शा पास गराएको छैन । मेरो दाताले मोही समेत आफैं बनाई रजिष्ट्रेशन पारीत गरी दिनु भएको घर जग्गा आफैं भोगचलन गरी आएबाट विपक्षीको लेखाई झुठ्ठा हो । जग्गा पजनीको ५ नं. घर बनाउनेको ४ नं. समेतको उल्लेख गरेको लगत छ । मेरो राजीनामा बदर हुने होइन भन्ने समेत रतनलाल केडियाको प्रतिउत्तरपत्र ।

४.    मोही र जग्गावालाको बीचको कबूलियतको एकप्रति स्थानीय पञ्चायतमा दाखिल भएको छैन । लेनदेन व्यवहारको ४० नं. घर बनाउनेको ४ नं. र जग्गा पजनीको ६ नं. समेतको आधारमा फिराद गरेको देखिन्छ । नक्शा पास गरी घर बनाएको कतै उल्लेख  गरेको छैन । अ.बं. ८२ नं. ले दायर हुन नसक्ने हुँदा खारेज गरिपाउँ भन्ने समेत धर्मराज्य लक्ष्मी बाबा महारानीको प्रतिउत्तरपत्र ।

५.    बा.अं.अ. यस्मा लेखिएको साँचो भए का.जि.अ.मा दायर भएको यस मुद्दाको मिसिल झिकी त्यस अदालतबाट कानून बमोजिम गरी चाँडो छिनी दिनु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी भई आएको रहेछ ।

६.    विवादको विषयको फार्छे लिखतमा आफैं मोही र कच्ची घर भन्ने उल्लेख गरिएको हदसम्म दावी बमोजिम वादी मोही भएको र साविक जग्गावालको स्वीकृतिबाट पक्की घर बनाएको देखिँदा सो अनुरुप कायम हुने गरी लिखत बदर हुने ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

७.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत रतनलाल केडियाको पुनरावेदनपत्र ।

८.    वादी मोही भई जग्गाधनीको स्वीकृतिले पक्की घर समेत बनाएकोमा वादी मोहीको उजूर गर्ने हक छैन भन्न नमिल्ने हुँदा बागमती अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

९.    उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी रतनलाल केडियाको निवेदन परेकोमा न्याय प्रशासन सुधार ऐनको दफा १३ को उपदफा ५(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ, भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति २०३९।५।१० को आदेश रहेछ ।

१०.    वादीको दावी बमोजिम वादी जग्गाको वादी मोही भएको र साविक जग्गावालाको स्वीकृतिबाट पक्की घर बनाएको देखिँदा फार्छे लिखतमा आफैं मोही र कच्ची घर भन्ने उल्लेख गरेको हदसम्म लिखत बदर हुने ठहर्‍याएको शुरु बागमती अञ्चल अदालतको फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति २०४१।२।९ को फैसला ।

११.    सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।२।९ को फैसलाबाट इन्साफको हत्या भएको हुँदा मुद्दा दोहर्‍याई पाउँ भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा न्यायिक समिति मार्फत विन्तिपत्र पर्दा प्रस्तुत मुद्दाको मिसिल संलग्न वादीले पेश गरेका लिखत प्रतिवादीलई सुनाई निर्णय गर्नु पर्नेमा सद्दे कीर्तेमा सुनाउँदै नसुनाएको कागजको आधारका भएको भूमिप्रशासनको निर्णयलाई अंगाली सर्वोच्च अदालत डिभिजन बेञ्चले निर्णय गरेकोबाट उक्त निर्णयमा अ.बं. ७८ नं. को समेत त्रुटि भई निर्णय मिलेको देखिँदैन भन्ने समेत न्यायिक समितिको पर्चा भई श्री ५ महाराजाधिराज सरकारका जुनाफमा जाहेर हुँदा मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएको रहेछ ।

१२.   निवेदक प्रतिवादीको वारेश सागरप्रसाद मिश्रले विपक्षी क्षेत्रबहादुर पुरीले पेश गरेका कागज प्रमाणलाई अ.बं. ७८ नं. बमोजिम सुनाउँदै नसुनाई विपक्षी क्षेत्रबहादुर पुरीलाई विवादित कि.नं. ३३ को जग्गामा मोही कायम हुने ठहर्‍याएको भूमिप्रशासन कार्यालय काठमाडौंको मिति २०३४।११।१३ को निर्णयलाई प्रमाण लिई दावी बमोजिम लिखत बदर हुने ठहर्‍याएका सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।२।९ को फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने र विपक्षी (वादी) तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले वादी दावीको जग्गामा वादी क्षेत्रबहादुर पुरी मोही कायम हुने ठहरी भएको फैसला अन्तिम रुपमा रहेको छ । दावीको जग्गामा साविक जग्गावालाबाट २०३१ साल साउनमा कच्ची घर बनाउने गरी र २०३२।८।११ मा पक्की घर बनाउने स्वीकृति दिएको हुँदा सो बमोजिम वादीले पक्की घर बनाई भोग गरी आएको अवस्थामा प्रतिवादीलाई जग्गा राजीनामा गरी दिँदा मोही महलमा वादी क्षेत्र  बहादुर पुरीको नाम जनाउनु पर्ने र पक्की घर भनी उल्लेख गर्नु पर्नेमा कच्ची घर उल्लेख गरी मोही आफैं भनी जनाई राजीनामा गरिदिएको हुँदा उक्त लिखत सो हदसम्म बदर हुने अवस्था छ । अतः सो नजनाएको हदसम्म लिखत बदर हुने ठहर्‍याएको डिभिजन बेञ्चको फैसला मिलेकै हुँदा उक्त फैसला सदर हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१३.   प्रस्तुत मुद्दामा यस अदालत डिभिजन बेञ्चको इन्साफ मिले नमिलेको के रहेछ ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१४.   आज निर्णय सुनाउने तारिख तोकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा मेरो मोहियानी हक प्राप्त भई जग्गाधनीलाई सालसालै कुत बुझाई जग्गाधनीको मञ्जूरी लिई पक्की घर बनाई बसोवास गरी आएको का.न.पं. वडा नं. ११ को कि.नं. ३३ को जग्गा रोपनी १० जग्गा ज.प्रकाश शमशेरबाट विपक्षी रतनलाल केडियाले मेरा मोही हकै नदेखाई मोही महलमा आफैं जनाई पक्की घर भएकोमा कच्ची घर उल्लेख गरी मिति २०३२।१०।१६ मा राजीनामा पारीत गरी लिएकोले सो लेखिएको हदसम्म लिखत बदर गरिपाउँ भन्ने क्षेत्रबहादुर पुरीको फिराद दावी भएकोमा विवादित मिति २०३२।१०।१६ को राजीनामा लिखतमा आफैं मोही र कच्ची घर भन्ने उल्लेख गरेको हदसम्म वादी दावी बमोजिम लिखत बदर हुने ठहर्‍याई बागमती अञ्चल अदालतबाट मिति २०३५।३।५ मा भएको फैसला मनासिब ठहर्‍याई गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर गरी यस अदालत डिभिजन बेञ्चबाट मिति २०४१।२।९ मा निर्णय भएको देखिन्छ ।

१५.   उक्त विवादित कि.नं. ३३ को जग्गामा मिति २०३४।११।१३ मा भूमिप्रशासन कार्यालय काठमाडौंबाट विपक्षी वादी क्षेत्रबहादुर पुरीलाई मोही कायम गरी निर्णय भएको पाइन्छ । उक्त निर्णय बदर गरिपाउँ भनी यिनै निवेदक (प्रतिवादी) रतनलाल केडियाको सर्वोच्च अदालतमा रिट परेकोमा सर्वोच्च अदालत फुल बेञ्चबाट समेत मिति २०३८।१०।२७ मा उक्त रिटनिवेदन खारेज हुने ठहरी निर्णय भइसकेको देखिन्छ । वादी क्षेत्रबहादुर पुरीलाई विवादित कि.नं. ३३ को जग्गामा मोही कायम हुने ठहर्‍याई भूमिप्रशासन कार्यालय काठमाडौंबाट भएको मिति २०३४।११।१३ को निर्णय कतैबाट पनि बदर भएको देखिँदैन । विवादित कि.नं. ३३ को जग्गामा यी वादीले २०३१ साल साउनमा छाप्रोसम्म बनाउन पाउने गरी र २०३२।८।११ मा पक्की घर बनाउन पाउने गरी साविक जग्गावालाबाट स्वीकृति लिएको देखिन्छ । वादीले विवादित जग्गामा जग्गावालाबाट स्वीकृति लिई पक्की घर बनाई बसेको भन्ने जिकिर लिएकोमा बागमती अञ्चल अदालतबाट वादीले बनाएको भनेको घर पक्की कच्ची के हो ? भनी मिति २०३४।६।२१ मा सरजमीन बुझ्दा वादी दावीको घर पक्की भन्ने देखिन्छ भनी सरजमीन मुचुल्का भई आएको मिसिलबाट देखिन्छ।

१६.    यसरी उपरोक्त उल्लेखित आधार प्रमाणबाट विपक्षी वादी विवादित कि.नं. ३३ को जग्गामा मोही कायम भइरहेको तथा साविक जग्गावाला ज.प्रकाश शमशेरबाट स्वीकृति लिई पक्की घर बनाई बसी भोग गरी बसेको देखिन आयो ।

१७.   अतः साविक जग्गाधनी ज.प्रकाश शमशेरले विवादित कि.नं. ३३ को जग्गा प्रतिवादी रतनलाल केडियालाई मिति २०३२।१०।१६ मा फार्छे राजीनामा लिखत गरी दिँदा त्यसरी विवादित जग्गाको मोही भई पक्की घर बनाई बसी आएका वादी क्षेत्रबहादुर पुरीलाई मोहीमा जनाउनु पर्ने र घरको स्थानमा पक्की घर उल्लेख गरी राजीनामा लिखत गरी दिनु पर्नेमा सो नगरी मोहीमा आफैं भनी र पक्की घरको सट्टा कच्ची घर उल्लेख गरेको कानून विपरीत देखिँदा सो उल्लेख गरेको हदसम्म विवादित मिति २०३२।१०।१६  को राजीनामा लिखत बदर हुने ठहर्‍याएको शुरु बागमती अञ्चल अदालतको फैसला मनासिब ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको डिभिजनबेञ्को मिति २०४१।२।९ को इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.महेशरामभक्त माथेमा

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४३ साल चैत्र ३ गते रोज ३ शुभम् ।

