February 25, 1986
Created by nepalarchives

निर्णय नं. २९२८ – निषेधाज्ञा

निर्णय नं. २९२८     ने.का.प. २०४३            अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह...

निर्णय नं. २९२८     ने.का.प. २०४३            अङ्क १२

फुलबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको दे.पु.नं. ८५

फैसला भएको मिति : २०४२।११।१४।३ मा

 

निवेदक/वादी : का.न.पं.वडा नं.३२ डिल्लीबजार बस्ने प्रल्हादजंग थापा

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने उमादिव्येश्वरी थापासमेत

 

मुद्दा : निषेधाज्ञा

 

(१)         यिनै वादी तथा प्रतिवादी भएको अंश मुद्दामा वादीले प्रतिवादीहरूबाट अंश पाउने ठहरी फैसला भएकोबाट निवेदक प्रतिवादीसंग सगोलमा रहेको भन्नु पर्ने हुँदा निवेदकलाई निजको बसोबास भएको घरबाट प्रतिवादीहरूले हटाउन पाउने नदेखिने ।

(प्रकरण नं. १४)

 

निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ता श्री शम्भु थापा

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अविधक्ता श्री दमन ढुङ्गाना

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत फुलबेञ्चको २०४०।९।१५ को निर्णय दोहोराई पाउँ भन्ने  माकली थापा तथा प्रल्हादजंग थापाको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा प्रल्हादजंग थापाको हकमा सम्म नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपरोक्त निर्णय दोहोराई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२. वादीहरू प्रतिवादीहरू सगोलमा बसी आएका अंशियार भएकोमा प्रतिवादीहरूले वादीहरू बसी आएको घरबाट जबरजस्ती उठाउने तथा निजहरूको घर कोठामा प्रवेश गरी घरबाट निकाली दिने धम्की दिने गरेको तथा सो घर जग्गाको सम्पत्ति तथा ज्यान सुरक्षामा समेत आघात पर्ने शंका उत्पन्न भएकोले सो नगर्न प्रतिवादीहरूको नाममा निषेधाज्ञा जारी गरिपाउँ भन्ने व्यहोराको बागमती अञ्चल अदालतमा परेको मिति ०३३।४।१०।१ को वादीको निवेदनपत्र ।

३. वादीहरू मिति २०२०।३।२१ मा नै पति, बुबा केशरजंग छँदै छुट्टि भिन्न भई बसेको र प्रतिवादीहरू पनि मिति २०१६।५।१ मा नै निज केशरजंगसंग भिन्न बसेकोमा प्रतिवादीहरू उपर वादीहरूले अंश मुद्दामा गरेको उजूरीबाट नै वादीहरूको हक कायम हुने नहुने निर्णय हुने हुनाले यो उजूरी खारेज हुनुपर्ने वादीले दावी लिएको घर निजहरूको नभई हामीहरूले नातेदारको हैसियतले बस्नको लागि एउटा कोठा दिएको र छोडी दिनु पर्‍यो भन्दा निजहरूले छोडी गइसकेको पनि हुँदा यस मुद्दाबाट निषेधाज्ञा जारी हुन नपर्ने भन्ने समेत व्यहोराको विपक्षीहरू ३ जनाको संयुक्त लिखितजवाफ ।

४. प्रतिवादीहरूले पेश गरेको रजिष्ट्रेशन पास भएका लिखतहरूको बोलीबाट वादी समेतले घरको हक समेत छोडी दिइसकेको देखिँदा र अंशबारे समेत दुवै पक्षको मुद्दा नै परिरहेको स्थितिमा वादीको दावीको घरमा निजको हक बारेमा निषेधाज्ञाको रिट जारी गर्न नमिल्ने हुँदा निवेदन खारेज हुने ठहराई गरेको बागमती अञ्चल अदालतको मिति २०३३।५।३१।५ को फैसला ।

५. उक्त निवेदन खारेज गर्ने गरी गरेको फैसलामा चित्त बुझेन निषेधाज्ञा जारी गरिपाउँ भन्ने समेत व्यहोराको वादीहरूको पुनरावेदन ।

६. वादीहरूले हाम्रो घर छाडी अन्यत्र गई बसेका छन् भन्ने प्रतिवादीहरूले लिएको जिकिरतर्फ विचार गर्दा वादीहरू दावीको घरबाट उठिसकेको भए अन्यत्र कहाँ गई बसेका छन् यो कुरा तथ्य रुपमा भन्न खुलाउन सकेको देखिएन । अंश मुद्दा र प्रस्तुत निषेधाज्ञाको मुद्दा चलाउने वादीहरूले बसी रहेको घर छोडेको होला भन्ने अवस्था पनि देखिँदैन । वादीहरू अंशियार भएको कुरामा विवाद नभएको बुबा पतिसंग अंश लिई छोडपत्र गरी सकेको जिकिर तर्फ दायर रहेको अंश मुद्दाबाटै निरोपण हुने हुँदा कानुनी बाटो बेगर बसी रहेको कोठाबाट निकाल्न नपाउने हुनाले निवेदकहरूले बसी आएको घर कोठामा जबरजस्ती प्रवेश गरी निकाला नगर्नु भनी प्रतिवादीहरूलाई निषेधाज्ञाको आदेश जारी हुने ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३४।४।२५।३ को फैसला ।

७. मध्यमाञ्चल क्षेत्रीय अदालतको उक्त निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीहरूको निवेदन पर्दा २०२०।३।२१ गते माकली थापा र प्रल्हादजंग थापाले केशरजंग थापा क्षेत्रीलाई र २०२१।६।१४ गते उमा दिव्यश्वरीलाई छोडपत्र गरिदिएको लिखतहरू पास भएको देखियो । यसरी हक छाडी सकेका माकली थापा समेतलाई उजूर गर्न हकदैया प्राप्त भएको नदेखिँदा निषेधाज्ञा जारी गर्न गरेको निर्णयमा अ.बं.८२ नं.को त्रुटि देखिएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ, भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०३४।१२।१० को आदेश ।

८. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा दुबै पक्ष अंशियार देखिएको र एक पक्षले अर्को पक्षले अंश  लिइसकेको लिखत छ भन्ने जिकिर लिई लिखत समेत पेश गरेको सो लिखतहरू समेतको प्रमाण हेरी अंश पाउने नपाउने ठहर अंश मुद्दाबाट हुनुपर्नेमा परिरहेको अंश मुद्दामा समेत स्पष्ट रुपले असर पर्ने गरी सो लिखतको आधारमा सर्वोच्च अदालतबाट म.क्षे.अ.ले जारी गरेको निषेधाज्ञा बदर गर्न मिल्ने देखिएन । अंश मुद्दा परिरहेको अंशियार वादीहरूले घरबाट जबरजस्ती उठाउने तथा निजहरूको घर कोठामा प्रवेश गरी घरबाट निकाली दिने धम्की दिने गरेको समेत हुँदा सो नगर्न निषेधाज्ञा जारी गर्ने ठहराई म.क्षे.अ.ले गरेको निर्णयमा मनासिब ठहर्छ भन्ने मा.न्या.श्री ईश्वरीराज मिश्रको राय ।

९. निषेधाज्ञा दावी भएको घरमा वादी हालसम्म बसी आएको छ, भन्ने कुरा निर्विवाद रुपमा नभई विवादास्पद देखिन आउँछ । विवादास्पद कुरामा वादीको माग स्वीकार गरी निषेधाज्ञा जारी गर्दा परोक्ष रुपबाट वादी त्यस घरमा बसी रहेको भन्ने कुरालाई अदालतबाट पनि स्वीकार गरेको हुन जाने हुन्छ । घरमा बसी आएको भन्ने कुरामा नै मुख नमिली झगडाको विषय हुनआएको अवस्थामा निरोपण नहुँदै सो कुरालाई स्वीकार हुन जाने किसिमसंग निषेधाज्ञा जारी गर्न मिल्ने देखिन आउँदैन । अंश छोडपत्र लिखतको परिणाम अंश मुद्दाबाट नै निरोपण भए बमोजिम हुने हुनाले सो लिखत उपर विवाद खडा नभएसम्म लिखतको व्यहोराबाट वादीहरूले अंश बुझी छोडपत्र गरी दिएको देखिन आउने नै निषेधाज्ञामा दावी गर्न अ.बं.८२ नं.ले हकदैया पुग्न नआउने हुनाले निषेधाज्ञा जारी गरिपाउँ भन्ने निवेदन खारेज हुने देखिन्छ भन्ने समेत मा.न्या.श्री त्रैलोक्यराजको राय भई २०३५।१२।२१ मा निर्णय भएको रहेछ ।

१०. यसमा यिनै वादी प्रतिवादी भएको अंश मुद्दामा म.क्षे.अ.को फैसला उपर वादीको पुनरावेदनको अनुमतिको निमित्त निवेदन परेको देखिँदा सो निवेदनको टुङ्गो लागेपछि प्रस्तुत मुद्दा पेश गर्नु भन्ने फुलबेञ्चको २०३७।४।१७ को आदेश ।

११. निर्णयार्थ फुलबेञ्च समक्ष पेश हुँदा यिनै वादी प्रतिवादी भएको अंश मुद्दामा अंश पाउँ भन्ने वादी दावी नपुग्ने ठहरी यसै बेञ्चबाट फैसला भएको र वादी बसेको कोठा घरमा समेत वादीको निर्विवाद हक नदेखिँदा निषेधाज्ञा जारी गर्न मिल्दैन । निवेदन खारेज हुने ठहराएको मा.न्या.श्री त्रैलोक्यराज अर्यालको राय मनासिब ठहर्छ भन्ने फुलबेञ्चको मिति २०४०।९।१५ को फैसला ।

१२. प्रल्हादजंगको हकमा यिनै वादी र प्रतिवादीहरूका बीच चलेको अंश मुद्दामा वादी दावी नपुग्ने निर्णय भएको समेत आधारमा निषेधाज्ञा जारी हुन नसक्ने भनी फैसला भएको तर यस लगाउको अंश मुद्दामा निवेदक प्रल्हादजंगका हकमा दोहोराउन सिफारिश जाहेर गर्न पर्चा भएकोले यस मुद्दामा पनि प्रल्हादजंगका हकमा दोहोराई हेरिनु पर्ने देखिन्छ, भन्ने समेत न्यायिक समितिको पर्चा ।

१३. निवेदक वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता द्वय श्री कृष्णप्रसाद भण्डारी तथा श्री कुसुम श्रेष्ठ र अधिवक्ता श्री शम्भू थापा तथा विपक्षी प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री दमन ढुङ्गानाको बहस समेत सुनियो ।

१४. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यिनै निवेदक वादी तथा यिनै विपक्षी प्रतिवादी भएको दे.फु.नं. ८४ को अंश मुद्दामा वादी प्रल्हादजंगले प्रतिवादीहरूबाट अंश पाउने ठहरी आज यसै बेञ्चबाट फैसला भएकोबाट निवेदक प्रतिवादीहरूसंग सगोलमा रहेको भन्नु पर्ने हुँदा निवेदकलाई निजको बसोबास भएको घरबाट प्रतिवादीहरूले हटाउन पाउने देखिँदैन । निवेदक बसेको घरबाट निजलाई नउठाउनु भनी विपक्षीहरूका नाममा निषेधाज्ञाको आदेश जारी हुने ठहर्छ । निषेधाज्ञा जारी  गरिपाउँ भन्ने निवेदन खारेज हुने ठहराएको फुलबेञ्चको इन्साफ मिलेको देखिएन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरुको सहमति छ ।

न्या पृथ्वीबहादुर सिंह,

न्या. हरगोविन्द सिंह प्रधान,

 न्या. महेशरामभक्त माथेमा,

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल फाल्गुण १४ गते रोज ३ शुभम् ।