September 23, 1983
Created by nepalarchives

निर्णय नं. २९३२ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २९३२     ने.का.प. २०४३            अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत्...

निर्णय नं. २९३२     ने.का.प. २०४३            अङ्क १२

फुलबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३९ सालको रि.फु.नं. ४१

आदेश भएको मिति : २०४०।६।७।६ मा

 

निवेदक : का.जि.का.न.पं.वडा नं.९ बत्तिसपुतली बस्ने तुलसीमाया जोशीसमेत

विरुद्ध

विपक्षी : भूमिसुधार कार्यालय काठमाडौंसमेत

 

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

 

(१)         भूमिसम्बन्धी ऐन लागू हुनुभन्दा अघिदेखि कमाई घर समेत बनाई आएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) बमोजिम हक छाडी दिन सक्ने सम्पत्ति देखिन्छ र सो बमोजिम अनन्तमानले आफ्नो भाग बुझी अंश छोडपत्र समेत गरेको देखिँदा मोहियानीको जग्गामा साविक मोहीको मृत्युपछि जग्गावालाले पत्याएको व्यक्तिको नाममा मोहियानी हक कायम हुने भन्ने प्रत्यर्थीतर्फका विद्वान अधिवक्ताको बहस जिकिरसंग सहमत हुन नसकिने ।

(प्रकरण नं. १२)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की

 

आदेश

न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३९।१।२४ को निर्णय उपर परेको निवेदकको बिन्तिपत्रमा न्यायिक समितिको सिफारिश मुताविक नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी अनुरुप यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२. बत्तिसपुतली गा.पं.वडा नं.६ को कि.नं.७२ को ११४१ को जग्गामा कायम रहेको मोही मेरो बाबु बिन्दुमानबाट मैले अंश बापतमा पाई मिति २०२६।१०।३ मा पारित भएको बण्डापत्र बमोजिम मेरो नाममा जोत दाखिल खारेज गरी पाउँ भन्ने अनन्तमान जोशीको निवेदन परेकोमा जिल्ला भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारीले जग्गाधनी रामचन्द्र गुठीका प्रतिनिधि बुझी साविक मोही विन्दुमान परलोक भइसकेको र निजले छोरा अनन्तमानलाई अंश बापतमा दिई बाली समेत बुझाई आएकोले नामसारी गरी दिनु भन्ने ०३५।४।२४ मा कागज गरी दिएको र सोही अनुरुप पञ्चायतको सिफारिश समेत हुँदा बत्तिसपुतली गा.पं.वडा नं.६ को कि.नं.७२ को मोही लगतबाट बिन्दुमानको नाम कट्टा गरी आवेदक अनन्तमान जोशीको नाम कायम गरी स्थायी निस्सा समेत दिने भन्ने निर्णय गरेको रहेछ ।

३. कि.नं.७२ को जग्गा मध्ये दक्षिणतर्फको जग्गा ०१५० र लम्बाई हात १५ चौडाई हात ९ को पश्चिम मोहडाको जस्ताको छाना भएको पक्की १ तले घर लिई अरु जो भएको घर खेत चल अचल खति उपति श्रीसम्पत्ति गैर्‍हमा अंश हक छाडी दिन्छु  भनी अनन्तमानले अंश छोड पत्रको कागज गरी ०२६।१०।३।६ मा पास गरी दिनु भएको थियो । उक्त छोडपत्र अनुसारको घर जग्गा विपक्षीले र बाँकी जग्गा पति, पिता छउञ्जेल पति, पिता र पति, पिता परलोक हुनु भएपछि हामी निवेदकहरूले उक्त गुठीमा तिरो भरो गरी जग्गा समेत भोगचलन गरी आई सो आधी जग्गा दाखिल खारेज गर्नाको लागि सिफारिश माग गर्न जाँदा विन्दुमानको नाउँबाट अनन्तमानको नाउँमा मोहियानी दाखिल खारेज भइसकेको निर्णय देखाइयो ।

४. अ.बं. ८२ नं.बमोजिम हक दावी नै नपुग्ने अनन्तमानको नाउँमा जोताहा हक दाखिल खारीज गरेको प्रत्यक्षतः कानुन त्रुटि छ विपक्षीहरूको मिलोमतोबाट  जालसाज परिपत्र गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५।२६ ले पति, पिता पछि मोहियानी हक हामी एकाघरका छोरा स्वास्नीमा स्वतः प्राप्त हुनेमा रामचन्द्र गुठीको प्रतिनिधि भई बाली बुझ्ने विष्णुकुमारी र गुठीको प्रतिनिधि नै नभएको विष्णुध्वज राणालाई विपक्षी अनन्तमानले गुठीको प्रतिनिधि हुँ भनी भनाई कागज गराइएको छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५।२६ र नेपाल नागरिक अधिकार ऐन, २०१२ को दफा ६ को उपदफा ५।६ समेतको कानुनी हक र नागरिक अधिकार ऐनको दफा ९ अनुसार कानुनको अख्तियार बिना नै अवैधानिक तरिकाबाट सम्पत्ति अपहरण गरिएकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत भूमिसुधार कार्यालय, काठमाडौं उपरोक्त ०३५।४।३१ को निर्णय उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी समेत जारी गरी बदर गरी पाउँ भन्ने समेत निवेदन जिकिर ।

५. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिंगलबेञ्चको ०३७।५।२७ को आदेश ।

६. विपक्षीका भूमिसुधार अधिकारीको लिखितजवाफमा अनन्तमान जोशीले २०३६।९।२९ मा पारित अंशबण्डा बमोजिम जोताहा नामसारी गरी दिन ज.ध.रामचन्द्र गुठीको समेत समर्थन भई मोही कायम भएको मिसिलबाट देखिन आएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत उल्लेख भएको रहेछ ।

७. विपक्षी अनन्तमान जोशीको लिखितजवाफमा भूमिसुधार ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा यस परिच्छेदको अन्य दफाहरूको अधिनमा रही मोही भई कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पत्‍नी वा छोराहरूमा जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने स्पष्ट व्यवस्था भएबाट निवेदकको रिट निवेदन खारीज गरी पाउँ भन्ने समेत उल्लेख गरेको रहेछ ।

८. विपक्षी राधेश्याम थापाको लिखितजवाफमा विन्दुमानको छोरा अनन्तमान, विश्वमान हुन भनी सिफारिश दिएको सोबाट कसैको हक हितमा असर नपरेको र जालसाजी क्रिया भन्न समेत नमिल्नेमा सो भनी दिएको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत उल्लेख गरेको रहेछ ।

९. ०३५।४।३१ मा भूमिसुधार अधिकारीले गरेको आदेश हेर्दा उक्त जग्गामा बनेको घर बाबु विन्दुमानले विपक्षी अनन्तमान जोशीलाई छोड पत्र गरी दिएको, निज मरे पछि सो घर जग्गा मेरो नाउँमा दाखिल खारीज गरी पाउँ भनी अनन्तमान जोशीले दिएको निवेदनमा सो जग्गाको जग्गाधनीलाई बुझ्दा निजले पनि समर्थन जनाएको आधारमा समेत विन्दुमानको नाम कट्टा गरी अनन्तमान जोशीको नाम कायम गरी दिने गरेकोमा सबूद प्रमाणको आधारमा सो आदेश गरेको देखिन आएकोले रिट निवेदन खारेज हुने ठहर्छ भन्ने डिभिजनबेञ्चको ०३९।१।२४ को आदेश ।

१०. अंश भागमा परेको जग्गा बाहेकको दावी अ.बं.८२ नं.ले हक नपुग्ने भन्ने स्वतः देखिएको कि.नं.७२ को सम्पूर्ण जग्गाको स्थायी निस्सा दिएको भू.सु.का.को ०३५।४।३१ को निर्णय त्रूटीपूर्ण देखिन्छ । सर्वोच्च अदालतको निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) समेतको त्रुटि भएको देखिएको भन्ने न्यायिक समितिको पर्चा ।

११. मिति ०४०।५।२१।३ मा यस बेञ्च समक्ष पेश भई निवेदकतर्फका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा प्रत्यर्थी अनन्तमान जोशी तर्फका विद्वान अधिवक्ता श्री वद्रीबहादुर कार्कीको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत रिट निवेदनमा डिभिजनबेञ्चको ०३९।१।२४ को निर्णय मनासिब बेमनासिब के हो निर्णय दिनु पर्ने हुनआएको छ ।

१२. यसमा निर्णयतर्फ हेर्दा का.जि.बत्तिस पुतली गा.पं.वडा नं.६ को कि.नं.७२ को ११४१ जग्गा विन्दुमानबाट अंश बापत पाएकोले ०२६।१०।३  को बण्डापत्र बमोजिम मेरो नाममा जोत दाखिल खारेज गरी पाउँ भन्ने प्रत्यर्थी अनन्तमान जोशीको निवेदन परेपछि जग्गाधनी रामचन्द्र गुठीका प्रतिनिधि एवं पञ्चायतको सिफारिश भएको भनी विन्दुमानको नाम कट्टा गरी अनन्तमानको नाम कायम गरी स्थायी निस्सा दिने भनी मिति ०३५।४।३१ मा भूमिसुधार कार्यालय, काठमाडौंबाट निर्णय भएको देखिन्छ । ०२६।१०।३।६ को अंश छोडपत्र अनुसारको ०१५० जग्गा भन्दा बाहेकको पति, पिता विन्दुमान परलोक भएपछि हामीहरूले नै गुठी तिरो भरो गरी आएको जग्गा विपक्षीका नाममा दाखिल खारेज गरेको उक्त भूमिसुधार कार्यालय, काठमाडौंको उपर्युक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने निवेदकहरूको जिकिर देखिन्छ । विवादको जग्गाको मोही विन्दुमानका छोरा मध्ये अनन्तमानले ०१५० जग्गा र सो मा बनेको एकतले पक्की घर अंश बापत लिई ०२६।१०।३।६ मा पारित छोडपत्र गरेको देखिएपछि सो भन्दा बाहेकको कि.नं.७२ को जग्गाको हक अंश नलिने विन्दुमानका स्वास्नी, छोरामा आउने प्रष्ट छ । यस्तो जग्गामा प्रत्यर्थी अनन्तमान जोशीको अ.बं.८२ नं.बमोजिम दावी गर्ने हकदैया नै नपुग्ने देखिन्छ । भूमिसम्बन्धी ऐन, लागू हुनुभन्दा अघिदेखि कमाई घर समेत बनाई आएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) बमोजिम हक छाडी दिनसक्ने सम्पत्ति देखिन्छ र सो बमोजिम अनन्तमानले आफ्नो भाग बुझी अंश छोडपत्र समेत गरेको देखिँदा मोहियानीको जग्गामा साविक मोहीको मृत्युपछि जग्गावालाले पत्याएको व्यक्तिको नाममा मोहियानी हक कायम हुने भन्ने प्रत्यर्थीतर्फको विद्वान अधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन ।

१३. अतः उपर्युक्त कारणहरूबाट अंश छोडपत्रद्वारा प्राप्त गरेको ०१५० सम्म दाखिल खारेज गर्नु पर्नेमा विवादको कि.नं.७२ को सम्पूर्ण जग्गा विन्दुमानको नामबाट प्रत्यर्थी अनन्तमान जोशीका नाममा दाखिल खारेज गरी जोताहा निस्सा दिने गरेको भूमिसुधार कार्यालय, काठमाडौंको ०३५।४।२१ को निर्णय त्रुटिपूर्ण देखिएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । रिट निवेदन खारेज गरेको डिभिजनबेञ्चको ०३९।१।२४ को निर्णय मिलेको देखिएन नियम बमोजिम गर्नु ।

 

उक्त रायमा हाम्रो सहमती छ ।

न्या गजेन्द्रकेशरी बास्तोला

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४० साल आश्विन ७ गते रोज ६ शुभम् ।