February 17, 1987
Created by nepalarchives

निर्णय नं. २९८६ – उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. २९८६   ने.का.प. २०४४ अङ्क २   पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी...

निर्णय नं. २९८६   ने.का.प. २०४४ अङ्क २

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४३ सालको रिट फु.नं. ४६

विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 

निवेदक  :   जिल्ला पर्सा मडली गाउँ पञ्चायत वडा नं. ३ बस्ने शेषनाथप्रसाद कुर्मी

विरुद्ध

विपक्षी   :   ऐ.ऐ. बस्ने मकवुल अहमद।

        भूमि सुधार अधिकारी ,भूमि सुधार कार्यालय,पर्सा।

आदेश भएको मिति : २०४३।११।५।३ मा

 

शब्दको व्याख्या गर्दा सवै अवस्थामा नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० प्रयोग गर्न मिल्दैन । विशेष कानूनमा भएको विशेष व्यवस्थालाई नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० ले काट्न सक्दैन ।

 (प्रकरण नं. २२)

    भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६(१) मा उल्लिखित छोराहरू भित्र उक्त दफाको प्रयोजनको लागि धर्मपुत्र पर्न सक्ने नदेखिएकोबाट मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा आफैले जन्माएको छोराहरू मध्ये जग्गावालाले  पत्याएको व्यक्तिलाई मात्र प्राप्त हुन सक्छ । मोही सम्बन्धी हक धर्मपुत्रलाई प्राप्त हुन सक्ने देखिन्न ।

(प्रकरण नं. २२)

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधीवक्ता श्री जीतबहादुर कार्की, विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह विद्वान अधिवक्ता श्री दमन ढुड्डाना

उल्लिखित मुद्दा: २०४१ सालको रिट नम्बर २२२९, ने.का.प. ०४३ भाग २८ अंक ४ पृष्ठ संख्या ३१५

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंहः यस अदालत डिभिजन बेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ :

२.  प्रतिरक्षीका नाममा दर्ता रहेको जिल्ला पर्सा मुडली गा.पं. वडा नं. ३ कि.नं. १९१ ज.वि. ०१६१० हरिनन्दन कुर्मी मोही हुनु भएकोमा निज मिति २०४२।१।१५ मा स्वर्गीय हुनुभयो। प्रतिरक्षीले मोही हरिनन्द स्वर्गीय भएको र निजको पत्नी छोराहरू नभएबाट मोही लगत कट्टा गरिपाउँ भनी मिति २०४२।२।२३ मा भूमिसुधार कार्यालय पर्सामा निवेदन दिएको हरिनन्दनले मलाई मिति २०४०।९।१० मा धर्मपुत्र राख्नु भई मिति २०४२।१।१५ मा स्वर्गीय भएकोले मेरा नाममा मोही नामसारी गरिपाउँ भनी मैले निवेदन दिएको थिएँ । मैले निवेदन गर्दा विपक्षीले निवेदन गरेको थाहा पाई म धर्मपुत्र छँदाछँदै मोही लगत कट्टा हुन नसक्ने भनी निवेदन गर्नुको साथै २०४१ को कुतबाली भूमिसुधार कार्यालय, पर्सामा धरौट राखेको छु भनी २०४२ साउनमा भूमिसुधार कार्यालय, पर्सामा निवेदन गरेको थिएँ । मेरो निवेदनमा प्रतिरक्षीले धर्मपुत्रलाई ऐनको २६(१) बमोजिमको हक प्राप्त नहुने भनी प्रतिवाद गर्नु भयो । नेपाल कानून व्याख्या सम्बन्धी ऐनमा बाबु र छोराको स्पष्ट व्याख्या गरे बमोजिम मेरा नाममा नामसारी हुन पर्ने मैले प्रतिवाद गरेको थिएँ विपक्षी अधिकारीले ऐनको २६(१) दफामा धर्मपुत्रको नाममा मोही नामसारी गर्ने व्यवस्था नदेखिँदा शेषनाथ प्रसादको भाग बमोजिम गर्न नमिल्ने भनी मोही लगत कट्टा गरी दिने ठहर्‍याई मिति २०४२।५।७ मा निर्णय गर्नु भयो ।

३.  छोराशब्दले धर्मपुत्रलाई पनि जनाउने बाबुशब्दले धर्मपुत्र राख्ने पितालाई पनि जनाउने हुँदा भूमिसुधार ऐनको दफा २६(१) बमोजिम छोरामा सर्ने अधिकार स्वतः सर्ने हुन्छ । धर्मपुत्रको नाममा नामसारी गर्ने व्यवस्था नदेखिँदा भनी निर्णय गरेको न्यायिक मनको अभाव छ। हरिनन्दनकै जीवन कालमा उक्त जग्गा जोतकोड गरी २०४१ सालको कुतबाली प्रतिरक्षीलाई बुझाउन जाँदा नबुझी दिएकोले कुतबाली भूमिसुधार कार्यालय पर्सामा मितिमा २०४१।११।३० मा धरौटी समेत राखेको प्रमाण नबुझी धर्मपुत्रलाई छोराको मान्यता नदिई भएको उक्त निर्णय सम्मानीत अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत छ । अतः विपक्षी अधिकारीको मिति २०४२।५।७ को त्रुटिपूर्ण निर्णय उत्प्रेषण लगायतको आदेश जारी गरी बदर गरी मेरो हक संरक्षण गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।

४.  यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाउने भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश ।

५.  धर्मपुत्रलाई मोही नामसारी गरी दिनु पर्छ भन्ने कानूनमा कुनै व्यवस्था नभएकोले यो रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको भूमिसुधार कार्यालय, पर्साको लिखितजवाफ ।

६.  धर्मपुत्रलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को छोराको हक प्राप्त हुन सक्ने होइन अतः भूमिसुधार अधिकारीको निर्णयमा कुनै त्रुटि नहुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको मकवुल अहमदको लिखितजवाफ ।

७.  निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६३ मा यो ऐनमा यस ऐन अन्तर्गत बनेका नियमहरूमा लेखिएकोमा सोही बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुने छ, भन्ने उल्लेख गरेको पाइन्छ । कानून व्याख्या सम्बधी ऐन, २०१० ले छोरा भन्नाले धर्मपुत्र समेतलाई जनाउँदछ भनेको छ । भूमिसम्बन्धी ऐनमा उल्लेख भएको कुराको हकमा समेत कानून व्याख्या सम्बन्धी ऐनले काट्न सक्ने कुरा आएन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजका पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने व्यवस्था गरेको पाइन्छ । उक्त दफाको छोराहरूभन्ने शव्दले धर्मपुत्रलाई नभई जन्माएको छोरालाई इंगित गरेको हो । कानून व्याख्या सम्बन्धी ऐन, २०१० पनि एउटा ऐन हो सबै ठाउँमा यो लागु हुन्छ भन्ने मिल्दैन । दफा २६(१)को प्रयोजनको लागि धर्मपुत्रलाई छोरा सरह मान्न नमिल्ने र उक्त दफामा धर्मपुत्रले मोही हक पाउने व्यवस्था उल्लेख नगरेबाट निवेदकका नाममा मोही नामसारी नगर्ने मरुवा मोहीको लगत कट्टा गर्ने गरेको भूमिसुधार कार्यालय, पर्साको निर्णयमा कानूनी त्रुटी नदेखिदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन प्रस्तुत रिटनिवेदन खारेज हुने ठर्हछ भन्ने माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।

८.  भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोही पछिको निजको मोही हक पति, पत्नी वा छोराहरूमा जग्गावालाले पत्याएको व्यक्तिमा सर्ने व्यवस्था गरेको छ । छोरा भन्नाले कानून व्याख्या सम्वन्धी ऐन, २०१० को दफा २ को उपदफा (म) मा धर्मपुत्र समेतलाई जनाउँदछ भन्ने कुरा उल्लेख छ । नेपाली बृहत शब्दकोषले पनि पुत्र भन्नाले धर्मपुत्र समेतलाई जनाउँदछ । विधिशास्त्रको छोरा सम्बन्धी धारणा हेर्दा पनि धर्मपुत्रले छोरा सरह अधिकार दायित्व उपभोग गर्न सक्दछ । बंश परम्परा थाम्ने पैतृक ऋणबाट चुक्ता गराउने र छोराबाट प्राप्त गर्ने मृत्युपछिका संस्कारगत कृया पिण्ड पानि, श्राद्ध आदि चलाउने उद्देश्यले धर्मपुत्र राखिने कुरा हिन्दु विधिले देखाएको छ । धर्मपुत्र बस्नेको धर्मपुत्र बनेपछि अघिल्लो बाबुपट्टिको उसको हक समाप्त हुन्छ । यदि धर्मपुत्रलाई दुबैपट्टिको अधिकार नरहने हो भने उसले आफ्नो समानताको अधिकार गुमाउदछ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा प्रयुक्त छोरा भन्ने शव्दले धर्मपुत्रलाई जनाउँदछ किनभने त्यो ऐनमा धर्मपुत्रलाई जनाउँदैन भन्ने विशेष व्यवस्था गरेको पाइदैन । छोरा भन्ने शव्दको यदि सो ऐनमा धर्मपुत्रलाई बाहिर पार्ने मनसाय भएमा विधायिकाले उक्त ऐनमा नै छोरा शव्दको छुट्टै परिभाषा गरिएको हुनु पर्दथ्यो । छुट्टै परिभाषा नगरिएबाट पनि नेपाल कानून व्याख्या सम्वन्धी ऐनको परिभाषा लागु नहुने भनि मान्न मिलेन अतः उपरोक्त कारणबाट निवेदकका नाममा मोही नामसारी गर्नु पर्नेमा धर्मपुत्रको नाममा मोहियानी नामसारी नहुने भनी मोही लगत कट्टा गर्ने गरेकोले भूमिसुधार कार्यालय, पर्साको मिति २०४२।५।७ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । पुनः कानून बमोजिम निर्णय गर्नु भनी परमादेशको आदेश जारी हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४३।४।१३ मा निर्णय भएको रहेछ ।

९.  रिट निवेदकतर्फबाट रहनु भएको विद्वान  अधिवक्ता श्री कमलनारायण दाशले रिट निवेदक धर्मपुत्र हो भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोही पछि निजको मोहियानी हक निज पछि पति, पत्नी वा छोराहरूमा सर्ने व्यवस्था छ । छोरा भन्नाले कानून व्याख्या सम्बन्धी ऐनले धर्मपुत्र समेत पर्न आउँछ । धर्मपुत्रको ऐन बमोजिम लिखत भएसम्म धर्मपुत्र राख्ने बाबुको छोरा कायम हुन्छ उसले धर्म पिताको कानूनी हक समेत प्र्राप्त गरी राखेको हुन्छ । धर्मपुत्र पनि छोरा भएको हुँदा धर्म पिताका नामको मोहियानी हक निवेदकका नाममा नाममारी हुन सक्दछ मोही लगत कट्टा गर्ने गरेको भूमिसुधार कार्यालय, पर्साको निर्णय कानून विपरीत छ भन्ने समेत बहस गर्नुभयो ।

१०. प्रत्यर्थी कार्यालयतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की, प्रत्यर्थी मकवुल अहमदतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह तथा विद्वान अधिवक्ता श्री दमन ढुंगानाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहिपछि निजको हक निजको पति, पत्नी वा छोराहरूमा जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्था छ । उक्त दफाको छोराभन्ने शब्दले जन्माएको छोरालाई मात्र इंगित गरेको हो । जन्माएको छोरा सरह धर्मपुत्रलाई राख्न मिल्दैन । धर्मपुत्र कृत्रिम हो जसलाई राख्ने बाबुले बदर पनि गर्न सक्छ । कानून व्याख्या सम्बन्धी ऐन, २०१० शब्दको अस्पष्टतालाई हटाउन मद्दत गर्ने सम्मको ऐन हो । मोहीको परिवारको परिभाषाभित्र धर्मपुत्र पर्न सक्दैन । अतः भूमिसम्बन्धी ऐन अन्तर्गत प्राप्त हुने मोहियानी हक धर्मपुत्रमा सर्न नसक्ने हुँदा धर्मपुत्रको नाममा मोही हक नामसारी हुन सक्दैन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

११.  आज निर्णय सुनाउन तोकिएको प्रस्तुत रिटनिवेदनमा निर्णयतर्फ हेर्दा अहमदका नाममा दर्ताको जिल्ला पर्सा गाउँ पञ्चायत मुडली वडा नं. ३ कि.नं. १९१ को ज.वि. ०१६१० जग्गाको मोही हरिनन्दन राउत हुनु भएकोमा उहाँ कालगतिले मिति २०४१।१।१५ मा स्वर्गे हुनु भएको र निज हरिनन्दन राउतले मलाई कानून बमोजिम मिति २०४१।९।१०।२ मा रजिष्ट्रेशन पारीत गरी धर्मपुत्र राख्नु भएको हुँदा मेरा धर्म पिताका नाममा रहेको मोहियानी नामसारी गरिपाउँ भनी भूमिसुधार कार्यालय, पर्सामा निवेदन दिएकोमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोही मरेपछि पति, पत्नी वा छोराहरूमा मोही नामसारी भई जाने व्यवस्था गरेको तर धर्मपुत्रको नाममा मोही नामसारी गर्ने कुनै व्यवस्था गरेको नदेखिँदा माग बमोजिमको नामसारी गर्न नमिल्ने भनी विपक्षी मकवुल अहमदले मोही लगत कट्टा हुने ठहर्‍याएको विपक्षी भूमिसुधार कार्यालय, पर्साको मिति २०४२।५।७ को निर्णय कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ को (म) तथा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६(१) समेतको त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ ।

१२. मोही हरिनन्दन कुर्मी स्वर्गे भएको र निजका छोरा स्वास्नी कोही पनि नहुँदा मेरो दर्ता जग्गाबाट मरुवा मोहीको लगत कट्टा गरिपाउँ भन्ने प्रत्यर्थी जग्गाधनी मकवुल अहमदको र मकवुल अहमदका नाममा दर्ताको विवादित जग्गाको मोही हरिनन्दन कुर्मी भएकोमा निज स्वर्गे हुनु भएको र निजले मलाई रजिष्ट्रेशन गरी धर्मपुत्र राख्नु भएको हुँदा धर्म पिताका नामको मोही नामसारी गरिपाउँ भन्ने रिट निवेदक शेषनाथ कुर्मीको भूमिसुधार कार्यालय पर्सामा छुट्टाछुट्टै निवेदन परी प्रतिवाद भई कारवाही हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा धर्मपुत्रको नाममा मोही नामसारी हुने व्यवस्था गरेको नदेखिँदा शेषनाथप्रसादको माग बमोजिम गर्न नमिल्ने र स्व.मोहीको आफ्नो खास स्वास्नी वा छोराहरू नभएबाट वादीको माग बमोजिम मरुवा मोहीको लगत कट्ट गरी  दिने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार कार्यालय, पर्साबाट मिति २०४२।५।७ मा निर्णय गरेको पाइन्छ ।

१३. सो सम्बन्धमा विचार गर्दा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिमको मोही सम्बन्धी हक धर्मपुत्रलाई प्राप्त हुन सक्छ वा सक्दैन । सो प्रश्नमा निर्णय गर्नु पर्ने हुन आएको छ । मोहीको मृत्युपछि मोही सम्बन्धी हक कसलाई प्राप्त हुन सक्छ भन्ने सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा यस परिच्छेदको अन्य दफाहरूको अधीनमा रही मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछभन्ने व्यवस्था भएको पाइन्छ ।

१४. उक्त व्यवस्थाले मर्ने मोही पछि निजको मोही सम्बन्धी हक निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्था गरेको देखिन आयो ।

१५. प्रत्यर्थी मकवुल अहमदको नाममा दर्ताको विवादित जग्गाको मोही हरिनन्दन कुर्मी भएकोमा निजको मिति २०४२।१।१५ मा मृत्यु भएको देखिन्छ । निजबाट जन्मिएका छोरा वा निजको पत्नी भएको देखिँदैन । यो रिट निवेदक शेषनाथप्रसाद कुर्मी स्वर्गीय मोही हरिनन्दन कुर्मीको धर्मपुत्रको भएको र धर्मपुत्रको नाताबाट मोही नामसारीमा दावी गरी आएको देखिन आएको छ । यसबाट प्रस्तुत मुद्दामा धर्म पिताका नाममा भएको मोही हक निजको मृत्युपछि धर्मपुत्रलाई प्राप्त हुन सक्ने हो वा होइन ? भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को प्रयोजनको लागि उक्त दफामा उल्लिखित छोराहरूशब्दभित्र धर्मपुत्रको पर्न सक्छ वा सक्दैन ? भन्नेतर्फ हेर्दा सर्वप्रथम आफैंले जन्माएको छोरा र धर्मपुत्रको कानूनी अस्तित्व समान छ वा छैन ? प्रचलित कानूनद्वारा प्रदान गरिएका हक अधिकारहरू जन्माएको छोरा सरह समान रुपमा धर्मपुत्रले उपभोग गर्न पाउँछ पाउँदैन ? भन्ने कुरातर्फ पनि ध्यान दिनु पर्ने हुन्छ । यस परिप्रेक्ष्यमा विचार गर्दा धर्मपुत्र पुत्र नहुने माता पिताद्वारा ग्रहण गरिएको पुत्र (Adopted Son) हो । जसलाई जन्माउने बाबु आमाभित्र र ग्रहण गर्ने भित्र हुन्छन् । धर्मपुत्र राख्ने सम्बन्धमा धर्मपुत्रको महलको १ नं. मा क्रमको सम्बन्धमा व्यवस्था गरेको छ । धर्मपुत्रको महलको ११ नं. मा धर्मपुत्र बस्नेले धर्मपुत्र राख्ने बाबु आमालाई दौलत अनुसार खान लाउन नदिएमा, घरमा रहेको धन दौलत जग्गा जमीन बेसल्लाहले बाहिर लगी जत्रतत्र गरेमा, कुटपिट गरे गराएमा वा धर्मपुत्र राख्नेको हेरचाहको उचित प्रबन्ध नगरी बेसल्लाहले घर छाडी हिँडेमा त्यस्ता धर्मपुत्रलाई बदर गराउन सकिने व्यवस्था गरिएको छ तर छोरा (औरश पुत्र) लाई त्यस्तो छोराले आफ्नो दायित्य पालन नगरेमा पनि बदर गराउन सक्ने कानूनी व्यवस्था भएको पाइँदैन । यसबाट प्रचलित कानूनमा धर्मपुत्र र औरशपुत्र (Natural Son) को समान कानूनी अस्तित्व भएको देखिन्न ।

 १६. प्राचीन हिन्दू विधिमा औरसपुत्र र धर्मपुत्रको समान स्थिति थियो वा थिएन प्रस्तुत प्रश्नको निराकरणको लागि त्यसतर्फ पनि दृष्टिपात गर्न आवश्यक हुन आउँछ ।

१७. प्राचीन हिन्दू विधिमा प्रचलित रहेको सो¥ह संस्कार मध्ये विवाह संस्कार सबैको लागि आवश्यक मानिआएको थियो । कारण विवाहबाट पुत्र उत्पन्न गर्न आवश्यक थियो । पुत्र नभएसम्म मोक्ष प्राप्त नहुने । अपुत्रस्य गतिर्नास्तिअर्थात् पुत्र विहिन व्यक्तिलाई मोक्ष प्राप्त हुन सक्दैन र पुन्नाम नरकात् त्रायते इति पुत्रअर्थात् पुत्रको अर्थ हुन्छ जो पुन्नाम नर्कबाट मुक्त गर्छ । अतएव पुन्नाम नर्कबाट मुक्त गर्न, मोक्ष प्राप्त गराउनको लागि पुत्र आवश्यक भएको, पुत्र नहुनेले धर्मपुत्र ग्रहण गर्न सक्दथ्यो । यसबाट धार्मिक उद्देश्यको परिपूर्तीको लाग धर्मपुत्रको व्यवस्था भएको प्रष्ट हुन्छ ।

१८. सक्षम पुत्र छँदाछँदै धर्मपुत्र राख्ने कार्य हिन्दू विधि अनुकूल थिएन ।

१९. धर्मपुत्र र पछि जन्मेका आफ्नो छोरा (औसर पुत्र) को बीचमा अंश सम्बन्धी व्यवस्था पनि हिन्दु विधिमा समान थिएन । औरस पुत्रले धर्मपुत्र भन्दा बढी अंश पाउने व्यवस्था थियो ।

२०. माथि उल्लेख भएको आधारमा विचार गर्दा प्राचीन हिन्दू विधिमा पनि औरस पुत्र र धर्मपुत्रको समान स्थिति देखिन्न ।

२१. प्रस्तुत मुद्दामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा उल्लिखित छोराहरूभन्ने शब्दले नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ को खण्ड (म) अनुसार धर्मपुत्र समेत पर्न आउने हुनाले उक्त दफा २६(१) को छोराहरूशब्दभित्र धर्मपुत्र पनि पर्ने हुँदा रिट निवेदकका नाममा मोही हक नामसारी हुनु पर्ने भन्ने रिट निवेदकतर्फका विद्वान अधिवक्ताले जिकिर लिनु भएको पाइन्छ ।

२२. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६३ मा यो ऐनमा र यस अन्तर्गत बनेका नियमहरूमा लेखिएकोमा सोही बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुनेछ, भन्ने उल्लेख गरेको पाइन्छ । जसबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले मोही हक सर्ने प्रयोजनको लागि उल्लेख गरेको छोराहरूशब्दको व्याख्या गर्दा उक्त ऐनमा भएको व्यवस्था अनुसार व्याख्या गर्नु पर्ने अवस्था हुन्छ । जसबाट कानून व्याख्याको सिद्धान्त अगाडि सार्दा सर्वप्रथम उक्त ऐनमा भएका व्यवस्था शब्दहरूको त्यसमा पनि विषय र प्रसंगको आधारमा व्याख्या गर्नुपर्ने अवस्था पर्छ । नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० व्याख्याको जटिलतलाई हटाउन मद्दत गर्ने ऐन हो भूमिसम्बन्धी ऐन, २०२१ विशेष किसिमको विशेष अवस्थामा प्रयोग भएको कानून हो । शब्दको व्याख्या गर्दा सवै अवस्थामा नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० प्रयोग गर्न मिल्दैन । विशेष कानूनमा भएको विशेष व्यवस्थालाई नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० ले काट्न सक्दैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा प्रयुक्त छोराशब्दलाई व्याख्या गर्दा मोहीहरूको सन्दर्भमा उल्लेख भएको शब्द हुँदा मोहीभन्ने शब्दलाई ध्यानमा राखी व्याख्या गर्नु पर्ने हुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को खण्ड (ख) मा मोहीभन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ भनी उल्लेख भएको र उक्त ऐनको दफा २ को खण्ड (ग) मा कुनै व्यक्तिको सम्बन्धमा परिवारभन्नाले सो व्यक्ति र निजको देहायका अवस्थाका नातेदार सम्मलाई सम्झनु पर्छ : (१) अंश छुट्टिएको वा नछुट्टिएको जे भए तापनि पति वा पत्नी (२) बाबु वा आमा जीवित छउन्जेल अंश छुट्टिएको वा नछुट्टिएको जे भए तापनि १६ वर्ष उमेर नपुगेको छोरा (३) बाबु वा आमा जीवित छउन्जेल ३५ वर्ष उमेर नपुगेको अविवाहिता छोरी । कुनै व्यक्तिको परिवारमा धर्मपुत्रलाई लिएको देखिँदैन । उक्त भूमिसम्बन्धी ऐनको दफा २६(१) मा मोही सम्बन्धी निजको हक निज पछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ, भन्ने छ त्यसमा उल्लिखित छोराहरूभन्ने शब्दले बहुवचनलाई जनाउने र यसभित्र मोहीका धेरै छोराहरू हुन सक्ने रुपमा लिएको पाइन्छ जुन शब्दले आफै जन्माएको मोहीको छोराहरू भन्ने बुझाउँछ । उक्त छोराहरूभन्ने शब्दभित्र धर्मपुत्रलाई समेत समावेश गर्ने मनसाय भए उक्त दफामा छोराहरूभन्ने शब्द राख्न आवश्यक हुँदैन थियो । धर्मपुत्र छोरा नहुने बाबु आमाले ग्रहण गर्ने हुँदा धर्मपुत्र एक भन्दा बढी हुन सक्दैन । यसबाट पनि उक्त छोराहरू भन्ने शब्दको प्रयोग भएको आफै जन्माएको धेरै छोराहरू भन्ने अर्थमा प्रयोग भएको देखिन्छ । उक्त दफामा धर्मपुत्रलाई छोराको रुपमा राख्ने कानूनको मनसाय देखिँदैन, त्यस्तो मनसाय भएको भए छोेरा वा धर्मपुत्र भन्ने शब्द प्रयोग हुने थियो । विधायिकाले औरस पुत्रलाई जनाउने छोराहरूभन्ने बहुवचन शब्दको प्रयोग गरेको समेतबाट नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० यसमा आकर्षित हुन नसक्ने हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा प्रयुक्त छोराहरूभन्ने शब्दभित्र यस दफाको प्रयोजनको लागि धर्मपुत्रपनि छोराहरूभित्र पर्छ भन्न मिल्ने देखिएन । यसबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा उल्लेखित छोराहरूभित्र उक्त दफाको प्रयोजनको लागि धर्मपुत्र पर्न सक्ने नदेखिएबाट मोही सम्बन्धी निजको हक निजपछि निजको पति, पत्नी वा आफैंले जन्माएको छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मात्र प्राप्त हुन सक्छ । मोही सम्बन्धी हक धर्मपुत्रलाई प्राप्त हुन सक्ने देखिन्न ।

२३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को प्रयोजनको लागि एउटै बाबुको वीर्यबाट जन्मेको केवल आमामात्र अलग भएको कारणबाट मात्र पनि सौतेनी छोराले सौतेनी आमाका नाममा रहेको मोहियानी हक निजको मृत्युपछि प्राप्त गर्न नसक्ने भनी सम्वत् २०४१ सालको रिट नम्बर २२२९, रिट निवेदक जोगकुमारी बज्राचार्य विपक्षी भूमिसुधार कार्यालय, काठमाडौं समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०४२।५।९ मा निर्णय गरेको देखिन्छ । उक्त मुद्दामा भएको निर्णयबाट एउटै बाबुको वीर्यबाट जन्मे पनि आफ्नो काखबाट नजन्मेको सौतेनी कोखबाट जन्मेको छोराले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को प्रयोजनका लागि सौतेनी आमाको मोही हक निजपछि प्राप्त गर्न नसक्ने सिद्धान्त यसै अदालतबाट कायम भएको देखिन्छ ।

२४. त्यस्तै ने.का.प. ०४३ भाग २८ अंक ४ पृष्ठ संख्या ३१५ मा प्रकाशित सम्वत् २०४२ सालको रिट नम्बर २२५३ निवेदक मुखा हजरा दुसाध समेत विरुद्ध सियारामदाश वैरागी भएकोमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ को उपदफा (१) ले चेला छोराले मोही हक प्राप्त गर्न नसक्ने, ऐनले छोरा भनेकोमा चेला छोरालाई छोरा भनी अर्थ गर्न नमिल्ने भनी मिति २०४३।४।१७।६ मा यस अदालतबाट आदेश भएको पनि देखिन्छ । गुरुको काजकृया धार्मिक परम्परा अनुसार चेलाले गर्नु पर्ने कर्तव्य भएको गुरुको सम्पूर्ण हक अधिकार गुरुको मृत्यु भएपछि चेलालाई कानूनतः प्राप्त हुनेमा पनि मोही सम्बन्धी गुरुको हक निजपछि चेलालाई प्राप्त हुन नसक्ने गरी सिद्धान्त प्रतिपादन भइराखेको पनि देखिन्छ ।

२५. गृहस्था श्रमतर्फ धर्मपुत्र हो भने सन्यासतर्फ चेला छोरा हो । यी दुवै एकै वा समान श्रेणीमा आउँछन् धार्मिक दृष्टिकोणले दुवै एकै हुन् भन्न कुनै शंका र द्विविधाको स्थिति उत्पन्न हुने ठाउँ छैन । चेलाले गुरुको मोहियानी हक प्राप्त नगर्ने भएपछि धर्मपुत्रले मात्र धर्म बाबुको मोहियानी हक प्राप्त गर्न सक्दछ भन्नु न्यायसंगत र तर्कसंगत देखिँदैन ।

२६. अतः माथि उल्लेख भएको आधारमा विवादित जग्गाको मोही स्व. हरिनन्दन कुर्मीको मोही सम्बन्धी हक निज स्वर्गीय भएपछि निजको धर्मपुत्र रिट निवेदकलाई प्राप्त हुन सक्ने नदेखिनाले हरिनन्दन कुर्मीको नाममा रहेको मोहीको लगत कट्टा हुने ठहराएको प्रत्यर्थी भूमिसुधार कार्यालय पर्साको मिति २०४२।५।७ को निर्णयमा कुनै त्रुटी नदेखिँदा रिटनिवेदन खारेज हुने ठहराएको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय:

    यसमा निर्णयतर्फ हेर्दा प्रस्तुत रिटनिवेदनमा मोहीको मृत्यु पछि निजको मोही सम्बन्धी हक धर्मपुत्र  लाई प्राप्त हुन सक्छ वा सक्दैन भन्ने प्रश्नको निरोपण गर्नु पर्ने देखिन्छ ।

    भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ, भन्ने व्यवस्था रहेको देखिन्छ । उक्त दफामा रहेको छोराहरूभन्ने शब्दले धर्मपुत्रलाई समेत जनाउँछ वा जनाउँदैन भन्नेतर्फ हेर्दा भूमिसम्बन्धी ऐन, २०२१ मा छोराशब्दको परिभाषा गरिएको पाइँदैन । उक्त ऐनको दफा ६३ मा यो ऐनमा र यस अन्तर्गत बनेका नियमहरूमा लेखिएकोमा सोही बमोजिम र अरुमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ, भन्ने उल्लेख भएको र भूमिसम्बन्धी ऐनमा छोराशब्दको परिभाषा नगरिएकोबाट अन्य कानूनमा भएको व्यवस्थातर्फ ध्यान दिनु पर्ने हुन आयो ।

    नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(म) मा पुत्र (छोरा) शब्दले ऐनमा धर्मपुत्र राख्न पाउनेले राखेको धर्मपुत्रलाई समेत जनाउँछ भन्ने उल्लेख भएको पाइन्छ । त्यस्तै गरी दफा २(च) मा बाबु शब्दले कानून बमोजिम धर्मपुत्र राख्न पाउनेमा सो राख्ने बाबुलाई समेत जनाउँछ भन्ने उल्लेख भएको पाइन्छ । विषय वा प्रसंगले अर्को अर्थ नलागेसम्म नेपाल कानूनमा प्रयुक्त शब्दको सन्दर्भमा नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० ले गरेको परिभाषा आधिकारिक हुन्छ, यस्मा कुनै सन्देह छैन ।

    बाबुको आर्थिक हक हित र दायित्व प्राप्त गर्न वा व्यहोर्ने सम्बन्धमा छोरा र धर्मपुत्रको समान वा अलग अलग कस्तो कानूनी स्थिति छ भन्ने सबन्धमा हेर्दा, मुलुकी ऐन धर्मपुत्रको महलले धर्मपुत्रको सम्बन्धमा गरेको व्यवस्थातर्फ पनि ध्यान दिनु पर्ने हुन्छ । धर्मपुत्रको २ नं. ले व्यवस्था गरे अनुसार छोरा नहुने लोग्ने मानिसले र लोग्ने जीवित नहुने वा आफ्नो वा सौता कुनै पट्टि पनि छोरा नहुने स्वास्नी मानिसले धर्मपुत्र राख्न पाउने देखिन्छ । त्यस्तो गरी रीतपूर्वक धर्मपुत्र राखी सकेपछि सन्तान छोरा जन्म्यो भने पनि अघि धर्मपुत्र राखेको बदर हुन सक्दैन । भाइ सरह अंश पाउँछ भन्ने व्यवस्था धर्मपुत्रको ३ नं. मा पाइन्छ । धर्मपुत्र राखी सकेपछि छोरा जन्म्यो भने पनि धर्मपुत्रले भाइ सरह अंश पाउने उक्त व्यवस्थाबाट धर्मपुत्र र छोराको अलग अलग स्थिति नभई समान स्थिति रहेछ भन्ने देखिन्छ ।

    धर्मपुत्र बस्नेको इच्छाद्वारा नभई ग्रहण गर्नेको इच्छा अनुरुप नै कायम हुन आउने व्यवस्था हो । धर्मपुत्रलाई जन्माउने बाबु एउटा र ग्रहण गर्ने बाबु अर्को हुन्छ । कुनै लिखत भएको अवस्थामा बाहेक धर्मपुत्रले आफूलाई जन्माउने बाबु पट्टिको अंशमा दावी गर्न पाउँदैन । यस स्थितिमा धर्मपुत्रले ग्रहण गर्ने बाबु पट्टिको आर्थिक हकहित अर्थात् आर्थिक स्वार्थ प्राप्त गर्न सक्दैन भन्नु न्यायको दृष्टिमा मिल्ने देखिँदैन । केही अवस्थामा धर्मपुत्र बदर हुन सक्ने व्यवस्था भए पनि बदर नभएसम्म धर्मपुत्रले छोरा सरह नै अधिकार तथा दायित्वको निर्वाह गर्नु पर्ने हुन्छ। यस दृष्टिकोणबाट पनि धर्मपुत्र र छोराको हक तथा दायित्व समान देखिन आउँछ ।

    भूमिसम्बन्धी ऐन, २०२१ को कुनै पनि व्यवस्थाले धर्मपुत्र र छोरालाई अलग अलग देखाएको छैन । अर्थात् छोराशब्दले धर्मपुत्रलाई जनाउँदैन भन्ने व्यवस्था उक्त ऐनमा भएको पाइँदैन । भूमिसम्बन्धी ऐन, २०२१ को विषय वा प्रसंगले छोरा र धर्मपुत्रको अलग अलग स्थिति नदेखाएको अवस्थामा नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० ले गरेको पुत्रको परिभाषा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा प्रयुक्त छोराशब्दको व्याख्या गर्ने सन्दर्भमा आकर्षित नहुने भन्न मिल्ने देखिँदैन ।

    अतः उपर्युक्त कारणहरूबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा प्रयुक्त छोराशब्दभित्र धर्मपुत्र समेत पर्ने देखिएकोले निवेदकका नाममा मोही  नामसारी गर्नु पर्नेमा नामसारी गर्न नमिल्ने भनी मोही लगत कट्टा गर्ने गरेको भूमिसुधार कार्यालय पर्साको मिति २०४२।५।७ को निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशले बदर गरी कानून बमोजिम पुनः निर्णय गर्नु भनी विपक्षी भूमिसुधार कार्यालयको नाममा परमादेशको आदेश समेत जारी हुने ठहरिएको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब छ । तर बहुमतको राय नै कायम हुने हुँदा अरु केही गरी रहन परेन ।

 

इतिसम्वत् २०४३ साल फाल्गुण ५ गते रोज ३ शुभम् ।

