February 1, 1987
Created by nepalarchives

निर्णय नं. २८७६ – उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. २८७६    ने.का.प. २०४३            अङ्क  १० संयुक्तइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४२ सालको रि.नं. २१९९...

निर्णय नं. २८७६    ने.का.प. २०४३            अङ्क  १०

संयुक्तइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०४२ सालको रि.नं. २१९९

आदेश भएको मिति : २०४३।१०।१८।१ मा

 

निवेदक : जिल्ला झापा बालवाही गाउँ पञ्चायत वडा नं.२ बस्ने कादुवा राजवंशी

विरुद्ध

प्रत्यर्थी : भूमिसुधार अधिकारी भू.सु.का.चन्द्रगढी झापासमेत

 

विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 

(१)         मोहियानी हकको जग्गाको कूतबाली प्रत्येक वर्ष ऐन नियमद्वारा निर्दिष्ट गरेको म्यादभित्र जग्गाधनीलाई बुझाउने दायित्व प्रत्येक मोहीको हुने ।

(प्रकरण नं. १०)

(२)        मोहीको दायित्व पूरा नगर्ने मोहिलाई मोहियानी हकको जग्गाको कूतबाली भराई मोही निष्कासन गर्न पाउने अधिकार भूमिसुधार अधिकारीलाई दिइराखेकै देखिने ।

(प्रकरण नं. ११)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री खड्गप्रसाद उप्रेती

विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा तथा विद्वान अधिवक्ता श्री नारायणराज खरेल

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ :

२. म निवेदक झापा जिल्ला बनियानी गा.पं.वडा नं.२ कि.नं.२१८ को ज.वि.५१८ जग्गा भूमिसुधार लागे देखि नै मोहीको हैसियतले जोती जोताहाको प्रमाणपत्र प्राप्त दर्तावाला मोही छु । कूतवाली बुझाउँदै आएकोमा ०४० सालमा निज जग्गाधनीले बाली बुझी भर्पाई नदिई बाली बुझाएन भन्ने झापा जिल्ला अदालतमा नालिश दिएको कारवाई किनारा भई ०४१ को बाली पनि एकै चोटी बुझाउनु भनी विपक्षीले भनेकोमा पछि २०४१ सालको बाली पनि नबुझाएको भनी भू.सु.का.चन्द्रगढी झापामा नालेश गर्नुभएकोमा विपक्षी भूमिसुधार अधिकारीले पनि दुराग्रह राखी मिति २०४२।९।१६ मा मलाई उक्त जग्गाबाट मोही निष्कासन गर्ने आदेश दिनु भएको छ ।

३. विपक्षी भूमिसुधार अधिकारीको इजलासमा २०४१ सालको बाली नबुझाएकोले बाली दिलाई मोही निष्कासन गरी पाउँ भन्ने उजूर पर्दा मोहियानीको कित्ता नं.२१८ को जम्मा जग्गा मध्ये ४१० को वालीमा विवाद देखाएकोमा बाँकी विवाद नउठाएको जग्गा १० समेत सम्पूर्ण कित्ताको क्षेत्रफल ५१० बाटै मोही निष्कासन गर्ने निर्णय गर्नुभएको छ । ०४१ सालको बाली मेरो नतिर्ने मनशाय थिएन ०४०।०४१ सालको वाली एकैचोटी लिने भन्दा अल्मलिएको सम्म हो बाली नतिर्ने भन्ने दावीमा बाली अड्कनु पर्ने के कस्तो परिस्थिति पर्‍यो भन्नेतर्फ पूर्ण बेवास्ता गरी एक्कासी भू.सं.ऐन, ०२१ को दफा २९(१) बमोजिम मोही निष्कासन हुने ठहराएको विपक्षी भूमिसुधार कार्यालय चन्द्रगढीको मिति २०४२।९।१६ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४२।११।२७ गतेको आदेश ।

५. वादी दावीमा ज.वि.१० मोहीले छोडपत्र गरी आफैंले जोतेको भनी उल्लेख गरेको प्रतिउत्तरपत्रमा समेत नजोतेको स्वीकार गरी उल्लेख गरेको साथै छोडपत्रहरू पेश भई मोही लगतकट्टा गरी पाउँ भनी जग्गाधनीको निवेदन परी रहेको ०४० सालको कूत बाली नबुझाए उपर उजूर परी झापा जिल्ला अदालत तथा पुनरावेदन तहबाट समेत फैसला भएको र ०४१ सालको कूत पनि जग्गाधनीलाई नबुझाई बाँकी राखेको कुरामा निवेदक सावितै रहेको लगातार २ वर्ष कूत नबुझाउने मोहिलाई भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९(१) बमोजिम निष्कासन गर्नु नपर्ने कुनै आधार नहुँदा कि.नं.२१८ को पुरै ज.वि.५१० जग्गाबाट मोही निष्कासन गरेको यस कार्यालयको निर्णय कानुनको परिधिभित्र रही गरेको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी भूमिसुधार कार्यालय  झापाको लिखितजवाफ ।

६. भूमिसम्बन्धी ऐन, ०२१ को दफा ८(१)(क) ले मोहीको हैसियतले ४ विगहा भन्दा बढी जग्गा कमाई गर्न प्रतिबन्ध लगाएको हुँदा कि.नं.२१८ को ज.वि.१० को विवाद पहिले नै समाप्त भइसकेको हुँदा अहिले रिट निवेदनमा त्यो प्रश्‍न उठाउन पाउने पनि होइन । दोश्रो कुरा यिनै विपक्षी निवेदकले ०४० सालको विवादीत कि.नं.२१८ को ज.वि.४१० को कूत नबुझाएकोले झापा जिल्ला अदालतमा परेको मेरो नालिशमा विपक्षीले प्रतिउत्तर लगाउँद कि.नं.२१८ मध्ये ज.वि.१० मा विपक्षीले पहिले नै जोत्‍न छाडी मोहियानी फिर्ता दिएको भन्ने मेरो दावीलाई स्वीकारी बस्नु भएको छ । २०४० सालको कि.नं.२१८ को ज.वि.४१० जग्गाको बाली शुरु झापा जिल्ला अदालतबाट भरी पाउने ठहराइएको इन्साफ मेची अञ्चल अदालतबाट सदर भई अन्तिम भएको छ । अब जग्गाको ०४१ सालको बाली पनि नदिएकोमा मेरो उजूरी परी विपक्षीले कूत नबुझाएको पुष्टि हुन आई आफ्नो दायित्व पूरा नगरेको कारणबाट विपक्षीलाई कि.नं.२१८ को जग्गाको मोहिबाट निष्कासन गर्ने गरेको भूमिसुधार कार्यालय झापाको मिति २०४२।९।१६ को निर्णय कानुन अनुरुप गरिएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी गोवर्धन राजवंशीको लिखितजवाफ ।

७. रिट निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री खड्गप्रसाद उप्रेतीले रिट निवेदक बाली बुझाउन तत्पर भइरहेको स्थितिमा बाली बुझाउन अड्कनु पर्ने कारण नै नबुझी वादी दावी भन्दा बढी कि.नं.२१८ को पूरै ज.वि.५१० जग्गाबाट निष्कासन गर्ने गरेको विपक्षी भूमिसुधार कार्यालय झापाको मिति २०४२।९।१६ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने र प्रत्यर्थी कार्यालय तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा तथा प्रत्यर्थी गोवर्धन राजवंशीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री नारायणराज खरेलले रिट निवेदकले दावी जग्गाको ०४०।०४१ सालको कूत बाली लगातार २ वर्षको नबुझाई कूत बाली बाँकी राखेको र मोहीले पालन गर्नु पर्ने दायित्व पालन नगरेको कारणबाट बाली भराई मोही निष्कासन गर्ने गरेको भूमिसुधार कार्यालय झापाको मिति २०४२।९।१६ को निर्णय कानुन अनुरुप नै भए गरेको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

८. प्रस्तुत रिट निवेदनबाट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने वा नपर्ने के हो सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।

९. यसमा निर्णयतर्फ हेर्दा मेरा नाममा दर्ताको कि.नं.२१८ को जग्गाको ०४० सालको कूत बाली नबुझाएकोले झापा जिल्ला अदालतमा मेरो नालिश परी बाली भरी पाउने ठहरी फैसला भएको ०४१ सालको कूत बाली पनि विपक्षीले नबुझाई एकलौटी खाएकोले कूत दिलाई मोही निष्कासन गरी पाउँ भन्ने प्रत्यर्थी जग्गाधनी गोवर्धन राजवंशीको यो रिट निवेदन उपर भूमिसुधार कार्यालय झापामा उजूरी परेकोमा ०४० सालको बाली नबुझाएकोमा जग्गाधनीको मुद्दा परी बाली भरी पाउने ठहराइएको झापा जिल्ला अदालतको इन्साफ पुनरावेदन तहबाट समेत सदर भई बसेको ०४१ सालको कूत बाली नबुझाएको प्रतिवादी साविती रहेको प्रति वर्ष लगातार कूत नबुझाई मोहीको दायित्व पूरा नगरी मुद्दा मामिला तर्फ अग्रसर भएको देखिएकोले मोहिबाट निष्कासन हुनु नपर्ने अन्य सबूद नदेखिँदा भू.सं.ऐन, ०२१ को दफा २९(१) बमोजिम दावीको कि.नं.२१८ को जग्गाबाट प्रतिवादी मोही निष्कासन हुने र दावी बमोजिम कूत भराई लिन पाउने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार कार्यालय झापाबाट मिति २०४२।९।१६ मा निर्णय गरेको देखिन्छ ।

१०. विवादीत जग्गाको ०४१ सालको कूत बाली जग्गाधनीलाई नबुझाई बाँकी राखेमा रिट निवेदक सावित रहेको देखिन्छ । आफ्नो मोहियानी हकको जग्गाको कूत बाली प्रत्येक वर्ष ऐन नियमद्वारा निर्दिष्ट गरेको म्यादभित्र जग्गाधनीलाई बुझाउने दायित्व प्रत्येक मोहीको हुन्छ । सो दायित्व विवादीत जग्गाको मोही रिट निवेदक कादुवा राजवंशीले पूरा गरेको देखिँदैन ।

११. त्यसरी कूतबाली नबुझाई मोहीको दायित्व पूरा नगर्ने मोहिलाई मोहियानी हकको जग्गाको कूतबाली भराई मोही निष्कासन गर्न पाउने अधिकार भूमिसुधार अधिकारीलाई भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९(१) ले दिइराखेकै देखिन्छ । त्यसरी ऐनद्वारा आफूलाई प्रदान गरिएको अधिकारक्षेत्र भित्र रही विवादीत जग्गाको कूत बाली नबुझाउने रिट निवेदकबाट दावी बमोजिम कूत भराई, बाली नबुझाई मोहीको दायित्व पालन नगरेको कारणबाट मोही निष्कासन हुने ठहराएको प्रत्यर्थी भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय झापाको मिति ०४२।९।१६ को निर्णयमा कानुनी त्रुटि विद्यमान नदेखिँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इतिसम्वत् २०४३ साल माघ १८ गते रोज १ शुभम् ।