March 12, 1987
Created by nepalarchives

निर्णय नं. २९१६ – परमादेशको आदेश जारी गरिपाउँ

निर्णय नं. २९१६     ने.का.प. २०४३            अङ्क  ११ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रि....

निर्णय नं. २९१६     ने.का.प. २०४३            अङ्क  ११

संयुक्तइजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको रि. नं. १५३८

आदेश भएको मिति : २०४३।११।२८।५ मा

 

निवेदक : जि.बाग्लुङ् कालिका आदर्श गा.पं.वा.नं.२ बस्ने बाल्लुड्ड जि.अ.का.वि.बिदुरबहादुर मल्ल

विरुद्ध

विपक्षी : पश्चिमाञ्चल क्षेत्रीय अदालत, पोखरासमेत

 

विषय : परमादेशको आदेश जारी गरिपाउँ

 

(१)         निजामती सेवाको कुनै पनि पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र सो भन्दा माथिको एक शैक्षिक उपाधिको मात्र अंक दिइने छ भन्ने व्यवस्था मुताविक विचारी पदबाट डिठ्ठामा बढुवा गर्ने न्यूनतम शैक्षिक योग्यता पनि विचारी पदमा प्रवेश गर्न आवश्यक दशम् कक्षा उत्तीर्णलाई र सो भन्दा माथिको एक शैक्षिक उपाधि भित्र एस.एल.सी.लाई मान्नु पर्ने स्थिति देखिने ।

(प्रकरण नं. १०)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुनिल अधिकारी

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादर कार्की र विद्वान अधिवक्ता श्री जुक्तिजंग लामिछाने

 

आदेश

न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ ।

२. बाग्लुङ् जि.अ.को विचारी पदमा सेवा गर्दै आएकोमा बढुवा समितिले १९९.८ प्राप्तांक भएको म निवेदकलाई पर्वत जि.अ.को रिक्त डिठ्ठा १ पदमा मिति ०४२।२।२७ गते बढुवा सिफारिश गरे उपर विपक्षी सुनुकुमारी भारीले बढुवा समितिको निर्णय बदर गरी पाउँ भनी प.क्षे.अ.मा उजूर गरेकोमा विपक्षी सुनु कुमारीले एस.एल.सी टेष्ट परीक्षा द्वितीय श्रेणीमा उर्तीण गरेको हुँदा नि.से.नि., २०२१ को परिच्छेद ३ नियम ३.५.६ (क) २ अनुसारको २६ अंक पाउने, निवेदक विदुरबहादुर मल्लले ३२ अंक पाउने ऐ.ऐ.(ख) बमोजिमको १४ अंक नपाउने भनी बढुवा समितिको सिफारिश बदर गर्ने निर्णय भयो ।

३. नि.से.नि, २०२१ को परिच्छेद ३ नियम ३.५(६)(क) मा निजामती सेवाको कुनै पनि पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र सो भन्दा माथिको एक शैक्षिक उपाधी बापतको मात्र अंक दिइने छ भन्ने स्पष्ट व्यवस्था छ र सोही नियमको (क)१ मा सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यता प्रथम श्रेणी, द्वितीय श्रेणी, तृतीय श्रेणी क्रमशः ४०, ३६, ३२ उल्लेख भएको सोही महलको कैफियतमा हाल बहाल रहेको पदमा नयाँ नियुक्ति गरिँदा आवश्यक पर्ने शैक्षिक योग्यतालाई सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यता मानिने छ भन्ने वाध्यात्मक व्यवस्था भएको र विचारी रा.प.अ.तृतीय श्रेणीलाई सेवा प्रवेशको निमित्त एस.एल.सी. टेष्ट परीक्षा उत्तीर्ण निर्धारण गरिएको हुँदा विपक्षीलाई उक्त नियमको (क)(२) बमोजिम झुठ्ठा लब्धांकपत्रको २६ अंक दिन मिल्दैन । म निवेदकले एस.एल.सी परीक्षा तृतीय श्रेणीमा उत्तीर्ण गरेको हुँदा उक्त नियमको (क)(१) बमोजिम ३२ अंक र ऐ.(ख) बमोजिमको १४ अंक पाउने निर्विवाद भएकोले नियम (ख) अनुसारको १४ अंक दिन नमिल्ने भन्ने निर्णय स्पष्ट त्रुटिपूर्ण हुँदा प.क्षे.अ.को त्यस्तो त्रुटिपूर्ण निर्णय बदर गरी पाउँ भन्ने समेत रिट निवेदन ।

४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेशानुसार प्राप्त लिखितजवाफको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ ।

५. विदुरबहादुर मल्लले एस.एल.सी.तृतीय श्रेणीमा उत्तीर्ण गरेकोले शैक्षिक योग्यता बापत निजले ३२ अंक पाउने गणना गरिएको र विचारी सुनु कुमारी भारीको शैक्षिक योग्यता टेष्ट उत्तीर्ण भएको देखिँदा शैक्षिक योग्यता बापत २६ अंक कायम गरी अंक गणना गर्दा निजले सबै भन्दा बढी अंक प्राप्त गरेकोले बढुवा समितिले गरेको निर्णय बदर गरी निज सुनु कुमारी भारीलाई बढुवा गर्ने गरी मिति २०४२।४।७ मा यस अदालतबाट गरिएका निर्णय कानुन अनुरुप नै हुनाले रिट निवेदन खारेज होस् भन्ने समेत प.क्षे.अ. ।

६. नि.से.नि., २०२१ को ३.५.६(क) (ख) पश्चात उल्लिखित उदाहरण, त्यस पछिको तर क(१) बमोजिम ३२ अंक पाउनु भएपछि पुनः(ख) बमोजिम अर्को थप अंक कदापी पाउनु हुने होइन, मिति ०४०।९।२६ को बढुवा फाराममा उक्त (ख) बमोजिमको १४ अंक निजलाई दिएको कारणले पहिला बसेको बढुवा फाराममा हामी २ को अंक मध्ये म सुनु कुमारीका  १०.११ नम्बरले अधिक हुन पुगेको थियो । हाल बसेको बढुवा समितिले निजले कुनै हालतमा पाउन नसक्ने नम्बर दिएर बढुवा गरिएको हुनाले नै मैले प.क्षे.अ.मा उजूर गर्दा सो (ख) बमोजिमको नम्बर नपाउने भनी एस.एल.सी. तृतीय श्रेणी वापत ३२ अंक मात्र पाउने भनी स.अ.बाट निर्णय भएको छ । प.क्षे.अ.को निर्णय बमोजिम मैले मिति ०४२।४।१३ मा पर्वत जि.अ.को डिठ्ठा नियुक्ति पाई सोही अदालतको ०४२।५।४ को निर्णयले वाग्लुड्ड जि.अ.मा सरुवा भई मेरो साविक विचारी पदमा कूलप्रसाद सरुवा भइसकेको छ । निवेदकको दावी झुठ्ठो एवं ऐन नियम विपरीत छ भन्ने समेत सुनु कुमारी ।

७. नियम बमोजिम पेश भएको प्रस्तुत रिट निवेदनको फाइल समेत अध्ययन गरी निवेदकका तर्फबाट रहुन भएका विद्वान अधिवक्ता श्री सुनिल अधिकारी तथा विपक्षी अदालतका तर्फबाट खटिई उपस्थित हुनुभएको विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्कीले र विपक्षी सुनुकुमारीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री जुक्तिजंग लामिछानेले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।

८. अब निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो सो को निर्णय दिन परेको छ ।

९. निर्णयतर्फ विचार गर्दा यसमा रिट निवेदक विदुरबहादुर मल्लले, उम्मेदवार मध्ये सबैभन्दा बढी अंक १९९.०८ प्राप्त गरेको आधारमा विज्ञापित डिठ्ठा पदमा बढुवा गर्ने गरी मिति ०४२।२।२७ मा बसेको बढुवा समितिले सिफारिश गर्न निर्णय गरे उपर प.क्षे.अ.मा उजूर गर्दा डिठ्ठाको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता र एस.एल.सी. भएको, वि.विदुरलाई ०४२।२।२७ को बढुवा समितिले टेष्टलाई आवश्यक न्यूनतम योग्यता र एस.एल.सी. लाई उपाधी मानी ४६ अंक दिएको मिलेन । शैक्षिक योग्यता बापत निज विदुरबहादुरले एस.एल.सी. उत्तीर्ण गरेकोले निजले ३२ अंक पाउने देखिन्छ । उजूरवाला वि.श्रीमती सुनुकुमारी भारीको योग्यता टेष्ट पास देखिँदा निजले सो बापत २६ अंक प्राप्त गर्ने भई कूल योग १६९.२६ हुनआएको र विदुरबहादुरको कूल अंक १६३.६६ हुनआएकोले सबैभन्दा बढी अंक प्राप्त गर्ने सुनुकुमारी देखिँदा २०४२।२।२७ मा बसेको बढुवा समितिले वि.विदुरबहादुर मल्ललाई बढुवा गर्ने गरेको निर्णय बदर गरी दिएको छ भनी निर्णय भएको देखिन्छ ।

१०. अब विज्ञापन अनुसार रिक्त रहेको विज्ञापन डिठ्ठा पदमा बढुवाद्वारा पूर्ति गर्नु पर्दा के कति योग्यताका नम्बर दिनु पर्ने हो भन्नेतर्फ हेर्दा नि.से.नि., २०२१ को नियम ३.५ (६) को (क) मा निजामती सेवाको कुनै पनि पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र सो भन्दा माथिको एक शैक्षिक उपाधीको मात्र अंक दिइने छ भन्ने व्यवस्था गरेको देखिन्छ । सो व्यवस्था मुताविक प्रस्तुत सन्दर्भमा विचारी पदबाट ठिठ्ठामा बढुवा गर्न पर्ने अवस्था परेको हुँदा न्यूनतम शैक्षिक योग्यता पनि विचारी पदमा प्रवेश गर्न आवश्यक दशम कक्षा उत्तीर्णलाई र सो भन्दा माथिको एक शैक्षिक उपाधी भित्र एस.एल.सी. लाई मान्नु पर्ने स्थिति देखिन आयो । नि.से.नि., २०२१ को नियम ३.५ (६) (ख) को (क)१ बमोजिमको अंकमा विचारी पदको लागि न्यूनतम शैक्षिक योग्यता दशम कक्षा उत्तीर्ण भए बापत र ऐ.को नियम ३.५ (६) (ख) को (ख) बमोजिमको उपल्लो एक तह बापतको अंकमा बिचारी पदबाट डिठ्ठामा बढुवा गर्नु पर्दा एस.एल.सी. परीक्षा उत्तीर्ण गरे बापत दिनु पर्ने स्पष्टता देखिन आयो ।

११. उपरोक्त व्यवस्थानुसार एस.एल.सी.उत्तीर्ण गरेका रिट निवेदकले टेष्ट परीक्षा (दशम) कक्षा उत्तीर्ण गरे बापत नि.से.नि., ०२१ को नियम ३.५ (६) (ख) को (क)१ बमोजिम र एस.एल.सी.उत्तीर्ण गरे बापत ऐ.को नियम ३.५ (६)(ख) को (ख) बमोजिम अंक पाउन पर्ने देखियो ।

१२. मिति ०४२।२।२७ मा बसेको बढुवा समितिले सो बमोजिम विदुरबहादुर मल्ललाई अंक दिई निर्णय गरेकोमा प.क्षे.अ.ले निवेदकलाई एस.एल.सी. उत्तीर्ण गरे बापत मात्र अंक पाउने ठहर्‍याई ०४२।७।२ मा गरेको निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपी विपक्षी समितिमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४३ साल फाल्गुण २८ गते रोज ५ शुभम् ।